२०८३ श्रावण १५

सुन–चाँदीको मूल्यमा वृद्धि, बजारमा नयाँ दर सार्वजनिक

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको छ। यससँगै छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यही सुन २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, सरकारी अनुगमन र सक्रियता बढ्यो

काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारी तयारीसँगै सरोकारवाला निकायले स्थलगत अनुगमन र व्यवस्थापकीय सक्रियता बढाएका छन्।

२०३२ सालमा हेटौँडा औद्योगिक क्षेत्रमा स्थापना भई २०३५ देखि सञ्चालनमा आएको यो उद्योग २०५७ सालदेखि बन्द अवस्थामा छ। त्यसयता पुनः सञ्चालनका लागि पटक–पटक प्रयास भए पनि सफल हुन सकेको थिएन।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार पछिल्लो समय सरकारले उद्योग सञ्चालनतर्फ चासो देखाएपछि पुनः सक्रियता बढाइएको हो। उनका अनुसार उद्योगका अधिकांश उपकरण सामान्य मर्मतपछि पुनः प्रयोग गर्न सकिने अवस्थामा रहेका छन्।

यसैबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसहितको टोलीले उद्योगको स्थलगत निरीक्षण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अग्रसरतामा पुनः सञ्चालन प्रक्रिया अघि बढाइएको बताइएको छ।

हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारीलगायतले पनि उद्योग क्षेत्रको निरीक्षण गरी अवस्थाबारे जानकारी लिएका छन्।

सरकारी योजनाअनुसार हेटौँडा कपडा उद्योगसँगै बुटवलको धागो कारखाना र बाँकेको नेपालगन्जस्थित कपास उत्पादन कारखाना पनि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ। यी तीनै उद्योग पहिले एकै प्रणालीमा सञ्चालनमा थिए र हेटौँडा कपडा उद्योग बन्द भएपछि अन्य दुई पनि बन्द भएका थिए।

२०७५ सालदेखि उद्योग परिसरमा सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण बस्दै आएको छ। त्यसअघि सुरक्षा कमजोर हुँदा क्षेत्र दुर्व्यसनीहरूको केन्द्र बनेको बताइन्छ। हाल भने सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त पहलमा सरसफाइ र सुरक्षा व्यवस्थापन गरिएको छ।

सरकारले चालु आर्थिक वर्षमै उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ। उद्योग पुनः सञ्चालनलाई रुग्ण उद्योग पुनर्जीवन योजनाको पहिलो प्राथमिकताका रूपमा अघि बढाइएको बताइएको छ।

Read More

अमेरिका–इरान शान्ति वार्ता : पहिलो उच्चस्तरीय सत्र सम्पन्न, प्रगति सकारात्मक

काठमाडौं । स्विट्जरल्याण्डको बर्गेनस्टक रिसोर्टमा अमेरिका र इरानबीच चलिरहेको ‘लेक लुसर्न समिट’ शान्ति वार्ताको पहिलो उच्चस्तरीय सत्र सम्पन्न भएको छ।

कतार र पाकिस्तानको मध्यस्थतामा भएको वार्तापछि दुवै मध्यस्थकर्ता देशले संयुक्त विज्ञप्ति जारी गर्दै छलफल सकारात्मक दिशामा अघि बढिरहेको जनाएका छन्।

पाकिस्तानको विदेश मन्त्रालयमार्फत जारी विज्ञप्तिअनुसार वार्ताको प्रगति अनुगमन गर्न एक उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ। सो समितिलाई नियमित रूपमा प्रगति प्रतिवेदन बुझाउने व्यवस्था रहनेछ।

त्यसैगरी आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा, अनुगमन तथा विवाद समाधानजस्ता संवेदनशील विषयमा केन्द्रित भएर काम गर्न छुट्टाछुट्टै प्राविधिक कार्यदल गठन गर्ने सहमति पनि भएको छ।

पक्षहरूबीच आगामी ६० दिनभित्र प्रारम्भिक समझदारीमा पुग्ने लक्ष्यसहित रोडम्याप तयार गर्ने र प्राविधिक तहका छलफल तत्काल सुरु गर्ने सहमति भएको जनाइएको छ।

यस्तै विश्वको महत्वपूर्ण जलमार्ग हर्मुज स्ट्रेटमा व्यावसायिक जहाज आवागमन सुरक्षित बनाउन तथा सम्भावित सैन्य तनाव रोक्न प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गरिएको विज्ञप्तिमा उल्लेख छ।

यसका साथै लेबनानमा युद्धविराम कार्यान्वयन सुनिश्चित गर्न कतार र पाकिस्तानको नेतृत्वमा लेबनानसमेत सहभागी हुने गरी विशेष ‘डी–कन्फ्लिक्ट’ संयन्त्र गठन गर्ने निर्णय भएको पनि जनाइएको छ।

Read More

बागमती प्रदेश साक्षरता, आय र आर्थिक वृद्धिमा राष्ट्रिय औसतभन्दा अगाडि

काठमाडौं । बागमती प्रदेश शिक्षा, आर्थिक वृद्धि, आय तथा गरिबीका अधिकांश प्रमुख सूचकमा राष्ट्रिय औसतभन्दा अगाडि रहेको देखिएको छ। प्रदेश सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश तथ्यांकले बागमती प्रदेशको आर्थिक तथा सामाजिक अवस्था अन्य प्रदेशको तुलनामा सबल रहेको संकेत गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार प्रदेशले आर्थिक गतिविधि, मानव विकास तथा जीवनस्तरसँग सम्बन्धित विभिन्न सूचकमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। विशेषगरी साक्षरता, प्रतिव्यक्ति आय तथा आर्थिक वृद्धिदरमा प्रदेश राष्ट्रिय औसतभन्दा माथि रहेको छ भने गरिबीका दुवै सूचकमा राष्ट्रिय स्तरभन्दा कम दर कायम रहेको छ।

प्रमुख सूचकहरू:

सूचकनेपालबागमती प्रदेश
साक्षरता दर७६.२%८२.१%
आर्थिक वृद्धिदर३.८५%५.४०%
प्रतिव्यक्ति आय१,५३५ अमेरिकी डलर२,६४४ अमेरिकी डलर
कुल गार्हस्थ्य उत्पादनमा हिस्सा३६.७% (रु २४ खर्ब २३ अर्ब)
निरपेक्ष गरिबी२०.२७%१२.५९%
बहुआयामिक गरिबी१७.४%७.०%

तथ्यांकले बागमती प्रदेश आर्थिक उत्पादन, आयस्तर र मानव विकासका दृष्टिले देशकै अग्रणी प्रदेशका रूपमा स्थापित हुँदै गएको देखाएको छ।

Read More

बालेन शाह चितवन पुगे, रास्वपा महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ महानगरका प्रमुख बालेन शाह आज बिहान चितवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन त्यहाँ पुगेका हुन्।

महाधिवेशनको उद्घाटन कार्यक्रम आज दिउँसो २ बजे हुने तय भएको छ। उद्घाटनका क्रममा बालेन शाह र पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा घण्टी बजाएर कार्यक्रमको औपचारिक सुरुवात गर्ने तयारी गरिएको छ।

कार्यक्रम स्थललाई दुवै नेताका तस्बिरहरूले सजाइएको छ। महाधिवेशन असार ९ गतेसम्म सञ्चालन हुने बताइएको छ।

Read More

रास्वपाको पहिलो महाधिवेशन आजदेखि : संगठन विस्तारदेखि नेतृत्व संरचनासम्म ठूला निर्णयको तयारी

काठमाडौं, असार ७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोडमा प्रवेश गर्दैछ। भरतपुरको गेस्टहाउस चौरमा सुरु हुने प्रथम महाधिवेशनले पार्टीको भावी दिशा, संगठनात्मक स्वरूप र नेतृत्व संरचनाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम तय भएको छ। नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाका लागि यो महाधिवेशन केवल नियमित संगठनात्मक कार्यक्रम मात्र नभई आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

रास्वपाले महाधिवेशनलाई व्यवस्थित, प्रतिनिधिमूलक र प्रभावकारी बनाउन आवश्यक तयारी पूरा गरेको जनाएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया सम्पन्न भइसकेको छ।

महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत सबै आवश्यक पक्षमा तयारी पूरा भएको उनले जानकारी दिए। कार्यक्रमलाई सफल बनाउन पार्टीले १८ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको थियो।

विधानमा ठूलो फेरबदलको प्रस्ताव

महाधिवेशनको प्रमुख आकर्षणमध्ये एक पार्टी विधान संशोधन पनि रहनेछ। चितवनमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनमा प्रस्तुत गरिने संशोधित विधानलाई अन्तिम रूप दिएको छ।

प्रस्तावअनुसार हाल १२१ सदस्यीय रहेको केन्द्रीय समिति विस्तार भएर १५१ सदस्यीय बन्नेछ। प्रदेश सभापतिहरूलाई पदेन सदस्यको रूपमा समावेश गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

त्यसैगरी पार्टीको नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित गर्ने उद्देश्यले पदाधिकारी संरचनामा अनिवार्य महिला प्रतिनिधित्वको व्यवस्था गर्न लागिएको छ। संशोधित प्रस्ताव पारित भए उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्ष पदमा कम्तीमा एक महिला अनिवार्य रहनेछिन्।

प्रस्तावित विधानअनुसार १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना खुला प्रतिस्पर्धाबाट चयन हुनेछन् भने ५१ जना सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था हुनेछ।

पार्टी स्रोतका अनुसार समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै मनोनयन प्रक्रिया सञ्चालन गरिनेछ। प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य रहने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

त्यसैगरी पार्टीभित्र व्यापक राजनीतिक समायोजनको सम्भावना खुला राख्न केही प्रमुख पदाधिकारी छनोटमा सभापतिलाई विशेष भूमिका दिने विषयमा समेत छलफल भएको बताइएको छ।

रास्वपाले महाधिवेशनमार्फत संगठन सुदृढीकरण, नयाँ नेतृत्व चयन र आगामी राजनीतिक कार्यदिशा तय गर्ने लक्ष्य राखेको छ।

प्रवक्ता झाका अनुसार महाधिवेशनमा नीतिगत प्रस्ताव, विधान संशोधन र समसामयिक राजनीतिक विषयमा व्यापक बहस हुनेछ। पार्टीले आगामी दिनमा जनसम्पर्क विस्तार र संगठनलाई टोलस्तरसम्म पुर्‍याउने योजनालाई समेत प्राथमिकतामा राखेको छ।

रास्वपाले भ्रातृ संगठन नबनाउने आफ्नो पुरानै अवधारणालाई निरन्तरता दिने संकेत पनि दिएको छ।

करिब चार हजार प्रतिनिधि, पाँच लाख सदस्य

महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधिको सहभागिता रहनेछ। तीमध्ये ३०० प्रतिनिधि मनोनयनमार्फत समावेश गरिएका छन्।

पार्टीका अनुसार हाल सदस्य संख्या पाँच लाख पुगेको छ। सचिवालय सदस्य हरि ढकालले ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको र चार हजार ६३ वडामा संगठनात्मक प्रक्रिया पूरा भएको जानकारी दिएका छन्।

त्यसैगरी सातमध्ये छ प्रदेश र ६४ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेको छ। मधेस प्रदेश तथा निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाबाट तदर्थ समितिमार्फत प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन्।

रास्वपाको पहिलो महाधिवेशनले संगठनात्मक पुनर्संरचना, समावेशी नेतृत्व र आगामी राजनीतिक मार्गचित्रबारे कस्तो निर्णय गर्छ भन्ने विषय अहिले राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

Read More

नेप्सेमा सामान्य सुधार, कारोबार रकम ४ अर्ब ५३ करोड नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य वृद्धि सहित बन्द भएको छ। नेप्से १.६३ अंकले बढेर २७०२.११ विन्दुमा पुगेको हो।

बजारमा सुधार देखिएसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन ३५३ वटा कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये ११६ को सेयर मूल्य बढेको, १४० को घटेको तथा १७ कम्पनीको मूल्य स्थिर रहेको छ। अपोलो हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक लाभ कमाउँदा बुंगल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/९७ अग्रस्थानमा रह्यो, जसको करिब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

क्षेत्रगत रूपमा फाइनान्स, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र ट्रेडिङ समूहमा हरियाली देखिएको छ भने अन्य अधिकांश उपसूचक दबाबमा रहेका छन्।

Read More

जर्मन राजदूतसँगको विवादित भेटघाटबारे कूटनीतिक चासो बढ्दो

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको सचिवालयमा नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जसँग असहज व्यवहार भएको दाबी सार्वजनिक भएपछि कूटनीतिक वृत्तमा यसको चर्चा सुरु भएको छ।

स्रोतहरूका अनुसार, विद्युतीय राहदानी (ई–पासपोर्ट) सम्बन्धी विषयमा छलफलका क्रममा प्रधानमन्त्री कार्यालयमा राजदूत भोल्ज र केही सहयोगीबीच तनावपूर्ण संवाद भएको बताइएको छ। घटनाप्रति असन्तुष्टि जनाउँदै जर्मन पक्षले यसबारे आफ्नो सरकारलाई जानकारी गराएको दाबी गरिएको छ।

परराष्ट्र मामिलाका जानकारहरूले कूटनीतिक प्रतिनिधिहरूसँगको व्यवहारमा अन्तर्राष्ट्रिय मर्यादा कायम राख्नुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार, यस्ता विवादले नेपालका विकास साझेदार राष्ट्रहरूसँगको सम्बन्धमा अनावश्यक असर पार्न सक्छ।

विज्ञहरूले घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्न सरकारलाई सुझाव दिएका छन्। साथै, विषयलाई संवाद र कूटनीतिक माध्यमबाट शीघ्र समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

हालसम्म यस विषयमा प्रधानमन्त्री कार्यालय वा जर्मन पक्षबाट विस्तृत आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

Read More

अमेरिका–इरान वार्ता स्थगित: कूटनीतिक अनिश्चितताबीच तनाव बढ्दो

काठमाडौँ ।  स्विट्जरल्याण्डको विदेश मन्त्रालयले अमेरिका र इरानबीच शुक्रबारका लागि तय गरिएको १४–बुँदे सम्झौता कार्यान्वयनसम्बन्धी उच्चस्तरीय वार्ता अचानक स्थगित गरिएको जानकारी दिएको छ। इरानको आणविक कार्यक्रमबारे दीर्घकालीन सहमति र होर्मुज जलडमरूमध्य हुँदै तेल ढुवानी पुनः सुचारु गर्ने उद्देश्यसहित सुरु गरिएको ६० दिने कूटनीतिक प्रक्रियाकै बीचमा यो वार्ता तय गरिएको थियो।

ओब्बुर्गेनस्थित एक सानो स्विस गाउँमा वार्ता सुरु हुने तयारी थियो। तर वार्ताको दुई दिनअघि मात्रै अमेरिका र इरानबीच प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि ह्वाइट हाउसले अमेरिका प्राविधिक तहका छलफल चाँडै अघि बढाउन इच्छुक रहेको बताउँदै उपराष्ट्रपति जेडी भान्सको स्विट्जरल्याण्ड भ्रमण स्थगित गरिएको पुष्टि गर्‍यो।

ह्वाइट हाउसका एक प्रवक्ताले वार्ता प्रक्रिया जटिल र अप्रत्याशित हुने उल्लेख गर्दै तत्कालका लागि उपराष्ट्रपतिको यात्रा नहुने बताएका छन्। यसैबीच, भान्सको टोली र पत्रकारहरू वासिङ्टनस्थित जोइन्ट बेस एन्ड्रुजमा तयारी अवस्थामा रहेका थिए भने स्विट्जरल्याण्डमा पनि ठूलो संख्यामा अमेरिकी अधिकारी तथा सञ्चारकर्मीहरू पुगिसकेका थिए।

इरानतर्फ, सर्वोच्च नेता आयतोल्लाह मोजतबा खामेनीले केही असहमति भए पनि प्रारम्भिक सम्झौतालाई अनुमोदन गरिएको बताएका छन्। सोही अवधिमा अमेरिका ले इरानी बन्दरगाहहरूमा लगाइएको अवरोध हटाएको जनाइएको छ। यद्यपि इरानी अर्धसरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी पक्षबाट स्पष्ट कार्यान्वयन संकेत नआएसम्म अर्को चरणको वार्तामा सहभागी नहुने अडान इरानले राखेको छ।

अन्य विवरणअनुसार, लेबनानमा इजरायलको सैन्य गतिविधिका कारण इरानले आफ्नो प्रतिनिधिमण्डल पठाउन ढिलाइ गरेको पनि उल्लेख गरिएको छ। इजरायल, जो वार्ता प्रक्रियामा प्रत्यक्ष सहभागी थिएन, लेबनानमा हिज्बुल्लाहसँगको द्वन्द्व जारी राख्दै हवाई आक्रमणहरू बढाइरहेको छ।

प्रस्तावित सम्झौतामा लेबनान युद्धको स्थायी अन्त्य र देशको सार्वभौमिकता तथा क्षेत्रीय अखण्डता सुनिश्चित गर्ने विषय समावेश रहेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै पक्षबीच पूर्ण युद्धविरामको अपेक्षा व्यक्त गरेका छन्। तर इजरायली नेतृत्वले लेबनानबाट पूर्ण रूपमा फिर्ता नहुने संकेत दिएपछि अमेरिका भित्रै आलोचना बढेको छ।

इरानका प्रमुख वार्ताकार मोहम्मद घालीबाफले सम्झौता उल्लंघन भएमा कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन्। यस कूटनीतिक अस्थिरताले मध्यपूर्वमा दीर्घकालीन युद्धविराम सम्भव हुने वा नहुने विषयलाई अझ जटिल बनाएको छ। हालसम्मको द्वन्द्वमा ७,००० भन्दा बढी मानिसको मृत्यु भइसकेको र यसले विश्व ऊर्जा बजार तथा समग्र अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पारेको बताइन्छ।

खामेनीले राष्ट्रपति ट्रम्पले यो समझदारी ‘हतारमा र दबाबमा’ अघि बढाएको टिप्पणी गर्दै आगामी वार्ताहरू सहज नहुने संकेत दिएका छन्। यद्यपि अमेरिका ले केही नौसैनिक प्रतिबन्ध हटाए पनि आफ्ना युद्धपोतहरू क्षेत्रमै राखेको छ। होर्मुज जलडमरूमध्यमार्फत तेल ढुवानी भने अझै पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सकेको छैन।

Read More

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन शुक्रबारको प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भई बन्द भएको छ। यस अवधिमा परिसूचक १०.९९ अंकले बढ्दै २७११.४६ विन्दुमा पुगेको हो।

प्रि-ओपन सेसनमा कुल ७४ स्क्रिप्सका १० लाख ३६ हजार ७३९ कित्ता सेयर १ अर्ब २० करोड ५१ लाख ३० हजार ६५५ रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन्।

कारोबारमा सहभागी स्टक्समध्ये २६ वटाको मूल्य वृद्धि भएको छ भने ३० वटाको मूल्य घटेको छ। बाँकी ४ वटाको मूल्य भने स्थिर रहेको छ।

Read More