२०८३ भाद्र २९

चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग २०० विमान खरिद गर्ने

काठमाडौं । चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग २०० विमान खरिद गर्ने सम्झौता पुष्टि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच गत साता बेइजिङमा भएको भेटपछि चीनले अमेरिकाबाट विमान खरिद गर्ने जानकारी सार्वजनिक भएको थियो ।

चीनको वाणिज्य मन्त्रालयले बुधबार जारी गरेको वक्तव्यमा उक्त सम्झौताअन्तर्गत अमेरिकाले विमानका इन्जिनका पुर्जा तथा अन्य आवश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्ने जनाएको छ ।

दुवै देशले गत वर्ष अक्टोबरमा रोकिएको कर युद्धलाई थप नियन्त्रणमा राख्ने दिशामा काम गर्न सहमति जनाएका छन्। साथै कम्तीमा ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा लगाइएको कर घटाउने प्रयास गर्ने समझदारीसमेत भएको छ ।

यो घोषणा सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता भइरहेका बेला आएको हो। ट्रम्पको चीन भ्रमण सकिएको केही दिनमै उक्त भेटवार्ता भएको हो ।

ट्रम्पले गत शुक्रबार चीनबाट फर्किने क्रममा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै बोइङका २०० भन्दा बढी विमान खरिदसम्बन्धी सम्झौता भएको बताएका थिए। साथै उनले ७५० विमानसम्म खरिद गर्ने प्रतिबद्धता प्राप्त भएको दाबी गर्दै यसलाई अहिलेसम्मकै ठूलो अर्डर हुनसक्ने बताएका थिए।

Read More

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोलमार्फत निक्षेप संकलन गरिने जानकारी दिदै बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने बताएको छ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन ब्याजदरमा आधारित हुनेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने व्यवस्था गरिएको र ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन् । ९१ दिने यस निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी भदौ ३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

Read More

उपन्यास ‘ताइवान ट्राभलोग’ ले प्रतिष्ठित अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्यो

काठमाडौं । ताइवानी भोजन संस्कृति र निषेधित प्रेमकथामा आधारित उपन्यास ‘ताइवान ट्राभलोग’ ले प्रतिष्ठित अन्तर्राष्ट्रिय बुकर पुरस्कार जितेको छ।

मन्दारिन चिनियाँ भाषाबाट अनुवाद गरिएको कृतिले पहिलोपटक यो सम्मान प्राप्त गरेको हो । यो उपन्यास ताइवानी लेखिका याङ शुआङ जी र ताइवानी–अमेरिकी अनुवादक लिन किङको संयुक्त कृति हो ।

उपन्यासको कथा सन् १९३० दशकको ताइवानमा आधारित छ, जतिबेला ताइवान जापानी शासनअन्तर्गत थियो। कथामा दुई महिलाले ताइवानका विभिन्न परिकारको यात्रामार्फत संस्कृति र सम्बन्धको अनुभव गर्ने विषय समेटिएको छ ।

पुस्तकलाई पुरानो यात्रा संस्मरणको अनुवादजस्तो शैलीमा प्रस्तुत गरिएको छ, जसमा काल्पनिक टिप्पणीसमेत समावेश छन्। सन् २०२० मा पुस्तक प्रकाशित हुँदा धेरै पाठकले यसलाई वास्तविक ऐतिहासिक दस्तावेज नै ठानेका थिए ।

निर्णायक मण्डलकी अध्यक्ष नताशा ब्राउनले यसलाई ‘अत्यन्त आकर्षक, बौद्धिक र परिष्कृत उपन्यास’ भनेर वर्णन गरेकी छन् ।

कथाकी मुख्य पात्र काल्पनिक जापानी लेखिका आओयामा चिजुको हुन्, जो सरकारी सहयोगमा ताइवान भ्रमणमा जान्छिन्। त्यहाँ उनको साथमा ताइवानी अनुवादक ओ चिजुरु रहन्छिन् र उनीहरूबीच प्रेम सम्बन्ध विकास हुन्छ।

उपन्यासले यी दुई पात्रमार्फत प्रेम, संस्कृति, औपनिवेशिक इतिहास र सत्तासम्बन्धी विषयलाई गहिराइमा प्रस्तुत गरेको छ।

Read More

सरकारले सुकुम्बासीमाथि ठूलो अमानवीय हमला गर्यो- गुरु बराल

काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्वासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले पर्याप्त तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्वासीलाई बसोबास गरिरहेको स्थानबाट हटाइएको र अहिले बस्नका लागि रकम दिने निर्णय गरेको भन्दै आपत्ति जनाएका थिए ।

सांसद बरालले सरकारले जेठ, असार र साउन गरी तीन महिनासम्म प्रतिपरिवार १५-१५ हजार उपलब्ध गराउने निर्णय व्यावहारिक नभएको बताउदै पाँच जनाको परिवारलाई हिसाब गर्दा प्रतिव्यक्ति दैनिक करिब एक सय रुपैयाँ मात्रै पर्ने र त्यति रकमले काठमाडौं आसपासमा जीवनयापन कसरी सम्भव हुन्छ भन्दै प्रश्न गरेका थिए ।

बरालले सुकुम्वासीमाथि ठूलो अमानवीय हमला गरिएको भन्दै अस्थायी बसोबासका लागि सरकारले दिने भनेको २५ हजारले समस्या समाधान नहुने बताए ।

Read More

सरकार कर्तव्यबाट भाग्यो, प्लेकार्ड हरेक दिन देखाउछौं- हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार कर्तव्यबाट भागेको आरोप लगाएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकको शुरुमा प्लेकार्ड देखाएर विरोध गरेका साम्पाङले आफूहरुले जनताको प्रश्न राख्न खोज्दा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरु सदनमा सहभागी नभएर उत्तर दिने कर्तव्यबाट सरकार भागेको आरोप लगाएका हुन् ।

उनले भने- ‘हाम्रो व्यक्तिगत प्रश्न नभएर जनताको प्रश्न सरकारका सम्बन्धित मन्त्रालयलाई सोध्न चाहेका छौं । सिमानाका कुरादेखि लिएर महंगी नियन्त्रणका कुरा, सहकारी पीडितलाई फिर्ता गर्दै गरेको रकमको श्रोत के हो ? कहाँबाट फिर्ता गर्दैछौं भन्ने देखि हामीले थुप्रै प्रश्न राख्न खोजेको छौं । तर सम्बन्धित मन्त्रीहरु सदनमा आउँदै नआउने । नीति तथा कार्यक्रम प्रस्तुतमा र छलफलमा पनि नआउने, उत्तर दिन पनि अर्को मान्छे तरिकाले नियमावली १५ को उपनियम २ लागू भएको देखिँदैन । हाम्रो जोडदार माग छ । यो सदन र जनताप्रति सरकार जवाफदेही हुँनैपर्छ । जनताको प्रश्न सोध्ने सदनमा सरकारको प्रतिनिधि नआउनु त्यसले के जनाउँछ ? प्रश्नको उत्तर दिने उहाँहरुको कर्तव्य हो । त्यो कर्तव्यबाट सरकार भागेको छ ।’

साम्पाङसहित श्रम संस्कृतिका सांसदहरुले लगातार संसदमा प्लेकार्ड देखाउदै सरकार संसदप्रति जवाफदेही गराउन माग गरेका छन् । सभामुख डिपी अर्यालले संसदमा प्लेकार्ड देखाउनु संसदीय मर्यादा विपरित भएको भन्दै त्यसो नगर्न चेतावनी दिएका थिए । तर साम्पाङले भने आफ्ना माग पुरा नभएसम्म हरेक दिन संसदमा प्लेकार्ड देखाउने भन्दै सभामुखलाई प्रतिनिधिसभाको नियमावली १५ को उपनियम २ लागू गर्न ध्यानाकर्षण गराएका थिए ।

Read More

पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा बंगलादेशको क्लीन स्वीप

काठमाडौं । बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ । बंगलादेशले बुधबार सम्पन्न दोस्रो टेस्ट खेलमा पाकिस्तानलाई ७८ रनले पराजित गरेको हो । 

बंगलादेशले दिएको ४३७ रनको लक्ष्य पछाएको पाकिस्तान ३५८ रन बनाएर अल आउट भएपछि बंगलादेशले खेल ७८ रनले खेल जितेको हो ।

यस खेलमा बंगलादेशले पहिलो इनिंगमा २७८ रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिंगमा २३२ रन बनाएको थियो ।  त्यस्तै बंगलादेशले दोस्रो इनिंगमा ३९० रन बनाएर पाकिस्तानलाई ४३७ रनको लक्ष्य दिएको थियो ।

यस खेलमा पहिलो इनिंगमा १२६ रनको शतकीय पारी र दोस्रो इनिंगमा ६९ रन बनाएका लिटन दास प्लेयर अफ द म्याच बनेका छन् भने सिरीजमा सर्बाधिक २५३ रन बनाएका बंगलादेशका मुशफिकुर रहिम प्लेयर अफ द सिरिज बनेका छन् ।  

यस अघि बंगलादेशले पाकिस्तानविरुद्ध २०२४ मा खेलेको दुवै टेस्ट जितेको थियो भने त्यसपछि खेलेको दुवै टेस्ट पनि जितेको छ ।  

Read More

बिदामा बसिन् न्यायाधीश सपना प्रधान मल्ल

काठमाडौँ ।  वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छन् । मंगलबार प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त भएर कार्यभार सम्हालेसँगै बुधबारबाट मल्ल २० को दिनको बिदामा बसेकी हुन् ।

कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी मल्ल संबैधानिक परिषदले चौथो नम्बरमा रहेका शर्मालाई सिफारिस गरेपछि असन्तुष्ट रहदै आएकी थिइन् । उनले सार्बजनिक रुपमा पनि सो असन्तुष्टि व्यक्त गरेकी थिइन् ।  

Read More

मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टिम २ विकेटले विजयी

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियाविरुद्धको पहिलो टी-२० जितेको छ ।

बुधबार सम्पन्न खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ६८ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको मलेसियाले १६.५ ओभरमा अल आउट हुदै ६७ रन बनाएको थियो ।

एशियन गेम्स क्वालिफायर्स र एसीसी वुमन्स प्रिमियर कप खेल्ने मलेसिया पुगेको नेपाली टिमले मलेसियासँग दुई टी-२० खेलिरहेको छ  । अब दोस्रो खेल शुक्रबार हुने क्यानले जानकारी दिएको छ ।

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ३१ सयले घटेर तोलाको २ लाख ९२ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९२ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२५  रुपैयाँले घटेर ४९६० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५०८५  मा कारोबार भएको थियो ।

Read More

श्रम संस्कृतिले संसदमा आज पनि देखायो प्लेकार्ड, सभामुखले दिए चेतावनी

काठमाडौँ ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि प्लेकार्ड देखाएर प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेहि बनाउन माग गरेका छन् । 

मंगलबारको प्रतिनिधि सभाको बैठक शुरु हुनै लाग्दा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति जवाफ देखि बनाउनुपर्छ र प्रश्न देखि भाग्न पाइदैन भन्ने लेखिएको प्लेकार्ड देखाएर सभामुखको ध्यानाकर्षण गराएका थिए । 

उनले यसअघि पनि यस्तै पर्चा देखाएर विरोध गरेपछि सभामुख डिपी अर्यालले संसदमा प्लेकार्ड देखाएर विरोध गर्न नपाइने भन्दै सचेत गराएका थिए ।  सभामुखले नियमित रुपमा संसदमा मर्यादा विपरित प्लेकार्ड देखाएकोप्रति चेतावनी दिएका छन् ।

Read More