२०८३ जेष्ठ २३

कुकुरको विषयमा ब्राजिल र मेक्सिकोबीच विवाद

काठमाडौँ । ब्राजिल र मेक्सिकोबीच हालै एउटा आवारा कुकुरलाई लिएर विवाद चर्किएको छ । यो कुकुरको नाम क्यारामेलो हो। ब्राजिलका नागरिकहरूले यसलाई आफ्नो राष्ट्रिय पहिचानसँग जोड्दै आएका छन् । उनीहरूका अनुसार क्यारामेलो ब्राजिलका लागि फुटबल र सांबा संगीत जत्तिकै महत्वपूर्ण सांस्कृतिक प्रतीक हो ।

तर मेक्सिकोले यसै वर्षको अप्रिलमा क्यारामेलोलाई स्थानीय नस्लका रूपमा मान्यता दिएपछि विवाद सुरु भएको हो । मेक्सिकोको उक्त निर्णयपछि ब्राजिलमा व्यापक असन्तुष्टि देखिएको छ । धेरै ब्राजिलियनले आफ्नो सांस्कृतिक पहिचानको एक हिस्सा खोसिएको महसुस गरेका छन् ।

वैज्ञानिक दृष्टिकोणले हेर्दा क्यारामेलो कुनै शुद्ध नस्लको कुकुर होइन । ब्राजिलको आनुवंशिक अध्ययन गर्ने संस्था डिएनए पेट्सको अध्ययनअनुसार यो कुकुर ३०० भन्दा बढी विदेशी नस्लहरूको मिश्रणबाट बनेको हो । यो कुनै एक समयमै विकसित गरिएको नस्ल नभई धेरै पुस्तासम्म विभिन्न नस्लहरूको प्राकृतिक मिश्रणबाट बनेको कुकुर हो ।
‘क्यारामेलो’ शब्द हल्का भूरो वा टफी जस्तो रङका कारण प्रयोग हुँदै आएको हो । ब्राजिलमा यस्ता कुकुरहरू अत्यन्त लोकप्रिय छन् । यिनीहरूबारे सामाजिक सञ्जालमा मीम बन्ने, टी–सर्ट छापिने, गीत बनाइनेदेखि कार्निभल परेडमा समेत झाँकी निकालिने गरिएको छ । कतिपय बहसमा त ब्राजिलको मुद्रामा पनि यसको चित्र राख्ने प्रस्तावसमेत आएको थियो ।

क्यारामेलोलाई राष्ट्रिय सम्पदाका रूपमा मान्यता दिने प्रयास

क्यारामेलो शब्द पुर्तगाली भाषाबाट आएको हो, जसको अर्थ टफी जस्तो हल्का भूरो रङ हुन्छ । यही रङका कारण ब्राजिलमा सडकमा देखिने यस्ता कुकुरलाई क्यारामेलो भनेर चिनिन्छ । सन् २०१९ मा सामाजिक सञ्जालमा यो कुकुर निकै भाइरल बनेको थियो । त्यसपछि ब्राजिलको दश रियालको नोटमा रहेको चराबाट हटाएर क्यारामेलो कुकुरको चित्र राख्नुपर्ने मागसमेत उठेको थियो । यसका लागि सुरु गरिएको याचिकामा करिब ५० हजारभन्दा बढीले हस्ताक्षर गरेका थिए । सन् २०२३ मा ब्राजिलका सांसदहरूले यी सडक कुकुरलाई राष्ट्रिय सम्पदा घोषणा गर्ने विधेयकसमेत दर्ता गरेका थिए । तर अहिलेसम्म उक्त विधेयक पारित भएको छैन ।

त्यसपछि साओ पाउलो लगायत केही राज्यले आफ्नै स्तरमा यस्ता कुकुरलाई सांस्कृतिक सम्पदाका रूपमा मान्यता दिने कानुन बनाएका छन् । रियो द जेनेरियोका केही कुकुर पार्कमा हालै यस्ता भूरा कुकुरको संख्या उल्लेख्य देखिएको छ ।

एक सय वर्षमा विकसित भएको क्यारामेलो

अध्ययनअनुसार क्यारामेलोको इतिहास पुर्तगाली उपनिवेशकालमा ब्राजिल ल्याइएका कुकुरहरूसम्म पुग्छ । त्यसपछि इटाली, जर्मनी, स्पेन र जापानबाट आएका आप्रवासीहरूले पनि विभिन्न नस्लका कुकुर ल्याएका थिए । सन् १९३० देखि १९७० को बीचमा ब्राजिलमा औद्योगिकीकरण तीव्र भयो । त्यस समयमा ग्रामीण क्षेत्रका मानिसहरू सहरतर्फ बसाइँ सर्दा उनीहरूले खेत र पशु जोगाउने कुकुर पनि सँगै ल्याए । सहरमा पहिले नै रहेका साना घरपालुवा कुकुरसँग यी कुकुरको मिश्रण भयो । धेरै पुस्तासम्म बिना नियन्त्रण प्रजनन हुँदै जाँदा आजको क्यारामेलो कुकुरको रूप बनेको मानिन्छ ।

मेक्सिकोमा पनि भेटिए यस्ता कुकुर

अप्रिलमा मेक्सिकोको वातावरण अभियोजक कार्यालयले क्यारामेलोलाई मेक्सिकन नस्लका रूपमा घोषणा गरेको थियो । त्यस वक्तव्यमा देसी तथा आवारा कुकुरप्रतिको नकारात्मक सोच बदल्ने उद्देश्य रहेको बताइएको थियो । मेक्सिकोका पशु अधिकारसँग सम्बन्धित संस्था क्लाउडिया एडवर्ड्सले पनि देशमा यस्ता भूरा कुकुर ठूलो संख्यामा पाइने बताएकी छन् । उनका अनुसार ब्राजिल र मेक्सिकोको समान इतिहास र मौसमका कारण यस्तो अवस्था देखिन्छ । उनले क्यारामेलोलाई कुनै एक देशको मात्र नभई सम्पूर्ण ल्याटिन अमेरिकाको साझा सम्पदा भएको बताएकी छन् ।

तातो मौसममा सहजै घुलमिल हुने क्षमता

ब्राजिलका लगभग सबै शहरमा यस्ता भूरा कुकुर सहजै देखिन्छन् । स्थानीयले उनीहरूलाई खाना खुवाउने र हेरचाह गर्ने पनि गर्छन् । कतिपय ठाउँमा यी कुकुर समुदायकै साझा सदस्यजस्तै बनेका छन् ।
विशेषज्ञहरूका अनुसार यसको हल्का भूरो र छोटो रौँले तातो मौसममा सहज बनाउँछ । शरीरमा कम परजीवी लाग्ने र चर्को घाममा पनि अनुकूल हुन सक्ने क्षमता यसमा हुन्छ । मिश्रित नस्ल भएकाले धेरै जन्मजात रोगको जोखिम पनि कम हुने बताइन्छ । यही कारण यी कुकुर वातावरणअनुसार छिटो घुलमिल हुन सक्ने र बलियो स्वभावका हुन्छन् ।

लोकप्रियता बढे पनि आश्रय गृहमा ठूलो संख्या

क्यारामेलोको लोकप्रियता बढ्दै गए पनि अझै ठूलो संख्या यस्ता कुकुर आश्रय गृहमा बस्न बाध्य छन् । ब्राजिलको ठूलो पशु कल्याण संस्था अम्पाराकी संस्थापक जुलियाना क्यामार्गोका अनुसार धेरैजसो मानिसले अझै यस्ता कुकुरलाई पहिलो रोजाइका रूपमा अपनाउँदैनन् । विश्वव्यापी पशु कल्याण समूहको अध्ययनअनुसार ब्राजिलमा दुई करोडभन्दा बढी आवारा कुकुर छन्, जसमा करिब ९० प्रतिशतभन्दा बढी क्यारामेलो भएको अनुमान छ । जुलियाना क्यामार्गोका अनुसार यदि ब्राजिल र मेक्सिको दुवै देशमा क्यारामेलो कुकुरलाई औपचारिक पहिचान दिइयो भने मानिसहरूलाई यिनलाई अपनाउन थप प्रेरणा मिल्नेछ ।

Read More

झापामा युवतीको हत्या गरि बोरामा पोको पारी खोलामा फाल्ने अभियुक्त पक्राउ

काठमाडौँ । झापाको दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोराभित्र पोको पारेर राखिएको अवस्थामा भेटिएकी एक युवतीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

गत जेठ १६ गते फेला परेको शवको सनाखत मृतकका पिता नारायण तिवारीले दमक नगरपालिका–८ बसन्तटोल निवासी अन्दाजी २१ वर्षीया रोमा (रमा) तिवारीको रूपमा गरेका थिए।

घटनापछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्राविधिकसहितको टोली, प्रदेश प्रहरी कार्यालय धरान तथा इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले घटनास्थलको सूक्ष्म अनुसन्धान, प्राविधिक विश्लेषण र वरपरका निगरानी क्यामेराको दृश्य अध्ययन गरी घटनामा संलग्न व्यक्तिको पहिचान गरेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा भारतको बिहार राज्य, अररिया जिल्ला, सिरसियाकला ग्राम पञ्चायत, भरगामा थाना स्थायी घर भई हाल झापा दमक नगरपालिका–५ मा डेरा गरी टायल्स मिस्त्रीको काम गर्दै आएका ३४ वर्षीय राकेश कुमार पण्डित घटनामा संलग्न रहेको खुलेको थियो।

सोही आधारमा जेठ २१ गते राति करिब ११ बजे प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतको नेतृत्वमा खटिएको टोलीले पण्डितलाई दमक–५ स्थित डेराबाट पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याएको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा आरोपितले मृतकसँग पैसासम्बन्धी विवाद भएपछि भएको झगडाको क्रममा हत्या गरेको स्वीकार गरेका छन्।

घटनासम्बन्धी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ र १८ बमोजिम ज्यानसम्बन्धी कसूर तथा जबर्जस्ती करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आरोपितबाट मृतकसँग भेट हुँदा लगाएको भनिएको क्रिम रङको धर्के टिसर्ट, निलो रङको जिन्स पाइन्ट तथा एक जोर जुत्ता बरामद गरेको छ।

त्यस्तै मृतकलाई चढाएर लगेको भनी आरोपितले बताएका मे २ प ८२३ नम्बरको निलो रङको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ महानगरका सार्वजनिक स्थलमा मागेर बस्न पूर्ण निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्रका सार्वजनिक स्थलहरुमा मागेर बस्नेहरुलाई पूर्ण निषेध गर्ने भएको छ ।

वेसहारा, अशक्त, असहाय, अभिभावक विहिन, सडक आश्रित व्यक्तिहरु जसले आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, हेरचाह र स्याहारका लागि आफन्त पनि नभएका, खानका लागि अन्नपात नभएका, अन्न किन्ने पैसा नभएका, विरामी पर्दा उपचार गर्ने पैसा नभएका त्यस्ता व्यक्तिहरुको हेरचाह, औषधोपचार तथा लालनपालनका लागि मानव सेवा आश्रमसँगको सहकार्यमा मानवोचित व्यवस्थापन गरिने महानगरले जनाएको छ । जसले माग्ने कामलाई पेशा बनाएका छन्, त्यस्ता व्यक्तिका लागि मागेर खाने कामलाई पूर्ण निषेध गरिने महानगरले स्पष्ट गरेको छ । 

प्रवक्ता नविन मानन्धरका अनुसार, २०७४ साल मंसिर १ गतेदेखि २०८३ साल जेठ २१ ग्ते सम्ममा २ हजार ४२१ जनालाई उद्धार गरिएको छ । जसमा १ हजार ५७१ जना पुरुष र ८५० जना महिला छन् । उमेरगत हिसाबले हेर्दा ५ वर्षसम्मका २ जना बालक र ८ जना बालिका गरी १० जना छन् । ६ बर्षदेखि १७ वर्षसम्मका ३९ जना बालक र २४ जना बालिका गरी ६३ जना बालबालिका छन् । १८ देखि ३९ वर्षसम्मका ३८७ जना पुरुष र २६६ महिला गरी ६५३ जना वयस्क हुनुहुन्छ । ४० वर्षदेखि ५९ वर्ष सम्मका ५८३ जना पुरुष र २७१ जना महिला गरी ८५४ जना छन्  ६० वर्ष माथिका ५६० जना पुरुष, २८१ जना महिला गरी ८४१ जना रहेका छन् । 

उद्धारपछि ३८९ जना महिला र ४९४ जना पुरुष गरी ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । १८७ जना महिला र ३४७ जना पुरुष गरी ५३४ जनालाई सामाजिक पुनःस्थापना गरिएको छ । 

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सामाजिक समितिका पदाधिकारी, जिल्ला प्रशासन कार्यालय, उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर, महानगर प्रहरी बलका प्रतिनिधि विच सडक सेवालाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा समन्वयात्मक बैठक गरेर मानवीयताका लागि अन्तर कार्यालय प्रभावकारी र दिगो सम्बन्ध स्थापनाका लागि सम्झौता गरेर दायित्वसहित काम गर्ने निर्णय गरेको छ । 

काठमाडौँका विभिन्न मठ मन्दिर, चैत्य, गुम्बालगायत सम्पदा क्षेत्रसँग सम्बन्धित व्यवस्थापन समितिका पदाधिकारीसँग यस्ता क्षेत्रमा माग्ने व्यक्तिहरुलाई निषेध गर्ने विषयमा छलफल गरिएको छ । त्यस बैठकले महानगरपालिकाले सहयोगापेक्षीको व्यवस्थापन गर्ने भएपछि पेशेवर माग्नेलाई निषेध गर्न कठिन नभएको निष्कर्ष निकालेको छ । 

Read More

यस विश्वकप फुटबलदेखि लागु हुदैछन् यी नयाँ नियम

काठमाडौं । फुटबलको खेललाई अझ छिटो र व्यवस्थित बनाउन फिफा विश्वकप २०२६ मा खेलको गति बढाउने र समय खेर फाल्ने प्रवृत्ति रोक्ने नयाँ नियम लागू हुने भएका छन् ।

यी नियमहरू यसै वर्ष फेब्रुअरीमा अन्तर्राष्ट्रिय फुटबल संघ बोर्डको १४०औँ वार्षिक बैठकमा पारित भएका थिए र अब विश्वकपदेखि स्वतः लागू हुनेछन् ।

नयाँ नियमअनुसार थ्रो–इन र गोल–किकमा ढिलाइ गर्न पाइने छैन । थ्रो–इनका बेला खेलाडीले अनावश्यक समय खेर फालेमा रेफ्रीले पाँच सेकेन्डको उल्टो गणना गर्नेछन् । समयभित्र थ्रो–इन नभएमा निर्णय रद्द गरेर विपक्षी टोलीलाई मौका दिइनेछ । यस्तै, गोल–किकमा पनि ढिलाइ भए पाँच सेकेन्डपछि विपक्षीलाई सिधै कर्नर किक दिने नियम राखिएको छ ।

चोट लागेका खेलाडीको उपचारका लागि पनि समय सीमा तोकिएको छ । मैदानमै फिजियोथेरापिस्टबाट उपचार लिएपछि खेलाडी कम्तीमा एक मिनेट मैदान बाहिर बस्नुपर्नेछ ।

खेलाडी परिवर्तन (सबस्टीट्युसन) का लागि पनि कडा नियम बनाइएको छ । रेफ्रीले संकेत दिएको १० सेकेन्डभित्र मैदानभित्र आउने र बाहिरिने प्रक्रिया पूरा गर्नुपर्नेछ । यदि १० सेकेन्डभित्र परिवर्तन नभएमा सम्बन्धित टोलीले ६० सेकेन्डसम्म एक खेलाडी कम भएर खेल्नुपर्ने व्यवस्था गरिएको छ ।

भिडियो सहायक रेफ्री प्रणालीमा पनि परिवर्तन गरिएको छ । अब गलत तरिकाले दिइएको दोस्रो पहेंलो कार्डबाट भएको रातो कार्डको समीक्षा गर्न सकिनेछ ।

यस्तै, ड्रप बल सम्बन्धी नियम पनि संशोधन गरिएको छ । यदि ड्रप बलपछि खेल रोकिएन भने जसको नियन्त्रणमा बल रहन्छ, त्यसै टोलीलाई बलको अधिकार दिइनेछ । यी सबै नियमको उद्देश्य खेललाई छिटो, पारदर्शी र कम समय बर्बाद हुने बनाउनु रहेको फिफाले जनाएको छ ।

Read More

दूषित तथा असुरक्षित खाना विश्वव्यापी गम्भीर संकट बन्दै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खाद्य सुरक्षा सम्बन्धी नयाँ रिपोर्ट सार्वजनिक गर्दै दूषित तथा असुरक्षित खाना विश्वव्यापी गम्भीर संकट बन्दै गएको चेतावनी दिएको छ । रिपोर्टअनुसार हरेक वर्ष विश्वभर करिब ८६ करोड ६० लाख मानिस दूषित भोजनका कारण बिरामी पर्छन् भने करिब १५ लाख मानिसको ज्यान जाने गरेको छ ।

सबैभन्दा चिन्ताजनक कुरा भनेको यो समस्या पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा बढी देखिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार खाद्यजन्य रोगको करिब एक तिहाइ भार यही उमेर समूहमा पर्छ, जबकि उनीहरू विश्व जनसंख्याको करिब ९ प्रतिशत मात्र हुन् ।

रिपोर्टमा साना बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता पूर्ण रूपमा विकसित नहुने भएकाले उनीहरू संक्रमण र विषाक्त पदार्थप्रति बढी संवेदनशील हुने उल्लेख छ । दूषित खानाबाट हुने झाडापखाला जस्ता रोग बालबालिकामा छिटो फैलिने मात्र होइन, कतिपय अवस्थामा ज्यानै जाने जोखिम पनि रहने उल्लेख गरिएको छ । साथै खानामा पाइने सिसा र मिथाइलमरकरी जस्ता विषाक्त पदार्थले बालबालिकाको मस्तिष्क विकासमा असर पार्ने, सिक्ने क्षमता घटाउने र दीर्घकालीन स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनले खाद्यजन्य रोगका मुख्य दुई कारण देखाएको छ । जैविक खतरा र रासायनिक प्रदूषण । जैविक कारणमा ब्याक्टेरिया, भाइरस र परजीवी पर्छन्, जसले अधिकांश रोग निम्त्याउने गरेको रिपोर्टमा उल्लेख छ । सन् २०२१ मा मात्र करिब ८६ करोड केस यिनै संक्रमणसँग सम्बन्धित थिए ।

अर्कोतर्फ रासायनिक प्रदूषणका केस संख्या कम भए पनि बढी घातक देखिएको छ । रिपोर्टअनुसार सन् २०२१ मा दूषित खानाका कारण भएका कुल मृत्यु मध्ये करिब ७३ प्रतिशत रासायनिक तत्वसँग सम्बन्धित थिए ।

असुरक्षित खानाले अर्थतन्त्रमा पनि ठूलो असर पारेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यसका कारण प्रत्येक वर्ष करिब ३१० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुन्छ । जीवनयापन खर्च र खरिद क्षमतालाई आधार मान्दा यो क्षति बढेर करिब ६४७ अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ । उपचार खर्च, काममा अवरोध र उत्पादकत्व घट्नु यसको मुख्य कारण मानिएको छ ।

रिपोर्टले अफ्रिका र दक्षिणपूर्वी एसियालाई सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा देखाएको छ । विश्वभरका करिब तीन चौथाइ केस र ६० प्रतिशतभन्दा बढी मृत्यु यही क्षेत्रमा हुने गरेको उल्लेख छ । यसको मुख्य कारण सुरक्षित खानाको अभाव, सफा पिउने पानीमा सीमित पहुँच, कमजोर सरसफाइ व्यवस्था र स्वास्थ्य सेवाको कमी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Read More

यात्रा संस्मरण: ताकेको ठाउँमा नपुग्दाको फाइदा

ईश्वर पोखरेल

हामी बास बस्न म्याग्दीको बेनी पुग्न सकेनौं । 

हामीले बासका लागि ताकेको बजारभन्दा ओर्तिरै हामीले आफ्ना कुम्लाकुटुरा बिसाउनु पर्‍यो । सार्थकको एक निकट साथीको घर र व्यवसाय बेनीमा । सार्थक चाहन्थ्यो- बास बस्न बेनी पुगियोस् र त्यो परिवारसंग हाम्रो अलिक लामै पारिवारिक समय बितोस् ।

त्यो पनि सम्भव भएन । 

यात्रामा ताकिएको ठाउँमा पुगिएन भने अनेकन् झन्झटहरू बेहोर्नु पर्ने रहेछ । पोहोर श्रीलंकाको भ्रमणमा हाम्रो दोस्रो बास गाल (Galle) थियो । हामीले कोलम्बोबाट गाल जाने ट्रेन बेलैमा समात्यौं । समुन्द्रको किनारैकिनारको त्यो ट्रेन यात्रामा हामी रमाइलो मान्दै थियौं । हिड्दा बाटामा पर्ने शहरबजारको नाम के रहेछ भन्ने जिज्ञासा हुनु स्वाभाविक हो । त्यहाँ ती शहरबजारको नाम श्रीलंकन भाषामा मात्र थियो; अङ्ग्रेजीमा पनि हामीले देखेनौं । ट्रेनमा युरोपियन पर्यटकहरूको संख्या पनि उल्लेख्य थियो । तिनीहरूमा पनि श्रीलंकन भाषा बुझ्ने कमै हुँदा हुन् । लाग्यो; स्टेसनको नाम त पक्कै अङ्ग्रेजीमा लेखिएको होला । संयोग होला, हामीले स्टेसनको नाम पनि अङ्ग्रेजीमा लेखिएको पाएनौं । ट्रेनको लिक शहरको मध्यभागबाट कमै जाने गर्दछ । गालमा पनि त्यो कुनै एक छेउ भएर गएको होला । गाल श्रीलंकाको नामी पर्यटकीय शहर हो । प्रशासनिक एकाइका दृष्टिमा पनि श्रीलंकामा गाल महत्वपूर्ण छ । तर त्यसको कुनै एक छेउ छोएर ट्रेन गएको रहेछ भने शहरको फैलावट हेरेर पनि हामीले गाल नचिन्ने भयौं । 

गालमा हामीले आजका लागि होमस्टे बुकिङ गरेका छौं । आज त्यहाँ पुगिएन भने अर्को बास कसरी बन्दोबस्त गर्ने? बुकिङ क्यान्सिल गरेको चार्ज कसरी तिर्ने? आज बेलुका र भोलि बिहान घुम्ने भनेर तय गरिएका स्थल स्मारकहरू घुम्ने कि नघुम्ने? घुम्न लाग्दा भोलिको बास पनि प्रभावित हुने होला । विदेशमा ताकेको स्थलमा पुगिएन भने अनेकन् झन्झट र असुविधाहरू आउने रहेछन् ।

हामी आत्तियौं । सार्थक सामुन्द्रिक दृश्यमा रमाई रहेको थियो; अब मोबाइलमा केन्द्रित भयो । साइनबोर्डले हामीले बुझ्ने भाषामा भनोस्; नभनोस् : मोबाइलमा उपलब्ध म्यापले त भन्छ; भन्छ ।

यसपटक  त  हामी विदेशमा होइन, स्वदेशमै यात्रारत् थियौं । हामी मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शनलाई मुख्य लक्ष्य बनाएर घरबाट निस्केको थियौं- हिजो : १६ वैशाख २०८३ । ताकेको ठाउँमा बास बस्न अलिक ढिलै हुन्छ भन्ने भएपछि हामी पर्वतको कुस्मा बजारमा बास बस्यौं ।

बास बस्न बेनी पुग्न नसकेकोमा हामीलाई केही फाइदा पनि भयो । हामी कुस्मा बजारभित्र पस्थ्यौं कि पस्दैनथ्यौं : पस्यौं । कुस्मा बजारभित्र पसेर मूल सडकबाट कालीगण्डकीतिर नझरेको भए हामीले नेपालको सबैभन्दा उचो बन्जी जम्पको स्टेसन र कालीगण्डकीको त्यो झोलुङ्गे पुल देख्न पाउने थिएनौं; देख्यौं ।

लजमा हामी दुइटा रुममा बाडिएका थियौं । कौशु र कविता उताको रुममा थिए; सार्थक र म कालीगण्डकीतिरको रुममा । सधैं उठ्ने समय भएर होला; चार बजेतिरै निन्द्रा खुल्यो । बाहिर कोइली कराइरहेको रहेछ- कुहुँ… कुहुँ… । धेरैपछि सुनें मैले- यो आवाज । 

हिजो बेलुका हाम्रो लजको नजिकै पिपलको एउटा रुख देखेको थिएँ । कोइली त्यसैमा थियो कि! कि अलिक पर कतै थियो । म के गरूँ कसो गरूँ भएँ । बाहिर अँध्यारै छ । भिडियो लिन खोज्दा मोबाइलको झल्याकझुलुकमा कोइली बिच्किने होला । उडेर अन्तै जाने होला । भुइँको टिप्ने लोभ गर्दा पोल्टाको पनि पोखियो भने !!

काठमाण्डौमा सधैं देखिने चरा भनेको परेवा, काग र धोबी चरा मात्रै हो । बीचका केही वर्ष त ढुकुर, रुपी र भँगेरा पनि देखिएनन्; अब देखिन थालेका छन् । छिमेकको घरमा केही दिनअघि गौथली पनि देखिएको थियो । काठमाण्डौमा बस्न थालेपछि हामीले कोइलीको ‘कुहुँ कुहुँ ‘कहाँ सुन्न पाउनु ! बेनीमा बास बस्न पुगेका भए हामीले यो ‘कुहुँ कुहुँ’ सुन्न पाउथ्यौं कि पाउँदैनथ्यौं; कुस्मामै बसेकाले सुन्न पाइयो ।

मलाई तीर्थमै छु जस्तो लाग्यो ।

उज्यालो भएपछि हामी स्नान गरेर बागलुङ कालिकाको मन्दिर दर्शनका लागि तम्तयार भयौं ।

लगनखेलमा मोटरमा पेट्रोल राखेर यात्राको गति समातेपछि सार्थकले प्रस्तुत गरेको महत्वपूर्ण स्थानको सूचीमा बागलुङ कालिका भगवतीको दर्शन एक मुख्य बुँदा थियो । तर बिहान स्नान गरेर केही खानुभन्दा अगाडि भगवतीको दर्शन गरिएला : यो सोचिएको कुरा थिएन । 

 कालिका भगवतीको दर्शनमा हामी सुल्टो बाटो हिड्न पायौं । बास बस्न बेनी पुग्न नसकेर कुस्मामै बस्नु परेकाले हामीलाई भएको यो अर्को फाइदा थियो ।

बागलुङ कालिका भगवतीको मन्दिरमा पुग्न पोखरा मुक्तिनाथको सडक छाडेर पर्वत जिल्लाबाट बागलुङतर्फ कालीगण्डकीको पुल तर्नु पर्ने रहेछ । अब केही किलोमिटर उक्लिएपछि पुगिने रहेछ- कालिका भगवती मन्दिरको मुख्य प्रवेशद्धारमा । हाम्रा मन्दिरको प्रवेशद्धारमा पूजा सामग्री बेच्ने साना व्यापारीको ‘सारौको जुन चिरीबिरी’ सुनिन्छ, यो मन्दिर कसरी अपवाद हुन सक्छ!

हामी पार्किङका लागि तोकिएको स्थलमा मोटर राखेर प्रवेशद्धारबाट मन्दिरतर्फ प्रवेश गर्छौ ।

सफा सडक छ । हिलो छैन । खाल्डाखुल्डी छैन । टायल उक्किएको र उबडखाबड बनेको छैन । विविध जातका रुखहरू छन् । सडकको दुबैतिरका रुखहरू सडकतिर ढल्किदिएका छन् । मानौं, तीर्थयात्रीका लागि घामपानीको ओत बनिदिएका हुन् । तीर्थयात्रीहरू मन्दिरतिर जाँदै छन् । तीर्थयात्रीहरू मन्दिरतिरबाट फर्किदै छन् । कोही सडकको एक छेउमा उभिएर यो तीर्थयात्रा र यहाँको प्रकृतिलाई मोबाइलमा टिप्न पोज दिइरहेका छन् । कोही सडकमा हिड्दै छन् र भिडियो बनाउँदै छन् । हल्लखल्ल छैन, चिहिलबिहिल छैन, कोकोहोलो छैन । झन्डै आधा किलोमिटरको पैदल यात्रापछि मन्दिर परिसरमा पुगिने रहेछ । आहा, कति सफा मन्दिर! यहाँ प्रयोगपछिका दुनामा टेक्दै र केराको गुदीमा चिप्लिदै हिड्नु किन पर्दैन हँ ! भेटी जति दिए पनि हुन्छ । मन फुकाएर दिन मन छ भने दान पात्र छ । 

लौ, यहाँ त कति व्यवस्थित लाइन ! मलाई लाइनसंग होइन; लाइन मिच्नेसंग एलर्जी छ । म लाइनको लम्बाइसंग होइन, लाइनको अव्यवस्थासंग डराउँछु ।

यात्रामा निक्लिनुअघि सम्बन्धित क्षेत्रका बारेमा जानकारी टिप्ने सार्थकको बानी जस्तै छ । मन्दिरबाट फर्किदा उसले भन्यो- ‘एकसमय यहाँ बली निषेध थियो ।’

बास बस्न बेनी पुगेको भए हामीले बागलुङ कालिकाको दर्शन हतारमा गर्नु पथ्र्यो होला । 

बागलुङ कालिका भगवतीको दर्शनको क्रममा हामीले आज बिहान जुन सुन्दर समय बिताउन पायौं; यो हाम्रो हकमा बास बस्न बेनी नपुगेकोमा भएको फाइदा हो ।

कविताले मोटरको पछाडिको सिटमा बस्दै हिजै भनेकी थिइन्- “सिट सारफेर गर्नु पर्छ ।”

सार्थक ड्राइभर भई हाल्यो । मोटरको ड्राइभिङ सिटमा बस्न मेरो योग्यता पुग्दैन । र, मैले ठट्टा गरेको थिएँ- “सार्थक पछाडि जान्छ भने जाओस्; म चै छाड्दिनँ ।”

त्यो प्रसङ्गलाई छोएर मैले फेरि ठट्टा गरें- “तिमीहरूमध्ये को आउने हो; एकजना सार्थकको सिटमा आओ । सिट सारफेर गरौं ।… सार्थक पछाडिको सिटमा जाओस् ।”

Read More

सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लङ्घनसम्बन्धी विषयमा अध्ययन एवम् छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले आफ्नो आन्तरिक जानकारी प्रयोजनका लागि विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाईसमेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको हो ।

गठित समितिको संयोजकमा इन्जिनियर डा आभाष मास्के रहनुभएको छ । समितिमा उमेश रुपाखेती, टिकाराम कार्की र नवीन कुमार मिश्र सदस्य छन् । मन्त्रालयका अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्ना च्यानलहरू भू–उपग्रहमार्फत प्रसारण गर्न विदेशी स्याटेलाइट ब्याण्डविथ सेवा प्रदायक कम्पनीहरूसँग सन् २००२ देखि हालसम्म निरन्तर रूपमा भाडा सम्झौता गर्दै आएको छ । ती सम्झौतामा समय–समयमा च्यानल थप गर्ने, स्ट्यान्डर्ड डेफिनेसन (एसडी) बाट हाई डेफिनेसन (एचडी) मा रूपान्तरण गर्ने, पूरक सम्झौता गर्ने तथा उपकरण खरिदसम्बन्धी निर्णयहरूमा प्रश्न उठ्दै आएका छन् ।

विभिन्न निकायमा यी विषयसँग सम्बन्धित ऊजुरी पएका थिए । साथै, महालेखा परीक्षकको कार्यालयका वार्षिक प्रतिवेदन, सञ्चारमाध्यममा प्रकाशित सामग्री तथा विभिन्न माध्यमबाट आएका गुनासोहरूमा प्रक्रियागत अनियमितता, अनावश्यक आर्थिक भार सिर्जना, प्रतिस्पर्धाबिनै सम्झौता, वित्तीय अनुशासन उल्लङ्घन तथा स्वार्थको द्वन्द्वजस्ता विषय उठाइएका थिए ।

मन्त्रालयले यी सम्पूर्ण विषयको अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेशसहित समिति गठन गरेको हो । मन्त्रालयले समितिलाई स्याटेलाइट सेवा खरिद र व्यवस्थापनसँग सम्बन्धित विगतका सम्झौता, सेवा विस्तार, प्रविधि रूपान्तरण तथा उपकरण खरिद प्रक्रियाको अध्ययन गरी आवश्यक सुझावसहित प्रतिवेदन बुझाउन जिम्मेवारी दिएको छ ।

Read More

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । 

नेपाली समय अनुसार यो खेल बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ ।

यसअघि नेपालले पहिलो खेलमा आज कतारलाई ८ विकेटले र दोस्रो खेलमा भुटानलाई ५१ रनले पराजित गरेको थियो । 

त्यस्तै हङकङले पहिलो खेलमा भुटानलाई १४ रनले र दोस्रो खेलमा कतारलाई ८३ रनले पराजित गरेको थियो । नेपाल र हङकङ दुवैले २-२ खेलमा जित हासिल गरेर क्वाटरफाइनलमा पुगिसकेका छन् र यस खेलले समुह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

१८ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष चार देश महिला एशिया कप क्रिकेटमा छनौट हुने छन् ।  एसीसी प्रिमियर कपमा समुह ए मा थाइल्याण्ड, म्यान्मार, जापान, बहराइन र मंगोलिया रहेका छन् ।  त्यस्तै समुह बी मा युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरेबिया छन् भने समुह सी मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिंगापुर रहेका छन् । त्यस्तै समुह डी मा नेपाल, हङकङ चाइना, भुटान र कतार रहेका छन् ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल र तराई भू-भागमा मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागको थोरै स्थानहरु तथा कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन  हुने सम्भावना रहेको छ । 

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत देशको हिमाली भू-भागको थोरै स्थानहरू, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेश पहाडी भू-भागका एक-दुई स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

Read More

२०८३ जेठ २३ गते शनिबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ जेठ २३ गते शनिबार ईस २०२६ जुन ६ नेपाल सम्बत ११४६ अनालागा षष्ठी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ कृष्ण षष्ठी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, एन्द्र योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ७ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५७ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ५१ मिनेटदेखि ८ बजेर ३५ मिनेटसम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

मेष

आज तपाईंका लागि नयाँ अवसर देखिने दिन हो। काममा आत्मविश्वास बढ्नेछ र रोकिएका योजना अघि बढ्न सक्छन्। जिम्मेवारी थपिए पनि राम्रोसँग सम्हाल्न सकिनेछ। आर्थिक पक्षमा सामान्य सुधार देखिए पनि खर्च नियन्त्रण गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा मिठास बढ्नेछ। साथीभाइसँगको भेटघाटले मन हल्का बनाउनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर धेरै तनाव नलिनु उपयुक्त हुनेछ।

वृष

आज धैर्य र शान्त स्वभावले राम्रो परिणाम दिलाउनेछ। कार्यक्षेत्रमा सानो चुनौती आए पनि समाधान सजिलै भेटिनेछ। आर्थिक अवस्था स्थिर रहनेछ, पुरानो प्रयासबाट फाइदा मिल्न सक्छ। घरपरिवारमा खुसीको वातावरण बन्नेछ। नजिकका व्यक्तिसँगको सम्बन्ध अझ मजबुत हुनेछ। स्वास्थ्यमा सामान्य ध्यान दिनु आवश्यक छ, विशेषगरी खानपानमा सावधानी अपनाउनु राम्रो हुनेछ।

मिथुन

आज कामको चाप बढ्न सक्छ तर परिणाम पनि राम्रो आउनेछ। एकैपटक धेरै जिम्मेवारी सम्हाल्नुपर्ने हुन सक्छ। सहकर्मी वा साथीबाट सहयोग मिल्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ तर अनावश्यक खर्च बढ्न सक्छ। पारिवारिक जीवनमा समझदारी बढ्नेछ। नयाँ व्यक्तिसँगको भेट लाभदायक बन्न सक्छ। दिनको अन्त्यतिर राहत महसुस हुनेछ।

कर्कट

आजको दिन भावनात्मक रूपमा सकारात्मक रहनेछ। परिवारसँग समय बिताउन पाउनु तपाईंको लागि सुखद हुनेछ। पुराना समस्या समाधानतर्फ जाने संकेत छन्। कार्यक्षेत्रमा तपाईंको मेहनतको कदर हुनेछ। आर्थिक पक्षमा सुधार देखिन सक्छ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक शान्ति कायम रहनेछ। मनमा नयाँ उत्साह र आशा जाग्नेछ।

सिंह

आज नेतृत्व क्षमता प्रदर्शन गर्ने राम्रो अवसर मिल्नेछ। कार्यक्षेत्रमा तपाईंको निर्णयलाई महत्व दिइनेछ। आर्थिक रूपमा दिन राम्रो देखिन्छ तर ठूला निर्णय गर्दा सावधानी अपनाउनु आवश्यक छ। परिवारको साथले आत्मबल बढाउनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्न सक्छ। प्रेम सम्बन्धमा समझदारी कायम रहनेछ। ऊर्जा उच्च रहनेछ।

कन्या

आज अध्ययन र सिकाइका लागि राम्रो दिन हो। नयाँ ज्ञान प्राप्त गर्ने अवसर मिल्न सक्छ। काममा स्थिरता देखिए पनि धैर्य आवश्यक हुनेछ। आर्थिक अवस्था सामान्य रहनेछ। परिवारमा सानो खुसीको वातावरण बन्न सक्छ। यात्राको सम्भावना पनि देखिन्छ। स्वास्थ्यमा सामान्य थकान हुन सक्छ, आराममा ध्यान दिनु राम्रो हुन्छ।

तुला

आज आर्थिक पक्षमा सुधार देखिनेछ। रोकिएको रकम फिर्ता हुने वा नयाँ आम्दानीको स्रोत खुल्ने सम्भावना छ। काममा सहकर्मीको सहयोगले सहजता आउनेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। परिवारसँगको सम्बन्ध राम्रो रहनेछ। आत्मविश्वास बढ्ने भएकाले नयाँ योजना सुरु गर्न उपयुक्त समय हो।

वृश्चिक

आज मेहनतको राम्रो प्रतिफल प्राप्त हुने दिन हो। प्रतिस्पर्धात्मक काममा सफलता मिल्न सक्छ। आर्थिक पक्ष सन्तोषजनक रहनेछ। परिवारमा खुसीको वातावरण बन्नेछ। सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। नयाँ योजना बनाउने सोच बलियो बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ।

धनु

आज उत्साह र ऊर्जा बढ्ने दिन हो। नयाँ अवसरहरू प्राप्त हुन सक्छन्। काममा प्रगति देखिनेछ। यात्रा वा बाहिरी कामबाट लाभ मिल्ने सम्भावना छ। सामाजिक क्षेत्रमा सम्मान बढ्न सक्छ। परिवारसँगको सम्बन्ध राम्रो रहनेछ। आत्मविश्वासले दिनलाई सफल बनाउनेछ।

मकर

आज जिम्मेवारी बढ्न सक्छ तर धैर्यले काम सहज बनाउनेछ। आर्थिक पक्ष सामान्य रहनेछ, खर्चमा ध्यान दिनु आवश्यक छ। परिवारको सहयोगले मनोबल बढ्नेछ। काममा अतिरिक्त दबाब आउन सक्छ। स्वास्थ्यमा थकान महसुस हुन सक्छ, आराम आवश्यक छ। दिनको अन्त्यतिर सन्तोष मिल्नेछ।

कुम्भ

आज नयाँ योजना सुरु गर्न अनुकूल दिन हो। काममा प्रगति देखिनेछ र रोकिएका काम अघि बढ्नेछन्। साथीभाइको सहयोग मिल्नेछ। आर्थिक पक्षमा सुधार आउने संकेत छन्। परिवारमा खुसीको वातावरण रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ। आत्मविश्वास बढ्ने दिन हो।

मीन

आज मिश्रित दिन रहनेछ। केही काम सहज बन्नेछन् भने केहीमा धैर्य आवश्यक हुनेछ। आर्थिक पक्षमा सावधानी अपनाउनु राम्रो हुनेछ। परिवारको साथले मन शान्त रहनेछ । निर्णय गर्दा हतार नगर्नु राम्रो हुन्छ। अन्त्यतिर सकारात्मक संकेत देखिन सक्छ ।

Read More