२०८३ असार ११

कप्तान जतिन्दरको शतकमा ओमानको नेपालविरुद्ध उत्कृष्ट शुरुवात

काठमाडौँ । ओमानले नेपालविरुद्ध जारी खेलमा उत्कृष्ट शुरुवात गरेको छ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको ओमानले ३० ओभरमा २ विकेट गुमाएर १६४ रन बनाएको छ ।

ओमानका लागि कप्तान जतिन्दर सिंहले शतक बनाएका छन् । यो समाचार तयार गरुन्जेल उनले १०७ रन बनाएर खेलिरहेका छन् । एकदिवसीय क्रिकेटमा उनको यो पाँचौं शतक हो । 

नेपाली बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिएका छन् भने सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।

Read More

खुला प्रतिस्पर्धाबाट राजदूत छनोट गर्ने सरकारको नयाँ तयारी

काठमाडौँ । सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी अघि बढाएको छ।

विगतदेखि चल्दै आएको राजनीतिक सिफारिस र सीमित दायराको अभ्यासलाई परिवर्तन गर्दै नयाँ प्रणाली लागू गर्न लागिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) नेतृत्वको वर्तमान सरकारले कूटनीतिक नियुक्तिमा पारदर्शिता र प्रतिस्पर्धा ल्याउने उद्देश्यसहित यस्तो पहल थालेको हो। अहिलेसम्म राजदूत नियुक्ति प्रायः परराष्ट्र मन्त्रालयका कर्मचारीहरू वा सत्तारुढ दलहरूको सिफारिसका आधारमा हुने गरेको थियो।

परराष्ट्र मन्त्री शिशिर खनालको सचिवालय स्रोतका अनुसार निश्चित संख्यामा पदका लागि सार्वजनिक रूपमा विज्ञापन खुलाइनेछ। आवेदन दिएका उम्मेदवारहरूबीच प्रतिस्पर्धा गराएर योग्य ठहरिएकालाई राजदूत नियुक्त गर्ने योजना सरकारको छ। हाल लागू रहेको ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ ले कुल पदमध्ये कम्तीमा ५० प्रतिशत क्यारियर कूटनीतिज्ञ (परराष्ट्र सेवाका कर्मचारी)बाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्तिबाट पूर्ति गर्नुपर्ने व्यवस्था गरेको छ।

नेपालका हाल ४४ विदेशस्थित नियोग छन्, जसअन्तर्गत ३४ दूतावास र १० वाणिज्य दूतावास कार्यालय सञ्चालनमा छन्। अहिले भारत, चीन, अमेरिका र बेलायतलगायत महत्वपूर्ण मुलुकहरूमा समेत गरी १७ राजदूत पद रिक्त रहेका छन्।

Read More

गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को तर्फबाट गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयक, २०८३ सम्बन्धमा आफ्ना विस्तृत सुझावहरू परराष्ट्र मन्त्रालयमा औपचारिक रूपमा पेश गरिएको छ ।

उक्त सुझावहरू गैरआवासीय नेपाली कल्याण विभागकी उपाध्यक्ष रोजिना प्रधान राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमार्फत पेश गरिएको हो। प्रतिनिधिमण्डलले विश्वभर रहेका गैरआवासीय नेपाली समुदायबाट संकलित सुझावहरू, सरोकारवाला निकायहरू तथा कानुनी विज्ञहरूसँग गरिएको बृहत् छलफल र परामर्शका आधारमा तयार पारिएको एकीकृत दस्तावेज मन्त्रालयसमक्ष बुझाएको हो  ।

यसका साथै श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा सम्बन्धी महाशाखामा समेत उक्त सुझाव बुझाइएको छ । सुझावपत्र उपसचिव मधुसुदन भट्टराईमार्फत माननीय मन्त्री शिशिर खनाललाई तथा महाशाखा प्रमुख पुष्पराज भट्टराईलाई हस्तान्तरण गरिएको हो । प्रतिनिधिमण्डलमा उपाध्यक्ष बुद्धि सुबेदी र महिला उपाध्यक्ष राधिका टीका गुरुङको सहभागिता रहेको थियो ।

संघका अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा महासचिव डा. चिरञ्जीवी खड्का, उपाध्यक्ष रोजिना प्रधान राई, कोषाध्यक्ष कृष्ण तिमल्सिना, निवर्तमान अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठ, फोकल पर्सन सरोज दाहाल तथा सचिवालयको सक्रिय समन्वयमा उक्त मस्यौदाका लागि विश्वभरबाट सुझाव संकलन गरिएको थियो। संकलित सुझावहरूलाई पदाधिकारी, पूर्व अध्यक्षहरू, सल्लाहकार तथा कानुनी विज्ञहरूसँग विस्तृत छलफल र परामर्शपछि एकीकृत गर्दै अन्तिम रूप दिइएको हो। गत साता परराष्ट्र मन्त्रालयमा माननीय परराष्ट्र मन्त्रीको उपस्थितिमा सम्पन्न उच्चस्तरीय छलफलपछि बिदेशमा रहेका नेपाली समुदायबाट सुझाव संकलन कार्य अघि बढाईएको थियो  ।

प्रस्तुत गरिएको सुझावहरूमा गैरआवासीय नेपालीहरूको नागरिकता, सम्पत्ति अधिकार, कर प्रणाली, लगानीमैत्री वातावरण तथा कानुनी स्पष्टतासँग सम्बन्धित विषयहरूलाई विशेष प्राथमिकतामा राखिएको छ। संघले गैरआवासीय नेपालीलाई राज्यसँग भावनात्मक मात्र नभई व्यावहारिक रूपमा पनि जोड्ने खालको कानुनी व्यवस्था आवश्यक रहेकोमा जोड दिएको छ।

प्रस्तुत सुझावहरूलाई समेटी विधेयकलाई शीघ्र अन्तिम रूप दिई संसदमा दर्ता गराउन परराष्ट्र मन्त्रालयसँग आग्रह समेत गरिएको छ। साथै, आगामी प्रक्रिया तथा ऐन, कानून तथा नियमावली निर्माणमा संघलाई निरन्तर सहभागी गराई सहकार्यको वातावरण बनाउन पनि अनुरोध गरिएको छ। 

Read More

कति छ महावीर पुनको सम्पत्ति ?

काठमाडौं । म्याग्दीबाट प्रतिनिधि सभाका सांसद बनेका महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्बजनिक गरेका छन् ।

सांसद पुनले संसद सचिवालयमा बुझाएको सम्पत्ति विवरण सार्बजनिक गरेका हुन् ।

उनले आफ्नो सम्पत्ति विवरणमा कास्कीमा चार कित्ता गरेर करिब २८ रोपनी जग्गा रहेको उल्लेख गरेका छन् । उनले सो जग्गा स्वआर्जनबाट किनेको र अमेरिकाबाट फर्किदा बचेको पैसाले किनेको उल्लेख गरेका छन् ।

साथै उनीसँग करिब ३ तोला सुन रहेको र सो सुन श्रीमतीको रहेको विवरणमा उल्लेख गरेका छन् ।

त्यसैगरी उनले आफूसँग चुनावको समयमा उठेको बचत रकम २५ लाख र विभिन्न व्यक्तिहरुले सहयोग गरेर आफ्नो खर्चको लागि राखेको ४ लाख बैंकमा रहेको समेत उल्लेख गरेका छन् ।

त्यसैगरी पुनले आफ्नो आत्मकथा अहिलेसम्म २ लाख ५० हजार प्रति बिक्रि गरेको र सो रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगन्ज कृषि औजार कारखाना संचालन गर्न  राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा गरिरहेको र आउदो दिनमा पनि किताब बिक्रीको रकम सोहि खातामा जम्मा गर्ने बताएका छन् ।

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य आज पनि घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ३ हजारले घटेर तोलाको २ लाख ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९७ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ४९१५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४९४५ मा कारोबार भएको थियो ।

Read More

इरानविरुद्ध लामो नाकाबन्दी लगाउने तयारीमा ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध लामो समयसम्म नाकाबन्दी कायम राख्ने तयारी गर्न आफ्ना अधिकारीलाई निर्देशन दिएका छन् ।

अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलले सरकारी अधिकारीलाई उद्धृत गर्दै ट्रम्प प्रशासनले इरानमाथि आर्थिक दबाब निरन्तर बढाउने रणनीति अपनाएको जनाएको छ । रिपोर्टअनुसार हालैका बैठकहरूमा ट्रम्पले इरानका बन्दरगाहसम्म जहाजको आवागमन रोक्दै तेल आपूर्ति र व्यापारलाई थप प्रभावित बनाउने योजना अघि बढाएका छन् ।

ट्रम्पले पुनः बमबारी गर्ने वा यो द्वन्द्वबाट पूर्ण रूपमा पछि हट्ने विकल्प बढी जोखिमपूर्ण हुन सक्ने ठानेकाले नाकाबन्दीलाई नै प्रभावकारी रणनीति मानेको बताइएको छ । यस कदमको मुख्य उद्देश्य इरानको अर्थतन्त्र र तेल निर्यातलाई अझ कमजोर बनाउने रहेको जनाइएको छ।

अमेरिकामा सन् १९७३ को ‘वार पावर्स रेजोल्युसन’ नामक कानुनअनुसार राष्ट्रपतिले संसदको स्वीकृतिबिना सेना प्रयोग गरे ६० दिनभित्र संसदबाट अनुमति लिनुपर्ने व्यवस्था छ । अमेरिकाले इरानमाथि फेब्रुअरी २८ देखि आक्रमण गरेको थियो भने यसको जानकारी संसदमा मार्च २ मा मात्रै दिइएको थियो। यस हिसाबले ट्रम्पसँग मे १ भित्र संसदको स्वीकृति लिनुपर्ने समयसीमा रहेको छ । अनुमति प्राप्त गर्न प्रतिनिधि सभा र सिनेट दुवैबाट सामान्य बहुमत आवश्यक पर्छ। तर अहिलेसम्म यस्तो स्वीकृति प्राप्त भएको छैन, किनकि कम्तीमा १० जना रिपब्लिकन सांसद युद्धको विपक्षमा रहेका छन् ।

कानुनअनुसार संसदले स्वीकृति नदिए सैन्य कारबाही अन्त्य गर्नुपर्ने हुन्छ । तर विगतमा पनि धेरै अमेरिकी राष्ट्रपतिहरूले यो व्यवस्थालाई पूर्ण रूपमा पालना नगरेको उदाहरण रहेको छ।

यसैबीच अमेरिका–इरान वार्तामा पनि विभिन्न विषयमा सहमति जुट्न सकेको छैन । अमेरिका इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने पक्षमा छ। तर इरानले अधिकतम पाँच वर्षसम्म मात्रै सीमित रोक स्वीकार गर्न सकिने बताएको छ । अमेरिकाले इरानसँग रहेको करिब ४०० किलो समृद्ध युरेनियम आफ्नो नियन्त्रणमा दिनुपर्ने माग गरेको छ। इरानले यो प्रस्ताव स्पष्ट रूपमा अस्वीकार गरेको छ।

इरानले आफ्ना बन्दरगाहमाथिको प्रतिबन्ध नहटेसम्म होर्मुज जलडमरूमध्यमा लगाइएको रोक कायम रहने बताएको छ। अमेरिका भने पूर्ण सम्झौता नभएसम्म प्रतिबन्ध नहट्ने अडानमा छ । इरानले करिब २० अर्ब डलर बराबरका रोक्का सम्पत्ति फुकुवा गर्न र प्रतिबन्ध हटाउन माग गरेको छ । साथै अमेरिका र इजरायलका आक्रमणबाट भएको क्षतिको क्षतिपूर्ति स्वरूप करिब २७० अर्ब डलर दिनुपर्ने इरानको माग छ । 

अमेरिकाले भने इरानले हिजबुल्लाह र हमासजस्ता आफ्ना सहयोगी समूहलाई दिँदै आएको समर्थन घटाउन र आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्नुपर्ने शर्त राखेको छ । इरान भने यसमा सहमत देखिएको छैन।

Read More

रास्वपा सांसद गणेश कार्कीको अध्यादेश बारे टिप्पणी- दुई तिहाइ ल्याएको पार्टीको लागि यो बहादुरी होइन !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले आफ्नै सरकारले ल्याएको अध्यादेश बारे टिप्पणी गर्दै यो बहादुरी नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सांसद कार्कीले झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरू नै भन्ने पछि खुल्ला तर यो बहादुरी भने नभएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्- ‘अध्यादेश सिफारिस भएको भन्ने कुरा, झन्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन ।’

सांसद कार्कीले  अध्यादेश सँधै संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो तर यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित रहेको भएपनि संविधानको मर्ममा नआएको उल्लेख गरेका छन् । संविधान अक्षरले बाँच्ने दस्तावेज नभएको बताउदै उनले मर्मको पालनाले जीवन्त रहने र संविधानका अक्षरले संविधानको मर्मलाई सिमित नगरोस् भनेका छन् ।

साथै उनले विपक्षी दलले यस्तै बेलामा अध्यादेश ल्याउदाखेरिका मैले उठाएका प्रश्नहरू अहिले पनि जीवित रहेको उनले उल्लेख गरेका छन् । 

Read More

ओमानले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुदैछ । त्रिवि क्रिकेट मैदानमा हुने यस खेलमा ओमानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो ।

नेपालले आजको प्लेइङ ११ मा एक परिवर्तन गरेको छ । आज ललित राजबंशीको स्थानमा गुलशन झालाई खेलाइएको छ ।

आज खेल्ने टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, बसिर अहमद, आरिफ सेख, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने र कारण केसी रहेका छन् ।

लिग- २ मा हालसम्म नेपालको २१ खेलमा १४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ भने ओमानको २५ खेलमा २९ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ ।

नेपाल र ओमान एकदिवसीय क्रिकेटमा अहिलेसम्म ८ पटक आमने सामने भएका छन् । जसमा ओमानले ५ पटक र नेपालले ३ पटक जितेको छ ।  

Read More

दक्षिण कोरियाका पूर्व राष्ट्रपति योलकी पत्नी किमलाई चार वर्षको जेल सजाय

काठमाडौँ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नी किम कियोन हीलाई भ्रष्टाचारसम्बन्धी अर्को मुद्दामा अदालतले चार वर्षको जेल सजाय सुनाएको छ ।

सियोल उच्च अदालतले किमलाई राजनीतिक लाभ दिलाउने वाचा बदलामा उपहार लिएको तथा शेयर मूल्य हेरफेरसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै सजाय बढाएको हो ।

यसअघि जनवरीमा जिल्ला अदालतले उनलाई २० महिनाको जेल सजाय सुनाएको थियो । त्यतिबेला उनीमाथि युनिफिकेशन चर्चबाट महँगो उपहार लिएको आरोप लागेको थियो । ती उपहारमा ग्राफ कम्पनीको हीराको हार र च्यानल कम्पनीको ब्याग समावेश थिए । यद्यपि, त्यसबेला शेयर मूल्य हेरफेरसम्बन्धी एक मुद्दामा भने उनलाई सफाइ दिइएको थियो । पछि दुवै पक्षले उक्त फैसलाविरुद्ध पुनरावेदन गरेका थिए। त्यसपछि उच्च अदालतले अर्को च्यानल ब्याग लिएको तथा शेयर मूल्य हेरफेरमा पनि संलग्न रहेको ठहर गर्दै सजाय चार वर्ष पुर्‍याएको हो ।

अदालतले राष्ट्रपतिकी पत्नीका रूपमा किमले देशको प्रतिनिधित्व गर्ने र राष्ट्रपतिमाथि प्रभाव राख्ने भएकाले उच्च नैतिक जिम्मेवारी अपेक्षित हुने जनाएको छ। तर उनले आफ्नो प्रभाव प्रयोग गरेर उपहार लिएको भन्दै अदालतले त्यसलाई गम्भीर रूपमा लिएको छ ।

यसअघि उनका पति तथा पूर्व राष्ट्रपति युन सुक योललाई दुई महिनाअघि जबर्जस्ती सैनिक शासन लागू गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।

सन् २०२४ डिसेम्बरमा युनले अचानक देशमा सैनिक शासन घोषणा गरेका थिए। उनले संसद भवनमा सेना र प्रहरी पठाउँदै ‘राष्ट्रविरोधी शक्ति’ र ‘उत्तर कोरिया समर्थक’लाई नियन्त्रण गर्न यस्तो कदम चालिएको बताएका थिए ।

तर त्यसपछि उनीविरुद्ध महाभियोग प्रक्रिया सुरु भई पदबाट हटाइएका थिए। अदालतले संसद नियन्त्रण गर्ने, राजनीतिक विरोधीलाई पक्राउ गर्ने र लामो समयसम्म निरंकुश शासन चलाउने प्रयास गरेको भन्दै उनलाई विद्रोहको नेतृत्व गरेको दोषी ठहर गरेको थियो।

अनुसन्धान टोलीले किमविरुद्ध १५ वर्ष जेल सजायको माग गरेको थियो। किम र स्वतन्त्र अनुसन्धान टोली दुवैलाई अब सर्वोच्च अदालतमा अपिल गर्न एक साताको समय दिइएको छ । किमका वकिलहरूले भने यो अनुसन्धान राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरेका छन्।

किम गत वर्ष अगस्टदेखि जेलमा छन् । प्रमाण नष्ट गर्न सक्ने आशंकामा अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी हिरासतमा राखिएकी थिइन् । राष्ट्रपतिको कार्यकालमा पनि उनी विभिन्न विवादमा तानिएकी थिइन्, जसका कारण युनको लोकप्रियतामा समेत असर परेको थियो ।

Read More

सरकारले ल्याएको अध्यादेश बारे काँग्रेसले विपक्षी दलहरूसँग छलफल गर्ने

काठमाडौँ । सरकारको अध्यादेश ल्याउने निर्णय बारे नेपाली कांग्रेसले विपक्षी दलहरूसँग छलफल गर्ने भएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज अपराहन्न १२ बजे काँग्रेसले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका विपक्षी दलहरुसँग छलफल गर्ने भएको हो ।

सरकारले संसद छलेर दुई अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिको कार्यालयमा पठाएपछि विरोध शुरु भएको छ । सरकारले मंगलबार संवैधानिक परिषद् र सहकारी समस्या समाधानसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई पठाइएको छ भने राष्टपतिबाट जारी हुन बाँकी रहेको छ । 

Read More