२०८३ आश्विन १०

आजको राशिफल

२०८३ भदौ १७ गते (२ सेप्टेम्बर २०२६) बुधवार, भाद्र कृष्णपक्ष षष्ठी तिथि परेको छ। आज भरणी नक्षत्र र चन्द्रमा मेष राशिमा रहेको छ। ग्रह–नक्षत्रको प्रभावले आज विभिन्न राशिका जातकहरूको दैनिक जीवनमा काम, व्यापार, आर्थिक पक्ष, पारिवारिक सम्बन्ध, प्रेम, स्वास्थ्य तथा यात्रालगायतका विषयमा फरक–फरक प्रभाव पर्ने देखिन्छ। कसैका लागि नयाँ अवसर र उपलब्धिको ढोका खुल्नेछ भने केही राशिले काममा ढिलासुस्ती, स्वास्थ्य तथा आर्थिक पक्षमा सावधानी अपनाउनुपर्ने अवस्था आउन सक्छ। आजको दिनमा आफ्नो क्षमता र परिस्थितिलाई बुझेर अघि बढ्दा सकारात्मक परिणाम हासिल गर्न सकिनेछ।

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। आत्मविश्वास र आँटले अघि बढ्दा काम बन्नुका साथै मनग्य धन आर्जन गर्ने अवसर मिल्नेछ। लामो समयदेखि विछोडिएका परिवारजनसँग भेटघाट हुने तथा रमाइलो जमघटमा सहभागी हुने अवसर प्राप्त हुन सक्छ। स्वादिष्ट भोजन तथा मनोरञ्जनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको सम्बन्ध अझ कसिलो बन्नेछ। साथै, विगतका कमीकमजोरी पहिचान गरी सुधार गर्ने राम्रो अवसर पनि प्राप्त हुनेछ।

वृष – Taurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय छ। मिहिनेतले प्रतिस्पर्धीहरू पछि पर्नेछन्। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काममा अलि टाढाका साथीभाइले सहयोग जुटाउनेछन्।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

नयाँ काम प्रारम्भ हुनेछ। गरेको कामले राम्रै लाभ दिलाउनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुने समय छ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा गर्न सहज हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विभिन्न अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन तथा पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थितिवश फाइदा नहुने काममा अलमल हुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउने प्रयास गर्नेछन्। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आफ्नो क्षेत्रमा समेत कमजोर साबित हुन सकिने भएकाले निर्णय गर्दा विशेष सावधानी अपनाउनुहोला।

कन्या – Virgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिवश काममा अलमल हुनेछ। लाभांश बाहिरिनाले समस्या पर्न सक्छ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। मेहनत र सावधानीले उपलब्धि जोगाउन सफल भइनेछ।

तुला – Libra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले थप उत्साह जगाउनेछ। विभिन्न सहयोग तथा उपहार प्राप्त हुनेछन्। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा भने ध्यान पुर्याउनुहोला। फुर्सद मिल्नुका साथै यात्रा गर्ने साइत पनि जुर्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुने समय छ।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा गुमेको अधिकार स्थापित गर्न सकिनेछ। सानै प्रयत्नले लक्ष्यमा पुग्न सकिनेछ। भौतिक साधन जुट्नेछन् र दिगो काम सुरु हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ।

धनु – Sagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

समयमा काम नगर्ने बानीले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काम थाल्न नसकिने अवस्था आउन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा भने जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। सन्तानको साथले काम बन्नेछ।

मकर – Capricorn

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। पहिले टाढिएका आफन्त नजिकिन सक्छन्। असल व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि त्यसको प्रतिफल हात पार्न केही समय लाग्न सक्छ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग तथा व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि तथा पेसा–व्यवसायमा प्रशस्त धन आर्जन गर्ने मौका छ। प्रतिस्पर्धाले समेत फाइदा दिलाउनेछ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन सक्छ। धेरै बोल्दा गोपनीयता बाहिरिन सक्ने भएकाले बोलीमा विशेष सावधानी अपनाउनुहोला। केही अवसर प्राप्त हुनेछन् तर काम पूरा गर्न समय लाग्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। शुभचिन्तकहरूको साथ भने पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा चिताएको काम बन्न सक्छ।

Read More

भोटेकोशी बाढीपछि फेला परेका २८० शवको फरेन्सिक परीक्षण र डीएनए नमुना संकलन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको फरेन्सिक परीक्षण तथा डीएनए नमुना संकलन गरी चितवनको देवघाटस्थित व्यवस्थापनस्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।

भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार भदौ १० गते रातिदेखि सुरक्षाकर्मीले त्रिशूली नदीबाट संकलन गरेका शव अस्पतालमा ल्याएर संरक्षण गरिएको थियो। भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डीएनएलगायत जैविक नमुना संकलन तथा अभिलेखीकरणको काम सुरु गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशूली र नारायणी नदीबाट ३२१ शव संकलन गरिएको छ। तीमध्ये १२ शवको सनाखत भई आफन्तले बुझिसकेका छन्।

संकलित शवमध्ये ६६ महिला, ११६ पुरुष, सात बालक, छ बालिका तथा १२६ वटा पहिचान खुल्न नसकेका वा अवस्था नखुलेका शव रहेका छन्।

प्रहरीका अनुसार भविष्यमा पहिचान गर्न सकिने गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार देवघाटस्थित व्यवस्थापनस्थलमा शवहरू सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो।

भदौ १३ गते ९६ शव, भदौ १४ गते १०३ शव र भदौ १५ गते ८१ शव व्यवस्थापन गरिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

उनका अनुसार नदी किनारमा शव खोजी गर्ने कार्य अझै दैनिक रूपमा जारी छ। नदीबाट फेला परेका शवलाई भरतपुर अस्पताल ल्याई फरेन्सिक परीक्षण तथा डीएनए नमुना संकलन गरेपछि देवघाटस्थित व्यवस्थापनस्थलमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य निरन्तर भइरहेको छ।

Read More

बाढी–पहिरोको जोखिम बढेपछि चीनले तातोपानी नाका अनिश्चितकालका लागि बन्द गर्‍यो

काठमाडौँ । बाढी तथा पहिरोको जोखिम बढेको भन्दै चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । यसअघि भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवागढी नाका प्रभावित भएपछि चीनले तातोपानी नाका पनि बन्द गर्ने निर्णय गरेको हो ।

भदौ १० गते आएको भोटेकोसीको बाढीले रसुवागढी नाकाअन्तर्गत टिमुरे बजार, भन्सार तथा अध्यागमन कार्यालयमा ठूलो क्षति पुर्‍याएको थियो । दुवै प्रमुख उत्तरी नाका बन्द भएपछि नेपाल–चीनबीचको स्थलमार्ग हुँदै हुने व्यापार प्रभावित भएको छ ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाका अनुसार सीमावर्ती लिपिङ क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले जोखिम स्थिर नभएसम्म चिनियाँ पक्षले तातोपानी नाकाबाट व्यापारिक गतिविधि सञ्चालन नगर्ने जानकारी गराएको छ ।

तातोपानी नाकाबाट मालवाहक सवारीसाधनको आवतजावत तथा व्यापारिक आयात–निर्यात रोकिए पनि सर्वसाधारण यात्रुको आवतजावत भने जारी रहने महावाणिज्यदूत निरौलाले जानकारी दिएका छन् ।

नेपाल–चीन व्यापारका लागि प्रमुख नाका मानिएका रसुवागढी र तातोपानी एकैपटक बन्द भएपछि चीनसँगको स्थल व्यापारका लागि मुस्ताङस्थित कोरला नाका मात्रै सञ्चालनमा रहने अवस्था बनेको छ ।

मुख्य उत्तरी नाका बन्द हुँदा आगामी चाडपर्वलाई लक्षित गरी चीनबाट नेपाल ल्याउन लागिएका ठूलो परिमाणका व्यापारिक सामग्री सीमापारि नै रोकिएर अलपत्र पर्ने जोखिम बढेको छ । लामो समयसम्म नाका सञ्चालनमा नआएमा आयात–निर्यातसँगै बजारमा सामानको आपूर्तिमा समेत असर पर्न सक्ने व्यवसायीहरूले बताएका छन् ।

Read More

बाढी–पहिरोका कारण देशभरका विभिन्न सडक अवरुद्ध, जोखिमयुक्त मार्गमा यात्रा नगर्न प्रहरीको आग्रह

काठमाडौं। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित बनेको छ भने प्रहरीले यात्रुलाई जोखिमयुक्त सडकमा यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

नेपाल प्रहरीले मंगलबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी तथा पहिरोका कारण विभिन्न सडकखण्डमा यातायात सञ्चालन प्रभावित भएको जनाएको हो । वर्षा निरन्तर भइरहेकाले सडकमा थप बाढी, पहिरो तथा कटानको जोखिमसमेत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा भदौ १५ गते दिउँसो पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडकमा सवारी आवागमन ठप्प रहेको र अवरोध हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । उक्त सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालन गर्न नदिइने व्यवस्था गरिएको छ । दिउँसोको समयमा भने सडकको अवस्था तथा जोखिमको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ ।

उता, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । बाढीले सडकमा क्षति पुर्‍याएपछि उक्त सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।

रसुवाका अन्य प्रमुख सडकखण्डहरू पनि बाढीका कारण भदौ १० गतेदेखि नै अवरुद्ध रहेको प्रहरीले जनाएको छ । बाढी तथा पहिरोका कारण सडकमा ठूलो क्षति पुगेकाले तत्काल नियमित यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको जनाइएको छ ।

प्रहरीले वर्षा अझै जारी रहेकाले सडकखण्डमा थप पहिरो, बाढी तथा सडक भासिनेजस्ता जोखिम हुनसक्ने भन्दै यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । अत्यावश्यक अवस्थाबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

बाढी, पहिरो तथा सडक क्षतिको अवस्था निरन्तर अनुगमन भइरहेको र सम्भव भएका स्थानमा अवरोध हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Read More

बेत्रावतीमा बाढीले पुरिएको घरबाट २३ शव निकालियो

काठमाडौं । नुवाकोटको बेत्रावतीमा भोटेकोसी नदीको बाढीले पुरिएको एउटा घरबाट २३ वटा शव निकालिएको छ । मंगलबार खोज तथा उद्धारका क्रममा सुरक्षाकर्मीले घरको एउटै कोठाबाट २१ वटा र घरबाहिरबाट थप दुई वटा शव फेला पारेका हुन् ।

उद्धारमा खटिएका एक प्रहरी अधिकारीका अनुसार तीनतले घरको माथिल्लो भागमा रहेका कोठाबाट ती शव फेला परेका हुन् । बाढीले घर पुरिएपछि ठूलो मात्रामा माटो तथा लेदो जमेको स्थानमा सुरक्षाकर्मीले खोजी गर्ने क्रममा शवहरू भेटिएका हुन् ।

फेला परेका शवमध्ये हालसम्म कसैको पनि पहिचान खुल्न सकेको छैन । घटनास्थलमा थप व्यक्ति पुरिएको हुन सक्ने आशंकामा प्रहरीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ ।

बाढीबाट प्रभावित बेत्रावती क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा समेत खोजी कार्य जारी राखेका छन् । फेला परेका शवको पहिचान तथा घटनाको थप विवरण संकलन गर्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ ।

Read More

ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा, बेत्रावतीसम्म आवागमन सहज

काठमाडौं। नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा अवरुद्ध सडक खुलाएर यातायात सञ्चालनमा ल्याइएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालन हुन थालेपछि भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको आवागमन सहज भएको छ । बाढीका कारण क्षति पुगेका सडक तथा डुबानमा परेका बस्तीमा आवतजावत सहज बनाउन जिल्ला विपद् व्यवस्थापन समितिले सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको हो ।

ढुङ्गेबजारको बस्ती तथा सडकमा पुगेको क्षति र डुबानका कारण सिर्जित अवरोध हटाएपछि यातायात सञ्चालन गर्न सम्भव भएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । सडक सञ्चालनमा आएपछि बाढीबाट प्रभावित क्षेत्रमा शव व्यवस्थापन, क्षति पुग्न बाँकी घरबाट सामग्री सुरक्षित स्थानमा सार्न तथा राहत तथा उद्धारका काममा समेत सहज भएको उनले बताए ।

नगरप्रमुख श्रेष्ठका अनुसार ढुङ्गे क्षेत्र हुँदै बेत्रावतीसम्म पुग्ने बाटो खुलेपछि क्षतिग्रस्त सडक मर्मत तथा पुनःस्थापनाका लागि आवश्यक यन्त्र–उपकरण र जनशक्ति परिचालन गर्नसमेत सहज भएको छ । “क्षति पुगेका सडक मर्मतका लागि यन्त्र–उपकरणसहित जनशक्ति पठाउन सजिलो भएको छ,” उनले भने ।

ढुङ्गेलगायतका क्षेत्रमा अवरुद्ध सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय नुवाकोट, पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाले हेभी उपकरणसहित जनशक्ति परिचालन गरेका थिए । सडक खुलाउने तथा प्रभावित क्षेत्रमा अत्यावश्यक काम अघि बढाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले समेत आवश्यक सहयोग गरेका थिए ।

सडक सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई थप गति दिन र स्थानीयवासीको आवागमन सहज बनाउन सहयोग पुगेको छ ।

Read More

कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिरै ग्यास भर्न थालियो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि राजधानीमा आपूर्ति हुने एलपी ग्यासको व्यवस्थापन प्रभावित भएको छ । ग्यास बोकेका बुलेट कृष्णभीरको सडक हुँदै आवतजावत गर्न नसक्ने भएपछि उपत्यका र आसपासका जिल्लामा रहेका ग्यास उद्योगहरूले राजधानी बाहिरका उद्योगमा ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौं ल्याउने व्यवस्था मिलाएका छन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानी बाहिरका उद्योगमा ग्यास भर्न अनुमति दिएको छ । सोहीअनुसार उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लामा रहेका उद्योगसँग समन्वय गरेर ग्यास भर्न थालेका छन् ।

चन्दका अनुसार उपत्यका र आसपासका जिल्लामा मात्रै मुलुकको कुल ग्यास खपतको ४० प्रतिशतभन्दा बढी माग हुने गरेको छ । कृष्णभीरको सडक अवरुद्ध हुँदा आपूर्ति प्रभावित हुन सक्ने अवस्था आएपछि राजधानी बाहिरबाटै ग्यास भरेर वैकल्पिक मार्गमार्फत काठमाडौं ल्याउने व्यवस्था गरिएको हो ।

सङ्घका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक सडकबाट काठमाडौं ल्याइने बताए । उनका अनुसार बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का उद्योगमा भरिएका ग्यासका बुलेट त्रिभुवन राजपथलगायतका वैकल्पिक सडक प्रयोग गरी राजधानी ल्याइनेछ ।

राजधानी बाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र आसपासका जिल्लामा तत्काल ग्यास अभाव नहुने कालाखेतीले बताए । उनले उपभोक्तालाई आवश्यकता भन्दा बढी ग्यास सञ्चित नगर्नसमेत आग्रह गरेका छन् ।

कालाखेतीका अनुसार श्री ग्यासले बाबा ग्यास, श्रीकृष्ण ग्यासले साइबाबा ग्यास, श्रीराम ग्यासले जानकी ग्यास तथा नेपाल ग्यासले नेपाल गण्डकी ग्यास उद्योगमा ग्यास भर्न सुरु गरिसकेका छन् । त्यस्तै, एभरेष्ट र सुगम ग्यासले साहारा उद्योगमा ग्यास भर्न थालेका छन् ।

अन्य ग्यास उद्योगहरूले पनि राजधानी बाहिर रहेका उद्योग वा अन्य उद्योगसँग समन्वय गरी ग्यास भर्ने व्यवस्था मिलाइरहेका छन् । यसरी वैकल्पिक माध्यमबाट आपूर्ति व्यवस्थापन गरिएकाले कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म पनि राजधानीमा ग्यास आपूर्ति सहज बनाइराख्ने प्रयास भइरहेको उद्योगीहरूले बताएका छन् ।

Read More

आजको राशिफल

२०८३ भदौ १६ गते (१ सेप्टेम्बर २०२६), मंगलबार — भाद्र कृष्णपक्ष चतुर्थी तिथि बिहान ७ः१६ बजेसम्म रहनेछ भने त्यसपछि पञ्चमी तिथि लाग्नेछ। आज पञ्चमी तिथि क्षय भएको छ। अश्विनी नक्षत्र र मेष चन्द्रराशिको प्रभाव रहेको आजको दिनमा विभिन्न राशिका जातकका लागि काम, व्यापार, अध्ययन, आर्थिक अवस्था, पारिवारिक सम्बन्ध तथा सामाजिक गतिविधिका क्षेत्रमा फरक–फरक प्रभाव देखिनेछ। केही राशिका लागि नयाँ अवसर, आम्दानी वृद्धि, सफलता र प्रतिष्ठा प्राप्त गर्ने अनुकूल समय रहनेछ भने केहीका लागि खर्च, विवाद, स्वास्थ्य तथा काममा आउने अवरोधप्रति विशेष सजग रहनुपर्ने देखिन्छ। आफ्नो क्षमता, समय र परिस्थितिलाई विचार गरेर अघि बढ्दा दिनलाई थप फलदायी बनाउन सकिनेछ।

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु तथा उपहार प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

वृष – Taurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्। परिश्रमका तुलनामा प्रतिफल कम मात्र प्राप्त हुनेछ। खर्च र विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। खर्चको जोहो गर्न आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आर्थिक प्रलोभन देखाउनेहरूबाट विशेष सजग रहनुहोला।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि सकारात्मक परिवर्तन आउन सक्छ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ। भूमि तथा पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। जिम्मेवारी बढ्नेछन्। मुख्य काममा बाधा हुनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न हतार नगर्नुहोला। अध्ययनमा समय दिन नसकिएला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला।

कन्या – Virgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। बाध्यताले अलमल्याउन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।

तुला – Libra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने लेखनकलामा निखारता आउनेछ। उपहार र खानपानले दिन आनन्दमय रहनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका छ। सेवामूलक कामले नाम र प्रतिष्ठा दिलाउनेछ।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। नयाँ काम प्रारम्भ हुनेछ भने मिहिनेतले आयस्रोत सबल बनाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। दिगो काम हातलागी हुने समय छ।

धनु – Sagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

समयको रफ्तारलाई पछ्याउन नसक्दा पछि परिनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला।

मकर – Capricorn

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। मान्यजनको सहयोगले तत्काललाई अन्योल टर्न सक्छ। रोकिएका काम भने दोहोर्याउनुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ। तर मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। मिहिनेतले आम्दानी बढाउनेछ र दिन उत्साहवर्द्धक रहनेछ।

Read More

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गको खोजी

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत चितवनको कृष्णभीरमा आइतबार बिहानदेखि सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ। त्रिशूली नदीले सडकको जग निरन्तर कटान गरिरहेका कारण तत्काल सडक मर्मत गरी सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेपछि वैकल्पिक मार्गको अध्ययन सुरु गरिएको हो।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नदीको कटान बढ्दै गएपछि सडक भासिने क्रम जारी छ। सडकको करिब १०० मिटर भाग भासिनुका साथै चिरिएको छ। जोखिम बढेपछि पैदलयात्रासमेत रोकिएको छ।

उनका अनुसार तत्काल सडक निर्माण वा मर्मत गरी सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन। त्यसैले विज्ञहरूको टोलीले वैकल्पिक मार्गको अध्ययन सुरु गरेको छ।

पश्चिम खण्ड प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारीले सडक तत्काल सञ्चालन गर्न नसकिने अवस्था आएपछि वैकल्पिक मार्गको खोजी थालिएको बताइन्। उनका अनुसार नदीको कटानका कारण सडकको भित्तोसहित आसपासको भूभागमा समेत चिरा परेको छ।

“खोलाले कटान गरिरहेको छ। कति झर्छ भन्ने यकिन भन्न सकिने अवस्था छैन,” अधिकारीले भनिन्।

सडकको भित्तोमाथि रहेको डाँडाको अवस्थासमेत अध्ययन भइरहेको उनले जानकारी दिइन्। विषयविज्ञबाट विस्तृत अध्ययन गराएपछि कसरी काम अघि बढाउने भन्ने टुंगो लाग्ने उनको भनाइ छ।

डाँडामाथि बस्तीसमेत रहेकाले सडकको भित्तो काटेर तत्काल मर्मत गर्न सम्भव नभएको अधिकारीले बताइन्। “भित्तो काट्न मिल्दैन। माथितिर बस्ती छ। अहिले हामी तत्काल चलाउन सक्दैनौँ,” उनले भनिन्।

सडक तत्काल सञ्चालन गर्न नसकिने भएपछि धादिङको बेनीघाट–आरुघाट–गोरखा, गल्छी–धादिङको सुनौलो बजार–धादिङबेसी–सल्यानटार–गोरखालगायतका वैकल्पिक सडकको अध्ययन भइरहेको छ।

पृथ्वी राजमार्गबाट त्रिशूली नदी पार गरी अन्य राम्रो सडक प्रयोग गर्दै गन्तव्यतर्फ जान सकिने सम्भावित मार्गको खोजी भइरहेको अधिकारीले बताइन्। तत्काल मर्मत गरेर सञ्चालन गर्न सकिने सडक पहिचान गरी प्रयोगमा ल्याउने तयारी भइरहेको छ।

पूर्वबाट आउने सवारीसाधनले मकवानपुरतर्फका वैकल्पिक सडक प्रयोग गर्न सक्ने भए पनि पश्चिम तथा पोखरातर्फ जाने सवारीसाधनका लागि गोरखातर्फबाट वैकल्पिक मार्ग खोजी भइरहेको छ।

पृथ्वी राजमार्ग राजधानी काठमाडौंलाई जोड्ने महत्वपूर्ण ‘लाइफलाइन’ सडकका रूपमा रहेको छ। यस सडकमा दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गर्छन्। राजधानीमा ग्यासका बुलेटलगायत ठूला सवारीसाधनसमेत यही मार्गबाट आवतजावत गर्ने भएकाले कृष्णभीरमा सडक अवरुद्ध हुँदा यसको प्रत्यक्ष प्रभाव पर्न सक्ने देखिएको छ।

केही वर्षअघिसम्म पहिरो तथा सडक भासिने समस्याले निकै दुःख दिएको कृष्णभीरमा मर्मतसम्भार तथा पहिरो रोकथामका काम गरिएपछि पछिल्ला वर्षहरूमा समस्या देखिएको थिएन। तर, त्रिशूली नदीको निरन्तर कटानका कारण पुनः सडक जोखिममा परेको हो।

Read More

पुवाखोलामा २३० फिट लामो बेलिब्रिज जडान सुरु

काठमाडौं। इलामको पुवाखोलामा बेलिब्रिज पुल जडानको काम सुरु गरिएको छ। २३० फिट लम्बाइ र १४ फिट चौडाइको उक्त बेलिब्रिज जडान सुरु भएको हो।

सङ्घीय सरकारको २ करोड २० लाख ३४ हजार २३१ रुपैयाँ लागतमा बेलिब्रिज जडान गर्न लागिएको हो। सडक डिभिजन कार्यालय, इलामका प्राविधिक अर्जुन घिमिरेका अनुसार पुल दुई साताभित्र जडान गरी सञ्चालनमा ल्याउने तयारी छ।

इलाम नगरपालिका–९ भाङटार र वडा नं. ११ सोयाक जोड्ने उक्त पुल जडानका लागि भारतबाट प्राविधिक टोली नेपाल आइपुगेको छ।

पुल जडानका लागि आवश्यक सिभिल संरचना गत आर्थिक वर्षमै तयार भइसकेको थियो। भारत सरकारको अनुदानस्वरूप नेपालले उक्त बेलिब्रिज प्राप्त गरेको हो।

बेलिब्रिज जडानको काम सुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन्। पुल सञ्चालनमा आएपछि उक्त सडक मेची राजमार्गको वैकल्पिक मार्ग बन्न सक्ने इलाम नगरपालिका–९ का प्रकाश नेपालले बताए।

बेलिब्रिज निर्माण सम्पन्न भएपछि वर्षायाममा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मेची राजमार्गको वैकल्पिक सडकका रूपमा लिइएको उक्त सडक इलामदेखि बिर्तामोडसम्म करिब ५० किलोमिटर दूरीको छ। इलाम खण्डअन्तर्गत माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी १७ किलोमिटरमध्ये १४ किलोमिटर सडक निर्माणाधीन रहेको छ।

Read More