२०८३ असार १०

एमसीसी अन्तर्गत धानखोला-लमहीको ४० किमी सडकको स्तरोन्नति कार्य शुरु

काठमाडौँ । एमसीसी अन्तर्गत पूर्व-पश्चिम राजमार्गअन्तर्गत ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्ड स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु गरेको छ।

सडक स्तरोन्नति तथा मर्मतका लागि नेपालमै पहिलो पटक गुणस्तर, टिकाउपन र दिगोपनालाई ध्यानमा राख्दै अत्याधुनिक निर्माण प्रविधि ‘फुल डेप्थ रिक्लेमेशन’ र ‘सुपरपेभ आस्फाल्ट’ प्रयोग गरिने भएको छ ।

यस प्रविधिबाट बलियो तथा टिकाउ सडक निर्माण, पुराना आस्फाल्ट सामग्रीको पुनःप्रयोग तथा वातावरणीय प्रभाव न्यूनीकरण हुने अपेक्षा गरिएको छ। यसले सडक मर्मतमा गरिएको लगानीलाई दीर्घकालसम्म भरपर्दो र लागत प्रभावकारी बनाउने विश्वास लिइएको छ । आयोजनाअन्तर्गत सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई मिटर चौडा सोल्जर निर्माण गरी सडकलाई १२ मिटर चौडा बनाइनेछ ।

शुभारम्भ समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आधुनिक प्रविधिको प्रयोगले सडकको गुणस्तर र टिकाउपन सुनिश्चित हुने भन्दै यसको प्रशंसा गरेका छन् । उनले यो सडक खण्ड स्तरोन्नतिले यात्रालाई थप सुरक्षित, सहज र भरपर्दो बनाउने मात्र नभई स्थानीय व्यवसायी, किसान र उद्यमीका लागि नयाँ अवसर सिर्जना गर्ने बताए ।

नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले धानखोला-लमही सडक स्तरोन्नति नेपाल र अमेरिकाबीचको साझेदारीको महत्वपूर्ण उपलब्धि भएको बताए । उनले उच्च गुणस्तरका दिगो पूर्वाधारमा लगानीमार्फत ढुवानी लागत घटाउने, सुरक्षा बढाउने र समुदायलाई बजार तथा अवसरसँग जोड्ने लक्ष्य रहेको उल्लेख गरे ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले एमसीए-नेपालको लगानी नेपाल सरकारका योजना तथा कार्यक्रमका पूरकका रूपमा रहेको बताए ।

एमसीसीका राष्ट्रिय आवासीय उपनिर्देशक सञ्जय पौड्यालले आधुनिक प्रविधिको प्रयोगले दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने उल्लेख गरेका थिए ।

एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले धानखोला–लमही सडक स्तरोन्नति एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको सडक मर्मत आयोजनाको महत्वपूर्ण चरण भएको बताए । उनले आयोजना प्रभावकारी, पारदर्शी र उच्च गुणस्तरसहित समयमै सम्पन्न गर्न एमसीए-नेपाल प्रतिबद्ध रहेको पनि बताए । सडक मर्मत आयोजना एमसीसी नेपाल कम्प्याक्टको महत्वपूर्ण हिस्सा हो, जसको उद्देश्य ढुवानी लागत घटाउनुका साथै नेपालको सडक अवस्थालाई सुधार गर्नु रहेको छ ।

Read More

रास्वपाले भन्यो- सरकारले कसैलाई घरबार बिहिन बनाउने छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले कसैलाई घरबार बिहिन नबनाउने बताएका छन् ।

बुधबार रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा बोल्दै सभापति लामिछानेले  सुकुम्बासी समस्या समाधान गर्नेक्रममा सरकारले कसैलाई घरवार विहिन नबनाउने बताएका हुन् ।

उनले भने- ‘जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ। लगत सङ्कलन र ब्यबस्थापनमा सरकार जिम्मेवार भएर काम गर्दैछ । कतै कुनै थप सजकता आवश्यक छ भने ध्यानाकर्षण गराउन अनुरोध छ। ढलको छेउमा,बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थान वारे चिन्ता छ र सबैको भविष्य वारे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो। देशैभरी रहेको यस्तो समस्यालाई एक बिशेष आयोग बनाएर शिघ्र काम गरिने छ। तर यो क्रममा सरकारले कसैलाई घरबार बिहिन बनाउने छैन ।’

उनले सरकारले घरबार बिहिन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसर वारे जिम्मेवारी लिन्छ भन्दै कोही सुकुम्बासीहरूलाई घरबार बिहिन हुन दिने छैन र आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य भएको बताएका छन् । उनले अनावश्यक राजनीतिकरण नगर्न र कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर ‘भोट बैंक’ को राजनीति गर्नु गलत भएको बताएका छन् ।

Read More

नेप्सेमा २५. ८१ अंकको गिरावट, ४ अर्ब ९८ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से २५.८१  अंकले घटेर २७४४.४५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५१ कम्पनिका एक करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर ४ अर्ब ९८  करोड ६२ लाख ९४ हजार १७३ मा कारोबार भएको थियो ।  आज विकास बैंक, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १३.८१ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी केबीएल डिभेन्चर २०९० को शेयर ११.४६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको २४ करोड १९ लाख र पाल्पा सिमेन्टको २० करोड २२ लाख बराबरको कारोबार भएको छ ।

Read More

अध्यादेश कसैलाई दुःख दिन वा सुविधा दिन होइन, जनताका अपेक्षा पुरा गर्न ल्याएका हौँ- रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अध्यादेश आवश्यक सुधारका लागि ल्याइएको बताएका छन् ।

संसदीय दलको बैठकमा बोल्दै उनले विगतमा भएका अनावश्यक दलीयकरण र गलत नियुक्ति नसच्याएसम्म जनताले वर्तमान सरकारबाट गरेको अपेक्षा पूरा गर्न नसकिने बताएका हुन् ।

उनले पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्ने उद्देश्यले ल्याउने अभ्यास रहेको उल्लेख गर्दै अहिलेको अध्यादेश कसैलाई दुःख दिन वा कसैलाई सुविधा दिनका लागि नभई आवश्यक सुधारका लागि ल्याइएको स्पष्ट पारेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

लामिछानेले यो कदम कानुनी दायराभित्र रहेर गरिएको अभ्यास भएको बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी कानुन, राजनीतिक व्यवहार र लोकतान्त्रिक पद्धतिप्रति गम्भीर रहेको पनि बताए । उनले भने- ‘अहिलेको अभ्यास कसैलाई दुख दिन वा कसैलाई सुविधा दिन हैन यो आवस्यक सुधारको लागि हो। यो कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो ।’

उनले बैठकमा संसदीय समिति प्रमुखको जिम्मेवारी प्रमुख प्रतिपक्षलाई एक शब्द पनि नमागी दिएको अभ्यासले नै रास्वपाको लोकतान्त्रिक प्रतिबद्धता देखाएको बताएका थिए ।

लामिछानेले विगतमा प्रधानमन्त्रीकै पार्टीका सांसद लेखा समिति सभापति बनेका धेरै उदाहरण रहेको स्मरण गराउँदै आफ्नो पार्टीले त्यस्ता अभ्यास सच्याउन इमान्दारीपूर्वक अघि बढेको बताएका थिए ।

Read More

सुकुम्बासीको लगत संकलन बारे नेपाली सेनाको स्पष्टीकरण

काठमाडौँ । नेपाली सेनाले सुकुम्बासीहरूको विवरण संकलन गरिएको विषयलाई लिएर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका समाचारप्रति स्पष्टिकरण दिएको छ ।

सेनाले वर्षायाम नजिकिँदै गर्दा बाढी, पहिरो, डुबान तथा नदी कटानबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै विपद् प्रतिकार्य पूर्वतयारीअन्तर्गत तथ्याङ्क अद्यावधिक गरिएको जनाएको छ ।

सेनाले भनेको छ- ‘सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा नेपाली सेनाले सुकुम्वासीहरूको विवरण माग गरेको सम्बन्धमा विभिन्न खबरहरू प्रकाशन र प्रसारण भइरहेको सन्दर्भमा नेपाली सेनाका स्थानीय युनिटहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रमा हुन सक्ने विपद्का घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनर्स्थापनाका कार्यहरूलाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिम नक्साङ्कन (Hazard Mapping) गर्नका लागि तथ्याङ्क अद्यावधिक गर्ने कार्य गरिएको सबैमा जानकारी गराउँदछौं ।’

नेपाली सेनाका अनुसार विगतका वर्षहरूमा भएका विपद्का घटनालाई समेत मध्यनजर गर्दै मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै पूर्वतयारी योजना बनाइँदै आएको छ ।

यस क्रममा सुकुम्बासीहरूको विवरण माग गरिएको भन्ने विषय सार्वजनिक भएको भए पनि यसको उद्देश्य केवल विपद्का बेला प्रभावकारी उद्धार तथा व्यवस्थापनका लागि जोखिम क्षेत्र पहिचान गर्नु रहेको सेनाले स्पष्ट पारेको छ ।

Read More

सरकारले सिफारिस गर्यो थप तीन अध्यादेश

काठमाडौँ । सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’, ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश’ रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

सरकारले यसअघि वैशाख १४ गते ‘संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश’ जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालय स्रोतले सबै अध्यादेश अहिले अध्ययनको क्रममा रहेको बताएको छ ।

Read More

१५ दिनभित्र अवैध संरचना हटाउन चितवन राष्ट्रिय निकुञ्जको अल्टिमेटम

चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र भएका अतिक्रमण हटाउन १५ दिनको अल्टिमेटम दिएको छ । 

कार्यालयले सुचना जारी गर्दै वन क्षेत्र, सामुदायिक वन, कुन्जभित्रका सडक, खोला तथा नदी किनारका क्षेत्रमा अनाधिकृत रूपमा बसोबास तथा संरचना निर्माण गरिएको भन्दै त्यसलाई १५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।

निकुञ्ज कार्यालयले वन क्षेत्रभित्र अनधिकृत रूपमा बनाइएका घर, टहरा, गोठ, पर्खाल, खेतीपाती लगायतका संरचना १५ दिनभित्र खाली गर्न र तोकिएको समयभित्र अतिक्रमण नहटाएमा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

निकुञ्ज प्रशासनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ क ओदफा २६ को उपदफा ६ बमोजिम बिगो कायम भएमा बिगो दोब्बर जरिवाना र एक बर्षसम्म कैद र बिगो कायम नभएको कसुरमा २० हजारसम्म जरीवाना र ६ महिना सम्म कैद वा दुवै सजाय हुने चेतावनी दिएको छ ।

Read More

विपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम

काठमाडौँ । विपक्षी दलहरूले सरकारले अध्यादेशमार्फत महत्वपूर्ण कानुन संशोधन गर्न खोजेको भन्दै कडा विरोध जनाएका छन् ।

बुधबार नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले सरकारले संसद छल्ने उद्देश्यले अध्यादेश ल्याएको निष्कर्ष निकाल्दै त्यसको घोर विरोध, भर्त्सना र निन्दा गरेको हो ।

बैठकमा काँग्रेसले बोलाएको यस बैठकमा  नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका प्रमुख सचेतक युवराज दुलाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सरस्वती लामा सहभागी थिए ।

बैठकले सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ तथा सहकारी ऐन, २०७४ संशोधन गर्न दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको र वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन अध्यादेश तथा विश्वविद्यालय सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेकोप्रति आपत्ति जनाएको छ ।

विपक्षी दलहरूले संसदको अधिवेशन आह्वान गरेलगत्तै स्थगन गरेर अध्यादेश ल्याउनु घोर असंसदीय र अलोकतान्त्रिक कदम भएको बताएका छन् । संयुक्त बैठकले जारी गरिएका सबै अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गरेको छ ।

त्यस्तै, राष्ट्रपतिसमक्ष सिफारिस भइसकेका अध्यादेशहरू संसद छल्ने उद्देश्यले ल्याइएको भन्दै ती स्वीकृत नगर्न राष्ट्रपतिसमक्ष हार्दिक अनुरोध पनि गरिएको छ ।

विपक्षी दलहरूले स्थगन गरिएको संघीय संसदको अधिवेशन अविलम्ब आह्वान गर्न समेत सरकारसँग माग गरेका छन् ।

Read More

परराष्ट्रमन्त्री खनालसँग म्यानमारका राजदूत सिनको शिष्टाचार भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि म्यानमारका राजदूत थान्त सिनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बुधबार भएको भेटवार्ताका क्रममा दुई देशबीचको व्यापार, आर्थिक सहयोग, सांस्कृतिक सम्बन्ध तथा जनस्तरको आदानप्रदानलगायत आपसी हितका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भेटमा नेपाल र म्यानमारबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान गरिएको थियो ।

Read More

झापा पुगेर विश्वप्रकाश शर्माले गरे क्रियाशील नवीकरण

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले झापाको मेचीनगर–९ स्थित आफ्नो वडा पार्टी कार्यालय पुगेर क्रियाशील सदस्यता नवीकरण गरेका छन् ।

बुधबार शर्माले आफ्नै वडाको पार्टी कार्यालयमा पुगेर सदस्यता नवीकरण गराएका हुन् ।पार्टीका वडा सभापति उद्धव बानियाँले शर्माको क्रियाशील सदस्यता नवीकरण गराएका थिए ।

नेपाली कांग्रेसले बैशाख महिना भरि क्रियाशील सदस्यता नवीकरण गर्ने जरा अभियान चलाएको छ ।

Read More