२०८३ आश्विन १०

जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ

काठमाडौं: जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा ग्याट्स इन्टरनेसनल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रतीक बुढाथोकी पक्राउ परेका छन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय बुढाथोकीलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा साउन २५ गते बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको आरोपमा पक्राउ गरिएको हो। पक्राउ परेका उनीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

पाँच वर्षदेखि अलपत्र बूढीगङ्गाको १५ शय्याको अस्पताल

काठमाडौँ । बाजुराको बूढीगङ्गा नगरपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल पाँच वर्षदेखि अलपत्र परेको छ। १८ करोड ८४ लाख रुपैयाँभन्दा बढीमा ठेक्का दिइएको अस्पतालको हालसम्म १० प्रतिशतभन्दा कम मात्र भौतिक प्रगति भएको नगरपालिकाले जनाएको छ।

२०७८ कात्तिकमा स्काई निशान अधिकारी जेभीसँग सम्झौता भएको आयोजनाको निर्माण २०८० भदौमै सकिनुपर्ने थियो। पटकपटक म्याद थपिए पनि कामले गति लिन सकेको छैन। निर्माण कम्पनीले हालसम्म तीन करोड ७८ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ।

निर्माणस्थल भिरालो र पहिरोको जोखिमयुक्त रहेको भन्दै स्थानीयले सुरुदेखि नै विरोध गर्दै आएका थिए। अस्पतालको जग खन्ने क्रममा जोखिम बढेपछि माथिल्लो भागका चार परिवारसमेत विस्थापित भएका छन्।

नगरपालिकाले आवश्यक सहयोग र पटकपटक ताकेता गरे पनि पछिल्लो पटक भुक्तानी लिएपछि मुख्य ठेकेदारका प्रतिनिधि सम्पर्कविहीन भएको नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन्। कम्पनीले २०८३ मङ्सिरसम्म निर्माण सक्ने लिखित प्रतिबद्धता जनाएको भए पनि काम अघि बढ्न सकेको छैन।

यसैबीच, ‘एक पालिका, एक अस्पताल’ कार्यक्रमअन्तर्गत बाजुराकै गौमुल र जगन्नाथ गाउँपालिकामा निर्माण भएका अस्पताल भने सञ्चालनमा आइसकेका छन्।

Read More

चितवनमा ८०२ घरमा प्रशासनको सहजीकरणमा ग्यास सिलिण्डर पुर्‍याइयो

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले ८०२ घरमा खाना पकाउने ग्यासका सिलिण्डर पुर्‍याउन सहजीकरण गरेको छ। असहाय, अशक्त, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक तथा विद्यार्थीलाई प्राथमिकतामा राखेर ग्यास घरमै पुर्‍याइएको हो।

गत एक सातामा प्रशासनको टोल फ्रि नम्बरमा ग्यास अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई लक्षित गरी सहजीकरण गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। उनका अनुसार भरतपुरसँगै पूर्वी र पश्चिम चितवनका विभिन्न क्षेत्रमा ग्यास सिलिण्डर वितरण गरिएको छ। ग्यास अभाव भएका आश्रममा समेत आश्रममै सिलिण्डर पुर्‍याइएको उनले बताए।

उद्योगबाट ग्यास डिपोमा पुगे पनि डिपोबाट सर्वसाधारण उपभोक्तासम्म सहज रूपमा नपुगेको गुनासो आएपछि स्थानीय प्रशासनले ग्यास उद्योगदेखि खुद्रा व्यापारीसम्मको अनुगमन थालेको छ। उद्योगीहरूले पर्याप्त ग्यास आयात तथा वितरण भइरहेको दाबी गरे पनि उपभोक्ताले घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था देखिएपछि उद्योगदेखि वितरण प्रणालीसम्मको अनुगमन गर्न थालिएको अर्यालले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको नेतृत्वमा प्रहरीसहितको टोलीले बजार अनुगमन गरिरहेको छ। जिल्लामा मासिक करिब एक लाख २० हजार सिलिण्डर ग्यास आवश्यक पर्ने भए पनि हाल दैनिक ६ देखि ७ हजार सिलिण्डर मात्र वितरण भइरहेकाले अभाव देखिएको प्रशासनले जनाएको छ।

चितवनमा हाल साईबाबा, बाबा र नेपाल ग्यास उद्योग सञ्चालनमा छन्। यी उद्योगमार्फत जिल्लाका विभिन्न डिलरमा नियमित रूपमा ग्यास पठाइँदै आएको छ।

बाबा ग्यास उद्योगका सञ्चालक विमल कालाखेतीका अनुसार चितवनमा रहेका उद्योगले चितवनसहित विभिन्न जिल्लामा ग्यास पठाउँदै आएका छन्। भरिएका सिलिण्डरमध्ये करिब आधा चितवनमा र आधा अन्य जिल्लामा पठाउने गरिएको उनले बताए।

उनका अनुसार बुलेटमार्फत ग्यास भर्ने भारतको दुर्गापुरस्थित रिफाइनरीमा समस्या आएपछि अहिले पारादीपबाट ग्यास भर्ने गरिएको छ। दुर्गापुर पुग्न करिब दुई दिन लाग्ने भए पनि पारादीप पुग्न चार दिनसम्म लाग्ने भएकाले आपूर्ति प्रभावित भएको उनको भनाइ छ।

त्यस्तै, ग्यास आपूर्ति गर्दै आएको बरौनी रिफाइनरीबाट समेत कम परिमाणमा ग्यास प्राप्त हुनु र माग बढ्नुले बजारमा ग्यासको अभाव देखिएको कालाखेतीले बताए।

Read More

घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा पहिरो, एक बेपत्ता र एक घाइते

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा मंगलबार बिहान पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।

पहिरोमा परी आयोजनाका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका हुन्। गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक भने घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पहिरोमा बेपत्ता बरुवालको खोजीका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको टोली परिचालन गरिएको छ। घाइते विकको उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

विद्युत् गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा विद्युत् गृह पुरिएको हो। पहिरोका कारण विद्युत् गृहमा रहेका उपकरणमा क्षति पुगेपछि म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ।

Read More

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा साउन १४ गते गएको हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौं ल्याइँदै छ। परराष्ट्र मन्त्रालयका अनुसार किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत आज अपराह्न ४ः४५ बजे काठमाडौं आइपुग्नेछ।

सोही दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर गुरुङ ‘युक्त’को शव भने साउन २१ गते नै नेपाल ल्याइसकिएको छ।

हिमपहिरोमा परी ज्यान गुमाएका अन्य आरोहीमध्ये दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी नागरिकको शव अझै फिर्ता ल्याउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Read More

मौसम पूर्वानुमान : कुन प्रदेशमा कस्तो छ वर्षाको सम्भावना?

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश प्रदेशमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तरतर्फ अर्थात् नेपाल नजिक रहेको छ भने पूर्वी भूभागमा सरदर स्थान आसपास अवस्थित छ। यसको प्रभावका कारण आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा केही भूभागमा मेघगर्जन, चट्याङ र भारी वर्षाको समेत सम्भावना रहेको छ।

हाल कोशी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

कोशी प्रदेश

कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने आंशिक बदली रहने र एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्नेछ। रातिको समयमा पनि हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको गतिविधि बढ्न सक्ने विभागले जनाएको छ।

मधेश प्रदेश

मधेश प्रदेशमा आज आंशिक बदली रहनेछ। तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। रातिको समयमा पनि केही स्थानमा मध्यम वर्षा हुन सक्ने भएकाले यात्राका क्रममा सावधानी अपनाउन मौसम विभागले सुझाव दिएको छ।

बागमती प्रदेश

बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। तराई क्षेत्रमा आंशिक बदली रहने र एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। राति हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आज सामान्यतया बदली रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदली रहनेछ। रातिको समयमा प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको मात्रा बढ्न सक्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका अधिकांश भूभागमा बदली रहनेछ। पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ। पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता आवश्यक छ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। रातिको समयमा पनि वर्षाको गतिविधि जारी रहने सम्भावना छ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ।

विभागका अनुसार आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ।

रातिको समयमा कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। तीमध्ये एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोलानाला आसपास बसोबास गर्ने र यात्रा गर्नेहरूले आवश्यक सावधानी अपनाउनुपर्ने विभागले जनाएको छ।

Read More

आजको राशिफल

२०८३ साउन २६ गते (११ अगस्ट २०२६), मंगलवार: श्रावण कृष्णपक्ष चतुर्दशी तिथि। पुनर्वसु नक्षत्र, बिहान १०ः१४ बजेपछि तिष्य नक्षत्र। चन्द्रराशि कर्कट।आजको दिन समग्रमा विभिन्न राशिका जातकका लागि उतार–चढावपूर्ण रहने देखिन्छ। ग्रह–नक्षत्रको प्रभावअनुसार कतिपय राशिका लागि नयाँ अवसर प्राप्त हुने, रोकिएका काम अघि बढ्ने र आर्थिक लाभ हासिल गर्ने सम्भावना देखिन्छ भने केही राशिले भने खर्च, स्वास्थ्य, कामको दबाब तथा निर्णयमा सावधानी अपनाउनुपर्नेछ। आज गरेका कामको तत्काल परिणामभन्दा त्यसले भविष्यमा पार्ने प्रभावलाई समेत विचार गरेर अघि बढ्नु उपयुक्त हुनेछ। विशेषगरी महत्त्वपूर्ण योजना र व्यक्तिगत रणनीति सबैसँग खुलासा नगरी समय, परिस्थिति र व्यक्तिको मूल्यांकन गरेर निर्णय लिनु लाभदायक रहनेछ। मेहनत, धैर्य र सही व्यक्तिको सहयोगलाई सदुपयोग गर्न सके चुनौतीपूर्ण परिस्थितिलाई पनि अवसरमा बदल्न सकिनेछ।

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ। कमजोर विकल्प रोज्दा महत्त्वपूर्ण अवसर गुम्ने सम्भावना छ। सानो कमजोरीले समेत काममा बाधा पुर्‍याउन सक्छ। तत्कालको फाइदा हेर्दा भविष्यमा घाटा हुनसक्ने भएकाले निर्णय गर्दा दीर्घकालीन पक्षलाई ध्यान दिनुहोला। विशेष योजना तत्काल सार्वजनिक नगर्नु राम्रो हुनेछ। भविष्यका लागि स्रोत–साधनको जोहो गर्नुपर्ने समय छ। पेसा–व्यवसायमा आंशिक लाभ लिन सफल भइनेछ। फाइदा लिन केही काम दोहोर्‍याएर गर्नुपर्ने हुन सक्छ।

वृष – Taurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम अघि बढ्नेछन् भने नयाँ काम सुरु गर्न पनि अनुकूल समय छ। उद्योग तथा व्यापारबाट विशेष लाभ मिल्नेछ। शत्रु तथा प्रतिस्पर्धीमाथि विजय हासिल गर्न सकिनेछ। आम्दानीमा उल्लेख्य वृद्धि हुने सम्भावना छ। आफ्नो कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। कृषिक्षेत्रमा सामान्य र व्यवसायमा राम्रो लाभ उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने अवसर प्राप्त हुन सक्छ।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

बोलीको लय नमिल्दा सहयोगीहरूबाट केही गुनासो आउन सक्छ। तथापि शुभचिन्तकहरूको साथ र सहयोग जुट्ने भएकाले काममा उत्साह बढ्नेछ। निरन्तरको लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सुधार्न काम दोहोर्‍याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत तपाईंको कामको प्रशंसा गर्नेछन्। प्रेम तथा मित्रताको सम्बन्ध अझ प्रगाढ बन्नेछ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

समय केही फुर्सदिलो रहने भएकाले रमाइलो भेटघाट र सामाजिक गतिविधिमा सहभागी हुने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान तथा सामाजिक प्रभाव बढ्नेछ। काममा साथ दिने व्यक्तिहरूको संख्या बढ्नेछ। रचनात्मक तथा नयाँ कामको शुभारम्भ गर्न सकिनेछ। इच्छाशक्ति बलियो बन्नुका साथै उल्लेखनीय वा कीर्तिमानी काम गरेर यश प्राप्त गर्ने अवसर मिल्न सक्छ। प्रेम र मित्रताको बन्धन अझ कसिलो हुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजन तथा आत्मीय वातावरणको आनन्द लिन पाइनेछ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

खर्चिलो काम गर्नुपर्दा आर्थिक अभाव महसुस हुन सक्छ। धेरै परिश्रम गरे पनि अपेक्षाअनुसार प्रतिफल नपाउँदा चित्त बुझाउनुपर्ने अवस्था आउन सक्छ। लाभ नहुने कामको जिम्मेवारीसमेत वहन गर्नुपर्ने हुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने सम्भावना छ। आम्दानी भए पनि खर्च बढ्दा समस्या आउन सक्छ। प्रयत्न गरे सरसापट वा आर्थिक सहयोग भने जुटाउन सकिनेछ। लामो यात्राको अवसर प्राप्त हुनेछ भने भविष्यमा लाभ दिने कुनै कामको सुरुवात हुन सक्छ।

कन्या – Virgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

व्यापार, साझेदारी तथा सट्टापट्टाबाट लाभ मिल्नेछ। मिहिनेतका माध्यमबाट आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्ने सम्भावना छ। भविष्यका लागि लगानी बढाउन पनि अनुकूल समय छ। तर अवसरवादीहरूले तपाईंका कमजोरीको फाइदा उठाउन सक्ने भएकाले सचेत रहनुहोला। आंशिक लाभ भए पनि कुनै काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्न सक्छ। सरसापटमा केही रकम बाहिरिन सक्ने सम्भावना छ।

तुला – Libra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

राम्रो कर्मफल प्राप्त हुने भएकाले मन प्रसन्न रहनेछ। समाजले महत्त्वपूर्ण पद वा जिम्मेवारी प्रदान गर्न सक्छ। निरन्तर मिहिनेतले जीवनशैलीमै सकारात्मक परिवर्तन ल्याउन सकिनेछ। व्यापारबाट पनि राम्रो लाभ मिल्नेछ। प्रतिष्ठित व्यक्तिहरूसँग निकटता बढ्नेछ र काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुन सक्छ। अरूलाई प्रभावित पार्दै दाम, इनाम तथा प्रतिष्ठा कमाउने अवसर छ। उल्लेखनीय वा कीर्तिमानी काममा सफलता प्राप्त हुन सक्छ।

वृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन विशेष सजग रहनुपर्नेछ। परिस्थिति अनुकूल रहे पनि अरूका लागि आफ्नो बुद्धि र समय खर्च गर्नुपर्ने अवस्था आउन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि त्यसको प्रतिफल हात पार्न केही समय लाग्नेछ। अरूको करकाप वा दबाबमा काम गर्न बाध्य हुन सकिन्छ। यद्यपि अरूका लागि गरिएको कामले अन्ततः आफूलाई पनि फाइदा पुर्‍याउनेछ। समस्या पर्दा सहयोग गर्ने व्यक्ति सहजै भेटिनेछन्।

धनु – Sagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

अवसर प्राप्त गर्न दौडधुप गर्नुपर्नेछ। तत्काल लाभ नदेखिए पनि भविष्यका लागि महत्त्वपूर्ण काम गर्ने समय हो। कामको चाप बढ्नेछ, तर स्वास्थ्य कमजोर रहन सक्ने भएकाले आफ्नो शरीर र आराममा ध्यान दिनुहोला। आर्थिक दृष्टिले पनि दिन केही कमजोर रहन सक्छ। परिस्थितिले चुनौतीसँग सम्झौता गर्न बाध्य बनाउन सक्छ। केही जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउन सक्छ। समस्या खुलेर राख्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ।

मकर – Capricorn

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

भविष्यका लागि नयाँ अवसर खोज्ने समय छ। पेसा–व्यवसायमा विशेष लाभ लिन सकिनेछ। व्यापार विस्तारसँगै आम्दानीमा पनि उल्लेख्य वृद्धि हुनेछ। विभिन्न भौतिक साधन जुट्ने सम्भावना छ। कामको सिलसिलामा यात्राको अवसर मिल्न सक्छ। नयाँ ज्ञान तथा सीप सिक्ने मौका प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखद रहनेछ। प्रियजनसँगको भेटघाटले दिनलाई अझ रमाइलो बनाउनेछ। आतिथ्यपूर्ण व्यवहार तथा सम्मान प्राप्त हुनेछ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

स्रोत–साधन जुट्नाले मिहिनेती व्यक्तिका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरू पछि हट्नेछन्। आफ्नो पराक्रम र क्षमताका आधारमा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम सुरु गर्न सकिनेछ। रोकिएका काम बन्न थालेपछि उत्साह बढ्नेछ। निरन्तरको मिहिनेतले प्रतिस्पर्धाको दौडमा समेत सफलता दिलाउन सक्छ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्‍याएर गर्नुपर्ने हुन सक्छ। संघर्षका बीच कर्मयोग अघि बढ्नेछ। कामका लागि पर्याप्त समय दिन नसकिए पनि आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा केही बाधा पुर्‍याउन सक्छ। तथापि सानो प्रयासले पनि लाभ बढाउन सकिनेछ। व्यापारबाट फाइदा हुनेछ। अध्ययनप्रतिको लगाव बढ्दा बौद्धिक क्षेत्र थप फराकिलो बन्नेछ। तत्कालको परिणामभन्दा भविष्यका लागि आधार तयार गर्ने काममा ध्यान दिनु उपयुक्त हुनेछ।

Read More

मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रासायनिक मलको अभाव झेलिरहेका किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले मलको आपूर्ति तथा वितरणमा देखिएको समस्या समाधान गर्न कालोबजारी र बिचौलियामाथि प्रभावकारी निगरानी तथा नियन्त्रण आवश्यक रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले रोपाइँ सकिइसक्दा पनि मधेशसहित देशका विभिन्न क्षेत्रमा किसानले पर्याप्त मात्रामा रासायनिक मल पाउन नसकेको उल्लेख गरेका छन् । सरकारले समयमा पर्याप्त मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि त्यसअनुसार आपूर्ति व्यवस्था प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

उपलब्ध मलसमेत कालोबजारी तथा बिचौलियाका कारण किसानसम्म समान र सहज ढङ्गले पुग्न नसकेको गुनासो व्यापक रहेको प्रचण्डले बताएका छन् । किसानले आवश्यक समयमा मल नपाउँदा कृषि उत्पादनमा समेत असर पर्न सक्ने भन्दै उनले यस विषयमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

आफ्नो नेतृत्वमा रहेको तत्कालीन सरकारले समयमै मल आयात तथा वितरणको व्यवस्था मिलाउनुका साथै आगामी आर्थिक वर्षका लागि आवश्यक बजेटसमेत सुनिश्चित गरेको प्रचण्डले स्मरण गरेका छन् ।

नेपालमा मल आयातको प्रक्रिया जटिल भएकाले आवश्यक तयारी समयमै गर्नुपर्ने उल्लेख गर्दै उनले आगामी वर्षका लागि समेत अहिलेदेखि नै योजना बनाउन सरकारलाई आग्रह गरेका छन् ।

प्रचण्डले मल आयातको प्रक्रिया शीघ्र पूरा गरी पर्याप्त परिमाणमा रासायनिक मल उपलब्ध गराउन, आगामी वर्षको आवश्यकताका लागि समयमै तयारी गर्न तथा कालोबजारी र बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन् । साथै, किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरणको व्यवस्था मिलाउन पनि उनले जोड दिएका छन् ।

Read More

चितवनमा लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ। चितवनमा नियमित गस्तीमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार पक्राउ परेकाहरूको साथबाट गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, डाइजोपाम, नर्फिन र फेनारगनलगायत औषधि बरामद गरिएको छ ।

प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Read More

विद्युत् सर्ट हुँदा रौतहटमा घरमा आगलागी, १९ लाखभन्दा बढीको क्षति

काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवामा विद्युत् सर्ट भएर आगलागी हुँदा १९ लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ७ः४५ बजे स्थानीय दिपेन्द्र खरेलको काठले बनेको दुईतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीमा घरभित्र रहेका अधिकांश सामान जलेर नष्ट भएका छन् ।

आगो लागेको सूचना पाएपछि प्रहरी चौकी दुधिअवा, इलाका प्रहरी कार्यालय लक्ष्मिनिया र सशस्त्र प्रहरी बेस विजयपुर लक्ष्मिनियाबाट सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिए पनि नियन्त्रणमा नआएपछि बाराको कोल्हवी नगरपालिकाबाट दमकल बोलाइएको थियो ।

दमकलको सहयोगमा आगलागी सुरु भएको करिब दुई घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट घर पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ ।

प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार आगलागीमा इलेक्ट्रोनिक उपकरण, लत्ताकपडा, फर्निचर, भाँडाकुँडा, करिब २ लाख रुपैयाँ नगद तथा करिब ३ तोला सुनका सिक्री र औँठी जलेर नष्ट भएका छन् ।

प्रहरीको प्रारम्भिक विवरणअनुसार आगलागीबाट कुल १९ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

Read More