२०८३ आश्विन १

कोसोभोका पूर्वराष्ट्रपति थाचीलाई २५ वर्ष जेल सजाय

काठमाडौं । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराधमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको छ। नेदरल्यान्ड्सको हेगस्थित कोसोभो स्पेसलिस्ट च्याम्बर्सले सन् १९९० को दशकमा सर्बियाबाट स्वतन्त्रताका लागि भएको सशस्त्र द्वन्द्वका क्रममा भएका अपराधमा उनलाई दोषी ठहर गरेको हो।

५८ वर्षीय थाची तत्कालीन ‘कोसोभो लिबरेसन आर्मी’का वरिष्ठ कमान्डर थिए। न्यायाधिकरणका अनुसार हत्या, यातना र गैरकानुनी हिरासतलगायत चारवटा युद्ध अपराधमा उनको संलग्नता पुष्टि भएको छ। द्वन्द्वका क्रममा राजनीतिक विरोधी तथा सर्बियाली सुरक्षा निकायका सहयोगी मानिएका ९६ जनाको हत्यासँग सम्बन्धित आरोपमा उनलाई दोषी ठहर गरिएको हो।

थाचीले भने आफूमाथिका सबै आरोप अस्वीकार गर्दै आएका छन्। फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने व्यवस्था पनि गरिएको छ।

यस मुद्दामा ‘कोसोभो लिबरेसन आर्मी’का अन्य तीन पूर्ववरिष्ठ कमान्डरलाई पनि सजाय सुनाइएको छ। याकुप क्रास्निकीलाई २५ वर्ष, काद्री भेसेलीलाई १८ वर्ष र रेक्सेप सेलिमीलाई १३ वर्षको जेल सजाय तोकिएको छ। उनीहरूले हिरासतमा बिताएको अवधि सजायमा समायोजन हुने जनाइएको छ।

यद्यपि, सर्वसाधारणमाथि व्यापक तथा व्यवस्थित आक्रमण भएको अभियोजन पक्षले प्रमाणित गर्न नसकेको निष्कर्षसहित अदालतले चारै जनालाई मानवताविरुद्धका ६ वटा अपराधसम्बन्धी आरोपबाट भने सफाइ दिएको छ।