२०८३ आश्विन २

संसदीय नेता चयनमा खड्काको चेतावनी, भन्छन: “संसदीय दलको नेता चयनमा हस्तक्षेप अस्वीकार्य”

काठमाडौँ । नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयन प्रक्रिया लम्बिँदै जाँदा आन्तरिक असन्तोष चर्किएको छ। पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रक्रिया ढिलाइ हुनु अस्वाभाविक मात्रै नभई दलको अधिकारमाथिको हस्तक्षेप भएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत धारिलो प्रतिक्रिया दिँदै उनले संसदीय दलको नेता चयन पार्टीको विधि र प्रक्रियाअनुसार स्वतन्त्र रूपमा सम्पन्न हुनुपर्ने स्पष्ट पारे। उनका अनुसार केन्द्रीय कार्यसमितिले विधान अनुमोदन गरेपछि दलका सदस्यहरूले सहमति वा प्रतिस्पर्धाबाट नेता छान्ने अधिकार राख्छन्, जसमा बाह्य दबाब वा हस्तक्षेप स्वीकार्य हुँदैन।

खड्काले वर्तमान अवस्थालाई “अनावश्यक हुन्डरी” को संज्ञा दिँदै यसले पार्टीको छवि कमजोर बनाइरहेको चेतावनी दिएका छन्। उनले सांसदहरूलाई तत्काल प्रक्रिया टुंग्याएर नेतृत्व चयन गर्न आग्रह गरेका छन्, अन्यथा पार्टीको विश्वसनीयतामा थप क्षति पुग्ने संकेत गरेका छन्।

कांग्रेसभित्र नेतृत्व चयनमा देखिएको अन्योलले राजनीतिक सन्देश नकारात्मक बन्दै गएको विश्लेषण भइरहेका बेला खड्काको यो अभिव्यक्तिले आन्तरिक विवाद थप सतहमा आएको देखिएको छ।

Read More

वर्षाको चोट: अतिक्रमण हटाइयो, तर झरीले भिज्यो सुकुमबासीका खाद्यान्नदेखि लुगासम्म

काठमाडौँ । उपत्यकामा अतिक्रमण हटाउने सरकारी अभियान तीव्र भइरहँदा प्रभावित नागरिकको अवस्था भने झन् कष्टकर बन्दै गएको छ। काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा भत्काइएपछि सुकुमबासीहरू वर्षाको मारमा परेका छन्।

बस्ती खाली गराइएपछि खुला चौरमा राखिएका खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोगका सामग्री साँझ परेको वर्षाले भिजाउँदा उनीहरूको दैनिकी अस्तव्यस्त बनेको छ। पर्याप्त त्रिपाल वा अस्थायी आश्रयको व्यवस्था नहुँदा धेरै परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन्।

स्थानीयका अनुसार केहीले पहिले नै वैकल्पिक स्थान खोजे पनि धेरै अझै डेरा नपाएर समस्यामा छन्। कतिपयले सामान सुरक्षित राख्ने ठाउँसमेत नपाउँदा चौरमै थुपारेर बसिरहेका छन्।

सामान ओसारपसारमा खटिएका सवारी चालकका अनुसार धेरै परिवारको सरसामान धेरै मात्रामा भएकाले एकैपटक सार्न कठिन भइरहेको छ। कतिपयले डेरा खोज्न गएका कारण सामान अलपत्र छोडिएको छ।

भत्काइएको क्षेत्रमा अझै ठूलो परिमाणमा सरसामान थुप्रिएको देखिन्छ। ती सामग्री कुर्न बसेका मानिसहरू वर्षामा भिज्न बाध्य छन्।

अतिक्रमण हटाउने अभियान जारी रहे पनि प्रभावित नागरिकका लागि पर्याप्त पूर्वतयारी र व्यवस्थापन नहुँदा मानवीय संकट गहिरिँदै गएको देखिन्छ।

Read More

मनोहरा-थापाथलीदेखि बानेश्वरसम्म अतिक्रमण सफाइ, १२ सय बढी घरटहरा भत्काइयो /अझै सयौँ बाँकी

काठमाडौँ । उपत्यकामा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका बस्तीमाथि सरकारी टोलीले कडा एक्सन थालेको छ। शनिबार र आइतबार दुई दिनको अभियानमै काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा गरी एक हजार २७२ घरटहरा भत्काइएको छ।

थापाथली, गैरीगाउँ–बानेश्वर, जडिबुटी र मनोहरा क्षेत्र केन्द्रित यो अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरीको संयुक्त परिचालन गरिएको थियो। प्रहरी तथ्याङ्कअनुसार ती क्षेत्रमा कुल एक हजार ६५० संरचना रहेकामा अझै सयौँ घरटहरा हटाउन बाँकी छन्।

थापाथलीमा मात्रै बागमती किनारका १४३ संरचना शनिबार ध्वस्त पारिँदा ३४ परिवार प्रत्यक्ष प्रभावित बने। उनीहरूलाई अस्थायी रूपमा कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग भवनमा राखिएको छ।

गैरीगाउँ–बानेश्वर क्षेत्रमा ५७८ मध्ये झण्डै सबै संरचना भत्काइएका छन् भने केही पक्की घर अझै बाँकी छन्। मनोहरा–जडिबुटी क्षेत्रमा पनि डोजर चलेको छ, जहाँ सयौँ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

भक्तपुरको मनोहरा बस्तीमा भने ८१५ मध्ये आधाभन्दा बढी संरचना हटाइए पनि वर्षाका कारण बाँकी काम रोकिन पुगेको छ। सरकारले सोमबारसम्म पूर्ण रूपमा अतिक्रमण हटाउने तयारी गरेको जनाएको छ।

सरकारले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानान्तरण गर्दै अस्थायी बसोबास, खाना तथा आधारभूत सुविधा उपलब्ध गराउने दाबी गरेको छ। आवश्यक परे होटल तथा लजसम्मको व्यवस्था मिलाइएको बताइएको छ।

सहरी विकास मन्त्रालयका अनुसार विस्थापितहरूको विवरण संकलन गरी दीर्घकालीन व्यवस्थापनको तयारी भइरहेको छ। प्रारम्भमा जोखिमयुक्त बस्ती हटाइने र त्यसपछि वास्तविक भूमिहीनको पहिचान गरेर बसोबासको विकल्प दिइने योजना अघि सारिएको छ।

यसैबीच, विस्थापित बालबालिकामा पर्न सक्ने मानसिक असरलाई ध्यानमा राख्दै महानगरपालिकाले होल्डिङ सेन्टरमा खेलकुद तथा मनोरञ्जन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।

Read More

आइपिएलमा चेन्नईमाथि गुजरात ८ विकेटले विजयी

काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा गुजरातले चेन्नईलाई ८ विकेटले पराजित गरेको हो । 

चेन्नईले दिएको १५९ रनको लक्ष्य पछाएको गुजरातले १६.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

गुजरातको जितमा साइ सुदर्शनले ८७ रन बनाए भने जोस बटलरले अविजित ३९ र कप्तान शुभमन गिलले ३३ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले अविजित ७४ रन बनाएका थिए भने शिभम दुवेले २२ र जामी ओभरटनले १८ रन बनाएका थिए ।

त्यस्तै गुजरातका बलर कागीसो रावाडाले ३ विकेट लिएका थिए भने अर्शद खानले २ विकेट लिएका थिए ।

Read More

वुमेन्स च्यालेन्ज ट्रफीमा नेपाल अमेरिकासँग पराजित

काठमाडौं । नेपाल जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा अमेरिकासँग पराजित भएको छ । आइतबार सम्पन्न खेलमा अमेरिकाले नेपाललाई ७ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको ८७ रनको लक्ष्य पछाएको अमेरिकाले ११.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ८६ रन बनाएको थियो । यो नेपालको अमेरिकासँग दोस्रो र प्रतियोगित मा तेस्रो हार हो । त्यस्तै अमेरिकाले खेलेका ५ खेलमा ४ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ ।

रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् ।

नेपालले अर्को खेल अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

Read More

चलचित्र ‘एक मुठ्ठी बादल’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ को ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल’को आइतबार निर्माण टिमले एक समारोहबीच ट्रेलर सार्वजनिक गरेको हो ।

फिल्ममा निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीको पनि अभिनय छ ।

फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन् । फिल्म ‘एक मुठ्ठी बादल’ १ जेठ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले बताएको छ ।

Read More

दबाब, धम्की र घेराबन्दीको अवस्थामा वार्तामा बस्दैनौं- इरानी राष्ट्रपति

काठमाडौँ । इरानी राष्ट्रपति मसुद पेजेशकियनले दबाब, धम्की र घेराबन्दीको अवस्थामा तेहरान कुनै पनि वार्तामा नबस्ने स्पष्ट पारेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग टेलिफोन संवादका क्रममा उनले यस्तो धारणा राखेका हुन् । वार्ताका क्रममा उनले अमेरिका वार्ता र युद्धविरामको समयमा समेत लगातार सम्झौता उल्लंघन गर्दै दबाबको नीति अपनाइरहेको आरोप लगाए ।

पेजेशकियनले अमेरिकाले लगाएको समुद्री प्रतिबन्ध अन्तर्राष्ट्रिय सम्झौता र संयुक्त राष्ट्रसंघको घोषणापत्रविपरीत रहेको बताए । उनका अनुसार यस्ता कदम र धम्कीपूर्ण अभिव्यक्तिले शान्ति प्रक्रियामाथिको विश्वास कमजोर बनाउछ ।

उनले इरान आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताए । अमेरिका वा इजरायलसँग कुनै नयाँ टकराव भए त्यसको गम्भीर असर क्षेत्रीय तथा विश्व स्थिरतामा पर्ने चेतावनी उनले दिए ।

राष्ट्रपति पेजेशकियनले इरानले छिमेकी देशहरूसँग आपसी सम्मान र राम्रो सम्बन्धका आधारमा सहकार्य बढाउन चाहेको बताए । विशेषगरी फारसको खाडीका दक्षिणी देशहरूसँग सम्बन्ध सुदृढ गर्न चाहेको उल्लेख गर्दै बाह्य हस्तक्षेपबाट टाढा रही क्षेत्रीय शान्ति र सुरक्षामा सहयोग गर्न आग्रह गरेका छन् ।

Read More

उद्योग वाणिज्य महासंघको साधारण सभाको उद्घाटन बैशाख २१ गते र निर्वाचन कार्यक्रम २२ गतेदेखि

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले स्थगित भएको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनको नयाँ मिति सार्वजनिक गरेको छ ।

महासंघका अनुसार यसअघि २०८२ चैत २९ र ३० गतेका लागि तय गरिएको कार्यक्रम स्थगित भएपछि अब उद्घाटन समारोह वैशाख २१ गते हुनेछ । उद्घाटन समारोह ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना गरिने जनाएको छ ।

यस्तै निर्वाचन कार्यक्रम वैशाख २२ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालन हुने महासंघले जनाएको छ ।

Read More

मौसम प्रणाली पूर्वतर्फ सर्दै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मौसम प्रणाली पूर्वतर्फ सरिरहेको जानकारी दिएको छ ।

आइतबार दिउसो मौसम अपडेट दिदै विभागले गण्डकी प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । यस्तै बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा जारी रहेको छ ।

मौसमविद्का अनुसार यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकोले आसपासका क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले सम्भावित वर्षा, चट्याङ र त्यसबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

Read More

पृथ्वी राजमार्गमा माइक्रो बस दुर्घटना, १२ जना घाइते

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको आदमघाट नजिक माइक्रो बस दुर्घटना भएको छ । 

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा-प्रदेश -०१- ००६ – ख – ७२२१ नम्बरको माइक्रो बस आदमघाट नजिकै सडकमा पल्टिदा १२ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ । दुर्घटना घाइते १२ जनामध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य सामान्य घाइतेको स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More