२०८३ जेष्ठ २७

देउवा-अडान: असन्तुष्टि स्वीकार, तर पार्टी विधानमाथि सम्झौता हुदैन

काठमाडौँ । उपचारपछि स्वदेश फर्किएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका आन्तरिक एजेन्डातिर सक्रिय बनेका छन् ।

सिंगापुरबाट फर्किएपछि देउवा अहिले उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । नेतृत्वसँग कुराकानी बढिरहेको बेला महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन र विधानसम्बन्धी आफ्नो चिन्ता सभापति देउवा समक्ष अघि सारे। आइतबार सभापति देउवासँग भएको करिब एक घण्टाको भेटवार्तामा महामन्त्री शर्माले पार्टीको भविष्य, विधान र महाधिवेशनबारे विस्तृत चर्चा हुँदा देउवाले “पार्टीलाई संस्थागत भूमिमा राखेर अगाडि बढाउने” स्पष्ट संदेश दिएका छन् ।

देउवा पक्षधर नेताहरुको अनुसार, शर्माले उठाएका मुद्दा गम्भीर भए पनि पार्टीलाई विवाद होइन, प्रक्रियाबाट चलाउनै पर्ने देउवाको अडान पूर्ववत रहेको छ। भेटमा शर्मा केही असन्तुष्ट देखिए पनि देउवाले संयमित तरिकाले पार्टी संरचना, विधानमा भएका प्रावधान र हुनै पर्ने प्रक्रिया सम्झाइदिएको स्रोत बताउँछ।

देउवा पक्षधर भन्छन: सभापति देउवाको तर्क स्पष्ट छ- महाधिवेशनका विषय प्रक्रियागत रूपमा अघि बढ्छन्, ५४% प्रतिनिधिको माग पनि विधानअनुसारै टुंगिन्छ। कांग्रेस निर्णायक मोडमा छ: भावनाले होइन, नियमले चल्नुपर्छ । यी सबै बुँदा देउवाले अत्यन्त धैर्यपूर्ण रूपमा प्रस्तुत गरेपछि भेटवार्ता ‘तनावपूर्ण’ नभई कार्यात्मक संवादमा रूपान्तरण भएको छ ।

महामन्त्री विश्वप्रकाशको चेतावनीलाई पनि सभापति देउवाले ‘पार्टी आन्तरिक बहसको हिस्सा’ का रूपमा लिएको नेताहरु बताउछन । महामन्त्री शर्माले सभापति देउवालाई भनेका थिए: “विधान नमान्ने हो भने म महामन्त्री बस्दिनँ । राजिनामा दिन्छु ।” तर सभापति देउवा निकट स्रोतका अनुसार, देउवाले यो चेतावनीलाई ‘प्राकृतिक असन्तुष्टि’का रूपमा लिए । “पार्टीभित्र बहस हुन्छ, असन्तुष्टि व्यक्त हुन्छ, तर अन्तिम निर्णय संस्था र विधानले नै गर्छ,” भन्ने देउवाको अडान यथावत् छ।

सभापति देउवा पक्ष नेताहरु भन्छन: “कांग्रेसलाई अस्थिरता होइन, स्थिर नेतृत्व चाहिन्छ । र त्यो स्थिरता देउवाकै अनुभव र संयमताबाट मात्र सम्भव छ।”

पार्टीभित्रको उथलपुथललाई नियन्त्रणमा राख्दै सभापति देउवा ‘नेतृत्वको भूमिका’ मा सक्रिय देखिएका छन् । कांग्रेस अहिले संवेदनशील राजनीतिक मोडमा छ। राष्ट्रिय राजनीति तरल, पार्टीभित्र वैचारिक खटपट, महाधिवेशनको समय नजिक र नयाँ गठबन्धन सम्भावनाहरू खुला । यस्तो बेला नेतृत्वको शान्ति, परिपक्वता र अनुभव अत्यन्त महत्वपूर्ण हुन्छ-जसलाई देउवाले फेरि एकपटक देखाएका छन् । संयमतापुर्वक देउवाले संवादलाई समाधानतर्फ फर्काएका छन् ।

देउवा कसैको भावनालाई बेवास्ता गर्दैनन् तर पार्टी विधान तोडेर कुनै निर्णय पनि हुन दिंदैनन् । कांग्रेसलाई विवाद होइन, चुनाव र राजनीतिक स्थिरताबाट अघि लैजान चाहन्छन् । “असल नेता त्यही हो, जो चर्का आवाज सुन्छ तर निर्णय प्रक्रियाबाट गर्छ,” देउवा नजिकको एक नेताले भने ।

Read More

आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाइदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस। विद्यार्थीहरुको योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । 

१९३९ मा चेक रिपब्लिकको प्राग विश्वविद्यालयमा नाजी आक्रमणको सम्झनामा प्रत्येक वर्ष नोभेम्बर १७ मा अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाइन्छ, जसको परिणामस्वरूप विद्यार्थी नेताहरूलाई मृत्युदण्ड दिइएको थियो र विश्वविद्यालयहरू बन्द गरिएका थिए । आज, यो दिनले विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बहुसांस्कृतिकता र योगदानलाई सम्मान गर्दछ र उनीहरूको अध्ययन गर्ने र स्वतन्त्र रूपमा आफूलाई अभिव्यक्त गर्ने अधिकारको वकालत गर्दछ ।

हरेक वर्ष झै यस वर्षपनि ‘दिगो विश्वका लागि भविष्यका नेताहरूलाई सशक्तिकरण गर्दै’ भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाईँदै छ । 

विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरु भएका छन् । विद्यार्थीहरुको यही योगदानलाई स्मरण गर्दै नोभेम्बर १७ लाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउन थालिएको हो ।

तर, यसको अर्थ के होइन भने यसलाई राजनीतिक दिवसको सन्दर्भमा मात्र लिने गरिन्छ । यसलाई त बरु अहिले गैराराजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रुपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले मनाउने गर्छन् । अन्तर्राष्ट्रिय विद्यार्थी दिवस किन मनाउन थालियो भन्नेबारे थोरै चर्चा गरौँ । त्यसो त अन्तर्राष्ट्रिय विद्यार्थी दिवस अन्य कुनै मितिमा केही विश्वविद्यालयहरुले मनाउने गरेका छन् । यो विशेषतः अन्तर्राष्ट्रिय विद्यार्थी पढाउने विश्वविद्यालयहरुले मनाउने गरेका छन् ।

Read More

कम्युनिष्ट एकताको ठोस कदम: नेकपा अब सातै प्रदेशमा आक्रमक अभियानमा

काठमाडौँ । प्रचण्ड-माधव नेतृत्वमा एकीकृत भएर बनेको नयाँ दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अब देशभर आफ्नो उपस्थिति जनाउँदै जनतामाझ पुग्ने तयारीमा लागेको छ।

माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० भन्दा बढी कम्युनिस्ट समूह एउटै संरचनामा आएपछि निर्मित नेकपाले सातै प्रदेशमा ‘सन्देश सभा’ गर्ने निर्णय गरेको हो।

आइतबार पेरिसडाँडामा बसेको पूर्व पदाधिकारीहरूको बैठकमा पार्टी एकताको पृष्ठभूमि, आगामी योजनाहरू र जनतामाझ दिनुपर्ने सन्देशबारे विस्तृत छलफल भएको थियो। बैठकपछि नेता राजेन्द्रप्रसाद पाण्डेले देशभर पार्टीको एकता, लक्ष्य र आगामी कार्यक्रमबारे स्पष्ट सन्देश दिन सातै प्रदेशमा सभा आयोजना गर्ने निर्णय गरिएको बताए।

हालसम्म कुन प्रदेशमा कुन मितिमा कार्यक्रम हुने भन्ने अन्तिम निर्णय भने भइनसकेको बैठकमा सहभागीले जनाए । पाण्डेका अनुसार, आज सोमबार बेलुकासम्म प्रत्येक प्रदेशका कार्यक्रमको स्थान र मिति ठोस रूपमा तय गरिनेछ। पार्टीका अनुसार सन्देश सभामा शीर्ष नेतृत्व, प्रदेश नेतृत्व तथा हजारौं कार्यकर्ताको सहभागिता रहनेछ।

पार्टी एकता घोषणा भइसकेपछि आधारभूत संरचना, संगठन विस्तार, नीति तथा दिशा–निर्देशबारे जनतालाई जानकारी दिन आवश्यक देखिएकाले यस्तो कार्यक्रम अघि सारिएको बताइएको छ। पार्टी नेतृत्वको बुझाइमा, “एकता मात्रै पर्याप्त हुँदैन, जनतालाई विश्वास गराउने, योजनाबारे सुनाउने र कार्यकर्तालाई सक्रिय बनाउन ठूला जनसभाहरू अनिवार्य छन्।”

यो कार्यक्रम नयाँ नेकपाले एकतापछि गर्ने पहिलो राष्ट्रिय-स्तरीय गतिविधि हुने भएकाले संगठनभित्र पनि यसको विशेष महत्व छ। पार्टी स्रोतका अनुसार, सन्देश सभामा एकीकृत पार्टीको नीति र मार्ग, आगामी आन्दोलन तथा योजनाको खाका, सरकारप्रति पार्टीको धारणा, संगठन विस्तारको रणनीति लगायतका विषय सार्वजनिक गरिनेछ ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

त्यसैगरी आज दिउँसो कोशी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने आज राती देशभर मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ ।

Read More

निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गरिने

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले ठूलो संख्यामा म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ।

आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयका अनुसार चुनावी सुरक्षा मजबुत बनाउन यो कदम उठाइएको हो।

बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना समेत स्वीकृत गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा प्रहरी प्रमुख आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए।

सहसचिव आनन्द काफ्लेका अनुसार, बैठकले निर्वाचन अघि, निर्वाचनको दिन र निर्वाचनपछि पनि सुरक्षा चुनौती बढ्न सक्ने निष्कर्ष निकाल्दै अत्यधिक सतर्कता अपनाउने निर्णय गरेको छ।

चुनावमा तीन तहको सुरक्षा घेरा
बैठकले मतदान केन्द्रमा तीनवटा घेरामा सुरक्षाकर्मी खटाउने व्यवस्था गरेको छ:
पहिलो घेरा: नेपाल प्रहरी
दोस्रो घेरा: सशस्त्र प्रहरी
तेस्रो घेरा: नेपाली सेना

सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा राष्ट्रपतिले निर्णय गर्ने कानुनी प्रक्रिया रहेकाले त्यसका लागि रक्षा मन्त्रालयसँग समन्वय गरिनेछ।

एक उच्च अधिकृतका अनुसार, घेराबन्दीको व्यवस्था भए पनि परिस्थिति मागेमा तीनै वटै सुरक्षा निकाय सीधै फ्रन्टलाइनमा खटिन आदेश आवश्यक नपर्ने निर्णय गरिएको छ।

मुख्य सुरक्षा चुनौती
बैठकले वर्तमान परिस्थितिको समीक्षा गर्दै चुनावमा सक्रिय नभएका समूहका गतिविधि तथा ब्यारेक बाहिर रहेका हतियार मुख्य सुरक्षा चुनौती हुने बताएको छ।

यसअघि सहसचिव काफ्ले नेतृत्वको कार्यदलले तयार पारेको एकीकृत सुरक्षा योजनाको मस्यौदा नै समितिबाट पारित भएको हो। सेनाका सहायक रथी मनोज थापा, प्रहरीका एसएसपी बसन्त रजौरे, सशस्त्रका एसएसपी राजेश उप्रेती तथा अनुसन्धान विभागका प्रतिनिधि कार्यदलमा सहभागी थिए।

समितिले सुरक्षा संवेदनशीलता हेरेर सुरक्षाकर्मी कति, कहाँ र कसरी परिचालन गर्ने भन्नेमा स्पष्ट मार्गनिर्देशन गरेको छ। यसैबीच, निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी मंसिर ९ देखि लुम्बिनी प्रदेशबाट सुरु हुने भएको छ।

Read More

देशको अर्थतन्त्र कता जाँदैछ? राष्ट्र बैंकले सार्वजनिक गर्यो तीन महिनाको वास्तविक चित्र (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को तीन महिना (२०८२ असोजसम्म) को तथ्याङ्कमा आधारित ‘देशको आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गरेको छ ।

बैंकले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ ।

यस्तै कुल विदेशी विनिमय सञ्चिति रु.२९७९ अर्ब ८१ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब २१ करोड पुगेको बैंकको भनाइ छ । यस्तो सञ्चिति १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै चालु खाता रु.२३७ अर्ब ५९ करोड र शोधनान्तर रु.२६४ अर्ब ३ करोड बचतमा रहेको छ । यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३५.४ प्रतिशतले र अमेरिकी डलरमा

२९.२ प्रतिशतले बढेको छ भने चालु आर्थिक विप्रेषण आप्रवाह रु.२०१ अर्ब २२ करोड रहेको छ । यस्तै निर्यात ८९.६ प्रतिशतले र आयात १९.८ प्रतिशतले बढेको छ । यस्तै नेपाल सरकारको खर्च रु.३६४ अर्ब ५९ करोड र राजस्व परिचालन रु.२४९ अर्ब ५ करोड रहेको छ ।

यसैगरी विस्तृत मुद्राप्रदाय ३.२ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.२ प्रतिशतले बढेको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

Read More

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका कार्यक्रम प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका कार्यक्रम प्रकाशित गरेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) र समानुपातिका निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायतका कार्यक्रम सार्वजनिक गरिएको हो ।

निर्वाचन कार्यक्रम अनुसार प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन पत्रको दर्ता  माघ ६ गते तोकिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने आयोगले जनाएको छ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेको अवधिमा उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।

त्यस्तै माघ ७ गते उम्मेदवारको विरोधमा उजुरी दिने गरी बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारित छ । उजुरीमाथि जाँचबुझपछि माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ । उम्मेदवारीबाट नाम फिर्ता लिनका लागि माघ ९ बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ । सोही दिन लगत्तै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरिने छ ।

त्यस्तै समानुपातिक तर्फको निर्वाचन कार्यक्रम मंसिर २० बाट प्रारम्भ हुने आयोगले जानकारी दिएको छ । जस अनुसार समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलले मंसिर २१–२३ गते भित्र आयोगमा निवेदन दिनुपर्ने समय तोकिएको छ । त्यस्तै मंसिर २४ मा निवेदन दिएका राजनीतिक दलहरुको नामावली प्रकाशित गरिनेछ । त्यसपछि पुस १३ र १४ गते बिहान १० देखि ४ बजेसम्म राजनीतिक दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने समय तोकिएको छ ।

Read More

२०८२ मङ्सिर १ गते सोमवार: आजको राशिफल

आज मङ्सिर १ गते सोमवार ईसं २०२५  नोभेम्बर १७ नेपाल सम्बत ११४६ कछलागा त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, मंसिर कृष्ण त्रयोदशी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र,  प्रीति योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २६ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर १२ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । खेलवाड र मनोरञ्जनमा अलमलिएर सजिलै दिन बित्ने परिस्थिति छ, तर उज्ज्वल भविष्य र राम्रो रिजल्टका लागि अझ धेरै मिहिनेत गर्नुहोला । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । लेनदेनको कारोबार, उठ्ती वा रिनसापटीको विषयले चिन्ता बढाउन सक्छ, आज घरपरिवारका विषयमा चासो राखी सम्पर्क गर्नु ठीक हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । पढाइप्रति दिलचस्पी जाग्नेछ, रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मानसिक अस्थिरताको समय हो, मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ, असाध्यै दौडधूप गर्नुपर्ने समय छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला । सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो । इच्छानुसार आत्मीयजनसँग कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता नमिल्नाले मन एकतमासको हुने र भावुक बन्ने दिन हो । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । पारिवारिक जीवन र दैनिकीका दृष्टिले राम्रै दिन छ, माइतीपक्षसित भेटघाट हुने वा सम्बन्धरसम्पर्क बढ्ने तथा सरसहयोग लिनरदिन सकिने समय हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । ताजगी र स्फूर्ति बढ्नेछ, नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइतीपक्षसँग सम्बन्धरसम्पर्क गर्ने दिन हो । बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । प्रेमी र प्रेमिका वा पतिरपत्नीका बीचमा ठास्सठुस्स बढ्ने समय हो । सँगै बस्नुहुन्न भने संयम भई फोनमार्फत नै भलाकुसारी गर्ने वा फकाउने काम गर्नुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो, त्यस्तै तपाईंमा दिकदारी र चिडचिडेपन पनि हाबी हुनसक्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । बौद्धिक सामर्थ्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ । तर आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्त्वपूर्ण मानिन्छ । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ । सिनियर्सलाई खुशी बनाउन सकिने छ, कारोबारबाट फाइदा हुने अथवा नोकरीमा प्रशंसा पाउने समय हो, अचानक हातमा धन आइपुग्न सक्छ । कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्द्धीसँग अन्तर्क्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ । असहाय र दुःखीको सहयोग गर्दा मनमा छुट्टै सन्तुष्टिको आभास हुनेछ, घरमा सम्पर्क भएको छैन भने सम्पर्क गरी बृद्धबृद्धाको आशीर्वचन लिनुहोला । व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन हो, तर आज बारम्बार नकारात्मक धारणामात्र आइरहने छ, कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु होला । आवेग र रिसरागमा नियन्त्रण राखी खासगरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउनु होला ।

Read More

दिल्लीको हावाको गुणस्तर ‘गम्भीर’ श्रेणीमा

काठमाडौँ । भारतको राजधानी दिल्लीको हावाको गुणस्तर ‘गम्भीर’ श्रेणीमा पुगेको छ । ]

दिल्लीका अधिकांश क्षेत्रहरूमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ४०० भन्दा माथि रेकर्ड गरिएको छ । आइतबार बिहान साढे ९ बजे दिल्लीमा एक्यूआई ४९३ पुगेको छ ।

दिल्लीको हावाको गुणस्तर विगत धेरै दिनदेखि ‘गम्भीर’ श्रेणीमा रहेको छ । ४०१ र ५०० बीचको एक्यूआईलाई ‘गम्भीर’ मानिन्छ ।

दिल्लीपछि पाकिस्तानको लाहोरको एक्यूआई २६१ रहेको छ भने इजिप्टको कायरोको २३५ र भारतकै कोलकोताको २०१ रहेको छ ।

Read More

नेपालले वन कार्बन साझेदारी सुविधा अन्तर्गत विश्वबैंकबाट पायो ९.४ मिलियन डलर भुक्तानी

काठमाडौं । नेपालले तराई आर्क ल्याण्डस्केपमा आरइडीडी प्लस उत्सर्जन न्यूनीकरण कार्यक्रम अन्तर्गत लगभग १.८८ मिलियन टन कार्बन डाइअक्साइड घटाउन विश्व बैंकको वन कार्बन साझेदारी सुविधाबाट ९.४ मिलियन डलर अर्थात् करिब एक अर्ब ३३ करोड २९ लाख ७१ हजार भुक्तानी प्राप्त गरेको छ ।

यो वन कार्बन साझेदारी सुविधाको उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता अन्तर्गत पहिलो भुक्तानी हो । वन फँडानी र वन क्षयीकरणबाट उत्सर्जन घटाउने र समावेशी, दिगो वन व्यवस्थापनलाई प्रवर्द्धन गर्ने नेपालको प्रयासमा यो सम्झौता एक प्रमुख कोसेढुङ्गा रहेको छ ।

नेपालमा वन कार्बन साझेदारी सुविधा कार्यक्रम दिगो वनको लागि यसको बलियो समुदाय-आधारित दृष्टिकोण हो । समृद्ध जैविक विविधता र घना मानव जनसंख्या दुवैको घर-तराई आर्क ल्याण्डस्केपमा लागू गरिएको यो कार्यक्रमले ग्रामीण जीविकोपार्जन सुधार गर्दै वनको संरक्षण र पुनर्स्थापना गर्न स्थानीय समुदाय, आदिवासी जनजाति र नागरिक समाज संस्थाहरूलाई एकसाथ ल्याउने बताइएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंक डिभिजन निर्देशक डेभिड सिस्लेनले भने- ‘यो कोशेढुङ्गा भुक्तानी नेपालले वन फँडानी घटाउने, वन प्रशासन सुदृढ गर्ने, जैविक विविधता संरक्षण बढाउने र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसरहरू विस्तार गर्ने सफलताको प्रमाण हो ।’ 

भुक्तानी नेपालको लाभ बाँडफाँड योजना अनुसार वितरण गरिनेछ, जुन स्थानीय समुदाय र प्रमुख सरोकारवालाहरूसँगको परामर्श समावेश गर्ने सहभागितामूलक प्रक्रिया मार्फत विकसित गरिएको हो । यो योजनाले वनमा आश्रित समुदाय र आदिवासी जनजातिहरूले आफ्नो प्रयासको नतिजाबाट प्रत्यक्ष लाभ उठाउने कुरा सुनिश्चित गर्दछ । लगानीले निरन्तर वन पुनर्स्थापना, सामुदायिक उद्यमहरू र जलवायु, उत्कृष्ट जीविकोपार्जनलाई सहयोग गर्नेछ भने सामुदायिक वन र सहभागितामूलक स्रोत व्यवस्थापनको अग्रणीको रूपमा नेपालको विश्वव्यापी प्रतिष्ठालाई सुदृढ पार्ने छ ।

यस प्रसंगमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले भने- ‘यो परिणाम-आधारित भुक्तानीले हाम्रा वन-आश्रित समुदायहरू, आदिवासी जनजातिहरू र सरकारको हाम्रो वन संरक्षण र व्यवस्थापनमा प्रयास र समर्पणलाई प्रतिबिम्बित गर्दछ । नेपाल समावेशी र समुदाय-नेतृत्वमा वन व्यवस्थापन मार्फत जलवायु कार्यलाई अगाडि बढाउन प्रतिबद्ध छ ।’ 

वन कार्बन साझेदारी सुविधा एक विश्वव्यापी साझेदारी हो, जसले सरकार, नागरिक समाज, आदिवासी जनजाति र निजी क्षेत्रलाई एकसाथ ल्याउँछ जसले देशहरूलाई वन फँडानी र वन क्षयबाट हुने उत्सर्जन कम गर्न र दिगो वन व्यवस्थापनलाई बलियो बनाउन मद्दत गर्दछ ।

नोभेम्बर २०२५ सम्म, वन कार्बन साझेदारी सुविधा कार्यक्रमहरूले १३ करोड १० लाख tCO₂e भन्दा बढी उत्सर्जन कटौती रिपोर्ट गरेका छन्, जसमा ६ करोड ३७ लाख क्रेडिट जारी गरिएको छ र ४ करोड ६५ लाख भुक्तानी गरिएको छ, जुन परिणाममा आधारित २३ करोड २० लाख अमेरिकी डलरभन्दा बढी भुक्तानी गरिएको छ । यी परिणामहरूले वन फँडानी र जलवायु परिवर्तनलाई सम्बोधन गर्न सहयोग गर्ने देशहरूमा पारदर्शिता, समावेशीकरण र दिगोपनमा वन कार्बन साझेदारी सुविधाको जोडलाई प्रतिबिम्बित गरेको छ ।

Read More