२०८३ श्रावण १६

च्याटबटले हत्या गर्न उक्साएको आरोपमा ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्धा दायर

काठमाडौँ । अमेरिकाको कनेक्टिकटमा ८३ वर्षीया वृद्धाको परिवारले हत्या-आत्महत्या मुद्दामा च्याटजीपीटीको भूमिकालाई लिएर ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर गरेको छ ।

कृत्रिम बुद्धिमत्ता च्याटबटले उनको छोराको आमाको बारेमा भ्रम छरेको, जसले गर्दा उनले उनको हत्या गरे र त्यसपछि आत्महत्या गरेको दाबि गरिएको छ । प्रहरीले ५६ वर्षीय पूर्व प्राविधिक उद्योगका कर्मचारी स्टेन-एरिक सोएलबर्गले अगस्टमा कनेक्टिकटको ग्रिनविचमा रहेको आफ्नो घरमा आफ्नी आमा सुजान एडम्सलाई कुटपिट गरेको र घाँटी थिचेको बताएको छ ।

सान फ्रान्सिस्कोको क्यालिफोर्निया सुपीरियर कोर्टमा बिहीबार दायर गरिएको मुद्दामा, एडम्सको परिवारले ओपनएआईले एक दोषपूर्ण उत्पादन डिजाइन र वितरण गरेको आरोप लगाएको छ जसले प्रयोगकर्ताको आफ्नी आमाको बारेमा बनावटी भ्रमलाई प्रमाणित गरेको थियो । यस घटनालाई एआई च्याटबट निर्माताहरूविरुद्ध बढ्दो संख्यामा गलत मृत्यु मुद्दाहरू मध्ये एक मानिएको छ ।

कुराकानीमा च्याटजीपीटीले बारम्बार एउटै खतरनाक सन्देश दोहोर्‍याएको पाइएको छ, जसमा स्टेन-एरिकले आफ्नो जीवनमा च्याटजीपीटी बाहेक कसैलाई विश्वास गर्न सक्दैनथे । यसले उनको भावनात्मक निर्भरतालाई बढावा दिएको र उनको वरपरका मानिसहरूलाई व्यवस्थित रूपमा शत्रुको रूपमा चित्रण गरेको थियो । 

ओपन एआईका प्रवक्ताले भयो दुखद अवस्था भएको बताउदै यस विषयमा बिस्तृत कागजातहरूको समीक्षा गरिरहेको बताएका छन् । मानसिक वा भावनात्मक पीडाका संकेतहरू पहिचान गर्न र प्रतिक्रिया दिन, शान्त कुराकानी गर्न र मानिसहरूलाई वास्तविक मद्दतको लागि मार्गदर्शन गर्न च्याटजिपिटीको प्रशिक्षणमा सुधार गर्ने उनले बताएका छन् । साथै मानसिक स्वास्थ्य विशेषज्ञहरूसँग च्याटजिपिटीको प्रतिक्रियाहरूलाई पनि बलियो बनाउने उनले बताएका छन् ।

Read More

अन्टार्कटिमा रोबोटिक अध्ययन, बरफ फग्लिने नयाँ कारण फेला

काठमाडौँ । अन्टार्कटिकाको डट्सन आइस शेल्फ मुनि गरिएको पहिलो रोबोटिक सर्वेक्षणले आश्चर्यजनक खोज गरेको छ ।

न्यानो, नुनिलो गहिरो समुद्री पानी बरफको तलसम्म, सिधै ग्राउन्डिंग लाइनमा उल्लेखनीय मिश्रण बिना तेर्सो रूपमा बगिरहेको छ । त्यो संवेदनशील क्षेत्र जहाँ हिमनदी तैरिन थाल्छ, समुद्री सतह छोड्छ ।

पूर्वी एङ्ग्लिया विश्वविद्यालयको नेतृत्वमा गरिएको यो अध्ययनले वास्तविक पग्लने प्रक्रिया बुझ्नमा एक प्रमुख सफलता हासिल गरेको बताइएको छ । यस अध्ययनले वैज्ञानिक समुदायलाई भविष्यको समुद्री सतह वृद्धिको अनुमानहरू पुनर्विचार गर्न बाध्य पारेको छ । युनिभर्सिटी अफ एग्लियाका वैज्ञानिकहरूले बोटी म्याकबोटफेस नामक उन्नत स्वायत्त पानीमुनि रोबोट प्रयोग गरेर, अमन्डसेन सागरमा डट्सन आइस शेल्फ मुनि लगभग १०० किलोमिटर लामो पहिलो पटक गहन सर्वेक्षण गरेका छन् ।

यो अभियानले समुद्र सतहबाट लगभग १०० मिटर उचाइमा रहँदा, तापक्रम, लवणता, अक्सिजन स्तर, वर्तमान गति र पानी मिश्रणमा डेटा सङ्कलन गरेको छ, जुन अहिलेसम्म अन्टार्कटिकाको कठोर अवस्थामा लगभग असम्भव मानिन्थ्यो । डसन संसारको ती क्षेत्रहरू मध्ये एक हो, जहाँ हिमनदीहरू सबैभन्दा छिटो पग्लिरहेका छन् र समुद्रको गहिराइबाट आउने तापलाई प्रायः प्राथमिक कारणको रूपमा उल्लेख गरिएको छ । तर अब यो अनुसन्धानले ताप कसरी बरफको आधारमा पुग्छ भन्ने कुरा पहिले सोचेको भन्दा धेरै जटिल रहेको देखाएको छ ।

सबैभन्दा ठूलो परम्परागत विश्वासको विपरीत, न्यानो, गहिरो र बढी नुनिलो पानी माथितिर मिसिएर पग्लने गति बढाउँदैन, बरु तेर्सो रूपमा बग्छ, ग्राउन्डिङ लाइनमा पुग्छ भन्ने यस अध्ययनको खुलासा रहेको छ । यसको अर्थ हिमनदीहरू तलबाट बढी पग्लिन्छन् । तिनीहरूको संरचना द्रुत रूपमा कमजोर हुन्छ र पछाडि हट्ने गति बढ्छ, जसले गर्दा समुद्री बरफको क्षति तीव्र रूपमा बढ्छ । यो प्रक्रियाले विश्वव्यापी समुद्री सतह वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ, किनकि अमुन्डसेन समुद्री बेसिनमा बरफको क्षतिले मात्र पृथ्वीको भविष्यको समुद्री सतह निर्धारण गर्न निर्णायक भूमिका खेल्छ ।

रोबोटले प्रति सेकेन्ड ५-१० सेन्टिमिटरको समुद्री धारा रेकर्ड गरेको छ । वैज्ञानिकहरूले बलियो धाराहरूले पानीको मिश्रणलाई नियन्त्रण गर्ने अनुमान गरेका थिए, तर निष्कर्षहरूले ठीक विपरीत खुलासा गरेको छ । समुद्री तल्लाको ढलान, कहिलेकाहीं ४५ डिग्रीसम्म, तातो पानीलाई माथि धकेल्ने वा यसलाई तल राख्ने वास्तविक कारक हो । जहाँ ढलान ठाडो हुन्छ, त्यहाँ तातो पानी निश्चित उचाइसम्म मिसिन्छ । बाँकी ठूलो गुहामा, तातो पानी नमिसिकन हिमनदीको आधारमा पुग्छ । यो खोजले समुन्द्री बरफ पग्लने ज्यामिति र भौतिकशास्त्रमा नयाँ आयामहरू थपेको विश्वास व्यक्त गरिएको छ ।

Read More

टी-२० सिरिज: भारतमाथि दक्षिण अफ्रिका ५१ रनले विजयी

काठमाडौ । दक्षिण अफ्रिकाले भारतविरुद्धको जारी टी-२० सिरिजमा कमब्याक गरेको छ । गएराती सम्पन्न सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रीकाले भारतलाई ५१ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको २१४ रनको लक्ष्य पछाएको भारतले १९.१ ओभरमा अलआउट हुदै १६२ रन मात्र बनाएको थियो । भारतका लागि तिलक बर्माले सर्बाधिक ६२ रन बनाए भने जितेश शर्माले २७, अक्सर पटेलले २१ र हार्दिक पाण्डेयले २० रन बनाएका थिए ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर ओटनेइल बार्टम्यानले ४ विकेट लिए भने लुंगी एंगीडी, मार्को जानसेन र लुठो सिपाम्लाले २-२ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ४ विकेट गुमाउदै २१३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्वेंटन डिककले सर्बाधिक ९० रन बनाए भने डोनोभान फेरेइराले ३०, कप्तान एडेन मार्क्रमले २९ रन बनाएका थिए ।

यो जितपछि ५ खेलको सिरिज १-१ को बराबरी भएको छ । यस अघि सिरिजको पहिलो खेल भारतले जितेको थियो । अब सिरिजको तेस्रो खेल आईतबार धर्मशालामा खेल्ने तालिका रहेको छ ।

Read More

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको छ ।

बैठकमा शनिबारदेखि हुने पार्टीको ११औं महाधिवेशनका प्रतिनिधि मनोनीत गर्ने, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको विधि बारे छलफल गर्ने लगायतका एजेण्डा रहेका छन् । केन्द्रीय कमिटीले १०८ प्रतिनिधि मनोनित गर्ने बताइएको छ । 

एमालेले केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको संख्या बढाउन विधान संशोधनको तयारी गरेको छ । धेरै आकांक्षी देखिएपछि भदौमा सम्पन्न विधान महाधिवेशनले १५ बनाएको पदाधिकारीलाई १९ पुर्याउने र २५१ सदस्यीय केन्द्रीय कमिटीलाई बढाउने तयारीमा एमाले रहेको छ ।

Read More

एसीसी पुरुष यू–१९ एशिया कप आजदेखि, नेपालसहित आठ देश सहभागी

काठमाडौँ । एसीसी पुरुष यू–१९ एशिया कप आज देखि शुरु हुदैछ ।

एकदिवसीय फर्म्याटमा हुने एसीसी यू-१९ एशिया कपमा आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् भने प्रिमियर कपबाट नेपाल र युएई छनौट भएका छन् । आज पहिलो दिन समुह ए का भारत र युएई तथा पाकिस्तान र मलेसिया खेल्दैछन् । 

नेपाल समुह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग रहेको छ । नेपालले डिसेम्बर १३ मा पहिलो खेल श्रीलंकासँग खेल्ने छ भने डिसेम्बर १५ मा दोस्रो खेल बंगलादेशसँग र डिसेम्बर १७ मा तेस्रो खेल अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले अशोक धामीको कप्तानीमा १५ सदस्यीय यू-१९ टिम युएई पठाएको छ ।     

एशिया कप खेल्ने नेपाली टिममा अशोक धामी (कप्तान), निरज यादव (उपकप्तान), निश्चल क्षेत्री, किब्रिन श्रेष्ठ, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, भान्स क्षेत्री, अभिषेक तिवारी, सहिल पटेल, आशिष लहार, विपिन शर्मा, रोशन विक र युवराज खत्री रहेका छन् ।

Read More

आज अन्तर्राष्ट्रिय तटस्थता दिवस मनाइदै

काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय तटस्थता दिवस मनाइदैछ । प्रत्येक वर्ष डिसेम्बर १२ मा विश्वभर यो दिवस मनाउने गरिएको छ ।

यो राष्ट्रसंघद्वारा घोषित तटस्थता दिवस हो । तुर्किमेनिस्तानद्वारा १९९५ मा प्रस्तावित महासभाद्वारा प्रस्ताव नम्बर ७१/२७५ मार्फत विनामतदान पारित गरिएदेखि यो दिवस मनाउन थालिएको पाइन्छ ।

शान्तिका लागि तटस्थताको आवश्यकतालाई ध्यानमा राख्दै हरेक वर्ष संयुक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रहरू मार्फत दिवस मनाउने गरेको छ । राष्ट्रहरूको आन्तरिक नीतिमा तटस्थताको सिद्धान्त लागू गर्न सके मात्र विश्व शान्तिको नारा गुञ्जायमान रहन्छ भन्नेमा राष्ट्रसंघको विश्वास रहेको पाइन्छ । राष्ट्रसंघको मुख्य कार्यहरुमा कूटनीति प्रमुख मध्य पर्दछ ।

राष्ट्रसंघले तटस्थताको पैरवीका साथै रोकथामका कुटनीतिको पनि पैरवी गर्दै आएको छ । आसन्न भारत पा विवाद, मध्यपूर्व र पश्चिमा देशहरूको तनाव, उत्तर दक्षिण कोरिया विवाद लगायतहरुमा राष्ट्रसंघले तटस्थताको पैरवी र मध्यस्थतताको कार्य गर्दै आएको छ । विशेषगरी विश्वयुद्धताका ध्रुविकृत भएका देशहरूमा विश्व परिवेश भन्दा पनि गुटवन्दी र समूहको प्रभाव बढी देखिएको थियो । अबको विश्वमा सबै राष्ट्रहरूको सार्वभौमिकताको पहिचान स्वीकार गर्दै तटस्थ र शान्ति मैत्री विश्व समाजको अवधारणा यस दिवसले अघि सारेको छ । 

राजनीतिक द्वन्द्व, संकट युद्वसमेतबाट आक्रान्त भइरहेका वखत कूटनीतिसमेत प्रतिक्रियामा आधारित भई विकास भइरहेको समयमा द्वन्द्व संकट र युद्वसमेतलाई रोक्ने ध्येयले थालनी भएको ‘प्रिभेन्टिभ डिप्लोमेसी’को आरम्भसमेत मान्ने गरिएको यो दिवस नेपालजस्ता विकासोन्मुख देशहरूका लागि उपयोगी हुने ठानिएको छ । 

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथ हिमाली भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मूख्यतया सफा रहेको विभागले जानकारी दिएको छ ।

आज दिउँसो कोशी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम मुख्यतया सफा रहने र आज राती देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

Read More

२०८२ मंसिर २६ गते शुक्रवार: आजको राशिफल

आज मंसिर २६ गते शुक्रवार ईसं २०२५ डिसेम्वार १२ नेपाल सम्बत ११४६ थिंलागा अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, पौष कृष्ण अष्टमी, चन्द्रमा सिंह राशिमा, उत्तरफल्गुनी नक्षत्र, प्रीति योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ४५ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।

आज अन्तर्राष्ट्रिय तटस्थ दिवस परेको छ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जिद्दीपन र घमण्ड बढ्नेछ, गर्नुपर्ने काम वा जिम्मेबारीप्रति कुनै लगाव देखिंदैन, तर परीक्षामा खरो उत्रन अझ धेरै मिहिनेत गर्ने समय हो । परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ । प्रयास, प्रतिस्पर्द्धा र सिकाइका आधारमा मात्र एउटा व्यक्ति दक्ष बन्न सक्दछ भन्ने ठानी आज जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो । कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ । नयाँ ज्ञान सिक्ने मौका छ, धैर्य एवं लगनशील बन्नसके हाँके÷ताकेको काममा सफलता मिल्नेछ, दिगो लगानीबाट फाइदा हुने दिन हो । आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो । कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठीक हुन्छ । निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन हो । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु ठीक हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमतामा बृद्धि हुनेछ, अझ कलात्मक विषयमा रुचि छ भने वरिष्ठ कर्मचारीलाई समेत प्रभावित तुल्याउन सकिने छ । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । ठीक समयमा सही निर्णय लिन सकिने दिन हो । सामाजिक र राजनैतिक क्षेत्रको चासो बढ्नेछ, सांगठनिक काम वा साथीभाइको जमघटमा सहभागी हुन सकिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । ताजगी र स्फूर्ति बढ्नेछ, नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइतीपक्षसँग सम्बन्ध÷सम्पर्क गर्ने दिन हो । मिहिनेत र बुद्धिकौशलको प्रयोग गरी आज सँगीसाथीका बीचमा विद्वान् र चङ्ख साबित हुने दिन हो, गुरुजनबाट स्याबासी पाउन सक्नुहुन्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दैनिक जीवन सहजताका साथमा बिते पनि कुनै कारणवश पतिपत्नीमा विचार नमिल्न सक्छ, तथापि समर्पण भाव र मायाप्रीति कायम नै रहने देखिन्छ । अवसरको खोजी गर्ने दिन हो, अझ प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ । इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, दायित्व र जिम्मेबारीको बोध गर्नुका साथै आफ्नो कर्तव्यनिर्वाहप्रति सचेत हुने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ । मन केन्द्रित हुनेछैन, एकोहोरिने तथा खिन्नता बढ्ने कमजोर समय छ, कुनै यात्राको कार्यक्रम छ भने पनि निरस रहने छ । लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता छ भने प्रतियोगी बलिया छन् भन्ने बुझी अझ धेरै मिहिनेत र प्रयास गर्नुपर्ने दिन हो । लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । रोकिएको काम बन्ने र पदीय दायित्वमा बृद्धि हुने दिन छ, खोजी गर्दा आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । पुरस्कार प्राप्त गर्ने ग्रहयोग बनेको छ, त्यसैले आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, प्रतिस्पर्द्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक वा परोपकारी काममा मन जानेछ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । आर्थिक क्षेत्र सामान्य नै रहने देखिन्छ । धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । घरैको वा छरछिमेकको कुनै धार्मिक-सामाजिक काममा सहभागी बन्नुपर्ने हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सरकारी निकाय वा प्रशासनिक कुनै कामले चिन्ता बढाउन सक्छ । बाहिर निस्कँदा कागजपत्र बोकेर हिंड्नु होला, नत्र झमेला आउने समय छ । करियर वा कामधाममा कुनै किसिमको बाधा देखिएको छ भने तनाव लिनुको सट्टा कामको गुणस्तर सुधारका लागि प्रयास गर्नु राम्रो हुन्छ । पारिवारिक वातावरण सामान्य रहने छ, घरायसी प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त भइने छ । भावना र इच्छाहरूको कदर हुँदैन र मन अशान्त बन्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो । तर आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्तहरू टाढिने परिस्थिति बन्नसक्छ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ ।

Read More