२०८३ श्रावण २६

इरानको तेलको केन्द्र खार्ग द्वीपमा हवाई आक्रमण

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आदेशमा अमेरिकी केन्द्रीय कमानले इरानको खार्ग द्वीपमा शक्तिशाली हवाई आक्रमण गरी त्यहाँ रहेका सबै सैन्य आधार नष्ट गरेको दाबी गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै यसलाई मध्यपूर्वको इतिहासमै शक्तिशाली आक्रमणमध्ये एक भएको बताएका हुन् । उनले मानवीय तथा नैतिक कारणले द्वीपमा रहेका तेल संरचनालाई भने निशाना नबनाइएको उल्लेख गरेका छन् ।

अमेरिका, इसरायल र इरानबीच युद्ध सुरु भएपछि मध्यपूर्वका विभिन्न स्थानमा तेल प्रशोधन केन्द्र र तेल भण्डारण ट्याङ्कहरू आक्रमणको लक्ष्य बन्दै आएका छन् । इसरायली सेनाले तेहरानका रेय, शहरान र अकदसियेह क्षेत्रमा रहेका तेल डिपो तथा करज सहरको फरदिस क्षेत्रमा आक्रमण गरेको बताइएको छ । इजरायलका अनुसार ती स्थानमा इरानी सरकारले सैन्य प्रयोजनका लागि इन्धन भण्डारण गर्दै आएको थियो । इरानले पनि जवाफी कारबाहीस्वरूप फारसको खाडी क्षेत्रका केही देशमा रहेका तेल प्रशोधन केन्द्र र भण्डारणस्थलमा आक्रमण गरेको बताइएको छ ।

खार्ग द्वीपमा भएको आक्रमणपछि अमेरिकाले उक्त द्वीप कब्जा गर्न सक्ने अड्कलबाजी समेत बढेको छ । खार्ग द्वीप इरानको सबैभन्दा ठूलो तेल भण्डारण केन्द्र मानिन्छ र इरानको करिब ९० प्रतिशत कच्चा तेल यही सानो द्वीपबाट निर्यात हुने गर्छ ।

यसअघि पनि इजरायलका पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता यायर ल्यापिडले खार्ग द्वीपमा रहेका इरानका ऊर्जा संरचना ध्वस्त पार्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनले यस्तो कदमले इरानको अर्थतन्त्रमा ठूलो असर पर्ने दाबी गरेका थिए । अमेरिकी रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले भने इसरायललाई लक्ष्य चयन गर्दा सावधानी अपनाउन आग्रह गरेका छन् । उनका अनुसार इरानको तेल अर्थतन्त्र यस क्षेत्रको शक्ति सन्तुलनसँग प्रत्यक्ष जोडिएको छ ।

करिब २० वर्ग किलोमिटर क्षेत्रफल रहेको खार्ग द्वीप इरानको दक्षिण-पश्चिम भागमा पर्छ र प्रशासनिक रूपमा बुशेहर प्रान्तअन्तर्गत पर्दछ। सानो भए पनि तेल निर्यातका कारण यो द्वीप इरानका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । इरानी तेल टर्मिनल्स कम्पनीका अनुसार खार्ग द्वीपमा ४० भन्दा बढी कच्चा तेल भण्डारण ट्याङ्क छन्, जसको कुल क्षमता दुई करोड बैरलभन्दा बढी छ। दक्षिणी तेल क्षेत्रबाट निकालिएको कच्चा तेल समुद्रमुनि बिछ्याइएका पाइपमार्फत यहाँ ल्याइन्छ र यहीँबाट विश्व बजारमा निर्यात गरिन्छ ।

खार्ग द्वीपबाट करिब ७५ किलोमिटर पश्चिममा अबुजर नामको ठूलो समुद्री तेल क्षेत्र रहेको छ, जहाँबाट फारसको खाडी क्षेत्रमा उत्पादन हुने इरानी तेलको ठूलो हिस्सा निकालिन्छ ।

इरान-इराक युद्धको समयमा पनि इरानको ९० प्रतिशतभन्दा बढी तेल निर्यात यही द्वीपमार्फत हुने गरेको थियो । त्यसबेला इराकले खार्ग द्वीपलाई लक्ष्य बनाएर झन्डै २८ सय पटक आक्रमण गरेको उल्लेख गरिन्छ ।

Read More

निर्वाचन परिणामपछि कांग्रेसको पहिलो बैठक आइतबार बस्दै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि कांग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिइएको छ। केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य चयन गर्ने विषयमा छलफल हुनेछ।

निर्वाचनमा पार्टीले प्राप्त गरेको समानुपातिक सिटको आधारमा बन्दसूचीमा रहेका उम्मेदवारहरूबाट प्रतिनिधिसभा सदस्य छनोट गर्ने प्रक्रिया अघि बढाउन बैठक बोलाइएको बताइएको छ।

Read More

चुनाव हारेपछि आरोप प्रत्यारोपमा उत्रिए एमाले नेता

काठमाडौँ । निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि नेकपा एमालेका नेताहरुमा आरोप प्रत्यारोप शुरु भएको छ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेतृत्वले राजीनामा दिनुपर्ने बताएका छन् भने उनलाई कैयौं नेताहरुले साथ पनि दिइरहेका छन् । तर अध्यक्ष केपी शर्मा ओली पक्ष भने डिफेन्सिभ देखिएको छ ।

यसैबीच नेताहरुबीच आरोप प्रत्यारोप शुरु भएको देखिएको छ । एमाले महासचिव शंकर पोखरेलले योगेश भट्टराईले चुनावमा महासचिवले जिम्मेवारी नदिएको भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले भनेका छन्- अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ। अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको थिएँ। त्यसबेला उहाँले ताप्लेजुङ जानुपर्ने बताउनुभएको थियो। मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ। तर अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट भने म आश्चर्यचकित भएको छु ।

त्यस्तै एमाले नेता गोकुल बास्कोटाले अर्का नेता शेरबहादुर तामाङलाई अवसरवादी भनेका छन् । उनले तामाङले आफु र आफ्नी श्रीमतीको पद प्राप्तिको लागि गुट बदलेको आरोप लगाएका छन् ।

उनले भनेका छन्- भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाई लगेछन । म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको  पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन, पटक पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होईन । ०३८ यताका ईतिहस हेरौ न ।

नेकपा एमालेले भर्खरै सम्पन्न चुनावमा प्रत्यक्षतर्फ ९ सिट जितेको छ भने समानुपातिकमा तेस्रो हुदै १६ सिट जितेको छ ।  अघिल्लो चुनावमा समानुपातिकतर्फ एमाले पहिलो दल थियो ।

Read More

वासिङ्टनमा राखियो ट्रम्प र एपस्टाइनको ‘टाइटानिक’ पोजको मूर्ति

काठमाडौँ । अमेरिकाको वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र यौन अपराधमा दोषी ठहरिएका जेफ्री एपस्टिनको १२ फिट अग्लो मूर्ति राखिएको छ । उक्त मूर्तिमा दुवै जना चलचित्र ‘टाइटानिक’ को प्रसिद्ध ‘किङ अफ द वर्ल्ड’ शैलीमा उभिएको देखिन्छ ।

यो मूर्ति ‘द सिक्रेट ह्यान्डसेक’ नामक गुमनाम कलाकार समूहले नेसनल मल नजिक स्थापना गरेको बताइएको छ । केहीले यसलाई राजनीतिक कला र अभिव्यक्तिको स्वतन्त्रताको उदाहरणका रूपमा हेरेका छन् भने धेरैले भने यसलाई आपत्तिजनक भन्दै आलोचना गरेका छन् । यस विषयमा अहिलेसम्म ह्वाइट हाउसले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। यसअघि पनि ट्रम्प र एपस्टिनलाई देखाउने यस्तै प्रकारको मूर्ति स्थापना गरिएको थियो । मूर्तिको वरिपरि राखिएका ब्यानरहरूमा दुवैको तस्बिरसहित ‘मेक अमेरिका सेफ अगेन’ जस्ता नाराहरू लेखिएका छन् । मूर्तिमा एपस्टिन अगाडि उभिएका छन् भने ट्रम्प उनको पछाडि हात फैलाएर उभिएको देखिन्छ ।

यो शैली सन् १९९७ मा बनेको चर्चित चलचित्र ‘टाइटानिक’को एक प्रसिद्ध दृश्यबाट प्रेरित भएको बताइएको छ । उक्त दृश्यमा अभिनेता लियोनार्डो डिक्याप्रियोले जहाजको अगाडिको भागमा उभिएर हात फैलाउँदै ‘आइ एम द किङ अफ द वर्ल्ड’ भनेको दृश्य निकै चर्चित मानिन्छ ।

यसअघि पनि यही कलाकार समूहले सन् २०२५ मा ‘बेस्ट फ्रेन्ड फरेभर’ नामको मूर्ति राखेको थियो, जसमा ट्रम्प र एपस्टिन हात समातेर उभिएको देखाइएको थियो ।

जेफ्री एपस्टिन अमेरिकाका एक वित्त व्यवसायी थिए, जसलाई नाबालिग किशोरीहरूको यौन शोषण र मानव बेचबिखनसँग सम्बन्धित गम्भीर आरोप लागेको थियो । उनलाई सन् २०१९ मा पक्राउ गरिएको थियो तर सोही वर्ष न्युयोर्कस्थित जेलमा उनको मृत्यु भएको थियो ।

सन् १९९० को दशक र त्यसपछि केही वर्षसम्म ट्रम्प र एपस्टिनलाई विभिन्न सामाजिक कार्यक्रम तथा पार्टीहरूमा सँगै देखिएको थियो। पछि भने ट्रम्पले आफूले एपस्टिनसँगको सम्बन्ध धेरै अघि नै अन्त्य गरेको र उनलाई आफ्नो क्लबबाट प्रतिबन्ध लगाएको बताएका थिए ।

Read More

महावीर पुनले चुनावका लागि उठेको रकमबाट बचाए २७ लाख

काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका महावीर पुनले चुनावका लागि प्राप्त रकममध्ये खर्च कटाएर पनि ठूलो रकम बाँकी रहेको जानकारी दिएका छन्।

पुनले सार्वजनिक गरेको विवरणअनुसार दाताहरूबाट प्राप्त कुल रकम ५६ लाख ३७ हजार ८९३ रुपैयाँ ४७ पैसा रहेको छ । यसमध्ये चुनावी प्रचारप्रसार र अन्य काममा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको र अहिले पनि बैंकमा २७ लाख ६९ हजार २५ रुपैयाँ ४७ पैसा बाँकी रहेको उनले बताएका छन् ।

उनका अनुसार बाँकी रहेको रकम बेनीमा पाँच वर्षका लागि सम्पर्क कार्यालय सञ्चालन गर्न प्रयोग गरिनेछ । सो कार्यालयमार्फत गाउँबाट सदरमुकाम आउने नागरिकलाई सरकारी कामकाज तथा विभिन्न कार्यालयमा आवश्यक सामान्य सहयोग निःशुल्क रूपमा उपलब्ध गराइने उनले बताए ।

पुनले कार्यालय सञ्चालनका लागि दुई जना कर्मचारी राख्ने, कम्प्युटर, फोटोकपी मेसिन र प्रिन्टरजस्ता उपकरण प्रयोग गर्ने योजना रहेको जानकारी दिएका छन् । चुनावी प्रचारका क्रममा गाउँगाउँमा पुग्दा यस्तो योजना आफूले मतदातासामु प्रस्तुत गरेको पनि उनले बताएका छन् । उनले ठूलो सहयोग गर्न नसके पनि नागरिकलाई सानो सहयोग गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

पुनका अनुसार चुनावी प्रचारका क्रममा ४५ दिनसम्म १० देखि १६ जनासम्मको टोली बिहान ७ बजेदेखि राति १० बजेसम्म म्याग्दीका दुर्गम गाउँहरूमा पुगेको थियो । उनले जिल्लाका अधिकांश गाउँमा दुई पटकसम्म पुगेर प्रचारप्रसार गरिएको बताए ।

म्याग्दीको भौगोलिक अवस्था झापा वा काठमाडौँजस्तो नभएकाले छोटो समयमा सबै क्षेत्रमा पुग्न कठिन भएको उल्लेख गर्दै उनले सबै गाउँमा प्रचार गर्न ४५ दिन लागेको बताएका छन्।

Read More

रास्वपाको सचिवालय बैठक सर्यो, आइतबार बस्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आइतबारका लागि सरेको छ ।

प्रवक्ता मनिष झाका अनुसार रास्वपाको आज बस्ने भनिएको सचिवालय बैठक आइतबार पार्टी कार्यालय बनस्थलीमा बिहान १० बजे बस्ने भएको छ । यसअघि बैठक आज बस्ने भनिएको थियो ।

बैठकले समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गर्ने बताइएको छ ।

Read More

बगदादस्थित अमेरिकी दूतावासमा मिसाइल आक्रमण

काठमाडौँ । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमाथि मिसाइल आक्रमण भएको छ । इराकी अधिकारीहरूका अनुसार दूतावास परिसरभित्र रहेको हेलिप्याड क्षेत्रमा एक मिसाइल खसेको हो । 

यसअघि साउदी अरेबियाको एक हवाई अड्डामा पार्क गरिएका अमेरिकी वायुसेनाका पाँच वटा विमान नष्ट भएको खबर पनि सार्वजनिक भएको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार ती विमान इन्धन भर्ने ट्यांकर प्रकारका थिए ।

समाचारमा ती विमान इरानको आक्रमणबाट क्षतिग्रस्त भएको उल्लेख गरिएको छ, तर आक्रमण कहिले भएको हो भन्ने स्पष्ट गरिएको छैन । यस विषयमा अमेरिकी केन्द्रीय कमान्डले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

यसैबीच, इराकमै अमेरिकी वायुसेनाको बोइङ केसी-१३५ इन्धन भर्ने विमान पनि दुर्घटनाग्रस्त भएको थियो । शुक्रबार भएको उक्त दुर्घटनामा विमानमा सवार सबै ६ जना चालकदल सदस्यको मृत्यु भएको जनाइएको छ ।

इरानसँगको युद्ध सुरु भएयता अहिलेसम्म ११ जना अमेरिकी सैनिकको ज्यान गएको बताइएको छ।

Read More

धादिङ बस दुर्घटना बारे छानबिन गर्न गठित कार्यदलले गृहमन्त्री अर्याललाई बुझायो प्रतिवेदन

काठमाडौँ । धादिङको बेनिघाट रोराङ–५ स्थित त्रिशूली नदीमा बस खसेर १९ जनाको ज्यान जाने र २५ जना घाइते हुने दुर्घटनाबारे छानबिन गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको छ।

गत फागुन ११ गते भएको उक्त दुर्घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलले स्थलगत अध्ययनपछि चालकको थकान, रात्रिकालीन सवारी सञ्चालन तथा ध्यान विचलनका कारण बस अनियन्त्रित भई दुर्घटना भएको निष्कर्ष निकालेको छ।

कार्यदलले सडक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन सार्वजनिक सवारी चालकको थकान व्यवस्थापन गर्नुपर्ने, रात्रिकालीन बस सञ्चालनमा अधिकतम काम गर्ने समय तोक्ने तथा अनिवार्य विश्रामको व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। साथै सवारी सञ्चालनमा डिजिटल निगरानी प्रविधि लागू गर्न पनि सिफारिस गरिएको छ।

प्रतिवेदन ग्रहण गर्दै गृहमन्त्री अर्यालले अध्ययनले औँल्याएका कारण र सुझावहरूलाई मन्त्रालयले कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Read More

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज दिउँसो १ बजे बस्ने गरी बलाइएको हो ।

बैठकले प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम तय गर्ने बताइएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यको नाम आइतबरसम्ममा बुझाउन दलहरुलाई पत्राचार गरिसकेको छ ।

प्रत्यक्षमा ९ सिट जितेको नेकपा एमालेले समानुपातिकमा १६ सिट जितेको छ ।  

Read More

विधानविपरीत कारवाही गरेको राप्रपाका उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यको दाबि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यले आफूहरूलाई पदमुक्त गरिएको निर्णय पार्टी विधानविपरीत भएको बताएका छन् ।

दुवैले संयुक्त रूपमा सार्वजनिक गरेको वक्तव्यमा आफूहरूलाई पदमुक्त गरिएको सूचना अनलाइनमार्फत मात्र थाहा पाएको उल्लेख गर्दै प्राकृतिक न्यायको सिद्धान्तअनुसार स्पष्टीकरण दिने अवसरसमेत नदिइएको गुनासो गरेका छन् । उनीहरूले केन्द्रीय कार्यसमिति र अनुशासन समितिको अधिकारक्षेत्र मिचेर अध्यक्षले एकल रूपमा यस्तो निर्णय गर्ने अधिकार पार्टी विधानले नदिएको दाबी गरेका छन् ।

उनीहरूले अध्यक्षसँग प्रश्न गर्दै पार्टी विधानको कुन धारा र व्यवस्थाअनुसार आफूहरूलाई पदमुक्त गरिएको हो भन्ने स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरेका छन् । साथै, यसबारे केन्द्रीय कार्यसमिति नै बेखबर रहेको उल्लेख गर्दै पार्टी अध्यक्षबाटै विधान, केन्द्रीय कार्यसमिति र अनुशासन समितिको अवमूल्यन भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

वक्तव्यमा प्रतिनिधिसभा निर्वाचनअघि गत मंसिरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीलाई देशकै पहिलो शक्ति बनाउने उद्घोष गरिएको स्मरण गराउँदै निर्वाचन परिणाम भने निराशाजनक आएको उल्लेख गरिएको छ । उनीहरूका अनुसार १६४ मध्ये १५९ निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारको जमानत जफत भएको थियो र केवल एक जना युवा नेता मात्र निर्वाचित भएका थिए ।

राजभण्डारी र आचार्यले उक्त परिणामको सम्पूर्ण जिम्मेवारी आफूहरू दुई जनामाथि मात्र थोपरेर नेतृत्वले वास्तविक प्रश्नबाट ध्यान मोड्न खोजेको आरोप लगाएका छन्। उनीहरूले आफूहरूलाई कारबाही गर्दैमा नेतृत्व नैतिक जिम्मेवारीबाट मुक्त नहुने पनि बताएका छन् ।

चार वर्षे कार्यकाल पूरा भइसकेको केन्द्रीय कार्यसमितिले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा विधानविपरीत स्वेच्छाचारी कारबाही गर्नु प्रजातान्त्रिक मर्यादा र राजनीतिक नैतिकताविपरीत भएको उनीहरूको भनाइ छ ।

उनीहरूले पार्टी सुदृढीकरण र वैचारिक विचलनविरुद्ध रचनात्मक आलोचना गर्ने पदाधिकारी तथा सदस्यहरूमाथि गुटगत स्वार्थका आधारमा श्रृंखलाबद्ध कारबाही गरिएको आरोपसमेत लगाएका छन् ।

उनीहरुले कोशी प्रदेशमा संसदीय दलका नेतालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय कसरी र किन गरिएको थियो भन्ने प्रश्नसमेत उठाइएको छ । उक्त निर्णयका कारण कोशीमा निर्वाचित सांसद गुमाउनुपरेको र बागमती प्रदेशका अर्का निर्वाचित सांसदलाई पनि जोगाउन नसकिएको उल्लेख गर्दै पार्टीभित्र त्यसको खोजी हुनुपर्ने उनीहरूको माग छ ।

उनीहरूले निर्वाचनपछिको समय संस्थागत समीक्षा गर्ने समय भएको उल्लेख गर्दै आवेगमा आएर गरिएको निर्णयले पार्टीभित्र थप विवाद सिर्जना गर्न सक्ने चेतावनी दिएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यलाई पार्टीको साधारण सदस्य मात्र रहने गरि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका थिए । 

Read More