काठमाडौँ । गाजा सिटीमा बुधवार एक आवासीय भवन भत्किँदा कम्तीमा २० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ।
नागरिक सुरक्षा सेवाका प्रवक्ता महमुद बसालका अनुसार मृतकमध्ये ८ बालबालिका र ६ महिला छन्। घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् भने करिब १०० जना अझै सम्पर्कविहीन रहेको बताइएको छ।
बसालका अनुसार भत्किएको छ तले भवन यसअघि भएको इजरायली आक्रमणका कारण कमजोर बनेको थियो। भवनमा झन्डै १०० जना मानिस बस्दै आएका थिए। भवन वरपरको क्षेत्रमा ठूलो संख्यामा पालसमेत राखिएका थिए।
गाजा पट्टीमा अझै करिब २ हजार जीर्ण आवासीय भवनमा मानिसहरू बसिरहेको नागरिक सुरक्षा निकायको दाबी छ। ती भवनहरू पनि भत्किने जोखिममा रहेकाले थप मानवीय क्षति हुन सक्ने चेतावनी दिइएको छ।
घटनापछि उद्धार टोलीले भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारलाई निरन्तरता दिएको छ। तर आवश्यक भारी उपकरण गाजामा प्रवेश गर्न नपाउँदा उद्धार कार्य प्रभावित भएको प्रवक्ता बसालले बताएका छन्।
यस घटनामा हमासले इजरायललाई जिम्मेवार ठहराएको छ। हमासले जारी गरेको विज्ञप्तिमा भग्नावशेष हटाउन आवश्यक मेसिन तथा उद्धार सामग्रीको अभावले खोज तथा उद्धार कार्य थप कठिन बनेको उल्लेख गरिएको छ।
हमासले गाजामा भारी उपकरण र नागरिक सुरक्षा सामग्री तत्काल भित्र्याउन अनुमति दिन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ। साथै, उपकरण प्रवेशमा रहेका अवरोध हटाउन मध्यस्थकर्ता पक्ष, अमेरिकी प्रशासन र सम्बन्धित अन्तर्राष्ट्रिय निकायले पहल गर्नुपर्ने माग गरेको छ।
भवन भत्किनुको कारण र घटनाको जिम्मेवारीबारे विभिन्न पक्षबाट फरक दाबी सार्वजनिक भएका छन्। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक, घाइते र बेपत्ताको संख्या आगामी विवरणमा परिवर्तन हुन सक्ने जनाइएको छ।




