२०८३ श्रावण १४

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको १९ सयले बढेर तोलाको २ लाख ९२ हजार ८ मा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९० हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४० रुपैयाँले बढेर ५१५० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५०१० मा कारोबार भएको थियो ।

Read More

अमेरिका र इरानबीचको वार्तामा के हुदैछ ?

काठमाडौँ । अमेरिका र इरानबीच जारी तनाव र युद्ध अन्त्य गर्दै होर्मुज जलडमरूमध्यमा लगाइएको अवरोध हटाउने विषयमा सैद्धान्तिक सहमति नजिक पुगेको जनाइएको छ । 

यद्यपि केही संवेदनशील विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको बताइएको छ । इरानले भने हालसम्म सार्वजनिक रूपमा कुनै औपचारिक सहमति भएको पुष्टि गरेको छैन । पछिल्लो २४ घण्टामा इरानी अधिकारीहरूको अभिव्यक्तिमा पनि फरक–फरक धारणा देखिएको जनाइएको छ ।

अमेरिकी अधिकारीका अनुसार प्रस्तावित सम्झौतामा अझै हस्ताक्षर भएको छैन । सम्झौताले अन्तिम स्वीकृति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका सर्वोच्च नेता मुज्तबा खामेनेईबाट पाउन बाँकी छ । यस प्रक्रियामा केही दिन लाग्न सक्ने बताइएको छ ।

सम्झौताअनुसार होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याइनेछ । त्यसको बदलामा इरानले आफ्नो संवर्धित युरेनियम भण्डार समाप्त गर्न सहमत हुने प्रस्ताव गरिएको छ । तर यो प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा अझै छलफल जारी रहेको अधिकारीहरूले बताएका छन् ।

ट्रम्पले उक्त संवर्धित सामग्री अमेरिकाको नियन्त्रणमा ल्याउन चाहेको जनाइएको छ । उनले सामाजिक सञ्जालमार्फत आफ्ना प्रतिनिधिहरूलाई सम्झौतामा हतार नगर्न निर्देशन दिएको बताएका छन् ।

यसैबीच अमेरिकी विदेशमन्त्री मारको रुबियोले अमेरिका र इरानबीच वार्ता जारी रहेको बताएका छन् । उनका अनुसार प्रस्तावमा होर्मुज जलडमरूमध्य खुला राख्ने र निश्चित समयसीमाभित्र इरानको आणविक कार्यक्रमबारे गम्भीर वार्ता गर्ने विषय समावेश छ ।

रुबियोले खाडी क्षेत्रका देशहरूले पनि उक्त योजनालाई समर्थन गरिरहेको बताएका छन् । विश्वका धेरै राष्ट्रहरूले यसलाई सकारात्मक कदमका रूपमा हेरेको उनको भनाइ छ । अमेरिकाको दृष्टिमा यो सम्झौता विश्व समुदायकै हितमा हुन सक्ने उनले उल्लेख गरेका छन् ।

भारत भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रुबियोले ट्रम्प कुनै हतारमा नरहेको बताएका छन् । खराब सम्झौता नगर्ने स्पष्ट पार्दै उनले अमेरिका पहिले कूटनीतिक प्रयासलाई पूर्ण अवसर दिन चाहेको र त्यसपछि मात्रै अन्य विकल्पबारे विचार गरिने बताएका छन् ।

Read More

पत्रकारलाई घुस दिन खोजेको भन्ने विषयमा चिनियाँ दूतावासको स्पष्टीकरण

काठमाडौँ । नेपालस्थित चिनियाँ दुताबासले केही नेपाली सञ्चारमाध्यमका पत्रकारलाई चिनियाँ नागरिकले घुस दिन खोजेको भन्ने सामाजिक सञ्जालमा फैलिएको चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दूतावासका प्रवक्ताले सार्वजनिक गरेको धारणा अनुसार केही नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार बनाउन चिनियाँ नागरिकले पत्रकारहरूलाई प्रलोभन दिएको भन्ने हल्लाप्रति चिनियाँ पक्ष स्तब्ध भएको र त्यसलाई पूर्ण रूपमा अस्वीकार गरिएको उल्लेख गरिएको छ ।

चिनियाँ पक्षले यस्ता गतिविधिलाई चीनविरुद्ध गरिएको नियोजित बदनाम प्रयासका रूपमा व्याख्या गर्दै कडा शब्दमा निन्दा गरेको छ । साथै चीनले सधैँ अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त पालना गर्दै आएको पनि स्पष्ट पारेको छ ।

प्रवक्ताले चीनले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको संरक्षणमा निरन्तर समर्थन गर्दै आएको उल्लेख गरेका छन् । साथै नेपालको राजनीतिक स्थायित्व, आर्थिक विकास र जनजीविकाको सुधारमा पनि चीनले सक्रिय सहयोग गरिरहेको दाबी गरिएको छ ।

दूतावासले सम्बन्धित नेपाली निकायलाई उक्त विषयमा गम्भीर, गहिरो र निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ । घटनामा प्रत्यक्ष संलग्न व्यक्ति र त्यसका योजनाकारलाई नेपाली कानुनअनुसार कडा कारबाही गर्नुपर्ने चिनियाँ पक्षको भनाइ छ ।

चीनले नेपालसँग कानुन कार्यान्वयन तथा सुरक्षा सहकार्यलाई थप मजबुत बनाउन तयार रहेको पनि जनाएको छ । दुवै देशको साझा हित संरक्षणका लागि सहकार्य आवश्यक रहेको दूतावासको धारणा छ ।

प्रवक्ताले विवेक र बुद्धिमत्ताले अफवाह अन्त्य गर्ने विश्वास व्यक्त गर्दै नेपाली जनताले सही र गलत छुट्याउने तथा नेपाल–चीन परम्परागत मित्रता र सहकार्यलाई थप सुदृढ बनाउन सहयोग गर्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।

Read More

मन्त्री श्रेष्ठको कुलेखानी जलविद्युत् केन्द्रमा अनुगमन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा समग्र आर्थिक–सामाजिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

आफ्नो पहिलो औपचारिक फिल्ड भ्रमणका क्रममा कुलेखानी जलविद्युत् केन्द्र पुगेका मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पारे । उनले जलाशययुक्त आयोजना केवल विद्युत् उत्पादनको माध्यम मात्र नभई पानी व्यवस्थापन, बाढी नियन्त्रण, सिँचाइ विस्तार, पर्यटन प्रवद्र्धन र ऊर्जा आपूर्तिमा सन्तुलनमार्फत राष्ट्रिय विकासको आधार बन्न सक्ने धारणा राखे ।

कुलेखानीका तीनवटै जलविद्युत् केन्द्रका कर्मचारीसँगको छलफलमा मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका कारण अनियमित वर्षा, हिमनदी पग्लिने तथा प्राकृतिक जोखिम बढ्दै गएको उल्लेख गर्दै भविष्यका लागि पानी भण्डारण संरचनाको महत्व अझ बढेको बताए । आगामी दिनमा नयाँ जलाशययुक्त आयोजना अघि बढाउँदा ध्यान दिनुपर्ने विषयहरूका बारेमा जानकारी लिन पनि कुलेखानी भ्रमण गरिएको उनको भनाइ थियो ।

उनले जलाशययुक्त आयोजनाबाट उच्च माग हुने ‘पीक आवर’ मा बढी विद्युत् उत्पादन गर्न सकिने भएकाले उद्योग, व्यापार, डाटा सेन्टर, सूचना प्रविधि उद्योग तथा सहरी क्षेत्रमा दिगो ऊर्जा आपूर्ति सुनिश्चित हुने र त्यसले आर्थिक विकासलाई गति दिने उल्लेख गरे । मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणले बहुउद्देश्यीय व्यापार प्रवद्र्धनका लागि जलाशययुक्त आयोजनाको एकीकृत विकास मोडल तयार गर्नुपर्ने आवश्यकतासमेत औंल्याए । छलफलका क्रममा नेपाली जनशक्ति यस्ता आयोजनाको निर्माण र सञ्चालनमा सक्षम भइसकेको भन्दै उनले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुपर्नेमा जोड दिए ।

आगामी दिनमा जलाशययुक्त आयोजनाप्रति निजी क्षेत्रको आकर्षण बढाउन सरकारले यस्ता आयोजनाको लाइसेन्स अवधि ५० वर्ष कायम गरेको उल्लेख गर्दै उनले जलाशययुक्त आयोजनाबाट बहुआयामिक लाभ लिनुपर्ने बताए । कुलेखानीलाई नेपालको ‘रोल मोडल’ परियोजनाको रूपमा उल्लेख गर्दै मन्त्री श्रेष्ठले यस आयोजनाले आर्थिक तथा सामाजिक रूपान्तरणमा पुर्याएको योगदानलाई थप प्रभावकारी बनाउनु आवश्यक रहेको धारणा राखे । स्थानीयस्तरबाट सामाजिक विषय उठेका भए तिनलाई तत्काल सम्बोधन गर्न नेपाल विद्युत् प्राधिकरण र कुलेखानी जलविद्युत् केन्द्रका अधिकारीलाई निर्देशनसमेत दिए ।

स्थानीयबासीका गुनासो सम्बोधन गर्न, जलाधार क्षेत्रको स्पष्ट सीमांकन गर्न तथा जलाशय वरपर बढ्दो फोहोर व्यवस्थापनमा गम्भीर बन्न उनले सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराए । आयोजनाको सम्पत्ति संरक्षणका लागि जग्गाको स्पष्ट सीमांकन आवश्यक रहेको र इन्द्रसरोवर क्षेत्रमा बढ्दो पर्यटकीय गतिविधिसँगै फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै स्थानीय तह, व्यवसायी तथा सर्वसाधारणसँग समन्वय गरेर काम गर्न आग्रह गरे ।

यसैगरी, वर्षेनी बाढीपहिरोबाट आउने ढुंगा माटोले जलाशयमा पार्न सक्ने असर, विगतका भूकम्पले बाँधमा पुर्याएको प्रभाव, बाँध क्षेत्र तथा विद्युत् गृहका उपकरणको अवस्था, तिनको मर्मत तथा प्रतिस्थापनको आवश्यकता र कर्मचारी व्यवस्थापनबारे पनि मन्त्री श्रेष्ठले चासो व्यक्त गरे ।

सन् १९८२ मा निर्माण सम्पन्न भएको कुलेखानी आयोजना नेपालकै पहिलो जलाशययुक्त जलविद्युत् आयोजना हो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा अवस्थित यस आयोजनाको कुल जडित क्षमता १०६ मेगावाट रहेको छ । आयोजनाअन्तर्गत कुलेखानी–१ बाट ६० मेगावाट, कुलेखानी–२ बाट ३२ मेगावाट र कुलेखानी–३ बाट १४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । मानवनिर्मित ‘इन्द्रसरोवर’ ताल विद्युत् उत्पादनसँगै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित छ । सुक्खा याम तथा उच्च विद्युत् मागको समयमा राष्ट्रिय विद्युत् प्रणालीलाई सन्तुलित राख्न कुलेखानी आयोजना नेपालको ऊर्जा क्षेत्रको मेरुदण्डका रूपमा स्थापित भएको छ ।

Read More

ह्यारी केनले दोस्रो पटक जिते युरोपेली गोल्डेन बुट

काठमाडौँ । बायर्न म्युनिखका फरवार्ड ह्यारी केनले युरोपेली गोल्डेन बुट जितेका छन् । उनले सन् २०२५-२६ सिजनमा जर्मन लिगमा ३६ गोल गर्दै प्रतिष्ठित पुरस्कार दोस्रो पटक आफ्नो नाममा पारेका हुन् ।

इङ्ग्ल्यान्डका कप्तान समेत रहेका केनले उत्कृष्ट प्रदर्शन गर्दै म्यानचेस्टर सिटीका इर्लिंग हालाण्ड र रियल म्याड्रिडका किलियन एम्बाप्पेलाई पछि पारे छन् । हालाण्डले २७ गोल गरेका थिए भने रियल मड्रिडका एमबाप्पेले २५ गोलमा सिजन टुङ्ग्याएका थिए ।

केनको गोलक्षमताले बायर्नलाई उपाधि होडमा बलियो बनाएको थियो । टोटेनह्याम छाडेर जर्मनी पुगेपछि उनले जर्मन फुटबलमा सहज रूपमा आफूलाई स्थापित गरेका छन् ।

३२ वर्षीय केनको यो सफलतापछि युरोपेली फुटबलका महान् अग्रपङ्क्तिका खेलाडीमध्ये उनको स्थानबारे फेरि चर्चा सुरु भएको छ । लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका उनले आफू विश्व फुटबलका भरपर्दा गोलकर्तामध्ये एक रहेको प्रमाण फेरि दिएका छन् ।

Read More

बागमती प्रदेश सभाको अधिवेशन आजदेखि

काठमाडौँ । बागमती प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदैछ । 

प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ ।

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । यो अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने छ ।

Read More

बङ्गलादेशमा दादुरा संक्रमण गम्भीर बन्दै, पाँचसय भन्दा बढी बालबालिकाको गयो ज्यान

काठमाडौँ । बङ्गलादेशमा दादुरा जस्तै लक्षण देखिएको सङ्क्रमणले गम्भीर स्वास्थ्य सङ्कटको रूप लिएको छ । पछिल्लो २४ घण्टामा थप १६ बालबालिकाको मृत्यु भएपछि मृतकको सङ्ख्या ५२८ पुगेको छ । लगातार दोस्रो दिन मृत्यु सङ्ख्यामा ठूलो वृद्धि भएको हो ।

स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा १३०६ नयाँ शङ्कास्पद बिरामी फेला परेका छन् । यससँगै कुल शङ्कास्पद बिरामीको सङ्ख्या ६३ हजार नाघेको छ । थप १२८ जनामा सङ्क्रमण पुष्टि भएपछि कुल सङ्क्रमितको सङ्ख्या आठ हजार ६२२ पुगेको छ ।

गत मार्चदेखि हालसम्म ५० हजारभन्दा बढी बिरामी अस्पतालमा भर्ना भइसकेका छन् । धेरै बिरामी निको भए पनि सङ्क्रमण तीव्र रूपमा फैलिरहेकाले स्वास्थ्य प्रणालीमा दबाब बढेको बताइएको छ ।

संयुक्त राष्ट्र बाल कोषले बङ्गलादेश सरकारलाई खोप अभावबारे पटकपटक चेतावनी दिएको दाबी गरेको छ । सन् २०२४ देखि नै स्वास्थ्य मन्त्रालयलाई पत्र र बैठकमार्फत सम्भावित स्वास्थ्य सङ्कटबारे जानकारी गराइएको जनाइएको छ । संस्थाकी प्रतिनिधि राना फ्लावर्सले समयमै खोप खरिद प्रक्रिया अघि नबढाइएकाले अवस्था झन् जटिल बनेको बताएकी छन् ।

स्वास्थ्य निकायहरूले सङ्क्रमण नियन्त्रणका लागि तीव्र रूपमा काम गरिरहेका छन् । परीक्षण र खोप अभियानलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ भने सरकारले घटनाबारे छानबिन सुरु गरेको छ ।

दादुरा अत्यन्त छिटो सर्ने भाइरसजन्य रोग हो । यसले विशेषगरी बालबालिकालाई असर गर्ने गर्दछ । समयमै खोप नलगाइए रोग गम्भीर बन्न सक्ने र कतिपय अवस्थामा ज्यानसमेत जान गरेको छ ।

Read More

जापानमा सम्बन्धविच्छेदपछि बालबालिकाको अभिभावकत्वसम्बन्धी नयाँ नियम लागू

काठमाडौँ । जापानमा सम्बन्धविच्छेदपछि बालबालिकाको अभिभावकत्वसम्बन्धी नियममा ऐतिहासिक परिवर्तन लागू भएको छ। नयाँ कानुन लागू भएपछि अब सम्बन्धविच्छेद गरेका दम्पतीले सन्तानको साझा अभिभावकत्व लिन सक्ने भएका छन् ।

यसअघि जापानमा एकल अभिभावकत्वको व्यवस्था मात्रै थियो। त्यसअनुसार सम्बन्धविच्छेदपछि कानुनी अधिकार एक जना अभिभावकसँग मात्र रहने गर्थ्यो। धेरै अवस्थामा बच्चालाई सुरुमा लिएर जाने पक्षले नै अभिभावकत्व पाउने चलन थियो। यसका कारण हजारौं बालबालिका बाबु वा आमामध्ये एक जनाबाट पूर्ण रूपमा टाढिने अवस्था सिर्जना हुने गरेको थियो।

सन् २०२४ मा संसदबाट पारित संशोधित नागरिक कानुन सन् २०२६ अप्रिल १ देखि लागू भएको हो। यससँगै जापान अब साझा अभिभावकत्वलाई कानुनी मान्यता दिने सात विकसित राष्ट्र समूहका सबै देशको सूचीमा समावेश भएको छ ।

टोकियोका पारिवारिक कानुन विशेषज्ञ सेइया साइटोले नयाँ व्यवस्था बालबालिकाको हितका लागि महत्वपूर्ण कदम भएको बताएका छन्। उनका अनुसार अब बच्चाले दुवै अभिभावकसँग सम्बन्ध कायम राख्न पाउने सम्भावना बढेको छ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सन् २०२४ मा करिब ३८. ५ प्रतिशत विवाह सम्बन्धविच्छेदमा टुंगिएका थिए । त्यही वर्ष एक लाख ६४ हजारभन्दा बढी बालबालिका अभिभावकत्व विवादबाट प्रभावित भएका थिए । अधिकांश अवस्थामा अभिभावकत्व आमाले पाउने गरेका थिए।

यद्यपि नयाँ कानुनलाई लिएर आलोचना पनि भइरहेको छ । महिला अधिकारकर्मीहरूले घरेलु हिंसाबाट पीडित व्यक्तिलाई पुनः हिंसात्मक सम्बन्धमा धकेलिन सक्ने जोखिम रहेको चेतावनी दिएका छन्।  अदालतले घरेलु हिंसा वा बाल हिंसाको जोखिम देखिएमा एकल अभिभावकत्व नै दिने व्यवस्था भने कानुनमा राखिएको छ ।

Read More

टोटनह्याम बचेसँगै वेस्टह्याम युनाइटेड रेलिगेसनमा

काठमाडौं । वेस्टह्यामसहित तीन क्लब प्रिमियर लिगबाट रेलिगेसनमा परेका छन् ।

प्रिमियर लिगको अन्तिम खेलमा जितेपनि वेस्ट ह्याम यस सिजनमा रेलिगेसनमा परेको हो । वेस्ट ह्यामले आफ्नो अन्तिम खेलमा लिड्स युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । योसँगै रेलिगेसनको संघारमा रहेको टोटनह्याम भने अन्तिम खेलमा एभर्टनलाई १-० ले पराजित गरेर रेलिगेसनबाट बचेको छ । 

यो जितपछि वेस्ट ह्यामको ३८ खेलमा ३९ अंक भएको छ र १८औं स्थानमा रहेर रेलिगेसनमा परेको छ । पछिल्लो पटक वेस्टह्याम २०१२-१३ देखि लगातार प्रिमियर लिग खेलिरहेको थियो ।  

त्यस्तै यस सिजनमा बर्नली र वोल्भ्स यसअघि नै रेलिगेसन हुने निश्चित भएको थियो । त्यस्तै यस सिजनमा हल सिटी, कोभेन्ट्री सिटी र आईपीस्विच टाउन प्रिमियर लिगमा प्रमोट भएका छन् ।    

Read More

आइपिएलमा कोलकोतामाथि दिल्लीको सान्त्वना जित, यस्तो बन्यो प्लेअफको समीकरण

काठमाडौँ । दिल्ली क्यापिटल्सले जारी आइपिएलको लिग चरणको अन्तिम खेलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा दिल्लीले कोलकोतालाई ४० रनले पराजित गरेको हो । दिल्लीले दिएको २०४ रनको लक्ष्य पछाएको कोलकोताले १८.४ ओभरमा अल आउट हुदै १६३ रन बनाएको थियो ।

कोलकोताका लागि कप्तान अजिख्य रहानेले सर्बाधिक ६३ रन बनाए भने रोभमन पावेलले २९म मनिष पाण्डेले २५ र फिन एलेनले २० रन बनाए । त्यस्तै दिल्लीका बलर लुंगी एनगीडी र कुलदीप यादवले ३-३ विकेट लिए भने मिचेल स्टार्कले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउदै २०३ रन बनाएको थियो । दिल्लीका लागि केएल राहुलले सर्बाधिक ६० रन बनाए भने कप्तान अक्सर पटेलले ३९, डेभिड मिलरले २८, सहिल पटेलले २४ र अभिषेक पोरेलले २२ रन बनाएका थिए ।

यो जितपछि दिल्लीले १४ खेलमा १४ अंकसहित छैटौं स्थानमा रहेर यो सिजनको आइपीएल समाप्त गरेको छ । त्यस्तै कोलकोता १४ खेलमा १३ अंक सहित सातौं स्थानमा रहेर यो सिजनको अन्त्य गरेको छ ।

योसँगै यस सिजनको आइपिएलका लिग चरणका खेल सकिएका छन् र अब पहिलो क्वालिफायर्स रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच मंगलबार हुदैछ भने इलिमिनेटर खेल राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच बुधबार हुने तालिका रहेको छ ।

Read More