काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ। प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषय बैठकको मुख्य एजेन्डा रहेको छ।
बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको कार्यालय, सिंहदरबारमा आयोजना गरिएको हो। छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष तथा प्रतिनिधि नेताहरू सहभागी भएका छन्।
बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सचिव तथा संसदीय दलकी उपनेता पद्मा अर्याल सहभागी छन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, रास्वपाका महामन्त्री विपिन आचार्य, नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाही तथा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत नेताहरू पनि बैठकमा उपस्थित छन्।




