२०८३ श्रावण २६

इरानका १० शिर्ष नेतृत्वको जानकारी दिनेलाई एक करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा

काठमाडौँ । अमेरिका सरकारले इरानका १० शिर्ष नेतृत्वको जानकारी दिने व्यक्तिलाई १ करोड डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको सूचनामा कुल १० जनाको नाम उल्लेख गरिएको छ । तीमध्ये ६ जनाको नाम र तस्बिर मात्र सार्वजनिक गरिएको जनाइएको छ ।

सार्वजनिक गरिएका व्यक्तिहरूमध्ये इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी पनि रहेका छन् । अली लारिजानीलाई केही समयअघि इरानमा आयोजित सरकार समर्थक एक र्‍यालीमा देखिएको बताइएको छ ।

अमेरिकाका अनुसार ती व्यक्तिहरू इस्लामिक रिभोल्युसनरी गार्ड क्रप्सका विभिन्न सैन्य एकाइहरूको नेतृत्व तथा सञ्चालनमा संलग्न रहेका छन् ।

उनीहरूले चार जना नाम नखुलेका र तस्बिर नखुलेका सेनाका अधिकारीहरू, रक्षा परिषद् सचिव, सर्वोच्च नेताका सल्लाहकार, सर्वोच्च नेताको कार्यालयमा सैन्य कार्यालय प्रमुख, र क्रप्स कमाण्डरको बारेमा पनि जानकारी खोजिरहेका छन् ।

१९७९ मा स्थापना भएदेखि,  क्रप्सले इरानको विदेश नीति कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको छ । समूहले अब इरानको अर्थतन्त्रको विशाल खण्डहरूमा नियन्त्रण राख्छ र इरानी घरेलु राजनीतिमा प्रभावशाली छ ।

Read More

नेपाल आयल निगम: ग्यास नियमित आइरहेको छ, बजारमा किन पाइदैन ?

काठमाडौं । काठमाडौँमा चुनाव अघि देखि नै अभाव देखिएको खान पकाउने ग्यासको अभाव त्यसपछि अमेरिका र इजरायलले इरानमा आक्रमण गर्न शुरु गरेपछि झन् बढेको छ । ग्यास डिपोमा लामो लाइन देखिन लागेको छ भने सरकार अनविज्ञ बनेको देखिएको छ ।

चुनावपछि नयाँ सरकार आउने चरणमा रहे पनि अहिलेको सरकारले अब आफ्नो जिम्मेवारी पुरा भएको जस्तो व्यबहार देखाएको छ । अहिले सामान्य ग्यास बिक्री केन्द्रमा ग्यासको अभाव छ तर धेरै पैसा तिने अफर गरेमा कहिँ न कहिँबाट उनीहरुले सजिलै व्यवस्थापन गरिरहेको अवस्था देखिएको छ । अरु बेला अनुगमन गरौँ भन्ने बाणिज्य विभाग अहिले ग्यासको चरम कालोबजारी भएको समयमा चुपचाप देखिएको छ भने सरकारी संयन्त्र मौन देखिएको छ ।

 अर्को तर्फ नेपाल आयल निगमले भने अन्य सामान्य समयमा जस्तै ग्यास आइरहेको र कसरी अभाव भएको छ भन्ने जवाफ दिन सकेको छैन । निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार हालसम्म नेपालले मासिक आवश्यकताअनुसार ग्यास प्राप्त गरिरहेको छ ।

ठाकुरका अनुसार नेपालमा मासिक करिब ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको छ र सो परिमाण बराबरको ग्यास नियमित रूपमा आइरहेको छ । उनले उपभोक्ताले भण्डारण गर्न थालेकोले अभाव देखिएको बताए । फागुनको २६ गतेसम्म साढे ४५ हजार मेट्रिक टन ग्यास आइपुगेको आँकडा उनले दिए ।

निगमले एलपी ग्यासको कुनै स्टक राख्ने गरेको छैन । ग्यास उद्योगबाट अर्डर लिने र सोहि अनुसार भारतबाट आएको ग्यास वितरण गर्ने गर्दछ । निगमले ‘पीडीओ’ जारी गर्ने गरेको र सम्बन्धित उद्योगले भारतका ढुवानीकर्तामार्फत ग्यास ल्याएर वितरण गर्ने व्यवस्था रहेको प्रवक्ता ठाकुर बताउछन् । 

अर्कोतर्फ चुनाव भर्खर सकिएको छ तर उभोक्ता ग्यासको लाइनमा र इन्डक्सन खोज्न दौडधुपमा रहेका छन् । तर कुनै राजनीतिक दलले एउटा विज्ञप्ति सम्म निकालेर यसको सम्बोधनको ध्यानाकर्षण गराएको देखिदैन । अत्याधिक बहुमत पाएर सरकार बनाउन लागेको  दल रास्वपा पनि मौन देखिनु अचम्म लाग्दो देखिएको छ ।

अर्कोतर्फ आयल निगमले अहिलेको समस्या समाधान गर्न भन्दै शुक्रबारदेखि अर्को निर्णय नभएसम्म प्रत्येक सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरेर प्रति सिलिन्डर ९५५ रुपैयाँमा बिक्री वितरण शुरु गरेको छ ।

Read More

थलापति विजयको फिल्मको १२० करोडको ओटीटी सम्झौता रद्द

काठमाडौँ । दक्षिण भारतीय अभिनेता थलापति विजयको फिल्म ‘जन नायकन’ फेरि समस्यामा परेको छ। सेन्सर बोर्डसँगको विवाद र प्रदर्शनमा भइरहेको ढिलाइका कारण अमेजन प्राइम भिडियोले फिल्मसँग गरेको ओटीटी सम्झौता रद्द गरेको बताइएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार अमेजन प्राइम भिडियोले फिल्मको डिजिटल अधिकारका लागि करिब १२० करोड भारतीय रुपैयाँको सम्झौता गरेको थियो। दर्शकहरू पछिल्ला दुई महिनादेखि फिल्म प्रदर्शनको प्रतीक्षामा रहेका भए पनि हालसम्म यसको प्रदर्शन मिति तय हुन सकेको छैन ।

फिल्मलाई सेन्सर प्रमाणपत्र कहिले प्राप्त हुन्छ र कहिले हलमा प्रदर्शन हुन्छ भन्ने अझै स्पष्ट भएको छैन। यही अनिश्चितताका कारण ओटीटी पक्षले सम्झौता रद्द गरेको जनाइएको छ । सामान्यतया ओटीटी मञ्चहरूले फिल्मको हल प्रदर्शन मिति तय भएपछि मात्र यस्तो सम्झौता गर्ने गर्छन् ।

फिल्म सुरुमा जनवरी ९ मा प्रदर्शन गर्ने योजना थियो । तर केन्द्रीय चलचित्र प्रमाणन बोर्डले केही दृश्य संवेदनशील भएको भन्दै हटाउन निर्देशन दिएपछि निर्माता पक्ष र सेन्सर बोर्डबीच विवाद बढेको थियो । पछि यो विषय अदालतसम्म पुगेको थियो । विवाद समाधानका लागि निर्माता पक्षले अदालतबाट मुद्दा फिर्ता लिएर पुनरावलोकन समितिमा पुगेका थिए । मार्च ९ मा फिल्मको प्रदर्शन गरेर पुनरावलोकन गर्ने कार्यक्रम तय गरिएको थियो । तर अन्तिम समयमा समितिका एक सदस्य बिरामी परेपछि कार्यक्रम रद्द भयो र पुनरावलोकन प्रक्रिया थप ढिलो भएको छ ।

‘जन नायकन’लाई थलापति विजयको अन्तिम फिल्मका रूपमा पनि हेरिएको छ । उनी तमिलगा वेट्री कजगम नामक राजनीतिक दलका प्रमुख हुन् । उनको दलले आगामी मार्च-अप्रिलमा हुने तमिलनाडु विधानसभा निर्वाचनमा भाग लिने घोषणा गरेको छ ।

विजयले हालै ३३ वर्ष लामो अभिनय यात्रापछि चलचित्र क्षेत्र छोड्ने निर्णय गरेको बताएका थिए ।

Read More

६२ प्रतिशत व्यवसायिक नेतृत्वकर्ताले निर्णय गरि अघि लिदैछन् एआईसँग सुझाव

काठमाडौँ । बेलायतमा गरिएको एक अध्ययनले व्यवसायिक नेतृत्व तहका धेरै व्यक्तिले निर्णय लिन कृत्रिम बुद्धिमत्ता (एआई) मा बढ्दो रूपमा निर्भर हुन थालेको देखाएको छ ।

बजार अनुसन्धान संस्था ३ जेमले गरेको अध्ययनअनुसार ६२ प्रतिशत व्यवसायिक नेतृत्वकर्ताले अधिकांश निर्णयका लागि कृत्रिम बुद्धिमत्तामा आधारित संवाद प्रणाली प्रयोग गर्ने गरेका छन् ।

अध्ययनमा २०० जना व्यवसाय मालिक, संस्थापक, प्रमुख कार्यकारी तथा अन्य वरिष्ठ नेतृत्वकर्तालाई समेटिएको थियो । तीमध्ये १४० जनाले आफ्ना विचार कृत्रिम बुद्धिमत्ताले दिएको सिफारिससँग नमिलेमा आफ्नै निर्णयमाथि पुनः शंका गर्न थाल्ने बताएका छन् ।

त्यस्तै ४६ प्रतिशतले अब व्यवसायिक सहकर्मीभन्दा कृत्रिम बुद्धिमत्ताले दिएको सुझावमा बढी विश्वास गर्ने बताएका छन् । यसअघि सार्वजनिक अर्को अध्ययनमा ६४ प्रतिशत व्यवसायिक नेतृत्वकर्ताले कर्मचारी हटाउनेजस्ता संवेदनशील निर्णयमा पनि कृत्रिम बुद्धिमत्ताबाट सल्लाह लिने गरेको उल्लेख गरिएको थियो ।

यसैबीच कार्नेगी मेल्लोन युनिभर्सिटी र माइक्रोसफ्टले संयुक्त रुपमा गरेको अर्को अनुसन्धानले कृत्रिम बुद्धिमत्तामा अत्यधिक निर्भर हुँदा मानिसको गहिरो रूपमा सोच्ने क्षमता कमजोर हुन सक्ने देखाएको छ । विज्ञहरूका अनुसार जब कुनै काम यन्त्रले राम्रोसँग गर्न सक्छ भन्ने विश्वास बढ्छ, तब मानिसको मस्तिष्कले आफैँ प्रयास गर्ने बानी घटाउँदै लैजान्छ ।

डेनमार्कका मनोचिकित्सक सोरेन ओस्टरगार्डले कृत्रिम बुद्धिमत्तामा अत्यधिक निर्भरता बढेमा मानिसमा मानसिक सुस्ती बढ्न सक्ने चेतावनी दिएका छन् । उनका अनुसार मानिसले आफ्नै सोच प्रयोग नगर्दा तर्क गर्ने क्षमता क्रमशः कमजोर हुँदै जान्छ । उनले यस अवस्थालाई ‘कृत्रिम बुद्धिमत्ता मनोविकार’ जस्तो स्थिति हुन सक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएका छन् ।

अर्को अध्ययनले युवाहरूमा कृत्रिम बुद्धिमत्ता प्रयोग बढ्दै जाँदा आलोचनात्मक सोच कमजोर हुन सक्ने देखाएको छ । अनुसन्धानमा कृत्रिम बुद्धिमत्तामा निर्भर व्यक्तिको मस्तिष्क सक्रियता सामान्य रूपमा इन्टरनेटमार्फत जानकारी खोज्ने व्यक्तिको तुलनामा निकै कम पाइएको उल्लेख गरिएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार विकासको चरणमा रहेका बालबालिकाका लागि अत्यधिक कृत्रिम बुद्धिमत्ता प्रयोग झन् जोखिमपूर्ण हुन सक्छ । यसले उनीहरूको सिकाइ क्षमता र दीर्घकालीन मानसिक विकासमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिइएको छ ।

Read More

चीनले सेटेल्याइटबाट ट्रयाक गरेका अमेरिकी स्थानहरूमा इरानले कसरी गर्यो आक्रमण ?

काठमाडौँ । इरानमाथि २८ फेब्रुअरीमा पहिलो क्षेप्यास्त्र आक्रमण हुनुअघि नै चिनियाँ सामाजिक सञ्जालमा अमेरिकाले ठूलो सैन्य आक्रमणको तयारी गरिरहेको संकेत देखिन थालेको थियो । त्यसबेला इन्टरनेटमा अमेरिकी सैन्य तयारीसँग सम्बन्धित उपग्रह तस्बिरहरू तीव्र रूपमा फैलिएका थिए ।

ती तस्बिरहरूमा धावनमार्गमा उभिएका लडाकु विमान, मरुभूमिका विमानस्थलमा अवतरण गरिरहेका यातायात विमान र भूमध्यसागरमा विमानवाहक युद्धपोतको डेकमा तैनाथ लडाकु विमान देखिएका थिए । ती तस्बिरहरूमा असामान्य रूपमा धेरै विवरण दिइएको थियो र जानकारी अङ्ग्रेजी नभई चिनियाँ भाषामा लेखिएको थियो ।

सञ्चारमाध्यमका विवरणअनुसार तस्बिरहरूमा विभिन्न विमानका नाम, क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तथा सैनिक तैनाथीको स्थान स्पष्ट रूपमा चिनाइएको थियो । यी तस्बिरहरू एक चिनियाँ कृत्रिम बुद्धिमत्ता कम्पनीले अनलाइनमार्फत सार्वजनिक गरेको बताइएको छ । एउटा तस्बिरमा इजरायलको ओभ्दा हवाई अड्डामा अमेरिकी लडाकु विमान देखिएका थिए भने अर्को तस्बिरमा साउदी अरबको प्रिन्स सुल्तान हवाई अड्डामा बढ्दो सैन्य गतिविधि देखाइएको थियो ।

त्यसका साथै कतार, जोर्डन र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई पनि नक्सामा चिनाइएको थियो । यी सबै तस्बिर शाङ्घाईमा रहेको भू-स्थानिक सूचना विश्लेषण गर्ने कम्पनी मिजार भिजनले सार्वजनिक गरेको बताइएको छ । उक्त कम्पनीमा दुई सयभन्दा कम कर्मचारी कार्यरत रहेको जनाइएको छ ।

२८ फेब्रुअरीमा अमेरिका र इजरायलले संयुक्त रूपमा ‘अपरेसन एपिक फ्युरी’ अन्तर्गत इरानमाथि हवाई आक्रमण सुरु गरेका थिए। त्यसको जवाफमा तेहरानले क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो ।

यस संघर्षबीच इन्टरनेटमा लगातार उपग्रह तस्बिरहरू सार्वजनिक भइरहेका थिए, जसमा अमेरिकी विमान, क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तथा नौसैनिक गतिविधि देखाइएको थियो । ती सबै तस्बिर मिजार भिजनले साझा गरिरहेको बताइएको छ । जानकारीअनुसार पहिलो ठूलो तस्बिरहरूको समूह करिब २० फेब्रुअरीतिर सार्वजनिक भएको थियो ।

कम्पनीले सार्वजनिक गरेको उच्च स्पष्टताका तस्बिरहरूमा दक्षिणी इजरायलको ओभ्दा हवाई अड्डामा अमेरिकी विमान तैनाथी, साउदी अरब र कतारसहित मध्यपूर्वका विभिन्न देशमा लडाकु विमानको उपस्थिती, अरब सागरमा नौसैनिक गतिविधि तथा विमानवाहक युद्धपोतको आवतजावत देखिएको थियो । ती तस्बिरमा कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी विमानको प्रकार, सहयोगी विमान र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसमेत चिनाइएको थियो ।

१ मार्चसम्म आइपुग्दा थप नयाँ तस्बिरहरू सार्वजनिक भएका थिए। त्यसमार्फत जोर्डन, कुवेत, बहरेन र संयुक्त अरब इमिरेट्सका सैन्य अड्डाहरूको तस्बिर सार्वजनिक गरिएको थियो, जसमा विभिन्न विमान, हवाई प्रतिरक्षा प्रणाली र सैनिक तैनाथीको जानकारी दिइएको थियो ।

यी तस्बिरहरू सामाजिक सञ्जाल एक्स र चिनियाँ सञ्जाल वेइबोमा सटीक स्थान विवरणसहित साझा गरिएको थियो। तीमध्ये धेरै सामग्री चिनियाँ सरकारी सञ्चारमाध्यमसँग सम्बन्धित खाताहरू र चिनियाँ जनमुक्ति सेनासँग सम्बन्धित विश्लेषकहरूले पनि साझा गरेका थिए ।

उपग्रह तस्बिरहरूमा इजरायलको ओभ्दा हवाई अड्डामा सात वटा लडाकु विमान धावनमार्ग नजिक उभिएका र चार वटा धावनमार्गमा रहेको देखिएको थियो। करिब २४ घण्टापछि ‘अपरेसन एपिक फ्युरी’ सुरु भएको थियो ।

अन्य तस्बिरहरूमा साउदी अरबको प्रिन्स सुल्तान हवाई अड्डामा सात वटा हवाई चेतावनी तथा नियन्त्रण विमान र दुई वटा सञ्चार विमान तैनाथ रहेको उल्लेख गरिएको थियो । कतारको अल-उदीद हवाई अड्डाको तस्बिर पनि सार्वजनिक गरिएको थियो, जुन पछि इरानको क्षेप्यास्त्र र ड्रोन आक्रमणको निशाना बनेको थियो ।

कम्पनीले समुद्रमा अमेरिकी नौसेनाको गतिविधि पनि निगरानी गरेको तस्बिर सार्वजनिक गरेको थियो । त्यसमध्ये अमेरिकाको नयाँ विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर फोर्ड ग्रीसको क्रेट टापुस्थित नौसैनिक अड्डाबाट निस्किएको देखिएको थियो। त्यस्तै अर्को तस्बिरमा यूएसएस अब्राहम लिंकन विमानवाहक युद्धपोत अरब सागरमा ओमान नजिक आपूर्ति जहाजसँग भेटिएको देखिएको थियो ।

विश्लेषकहरूका अनुसार मिजार भिजनले विभिन्न सार्वजनिक स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर विश्लेषण गर्ने काम गर्छ । यसले व्यापारिक उपग्रह तस्बिर, विमान उडान निगरानी संकेत र जहाजको आवतजावत सम्बन्धी जानकारीलाई कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट विश्लेषण गरेर प्रस्तुत गर्ने गर्छ ।

उपग्रह तस्बिरहरूको स्रोत चिनियाँ जिलिन-१ उपग्रह सञ्जाल हुन सक्ने अनुमान गरिएको छ, जसले पृथ्वीको निगरानी गर्ने सयभन्दा बढी उपग्रह सञ्चालन गर्दछ। त्यस्तै पश्चिमी व्यापारिक उपग्रह कम्पनीहरूबाट पनि यस्ता तस्बिर उपलब्ध हुन सक्ने बताइएको छ ।

इरानले यी तस्बिरहरू आफ्नो आक्रमण निर्देशनका लागि प्रयोग गरेको ठोस प्रमाण भने अहिलेसम्म भेटिएको छैन । तर पहिले सार्वजनिक भएका केही सैन्य अड्डाहरू पछि इरानको क्षेप्यास्त्र र ड्रोन आक्रमणको निशाना बनेका थिए ।

जोर्डनको मुवाफक सल्ती हवाई अड्डामा रहेको एक उन्नत रडार प्रणाली नष्ट भएको पनि पछि सार्वजनिक उपग्रह तस्बिरबाट पुष्टि भएको बताइएको छ। यो रडार खाडी क्षेत्रमा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि अत्यन्त महत्वपूर्ण मानिन्थ्यो। रडार नष्ट भएपछि क्षेप्यास्त्र रोक्ने जिम्मेवारी मुख्यतः अन्य प्रतिरक्षा प्रणालीमा पुगेको बताइएको छ ।

Read More

ओस्कारका चर्चित विवादित घटना

काठमाडौँ । विश्व चलचित्र क्षेत्रमा सबैभन्दा प्रतिष्ठित मानिने ओस्कार २०२६ को संस्करण १५ मार्चमा अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुँदैछ । नेपालमा भने यो समारोह १६ मार्च बिहान साढे चार बजेदेखि हेर्न सकिने बताइएको छ । हरेक वर्षझैँ यसपटक पनि दर्शकहरू समारोहको प्रतीक्षामा छन् ।

चलचित्र क्षेत्रको ठूलो सम्मान मानिने यस समारोहमा विगतमा केही विवादित घटनाहरू पनि भएका छन्, जसले निकै चर्चा पाएका थिए ।

सन् २०२२ को समारोहमा अभिनेता विल स्मिथले प्रस्तोता क्रिस रकलाई मञ्चमै थप्पड हानेपछि ठूलो विवाद भएको थियो । क्रिस रकले विल स्मिथकी श्रीमतीको टाउकोका बारेमा मजाक गरेपछि स्मिथ मञ्चमा गएर उनलाई थप्पड हानेका थिए । त्यसको केहीबेरपछि विल स्मिथले चलचित्र ‘किंग रिचर्ड’ का लागि उत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए र उनले मञ्चबाट माफी मागेका थिए ।

सन् २०२१ को समारोहमा फ्रान्सेली अभिनेत्री कोरिन मासेरियोले मञ्चमै कपडा उतारेपछि पनि विवाद भएको थियो । फ्रान्स सरकारको विरोध जनाउन उनले यस्तो कदम चालेकी थिइन्। पुरस्कार लिन मञ्चमा पुगेपछि उनले कपडा उतार्दा शरीरमा विभिन्न नारा लेखिएको देखिएको थियो ।

सन् २०१७ मा उत्कृष्ट चलचित्रको घोषणा गर्दा गल्ती भएको घटना पनि निकै चर्चामा रह्यो । सुरुमा चलचित्र ‘ला ला ल्यान्ड’ को नाम घोषणा गरिए पनि केही समयपछि वास्तविक विजेता चलचित्र ‘मूनलाइट’ भएको जानकारी दिँदै आयोजकले माफी मागेका थिए । सन् २००३ मा अभिनेता एड्रियन ब्रुडीले पुरस्कार ग्रहण गर्ने क्रममा अभिनेत्री हेल बेरीलाई मञ्चमै चुम्बन गरेपछि पनि विवाद भएको थियो । ब्रुडीले चलचित्र ‘दि पियानिस्ट’ का लागि उत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए ।

सन् २००० मा समारोह हुनुभन्दा करिब २० दिनअघि ५५ वटा अवार्ड बोकेको ट्रक चोरी भएको घटना पनि चर्चामा आएको थियो । त्यसपछि हतारमा नयाँ अवार्ड तयार पारिएको थियो । केही दिनपछि फोहोरको थुप्रोमा ५२ वटा अवार्ड भेटिए पनि बाँकी केही अझै हराइरहेका छन् । अर्को चर्चित घटना अभिनेता मार्लन ब्रान्डोसँग सम्बन्धित छ। उनले चलचित्र ‘अन द वाटरफ्रन्ट’ का लागि पाएको उत्कृष्ट अभिनेताको पुरस्कार पछि घरबाटै चोरी भएको थियो। 

त्यस्तै ओस्कार पुरस्कार अभिनेता लियोनार्डो डिकाप्रियोलाई उपहारस्वरूप दिइएको थियो, तर धोखाधडीसम्बन्धी अनुसन्धानपछि उनले उक्त पुरस्कार अधिकारीलाई फिर्ता गर्नुपरेको थियो । त्यस्तै सन् २००० कै समारोहमा अभिनेत्री एन्जेलिना जोलीले रातो गलैँचामा आफ्नै भाइलाई सार्वजनिक रूपमा चुम्बन गरेपछि पनि ठूलो आलोचना भएको थियो। यी घटनाहरूका कारण पुरस्कार समारोह बेलाबेला विवाद र चर्चाको केन्द्रमा पर्ने गरेको छ।

Read More

समानुपातिक उम्मेदवार बारे निर्णय गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।

रास्वपाले समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गर्न सचिवालयको बैठक शनिबार बस्ने गरि बोलाएको हो ।

प्रवक्ता मनिष झाले बैठकको समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने जानकारी दिएका छन् ।

Read More

अध्ययन भन्छ- शरीरको तौल अनुसार कति ग्राम प्रोटिन आवश्यक पर्छ 

काठमाडौँ । स्वस्थ शरीरका लागि प्रोटिन अत्यन्त आवश्यक पोषक तत्त्व मानिन्छ। शरीरमा मांसपेशी निर्माणदेखि कपाल, छाला, एन्जाइम र हर्मोन बन्नेसम्मका धेरै प्रक्रियामा प्रोटिनको महत्वपूर्ण भूमिका रहने विभिन्न अध्ययनले देखाएका छन् । तर धेरै मानिसले खानामा स्वाद र पेट भर्ने कुरामा ध्यान दिए पनि आवश्यक प्रोटिनको मात्रा भने बेवास्ता गर्ने गरेका छन् ।

परम्परागत खानपानमा कार्बोहाइड्रेट बढी हुने भएकाले धेरै मानिसको आहारमा प्रोटिनको कमी देखिने गरेको छ। अध्ययनहरूका अनुसार सामान्य वयस्क व्यक्तिलाई प्रायः आफ्नो शरीरको तौल अनुसार प्रतिकिलो ०.८ देखि १ ग्रामसम्म प्रोटिन आवश्यक पर्छ ।

उदाहरणका लागि ६० किलो तौल भएको व्यक्तिलाई दैनिक करिब ४८ देखि ६० ग्राम प्रोटिन चाहिन्छ । यो मात्रा व्यक्तिको उमेर र शारीरिक सक्रियताका आधारमा अझ बढ्न पनि सक्छ । प्रोटिनको कमी हुँदा मांसपेशी कमजोर हुने, थकान बढ्ने जस्ता समस्या देखिन सक्छन् ।

हार्भड मेडिकल स्कुलले गरेको एक अध्ययनका अनुसार धेरै शारीरिक गतिविधि नगर्ने व्यक्तिका लागि प्रतिकिलो ०.८ ग्राम प्रोटिन पर्याप्त मानिन्छ । तर नियमित व्यायाम गर्ने मानिसलाई भने अझ बढी प्रोटिन आवश्यक हुन्छ । भारी कसरत वा शक्ति अभ्यास गर्ने व्यक्तिलाई मांसपेशी पुनःस्थापनाका लागि प्रतिकिलो तौल अनुसार करिब १.२ देखि १.७ ग्रामसम्म प्रोटिन चाहिने बताइएको छ। खेलाडीका हकमा यो मात्रा २ ग्रामसम्म पुग्न सक्छ ।

उमेरका आधारमा पनि प्रोटिनको आवश्यकता फरक हुन्छ । बालबालिका र किशोरावस्थामा शरीरको विकासका कारण बढी प्रोटिन आवश्यक हुन्छ । ५० वर्षपछि मांसपेशी स्वाभाविक रूपमा घट्न थाल्ने भएकाले वृद्ध व्यक्तिलाई पनि बढी प्रोटिन लिन सल्लाह दिइन्छ । गर्भवती तथा स्तनपान गराइरहेका महिलाले सामान्यभन्दा करिब २० देखि २५ ग्राम बढी प्रोटिन लिनु उपयुक्त हुने बताइएको छ ।

प्रोटिनको कमी हुँदा कपाल झर्ने, नङ कमजोर हुने र बारम्बार बिरामी पर्ने जस्ता लक्षण देखिन सक्छन् । तर आवश्यकभन्दा धेरै प्रोटिन, विशेषगरी पूरक पदार्थमार्फत लिँदा मिर्गौलामा दबाब पर्नुका साथै शरीरमा पानीको कमी हुन सक्ने स्वास्थ्य विज्ञहरू बताउछन् ।

विशेषज्ञका अनुसार दाल, पनीर, अण्डा र सोयाबिनजस्ता प्राकृतिक स्रोतबाट प्रोटिन लिनु पूरक पदार्थको तुलनामा सुरक्षित र प्रभावकारी मानिन्छ। सन्तुलित आहारमा प्रोटिनको सही मात्रा समावेश गर्न सके शरीर स्वस्थ रहनुका साथै तौल नियन्त्रण र शरीरको चयापचय प्रक्रियामा पनि सहयोग पुग्ने बताइएको छ ।

Read More