काठमाडौँ । बाढीका कारण क्षतिग्रस्त बनेका तुइन तथा झोलुङ्गे पुल पुनःस्थापना र पुनर्निर्माणलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन तत्कालीन रूपमा तुइन जडानसँगै क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत र पुनर्निर्माण अघि बढाइएको हो।
मन्त्रालयका अनुसार हालसम्म चार स्थानमा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। इन्द्रेणीचौर–गुम्बाडाँडा जोड्ने त्रिशूली नदीमा मोटराइज्ड तुइन सञ्चालनमा आइसकेको छ।
त्यस्तै, नुवाकोटको विदुर नगरपालिका–५ स्थित देविघाट, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ अन्तर्गत स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्र तथा गोसाइँकुण्ड गाउँपालिका–६ र आमाछोदिङ्मो गाउँपालिका–१ अन्तर्गत हाकुबेंसीमा पनि तुइन सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
थप तीन स्थानमा तुइन जडानको तयारी
सरकारले थप तीन स्थानमा तुइन जडान गर्ने तयारी अघि बढाएको छ। रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने क्षेत्रमा तुइन निर्माणमा देखिएको विवाद समाधान भइसकेको मन्त्रालयले जनाएको छ।
स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा भने माइन एरिया रहेकाले जोखिमरहित स्थान पहिचान गरेर मात्रै तुइन जडान गर्नुपर्ने अवस्था छ। यस्तै, रसुवाको रुङ्गामा तुइन जडानका लागि स्थलगत अध्ययन तथा रेकीको काम भइरहेको छ।
१३ झोलुङ्गे पुलको मर्मत अन्तिम चरणमा
बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ। धादिङ, नुवाकोट र गोरखाका विभिन्न स्थानमा रहेका पुलको मर्मत भइरहेको छ।
यसैबीच थप सातवटा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मतसमेत सुरु गरिएको छ। आवश्यक स्टिल पार्ट्स खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ। मन्त्रालयका अनुसार पहिलो चरणको स्टिल पार्ट्स खरिद सम्पन्न भइसकेको छ भने दोस्रो चरणका लागि सम्झौता भइसकेको छ।
पूर्ण क्षतिग्रस्त ३३ पुल पुनर्निर्माणको तयारी
बाढीका कारण पूर्ण रूपमा क्षति भएका ३३ वटा झोलुङ्गे पुलको पुनर्निर्माण प्रक्रिया पनि अघि बढेको छ। ती पुल पुनर्निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।
बाढीबाट पुल तथा तुइनमा पुगेको क्षतिका कारण प्रभावित क्षेत्रको आवागमनमा समस्या देखिएपछि सरकारले तत्काल आवागमन सहज बनाउने उपायसँगै दीर्घकालीन पुनर्निर्माणलाई समेत समानान्तर रूपमा अघि बढाएको हो।
