२०८३ कार्तिक ९

काठमाडौँ महानगरमा डेङ्गी संक्रमणमा उतारचढाव, लार्भा खोजेर नष्ट गर्ने अभियान जारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सन् २०२२ मा २ हजार ९७३ जनामा डेङ्गी संक्रमण देखिएको थियो । यस्तै सन् २०२३ मा ६४३ जनामा संक्रमण देखियो । सन् २०२४ मा २ हजार ८४ जनामा संक्रमण देखियो ।

यस वर्ष अर्थात् गएको पुसदेखि अहिलेसम्म २४८ जनामा संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका अनुसार सन् २०२२ मा ९ हजार ८८६ जना, सन् २०२३ मा १ हजार ७१४ जना सन् २०२४ मा २ हजार ९८४ जना र सन् २०२५ को अहिलेसम्म २२७ जना संक्रमण भएका व्यक्तिको परीक्षण काठमाडौँ जिल्लामा भएको छ । तर, ठेगानामा पालिकाको नाम उल्लेख पाइँदैन । अस्पतालले संक्रमितमध्ये धेरै व्यक्ति काठमाडौँमा बसोबास गर्ने भएको उल्लेख गरेको छ ।

काठमाडौँ महानगरपालिकाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले विगत संक्रमणको अवस्था विश्लेषण गर्दै भने, ‘डेङ्गीको संक्रमण कुनै वर्ष घट्ने र कुनै वर्ष बढ्ने गरेको देखिन्छ ।’ भुषालका अनुसार काठमाडौँ महानगरपालिकाभित्र पहिलो पटक २०७५ सालमा चमती क्षेत्रमा एकजना महिलामा यो संक्रमण देखिएको हो । दोस्रो विरामी बालाजु ढुङ्गेधारामा भेटिएका थिए । 

महानगरपालिकाले गएका वर्षहरुको संक्रमण दर हेर्दै अहिले डेङ्गी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने कार्यक्रमलाई तीब्र बनाएको छ । वडा र समुदाय स्तरमा सञ्चालन भएको कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, स्थानीयहरुको सहभागिता छ । 

नेपालमा २०६१ सालदेखि डेङ्गी देखिन थालेको हो । देशभरि डेङ्गी संक्रमणको तथ्याङ्क हेर्दा सन् २०२४ मा ६ हजार ८३१ जनामा संक्रमण देखिएको थियो । जसमध्ये ४ जनाको मृत्यु भयो । त्यसको अघिल्लो वर्ष अर्थात् सन् २०२३ मा ५२ हजार ७९० जनामा संक्रमण देखिँदा २० जनाको मृत्यु भयो । सन् २०२२ मा पनि डेङ्गीको संक्रमण उच्च थियो । त्यस वर्ष ५४ हजार ७८४ जनामा संक्रमण देखिँदा ८८ जनाको मृत्यु भएको थियो । 

सन् २०२१ मा ५४० जनामा संक्रमण देखिँदा ५ जनाको मृत्यु भयो । सन् २०२० मा ५३० जनामा संक्रमण देखिँदा ४ जनाको मृत्यु भएको थियो । सन् २०१९ मा भने १७ हजार ९९२ जनामा संक्रमण देखिँदा ६ जनाको मृत्यु भएको थियो ।  

सामान्यतयाः बर्खायाममा देखिने यो संक्रमणको वृद्धि दर भदौ, असोज र कार्तिक महिनामा धेरै देखिन थालेको छ । काठमाडौँसहित नेपालका १० जिल्लामा यो संक्रमण प्रकोपका रुपमा देखा परेको छ । 

सन् २००४ देखिको तथ्याङ्क हेर्दा सन् २००९ सम्म डेङ्गी संक्रमणका कारण कुनै कसैको पनि मृत्यु भएको देखिँदैन । सन् २०१० मा ९१७ जनामा डेङ्गी देखिँदा ५ जनाको मृत्यु भएको थियो । यसपछिका ४ वर्ष संक्रमणबाट कसैको पनि मृत्यु भएन । सन् २०१५ मा १३५ जनामा डेङ्गीको संक्रमण देखियो । यसमध्ये १ जनाको मृत्यु भयो । सन् २०१६ मा १ हजार ५२७ जनामा डेङ्गी देखियो । सन् २०१७ मा २ हजार १११ जनामा, सन् २०१८ मा ८११ जनामा संक्रमण देखियो । यी वर्षहरुमा क्रमशः १, ३ र ३ जनाको मृत्यु भएको देखिन्छ ।   

यसरी हुने संक्रमण र त्यसबाट हुने मानव मृत्यु घटाउन, महानगरपालिकाको स्वास्थ्य विभागले लार्भा खोज्ने, नष्ट गर्ने र सचेतना अभिवृद्धि गर्ने कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिरहेको छ ।

आम नागरिकका स्वास्थ्य सम्बन्धी गुनासा, जिज्ञासा सुन्न र प्रारम्भिक परामर्शका लागि निःशुल्क महानगरपालिकाले ११८० टेलिफोन नम्बर सञ्चालनमा ल्याएको छ ।

डेङ्गी संक्रमण फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्छ । यसकारण सफा पानी राखिने भाँडाहरुमा पानी भरेर राख्नुहुँदैन । पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँ भएकोले यस्ता ठाउँमा पानी जम्न दिनु हुँदैन । यो दायित्व हरेक नागरिकले पूरा गर्न महानगरपालिकाले आग्रह गरेको छ ।

Read More

आज विश्व फार्मासिस्ट दिवस मनाइदै

काठमाडौँ । आज विश्व फार्मासिस्ट दिवस मनाइदैछ ।

प्रत्येक वर्ष २५ सेप्टेम्बरमा यो दिवस समाजमा फार्मासिष्टको महत्वपूर्ण भूमिकालाई उजागर गर्ने उद्देश्यले विश्व फार्मासिस्ट दिवस मनाइने गरिएको छ । यस बर्षको विश्व फार्मासिस्ट दिवसको नारा ‘स्वास्थ्य सोचौं, फार्मासिस्ट सम्झौं’ रहेको छ । 

अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलको स्थापना सन् १९१२ मा स्थापना भएको थियो, त्यसपछि सन् २००९ मा टर्कीको इस्तानबुलमा भएको वर्ल्ड कंग्रेस अफ फार्मेसी एन्ड फार्मास्युटिकल साइन्समा अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलले हरेक बर्ष सेप्टेम्बर २५ मा यो दिवस मनाउने घोषणा गरेको थियो ।

विश्व फार्मासिस्ट दिवस मनाउनुको उद्देश्य फार्मासिस्टको महत्वपूर्ण भूमिकालाई उजागर गर्नु र चिकित्सा पेशेवरहरूलाई सम्मान गर्नु रहेको छ । यस दिन प्रत्येक व्यक्तिलाई उचित स्वास्थ्य सेवा प्रदान गर्न फार्मासिष्टहरूले खेल्ने महत्त्वपूर्ण भूमिकाको बारेमा मानिसहरूलाई सचेत गराइन्छ । यस विशेष दिनमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका फार्मासिस्टहरूलाई सम्मान गरिन्छ ।

Read More

स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न नमिल्ने

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी भएको स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न नमिल्ने भएको छ ।

नेपाल इन्जिनियर्स’ एसोसिएसनको विज्ञ टोलीले गरेको अनुगमनपछि मन्त्रालयको भवन प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको निष्कर्ष निकालेको हो ।

नेपाल इन्जिनियर्स एसोसिएसनका प्राविधिकहरूले आगजनी भएका सार्बजनिक भवनहरुको निशुल्क फिल्ड अस्सेसमेन्ट गरिरहेका छन् ।

एसोसियसनले आगलागीपछि संरचनामा भएको क्षतिको प्रारम्भिक निरीक्षण, जोखिम मूल्याङ्कन र संरचनागत सुरक्षा मूल्याङ्कनको महत्वपूर्ण कार्य गर्दै दिगो पुनर्निर्माण र विपद् व्यवस्थापनमा योगदान पुर्‍याइरहेका छन् ।

Read More

वयस्कको लागि कोरोना खोप सिफारिस नगर्ने पक्षमा अमेरिकी समितिमा मतदान

काठमाडौँ । एक प्रमुख अमेरिकी खोप सल्लाहकार समितिले सबै वयस्कहरूको लागि कोरोना खोप सिफारिस नगर्ने पक्षमा मतदान गरेको छ ।

महामारी सुरु भएदेखि नै यो खोप आधिकारिक रूपमा अधिकांश मानिसहरूले वार्षिक प्रयोगको लागि अनुमोदन गरेको थियो । खोप अभ्यास सम्बन्धी सल्लाहकार समिति (एसीआइपी) ले पनि कोरोना खोप सिफारिस गर्ने पक्षमा साँघुरो मतले मतदान गरेको थियो ।

दुई दिनको बैठकमा, समितीले संयुक्त दादुरा, मम्प्स, रुबेला र चिकेनपक्स खोपमा आफ्ना सिफारिसहरू परिमार्जन गरेको छ भने हेपाटाइटिस बी खोपमा मतदान स्थगित गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जूनियरले जुनमा समितिका सबै १७ सदस्यहरूलाई बर्खास्त गरेर नयाँ सदस्यहरू नियुक्त गरेका थिए । यो निर्णयले स्वास्थ्यकर्मीहरूमा आक्रोश फैलाएको थियो । रोबर्ट एफ. केनेडी जूनियर कोरोनाविरुद्धको खोपको विरुद्ध बोल्दै आएका थिए ।

प्यानलले शुक्रबार कोरोना खोपको बारेमा छलफल गरेको थियो । अमेरिकामा कोरोनाको खोप फ्लु खोप जस्तै नियमित रूपमा सिफारिस गरिएको थियो ।

समितिले अब खोपको लागि व्यापक सिफारिस समाप्त गर्न मतदान गरेको छ, जसमा ६५ वर्षभन्दा माथिका मानिसहरू पनि समावेश छन् । यद्यपि, प्यानलले मानिसहरूले आफ्नो डाक्टरसँग परामर्श गरेपछि खोपको बारेमा आफ्नै निर्णय लिन सक्ने बताएको छ । गत मे महिनाको सुरुमा, स्वस्थ गर्भवती महिला र बालबालिकाका लागि कोरोना खोपको सिफारिस बन्द गरिएको थियो ।

Read More

सिभिल अस्पतालमा आजका सबै ओपीडी सेवा बन्द

काठमाडौँ । काठमाडौँको सिभिल अस्पतालले आजका सबै ओपीडी सेवाहरू बन्द गरेको छ।

सोमबार जेनजीको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार भइरहेका कारण आज मंगलबार अस्पतालका सबै ओपीडी सेवाहरू बन्द गरिएको अस्पतालले जानकारी दिएको छ । 

अस्पतालले आन्दोलनका क्रममा घाइते भएका सिभिल अस्पतालमा १४१ जनाको उपचार गरिएको र थप उपचारका लागि ४२ जनालाई अन्य अस्पतालमा रेफर गरिएको जानकारी दिएको छ । साथै अस्पतालमा उपचारका क्रममा तीन जनाको निधन भएको जनाएको छ ।

Read More

रगत अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले २४सै घण्टा हेल्पलाइन चलाउने

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले रगत अभाव हुन नदिन हेल्पलाइन २४ सै घण्टा चलाउने जानकारी दिएको छ । मन्त्रालयले रगत अभाव हुन नदिन १११५ नम्बरको हेल्पलाइन २४सै घण्टा चलाउने जानकारी दिएको हो । 

मन्त्रालयले घाइते बिरामीहरुलाई रगत अभाव हुन नदिन मन्त्रालयको हटलाइन हेल्लो स्वास्थ्यलाई २४सै घण्टा चलाउने र कुनै पनि बिरामी वा अस्पतालले रगत अभाव भएमा १११५ मा फोन गरेर जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

साथै मन्त्रालयले घाइतेहरुको जीवनरक्षाका लागि आवश्यक सबै उपचार निःशुल्क गर्ने गरी मन्त्रालयले अस्पतालहरुलाई पत्र पठाएको छ ।

सय भन्दा बढी आन्दोलनका घाइतेको उपचार भैरहेको सिभिल अस्पतालको आकस्मिक कक्षमा सघाउन ४ चिकित्सकसहित ६ सुरक्षाकर्मी खटाइएको मन्त्री प्रदिप पौडेलको सचिवालयले जनाएको छ । त्यस्तै वीर अस्पतालको ट्रमा सेन्टरले पूर्ण क्षमतामा बिरामीको उपचार गरिरहेको छ ।

मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउने गरी आपतकालीन अपरेशन सेन्टरमार्फत व्यवस्था मिलाएको छ । काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

Read More

जेनजीको आन्दोलनका घाइतेको नि: शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले जेनजीको आन्दोलनमा घाइते भएका सबैको नि: शुल्क उपचारको व्यवस्था मिलाउन सबै संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएको छ ।

स्वास्थ्य अम्त्न्रालयले मुलुकका विभिन्न स्थानमा भएका प्रदर्शनका क्रममा घाइते भएका सबैको सबै किसिमका उपचारको व्यवस्था गरि उपचार नि: शुल्क व्यवस्थापन गर्न निर्देशन दिएको हो । मन्त्रलायले एम्बुलेन्स सेवा थप प्रभावकारी बनाउन र सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक जुट भएर उपचारमा खटिन आग्रह गरेको छ ।

Read More

क्यान्सरविरुद्धको खोप विकासमा रुसलाई ठुलो सफलता

काठमाडौँ । रुसले क्यान्सर उपचारमा ऐतिहासिक कोशेढुङ्गा हासिल गरेको छ । देशको नयाँ एमआरएनए-आधारित खोप ‘एन्टरोमिक्स’ ले पूर्व-क्लिनिकल परीक्षणहरूमा शत प्रतिशत प्रभावकारिता र सुरक्षा देखाएको जनाएको छ ।

रुसको राष्ट्रिय चिकित्सा अनुसन्धान रेडियोलोजी केन्द्र र रूसी विज्ञान प्रतिष्ठानको एन्जेलहार्ट इन्स्टिच्युट अफ मोलिक्युलर बायोलोजिले संयुक्त रूपमा यो खोप विकास गरेका छन् । यस खोपको क्लिनिकल परीक्षण ४८ स्वयंसेवकहरूसँग सुरु गरिएको थियो। यी परीक्षणहरू जुन १८ देखि २१ सम्म सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा घोषणा गरिएको थियो ।

यो खोप क्यान्सरसँग लड्न मात्र सक्षम छैन, तर भविष्यमा क्यान्सर रोक्नको लागि ठूलो कदम पनि हुन सक्ने बताइएको छ । संघीय चिकित्सा र जैविक एजेन्सी (एफएमबिए) ले यो खोप अब क्लिनिकल प्रयोगको लागि तयार छ ।

एफएमबिएका प्रमुख भेरोनिका स्कभोर्ट्सोभाका अनुसार, एन्टरोमिक्स एक एमआरएनए-आधारित खोप हो जुन विशेष रूपमा प्रत्येक बिरामीको लागि तिनीहरूको व्यक्तिगत आरएनएको आधारमा डिजाइन गरिनेछ ।

यो खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई सुधार गर्छ जसले गर्दा यसले क्यान्सर कोषहरूलाई चिन्न र नष्ट गर्न सक्छ । यो खोप ट्युमर घटाउन र तिनीहरूको वृद्धि रोक्न अत्यन्त प्रभावकारी साबित भएको छ ।

विशेष कुरा के हो भने बारम्बार प्रयोग गर्दा पनि कुनै गम्भीर साइड इफेक्ट नदेखिएको र यसलाई केमोथेरापी र विकिरण जस्ता उपचारहरू भन्दा फरक बनाउने बताइएको छ ।

कोलोरेक्टल क्यान्सर (आन्द्राको क्यान्सर) को उपचार गर्न एन्टेरोमिक्सको पहिलो संस्करण विकसित गरिएको छ । यस बाहेक, वैज्ञानिकहरू ग्लियोब्लास्टोमा (मस्तिष्कको क्यान्सर) र मेलानोमा (छालाको क्यान्सर) को लागि खोपको अन्य संस्करणहरूमा काम गरिरहेका छन् । अब क्लिनिकल परीक्षणहरू सफलतापूर्वक सम्पन्न भइसकेको छ, खोप नियामक स्वीकृतिको पर्खाइमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । यदि स्वीकृत भएमा, एन्टेरोमिक्स विश्वको पहिलो व्यक्तिगत एमआरएनए क्यान्सर खोप बन्न सक्छ । यो खोपले रूसमा मात्र नभई विश्वभर हजारौंको जीवन बचाउन सक्छ र क्यान्सर उपचारमा नयाँ युग सुरु गर्न सक्ने बताइएको छ ।

Read More

कार्तिकदेखि स्वास्थ्य बीमामार्फत ८ कडा रोगको एकीकृत सुविधा लागू हुने

काठमाडौं । स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले अब आठ प्रकारका कडा रोगको उपचार सुविधा बीमामार्फत मात्र पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षासम्बन्धी कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आउँदो कार्तिक १ गतेदेखि यो व्यवस्था लागू हुने भएको हो।

यसअघि विपन्न नागरिकका लागि छुट्टाछुट्टै सञ्चालन हुँदै आएका उपचार कार्यक्रमलाई एकीकृत गर्दै मन्त्रालयले हालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ स्वीकृत गरेको छ। संशोधनपछि विपन्न नागरिकले पाउँदै आएको उपचार खर्च अब स्वास्थ्य बीमा बोर्डमार्फत भुक्तानी हुने व्यवस्था गरिएको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सेवाग्राहीहरूले निरन्तर उपचार सुविधा पाउन यसअघि नै स्वास्थ्य बीमामा आबद्ध हुनुपर्नेछ। उनले भने, “अब विपन्न नागरिकले आठ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमा अनिवार्य छ, र यो सुविधा कार्तिक १ गतेबाट बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुनेछ। हाल उपचाररत बिरामीलाई निरन्तरता दिन हामीले असोज मसान्तभित्रै बीमामा दर्ता हुन अनुरोध गरेका छौँ।”

मन्त्रालयले स्वास्थ्य बीमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई पत्र पठाउँदै हाल उपचार लिइरहेका सेवाग्राहीहरूलाई असोज मसान्तभित्र बीमामा दर्ता गरिसक्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

Read More

डा. गोविन्द केसीले शुरु गरे तीनदिने सत्याग्रह

धनगढी । डा. गोविन्द केसीले तीनदिने सत्याग्रह सुरु गरेका छन् । आइतबार धनगढीस्थित गेटा मेडिकल कलेजमा निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै तीन दिने सत्याग्रह सुरु गरेका हुन् ।

उनले पत्रकार सम्मेलन गर्दै निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिने आरोप लगाए ।

उनले भने- ‘निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ । शिक्षाको गुणस्तर खस्कनु भनेको स्वास्थ्य सेवामा ह्रास आउनु हो । सरकार र चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयले विद्यार्थी र जनतालाई लाभ नदिई उल्टै शिक्षा–स्वास्थ्य प्रणाली नै धराप पर्दै गएको छ ।’

केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने माग राखेका छन् । साथै डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

Read More