२०८३ श्रावण १६

चर्चित सेफ सन्तोष साह पक्राउ

काठमाडौं । चर्चित नेपाली सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई गएराती महोत्तरीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्ने क्रममा दिएको चेक बाउन्स (चेक अनादर) भएको उजुरीका आधारमा साहलाई पक्राउ गरिएको हो । 

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउपछि साहलाई आवश्यक कानुनी प्रक्रियाका लागि काठमाडौं ल्याउने तयारी गरेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

Read More

सर्वोच्चको आदेशपछि ट्रेड युनियन खारेज सम्बन्धि सरकारको निर्णय कार्यान्वयनको बाटो खुल्यो

काठमाडौँ । कर्मचारी संगठन (ट्रेड युनियन) खारेजीसम्बन्धी सरकारी निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ । 

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने तथा पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश गरेपछि अब सरकार निर्णय कार्यान्वयन गर्न बाटो खुलेको हो । 

संवैधानिक इजलासको बहुमत निर्णयअनुसार यसअघि जारी गरिएको अन्तरिम आदेश कायम नरहने र मुद्दा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरिएको छ । इजलासमा प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सहभागी थिए । निर्णयमा प्रधानन्यायाधीश शर्मा, न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको राय एकतर्फी रहेको थियो भने न्यायाधीश सुवेदी र पौडेलले फरक मत राख्दै अन्तरिम आदेश निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए । 

यसअघि बैशाख २० र २७ गते भएको बहसपछि वैशाख २८ मा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको थियो । तर, शुक्रबारको निर्णयसँगै उक्त आदेश निष्क्रिय भएको छ । तीनै न्यायाधीशले अध्यादेशको संवैधानिकता परीक्षण सम्बन्धमा अन्य रिटसमेत विचाराधीन भएका कारण सबैको एकसाथ सुनुवाइ हुने गरी साथै राख्न आदेश गरेका छन् । 

इजलासले मुद्दामा थप निष्पक्ष बहसका लागि एमिकस क्युरी (अदालतको सहयोगी) झिकाउन पनि आदेश दिएको छ । साथै, नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनमार्फत दुई–दुईजना एमिकस क्युरी उपस्थित गराउन आग्रह गरिएको छ ।

गत वैशाख २५ मा नेपाल निजामती संगठन केन्द्रीय कार्यसमितिका तर्फबाट भवानी दाहालसमेत पाँचजनाले सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए । 

केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा १० मा निजामती सेवा ऐनमा रहेको निजामती कर्मचारीको ट्रेड युनियन र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको विषय हटाइएको थियो । वैशाख २० गते जारी अध्यादेशअनुसार वैशाख २२ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ट्रेड युनियनका कार्यालय बन्द गर्ने भनी सूचना निकालेको थियो । 

Read More

काभ्रेमा बस दुर्घटना हुदा ७ जनाको मृत्यु

काठमाडौँ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको नमो बुद्ध नगरपालिका–२, बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १५ जनालाई उद्धार गरी उपचारका लागि नजिकैका अस्पतालहरूमा पठाइएको प्रहरीले जनाएको छ । 

बा ३ ख ८३९८ नम्बरको उक्त बस बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गर्दा बुच्चाकोट क्षेत्रमा सडकबाट तल खसेको प्रहरीले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

Read More

नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ३४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ४ अंकले घटेर २७२४.०३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४२ कम्पनिका ९८ लाख ५६ हजार ५२५ कित्ता शेयर ४ अर्ब ३४ करोड १० लाख ९४ हजार ७६४ मा कारोबार भएको थियो । 

आज म्युचुअल फण्ड, निर्जीव वीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी सोपान फार्मा र अपोलो हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १०.६६ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी सेन्ट्रल फाइनान्सको २५ करोड ५३ लाख बराबरको कारोबार भएको छ भने सिटी होटल्सको २४ करोड ८६  लाख बराबरको कारोबार भएको छ ।

Read More

३१ वर्ष अघिको रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई पालना गर्दै प्रतिवेदन कार्यान्वयनमा लैजाने गर्ने निर्णय गरेको हो ।

साथै, सर्वोच्च अदालतको उक्त आदेशलाई टेकेर देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख (लगत) राखी त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

मन्त्रिपरिषद् बैठकले यी दुवै निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को यस निर्णयसँगै २०२१ सालको नापीका आधारमा रावल आयोगको प्रतिवेदनले समेटेको तत्कालित काठमाडौँ महानगर क्षेत्रका ३५ वटै वडामा अतिक्रमण भएको सम्पूर्ण (१८५९ रोपनी १४ आना ३ पैसा ३ दाम) सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ । साथै, उल्लिखित सार्वजनिक तथा सरकारी जग्गाको अतिक्रमणकारीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने प्रक्रिया पनि अघि बढ्ने भएको छ ।

काठमाडौँ महानगर क्षेत्रमा तत्कालिन समयमा जम्मा अठार हजार नौ सय एकचालिस (१८९४१) रोपनीभन्दा बढी सार्वजनिक तथा सरकारी जग्गा रहेकोमा रावल आयोगले अध्ययन गर्दासम्म १८५९ रोपनीभन्दा (करीब १० प्रतिशत) बढी जग्गा अतिक्रमण भइसकेको थियो। यस क्रममा १,१८७ जना अतिक्रमणकारीहरूले ३०८ कित्ता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा उपभोग गरिरहेको तथा थप ६,९०६ जना अतिक्रमणकारीहरूले १,७६२ कित्ता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी आफ्नो निजी जग्गामा घुसाउदा जम्मा ८,०९३ जना अतिक्रमणकारीहरूले २,०७० कित्ता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको अवस्था थियो।

तत्कालीन सरकारले सरकारी तथा सार्वजनिक जग्गाको व्यापक अतिक्रमण, गैरकानूनी दर्ता तथा सार्वजनिक सम्पत्तिको संरक्षणसम्बन्धी गम्भीर समस्या समाधान गर्ने उद्देश्यले २०५० साल असोज २१ गतेको निर्णयानुसार सरकारका तत्कालीन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा यो उच्चस्तरीय आयोग गठन गरेको थियो।

आयोगले काठमाडौँ नगरक्षेत्रभित्र भएका सरकारी तथा सार्वजनिक जग्गाहरूको अतिक्रमणको अवस्थाबारे विस्तृत अध्ययन गरी २०५२ सालमा सुझाव सहितको आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो। आयोगले प्रतिवेदन बुझाए पनि राजनीतिक र प्रशासनिक उदासीनताका कारण यो प्रतिवेदन कार्यान्वयनमा आएको थिएन । त्यसको ८ वर्षपछि अधिवक्ता प्रकाशमणि शर्मासमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई रावल आयोगको प्रतिवेदन, २०५२ को कार्यान्वयनका लागि परमादेशसमेत माग गरी सर्वोच्च अदालतमा २०६० सालमा रिट दर्ता गरेका थिए । 

उक्त रिट निवेदनको सुनुवाइको क्रममा रावल आयोगको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा विशेषज्ञ सम्मिलित समितिद्वारा अध्ययन गर्न उपयुक्त देखिएकाले सर्वोच्च अदालतको २०६६ साल जेठ १७ गतेको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा विशेषज्ञ समिति गठन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने आदेश दिएको थियो। सो विशेषज्ञ समितिले काठमाडौँ बाहेक देशका अन्य स्थानहरूमा भएका सरकारी जग्गाहरूको अतिक्रमणको विषयमा समेत छानबिन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन २०६६ चैत १ गते पेश गरेको थियो ।

विशेषज्ञ समितिको उक्त प्रतिवेदन समेतको अध्ययन पश्चात् सर्वोच्च अदालतले २०६७ जेठ १२ गते रिट निवेदनमा अन्तिम सुनुवाइ गर्दै ‘विशेषज्ञ समितिको प्रतिवेदनअनुसार रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुन र देशका अन्य स्थानहरूमा भएको सरकारी तथा सार्वजनिक जग्गाहरूको अतिक्रमणको विषयमा समेत छानबिन गरी कानूनबमोजिम कारबाही गर्न वाञ्छनीय देखिएकोले सो कार्यलाई उच्च प्राथमिकता प्रदान गरी छिटो कार्यान्वयन गर्नू गराउनू’ भनी विपक्षीहरूका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

यस्तै, नीति अनुसन्धान प्रतिष्ठानले यो प्रतिवेदन र सोको कार्यान्वयनका लागि सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश (२०६७) सम्बद्ध टिप्पणीसहितको सङ्क्षेपीकरण तथा सुझाव प्रतिवेदन, २०८३’ शीर्षकको मामला अध्ययन प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको थियो ।

Read More

सुन एकैदिन तोलाको ५३ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ५ हजार ३ सयले बढेर तोलाको २ लाख ९२ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १९० रुपैयाँले बढेर तोलाको ४८४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४६५० मा कारोबार भएको थियो ।

Read More

ट्रम्पको दाबी अस्वीकार गर्दै इरानले भन्यो- कुनै सम्झौता भएको छैन

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो सम्झौता भएको दाबी गरे पनि इरानले उक्त दाबी अस्वीकार गरेको छ ।

इरानले अमेरिकासँग अहिलेसम्म कुनै पनि अन्तिम सम्झौता नभएको स्पष्ट पारेको हो । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सम्झौतासम्बन्धी मस्यौदा हाल सम्बन्धित निकायहरूमा अध्ययन र समीक्षा प्रक्रियामा रहेको बताएका छन् । उनले यसबारे अन्तिम निर्णय भइनसकेको स्पष्ट पारेका छन् ।

उनका अनुसार यो विषय अत्यन्तै संवेदनशील भएकाले सम्बन्धित निर्णय गर्ने निकायहरूले गम्भीर रूपमा छलफल गरिरहेका छन् । बघाईले वार्ताको मस्यौदाको ठूलो हिस्सा पहिले नै टुंगिसकेको भए पनि वार्ताका क्रममा अमेरिकी पक्षले पटक–पटक आफ्नो अडान परिवर्तन गरेको आरोप समेत लगाएका छन् ।

यसअघि ट्रम्पले इरानसँग सहमति भएको भन्दै तत्कालका लागि आक्रमण रोकेको बताएका थिए ।

Read More

इरानसँग सहमति भएको ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मुजतबा खामेनेईले नयाँ सम्झौताका लागि स्वीकृति दिएको दाबी गरेका छन् । यद्यपि, इरानले भने हालसम्म यस दाबीको आधिकारिक पुष्टि गरेको छैन ।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नयाँ सम्झौताअनुसार इरानले कहिल्यै पनि परमाणु हतियार नराख्ने सहमति जनाएको र सम्झौता कार्यान्वयनमा आएपछि होर्मुज जलडमरूमध्य पनि पुनः खुला गरिने बताएका छन् ।

यसअघि ट्रम्पले इरानमाथि भीषण बमबारी गर्ने तथा इरानको तेल निर्यातको मुख्य केन्द्र खार्ग टापुमाथि नियन्त्रण कायम गर्ने चेतावनी दिएका थिए । तर त्यसपछि सामाजिक सञ्जालमार्फत उनले इरानविरुद्धका नयाँ हवाई आक्रमण र बमबारीका योजना रद्द गरिएको जानकारी दिएका थिए ।

ट्रम्पले आफ्नो निर्णय परिवर्तनको कारण इरानी नेतृत्वसँगको वार्ता उच्च तहमा पुगेको बताएका छन् । यद्यपि, उनले सम्झौता पूर्ण रूपमा टुंगो नलागेसम्म होर्मुज जलडमरूमध्यमा अमेरिकी नाकाबन्दी कायम रहने स्पष्ट पारे । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका र इरानबीचको विवाद अन्त्यतर्फ पुगेको दाबी पनि गरेका छन् ।

अमेरिकी सिनेट उम्मेदवार ब्यारी मूरको समर्थनमा आयोजित एक टेलिफोनिक भेलामा बोल्दै ट्रम्पले इरानले कहिल्यै परमाणु हतियार निर्माण नगर्ने प्रतिबद्धता जनाएको र अमेरिका सुरुदेखि नै यही अडानमा रहेको बताए ।

उनले अमेरिका र इरानबीच उत्कृष्ट सम्झौता भएको दाबी गर्दै अधिकांश विषयमा सहमति भइसकेको र आफूहरूले चाहेका मुख्य उद्देश्य हासिल गरेको बताएका छन्।

यद्यपि, ट्रम्पका यी दाबीबारे इरानको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

Read More

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका मान्यताअनुसार सुशासन र आर्थिक समृद्धिमा केन्द्रित भएर काम गरिरहेको बताएका छन् ।

विहिबार राष्ट्रिय सभामा बोल्दै मन्त्री खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता र नागरिक सुरक्षाको संरक्षणलाई प्राथमिकतामा राखिएको स्पष्ट गरे । मन्त्रालयले संसद र सम्बन्धित समितिहरूलाई नियमित रूपमा कामको विवरण दिँदै आएको पनि उनले बताए ।

भारत भ्रमणबारे जानकारी दिँदै मन्त्री खनालले जेठ २२ देखि २४ गतेसम्म नयाँ दिल्लीमा भारतीय विदेशमन्त्रीको निमन्त्रणामा औपचारिक भ्रमण भएको बताए । भ्रमणका क्रममा दुवै देशबीच व्यापार, ऊर्जा, कनेक्टिभिटी, जलस्रोत, सीमा व्यवस्थापन र जनस्तरको सम्बन्धबारे विस्तृत छलफल भएको उल्लेख गरे ।

भ्रमणका क्रममा तीन वटा संयुक्त सहमति भएको पनि जानकारी दिइयो । जसमा सीमापार डिजिटल भुक्तानी, भूकम्पपछि भारतको सहयोगमा बनेका स्वास्थ्य र सांस्कृतिक परियोजनाको हस्तान्तरण तथा डिजिटल भाषा अनुवाद प्रविधि विकास सम्बन्धी सहकार्य समावेश छन् ।

यसै क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेटघाट तथा सीमा व्यवस्थापन र सुरक्षा विषयमा छलफल भएको पनि उनले बताए । भ्रमणलाई उनले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण अवसर भनेका छन् ।

उनले प्रधानमन्त्रीले सीमा बारे दिएको अभिव्यक्तिको बारेमा स्पष्टीकरण दिदै भने- ‘ प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय खासगरी दशगजा क्षेत्र अतिक्रमण र “क्रस बोर्डर अकुपेसन” सँग सम्बन्धित छ। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले “क्रस बोर्डर अकुपेसन” भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ ।’

नेपाल–भारत सीमा सम्बन्धमा उनले सुगौली सन्धि आधार रहेको उल्लेख गर्दै लिपुलेक, कालापानी र सुस्ता क्षेत्रको विषय कूटनीतिक वार्ताबाट समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताए । दशगजा अतिक्रमण र सीमा क्षेत्रमा देखिएको समस्याबारे संयुक्त प्राविधिक टोलीले अध्ययन गरिरहेको जानकारी पनि दिए ।

उनका अनुसार सीमा समस्या द्विपक्षीय संवादबाट समाधान गर्ने नीति नेपालले निरन्तर अघि बढाइरहेको छ । साथै, सरकारको परराष्ट्र नीति राष्ट्रिय हित र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न केन्द्रित रहेको उनले दोहोर्याए ।

Read More

नेप्से ८.१४ अंकले घट्यो, ३ अर्ब ९० करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज विहिबार नेप्से ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५० कम्पनिका ९२ लाख ३१ हजार २१६ कित्ता शेयर ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ मा कारोबार भएको थियो । 

आज होटल्स र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी सोपान फार्माको शेयरमा सकारात्मक सर्किट लागेको छ भने  अपोलो हाइड्रोको शेयर १४.९७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सप्तकोशी विकास बैंकको शेयर १३.५१ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी सिटी होटल्सको २३ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको १७ करोड ५६ लाख बराबरको कारोबार भएको छ ।

Read More