२०८३ श्रावण ११

एन्जेलिनाकी छोरी जहाराले आफ्नो नामबाट बाबुको थर ‘पिट’ हटाउदै

काठमाडौँ । हलिवुड अभिनेत्री एन्जेलिना जोली र ब्राड पिटकी छोरी जहाराले आफ्नो नामबाट बाबुको थर हटाउने निर्णय गरेकी छन् । अदालतका कागजातअनुसार २१ वर्षीया जहाराले आधिकारिक रूपमा ‘पिट’ थर हटाउन निवेदन दिएकी हुन् ।

यो निवेदन अप्रिल २८ मा क्यालिफोर्नियामा दर्ता गरिएको थियो, जुन अहिले सार्वजनिक भएको हो । यो कदम उनीहरूका परिवारमा नाम परिवर्तन गर्ने तेस्रो घटना बनेको छ । यसअघि २४ वर्षका जेठा दाइ म्याडक्सले पनि यस्तै प्रक्रिया अघि बढाएका थिए भने २० वर्षीया शाइलाले २०२४ मा नै आफ्नो नामबाट पिट थर हटाइसकेकी थिइन् ।

यो सबै घटनाहरू एन्जेलिना जोली र ब्राड पिटबीच २०१६ मा भएको सम्बन्ध विच्छेदपछि देखिएका हुन् । उनीहरूको सम्बन्ध विच्छेद प्रक्रिया लामो समयपछि २०२४ डिसेम्बरमा औपचारिक रूपमा टुंगिएको थियो । उनीहरू २०१४ मा विवाह बन्धनमा बाँधिनुअघि एक दशकभन्दा बढी समय सँगै रहेका थिए ।

जोली र पिटका छ जना सन्तान छन्— म्याडक्स, प्यास, जहारा, शाइला र १७ वर्षका जुम्ल्याहा नक्स र भिभियन ।

सन् २०२४ जुलाईमा ब्राड पिटको उनका वयस्क सन्तानसँग लगभग कुनै सम्पर्क छैनन् र एन्जेलिना जोलीसँग धेरैजसो समय सन्तानहरू बस्छन् ।

Read More

फिल्म ‘चमेलीको पोइ’ असोज १६ देखि प्रदर्शनमा आउने

काठमाडौं । प्रतिक्षित फिल्म ‘चमेलीको पोइ’ को प्रदर्शन मिति तय गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म दशैंको उपलक्ष्यमा असोज १६ गते बिश्वब्यापी प्रदर्शनमा आउने छ ।

निर्माण क्रमदेखि नै चर्चामा रहेको फिल्मको सार्वजनीक फस्र्टलुकबाटै चर्चा चुलिएको थियो । पारिवारिक कमेडी जनराको फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, अंशु महर्जन, खड्कबहादुर पुन (खबपु), उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम, प्रेमदेव गिरी, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आरएल शाही, रितु मल्ल ठकुरी, अनाररत्न बज्राचार्य, विन्दु आचार्यलगायतको अभिनय छ ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको ‘चमेलीको पोइ’ को कार्यकारी निर्मातामा उदय बिक्रम राणा, रितु मल्ल ठकुरी र कपील आचार्य छन् । निर्देशक बोहराकै कथा रहेको फिल्म लेखनमा उनलाई शिबम अधिकारीले सघाएका छन् । धनकुमारी श्रेष्ठ (बोहरा) लाइन प्रोड्युसर रहेको फिल्मको सहनिर्मातामा सुदिप कुँवर,सुमित्रा थापा,नारायण त्रिपाठी,प्रदिपकुमार सापकोटा र यमप्रसाद वली छन् ।

झण्डै दुई दशकपछि चर्चित हाँस्य कलाकार नारायण त्रिपाठी यही फिल्मबाट ठूलो पर्दामा कमब्याक गर्न लागेका उनले ‘चमेलीको पोइ’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

मुस्ताङ,पोखरा र काठमाडौंका बिभिन्न स्थानमा खिचिएको फिल्मका गीतमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी र कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मको मुख्य सहायक निर्देशक सुदिप कुँवर हुन् भने सहायक निर्देशकमा योगेन्द्र कार्की र मार्लभ ढुंगाना छन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

Read More

बक्स अफिसमा लाली बजारकै दबदबा, कुन फिल्मले कति कमाए ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको जेठ २४ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार परालको आगो, लालीबजार, मितज्यू, काजी रोल नम्बर१ र लाइफ ड्यामेजको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ ।

जस अनुसार बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले अहिलेसम्म ८ करोड ७८ लाख ५ हजार १९८ कमाई गरेको छ । त्यस्तै यस फिल्मले २ लाख ९८ हजार २२७ टिकट बिक्री गरेको छ ।

त्यस्तै बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म परालको आगोले बक्स अफिसमा ४ करोड २८ लाख ११ हजार ४४५ कमाई गरेको छ । त्यस्तै यस फिल्मका एक लाख ५४ हजार १३६ टिकट बिक्रि भएका छन् ।

त्यसैगरी जेठ ८ गतेदेखि प्रदर्शनमा आएको मितज्यूले एक करोड ३१ लाख ११ हजार ८५९ कमाई गरेको छ । फिल्मका अहिलेसम्म ४५ हजार ५३३ टिकट बिक्री भएका छन् ।  त्यस्तै जेठ ८ गतेदेखि नै प्रदर्शनमा आएको काजीले भने केवल ४४ लाख ३८ हजार ९८५ कमाई गरेको छ । त्यस्तै जेठ १ गते रिलिज भएको लाइफ ड्यामेजले ३४ लाख ४० हजार कमाएको छ ।

त्यस्तै जेठ १५ गतेदेखि रिलिज भएको रोल नम्बर १ ले ९४ लाख ९१ हजार ६८० कमाई गरेको छ भने यस फिल्मले ३१ हजार ७८८ टिकट बिक्री गरेको छ ।

Read More

विश्व प्रतिष्ठित कान्स अवार्डको निर्णायक मण्डलमा नेपाली विज्ञापनकर्मी रञ्जीत आचार्य

काठमाडौँ । प्रिज्मा एड्भर्टाइजिङका संस्थापक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य विश्वकै प्रतिष्ठित कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड २०२६ को निर्णायक मण्डल (जुरी) सदस्यमा मनोनित भएका छन्।

कर्पोरेट फिल्म, भिजुअल स्टोरीटेलिङ र ब्रान्डेड मिडिया क्षेत्रको विश्वस्तरीय प्रतियोगिताका रूपमा परिचित यस अवार्डको निर्णायक टोलीमा नेपाली प्रतिनिधित्व हुनु देशकै विज्ञापन तथा सञ्चार क्षेत्रका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

अष्ट्रियाको भियनामा मुख्यालय रहेको कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड सन् २०१० देखि आयोजना हुँदै आएको छ। फ्रान्सको कान्समा हुने यस महोत्सवले विश्वभरका कर्पोरेट फिल्म, वृत्तचित्र, अनलाइन मिडिया सामग्री तथा ब्रान्ड कम्युनिकेसनका उत्कृष्ट कृतिलाई सम्मान गर्ने गर्छ। यसअघि ओस्कार र एमी अवार्ड विजेतासमेत निर्णायकको भूमिकामा सहभागी भइसकेका छन्।

तीन दशकभन्दा बढी समयदेखि विज्ञापन, ब्रान्ड रणनीति, फिल्म निर्माण तथा जनसम्पर्क क्षेत्रमा सक्रिय आचार्य नेपाली विज्ञापन जगतका स्थापित नाम हुन्। उनको नेतृत्वमा प्रिज्मा एड्भर्टाइजिङले लगातार चार पटक ‘बेस्ट एजेन्सी अफ द इयर’ उपाधि जित्दै नेपालको सर्वाधिक सम्मानित स्वतन्त्र विज्ञापन एजेन्सीका रूपमा पहिचान बनाएको छ।

कोका–कोलाको ‘मन खोलौँ कोकसँग’, एनसेलको ऐतिहासिक रिब्रान्डिङ अभियानलगायतका चर्चित अभियानमा उनको महत्वपूर्ण भूमिका रहेको छ। उनले सिर्जना गरेका ‘मुटु चाहिन्छ मुटु’, ‘मुड चेन्ज तुरुन्तै’, ‘चिसो भनेकै कोका–कोला’ र ‘गरी खाना देऊ’ जस्ता नारा नेपाली समाजमा लोकप्रिय बनेका छन्।

आचार्यले अन्तर्राष्ट्रिय स्तरमा पनि विभिन्न सम्मान प्राप्त गरिसकेका छन्। अमेरिकाको जोन्सन एण्ड जोन्सनबाट ‘बेल रिङ्गर अवार्ड’, भारतको ‘एबी अवार्ड’ तथा हालै सिंगापुरमा प्रदान गरिएको ‘ब्रान्डलरिएट बेस्ट ब्रान्ड्स अवार्ड २०२५’ उनका उल्लेखनीय उपलब्धि हुन्।

मनोनयनबारे प्रतिक्रिया दिँदै आचार्यले भने, “सिर्जनशीलताको कुनै सीमा हुँदैन। उत्कृष्ट कथा जहाँबाट आए पनि विश्वमञ्चमा पुग्न सक्छ। यो अवसर मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, विश्वस्तरमा सपना देख्ने प्रत्येक नेपाली सिर्जनशील व्यक्तिको सम्मान हो।”

कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्डको निर्णायक मण्डलमा उनको चयनलाई नेपाली सिर्जनात्मक उद्योगको अन्तर्राष्ट्रिय स्वीकार्यता र बढ्दो प्रभावको महत्वपूर्ण संकेतका रूपमा लिइएको छ। विज्ञापन, फिल्म तथा सञ्चार क्षेत्रमा नेपाली प्रतिभाले विश्वमञ्चमा स्थान बनाउन थालेको यो अर्को महत्वपूर्ण उदाहरण बनेको छ।

Read More

ठमेलमा एकसाथ देखिए बलिउड कलाकार आयुष्मान खुराना र नेपाली गायक सुशान्त केसी, फ्यानहरू उत्साहित

काठमाडौँ । बलिउडका लोकप्रिय अभिनेता तथा गायक आयुष्मान खुराना यतिबेला काठमाडौं भ्रमणमा छन्। नेपाल भ्रमणमा रहेका खुराना शनिबार राति ठमेलमा नेपाली कलाकारसँग देखिए ।

ठमेल स्थित ‘थर्टी थ्री डिग्री वेस्ट स्काइबार’ को दोस्रो वार्षिकोत्सव समारोहमा उनी विशेष अतिथिका रूपमा सहभागी भएका थिए। सो अवसरमा उनले गायक सुशान्त केसीसँग समय बिताउँदै कुराकानी गरेको दृश्य देखिएको छ ।

कार्यक्रमका क्रममा खिचिएका फोटो र भिडियोहरूमा आयुष्मान नेपाली पाहुनासँग सहज रूपमा घुलमिल भएको देखिन्छ। नेपालमा पनि ठूलो संख्यामा प्रशंसक रहेका खुरानाको उपस्थितिले कार्यक्रम थप आकर्षक बनेको थियो।

आयुष्मान खुरानाले सन् २०१२ मा विकी डोनर फिल्मबाट बलिउड करियर सुरु गरेका हुन्। त्यसपछि अन्धाधुन, बधाई हो, आर्टिकल १५, ड्रिम गर्ल, बाला, शुभ मंगल ज्यादा सावधान र डाक्टर जी जस्ता सफल फिल्ममार्फत उनले आफ्नो छुट्टै पहिचान बनाएका छन्।

अभिनयसँगै संगीतमा पनि सक्रिय खुरानाले विकी डोनर को चर्चित गीत “पानी दा रंग” बाट गायकका रूपमा ठूलो सफलता पाएका थिए। उक्त गीतका लागि उनले फिल्मफेयर उत्कृष्ट पुरुष पार्श्वगायक पुरस्कारसमेत जितेका थिए।

त्यसपछि उनले “मिट्टी दी खुशबू”, “नज्म नज्म” र “नैना दा क्या कसूर” जस्ता गीतमार्फत संगीत क्षेत्रमा पनि आफ्नो बलियो छाप छोडेका छन्।

Read More

बलिवुड अभिनेत्री जान्हवीको कथित च्याट लिकपछि हङ्गामा

काठमाडौँ । बलिवुड अभिनेत्री जान्हवी कपूरसँग सम्बन्धित भनिएका केही च्याटका स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएका छन् । ती स्क्रिनसटमा जान्हवीले चलचित्र ‘पेद्दी’को छायांकनका क्रममा आफूले गरेका केही दृश्यबारे चिन्ता व्यक्त गरेको दाबी गरिएको छ ।

जान्हवीका केही प्रशंसक समूहहरूले सार्वजनिक गरेका ती स्क्रिनसटमा अभिनेत्रीले एक व्यक्तिसँग कुराकानी गर्दै छायांकनका क्रममा केही दृश्यप्रति पटक–पटक आपत्ति जनाएको उल्लेख गरिएको छ ।

भाइरल भएका स्क्रिनसटहरू गत अक्टोबर ३० का भएको दाबी गरिएको छ । ती च्याटमा जान्हवीले विशेष गरी केही क्यामेरा एंगल प्रयोग नगर्न आग्रह गरेको उल्लेख छ । एक सन्देशमा उनले भनेकी छन्- ‘मैले यस्ता अश्लील दृश्य नलिन भनेकी थिए ।’

उनले आफूले आपत्ति जनाउँदा अभिनेता राम चरणले पनि साथ दिएको दाबी गरेकी छन् । च्याटमा, ‘राम सर निकै राम्रो हुनुहुन्छ । उहाँले पनि निर्देशकलाई यस्ता कोणबाट दृश्य नलिन भन्नुभएको थियो । त्यसपछि उहाँ पनि निकै रिसाउनुभएको थियो ।’

अर्को च्याटमा जान्हवीले दक्षिण भारतीय चलचित्र उद्योगको कार्यशैलीबारे टिप्पणी गरेको दाबी गरिएको छ । उनले, ‘दक्षिण भारतीय चलचित्र उद्योगमा यस्तै हुन्छ,’ लेखेको बताइएको छ । प्रशंसक समूहहरूले चलचित्र ‘गेम चेन्जर’मा अभिनेत्री कियारा आडवाणीमाथि भएको आलोचनाको प्रसङ्ग पनि उठाएका थिए । त्यसको जवाफमा जान्हवीले, ‘त्यसभन्दा पनि धेरै थियो, तर राम सरले स्पष्ट रूपमा अस्वीकार गर्नुभयो,’ भनेको दाबी गरिएको छ । जब एक प्रशंसकले एउटै नायकसँग काम गर्ने अभिनेत्रीहरूसँग यस्ता घटना किन दोहोरिरहन्छन् भनेर प्रश्न गरेका थिए, जान्हवीले पुनः दक्षिण भारतीय चलचित्र उद्योगमा यस्ता कुरा भइरहने दाबी गरेको बताइएको छ ।

भाइरल च्याटमा सहमतिसम्बन्धी विषय पनि उठाइएको छ। एक सन्देशमा जान्हवीले, ‘तपाईंलाई थाहा छैन, म के भोगिरहेकी छु । म उनीहरूलाई बुझाउने प्रयास गरिरहेकी छु ।’ उनले केही अभिनेत्रीका अभिभावकहरू पनि छायांकनस्थलमा उपस्थित हुने गरेको उल्लेख गर्दै अभिनेत्री श्रीलिलाको उदाहरण दिएको दाबी गरिएको छ । साथै, आफ्ना पिता बोनी कपूर छायांकनस्थलमा आए स्थिति अझ जटिल हुन सक्ने कुरा पनि उल्लेख गरेको बताइएको छ ।

जान्हवीले क्लोजअप दृश्य भनिए पनि क्यामेरा अन्यत्र केन्द्रित गरिने गरेको आरोप लगाएको दाबी गरिएको छ । च्याटमा उनले यस्ता विषयमा विश्वास गर्न नसकिने उल्लेख गरेकी छन् । चलचित्र प्रदर्शनपछि जान्हवीको भूमिकालाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेका थिए । केही दृश्यको आलोचना बढेपछि निर्देशक बुची बाबु सनाले माफी माग्दै जान्हवीसँग सम्बन्धित केही दृश्यमा परिवर्तन गरिने बताएका छन् ।

यद्यपि, भाइरल भएका च्याटका स्क्रिनसटको आधिकारिक पुष्टि भने अहिलेसम्म भएको छैन । जान्हवी कपूर वा उनको टोलीले यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । 

तीन दिनअघि रिलिज भएको फिल्म पेड्डीले भारतमा डेढ सय करोड कमाई गरेको छ ।  

Read More

हलिउडका चर्चित निर्देशक स्पिलबर्गले गरे ‘अब्सेस्ड’ र ‘ब्याकरूम्स’ को प्रशंसा

काठमाडौँ । हलिउडका चर्चित निर्देशक स्टीभन स्पिलबर्गले हालै प्रदर्शनमा आएका दुई कम बजेटका फिल्मको खुलेर प्रशंसा गरेका छन् । उनले फिल्म ‘अब्सेस्ड’ र ‘ब्याकरूम्स’ नामका फिल्मलाई निकै राम्रो भन्दै निर्माताप्रति खुसी व्यक्त गरेका हुन् ।

७९ वर्षका स्पिलबर्गले पछिल्लो समय आफूले मन पराएका फिल्महरूबारे टिप्पणी गर्ने क्रममा यी दुई फिल्मको विशेष चर्चा गरेका हुन् । दुवै फिल्म कम बजेटमा बनेर पनि राम्रो आम्दानी गरिरहेका छन् ।

हालै ‘डिस्क्लोजर डे’ फिल्मको विशेष प्रदर्शनमा स्पिलबर्ग रातो कार्पेटमा सहभागी भएका थिए । उक्त फिल्म २०२६ जुन १२ मा प्रदर्शन हुने तय छ ।

कार्यक्रमका क्रममा उनले ‘पप ड्रप’ सँग कुरा गर्दै भने, ‘म उनीहरूको सफलतामा निकै खुसी छु। यो साँच्चै उत्कृष्ट कुरा हो ।’

उनले थप जोड दिँदै भने, ‘कम बजेटमा बनेर पनि यति राम्रो प्रदर्शन हुनु ठूलो उपलब्धि हो। ‘अब्सेस्ड’ को बजेट करिब १० लाख डलरभन्दा कम थियो भने ‘ब्याकरूम्स’को बजेट करिब ९ देखि १० लाख डलर जति अनुमान गरिएको छ । तर पनि दुवै फिल्मले राम्रो नतिजा दिइरहेका छन्, म यसको प्रशंसा गर्छु।’ स्पिलबर्गले आफूले ‘ब्याकरूम्स’ अझै नहेरेको तर समय मिलेपछि हेर्ने बताए । उनले भने, ‘अब्सेस्ड’ मैले हेरेँ, र मलाई निकै मन पर्यो ।’

मिडिया रिपोर्टअनुसार दुवै फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेका छन् । यी फिल्महरूले राम्रो कथा भए ठूलो स्टार वा ठूलो बजेट अनिवार्य नहुने देखाएको विश्लेषण गरिएको छ । यी दुवै फिल्मका निर्देशक पनि निकै युवा छन्। ‘अब्सेस्ड’ निर्देशन गर्ने करी बार्कर मात्र २६ वर्षका हुन् भने ‘ब्याकरूम्स’का निर्देशक केन पार्सन्स २० वर्षका छन् । उनीहरूको सफलताले फिल्म क्षेत्रमा नयाँ पुस्ताको सम्भावना अझै बलियो देखिएको छ ।

बक्स अफिस मोजोका अनुसार अब्सेस्ड’ ले अहिलेसम्म १७८ मिलियन डलर कमाएको छ भने ब्याकरूम्स’ ले विश्वभर १५४ मिलियन डलर कमाई गरेको छ । 

Read More

करण जोहरको दोस्ताना- २ फेरी विवादमा, निर्देशकले छोडे फिल्म

काठमाडौँ । बलिवुडका चर्चित निर्माता निर्देशक करण जोहरको चर्चित फिल्म ‘दोस्ताना २’ सात वर्षदेखि अड्किँदै आएको छ । सन् २०१९ मा यो फिल्मको घोषणा गरिएको थियो तर त्यसपछि कलाकार छनोटको विषयले काम अघि बढ्न सकेन । केही समयअघि मात्र फिल्म फेरि सुरु गरिएको खबर आए पनि अब यो परियोजनालाई फेरि अर्को ठूलो झटका लागेको छ, जसले फिल्मको भविष्य फेरि अनिश्चित बनेको देखिन्छ ।

करण जोहरको धर्मा प्रोडक्सन्सद्वारा निर्माण भइरहेको ‘दोस्ताना २’ फेरि रोकिएको छ । कलाकार तय भइसकेपछि अब फिल्ममा काम गरिरहेका निर्देशक अद्वैत चन्दनले यो परियोजनाबाट अलग हुने निर्णय गरेका छन् । निर्देशक अचानक बाहिरिएपछि फिल्म फेरि अन्योलमा परेको छ । यद्यपि निर्माता र प्रोडक्सन हाउसले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । तर भेराइटी इन्डियाको रिपोर्ट अनुसार, अद्वैत चन्दनले निर्देशनसम्बन्धी सिर्जनात्मक मतभेदका कारण परियोजना छोडेका हुन् ।

‘सीक्रेट सुपरस्टार’ र ‘लाल सिंह चड्ढा’ जस्ता फिल्मका निर्देशक चन्दनले करिब सात महिना परियोजनाको तयारीमा समय दिएका थिए । तर अन्ततः सिर्जनात्मक मतभेद बढ्दै गएपछि उनले अलग हुने निर्णय लिएको बताइएको छ ।

रिपोर्ट अनुसार, उनी र निर्माताबीच मतभेद बढ्दै गए पनि यो अलगाव आपसी सहमतिमा सौहार्दपूर्ण रूपमा भएको हो। कुनै सार्वजनिक विवाद भने भएको छैन ।

‘दोस्ताना २’ को घोषणा सन् २०१९ मा गरिएको थियो । यो २००८ मा आएको धर्मा प्रोडक्सन्सकै सफल फिल्म ‘दोस्ताना’ को सिक्वेलका रूपमा तयार पारिएको हो । नयाँ कलाकारसहित तयार हुने भनिएको यस फिल्ममा कार्तिक आर्यन, जान्हवी कपूर र लक्ष्य मुख्य भूमिकामा रहने योजना थियो । छायांकन गोवामा सुरु पनि भइसकेको थियो । तर सन् २०२१ मा करण जोहरसँग कथित मतभेदका कारण कार्तिक आर्यन परियोजनाबाट बाहिरिएका थिए । त्यसपछि फिल्मको छायांकन रोकिएको थियो र परियोजना बन्द भएको चर्चा चलेको थियो ।

लामो समयपछि गत वर्ष फेरि फिल्मलाई पुनः सुरु गर्ने प्रयास भएको खबर आएको थियो । नयाँ योजनाअनुसार अब विक्रान्त मेसी र लक्ष्य मुख्य भूमिकामा देखिने चर्चा थियो । साथै पूर्व मिस इन्डिया वर्ल्ड सिनी शेट्टीले यस फिल्ममार्फत चलचित्र क्षेत्रमा प्रवेश गर्ने बताइएको थियो । तर यसबारे आधिकारिक पुष्टि भएको थिएन ।

यसैबीच अद्वैत चन्दन पनि परियोजनाबाट बाहिरिएपछि ‘दोस्ताना २’ को प्रतीक्षामा रहेका दर्शक फेरि निराश भएका छन् । यसअघि निर्देशक कोलिन डी कुन्हा पनि यो परियोजनाबाट अलग भइसकेका थिए । हाललाई ‘दोस्ताना २’ को भविष्य फेरि अनिश्चित बनेको छ ।

Read More

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ले नयाँ कलाकार सार्बजनिक गरेको छ । छायांकन सकेर पोस्ट प्रोडक्सनको चरणमा रहेको चलचित्रले नयाँ कलाकारको नाम सार्वजनिक गरेको हो ।  

सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको नाम निर्माण टिमले आज सार्वजनिक गरेको छ । छायांकन सकेर पोस्टको काम समेत सुरु भइसक्दा पनि यी कलाकारलाई निर्माण टिमले गोप्य राखेको थियो ।

‘बाः एक योद्धा’मा यी बाहेक मुख्य भूमिकामा अभिनेत्री झरना थापा, सुहाना थापा र अभिनेता दिव्यदेव पन्त छन् । यी कलाकारको नाम भने यसअघि नै सार्वजनिक भइसकेको थियो । कलाकारको यो लाइनअपले सिनेमा बलियो बनेको अनुमान गर्न सकिन्छ । सागर खनाल चलचित्र ‘११ः५५ तथा शिशिर सिवाकोटी ‘बेहुली फ्रम मेघौली’ र ‘सानो संसार’बाट तारिफ बटुलेका अभिनेता हुन् । 

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो । सिनेमाको कथासँग रिलिज डेट म्याच गराउँदै यो सिनेमा कुशे औंसीमा प्रदर्शनमा आउन लागेको हो ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर फिल्ममा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए । ‘बाः एक योद्धा’ले नेपाली समाजको वास्तविक पक्षलाई उजागर गर्नेछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा हो ।

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा : एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

Read More

आमिर खानले प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै

काठमाडौँ । बलिउड अभिनेता आमिर खान र उनकी प्रेमिका गौरी स्प्रैट छिट्टै विवाह बन्धनमा बाँधिने भएका छन् । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार दुवैले जुलाई ५ मा एक निजी समारोहमा विवाह गर्ने तयारी गरेका छन् ।

विवाह भव्य कार्यक्रम वा ठूलो रिसेप्सनबिना सानो पारिवारिक समारोहमै सीमित रहने बताइएको छ । उनीहरूले सानो हस्ताक्षर समारोहमार्फत आफ्नो सम्बन्धलाई औपचारिक बनाउनेछन् । आमिर खानले सन् २०२५ मा आफ्नो ६०औँ जन्मदिनको अवसरमा गौरीसँगको सम्बन्ध सार्वजनिक रूपमा स्वीकार गरेका थिए । यो विवाह आमिर खानको तेस्रो विवाह हुनेछ ।

यसअघि उनले सन् १९८६ मा फिल्म निर्माता रीना दत्तासँग विवाह गरेका थिए । सन् २००२ मा सम्बन्धविच्छेद भएपछि उनले सन् २००५ मा निर्देशक किरण रावसँग दोस्रो विवाह गरेका थिए । सन् २०२१ मा आमिर र किरणबीच सम्बन्धविच्छेद भएको थियो ।

मिडिया रिपोर्ट अनुसार आमिर र गौरी पछिल्लो एक वर्षभन्दा बढी समयदेखि लिभ–इन सम्बन्धमा बस्दै आएका छन् । दुवै एकैसाथ सुखी र स्थिर जीवन बिताइरहेका छन् । अब उनीहरूले परिवारको उपस्थितिमा कानुनी रूपमा सम्बन्धलाई अघि बढाउने निर्णय गरेका छन् । विवाह कार्यक्रममा केवल परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन् ।

गौरी स्प्रैट बैंगलोरकी सैलुन व्यवसायी तथा फेसन प्रोफेशनल हुन् । उनी मिश्रित सांस्कृतिक पृष्ठभूमिबाट आएकी हुन् । उनका बुबा तमिल–ब्रिटिस मूलका र आमा पंजाबी–आयरिस मूलकी हुन् । उनी १९२० को दशकमा भारतको स्वतन्त्रता आन्दोलनसँग जोडिएका ब्रिटिस कम्युनिस्ट फिलिप स्प्रैटकी नातिनी पनि हुन् । गौरीले लन्डन विश्वविद्यालय अफ द आर्ट्सबाट फेसन र स्टाइलिङ अध्ययन गरेकी हुन् । हाल उनी मुम्बईमा ‘बीब्लन्ट’ सैलुन सञ्चालन गरिरहेकी छिन् । उनी आमिर खान प्रोडक्सनसँग पनि काम गरिरहेकी बताइन्छ ।

आमिर खान र गौरी एकअर्कालाई झण्डै २५ वर्षदेखि चिन्ने साथी हुन् । पछि उनीहरूबीच प्रेम सम्बन्ध विकसित भएको हो । सम्बन्ध सार्वजनिक भएपछि गौरीलाई विभिन्न सार्वजनिक कार्यक्रममा आमिरसँग देखिँदै आएको छ ।

आमिरले एक पुरानो अन्तर्वार्तामा गौरीसँगको सम्बन्धले आफूलाई पूर्ण महसुस गराएको बताएका थिए । यसअघि आमिरले रीना दत्ता र किरण रावसँगको सम्बन्धलाई पनि गहिरो भएको तर समयसँगै अन्त्य भएको स्वीकार गरेका थिए ।

रीना दत्तासँग उनको पहिलो विवाह १६ वर्ष टिकेको थियो भने किरण रावसँगको दोस्रो विवाह १५ वर्षपछि २०२१ मा टुंगिएको थियो । दुवै सम्बन्धबाट उनका तीन सन्तान छन् ।

Read More