२०८३ आश्विन १०

खोटाङमा काठले किच्दा ३५ वर्षीय युवकको मृत्यु

काठमाडौं । खोटाङमा ट्याक्टरमा गोलिया काठ लोड गर्ने क्रममा काठले किचेर धनकुटाका एक युवकको मृत्यु भएको छ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–५, सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक्सिङभञ्ज्याङ सडकखण्डमा शुक्रबार उत्तिसको गोलिया काठ ट्याक्टरमा लोड गर्ने क्रममा धनकुटाको पाख्रिवास नगरपालिका–३ का ३५ वर्षीय लीला मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निराजन बस्नेतले जानकारी दिए।

घटनापछि प्रहरीले ट्याक्टर र चालक धनकुटाको महालक्ष्मी नगरपालिका–३, चानुवाका १९ वर्षीय सुनिल गुरुङलाई नियन्त्रणमा लिएको जनाएको छ।

Read More

पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति मिडिया लयर्स एसोसिएसनको आपत्ति

काठमाडौं। जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति मिडिया लयर्स एसोसिएसनले आपत्ति जनाएको छ। समाचार प्रकाशनसँग सम्बन्धित विषयमा पत्रकारलाई पक्राउ गरी हिरासतमा राख्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मर्मविपरीत भएको एसोसिएसनको ठहर छ।

एसोसिएसनका अध्यक्ष अधिवक्ता बाबुराम अर्यालले जारी गरेको विज्ञप्तिमा समाचारसँग सम्बन्धित गुनासो, उजुरी वा विवाद समाधानका लागि प्रेस काउन्सिल नेपालसहितका स्थापित कानुनी संयन्त्र हुँदाहुँदै पत्रकारलाई फौजदारी कसुरमा पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको उल्लेख गरिएको छ।

समाचारमा त्रुटि, तथ्यगत कमजोरी वा पत्रकार आचारसंहिता उल्लङ्घन भए त्यसको परीक्षण र आवश्यक कारबाही प्रेस काउन्सिलमार्फत हुनुपर्ने एसोसिएसनले जनाएको छ। समाचार प्रकाशनकै विषयमा पत्रकारलाई छनोटपूर्ण रूपमा पक्राउ तथा अभियोजन गर्ने प्रवृत्तिले स्वतन्त्र पत्रकारिता, समाचार स्रोतको सुरक्षा तथा नागरिकको सूचना पाउने र अभिव्यक्ति दिने अधिकारमा असर पार्ने उसको भनाइ छ।

एसोसिएसनले पत्रकारलाई त्रसित वा निरुत्साहित गर्न फौजदारी कानुन प्रयोग गर्ने प्रवृत्ति अस्वीकार्य रहेको जनाएको छ। साथै सम्बन्धित सञ्चारमाध्यमको कार्यालयमा गरिएको खानतलासी तथा क्यामेरा, ल्यापटप, मोबाइल फोन र रेकर्डिङ उपकरणलगायत पत्रकारितासँग सम्बन्धित सामग्री जफत गरिएको घटनाप्रति पनि आपत्ति जनाएको छ।

संविधानको धारा १९ ले सञ्चारसम्बन्धी हक र धारा २८ ले गोपनीयताको हक सुनिश्चित गरेको उल्लेख गर्दै एसोसिएसनले कानुनी प्रक्रिया र अदालतको आदेशबिना पत्रकारितासँग प्रत्यक्ष सम्बन्धित उपकरण तथा सामग्री जफत गर्दा समाचार स्रोतको गोपनीयता प्रभावित हुन सक्ने जनाएको छ।

नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध (ICCPR) लगायतका अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी दस्तावेजले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराउँदै एसोसिएसनले सरकारले आफ्ना अन्तर्राष्ट्रिय प्रतिबद्धता पालना गर्नुपर्नेमा जोड दिएको छ।

एसोसिएसनले समाचारसँग सम्बन्धित विषय प्रेस काउन्सिलको क्षेत्राधिकार र स्थापित प्रक्रियाबाट समाधान गर्न, पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न तथा हिरासतमा निष्पक्ष र मर्यादित व्यवहार गर्न माग गरेको छ। सञ्चारमाध्यमबाट जफत गरिएका पत्रकारिता सामग्री तथा उपकरणसमेत तत्काल फिर्ता गर्न उसले माग गरेको छ।

Read More

बाजुरामा पहिरोमा परी युवती बेपत्ता, दुई जना घाइते

काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी एक युवती बेपत्ता भएकी छन् भने दुई जना घाइते भएका छन्। अविरल वर्षापछि आएको पहिरोले स्थानीय घरमा क्षति पुर्‍याउँदा घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापा रहेकी छन्। पहिरोमा परेर स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन्।

प्रहरीका अनुसार धर्म थापाको बायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने रावलको टाउको, खुट्टा र शरीरमा चोट लागेको छ। दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए।

अविरल वर्षापछि आएको पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ। सोही क्रममा धर्म थापाकी छोरी प्रतीक्षा पहिरोमा पुरिएर बेपत्ता भएकी हुन्।

बेपत्ता प्रतीक्षाको खोजीका लागि प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। खोजी तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीसमेत खटिएका छन्।

Read More

मुस्ताङमा जलवायु सम्मेलन, देशभरका ७५३ स्थानीय तहलाई निम्तो

काठमाडौं । जलवायु परिवर्तनका असर, चुनौती र अनुकूलनका विषयमा साझा धारणा बनाउन मुस्ताङको घरपझोङ गाउँपालिकाले आगामी भदौमा जलवायु सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलनमा सहभागी हुन गाउँपालिकाले देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ।

गाउँपालिकाका अनुसार सम्मेलन भदौ ३० र ३१ गते मुस्ताङको सदरमुकाम जोमसोममा आयोजना हुनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले पहिलोपटक जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले बताए।

सङ्घीय मामिला मन्त्रालयको समन्वयमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४५९ गाउँपालिकालाई सम्मेलनमा सहभागी हुन पत्राचार गरिएको छ।

सम्मेलनमा हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनले पारेको प्रभाव, स्थानीय तहमा देखिएका विपद् तथा चुनौती र त्यसको न्यूनीकरणका उपायबारे छलफल हुनेछ। सम्मेलनबाट स्थानीय तहको साझा प्रतिबद्धतासहित ‘घरपझोङ घोषणापत्र २०८३’ जारी गर्ने तयारी गरिएको छ।

कालीगण्डकी नदी किनार, मुक्तिनाथ क्षेत्र र नीलगिरि हिमालको काखमा हुने सम्मेलनमार्फत जलवायु परिवर्तनका असरविरुद्ध स्थानीय तहको साझा आवाज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्य राखिएको गाउँपालिकाले जनाएको छ।

सम्मेलनका क्रममा जलवायु परिवर्तनका असर झल्काउने फोटो प्रदर्शनीसमेत आयोजना गरिनेछ। त्यसका लागि स्थानीय तहहरूलाई भदौ १५ गतेभित्र तस्बिर तथा घोषणापत्रमा समेट्नुपर्ने विषयसहितको मस्यौदा पठाउन आग्रह गरिएको छ।

गाउँपालिकाका अनुसार जलवायु परिवर्तनका कारण हिमपहिरो, हिमताल फुट्ने, बाढीपहिरो र नदी कटानजस्ता विपद्को जोखिम बढ्नुका साथै कृषि, पशुपालन, धर्म–संस्कृति र जैविक विविधतामा समेत असर परेको छ। हिमाली क्षेत्रमा असमान हिमपात, खानेपानीका मुहान सुक्ने, चरन क्षेत्र घट्ने र मानव–वन्यजन्तु द्वन्द्व बढ्ने समस्या देखिन थालेको गाउँपालिकाले जनाएको छ।

Category: Others

Read More

कैलालीमा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा वृद्ध पक्राउ

काठमाडौं। कैलालीमा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ८४ वर्षीय एक वृद्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–९ का ८४ वर्षीय वीरबहादुर जाग्री रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Category: Others

Read More

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक बेपत्ता, दुई घाइते

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घर पुरिँदा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।

गए रातिदेखि परेको लगातारको वर्षाका कारण स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार घटनामा दुई जना घाइते भएका छन् भने एक जनाको अवस्था अझै अज्ञात छ।

लगातारको वर्षाका कारण घाइतेको उद्धार तथा बेपत्ता व्यक्तिको खोजीमा कठिनाइ भइरहेको त्रिवेणी नगरपालिका–९ का वडाध्यक्ष नन्दा थापाले जानकारी दिए।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको प्रहरी टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ परिचालन भएको छ।

Read More

धादिङमा पहिरो खस्दा काठमाडौं–मुग्लिङ सडक अवरुद्ध

काठमाडौं, साउन २९ । काठमाडौं–मुग्लिङ सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठकिलोमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ। पहिरोका कारण काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधन बीच सडकमै रोकिएका छन्। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीचालकहरूलाई आवतजावतमा समस्या भएको छ।

धादिङ प्रहरीले दिएको जानकारीअनुसार बिहीबार बिहान करिब २:१५ बजे आठकिलोस्थित सडकमा पहिरो खसेको हो। पहिरोका कारण सडकको दुवैतर्फको यातायात प्रभावित बनेको प्रहरीले जनाएको छ।

सडकमा खसेको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउन अहिले चार वटा जेसिबी प्रयोग भइरहेको प्रहरीले जनाएको छ। पहिरो पन्छाउने काम जारी रहेकाले सडक पूर्णरूपमा सञ्चालनमा आउन केही समय लाग्न सक्ने देखिएको छ।

सडक अवरुद्ध भएपछि काठमाडौं प्रवेश गर्ने र काठमाडौं बाहिरिने सवारीसाधनहरू रोकिएका छन्। प्रहरीले सडकको अवस्था हेरेर यात्रा गर्न तथा सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।

Read More

मौसम पूर्वानुमान

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश भूभागमा मौसम बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने देखिएको छ। दिउँसोको समयमा वर्षाको गतिविधि बढी सक्रिय रहने र रातिसमेत केही प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

कोशी प्रदेश

दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। तराई भूभागका केही स्थानमा पनि मध्यमसम्म वर्षा हुन सक्नेछ। राति हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मधेस प्रदेश

दिउँसो तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। राति पनि तराईका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

वाग्मती प्रदेश

दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ। तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। राति पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

गण्डकी प्रदेश

दिउँसो हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ। हिमाली, पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ भने पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

लुम्बिनी प्रदेश

दिउँसो हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ। तराई भूभागका धेरै स्थानमा समेत मध्यम वर्षाको सम्भावना छ। हिमाली, पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। राति हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

कर्णाली प्रदेश

दिउँसो हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली, पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा हुन सक्नेछ। साथै, हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुन सक्ने विभागले जनाएको छ। राति हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश

दिउँसो हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। तराई भूभागका धेरै स्थानमा पनि मध्यमसम्म वर्षा हुन सक्नेछ। हिमाली, पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। राति हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

विभागका अनुसार राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। तराई भूभागका थोरै स्थानमा पनि मध्यमसम्म वर्षा हुन सक्नेछ। वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ, नेपालको नजिक रहेको छ। यही मौसमी प्रणालीका कारण देशका विभिन्न भूभागमा बदली र वर्षाको गतिविधि कायम रहने विभागले जनाएको छ।

Read More

आजको राशिफल

२०८३ साउन २९ गते (१४ अगस्ट २०२६) शुक्रवार का दिन श्रावण शुक्लपक्ष द्वितीया तिथि परेको छ। आज मघा नक्षत्र रहेको छ भने साँझ ६ः५१ बजेपछि पूर्वफाल्गुनी नक्षत्र प्रारम्भ हुनेछ। आजको चन्द्रराशि सिंह हो। ग्रह–नक्षत्रको यस अवस्थाले विभिन्न राशिका व्यक्तिको दैनिक कार्य, स्वास्थ्य, आर्थिक गतिविधि, सम्बन्ध र अवसरमा फरक–फरक प्रभाव पार्ने देखिन्छ। कसैका लागि नयाँ काम सुरु गर्ने र उपलब्धि हासिल गर्ने अनुकूल समय देखिए पनि केही राशिले स्वास्थ्य, आर्थिक दबाब वा निर्णयमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। समग्रमा, आजको दिन परिस्थितिअनुसार धैर्य, विवेक र निरन्तर प्रयासलाई प्राथमिकता दिँदा सकारात्मक परिणाम प्राप्त गर्न सकिनेछ।

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।

वृष – Taurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार तथा सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि सामान्य फाइदै हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

कन्या – Virgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।

तुला – Libra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।

धनु – Sagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख भने पाइनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। तापनि टाढिएका साथीभाइ नजिकिनेछन् र मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ।

मकर – Capricorn

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

स्वास्थ्य कमजोर रहनेछ भने चिताएको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ। गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। तापनि मिहिनेत गर्दा केही काम बन्नेछन्। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिनेछ, नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुविधा जुटाउन सकिनेछ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन आउन सक्छ।

Read More

भक्तपुर होल्डिङ सेन्टरमा सुकुम्बासीको मृत्यु, व्यवस्थापनको माग गर्दै आन्दोलन

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि–९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएका ५७ वर्षीय हिरालाल पासवान मृत फेला परेका छन्। बिहीबार बिहान करिब पौने ११ बजे उनी कोठा नम्बर २०७ मा मृत फेला परेका हुन्।

बारा सुवर्ण गाउँपालिका–२ का पासवान कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी आएपछि भक्तपुर स्थानान्तरण गरिएका भूमिहीन परिवारमध्येका थिए। आफ्नो परिवारको दीर्घकालीन व्यवस्थापन हुन नसकेको विषयमा उनी चिन्तित रहेको बताइएको छ।

घटनापछि प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा सुरक्षा टोली घटनास्थल पुगेको थियो। तर, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले शव उठाउन नदिएपछि प्रहरीले आवश्यक प्रक्रिया पूरा नगरी फर्किएको जनाइएको छ।

पासवान श्रीमती तथा छोरा–बुहारीसँगै होल्डिङ सेन्टरमा बस्दै आएका थिए। घटनाका समयमा उनकी श्रीमती बारा गएको र उनी कोठामा एक्लै रहेको बताइएको छ।

घटनापछि होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले आफ्नो उचित तथा दीर्घकालीन व्यवस्थापनको माग गर्दै विरोध जनाएका छन्। उनीहरूले राज्यले आफूहरूको व्यवस्थापनमा पर्याप्त ध्यान नदिएको आरोप लगाउँदै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।

प्रशासनले घटनाबारे आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धान अघि बढाउने जनाएको छ।

Read More