२०८३ असार ११

खड्काको सुझाव: असन्तुष्ट भएर मत बदलेका कार्यकर्तालाई फर्काउन घरदैलो जानुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का नेतृत्वको समूहको भेला आज पनि जारी रह्यो। भेलाको सुरुवातमै खड्काले पार्टीको वर्तमान अवस्था, क्रियाशील सदस्यता र संगठन विस्तारका विषयमा विस्तृत ब्रिफिङ दिएका छन्।

उनले पार्टीभित्रको सदस्यता व्यवस्थापन र अभियान कसरी अघि बढाउने भन्नेबारे नेताहरूलाई स्पष्ट दिशा दिन खोजेका थिए। खड्काका अनुसार अहिलेका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा महामन्त्री हुँदा क्रियाशील सदस्यतालाई अनलाइन प्रणालीमा लैजाने प्रस्ताव अघि सारिएको थियो। तर महासमिति बैठकले भने साधारण सदस्यता खुला गर्दै क्रमशः अनलाइनमा लैजानुपर्ने निष्कर्ष निकालेको उनले स्मरण गराए।

खड्काले अहिले नेतृत्वले सदस्यतालाई सीमित दायरामा राख्न खोजेको आरोप लगाए। “पार्टीको जरा भनेकै क्रियाशील सदस्य हुन्, त्यसलाई नियन्त्रणमा राखेर होइन, विस्तार गरेर मात्रै संगठन बलियो हुन्छ,” उनले भने। साथै, पछिल्ला वर्षहरूमा सरकार र पार्टी सञ्चालनमा कमजोरी भएको स्वीकार गर्दै जनताको मन जित्न नसकिएको बताए।

उनका अनुसार धेरै कार्यकर्ताहरू पार्टीबाट औपचारिक रूपमा नबाहिरिए पनि असन्तुष्ट भएर मत परिवर्तन गरेका छन्। त्यस्ता कार्यकर्तालाई पुनः विश्वासमा लिन घरदैलोमै पुगेर संवाद गर्नुपर्ने आवश्यकता उनले औंल्याए। खड्काले पार्टीभित्र बढ्दो असन्तुष्टि र अन्तरविरोधलाई बुझेर संगठन विस्तार गर्नुपर्नेमा जोड दिए। “आधुनिक बनाउने नाममा पार्टीको ऐतिहासिक पहिचान नै बदल्ने प्रयास स्वीकार्य हुँदैन,” उनले चेतावनी दिए।

उनले जननायक बिपी कोइराला, सुवर्ण शमशेर र गणेशमान सिंहहरूले स्थापित गरेको ‘क्रियाशील सदस्य’ अवधारणालाई जोगाउनुपर्ने बताए।
अन्त्यमा उनले नेताहरूले आफ्ना कमजोरी स्वीकार्दै कार्यकर्तामा विश्वास जगाउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्।

Read More

ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य

काठमाडौँ । ओमानले नेपाललाई ३०६ रनको लक्ष्य दिएको छ ।

आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाउदै ३०५ रन बनाएको हो ।

ओमानका लागि कप्तान जतिन्दर सिंहले सर्बाधिक १३० रन बनाए भने जितेन रमानन्दीले ४३, आर्यन विष्टले ३५ र हमाद मिर्जाले ३० रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सोमपाल कामीले ४ विकेट लिए भने सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए ।

Read More

रास्वपा सभापति रवि लामिछानेको चेतावनी

काठमाडौँ । रवि लामिछानेले आगामी निर्वाचनको टिकटबारे कसैलाई पनि आश्वासन नदिन पार्टीका नेताकार्यकर्तालाई कडा निर्देशन दिएका छन्। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा उनले यस्तो चेतावनी दिएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त कार्यक्रम वैशाख २० गतेदेखि सुरु हुने र यसको संयोजनको जिम्मेवारी सहमहामन्त्री विपिन कुमार आचार्यलाई दिइएको छ।

पार्टी प्रवक्ता मनिष झालेका अनुसार उम्मेदवार छनोट र पूर्वतयारीलाई व्यवस्थित बनाउन यो अभ्यास सुरु गर्न लागिएको हो। यसै सन्दर्भमा कसैले कसैलाई टिकट दिलाउने वा आश्वासन दिने जस्ता गतिविधि नगर्न स्पष्ट निर्देशन दिइएको छ।

पार्टीले यस्तो गतिविधि अनुशासनविपरीत हुने उल्लेख गर्दै यदि कतै त्यस्तो अभ्यास भेटिएमा सम्बन्धित व्यक्तिलाई कारबाही गरिने चेतावनी दिएको छ।

Read More

रास्वपाको निर्देशन: कुनै पनि कागजातमा ‘माननीय’ सम्बोधन नगर्नु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई आधिकारिक कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न निर्देशन दिएको छ। साथै लेटरहेड, भिजिटिङ कार्ड लगायतका सामग्रीमा एकरूपता कायम गर्न पनि आग्रह गरिएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको अनौपचारिक बैठकपछि प्रवक्ता मनिष झाले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार पार्टीले सांसदहरू अझै सिकाइको चरणमा रहेकाले मेन्टर र सल्लाहकारसँग सहकार्य गर्दै सुझाव लिन पनि प्रोत्साहित गरेको छ।

बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै अनुशासनका विषयमा पनि कडाइ गर्ने संकेत दिएको छ। वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ अभ्यास सुरु हुने भएकाले कसैले कसैलाई टिकटको विषयमा अग्रिम प्रतिबद्धता नगर्न स्पष्ट निर्देशन दिइएको छ। यदि यस्ता गतिविधि भेटिए कारबाही गरिने चेतावनी पनि पार्टीले दिएको छ।

यसैबीच, केही समयअघि विश्वराज पोखरेलले आफूलाई ‘माननीय’ भनेर स्वागत नगरेको भन्दै विद्यालयका प्रधानाध्यापकलाई हप्काएको भिडियो सार्वजनिक भएपछि पार्टीभित्र व्यवहार र शैली सुधारको बहस चर्किएको थियो।

Read More

कृष्ण सिटौलाको पद खोसियो, कमला पन्तलाई नयाँ जिम्मेवारी

काठमाडौँ । कृष्णप्रसाद सिटौलालाई नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेताबाट हटाइएको छ। उनको स्थानमा कमला पन्तलाई नयाँ नेता नियुक्त गरिएको छ।

प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार सिटौलालाई पदमुक्त गर्दै पन्तलाई उक्त जिम्मेवारी दिएका हुन्। यो निर्णय नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२(२) अनुसार गरिएको बताइएको छ।

पार्टीभित्र विशेष महाधिवेशनको विषयमा देखिएको मतभेदलाई यस परिवर्तनको प्रमुख कारणका रूपमा हेरिएको छ। सिटौला विशेष महाधिवेशनको विपक्षमा उभिएका थिए भने पन्त त्यसको पक्षमा थिइन्।

यस निर्णयसँगै कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतृत्वमा नयाँ समीकरण देखिएको छ।

Read More

यूएई ओपेक र ओपेक प्लसबाट किन बाहिरियो ?

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले कच्चा तेल उत्पादन तथा निर्यात गर्ने देशहरूको संगठन ओपेक र ओपेक प्लसबाट अलग हुने घोषणा गरेको छ ।

यो घोषणा इरानसँग जारी युद्धका कारण विश्वभर ऊर्जा संकट गहिरिँदै गएको समयमा आएको हो । लामो समयदेखि ओपेकको सदस्य रहेको यूएईको यो निर्णयले साउदी अरेबियाको नेतृत्वमा रहेको यस समूहको एकतामा ठूलो असर पर्ने विश्लेषण गरिएको छ । यूएईको यो कदम क्षेत्रीय सहयोगी राष्ट्रहरूप्रतिको असन्तुष्टिको परिणाम मानिएको छ ।

यूएईका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार अनवर गर्गाशले एक कार्यक्रममा इरानका आक्रमणका बेला अरब र खाडी मुलुकहरूको भूमिका निकै कमजोर रहेको बताएका थिए । उनका अनुसार गल्फ कोअपरेशन काउन्सिलका देशहरूले आपसी ढुवानी तथा व्यवस्थापनमा सहयोग गरे पनि राजनीतिक र सैन्य तहमा अपेक्षित भूमिका निर्वाह गर्न सकेनन् । उनले अरब लिगबाट यस्तो प्रतिक्रिया अपेक्षित भए पनि खाडी मुलुकहरूको धारणा निराशाजनक रहेको बताएका थिए ।

यूएईको यो निर्णयलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि ठूलो कूटनीतिक सफलता मानिएको छ ।

ट्रम्पले लामो समयदेखि ओपेकको आलोचना गर्दै आएको छन् । उनले यो संगठनले जानाजानी तेलको मूल्य बढाएर विश्वलाई आर्थिक दबाबमा राखेको आरोप लगाउँदै आएका छन् । उनले खाडी मुलुकलाई अमेरिकाले दिने सुरक्षा र तेलको मूल्यबीच सम्बन्ध रहेको पनि बताउँदै आएका छन्। उनका अनुसार अमेरिका ती देशहरूको सुरक्षा गर्छ, तर ती देशहरूले तेलको मूल्य बढाएर अमेरिकामाथि आर्थिक भार थोपर्छन् । यूएई बाहिरिएपछि ओपेकको प्रभाव कमजोर हुने र अन्तर्राष्ट्रिय बजारमा अमेरिकाको प्रभाव बढ्न सक्ने अनुमान गरिएको छ । इरान युद्धका कारण खाडी क्षेत्रबाट तेल निर्यातमा पहिले नै समस्या देखिएको छ ।

विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरल प्राकृतिक ग्यास ओमान र इरानबीच रहेको होर्मुज जलडमरूमध्य हुँदै आपूर्ति हुने गर्छ ।

इरानको चेतावनी र जहाजमाथि भएका आक्रमणका कारण यो आपूर्ति श्रृंखला प्रभावित बनेको छ । यस्तो अवस्थामा यूएईको ओपेकबाट बाहिरिने निर्णयले तेल बजारमा थप अनिश्चितता बढाउने देखिएको छ ।

ओपेक सन् १९६० मा स्थापना भएको संगठन हो, जसमा साउदी अरेबिया, इराक, इरान र कुवेतजस्ता देश सदस्य छन् । यसको मुख्य उद्देश्य विश्वमा तेल आपूर्ति नियन्त्रण गरी मूल्य स्थिर राख्नु हो । ओपेक प्लस भने सन् २०१६ मा तेलको मूल्यमा ठूलो गिरावट आएपछि ओपेक देशहरूले रूसजस्ता अन्य ठूला उत्पादक राष्ट्रसँग मिलेर बनाएको गठबन्धन हो । विश्वको कुल तेल उत्पादनको करिब ४० प्रतिशत हिस्सा यही समूहसँग रहेको छ । उत्पादन घटाउँदा पेट्रोलियम पदार्थको मूल्य बढ्ने प्रभाव देखिन्छ । ओपेक सदस्य राष्ट्रहरूबीच एकता कमजोर भए उत्पादन नियन्त्रणमा असर पर्न सक्छ । यस्तो अवस्थामा देशहरूले बढी तेल बजारमा ल्याउँदा मूल्य घट्ने सम्भावना बढ्छ । यद्यपि, इरान युद्धका कारण आपूर्ति अवरोधको जोखिम भने अझै कायम रहेको छ ।

Read More

सरकारको कडा निर्देशन: अबदेखि सगरमाथा आधार शिविरमा ‘ओभरनाइट स्टे’ प्याकेज बेच्न नपाइने

काठमाडौँ । पर्यटन विभागले सगरमाथा आधार शिविरमा ‘ओभरनाइट स्टे’ (रातको बास) सहितका प्याकेज बिक्री नगर्न ट्रेकिङ एजेन्सीहरूलाई कडा निर्देशन दिएको छ। केही एजेन्सीहरूले गैरकानुनी रूपमा यस्तो प्याकेज प्रचार–प्रसार गरिरहेको गुनासो आएपछि विभागले हस्तक्षेप गरेको हो।

विभागले आज सार्वजनिक सूचना जारी गर्दै सम्पर्क अधिकृत र सम्बन्धित ट्रेकिङ कम्पनीहरूलाई प्रचलित कानुन पालना गर्न सचेत गराएको छ। सगरमाथा आधार शिविरमा अनधिकृत रूपमा पर्यटकलाई रात बसाउने अभ्यास बढ्दो देखिएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कसलाई मात्रै अनुमति?
पर्वतारोहण सम्बन्धी नियमावली २०५९ अनुसार आधार शिविरमा सीमित व्यक्तिहरूलाई मात्र बस्न पाइन्छ। यसमा पर्वतारोहण टोलीका सदस्य, पथप्रदर्शक, उच्च हिमाली क्षेत्रमा काम गर्ने कामदार, आधार शिविरका कर्मचारी तथा स्थानीय सहयोगीहरू समावेश छन्।

यीबाहेक अन्य व्यक्तिलाई विभागको पूर्वस्वीकृति बिना आधार शिविरमा बस्न दिन पाइँदैन। त्यसैले सर्वसाधारण पर्यटकका लागि ‘ओभरनाइट स्टे’ प्याकेज बेच्नु कानुनी व्यवस्थाविपरीत भएको विभागले स्पष्ट पारेको छ।

कारबाहीको चेतावनी
विभागका शाखा अधिकृत प्रकाश पोखरेलद्वारा जारी सूचनामा नियम उल्लंघन गरे कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ। साथै, सगरमाथा आधार शिविरमा रहेको फिल्ड कार्यालयलाई पनि निगरानी कडा पार्न निर्देशन दिइएको छ।

विभागले सबै सरोकारवालालाई नियमको पालना गर्न आग्रह गर्दै पर्यटकीय गतिविधिलाई व्यवस्थित र सुरक्षित बनाउने लक्ष्य राखेको जनाएको छ।

Read More

अवरुद्ध विपी राजमार्ग सुचारु

बनेपा । वर्षाले अवरुद्ध भएको विपी राजमार्ग पुन: सुचारु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गए राति परेको अविरल वर्षाको कारण अवरुद्ध भएको बिपी राजमार्ग पुन:मर्मत पछि हालको लागि सञ्चालनमा आएको छ ।  

प्रहरीले मौसम पूर्वानुमान विभाग अनुसार अझै पनि पानी पर्ने सम्भावना रहेकोले यात्रा गर्दा आवश्यक सावधानी अपनाउनुका साथै आपतकालीन अवस्था सिर्जना भएमा वा बाटोको अवस्था बारेमा जानकारी लिनको लागि आपतकालीन सम्पर्क नं १०० र १०३ मा सम्पर्क राख्नु हुन सबैलाई अनुरोध गरेको छ ।

Read More

सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडा, नयाँ दर लागू

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। मन्त्रीस्तरको निर्णयअनुसार अब यात्रुवाहक तथा ढुवानी दुवै सवारीमा ५ प्रतिशतले भाडा बढाइएको हो।

यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातमा नयाँ भाडादर लागू भइसकेको छ। उनका अनुसार इन्धन मूल्यमा भएको उल्लेख्य वृद्धिलाई आधार बनाएर भाडा समायोजन गरिएको हो।

यसअघि भाडा निर्धारण गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा थियो। अहिले सो मूल्य बढेर २३५ रुपैयाँ ८३ पैसा पुगेको छ, जुन करिब ३० प्रतिशतभन्दा बढी वृद्धि हो। यही परिवर्तनलाई ध्यानमा राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ।

यसअघि गत चैत २५ गते पनि भाडा समायोजन गरिएको थियो। त्यसबेला यात्रुवाहक सवारीमा १६.७१ प्रतिशत, पहाडी क्षेत्रका मालवाहकमा २१.६८ प्रतिशत र तराईका मालवाहक सवारीमा १५.७५ प्रतिशतसम्म वृद्धि गरिएको थियो।

त्यसपछि इन्धन मूल्य दुईपटक बढेपछि यातायात व्यवसायीहरूले भाडा पुनः समायोजनको माग गर्दै आएका थिए। विभागले वैशाख ९ गते मन्त्रालयसमक्ष यात्रुवाहक सवारीका लागि झण्डै ९.८ प्रतिशत र ढुवानीतर्फ पहाडमा करिब १४ प्रतिशत तथा तराईमा १२ प्रतिशत वृद्धि प्रस्ताव गरेको थियो।

तर अन्ततः मन्त्री सुनिल लम्सालले ५ प्रतिशत वृद्धि गर्ने प्रस्तावलाई स्वीकृति दिएका छन्, जसअनुसार नयाँ भाडादर कार्यान्वयनमा आएको छ।

Read More

याम्बालिङ हाइड्रोको आइपिओ आजदेखि खुला

काठमाडौँ । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १७ लाख ४३ हजार कित्ता शेयर बिक्रीका लागि सार्वजनिक निष्कासन गरेको हो । यो आइपिओ वैशाख २२ गतेसम्म खुला रहनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख ३० गतेसम्म म्याद थप गरिने बताइएको छ ।

कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ रहेको छ । यसमध्ये ४० प्रतिशत अर्थात् २८ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कुल निष्कासनमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो । बाँकी ३० प्रतिशत अर्थात् २१ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको हो ।

सर्वसाधारणतर्फ छुट्याइएको २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिएको छ ।

यस्तै, २ प्रतिशत अर्थात् ४२ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी १७ लाख ४३ हजार कित्ता शेयर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।

यस सार्वजनिक निष्कासनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ्स नेपाल लिमिटेडले याम्बालिङ हाइड्रोपावरलाई ‘केयर-एनपी बीबी माइनस’ जारीकर्ता रेटिङ पुनः पुष्टि गरेको छ। यो रेटिङ भएका संस्थालाई वित्तीय दायित्व समयमै पूरा गर्न मध्यम जोखिम भएको मानिन्छ ।

कम्पनीले सिन्धुपाल्चोकमा ७ दशमलव २७ मेगावाट क्षमताको याम्बालिङ खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ र गत फागुन ८ गतेदेखि व्यावसायिक उत्पादनमा आएको कम्पनीले जनाएको छ ।

Read More