२०८३ आश्विन १०

मौसम पूर्वानुमान : रसुवा, नुवाकोट र धादिङमा मध्यम वर्षाको सम्भावना

काठमाडौं। आज देशभरको मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले आगामी तीन दिनसम्म मौसममा उल्लेख्य सुधार हुने सम्भावना नरहेको विभागले जनाएको छ ।

भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । ती क्षेत्रमा भारी वर्षाको सम्भावना भने न्यून रहे पनि रातिको समयमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने उनले बताए ।

विभागका अनुसार मनसुन पश्चिमतर्फ तुलनात्मक रूपमा बढी सक्रिय रहेकाले विशेषगरी बाढी तथा पहिरो प्रभावित क्षेत्रमा थप वर्षा हुँदा जोखिम बढ्न सक्ने सम्भावना छ । त्यसैले नदी तथा खोलानालाको आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।

कोशी प्रदेश: हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ । एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने तथा रातिको समयमा पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मधेस प्रदेश: प्रदेशका अधिकांश स्थानमा सामान्यतया बदली रहनेछ भने केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।

बागमती प्रदेश: हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ । एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ । रसुवा, नुवाकोट र धादिङमा आज मध्यमसम्म वर्षाको सम्भावना रहे पनि भारी वर्षाको सम्भावना न्यून रहेको विभागले जनाएको छ ।

गण्डकी प्रदेश: हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेश: पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ । अन्य क्षेत्रमा सामान्य बदली रहने तथा केही स्थानमा वर्षा हुन सक्ने विभागले जनाएको छ ।

कर्णाली प्रदेश: पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हिमाली तथा पहाडी क्षेत्रमा बदलीसहित वर्षा हुन सक्नेछ ।

सुदूरपश्चिम प्रदेश: पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । प्रदेशका अन्य क्षेत्रमा पनि सामान्य बदली रहने र केही स्थानमा वर्षा हुन सक्ने विभागले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ ।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा पुनः वर्षा हुँदा थप जोखिम निम्तिन सक्ने भएकाले नदी किनार, पहिरोको जोखिम भएका स्थान तथा कमजोर सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउनसमेत आग्रह गरिएको छ ।

Read More

भोटेकोशी बाढीपीडितका लागि कञ्चनपुरबाट एक करोड सहयोग

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कञ्चनपुरबाट करिब १ करोड रुपैयाँ बराबरको सहयोग जुटाइएको छ । जिल्लाका विभिन्न स्थानीय तह, संघसंस्था, शैक्षिक संस्था, सहकारी तथा व्यक्तिबाट संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

शुक्लाफाँटा नगरपालिकाले ७ लाख रुपैयाँ कोषमा जम्मा गरेको नगर प्रमुख रणबहादुर महराले जानकारी दिए । यस्तै, सुदूरपश्चिम विश्वविद्यालयले ८८ लाख रुपैयाँ बराबरको रकम राहत कोषमा प्रदान गरेको विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्टले बताए । उनका अनुसार उपकुलपतिले एक महिनाको तलब, प्राध्यापक तथा कर्मचारीले १० दिनसम्मको र अन्य तहका कर्मचारीले २ देखि ७ दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गरेका हुन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघले ५ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष दिनेश मल्लले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको बताए ।

लिटिल बुद्ध एकेडेमीले ८ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । यस्तै, उदयदेव सहकारी संस्थाले २ लाख ११ हजार, मेघा सहकारीले १ लाख १ हजार र जिल्लाका अन्य सहकारीले ९८ हजार रुपैयाँ सहयोग गरेका छन् ।

निड्स नेपालले १ लाख २५ हजार, समाज कल्याण संघले १ लाख ८६ हजार, भीमदत्त नगरपालिका–१८ ले १ लाख ११ हजार, सिर्जनशील सहकारीले १ लाख ११ हजार, भीमदत्त नगरपालिका–४ ले ५१ हजार र वडा नम्बर १७ ले ५० हजार रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् ।

त्यसैगरी, होटल चेतनले ५१ हजार, आध्या स्कुलले ५५ हजार, मर्निङ ग्लोरी स्कुलले ५१ हजार र होटल ओपेराले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

कञ्चनपुरस्थित गुरुकुल इन्टरनेसनल स्कुलले पनि विद्यालय परिसरमा धार्मिक महोत्सव आयोजना गरी बाढीपीडितका लागि सहयोग जुटाउने तयारी गरेको छ । विद्यालयका प्राचार्य खेमलाल घिमिरेका अनुसार ‘दिव्य श्रीकृष्ण लीला गौरा पर्व धार्मिक महोत्सव’ आयोजना गरी संकलन हुने सम्पूर्ण रकम बाढीपीडितको राहतमा प्रदान गरिनेछ ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कञ्चनपुरका विभिन्न संघसंस्था, स्थानीय तह तथा नागरिकबाट सहयोग जुटाउने क्रम जारी रहेको छ ।

Read More

बाढी–पहिरोले काठमाडौँ जोड्ने प्रमुख सडक प्रभावित, केही मार्ग पूर्ण बन्द

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण काठमाडौँलाई विभिन्न जिल्लासँग जोड्ने प्रमुख सडकमार्गमा यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीले बिहीबार बिहान ६ः३५ बजे सार्वजनिक गरेको विवरणअनुसार केही सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।

काठमाडौँ–धादिङ सडकखण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका–२, चिसोपानीमा पहिरो खसेपछि सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । यस्तै, बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा १० टनसम्मका मालवाहक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइएको छ । दिउँसो भने सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ ।

रसुवा जाने त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकअन्तर्गत उत्तरगया–५, खाल्टेमा बाढीले सडक पूर्ण रूपमा अवरुद्ध पारेको छ । उक्त सडकखण्ड तत्काल सञ्चालनमा आउने सम्भावना नरहेको जनाइएको छ । त्यस्तै, टोखा–छहरे तथा पासाङ ल्हामु राजमार्गमा बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । केही स्थानमा भने सडक पूर्ण रूपमा ठप्प रहेको प्रहरीले जनाएको छ ।

यात्रुको बढी चाप रहने पृथ्वी राजमार्गमा समेत पहिरोका कारण यातायात अस्तव्यस्त बनेको छ । धादिङको कृष्णभीरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ । परेवा भीरमा भने साना सवारीसाधनलाई मात्र एकतर्फी आवागमनको व्यवस्था गरिएको छ । जवाखोला र कमेरेभीरमा पनि पहिरोका कारण सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

लगातारको वर्षासँगै पहिरो तथा बाढीको जोखिम कायमै रहेकाले प्रहरीले सर्वसाधारणलाई अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेको छ । यात्रा गर्नुपर्ने अवस्था भए प्रस्थान गर्नुअघि सम्बन्धित सडकखण्डको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

Read More

आजको राशिफल

२०८३ भदौ १८ गते (३ सेप्टेम्बर २०२६) बिहीवार, भाद्र कृष्णपक्ष सप्तमी तिथि। कृत्तिका नक्षत्र। चन्द्रराशि मेष, बिहान ७ः५३ बजेपछि वृष।

आजको दिन विभिन्न राशिका जातकका लागि ग्रह–नक्षत्रको प्रभावअनुसार मिश्रित परिणाम दिने देखिन्छ। केही राशिका लागि रोकिएका काम अघि बढ्ने, आर्थिक लाभ प्राप्त हुने, नयाँ जिम्मेवारी र अवसर हात लाग्ने योग रहेको छ भने केहीले खर्च, स्वास्थ्य, सम्बन्ध तथा निर्णयका विषयमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ। आवेगमा आएर निर्णय लिनुभन्दा परिस्थितिलाई राम्रोसँग बुझेर संयमित ढंगले अघि बढ्नु आज लाभदायक हुनेछ। आफ्नो मेहनत, बुद्धि र विवेकको सही प्रयोग गर्न सके चुनौतीपूर्ण परिस्थितिलाई समेत अनुकूल बनाउन सकिनेछ। पारिवारिक तथा सामाजिक सम्बन्धमा बोली र व्यवहारमा संयम राख्नुका साथै शुभचिन्तकको सुझावलाई बेवास्ता नगर्नु उचित हुनेछ।

मेष – Aries: आवेशमा आएर गरिएको निर्णयले समस्या निम्त्याउन सक्छ। महत्वपूर्ण विषयमा तत्काल प्रतिक्रिया दिनुभन्दा केही समय सोचविचार गर्नु उचित हुनेछ। आत्मसम्मानका लागि अनावश्यक विवादमा नपरी मौन रहनु नै हितकर हुन सक्छ। बलजफ्ती वा दबाब दिएर लक्ष्य हासिल गर्न खोज्दा कठिनाइ आउन सक्छ। बुद्धि, विवेक र युक्तिको सही प्रयोग गर्दै काम अघि बढाउनुहोला। आफ्ना निकट व्यक्तिको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आश्वासन र आशा देखाउने व्यक्तिहरूबाट भने सावधान रहनु आवश्यक छ। बोली तथा व्यवहारमा संयम अपनाउँदै युक्तिपूर्ण ढंगले प्रस्तुत हुन सके फाइदा उठाउन सकिनेछ।

वृष – Taurus: लाभ उठाउन केही बढी मिहिनेत गर्नुपरे पनि चिताएको काम पूरा हुने सम्भावना छ। विगतका कमजोरी पहिचान गरी सुधार गर्दै जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ। रमाइलो जमघट तथा सामाजिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर मिल्नेछ। पहिले प्राप्त गरेको सफलताले थप आत्मविश्वास र उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनुका साथै आवश्यक सहयोग गर्ने व्यक्तिहरू पनि प्रशस्तै भेटिनेछन्। लामो समयदेखि बिछोडिएका परिवारजनसँग भेटघाट हुने सम्भावनाले मनमा खुसी र आत्मीयता थप्नेछ।

मिथुन – Gemini: खर्च बढ्नुका साथै आर्थिक अभाव खट्किन सक्दा सम्पन्न भइसकेको कामसमेत दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ। भविष्यका लागि केही वस्तु वा सुविधा त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति सिर्जना हुन सक्छ, त्यसैले आर्थिक निर्णयमा विशेष सावधानी अपनाउनुहोला। तत्कालको लाभ उठाउने प्रयास गर्दा भविष्यमा प्राप्त हुन सक्ने फाइदा घट्न सक्छ। यद्यपि, विगतका कमजोरी सच्याउने महत्वपूर्ण अवसर प्राप्त हुनेछ। टाढा रहेका साथीभाइसँग सम्पर्क बढ्नेछ भने यात्रा गर्ने अवसरसमेत जुट्न सक्छ।

कर्कट – Cancer: नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा उल्लेखनीय प्रगति गर्न सकिने समय छ। मनग्य धनलाभ हुने सम्भावनाले पारिवारिक आवश्यकता पूरा गर्न सहज हुनेछ। लामो समयदेखि रोकिएको काम अघि बढ्नेछ भने आयस्रोतसमेत विस्तार हुने संकेत छ। साझेदारी तथा सट्टापट्टाबाट विशेष लाभ प्राप्त हुन सक्छ। तपाईंको श्रम र क्षमताको उचित मूल्यांकन हुनेछ। सञ्चित धनलाई सही ठाउँमा उपयोग गर्न सके पनि फाइदा मिल्नेछ। समग्रमा सोचेजति मात्र नभई अपेक्षाभन्दा बढी लाभ प्राप्त हुने सम्भावना देखिन्छ।

सिंह – Leo: मिहिनेतले कामप्रति उत्साह र आत्मविश्वास बढाउनेछ। आफ्नो कार्यक्षेत्रमा राम्रो प्रभाव जमाउन सकिनेछ भने दाम, प्रतिष्ठा र सम्मान कमाउने अवसरसमेत मिल्नेछ। सामाजिक दायित्व बढ्नेछ र एउटै सकारात्मक प्रयासले जीवनशैलीमै उल्लेखनीय परिवर्तन ल्याउन सक्छ। सामाजिक नेतृत्वको जिम्मेवारी हातलागी हुने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ हुनेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुन सक्छ। विशिष्ट तथा प्रभावशाली व्यक्तिको सहयोग जुट्नाले महत्त्वपूर्ण काम पूरा गर्न सहज हुनेछ। समग्रमा आजको दिन प्रतिष्ठा, सम्मान र उपलब्धिका दृष्टिले उत्साहजनक रहनेछ।

कन्या – Virgo: चुनौतीपूर्ण कामको जिम्मेवारी लिनुपर्दा बढी परिश्रम गर्नुपर्नेछ। परिस्थितिले साथ नदिँदा सोचेअनुसार उपलब्धि हासिल गर्न केही समय लाग्न सक्छ। तपाईंको श्रमबाट अरूले फाइदा उठाउने प्रयास गर्न सक्छन्, त्यसैले आफ्नो मेहनत र योजनाप्रति सचेत रहनुहोला। स्वास्थ्यमा सामान्य कमजोरी अनुभव हुन सक्छ। सहयोगीहरूले साथ दिए पनि काममा स्वयं सक्रिय भएर लाग्नुपर्नेछ। निरन्तर मिहिनेत गर्दा सामान्य प्रतिफल प्राप्त हुनेछ। तत्काल लाभ नदेखिए पनि भविष्यका लागि उपयोगी आधार तयार गर्न सकिने भएकाले धैर्यका साथ अघि बढ्नुहोला।

तुला – Libra: पहिलेका समस्या पुनः दोहोरिनाले केही अलमल र तनाव बढ्न सक्छ। अरूको हल्ला वा अपुष्ट कुराको पछि लाग्दा दुःख पाउने सम्भावना भएकाले तथ्य बुझेर मात्र निर्णय गर्नुहोला। समस्या खुलेर राख्न सके शुभचिन्तकहरूले आवश्यक सहयोग गर्नेछन्। अहिलेको मिहिनेतले तत्काल लाभ नदिए पनि भविष्यमा राम्रो परिणाम दिलाउन सक्छ। समस्यालाई क्रमशः सुल्झाउन सकिनेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नु आवश्यक देखिन्छ। आफ्ना व्यक्तिगत तथा महत्वपूर्ण विषयमा गोपनीयता कायम राख्नुहोला। निरन्तर प्रयास गरे आंशिक रूपमा भए पनि काम सम्पादन गर्न सकिनेछ।

बृश्चिक – Scorpio: आजको दिन लाभदायक हुनुका साथै मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुने र पारिवारिक तथा सामाजिक वातावरण उल्लासमय बन्नेछ। व्यवसायका कारण रमाइलो यात्रा गर्ने अवसरसमेत प्राप्त हुन सक्छ। मिहिनेतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने सम्भावना छ। आफन्तहरूको साथ र सहयोगले नयाँ आशा तथा उत्साह जगाउनेछ। गृहस्थी जीवन सुखद् रहनेछ भने यात्रा पनि रमाइलो र उपलब्धिमूलक बन्न सक्छ।

धनु – Sagittarius: लामो समयदेखि रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरू कमजोर पर्नेछन् भने आफ्ना योजना गोप्य राखेर अघि बढ्दा क्रमशः लाभ लिन सकिनेछ। चुनौतीहरूलाई साहसपूर्वक सामना गर्दै काम बनाउन सफल भइनेछ। स्वास्थ्य सबल रहनेछ र आफ्नो पराक्रम तथा क्षमताका आधारमा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा केही गुमाउनुपरे पनि अन्ततः विजयी हुने सम्भावना छ। लामो यात्राका लागि केही रकम खर्च गर्नुपर्ने समय भए पनि त्यसबाट उपयोगी अनुभव र अवसर प्राप्त हुन सक्छ।

मकर – Capricorn: परिस्थितिका कारण चिताएको काममा केही अलमल उत्पन्न हुन सक्छ। कामको उचित तालमेल नमिल्दा योजना पूर्ण रूपमा कार्यान्वयन गर्न कठिनाइ पर्न सक्छ। हल्लाको पछि लाग्दा अनावश्यक दुःख पाइने भएकाले कुनै पनि कुरामा हतारमा विश्वास नगर्नुहोला। आफ्नै मिहिनेतको फाइदा अरूले उठाउने प्रयास गर्न सक्छन्। स्वास्थ्यसम्बन्धी चिन्ताले केही सताउन सक्छ। अध्ययनका लागि पर्याप्त समय दिन नसकिए पनि बुद्धि र विवेकको सही उपयोगले लाभ लिन सकिनेछ। व्यवसायमा आंशिक फाइदा हुनेछ। नयाँ काम सुरु गर्नुभन्दा केही समय प्रतीक्षा गर्नु उचित हुनेछ।

कुम्भ – Aquarius: परिस्थितिअनुसार आफूलाई समायोजन गर्न नसक्दा केही दुःख र असहजता भोग्नुपर्ने हुन सक्छ। हतारमा गरिएको निर्णयले राम्रो कामसमेत बिगार्न सक्छ, त्यसैले महत्वपूर्ण विषयमा धैर्य अपनाउनुहोला। महत्त्वाकांक्षी योजना कार्यान्वयन गर्ने क्रममा आफ्नै व्यक्तिहरूबाट बाधा आउन सक्छ। सोचविचार नगरी दिएको वचनले पछि अप्ठ्यारो परिस्थिति सिर्जना गर्न सक्छ। अरूको स्वार्थ पूरा गर्न आफ्नो क्षमता प्रयोग हुने सम्भावना भएकाले सजग रहनु आवश्यक छ। मान्यजनको मन जित्ने प्रयास गर्नुहोला। आमाको सहयोग र सुझाव लिएर अघि बढ्दा काममा अपेक्षित फाइदा लिन सफल भइनेछ।

मीन – Pisces: उद्योग तथा व्यापारका क्षेत्रमा विशेष फाइदा हुने समय छ। शत्रुहरू परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्ने सम्भावना छ। अग्रज तथा सहयोगी व्यक्तिहरूको साथ जुट्नाले सोचेअनुसार लाभ उठाउन सकिनेछ। नयाँ काम प्रारम्भ गर्न अनुकूल समय छ। व्यवसायमा राम्रो आम्दानी तथा लाभ हुने संकेत देखिन्छ। आवश्यक पर्दा दृढतापूर्वक अघि बढ्न सके चिताएको काममा सफलता प्राप्त गर्न सकिनेछ। निरन्तर मिहिनेतले तत्कालको उपलब्धिलाई दिगो फाइदामा परिणत गर्न मद्दत गर्नेछ। विगतमा हासिल गरेको सफलताले पनि थप उत्साह र आत्मविश्वास जगाउनेछ।

Read More

चीनतर्फ केरुङ जाने सडक खुल्यो, बाढी प्रभावित क्षेत्रमा भारी मेसिनरी पुग्ने

काठमाडौं । नेपालसँग जोडिएको चीनको केरुङ (जिरोङ) नाकातर्फ जाने सडक बुधबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आएको छ।

चीनको तिब्बत क्षेत्रमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध सडकको अन्तिम खण्ड अस्थायी रूपमा सञ्चालनमा ल्याइएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

सडक खुलेसँगै उद्धारकर्मी, राहत सामग्री, आवश्यक उपकरण तथा भारी मेसिनरीलाई विपद्को मुख्य प्रभावित क्षेत्रमा स्थलमार्गबाटै पुर्‍याउन सहज भएको छ। यसअघि सडक अवरुद्ध हुँदा उद्धार तथा राहत सामग्री ढुवानीमा कठिनाइ हुँदै आएको थियो।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार G216 राष्ट्रिय राजमार्गको क्षतिग्रस्त अन्तिम खण्डमा अस्थायी रूपमा यातायात सञ्चालन गरिएको हो। सडक खुलेपछि भारी मेसिनरीसमेत मुख्य विपद् प्रभावित क्षेत्रतर्फ लैजान थालिएको छ।

चीनतर्फको केरुङ नाका भवन रहेको क्षेत्रनजिकैसम्म राष्ट्रिय राजमार्ग सफा गर्ने भारी मेसिनरी पुगेको जनाइएको छ। उद्धार टोलीले विभिन्न उपकरणको समन्वयमा मुख्य प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेका छन्।

सडक सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा थप उद्धार सामग्री तथा उपकरण पुर्‍याउन सहज हुने र खोज तथा उद्धार कार्य थप तीव्र हुने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

Read More

पृथ्वी राजमार्गको परेवाभिरमा वैकल्पिक ट्रयाक खुल्यो, जोखिम कायमै

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–३ स्थित परेवाभिरमा वैकल्पिक ट्रयाक खोलिएको छ।

त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि उक्त स्थानमा सडक भासिएर यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। अहिले सोही स्थानमा वैकल्पिक मार्ग निर्माण गरी सवारी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार करिब १०० मिटर लामो नयाँ ट्रयाक खोलिएको हो। ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सवारी साधन सामान्य रूपमा सञ्चालन हुन थालेका छन्। यद्यपि, नयाँ ट्रयाकमा समेत यात्रा जोखिमपूर्ण रहेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

यसअघि त्रिशूली नदीको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा समेत सडक भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।

राजमार्गका विभिन्न स्थानमा बाढीले क्षति पुर्‍याएपछि काठमाडौं आउजाउका लागि वैकल्पिक मार्गका रूपमा चितवनको नारायणगढ हुँदै हेटौंडा–काठमाडौं जोड्ने तीनवटा रुट प्रयोग भइरहेका छन्।

Read More

नागढुंगा–मुग्लिन सडकमा सुरुङमार्ग खुल्यो, दुई पाङ्ग्रे र पेट्रोलियम बोकेका सवारीलाई रोक

काठमाडौं । काठमाडौंबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारीबाहेक अन्य सवारीका लागि नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याइएको छ।

नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत पातले वनमा सडक भासिएपछि केही समयदेखि आवागमन प्रभावित भएको थियो। अहिले पेट्रोलियम पदार्थ बोकेका सवारी साधन र मोटरसाइकललाई भने भासिएको स्थानबाटै एकतर्फी आवागमनको व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ।

विभागका अनुसार सडक भासिएको स्थानमा प्राविधिक अध्ययन गरेपछि मात्र मर्मतको काम अघि बढाइनेछ। अध्ययनपछि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा आवश्यक निर्णय गरिने विभागले जनाएको छ।

Read More

बाढीका कारण नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण प्रभावित नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्।

बाढीबाट प्रत्यक्ष प्रभावित विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन्। यस्तै, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाका प्रभावित क्षेत्रका शैक्षिक संस्थामा समेत पठनपाठन स्थगित गरिएको छ।

बाढीका कारण विद्यार्थी, शिक्षक तथा अभिभावक बेपत्ता भएका छन्। विद्यालय भवन, सडक तथा पुलमा समेत क्षति पुगेपछि आवतजावत कठिन भएकाले तत्काल विद्यालय सञ्चालन गर्न नसकिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए। उनका अनुसार जनजीवन सामान्य बन्दै गएपछि र नदी वारपार गर्न सहज भएपछि मात्र पठनपाठन पुनः सञ्चालन गरिनेछ।

विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढीको पूर्वसूचना प्राप्त भए पनि क्षतिको अवस्था अनुमान गरिएभन्दा निकै ठूलो छ। “केही विद्यालयले उच्च सतर्कता अपनाएकाले ठूलो दुर्घटना हुनबाट जोगियो,” उनले भने, “अहिलेको असामान्य अवस्थामा भौतिक उपस्थितिमै तत्काल पठनपाठन सञ्चालन गर्न सम्भव छैन। केही समयपछि वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्ने योजना बनाउँदैछौँ।”

त्रिशूली नदीमा आएको बाढीबाट सबैभन्दा बढी प्रभावित विदुर नगर क्षेत्रका ८३ विद्यालयमध्ये एक दर्जनभन्दा बढी विद्यालय प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढीका कारण विद्यालयका भौतिक संरचना, शैक्षिक सामग्री तथा अन्य सम्पत्तिमा समेत करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक विवरण छ।

Read More

भोटेकोशी बाढीपछि पोखरा ल्याइएका १०२ शवमध्ये २१ को सनाखत

काठमाडौं । रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये २१ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ। मंगलबार पहिचान खुलेका शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको हो।

पहिचान हुन नसकेका ७६ शवलाई पोखरा–१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा अझै पाँच शव रहेका छन्।

पहिचान हुन बाँकी शवको थप परीक्षण

शवगृहमा रहेका पाँच शवमध्ये एकभन्दा बढी परिवारले तस्बिर हेरेर आफ्नो आफन्त भएको दाबी गरेकाले थप परीक्षण गर्न बाँकी रहेको बरालले बताए। पहिचान सुनिश्चित गर्न सबै शवको डिएनए नमुना संकलन गरिएको उनले जानकारी दिए।

“लामो समय शवगृहमा राख्दा दुर्गन्ध फैलनाका साथै महामारीको जोखिम हुने भएकाले सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको हो। सबै शवको डिएनए लिएका छौँ। परिवारको डिएनए मिलेको अवस्थामा सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिन्छ,” बरालले भने।

विभिन्न जिल्लाबाट ल्याइएका शव व्यवस्थापन

धादिङबाट २२, गोरखाबाट सात, नवलपरासीबाट २५ र तनहुँबाट प्राप्त २२ शव व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ। बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट उद्धारका क्रममा भेटिएका शवलाई परीक्षण तथा पहिचानका लागि पोखरा ल्याइएको थियो।

सिसौघारीमा सुरक्षित रूपमा शव व्यवस्थापन

पहिचान हुन नसकेका शवलाई गहिरो खाडलमा हावा नछिर्ने प्लास्टिकको झोलामा राखेर सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। प्रत्येक शवलाई छुट्टाछुट्टै सङ्केत नम्बर दिई माटोले पुरिएको छ।

शव व्यवस्थापन गरिसकेपछि प्रत्येक स्थानमा गमला राखेर सम्बन्धित शवको सङ्केत नम्बर उल्लेख गरिएको ‘स्ट्यान्ड’ बनाइएको छ। यसबाट भविष्यमा डिएनए परीक्षण वा अन्य प्रक्रियाबाट पहिचान खुलेमा सम्बन्धित शवको स्थान पहिचान गर्न सहज हुने प्रशासनले जनाएको छ।

Read More

मौसम पूर्वानुमान

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा आसपासका जिल्लामा आज अपराह्नपछि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका मौसमविद् रोजन लामिछानेका अनुसार भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा अपराह्नपछि मध्यमसम्म वर्षा हुन सक्ने भएकाले प्रभावित क्षेत्रमा थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।

विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नोस्यामपाटीस्थित मौसम मापन केन्द्रमा ६०.२ मिलिमिटर मापन भएको छ। यस अवधिमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका विभिन्न भूभागमा पनि स्थानीय रूपमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।

कोशी प्रदेश

कोशी प्रदेशमा आज मौसम सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। तराईका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने विभागले जनाएको छ। राति पनि कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मधेस प्रदेश

मधेस प्रदेशमा दिउँसो मौसम सामान्यतया बदली रहनेछ। प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने सम्भावना रहेको छ। वर्षाका कारण सडक आवागमन तथा दैनिक जनजीवनमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

बागमती प्रदेश

बागमती प्रदेशका अधिकांश पहाडी तथा हिमाली भूभागमा आज मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ। विशेषगरी भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ तथा आसपासका क्षेत्रमा अपराह्नपछि मध्यम वर्षा हुनसक्ने भएकाले खोज तथा उद्धार तथा राहत व्यवस्थापनमा थप चुनौती आउन सक्ने देखिएको छ।

बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राति पनि प्रदेशका हिमाली भूभागमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता आवश्यक छ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली तथा पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुनसक्नेछ। प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। राति पनि हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता आवश्यक छ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका धेरै स्थानमा पछिल्लो समय मध्यम वर्षा भएको छ। आज पनि मौसम सामान्यतया बदली रहनेछ। पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने सम्भावना छ। प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउनुपर्ने देखिएको छ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्नेछ। एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले नदी तथा खोलानाला आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने विभागले जनाएको छ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज प्रदेशका पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा डुबानको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन आवश्यक रहेको विभागले जनाएको छ।

रातिको मौसम

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुनसक्नेछ। तराईका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले वर्षाका कारण टनेलमा पानी भरिँदा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा थप चुनौती उत्पन्न भएको बताएका छन्।

उनका अनुसार रातभर परेको वर्षाका कारण टनेलभित्र पानी भरिएपछि पानी तान्ने पम्पसमेत डुबेको थियो। सुरक्षाकर्मीले पम्प निकालेर पानी तान्ने काम गरिरहेका छन्।

“बिहानैदेखि खोजी सुरु गरिएको छ । रातभरको वर्षाले पानी तान्ने पम्प छोपिएपछि सुरक्षाकर्मीले त्यसलाई निकाल्ने काम गरिरहेका छन्,” उनले भने।

जल तथा मौसम विज्ञान विभागले अझै तीन दिनसम्म वर्षा हुने सम्भावना रहेकाले भोटेकोशी बाढी प्रभावित क्षेत्रसहित जोखिमयुक्त स्थानमा थप समस्या आउन सक्ने जनाएको छ। वर्षाका कारण खोज, उद्धार, राहत तथा अन्य व्यवस्थापनका काममा चुनौती बढ्न सक्ने भएकाले सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाइरहेको प्राधिकरणले जनाएको छ।

Read More