२०८३ आश्विन १०

आजको राशिफल

२०८३ भदौ २ गते (१८ अगस्ट २०२६) मंगलवार: श्रावण शुक्लपक्ष षष्ठी तिथि। चित्रा नक्षत्र, बिहान ७ः५० बजेपछि स्वाती नक्षत्र। चन्द्रराशि तुला।

आजको दिन विभिन्न राशिका जातकका लागि फरक–फरक प्रभाव र सम्भावना लिएर आएको छ। ग्रह–नक्षत्रको प्रभावअनुसार कसैका लागि प्रेम, मित्रता, व्यवसाय, आर्थिक लाभ तथा नयाँ अवसरको समय रहनेछ भने केही राशिले खर्च, स्वास्थ्य, सम्बन्ध तथा कामका क्रममा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। मेहनत, संयम र सही निर्णयका साथ अघि बढेमा चुनौतीपूर्ण परिस्थितिलाई समेत अनुकूल बनाउन सकिनेछ। आजको राशिफल उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)का अनुसार प्रस्तुत गरिएको छ।

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। शुभचिन्तकहरूले काममा सहयोग जुटाउनेछन्। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। नयाँ व्यावसायिक काम थाल्ने समय छ। घरमा प्रियजनको आगमन हुन सक्छ।

वृष – Taurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। मिहिनेतले प्रतिद्वन्द्वी परास्त हुनेछन्। आर्थिक लाभ हुने विशेष काम शुभारम्भ गर्ने समय छ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसर प्राप्त भए पनि तत्काल फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। मिहिनेतले समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। कृषि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला। महत्त्वाकांक्षी योजना प्रारम्भ हुने समय छ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थिति अनुकूल हुनेछ र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ।

कन्या – Virgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

सेयर तथा लगानीबाट लाभ मिल्नेछ। बौद्धिक कार्यबाट पनि दिगो फाइदा उठाउन सकिनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ। प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ।

तुला – Libra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

रमाइलो भेटघाट तथा खानपानको आनन्द प्राप्त हुनेछ। तारिफयोग्य कामले प्रशंसा एवं ख्याति बढ्नेछ। सफलताको अनुभवले थप उत्साहित भइनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले हौसला जगाउनेछन्। पहिलेका कमजोरी सुधार गर्दै पछिका लागि योजना बनाउने समय छ। नयाँ पहिरनले व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुनेछ।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ।

धनु – Sagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ।

मकर – Capricorn

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

कर्मका प्रेरक र सहयोगी बढ्नाले कर्मसाधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। महत्त्वपूर्ण कामको जग बसाउने समय छ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। स्वास्थ्यमा निकै ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा ठूलो काम रोकिन सक्छ। आशा देखाउनेहरूको भर पर्दा धोका पाइएला। खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।

Read More

विमानस्थलबाट बढी विदेशी मुद्रा बोकेको आरोपमा निगमका दुई कर्मचारी पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं–२६ की ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ की ३५ वर्षीया ममता पाण्डे रहेका छन्। उनीहरू मलेसिया जान लागेका बेला विमानस्थलमा जाँचका क्रममा विदेशी मुद्रा भेटिएको प्रहरीले जनाएको छ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार बज्राचार्यको साथबाट १२ हजार ३७२ मलेसियन रिंगेट र ४ हजार ३०० अमेरिकी डलर बरामद भएको छ। त्यस्तै, पाण्डेको साथबाट १२ हजार ३२८ रिंगेट र ४ हजार २०० अमेरिकी डलर फेला परेको प्रहरीले जनाएको छ।

नेपाल राष्ट्र बैंकको मापदण्डअनुसार यात्रुले ५ हजार अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा लैजान नपाउने व्यवस्था रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More

काभ्रेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

काठमाडौं। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१, स्याउलीथलीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा सोमबार नम्बर नखुलेको जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा स्थानीय कलबहादुर माझी र खानीखोला–२ की पातलीमाया मोक्तान रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

घटनापछि उद्धारका लागि प्रहरी टोली र एम्बुलेन्स परिचालन गरिएको छ। दुर्घटनाको थप विवरण तथा घाइतेहरूको अवस्थाबारे जानकारी आउन बाँकी छ।

Read More

ट्रकको ठक्करबाट एमाले नेतृ सावित्रा सापकोटाको मृत्यु

काठमाडौं। कैलालीको बर्दगोरिया गाउँपालिका–१, मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ।

सोमबार बिहान सापकोटा सवार स्कुटरलाई नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी सापकोटालाई उपचारका लागि दोदोधरा अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

इलाका प्रहरी कार्यालय बौनियाका अनुसार दुर्घटनापछि ट्रक चालक गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया र लम्कीचुहा नगरपालिकाको सीमाबाट नियन्त्रणमा लिइएको छ।

सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवारसमेत बनेकी थिइन्।

Read More

चार घण्टापछि खुल्यो पृथ्वीराजमार्ग, दुईतर्फी यातायात सञ्चालन

काठमाडौं। धादिङको गजुरी गाउँपालिका–२, चालिसेमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्ग करिब चार घण्टापछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

सोमबार बिहान पौने ६ बजे पहिरो खसेपछि काठमाडौं भित्रिने र बाहिरिने दुवैतर्फको यातायात रोकिएको थियो। सडक अवरुद्ध हुँदा राजमार्गमा सवारीसाधनको लामो जाम लागेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरी पहिरो हटाएको थियो।

पहिरो पन्छाएपछि राजमार्गमा दुवैतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ। सडक खुलेसँगै रोकिएका सवारीसाधन क्रमशः आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।

Read More

बडीमालिका मन्दिरमा आजदेखि पूजा तथा मेला सुरु

काठमाडौं। बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा आजदेखि पूजा तथा मेला सुरु भएको छ।

दर्शनार्थीको बढ्दो चापलाई व्यवस्थापन गर्न मुख्य पूजा हुनुभन्दा अगावै पूजा सुरु गरिएको मन्दिरका पुजारीले बताएका छन्। यस वर्ष मुख्य पूजा भदौ ११ गते हुने तय भएको छ। गत वर्ष ४५ हजारभन्दा बढी भक्तजनले बडीमालिकाको दर्शन गरेका थिए।

मेलालाई सुरक्षित र व्यवस्थित बनाउन स्थानीय तह, जिल्ला प्रशासन तथा सुरक्षा निकायले तयारी तीव्र पारेका छन्। धार्मिक क्षेत्रको मर्यादा कायम गर्न मदिरा, लागूपदार्थ र मासुजन्य वस्तुमा रोक लगाउने निर्णय गरिएको छ। आपत्कालीन अवस्थामा उद्धार तथा स्वास्थ्य सेवाको व्यवस्था पनि मिलाइएको छ।

दर्शनार्थीको सुविधा बढाउन बडीमालिका क्षेत्रमा फोरजी सेवा विस्तारको तयारी भइरहेको छ। भौगोलिक विकटताका कारण उपकरण ढुवानीमा कठिनाइ भए पनि मेला सुरु हुनुअघि सञ्चार सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण पछिल्लो समय पर्यटक तथा तीर्थयात्रीको प्रमुख गन्तव्य बन्दै गएको छ।

Read More

सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं। धादिङको गजुरी गाउँपालिका–२, चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग दुवैतर्फबाट अवरुद्ध भएको छ।

सोमबार बिहान करिब ५ः४५ बजे सडक माथिबाट खसेको पहिरोले राजमार्ग ढाकिएपछि दुवैतर्फको सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ।

सडक खुलाउन इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको नेतृत्वमा ट्राफिक प्रहरीसहित ६ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ। टोलीले पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने काम गरिरहेको छ।

राजमार्ग अवरुद्ध भएपछि पृथ्वीराजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन र यात्रु प्रभावित भएका छन्। सडक खुलाउने काम जारी रहेकाले प्रहरीले यात्रु तथा चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

Read More

नागपञ्चमी आज, घरको मूलढोकामा नागको चित्र राखेर पूजा गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीको महत्वपूर्ण पर्व नागपञ्चमी आज नागको पूजा आराधना गर्दै देशभर मनाइँदैछ। परम्पराअनुसार घरको मूलढोकामाथि नागको तस्वीर टाँसेर पूजा गर्ने चलन छ।

हरेक वर्ष श्रावण शुक्ल पञ्चमीमा मनाइने नागपञ्चमी यस वर्ष अधिकमासका कारण सौरमासअनुसार भदौ १ गते परेको हो। धार्मिक मान्यताअनुसार नागको पूजा गरेमा घरमा सर्प, नाग तथा अन्य विषालु जीवबाट हुने भय हट्नुका साथै आगलागी, मेघगर्जन र चट्याङबाट समेत सुरक्षा मिल्ने विश्वास गरिन्छ।

वैदिककालदेखि नै नागपूजाको परम्परा रहेको धार्मिक अध्येताहरू बताउँछन्। सनातन परम्परामा नागलाई सर्पका राजा तथा जलसँग जोडिएको शक्तिका रूपमा सम्मान गरिन्छ। पानीको अभाव नहोस् र प्रकृति अनुकूल रहोस् भन्ने धार्मिक विश्वाससँग पनि नागपूजा जोडिएको पाइन्छ।

नागलाई भगवान् शिव र विष्णुसँग समेत सम्बन्धित मानिन्छ। शिवले नागलाई आभूषणका रूपमा धारण गर्ने तथा विष्णु शेषनागको शय्यामा विराजमान हुने धार्मिक मान्यता छ। विभिन्न धार्मिक ग्रन्थ तथा परम्परामा शेषनाग, वासुकी, तक्षक, कर्कटलगायत नागहरूको उल्लेख पाइन्छ।

नागपञ्चमीसँग जोडिएका विभिन्न किंवदन्तीमध्ये किसान र नागिनीको कथा पनि चर्चित छ। कथाअनुसार खेत खन्ने क्रममा किसानले नागका बच्चा मारेपछि आमा नागिनीले किसानको परिवारलाई दण्ड दिइन्। पछि किसानकी छोरीले नागिनीको पूजा गर्दै दूध चढाएर क्षमा मागेपछि नागिनी प्रसन्न भई परिवारलाई पुनर्जीवन दिएको जनविश्वास छ। यही घटनाको सम्झनामा नागपञ्चमीमा नागको पूजा गर्ने परम्परा सुरु भएको किंवदन्ती रहेको छ।

नागपञ्चमीका दिन आठ प्रमुख नाग—अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख—को विशेष पूजा गर्ने चलन छ। पूजा सम्पन्न गरेपछि नागको चित्र घरको ढोकामाथि राखिन्छ। यस दिन खेतबारीमा खनजोत नगर्ने तथा नाग, सर्पलगायत घिस्रने जीवलाई नमार्ने धार्मिक मान्यता पनि छ।

काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागस्थान, कुण्ड तथा दहमा आज विशेष पूजा गरिँदैछ। श्रद्धालुले नागलाई दूध, अक्षता, दुबो, खीर, रोटी लगायतका सामग्री चढाउने गर्छन्।

धार्मिक परम्परासँगै नागपञ्चमीलाई प्रकृति र जैविक विविधताप्रतिको सम्मानसँग पनि जोडेर हेर्ने गरिन्छ। नाग तथा सर्पले पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस्ता जीवप्रति संरक्षण र सहअस्तित्वको सन्देशसमेत यस पर्वले दिने गर्छ।

नागपञ्चमीसँगै नेपाली हिन्दू समुदायमा प्रमुख चाडपर्वको मौसमसमेत सुरु हुने मान्यता छ।

Read More

मौसम पूर्वानुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले केही स्थानमा भारी वर्षासमेत हुन सक्नेछ।

हाल गण्डकीका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी, बागमती र कर्णालीका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ।

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमतीका पहाडी तथा हिमाली भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ।

तराईतर्फ गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थान तथा मधेश, कोशी र बागमतीका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

कोशी प्रदेश: पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।

मधेश प्रदेश: तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। अन्य क्षेत्रमा सामान्यतया बदली रहनेछ।

बागमती प्रदेश: पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। तराईका केही स्थानमा समेत वर्षाको सम्भावना छ।

गण्डकी प्रदेश: पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। तराईका धेरै स्थानमा पनि वर्षा हुन सक्नेछ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश: पहाडी, हिमाली तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

कर्णाली प्रदेश: पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो तथा स्थानीय बाढीको जोखिमप्रति सचेत रहनुपर्नेछ।

सुदूरपश्चिम प्रदेश: पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा तराईका धेरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउनुपर्नेछ।

आज राति देशभर सामान्यतया बदली रहनेछ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातसमेत हुन सक्नेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभाग तथा मधेश, कोशी र बागमतीका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने तथा सडक र यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक छ। मेघगर्जन र चट्याङका बेला खुला स्थानमा नबस्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न सुझाव दिइएको छ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले आगामी समयमा पनि प्रदेशअनुसार बदली र वर्षाको गतिविधि सक्रिय रहने सम्भावना रहेको छ।

Read More

आजको राशिफल

२०८३ भदौ १ गते (१७ अगस्ट २०२६) सोमबार, श्रावण शुक्लपक्ष पञ्चमी तिथि। हस्त नक्षत्र, बिहान ६ः५२ बजेसम्म हस्त र त्यसपछि चित्रा नक्षत्र रहनेछ। चन्द्रमा कन्या राशिमा रहेर साँझ ७ः१७ बजेपछि तुला राशिमा प्रवेश गर्नेछन्। आजको दिन समग्रमा मिहिनेत, संयम र विवेकपूर्ण निर्णयलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। बिहानको समयमा कामको चाप, प्रतिस्पर्धा र केही अन्योल देखिए पनि दिन ढल्दै जाँदा परिस्थितिमा सुधार आउनेछ। व्यापार–व्यवसाय, अध्ययन, आर्थिक गतिविधि तथा नयाँ योजनाका लागि विभिन्न अवसर प्राप्त हुनेछन्। पारिवारिक तथा सामाजिक सम्बन्धमा समझदारी कायम राख्न सके सकारात्मक परिणाम हात पर्नेछ। भने हतारमा निर्णय गर्ने, गोपनीय कुरा बाहिर ल्याउने वा अरूको आश्वासनमा मात्र भर पर्ने प्रवृत्तिबाट भने सावधान रहनु उचित हुनेछ।

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने प्रयास गर्न सक्छन्। वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। सहयोगीहरूको राम्रो साथ मिल्ने भएकाले चिताएका काम सम्पादन हुनेछन्। साँझदेखि कामको चापबाट फुर्सद मिल्नेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन अझ कसिलो बन्नेछ।

वृष – Taurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको सदुपयोगले लक्ष्य प्राप्त हुनेछ र बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। नयाँ कामतर्फ अग्रसर हुने अवसर मिल्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ। साँझतिर गोपनीय कुरा बाहिरिनाले समस्या पर्न सक्छ। प्रतिस्पर्धीहरूबाट जोगिएर काम लिनुहोला।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिका दिनमा समस्या निम्तिन सक्छ। बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। साँझतिर बौद्धिक तथा कलात्मक प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ भने आम्दानीका स्रोतसमेत बढ्नेछन्।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। निरन्तरको प्रयत्नले मात्र काम बनाउन सकिनेछ। आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्‍याएर प्रयत्न गर्दा काम बन्न सक्छ। साँझतिर स्थितिमा सुधार आउनेछ। पहिलेका समस्या सुल्झाउन केही काम दोहोर्‍याउनुपर्ने हुन सक्छ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

देखेको विषयमा तत्काल बोल्ने बानीले व्यर्थमा दुःख पाइनेछ। अरूका आक्षेप सहनुपर्ने हुन सक्छ। खर्च बढ्नाले अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्‍याएर प्रयत्न गर्नुपर्नेछ। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। प्रयत्न गर्दा केही अवसर प्राप्त भए पनि अरूको आश्वासनमा मात्र भर पर्दा काममा बाधा आउन सक्छ। आश्वासन दिनेहरूले समेत आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्।

कन्या – Virgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ र विभिन्न अवसरसमेत प्राप्त हुनेछन्। तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान तथा भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। साँझतिर स्थितिमा सुधार आउनेछ। व्यापारमा राम्रो फाइदा हुनेछ भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

तुला – Libra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

सुरुमा खर्च लागे पनि दिगो काममा लगानी गर्ने अवसर जुट्नेछ। रोकिएका काम सम्पादन हुनेछन्। प्रयत्न गर्दा फसेको रकम उठ्न सक्छ। लाभांश सञ्चय नभए पनि मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ। साँझदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर नाम, दाम र प्रतिष्ठा हात पार्न सकिनेछ।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। साँझदेखि बसाइँको स्थानान्तरण वा यात्रा हुने सम्भावना छ। खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।

धनु – Sagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। तापनि व्यापार बढ्नेछ र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। साँझतिर आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। अवसरले जीवनशैलीमा समेत परिवर्तन ल्याउनेछ। आँट गरेर अघि बढ्दा काम बन्नेछ।

मकर – Capricorn

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। आजको मिहिनेतले कीर्तिमानी दिलाउन सक्छ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ हुन सक्छ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा राम्रो फाइदा हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। साँझतिर कामको चापले जीवनशैली व्यस्त रहनेछ। आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा विशेष ध्यान पुर्‍याउनुहोला।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्‍याउनुहोला। कामहरू बिस्तारै सम्पादन हुनेछन्। साँझदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मिहिनेत गर्दा भाग्यले साथ दिनेछ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। बोली–व्यवहारमा संयम राख्दै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। साँझदेखि काममा बाधा र स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने श्रमको कम मात्र मूल्य प्राप्त हुने देखिन्छ।

Read More