२०८३ श्रावण १

स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमेरिका–इरान तनाव बढ्यो

काठमाडौं । विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ हर्मुजलाई लिएर अमेरिका र इरानबीच तनाव थप चुलिएको छ। दुवै पक्षले जलमार्गमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरिरहेका बेला पछिल्ला सैन्य गतिविधिले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ।

अमेरिकाले इरानी हवाई प्रतिरक्षा प्रणाली, राडार केन्द्र, मिसाइल तथा ड्रोन पूर्वाधारसहित विभिन्न सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ। यता इरानले अमेरिकी कारबाहीको विरोध गर्दै स्ट्रेट अफ हर्मुज आफ्नो क्षेत्र भएको र बाह्य हस्तक्षेप स्वीकार नगर्ने बताएको छ।

तनाव बढेपछि कुवेत र बहराइनले सम्भावित हवाई तथा मिसाइल खतरालाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाएका छन्। कुवेतले हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरी जवाफी कारबाही गरेको जनाएको छ भने बहराइनले चेतावनी साइरन बजाएको बताएको छ।

Read More

पर्सा ४ ले चाहेरै म चुनावी मैदानमा उत्रेको हुँ, मेरो विश्वास जनतामा छ: रमेश रिजाल (अन्तर्वार्ता)

पर्सा। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी तीव्र बनेको छ। दल र उम्मेदवारहरू घरदैलो, टोलसभा र प्रत्यक्ष भेटघाटमार्फत मतदातासँग संवादमा अहिले व्यस्त छन्।

यसै सन्दर्भमा नेपाली कांग्रेसका तर्फबाट पर्सा ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश रिजालसँग गरिएको कुराकानी प्रस्तुत छ ।

निर्वाचन प्रचार-प्रसार कस्तो भइरहेको छ ?
घरदैलो अभियान अत्यन्त उत्साहजनक ढंगले अघि बढिरहेको छ। टोल-टोलमा पुगेर जनताका समस्या सुन्दैछु, सुझाव लिँदैछु। पर्सा ४ ले चाहेरै म चुनावी मैदानमा उत्रिएको हुँ। यहाँका नागरिकको आग्रह, विश्वास र अपेक्षाले नै मलाई पुनः उम्मेदवार बनाएको हो । जनताको साथ र माया देख्दा म अत्यन्त उत्साहित छु। चुनावी परिणाम पनि पर्सा ४ को चाहना अनुसार आउनेछ भन्नेमा म स्पष्ट छु।

घरदैलोमा कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
अधिकांश स्थानमा सकारात्मक प्रतिक्रिया पाएको छु। युवा, महिला, किसान, व्यवसायी-सबैले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका विषय उठाइरहनुभएको छ। म सधैं भन्छु, चुनाव भनेको केवल मत माग्ने प्रक्रिया होइन, विश्वासको नवीकरण हो। घरदैलोमा देखिएको आत्मीयता र भरोसाले मलाई थप जिम्मेवार बनाएको छ।

पर्सा ४ मा तपाईंको सक्रियतामा भएको विकासबारे के भन्नुहुन्छ?
पर्सा ४ मा सडक स्तरोन्नति, सामुदायिक भवन, शिक्षा र स्वास्थ्य क्षेत्रका संरचना विस्तार, साना पूर्वाधार निर्माणजस्ता कामहरू भएका छन्। यी कामहरू कागजमा होइन, प्रत्यक्ष देखिने काम हुन्। पर्सा जिल्ला जस्तो व्यापारिक र सामाजिक रूपमा संवेदनशील क्षेत्रमा विकासको अनुभूति महत्वपूर्ण हुन्छ। मैले सधैं स्थानीय आवश्यकता बुझेर प्राथमिकताका आधारमा काम गर्ने प्रयास गरेको छु।

उद्योग मन्त्रीका रूपमा ११ महिनाको अनुभव कत्तिको उपयोगी रह्यो?
मैले नेपाल सरकार अन्तर्गत उद्योग मन्त्रीको रूपमा करिब ११ महिना काम गर्ने अवसर पाएँ। त्यो छोटो समय भए पनि उद्योग प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण र साना तथा मझौला उद्योगलाई सहजीकरण गर्ने नीतिगत पहलहरू अघि बढाइयो। विशेषगरी वीरगञ्ज जस्तो औद्योगिक केन्द्र नजिक रहेको क्षेत्रका लागि उद्योगसम्बन्धी अनुभव महत्त्वपूर्ण हुन्छ। उद्योग, रोजगारी र आर्थिक गतिविधि सशक्त भए मात्रै क्षेत्रको समग्र विकास सम्भव हुन्छ भन्ने मेरो विश्वास छ।

प्रतिष्पर्धालाई कसरी लिनुहुन्छ?
चुनाव लोकतान्त्रिक अभ्यास हो। सबै प्रतिस्पर्धीहरू सम्मानका पात्र हुन्। म कसैलाई पनि कम ठान्दिन, आ-आफ्नो ठाँउमा सबै राम्रो हुनुहुन्छ । तर मेरो मुख्य ध्यान भनेको अरूलाई हेर्नेभन्दा पनि आफ्ना एजेन्डा स्पष्ट रूपमा जनतामाझ राख्नेमा छ। कसले निरन्तर काम गर्‍यो, कसलाई चुनावमा मात्र देखियो भन्ने मूल्याङ्कन जनताले मतदाताहरु आफैले गर्नुहुन्छ।

तपाईं आफ्नो जितप्रति कत्तिको विश्वस्त हुनुहुन्छ?
मेरो विश्वास जनतामा छ। चुनाव परिणाम कसरी आउँछ भन्ने अन्तिम निर्णय मतदाताको हातमा हुन्छ। तर घरदैलोमा देखिएको उत्साह, पर्सा ४ मा भएका विकासका काम र मेरो निरन्तर सक्रियताले सकारात्मक सन्देश दिएको महसुस गरेको छु। म पर्सा ४ को चाहना पुरा हुने गरी परिणाम आउनेछ भन्नेमा स्पष्ट छु।

अन्त्यमा, मतदातालाई के भन्न चाहनुहुन्छ?
पर्सा ४ का सम्पूर्ण दाजुभाइ-दिदीबहिनीलाई म यही भन्न चाहन्छु कि, यो चुनाव व्यक्तिगत महत्वाकांक्षाको होइन, क्षेत्रको भविष्यको हो। विकास, स्थायित्व र विश्वासको निरन्तरताका लागि तपाईंहरूको अमूल्य मत आवश्यक छ। म रमेश रिजाल सधैं झैँ तपाईंहरू प्रति प्रतिबद्ध छु । निर्णय तपाईंहरूको हातमा छ ।

Read More

निगमको उत्साहजनक रिपोर्ट, एमडी भट्ट भन्छन: नेपालले ऊर्जा क्रान्तितर्फ पाइला टेक्यो (अन्तर्वार्ता)

काठमाडौँ । दैलेखमा फेला परेको प्राकृतिक ग्यासले देशको ऊर्जा आत्मनिर्भरता र आर्थिक विकासको नयाँ ढोका खोल्ने सम्भावना देखाएको छ ।
नेपाल आयल निगमका एमडी डा. चण्डीकाप्रसाद भट्टका अनुसार, प्रारम्भिक ‘वेल’ परीक्षण उत्साहजनक भएको र आगामी ग्यास बियरिङ टेस्टले गुणस्तर, परिमाण र व्यावसायिक सम्भावनालाई पुष्टि गर्नेछ । नेपालमा पहिलोपटक आफ्नै भूमिबाट ग्यास उत्पादन गर्ने यो परियोजना विद्युत, मल उद्योग, खाना पकाउने इन्धन र यातायातमा उपयोगका लागि महत्वपूर्ण साबित हुनसक्नेछ । निगमले परियोजना वैज्ञानिक ढंगले, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार र दीर्घकालीन ऊर्जा सुरक्षालाई ध्यानमा राख्दै अगाडि बढाइरहेको छ। यस चरणले नेपालमा ऊर्जा क्रान्तितर्फको वास्तविक सुरुवातको संकेत दिएको एमडी भट्ट बताउँछन् । खबरभोईस डटकमले डा. भट्टसँग गरेको अन्तर्वार्ताको सम्पादित अंशः

प्राकृतिक ग्यासको खोज-अनुसन्धान अहिले कुन अवस्थामा छ ?
नेपालमा प्राकृतिक स्रोतको पहिचान र दिगो ऊर्जा सुरक्षातर्फको यात्रालाई थप गति दिने उद्देश्यले सञ्चालन गरिएको प्राकृतिक ग्यास खोज-अनुसन्धान अहिले प्रारम्भिक तर उत्साहजनक चरणमा अगाडि बढिरहेको छ। प्रारम्भिक ‘वेल’ परीक्षणका क्रममा ग्यासको उपस्थितिको संकेत पाइएको छ, जुन ऊर्जा क्षेत्रमा सम्भावनाको नयाँ ढोका खोल्ने संकेतका रूपमा हेरिएको छ।

यद्यपि, यस्ता प्रारम्भिक नतिजाले मात्रै व्यावसायिक उत्पादनको निर्णय लिन पर्याप्त हुँदैन। त्यसैले अहिले विस्तृत भौगर्भिक परीक्षण, गुणस्तर मूल्यांकन, परिमाण निर्धारण र उत्पादन सम्भाव्यता अध्ययनलाई प्राथमिकताका साथ अघि बढाइएको छ। यी वैज्ञानिक तथा प्राविधिक परीक्षण पूरा भएपछि मात्र ग्यास निकाल्ने, भण्डारण गर्ने र व्यावसायिक रूपमा उपयोग गर्ने बारे ठोस निर्णयमा पुग्न सकिनेछ।

नेपाल आयल निगमले यो परियोजनालाई राष्ट्रिय ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दीर्घकालीन योजनाको महत्त्वपूर्ण आधारका रूपमा लिएर सावधानीपूर्वक, वैज्ञानिक ढंगले र अन्तर्राष्ट्रिय मापदण्डअनुसार अगाडि बढाइरहेको छ।

अन्वेषण र उत्पादन सम्बन्धमा आगामी कदम कस्तो हुनु पर्छ ?
सबैभन्दा महत्वपूर्ण र अनिवार्य कदम भनेको हालै ड्रिलिङ्ग गरिएको वेलमा ग्यास बियरिङ टेस्ट गर्नु हो। यो परीक्षणले केवल ग्यास छ कि छैन भन्ने मात्र होइन, कत्तिको गुणस्तरको ग्यास भएको, कति परिमाणमा निकाल्न सकिने, र यो उत्पादन व्यावसायिक रूपमा कत्तिको सम्भावित छ भन्ने सबै आधारभूत तथ्य प्रमाणित गर्छ।

यो परीक्षण किन यति निर्णायक मानिन्छ ?
यही परीक्षणबाटै आगामी निर्णय प्रक्रिया पूर्णरुपमा तय हुन्छ । यदि गुणस्तर र परिमाण अनुकूल देखिएको खण्डमा, नेपालले पहिलोपटक आफ्नै भूमिबाट ग्यास उत्पादन गर्ने मार्ग स्पष्ट हुन्छ। र हामि यो चरणलाई ऊर्जा आत्मनिर्भरतातर्फको वास्तविक सुरुवात मान्न सक्छौ ।

दैलेखमा कति ग्यास फेला परेको छ भन्ने मूल्यांकन कस्तो छ ?
अन्वेषणमा संलग्न चिनियाँ कम्पनीले दिएको प्रारम्भिक प्रतिवेदन अनुसार, दैलेख क्षेत्रमा करिब ११२ अर्ब घनमिटर प्राकृतिक ग्यासको सम्भावना देखिएको छ। नेपाल जस्तो ऊर्जा आयात-निर्भर देशका लागि यो तथ्य आफैँमा निकै आशाजनक र आर्थिक रूपमा प्रभावकारी मानिन्छ। मिथेनको प्रतिशत कति छ भन्ने विषयमा अहिले अनुमान मात्र गर्न सकिन्छ। चिनियाँ कम्पनीले अन्तिम प्रतिवेदन पेस गरेपछि मात्र ग्यासको वास्तविक गुणस्तरबारे ठोस निष्कर्ष निकाल्न सकिन्छ। ग्यासको उत्पादन–सम्भावना बारे निश्चित कुरा परीक्षण उत्पादन (टेस्ट प्रोडक्सन) पछि मात्र थाहा हुन्छ। त्यो चरण पूरा भएपछि मात्र कति ग्यास व्यावहारिक रूपमा निकाल्न सकिन्छ भन्ने स्पष्ट हुनेछ।

नेपालमा प्राकृतिक ग्यास प्रयोगको के के सम्भावित क्षेत्रहरु छन् ?
विद्युत उत्पादनका लागि प्रयोग गर्न सकिन्छ, जसले देशको ऊर्जा आत्मनिर्भरता बढाउँछ। त्यसैगरी मल (युरिया) उद्योगमा कच्चा पदार्थको रूपमा उपयोग गर्न सकिन्छ, जसले कृषिमा योगदान पुर्‍याउँछ। खाना पकाउने इन्धनको रूपमा घरायसी र उद्योगमा प्रयोग सम्भव छ। यातायात क्षेत्रमा स्वच्छ इन्धनको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ। यी यस्ता क्षेत्रहरूमा प्राकृतिक ग्यासको उपयोगले देशको ऊर्जा सुरक्षा, आर्थिक विकास र वातावरणीय सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।

यो परियोजना आर्थिक र प्राविधिक रुपमा कति सम्भाव्य छ ?
अहिलेसम्म यस परियोजनामा केवल प्रारम्भिक अध्ययन गरिएको छ। त्यसैले अहिले नै आर्थिक र प्राविधिक सम्भाव्यता पूर्ण रूपमा मूल्याङ्कन गर्न सम्भव छैन। अझै विस्तृत आर्थिक-प्राविधिक अध्ययन, ईञ्जिनियरिङ्ग सर्भे र डिजाईन, साथै वातावरणीय मूल्याङ्कन आवश्यक छ । यी चरणहरू पूरा भएपछि मात्र परियोजनाको वास्तविक सम्भाव्यता र दीर्घकालीन प्रभाव स्पष्ट हुने छ।

पूर्वाधार विकासमा के के काम गर्नुपर्ने छ ?
परियोजनालाई सफल बनाउनका लागि पूर्वाधार विकास अत्यन्त महत्वपूर्ण छ। यस अन्तर्गत प्रशोधन स्थलदेखि सुर्खेत वरिपरि पाइपलाइन मार्गको विस्तृत ईञ्जिनियरिङ्ग सर्वेक्षण गर्नु आवश्यक छ। पहुँच सडक, स्थिर विद्युत आपूर्ति र पानी स्रोतको निर्माण तथा सुधार गर्नुपर्छ, जसले उत्पादन र उपभोक्ताबीचको सम्पर्क सहज बनाउनेछ।अन्य मुलुक, जस्तै भारतको पाइपलाइन परियोजनाको अनुभव अनुसार, यस्तो पूर्वाधार निर्माणमा प्रति किलोमिटर करिब ८–१२ करोड रुपैयाँको लगानी लाग्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। यसरी पूर्वाधार विकासले मात्र परियोजनालाई व्यावसायिक र दिगो बनाउने आधार तयार हुन्छ।

ग्यासको प्रयोगका लागि कुन कुन क्षेत्रमा जोड दिनुपर्छ ?
प्राकृतिक ग्यासबाट युरिया उत्पादन गर्न आर्थिक र प्राविधिक हिसाबले उपयुक्त हुने र देशमा हालसम्म कुनै रसायनिक मल उत्पादन नभएको हुनाले रसायनिक मल उद्योग निर्माणतर्फ ध्यान दिनुपर्छ। यसको साथै यातायात क्षेत्रको लागि CNG र खाना पकाउनको लागि PNG को उपयोगका सम्बन्धमा सम्भाव्यता अध्ययन गरी implementation मा जोड दिनुपर्ने देखिन्छ ।

यसको साथै, हाल कर्णाली क्षेत्रमा बिद्युत क्षेत्रमा ठुलो क्षमताका आयोजनाहरु functional नरहेका हुनाले यस क्षेत्रमा प्राकृतिक ग्यासमा आधारित बिद्युत आयोजना स्थापना गर्न सकेमा त्यस क्षेत्रको हालको बिद्युत क्षेत्रका समस्याहरु हाल गर्न सहयोग मिल्नेछ । बिद्युत परियोजना संचालनको विकल्पमा दैलेख आसपासको क्षेत्रको लागि ग्यास टर्बाईनमा आधारित ५०-१०० मे.वा. क्षमताको विद्युतिय आयोजना त् मुख्य लोड सेन्टरको लागि ग्यास तर्बाईनमा आधारित १०० देखि ३०० मे.वा. क्षमताको विद्युतिय आयोजनाको संचालन उपयुक्त देखिएको छ । अध्ययनमा करिब ५९% capacity factor को ग्यास टर्बाईनमा आधारित २०० मे.वा. क्षमताको विद्युतिय आयोजनाको संचालनको लागि वार्षिक करिव १९२ मिलियन घन मिटर ग्यास आवश्यक पर्ने देखिन्छ । जुन दैलेखमा फेला परेको ग्यासबाट संचालन गर्न सकिन्छ।

ग्यासमा आधारित मल कारखानाको लागि के कस्तो पुर्वाधात आवश्यक पर्ने देखिन्छ ?
नेपालमा कृषि क्षेत्रको लागि हाललाई करिब ७ लाख मेट्रिक टन युरिया मलको माग रहेको यस अघिका अध्ययनले देखाएको छ । उक्त माग पुरा गर्नका लागि प्रतिदिन करिव २२०० मेट्रिक टन उत्पादन क्षमताको मल कारखाना संचालन गर्नुपर्ने देखिन्छ। साथै, करिव करिव प्रतिदिन ३५०० मेट्रिक टन क्षमताको उत्पादन गर्न सकेमा आर्थिक हिसाबले अझ छिटो प्रतिफल प्राप्त गर्न सकिने देखिन्छ । अध्यन अनुसार प्रतिदिन करिब २२०० मेट्रिक टन उत्पादन क्षमता रहने उद्योग संचालनको लागि वार्षिक ४१० देखि ४५२ मिलियन घन मिटर ग्यास र दैनिक १०६९ देखि ११२२ मेट्रिक टन नाइट्रोजन ग्यास आवश्यक पर्ने देखिन्छ । यसको लागि २५ देखि ३० मेगावाट बिजुली आवश्यक पर्ने देखिन्छ । उक्त उद्योगको लागि आवश्यक पर्ने बिजुली उपलब्ध गर्नको लागि सोहि क्षेत्रमै ग्यासमै आधारित पवार प्लान्टको निर्माण आवश्यक देखिन्छ ।
यसको साथै, करिव १५० देखि २०० बिघा क्षेत्रफलको जमिन आवश्यक देखिन्छ । यो उद्योगलाई धेरै मात्रामा पानी आवश्यक पर्ने भएको हुदा नदी नजिकैको स्थानमा उद्योग स्थापना गर्न उपयुक्त देखिन्छ ।

परियोजनाको संचालन कसरी गर्न सकिन्छ ?
परियोजनाको संचालनको सम्बन्धमा उपयुक्त मोडेल छनौट गर्नुपर्छ। संचालनका विकल्पहरु मध्ये पहिलो विकल्पमा नेपाल आयल निगम लिमिटेडको १०० प्रतिशत लगानीमा संचालित हुने special purpose vehicle (SPV) र दोश्रो विकल्पमा अधिकांश शेयर आयल निगमको रहने गरी अन्य सरकारी निकाय / संस्थाहरुको समेत लगानी रहने गरी SPV मोडेलमा संचालन गर्न सकिने छ । यस्ता ग्यास फिल्धरु रणनीतिक श्रोत भएको हुनाले यस्तो विकल्पमा अघि बढेमा निर्णय गरेमा उक्त श्रोतमा नेपाल सरकारको पुर्ण नियन्त्रण रही रहनेछ। अन्य विकल्पमा आयल निगमले अन्य अन्तर्राष्ट्रिय कम्पनिहरुसग Joint Venture (JV) गरी परियोजना संचालन गर्न सक्नेछ।

यसको उत्पादन, प्रशोधन, भण्डारण, वितरण र उपयोगका सम्बन्धमा नेपाल आयल निगमको भूमिका के कस्तो हुन सक्छ ?
नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति, ढुवानी, भण्डारण र वितरणको क्षेत्रमा ५५ वर्ष बढीको व्यवसायीक र प्राविधिक अनुभव रहेको छ । डिजेल, पेट्रोल, मट्टीतेल, एलपीजी ग्यास र हवाई इन्धनको बिक्रि वितरणको लामो समयको अनुभव र सम्बन्धित इन्धन डिपो र पाइपलाइन पूर्वाधारहरुको संचालनको अनुभव, प्राविधिक जनशक्तिहरुको उपलव्धता, देशभरी फैलिएको वितरण संजाल एव अन्तर्राष्ट्रिय स्तरको सम्बन्ध समेत रहेकोले प्राकृतिक ग्यासको उत्पादन र बिक्रि वितरण पनि हालको व्यवसायसंग मिल्दो जुल्दो हुने हुनाले प्राविधिक र व्यवसायिक दृष्टिकोणले नेपाल आयल निगम नै उपयुक्त हुने भएकोले यसैको मुख्य भूमिका हुन् सक्छ ।

यसको लागि के कस्तो जनशक्ति आवश्यक पर्ने देखिन्छ ?
उत्पादन, प्रशोधन, भण्डारण र बिक्रि वितरण तथा औधोगिक प्रयोगको लागि मुख्यत: केमिकल, मेकानिकल, औधोगिक, इलेक्ट्रिकल, process इन्जिनियर, भुगर्वविद लगायतका प्राविधिक जनशक्तिहरुको मुख्य आवश्यकता पर्दछ ।

यो योजना कार्यान्वयनको लागि के कस्ता मुख्य चुनौतुहरु रहेका छन् ?
पाइपलाइन पूर्वाधार र मल कारखानाको निर्माण तथा संचालनको लागि ठुलो मात्रामा आर्थिक लगानी पर्ने हुनाले लगानी नै मुख्य चुनौती रहेको छ । पाइपलाइन निर्माणका लागि भौगोलिक जटिलता पनि अर्को चुनौती रहेको छ। यसको साथै, नेपालमा उत्खनन, उत्पादन तथा अन्य सम्बन्धित प्रयोग क्षेत्रमा अनुभवी प्राविधिक दक्ष जनशक्तिको अभाव अर्को चुनौती रहेको छ ।

Read More

शंकर पोखरेलको घरबाट डेराको यात्राको अनुभूती

शंकर पोखरेल
१६ वर्षको उमेरमा, २०३७ सालमा पढाइका लागि घर छोडें। त्यसपछि सुरु भएको मेरो डेरावास २०६० सालसम्म निरन्तर रह्यो। राजनीतिक कारणले पढिरहेको विद्यालय पढ्न नसकेपछि दाजु देवी पोखरेलको मार्गदर्शनमा म वनारस पुगें, पढाइलाई निरन्तरता दिनका लागि। त्यो बेला वनारस नेपालीहरूको धार्मिक, शैक्षिक र राजनीतिक गतिविधिको केन्द्र जस्तै थियो। त्यहाँ मैले नेपाली समुदायसँग मिलेर पढाइ, राजनीति र समाजसेवामा आफैंलाई समर्पित गरेँ। इलाहावाद बोर्डबाट एसएलसी सरहको परीक्षा पास गरेपछि विज्ञान विषयमा अध्ययन सुरु गरें।

पढाइकै क्रममा घर फर्किएको बेला अनेरास्ववियुले नेपालको इतिहास मै पहिलोपटक नेपाल बन्दको आयोजना गरेको थियो। त्यसमा सहभागी हुँदा घोराहीमा गिरफ्तार भएँ। पहिलोपटक प्रहरीको बलप्रयोग र यातनाको सामना गर्नुपर्‍यो — सो क्रममा मेरो बाँया हात भाँचियो। उपचारको अवसर समेत नपाई तुल्सीपुर कारागारमा पठाइएँ। करिब पाँच महिना जेल जीवन बिताउँदा विज्ञान अध्ययन रोकियो। त्यसपछि प्राइवेट परीक्षार्थीका रूपमा आईकम परीक्षा दिएँ र पास गरेँ। वि.कम अध्ययन भने बनारसको बि.एच.यु अन्तर्गत क्याम्पसमा नियमित विद्यार्थी भएर पूरा गरें।

पाँच वर्षको बनारस बसाइपछि उच्च शिक्षाका लागि त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा भर्ना भएँ। एम.बि.ए विद्यार्थीका रूपमा पढाइ र राजनीतिको नयाँ अध्याय सुरु भयो। कक्षा १० देखि नै राजनीति र अध्ययनलाई सँगसँगै अघि बढाउँदै आएँ। राजनीतिक सकृयता हुँदाहुँदै पनि पढाईमा अवरोध आएन । जसको कारणले उक्त समयमा कम उमेरमै उच्च शिक्षा हासिल गर्ने सौभाग्य प्राप्त भयो । २०३७ सालमा शिक्षाका लागि सुरु भएको डेरावास २०६० सालसम्म निरन्तर रह्यो । डेराको बसाइ र घरबेटीसँगका सम्बन्धका मीठा–तीता अनुभव मैले पनि अरू डेरावालहरुले झैं गरेको छु । आज ती सन्दर्भको संझना गर्दा रमाईलो अनुभूती हुन्छ ।

अमेरिकामा डि.भि. परेर जानुभएकी सुजिताकी दिदीले किन्नुभएको चार आनाको घडेरी बैनीलाई दिनुभयो। पैतृक सम्पत्तिको जग्गा बिक्रीबाट दाजुले पठाउनुभएको रकमले त्यहीँ घर बनायौं । जेन्जी आन्दोलनसम्म काठमाण्डौको आफ्नै घरमा बसिरहेका थियौं । दाङको विजौरीस्थित पैतृक सम्पत्तिको अंशवण्डापछि प्राप्त नगद र जग्गा बिक्रीबाट आएको रकमले त्यहाँ पनि घर बनाएका थियौं । त्यो घर नयाँ प्रविधि आधारित इको प्यानलको थियो । तराई क्षेत्रका लागि लु र सितलहरमा उपयोगी हुने प्रविधिलाई प्रयोग गरी उक्त घर बनाएका थियौं । तर २४ गतेको लुटपाट र आगजनीमा दुबै घर पूर्ण रूपमा क्षतिग्रस्त भए । हामी दुबैजना (सुजिता र मेरो) ५०- ५५ वर्षको शैक्षिक, राजनीतिक र सामाजिक जीवनसँग जोडिएका सम्पूर्ण कागजात, सामग्री र सम्झनाहरू खरानी बने । दुई छोरीहरुले प्रयोग गरेका लत्ताकपडा सहितका अध्ययन सामग्रीहरु जलेर नष्ट भए । २४ गतेको विध्वंसात्मक घटनामा, घरविहीन भएपछि झण्डै अढाई महिनासम्म साथीहरूको आतिथ्यतामा बसियो । हिजोदेखि एउटा फ्ल्याटमा भाडाको बसाई सुरु भएको छ । यसबीचमा न्यानो साथ र सहयोग दिनुहुने सम्पूर्ण मित्रहरू र वहाँहरुका परिवारजनप्रति हामी सधैं कृतज्ञ र आभारी रहनेछौं ।

यतिबेला यो प्रसंग कोट्याउनुको अर्थ हामी घरबाट डेरामा बसाई सर्नुपरेको पीडा पोख्न होइन । हाम्रो घरमा भएको आगजनी र लुटपाटलाई “भ्रष्टाचारविरोधी अभियान” सँग जोडिन पुगेका कारणले केही कुरा स्पष्ट पार्न आवश्यक ठानेको छु । म जन्मिएको परिवार एक समय दाङकै सम्पन्न परिवारमध्ये पर्थ्यो । तर हामी हुर्किएको परिवेश भने ग्रामिण क्षेत्रको मध्यमवर्गीय परिवेश हो । हाम्रो परिवारको सामाजिक प्रतिष्ठा विगत देखि नै निकै राम्रो मानिन्थ्यो । मेरो ठुलो दाजु देवी पोखरेल जसको गएको वर्ष असामयिक निधन भयो । उहाँको जीवनशैली प्रगतिशिल आचरण, सामाजिक जागरण र अन्य  व्यवहारिक आदर्शलाई सम्झनेहरु अहिले पनि  निकै धेरै छन् । अहिलेको संस्कृत विश्वविद्यालयसहितका हजारौँ बिघा जग्गाको सबैभन्दा ठूलो दाता मेरो हजुरआमा (बजै) र बुबा हुनुहुन्थ्यो। हाम्रो परिवारले मात्र शिक्षा र समाजसेवाका लागि करिब ३०० विघा जग्गा दान गरेको थियो । त्यही दानवीर हजुरआमाको संरक्षणमा हुर्किएको परिवार हो हाम्रो । हामी सबै दाजुभाई दिदीवहिनीहरुको जीवनमा त्यसको निकै गहिरो प्रभाव छ ।

दाजु देवी पोखरेल, म र मेरी बहिनी मेनका राजनीतिमा सकृय हुँदा पनि हाम्रो परिवारसँग करिब ४० विघा जमिन बाँकी थियो। तर त्यही जग्गाको विक्रिबाट नै हाम्रो शैक्षिक र सामाजिक कामको जोहो हुने गर्थ्यो । आमाको देहावसानपछि हाम्रो परिवारको संयुक्त स्वामित्वमा करिव १५ विघा जति जमिन बाँकी थियो । जबकी त्यतिबेलासम्म म सांसद र मन्त्री समेत भइसकेको थिएँ । तीन दाजुभाई बीचको अंशवण्डापछि अहिले हाम्रो नाममा करिब ४ विघा पैतृक जग्गा छ, जसमा काठमाडौँ र दाङमा दुईवटा घर रहेका थिए । ती घर मात्र थिएनन्  भावनात्मक मूल्य सहितको असीमित गौरवको विषय थिए । अहिले ती दुबै घर बस्न अयोग्य खण्डहरको अवस्थामा छन् । कति लुटिए र कति जले भनेर छुट्याउन सकिने अवस्था पनि छैन । जलेको  खरानी मात्र बचेको कारणले ती सबै जलेको ठानेका छौं । लुटेर लगेकाहरुले सुदपयोग गरेकै होलान् । अव त्यसको खोजी गर्नु पनि छैन । अपराध नियन्त्रण राज्यको कर्तव्य हो । त्यसले आवश्यक ठाने केही गर्ला नै । तोडफोड, लुटपाट र आजगनी सामान्य विषय होइन । यो त राष्ट्र, राज्य र लोकतन्त्रलाई कमजोर बनाउने भू-राजनीतिक चाल थियो । तर हाम्रा सामाजिक संजालमा लत बसेका नवयुवाहरु ती षडयन्त्रलाई बुझ्न नसकी वन्द गरिएको नाममा आक्रोस पोख्न उतारु भए । त्यसमा देशभित्रका अनेक स्वार्थी तत्वहरु र अपराधिक समुह मिसिए । आज सबैलाई त्यो अनुभूती भइरहेको छ । अझै पनि अनुभूती नभएकाहरुलाई भविष्यमा हुनेनै छ । 

तर जेन्जीका नाममा सुरु भएको आन्दोलनका सुरुका माग भने नाजायज थिएनन् । हाम्रो पार्टी र सरकार ती नवयुवाहरुको माग र भावनाको पक्षमा रहदै आएको छ । तर उनीहरुका माग न सरकार समक्ष प्रस्तुत गरिएको थियो । नत त्यसको प्रत्यक्ष र स्विकार्य नेतृत्व नै अघि आएको थियो । तर हाम्रा नवयुवाहरुको भावना र आकांक्षामा खेल्ने योजनाका साथ स्वार्थी तत्व सुरुदेखिनै सकृय रह्यो । त्यसले दुई दिनको छोटो समयमै सिंगो मुलुक गौरव र सामर्थ्यलाई असाधरण रुपमा क्षति पुर्याउने काम गरे । मुलुकलाई राज्यविहीनताको काहाली लाग्दो अवस्थामा पुर्याए । त्यही क्रममा केही स्वार्थी  र कुण्ठाग्रस्त व्यक्तिहरू र अपराधिक चरित्रका व्यक्तिहरुको उक्साहट र सहभागितामा हाम्रो घर समेत जलाइयो र लुटपाट गरियो । त्यहाँ आउनेहरु केही योजनावद्ध थियो केही भावनामा बहकिएर आएका थिए होलान् । म यस क्षतिलाई पनि म राजनीतिक संघर्ष कै एउटा पाटोका रूपमा बुझ्दछु ।

सुशासनको पक्षमा र भ्रष्टाचार विरोधमा म र मेरो परिवार सधैं पारदर्शिता र उत्तरदायित्वका पक्षमा उभिँदै आएका छौं । पहिलो पटक प्रतिनिधिसभा सदस्य हुँदा, ‘प्राडो–पजेरो संस्कृतिको’ गलत परम्परा शुरु भएको थियो। त्यतिबेला म ती सुविधाविरुद्ध खुलेर उभिएको थिए । प्रायः सबैले लाखौँ मूल्यको गाडी सुविधा लिँदा मैले त्यसलाई अस्वीकार गरेंको थिए । सांसदका रूपमा धेरैले उपचार खर्चमा राज्यको लाखौँ रुपैयाँ लिँदा पनि मैले गम्भीर बिरामी हुँदा समेत कुनै सुविधा लिईँन। मुख्यमन्त्री हुँदा तीन वर्षभन्दा बढी समयसम्म भ्रमणमा प्रायः सरकारी गेस्टहाउस मै बसेँ, विशेष सुविधा वा भत्ता लिइनँ । मेरो कार्यकालमा लुम्बिनी प्रदेशको पूँजीगत खर्च तेस्रो वर्षमा १०० प्रतिशत रह्यो। मैले सम्हालेको मुख्यमन्त्री कार्यालय र अर्थ मन्त्रालयको बेरुजु म रहदासम्म शून्य थियो ।

 मैले अहिलेसम्म हरेक काममा आफुलाई आर्थिक अनुशासन र मितव्ययिताका दृष्टिले उदाहरणीय बन्ने र बनाउने प्रयास गरेँ । तर भ्रस्टाचार विरोधका नामको कथित आक्रमणमा चर्को निशानामा हाम्रो परिवार पर्न गयो । यसका वावजुत म जेन्जीका नाममा सकृय नवयुवाहरुको भावनालाई सम्मान नै गर्दछु । त्यसको आवरणमा भएको अपराधको भने चरम घृणा गर्दछु । म“जेन्जी” अभियानका नाममा सुशासन र भ्रष्टाचारविरोधी आन्दोलन चलाइरहनु भएका नव युवाहरूलाई भन्न चाहन्छु- तपाईंहरूको आदर्शको मापदण्डमा कोही छन् भने म  आफैंलाई तीसंग परिक्षणमा लैजान तयार छु ।

Read More

प्रचण्डको अन्तर्राष्ट्रिय लोकप्रियता छ, उहाँजत्तिको गतिशील नेतृत्व नआएसम्म उहाँको सर्वोच्चता कायमै रहन्छ: राजन दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले आफूहरु अहिले सरकार फेरबदलको खेलमा नरहेको बताएका छन् ।

उनले आफूहरु सरकार फेरबदलको प्रक्रियामा नरहे पनि कांग्रेस–एमालेसहितको गठबन्धन आफ्नै कारणले भत्किने बताए । त्यो अवस्थामा माओवादीले कांग्रेसलाई साथ दिने पनि उनले बताए । संविधानको रक्षा र संविधानको सफल कार्यान्वयनको प्रक्रियामा तुलनात्मक हिसाबले एमालेभन्दा कांग्रेस इमादार देखिएको उनको बुझाइ छ ।

प्रस्तुत छ पार्टीभित्रको अन्तरसंघर्ष, सरकार र संसद्को विषयमा रिपोर्टर्स नेपालले गरेको संवादको सम्पादित अंशः

पार्टीभित्रको अन्तरसंघर्षलाई कसरी हेर्नुभएको छ ?
-हाम्रो पार्टीभित्र पछिल्लो समय कुनै अन्तरसंघर्ष छैन । अन्तरसंघर्ष विधि, विचार र नेतृत्वसँग हुनुपर्छ । त्यो अधिवेशन, महाधिवेशन, भेला, प्रशिक्षणमा अभिव्यक्त हुने गर्छन् । पछिल्लो समय हाम्रो आठौं महाधिवेशन, पूर्ण केन्द्रीय समितिले लिएको पार्टीको नीति, कार्यक्रमप्रति हाम्रो पूर्ण सहमत छ । कसैको भिन्न मत पनि छैन । विभिन्न समयमा केन्द्रीय समिति, स्थायी समिति, पदाधिकारी बैठकहरुमा लिएका निर्णय प्रक्रियाहरु सर्वसम्मत हुने गरेका छन् । वैचारिक, राजनीतिक हिसाबले हेर्दा, विचार, विधि र नेतृत्वको हिसाबले कुनै अन्तर्य बैठकमा अभिव्यक्त भएका छैनन् ।

माओवादी विभाजनको प्रसंग चलिरहेको छ । उपमहासचिव जनार्दन शर्माले यसको नेतृत्व गरेको भन्ने चर्चा छ नि ?
-उपमहासचिव जनार्दन शर्माका केही पार्टी नेतृत्वप्रति, गुनासा, अपेक्षा, असन्तुष्टिहरु बाहिर व्यक्त भएका छन् । तर, त्यो आफैंमा कमिटीमा आएर व्यक्त हुनुपर्छ । सम्बन्धित कमिटीमा छलफलको विषय बन्नुपर्छ र कमिटीबाटै हल हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । असन्तुष्टि, अपेक्षा र गुनासोलाई चाहिँ विभाजनसँग हेर्ने कुरा राम्रो हुँदैन । अनुशासन, स्वतन्त्रता भनेको अराजकता होइन । अनुशासनकै जगमा बसेर विधिसम्मत् मर्यादा ख्याल गरेर आफ्नो कुरा राख्ने सम्बन्धित व्यक्तिको दायित्वभित्रै पर्छ ।

जनार्दन शर्माले त मनमोहनपछिका सबै कम्युनिष्ट प्रधानमन्त्री असुली धन्दामा लागेको भनेर प्रचण्डलाई समेत मुछ्नुभयो नि ?
-मलाई तपाईँले जसरी प्रश्न गर्नुभयो, त्यसैगरी उहाँ (जनार्दन) लाई मैले पनि सोधेको थिएँ । उहाँले मलाई औपचारिक जवाफ चाहिँ मनमोहनपछिका प्रधानमन्त्रीहरु असुली धन्दामा लागे भनेको चाहिँ के हो भने मनमोहन एमाले भएको नाताले गर्दा मनमोहनपछि एमालेका प्रधानमन्त्री जति भए, त्यति असुली धन्दामा लागे, राष्ट्र र जनताप्रति उत्तरदायी भएनन् भनेर एमालेप्रतिको अभिव्यक्तिलाई किन प्रचण्डसँग ल्याएर जोड्नुहुन्छ ? फेरि रेकर्ड सुन्नुस् भनेर मलाई जवाफ दिनुभयो । मनमोहन कुन पार्टीका हुन् ? मनमोहन त एमालेका हुन् । मनमोहनपछिका प्रधानमन्त्री भनेको एमालेभित्रका प्रधानमन्त्री भनेर मैले चर्चा गरेको हो । यो माओवादीसँग ल्याएर जोड्ने, प्रचण्डसँग ल्याएर जोड्ने कुरा चाहिँ तपाईँहरु आफैंले ब्याख्या गरेर हुँदैन भनेर उहाँले भन्नुभयो ।

तपाईँको पार्टी अध्यक्ष प्रचण्डले ३५ वर्ष पार्टीको नेतृत्व गरिसक्नुभयो । यथास्थितिलाई स्वीकारेर रूपान्तरण कसरी सम्भव छ ?
-हाम्रो पार्टीका अध्यक्ष प्रचण्डको जुन गतिशीलता छ, जीवन्तता छ । अन्तर्राष्ट्रिय व्यक्तित्व, अन्तर्राष्ट्रिय लोकप्रियता छ । उहाँ जति योग्य, इमादार र गतिशील नेतृत्व अर्को नहुन्जेल अध्यक्ष प्रचण्डको नेतृत्वको स्वीकार्यता र सर्वोच्चता कायमै रहन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति १० वर्षे जनयुद्धको नेतृत्व गरेको सर्वोच्च कमाण्डर, संघीय लोकतान्त्रिक गणतन्त्रको प्रणेयता, उहाँको जुन इमादारिता, योग्यता र गतिशीलता छ, प्रतिस्पर्धा गर्न लायकको नेतृत्व विकास नहुनु हाम्रो कमजोरी हो । यसको अर्थ प्रचण्डको कारणले हाम्रो नेतृत्व क्षमता विकास भएन भन्ने कुरा सत्य होइन ।

पार्टी अध्यक्ष प्रचण्डका सकारात्मक पक्ष र नकारात्मक पक्षहरुलाई तपाईँ कसरी सम्झिनुहुन्छ ?
-सामन्तवादको अवशेष राजसंस्थाको अन्त्यको निम्ति, मधेशी, महिला, जनजाति, उपेक्षित, उत्पीडित, मुश्लिम र गरिबका छोराछोरीहरुलाई सत्तामा पहुँच स्थापित गर्ने प्रक्रियाको उल्लेखनीय भूमिका निर्वाह गरेकै कारणले गर्दा प्रचण्डको उचाई प्राप्त गर्न अवको पुस्तालाई गाह्रो छ । प्रचण्ड भनेको विचार, अभियान र आन्दोलन हो । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी, सामाजिक न्यायसहितका मुद्दा स्थापित गर्ने र संविधानमा संस्थागत गरेर जनताले उपभोग गर्ने स्तरसम्म ल्याउने पात्र भएको नेताले गर्दा उहाँको सवल पक्षले नै सानातिना दुर्वल पक्षलाई छोप्छ । मेरोतर्फबाट हेर्दाखेरी उहाँको दुर्वल पक्ष हुन्थ्यो भने त यो आन्दोलन नै सफल हुँदैन थियो । जनता अधिकार सम्पन्न नै हुँदैन थिए । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा नै आउँदैन थियो । उहाँको सवल नेतृत्वको भएकै कारणले यो समाज रुपान्तरण हुन सक्यो ।

माओवादी घटकहरुको एकताको कुरा पनि चलिरहेको छ । त्यो प्रक्रिया चाहिँ अहिले कहाँ पुग्यो ?
-माओवादी घटकहरुको एकताको बारेमा मुख्यतः हाम्रो पार्टीले लिएको आठौं महाधिवेशनको दस्तावेजले वैधानिक तरिकाबाटै समाजवादी क्रान्तिसम्म जाने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने, संविधानमा उल्लेख भएका ३१ वटा मौलिक हकहरुको व्यवहारिक कार्यान्वयन गर्ने प्रक्रियामा जो प्रतिवद्ध छ, उहाँहरुसँग हाम्रो एकता हुन्छ, सहकार्य हुन्छ । समाजवादी क्रान्तिको आधार तयार गर्ने भनेको अहिलेको संविधानको जगमा टेकेर हो । यो संविधानलाई स्वीकार गर्ने, संविधानको रक्षा र सफल कार्यान्वयनमा जो प्रतिवद्ध हुन्छ, ती पार्टी र पात्रसँग हाम्रो एकता हुन्छ । समाजवादसम्म जाने जसले प्रतिवद्धता गरेका छन् उहाँहरुसँग मोर्चा हुन्छ । माओवादी घटकमात्र मिलेर पनि अहिले जनताको अपेक्षा, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सकिँदैन । अहिलेको जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कुरामा र संविधानको रक्षा र सफल कार्यान्वयनको प्रक्रियामा बृहत्तर ध्रुबीकरण आवश्यक छ । पूर्व माओवादी पनि एक ठाउँमा आउन आवश्यक छ । तर, संकीर्णता र अराजकता बोकेर, फुटपरस्त मानसिकता बोकेर, हिजो १२ टुक्रामा विभाजन भएका माओवादीहरुले आफ्नो औचित्य पनि पुष्टि गर्न सक्नुभएन । जनतासँग जोडिन सक्नुभएन । गम्भीर आत्मसमीक्षासहित आउँदा त्यसले उत्साह पैदा गर्छ, ऊर्जा पैदा गर्छ । तर, जस्तो छ त्यस्तै अर्अरिएको, कक्रिएको र जड चेतवना बोकेर हुने एकता त एकताभन्दा पनि त्यहाँ अन्तरविरोध हुन्छ । एकता प्रक्रियामा हामीले हतारो गर्दैनौं ।

तपाईँहरुको अहिले संसद्मा भूमिका किन कमजोर देखियो ? भिजिट भिसा प्रकरणमा त सौदाबाजी गर्नुभयो भन्ने आरोप छ नि ?
-भिजिट भिसा प्रकरणमा हामीले कुनै सौदाबाजी गरेका छैनौं । त्यो गलत कुरा हो । दुई बुँदे सहमतिमा प्रष्ट लेखिएको छ कि भिजिट भिसाको आवरणमा अध्यागमनबाट भएको मानव तस्करी प्रकरण छ, यसका छानविन प्रक्रियामा अख्तियारले भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्ने र सीआईबीले संगठित अपराध र मानव तस्करीसम्बन्धी मुद्दा हेर्ने कुरा लिखित पत्र सीआईबीलाई पठाइसकेपछि दुई बुँदे सहमति गरेको हो । जहाँसम्म गृहमन्त्रीको राजीनामा माग नैतिक विषय थियो । उहाँले नैतिक विषय ठान्नुभएन । अनैतिक भएको नाताले गर्दा उहाँले राजीनामा दिनुभएन । गृह प्रशासनको प्रत्यक्ष संलग्नताको आशंका गर्दागर्दै पनि दवाब र प्रभावबाट मुक्त हुन हामीले माग त गर्यौं । हामीले संसद् अवरोध पनि गर्यौं । संसद् अवरोध गर्दैनथियौं भने यो राष्ट्रिय विषय बन्दैन थियो । जनताले थाहा पाउँदैन थिए । संसद्भित्रको बेथिति, अराजकता, अनियमितता, बजेटभित्रको विभेदीकरण, बजेटलाई गरिएको दुरुपयोग, विचौलियावाला बजेट, पहुँचवाला मन्त्री र सांसद केन्द्रीत बजेटमा गरिएको अपराधलाई पनि बाहिर जनताले थाहा पाउन भनेर हामीले ठीक समयमा संसद् अवरोध गर्यौं । ठीक समयमा संसद् खोल्यौं । यो विषयमा हामी प्रष्ट छौं । माओवादी पार्टी जिम्मेवार पार्टी हो । संसद्को प्रमुख प्रतिपक्ष भएको नाताले संसद् त प्रतिपक्षको हुन्छ । नियमित संसद् अवरोध गरेरमात्र संसदीय भूमिका पूरा हुँदैन । सरकार गैरजिम्मेवार भएपछि हामी जिम्मेवार बनेका हौं । हामी अपरिपक्व र कमजोर भूमिकामा छैनौं ।

सरकारको काम कारबाहीलाई कसरी हेर्नुभएको छ ? यो सरकार कति सफल, कति असफल ?
-यो सरकार जनताको सरकार थिएन । यो विचौलियाको दवाब र प्रभावमा बनेको सरकार थियो । नक्कली भुटानी शरणार्थी प्रकरणको संयोग हो । बेचन झाको गिरफ्तारीपछि बनेको सरकार हो । त्यसकारण विचौलियाको दवाब र प्रभावमा बनेको सरकार वर्ष दिनभरी नै, चाहे त्यो ६ वटा अध्यादेशमार्फत ३२ वटा कानून संशोधन गर्दा होस् । पछिल्लो समय भूमि ऐनसम्म आउँदा चाहिँ सरकार विचौलिया, भ्रष्ट, गठ र माफियाप्रति उत्तरदायी छ । राष्ट्र र जनताप्रति उत्तरदायी छैन । सरकारले जे गर्यो एक वर्षभित्र, सिंगो मन्त्रिपरिषद् भ्रष्टाचारमा चुर्लुम्म छ । पतञ्जलीको केस चार महिनामा अनुसन्धान गरेर माधव नेपाललाई मुद्दा दर्ता गर्ने अनि चार वर्ष अगाडि अनुसन्धान सकिएको गिरीबन्धु टी स्टेट, केपी ओलीजी र माधव नेपालजीले गरेको एउटै गैरकानूनी काम, भूमि ऐन २०२१ को उल्लङ्घन हो । एउटालाई काखा, अर्कोलाई पाखा भनेपछि यो एक वर्षमा राष्ट्रिय संरचनाको चरम दलीयकरण र दुरुपयोग, अराजकता, अनियमितता, कुशासन र कुकर्मबाहेक सरकारले अरु केही गरेन । यो एक वर्षमा ४ खर्ब ५५ अर्ब ३९ करोड सार्वजनिक ऋण बढाएर तलबभत्ता, सेवा सुविधा र कमिसनमा खर्च गरेको छ । नेपाली जनतालाई ऋणको भार बोकाइदियो । सरकार विचौलियामार्फत अर्बौं कमिशन, संस्थागत ढङ्गले कमिशन उठाउन लागेको छ । काम होइन, कमिशनमा केन्द्रीत, नेपाललाई अन्तर्राष्ट्रिय रुपमा बदनाम गराउने बोझिलो सरकार र वर्षको रुपमा हामी चित्रण गर्न सक्छौं ।

यो बोझिलो सरकारलाई प्रमुख प्रतिपक्षले कति दिन हेरेर बस्ने त ?
-हामीले अम जनतामार्फत खबरदारी गरेका छौं । सरकारका सबै कुकर्महरु बाहिर ल्याएकै छौं । यो बोझिलो सरकार अंक गणितको हिसाबले कांग्रेस र एमाले मिलेर बनेको हिसाबले गर्दाखेरी संख्यात्मक हिसाबले सरकार छ । व्यहारिक ढंगले हेर्दा सरकार छैन । सरकार कहीँ पनि छैन । जनताको नजरमा सरकार छैन । कानुनी हिसाबले सरकार छ । नेपाली कांग्रेस र एमाले दुवैको स्वार्थ मिलेको हुनाले यो सरकार टिकेको छ । दुईटै जेल जानुपर्ने परिस्थितिबाट बच्न यो सरकार टिकेको छ । त्यसकारणले गर्दा आम जनतामार्फत नै खबरदारी गर्ने, दवाब सिर्जना गर्ने हो । २०८४ सम्म हाम्रो भूमिका प्रतिपक्ष नै हुन्छ । संख्यात्मक रुपमा थोरै छौं । सरकारले गरेका सबै कुकर्महरु जनतासम्म पुर्याउने, सरकारले गरेका फोहोरहरु जनतालाई देखाउने हाम्रो भूमिका हो । सरकार आफ्नै कारणले ढल्न त ढल्छ । एक वर्षसम्म सरकार टिक्यो, तर बिकेको छैन । सरकार ढलिसकेपछि सरकारविहीनताको अवस्था हुन नदिनमात्रै हाम्रो भूमिका हुन्छ ।

अहिलेको सरकार ढल्यो भने तपाईँहरुको समर्थन एमालेलाई रहन्छ कि कांग्रेसलाई ?
-पछिल्लो समयमा एमालेमा स्वेच्छाचारी र अलोकतान्त्रिक चरित्र देखिएको छ ओलीजीमा । ओलीजीले एमालेलाई अपहरण गर्नुभएको छ । गैरकम्युनिष्ट चरित्र, गैरलोकतान्त्रिक चरित्रबाट एमाले चलेको छ । त्यसकारणले गर्दा संविधानको रक्षा र संविधानको सफल कार्यान्वयनको प्रक्रियामा तुलनात्मक हिसाबले एमालेभन्दा कांग्रेस इमादार देखिएको कारणले गर्दा हाम्रो सहकार्य कांग्रेससँग हुने सम्भावना प्रबल छ ।

Read More

अनिल अम्बानी: विश्वको धनी व्यक्तिमध्ये एक, व्यवसायमा कसरी फेल भए ?

काठमाडौँ, २४ साउन। ‘सफलता प्राप्त गरेपछि, अर्को सफलता सजिलै आउँछ ।’ अनिल अम्बानीले २००४ मा बीबीसीलाई दिएको अन्तर्वार्तामा यो कुरा…

चार खर्बको फड्कोसहित अर्थतन्त्र चलायमान, सरकारको एक वर्ष

काठमाडौँ, ३० असार। वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको असार…

जनताको अनुहारमा खुसी देखेको दिन मेरो प्रयासले सार्थकता पाउनेछ: विनोद चौधरी (अन्तर्वार्ता)

काठमाडौँ, २३ असार। प्रतिष्ठित उद्योगी समेत रहेका प्रतिनिधिसभा सदस्य विनोद चौधरीले मुलुकको अर्थतन्त्र सकारात्मक लयमा गएकाले यसको निरन्तरताको आवश्यक औँल्याएका…

सरकार सत्ता घेरामा रमायो, जनताको जीवन खाडलमा गयो: विराजभक्त श्रेष्ठ (अन्तर्वार्ता)

काठमाडौँ, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभामा…

अब पनि दलहरु सच्चिएनन् भने भरोसा टुट्छ: ज्ञानेन्द्रबहादुर कार्की (अन्तर्वार्ता)

काठमाडौँ, २९ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्य हुन् । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की गत…