२०८३ असार ११

विश्व हाँसो दिवस मनाइँदै

काठमाडौँ । आज विश्व हाँसो दिवस मनाइँदैछ । हरेक वर्षको मे महिनाको पहिलो आइतबार यो दिवस मनाइन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन १९९८ देखि यो दिवस मनाउन थालिएको हो । योसँग सम्बन्धित संङ्घ संस्थाले यो विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् । 

हाँसोले सकारात्मक उर्जा दिने भएकाले योग प्रशिक्षकले हाँस्ने कक्षा नै सञ्चालन गर्ने गरेका छन् । हाँस्नाले मस्तिष्कमा सकारात्मक विचार उत्पन्न हुने र यसले शरीरमा उर्जाको सञ्चार गर्ने उनीहरुको भनाई छ । हाँसोलाई योगकै महत्वपूर्ण पाटो मानिन्छ । हिजोआज हाँसोको योगाकै लागि बनेर क्लब तथा संस्था खुल्न थालेका छन् । यो दिवस सन् १९८८ देखि भारतबाट मनाउन थालिएको हो । अहिले यो दिवस  नेपाल सहित विश्वव्यापी रुपमा मनाइन्छ ।

मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन हाँसोले प्रोत्साहित गर्दछ । हाँसोले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ । यसले स्वास्थ्यलाई समेत महत्वपूर्ण फाइदा गर्छ । मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँछ । सही सम्बन्धको अभावमा थुप्रै खालका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था हुन्छ । त्यस्तो अवस्थामा हाँस्दा वा खुसी हुँदा सामाजिक सम्बन्ध र सहयोगमा वृद्धि गर्छ । जब सामाजिक सहयोग बढ्छ त्यहाँ सम्बन्धहरू सुन्छिन् । तब व्यक्तिको तनाब कम हुन्छ, तनाब कम भएपछि सुखी बढ्छ र आनन्द बढ्छ । आनन्द बढ्नु भनेको नै मानसिक स्वास्थ्य स्वस्थ हुनु हो । हाँसोले आत्मविश्वास बढाउछ ।

हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै प्रतिरोधी क्षमतामा वृद्धि गर्न पनि सहयोग पुर्‍याउँछ । यसले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा पनि गर्छ । हाँस्ने बानीले विना तनाव कुनै पनि प्रकारका अप्ठेरोसँग जुध्ने क्षमतामा वृद्धि गर्छ ।

Read More

फुलह्याममाथि आर्सनलको सहज जित

काठमाडौँ । आर्सनलले जारी प्रिमियर लिग अन्तर्गत फुलह्याममाथि सहज जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा भिक्टोर ग्योकेरेजले २ गोल गरेका थिए भने बुकायो साकाले एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलको ३५ खेलमा ७६ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै लिग उपाधिको दौडमा आर्सनललाई चुनौती दिइरहेको म्यानचेस्टर सिटीको भने ३३ खेलमा ७० अंक रहेको छ ।

Read More

आइपिएलमा मुम्बईमाथि चेन्नई ८ विकेटले विजयी

काठमाडौँ । चेन्नई सुपर किंग्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।  गएराती सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई ८ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १६० रनको लक्ष्य पछाएको चेन्नईले १८.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले अविजित ६७ रन बनाएका थिए भने कार्तिक शर्माले अविजित ५४ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बई इण्डियन्सले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । मुम्बईका लागि नमन धिरले ५७ रन बनाएका थिए भने रयान रिकेलटनले ३७ रन बनाएका थिए ।

यो जितपछि चेन्नईको ९ खेलमा ८ अंक भएको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै मुम्बईले भने सातौं हार बेहोरेको छ । मुम्बईको ९ खेलमा ४ अंक रहेको छ ।

जारी आइपिएल अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल सनराइजर्स हैदरावाद र कोलकोताबीच हुदैछ भने दोस्रो खेल गुजरात र पञ्जावबीच हुदैछ ।

Read More

उपाधि जितको नजिक बार्सिलोना

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत ओसासुनामाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र फेरान टोरेजले एक एक गोल गरेका थिए । त्यस्तै ओसासुनाका लागि एक गोल राउल गार्सियाले गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ३४ खेलमा ८८ अंक भएको छ र लिगको उपाधि जितको नजिक पुगेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा बार्सिलोना १४ अंकले अगाडी भएको छ । रियल म्याड्रिडले एक खेल कम खेल्दै ३३ खेलमा ७४ रन बनाएको छ ।

Read More

अध्यादेश जारीसँगै राजनीतिक नियुक्ति पाएका कुल १५ सय ९४ जना एकमुष्ट पदमुक्त हुदै, को को छन् ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १५ सय ९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन् ।

जस अनुसार नेपाल वायुसेवा निगम ऐन, २०१९ बमोजिम नियुक्त अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धकसहित सात जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। राष्ट्रिय समाचार समिति ऐन, २०१९ अन्तर्गतका दुई जना सञ्चालक र गोरखापत्र संस्थान ऐन, २०१९ बमोजिमका अध्यक्ष तथा सञ्चालक गरी तीन जनाको पद रिक्त हुने भएको छ ।

त्यस्तै चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ अन्तर्गत चलचित्र जाँच समितिका अध्यक्ष र सदस्य गरी तीन जना तथा सञ्चार संस्थान ऐन, २०२८ बमोजिम नियुक्त अध्यक्ष र सञ्चालक गरी दुई जना पदमुक्त हुने भएका छन् ।

त्यसैगरी प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम मनोनीत अध्यक्ष र सदस्यहरू गरी १० जना तथा श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ अन्तर्गत नियुक्त अध्यक्ष र सदस्य गरी छ जनाको पद जाने भएको छ। दूरसञ्चार ऐन, २०५३ बमोजिम नियुक्त प्राधिकरणका अध्यक्ष र सदस्य गरी पाँच जना तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ बमोजिमका चारजना सदस्यहरू पदमुक्त हुने भएका छन्।

त्यस्तै विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम सूचना प्रविधि न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणका छ जना पदाधिकारी तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ अन्तर्गतका प्रमुख सूचना आयुक्त र सूचना आयुक्त गरी तीन जनाको पद रिक्त हुनेछ ।

पदमुक्त हुनेमा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम नियुक्त अध्यक्ष र सदस्य गरी छ जना, सुरक्षण मुद्रण सम्बन्धी ऐन, २०८१ अन्तर्गत नियुक्त तीन जना र सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ बमोजिमका अध्यक्ष र सदस्य गरी १५ जना पदाधिकारीहरू रहेका छन् ।

त्यसैगरी शिक्षा ऐन, २०२८ अन्तर्गतका विभिन्न समिति र शिक्षक सेवा आयोगका अध्यक्ष तथा सदस्य गरी २३ जना पदमुक्त हुने भएका छन्। नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ बमोजिम नियुक्त उपकुलपति र सेवा आयोगका पदाधिकारीसहित २८ जना तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ अन्तर्गतका १७ जना पदाधिकारीको पद रिक्त हुने भएको छ। राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अन्तर्गत नियुक्त ३४ जना पदाधिकारी पदमुक्त हुने भएका छन् । काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ बमोजिम नियुक्त उपकुलपति र कुलसचिवलगायत २५ जना तथा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ बमोजिम नियुक्त उपकुलपति र सेवा आयोगका पदाधिकारीसहित ८४ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० बमोजिम नियुक्त अध्यक्ष र सदस्य गरी आठ जना तथा पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० अन्तर्गत नियुक्त उपकुलपति र कुलसचिवलगायत ६९ जना पदाधिकारीको पद जाने भएको छ।

पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम नियुक्त उपकुलपति र शैक्षिक प्रमुखसहित ५० जना तथा लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ बमोजिम नियुक्त उपकुलपति र कुलसचिवलगायत ४४ जना पदमुक्त हुने भएका छन्।

सुदूरपश्चिम विश्वविद्यालय ऐन, २०६७ अन्तर्गत नियुक्त २७ जना र मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ बमोजिम नियुक्त २६ जना पदाधिकारीको पद रिक्त हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन, २०६७ अन्तर्गत नियुक्त २२ जना, नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ बमोजिम नियुक्त २४ जना, राजर्षि जनक विश्वविद्यालय ऐन, २०७४ अन्तर्गत नियुक्त ३९ जना र मदन भण्डारी विश्वविद्यालय ऐन, २०७९ बमोजिम नियुक्त २४ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्।

त्यसैगरी स्वास्थ्य, चिकित्सा र विज्ञान क्षेत्रका आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४५ बमोजिम नियुक्त कुलसचिव र सदस्य गरी छ जना तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ बमोजिमका नौ जना पदाधिकारी पदमुक्त हुने भएका छन्। पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ अन्तर्गत नियुक्त पाँच जना पदमुक्त हुने भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ अन्तर्गत नियुक्त उपकुलपतिलगायत १५ जना तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ बमोजिमका पाँच जना सदस्यको पद रिक्त हुने भएको छ । नेपाल नर्सिङ परिषद् ऐन, २०५२ अन्तर्गत नियुक्त आठ जना र नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ बमोजिम नियुक्त पाँच जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ अन्तर्गत नियुक्त १० जना र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र ऐन, २०५७ बमोजिम नियुक्त आठ जनाको पद जाने भएको छ। नेपाल फार्मेसी परिषद् ऐन, २०५७ अन्तर्गत नियुक्त सात जना र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ बमोजिम नियुक्त २२ जना पदाधिकारी पदमुक्त हुने भएका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ अन्तर्गत नियुक्त ३३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८ बमोजिम नियुक्त ३४ जना पदाधिकारीको पद रिक्त हुने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ अन्तर्गत नियुक्त ३१ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ बमोजिम नियुक्त ३१ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्।

स्वास्थ्य बीमा ऐन, २०७४ अन्तर्गत नियुक्त सात जना र जनस्वास्थ्य ऐन, २०७५ बमोजिम नियुक्त छ जना सदस्यको पद जाने भएको छ। नेपाल मेडिकल काउन्सिल ऐन, २०७५ अन्तर्गत नियुक्त आठ जना र राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम नियुक्त १६ जना पदाधिकारी पदमुक्त हुने भएका छन्। विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ अन्तर्गत नियुक्त ४२ जना र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ बमोजिम नियुक्त २९ जना पदाधिकारीहरूको पद रिक्त हुने भएको छ।

त्यसैगरी ऊर्जा, पूर्वाधार, वित्तीय र नियमनकारी निकाय नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम नियुक्त कार्यकारी निर्देशक र सदस्य गरी छ जना तथा काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ अन्तर्गत नियुक्त चार जना पदाधिकारी पदमुक्त हुने भएका छन्। नेपाल खानेपानी संस्थान ऐन, २०४६ बमोजिम नियुक्त छ जना र नगर विकास कोष ऐन, २०५३ अन्तर्गत नियुक्त छ जना पदाधिकारीको पद जाने भएको छ ।

त्यस्तै सडक बोर्ड ऐन, २०५८ बमोजिम नियुक्त चार जना, विद्युत नियमन आयोग ऐन, २०७४ अन्तर्गत नियुक्त पाँच जना र नेपाल रेल्वे ऐन, २०७९ बमोजिम नियुक्त रेल्वे प्रशासक र सदस्य गरी पाँच जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्।

त्यसैगरी वित्तीय क्षेत्रतर्फ कर्मचारी सञ्चय कोष ऐन, २०१९ बमोजिम नियुक्त आठ जना र नागरिक लगानी कोष ऐन, २०४७ अन्तर्गत नियुक्त तीन जनाको पद रिक्त हुने भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट ऐन, २०५३ बमोजिमका १५ जना र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३ अन्तर्गत नियुक्त पाँच जना पदाधिकारी पदमुक्त हुने भएका छन्।

अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन, २०५४ बमोजिम नियुक्त तीन जना र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत नियुक्त एक जना सदस्यको पद जाने भएको छ। प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ बमोजिम नियुक्त छ जना र सार्वजनिक खरिद ऐन, २०६३ अन्तर्गत पुनरावलोकन समितिका तीन जना पदाधिकारी पदमुक्त हुने भएका छन्।

निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत र सदस्य गरी तीन जना र विशेष आर्थिक क्षेत्र ऐन, २०७३ अन्तर्गत नियुक्त एक जनाको पद रिक्त हुने भएको छ। सहकारी ऐन, २०७४ बमोजिम नियुक्त आठ जना र सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ अन्तर्गत नियुक्त चार जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम नियुक्त दुई जना, बीमा ऐन, २०७९ अन्तर्गत नियुक्त दुई जना र प्रत्यायन ऐन, २०७९ बमोजिम नियुक्त छ जना पदाधिकारीहरूको पद जाने भएको छ।

कृषि, वातावरण, प्रज्ञा प्रतिष्ठान र सामाजिक क्षेत्र

त्यसैगरी बीउ बिजन ऐन, २०४५ अन्तर्गतका आठ जना सदस्य र नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ बमोजिम नियुक्त नौ जना पदाधिकारी पदमुक्त हुने भएका छन्। राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन, २०४८ अन्तर्गत नियुक्त सात जना र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ बमोजिम नियुक्त सात जनाको पद रिक्त हुने भएको छ।

त्यस्तै नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ अन्तर्गत नियुक्त तीन जना र बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ बमोजिम नियुक्त पाँच जना पदाधिकारी पदमुक्त हुने भएका छन्। जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ अन्तर्गत नियुक्त छ जना र वातावरण संरक्षण ऐन, २०७६ बमोजिम नियुक्त पाँच जनाको पद जाने भएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम नियुक्त सात जना पदाधिकारी पदमुक्त हुने भएका छन् ।

त्यस्तै प्रज्ञा प्रतिष्ठानतर्फ नेपाली भाषा प्रकाशन संस्थान ऐन, २०२१ बमोजिम नियुक्त नौ जना र गुठी संस्थान ऐन, २०३३ अन्तर्गत नियुक्त १० जनाको पद रिक्त हुने भएको छ। लुम्बिनी विकास कोष ऐन, २०४२ बमोजिम नियुक्त ११ जना र पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ अन्तर्गत नियुक्त नौ जना पदाधिकारी पदमुक्त हुने भएका छन्।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ बमोजिम नियुक्त ४९ जना र नेपाल स्काउट ऐन, २०५० अन्तर्गत नियुक्त ३३ जनाको पद जाने भएको छ। बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन, २०५५ बमोजिम नियुक्त १६ जना र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अन्तर्गत नियुक्त २५ जना पदाधिकारी पदमुक्त हुने भएका छन्।

आदिवासी जनजाति परिषद् अन्तर्गतका ६० जना मनोनीत सदस्यहरू र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ बमोजिम नियुक्त ३३ जनाको पद रिक्त हुने भएको छ। नेपाल सङ्गीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ अन्तर्गत नियुक्त ३३ जना र नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ बमोजिम नियुक्त ४३ जना पदाधिकारी पदमुक्त हुने भएका छन्।

त्यस्तै प्रशासनिक तथा सामाजिक क्षेत्रतर्फ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन, २०३९ बमोजिम नियुक्त चार जना र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९ अन्तर्गत नियुक्त एक जनाको पद जाने भएको छ। समाज कल्याण ऐन, २०४९ बमोजिम नियुक्त १० जना र नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ अन्तर्गत नियुक्त १४ जना पदाधिकारी पदमुक्त हुने भएका छन्।

वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम नियुक्त १० जना र नेपाल ट्रष्ट ऐन, २०६४ अन्तर्गत नियुक्त तीन जनाको पद रिक्त हुने भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिमका पाँच जना पदाधिकारी पदमुक्त हुने भएका छन्।

श्रम ऐन, २०७४ बमोजिम नियुक्त १० जना र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अन्तर्गत नियुक्त सात जनाको पद जाने भएको छ। विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम नियुक्त चार जना र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ अन्तर्गत नियुक्त १७ जना पदाधिकारी पदमुक्त हुने भएका छन्।

भू-उपयोग ऐन, २०७६ बमोजिम नियुक्त चार जना, रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अन्तर्गत नियुक्त तीन जना र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम नियुक्त २७ जना पदाधिकारीहरूको पद रिक्त हुने भएको छ।

यसरी १५ सय ९४ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् । 

Read More

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विन्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउन शुरु गरिएको हो ।

विश्व प्रेस स्वतन्त्रता दिवसको यस बर्षको नारा ‘शान्तिमा भविष्य निर्माण: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ रहेको छ । यस नाराले पारदर्शिता प्रवर्द्धन गर्ने, गलत सूचनाको प्रतिरोध गर्ने र द्वन्द्वको समयमा लोकतन्त्रको रक्षा गर्ने क्षमतामा केन्द्रित हुँदै शान्ति निर्माण उपकरणको रूपमा पत्रकारिताको महत्त्वपूर्ण भूमिकालाई जोड दिएको युनेस्कोले जनाएको छ ।

अभिव्यक्ति स्वतन्त्रतालाई बढीभन्दा बढी प्रचलनमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्न सञ्चार क्षेत्रले नै भूमिका निर्वाह गर्नसक्छ । त्यसकारण अधिकारको प्रयोगको दिशामा एउटा फड्को नै मार्ने गरी सञ्चार क्षेत्रले आफूलाई अझ क्रियाशील बनाउनका लागि काम गर्न यो वर्षको युनेस्कोले तय गरेको नाराले अपिल गरेको छ ।
राष्ट्रसंघको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्त्वपूर्ण दिनका रूपमा लिन्छन् ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा पश्चिमी र स्थानीय वायू, नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ साथै पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागको नजिक रहेको जानकारी दिएको छ ।

हाल कोशी,बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै आज राती देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको पहाडी भुभागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको पनि  सम्भावना रहेको छ ।

Read More

२०८३ बैशाख २० गते आइतबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ बैशाख २० गते आइतबार ईस २०२६ मे ३ नेपाल सम्बत ११४६ वछलाथ्व द्वितीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष द्वितीया, चन्द्रमा बृश्विक राशिमा, विशाखा नक्षत्र, वारियान योग, तैतिल  करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २५ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३९ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा बृश्विक राशीको हुनेछ । आज विश्व प्रेस स्वतन्त्रता दिवस र विश्व हाँसो दिवस परेको छ ।   

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आज तपाईंमा ऊर्जा र आत्मविश्वास दुवै राम्रो रहनेछ। लामो समयदेखि रोकिएका वा ढिलाइ भएका कामहरू फेरि अगाडि बढ्ने संकेत छन्। कामको परिणाम पनि बिस्तारै देखिन थाल्नेछ, जसले मनमा उत्साह बढाउनेछ । परिवारभित्र सानो असमझदारी वा मतभेद आउन सक्छ, तर धैर्य र शान्त व्यवहारले सहजै समाधान गर्न सकिनेछ। साथीभाइसँगको भेटघाट वा कुराकानीले मन हल्का बनाउनेछ। नयाँ काम वा योजना सुरु गर्ने सोच भए पनि हतार नगरी राम्रो तयारी गर्नु बुद्धिमानी हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आर्थिक पक्ष विस्तारै सुधार हुँदै जाने दिन हो। रोकिएको पैसा फिर्ता आउन सक्ने वा आम्दानीका नयाँ बाटा खुल्ने सम्भावना देखिन्छ ।घरपरिवारमा खुसीको वातावरण रहनेछ र नजिकका व्यक्तिसँग सम्बन्ध अझ गहिरो बन्नेछ। तर अनावश्यक खर्च बढ्ने संकेत पनि छ, त्यसैले योजना बनाएर चल्नु राम्रो हुन्छ। भावनामा बगेर निर्णय लिनु आज उचित नहुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

नयाँ सोच र योजना बनाउन राम्रो समय छ। अध्ययन, परीक्षा वा प्रतिस्पर्धामा लागेकाहरूका लागि आजको दिन उपयोगी रहनेछ । बोलचाल र लेखाइमा सक्रियता बढ्नेछ, तर हरेक कुरा सोचेर मात्र व्यक्त गर्नु राम्रो हुन्छ। गलत बुझाइले सानो समस्या पनि ठूलो बन्न सक्छ। आफन्त वा पुराना साथीहरूसँग भेटघाटले मनमा खुसी ल्याउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

लामो समयदेखि रोकिएका वा अड्किएका कामहरू समाधानतर्फ जाने संकेत छन्। घरपरिवारमा आपसी समझदारी बढ्नेछ, जसले मानसिक शान्ति दिनेछ । स्वास्थ्यमा सामान्य कमजोरी वा थकान महसुस हुन सक्छ, त्यसैले आराम र सन्तुलित खानपानमा ध्यान दिनु जरुरी छ। हतार नगरी धैर्यपूर्वक काम गर्दा दिन सहज बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज काममा केही चुनौती आउन सक्छन्, तर तपाईंको आत्मविश्वासले ती पार गर्न मद्दत गर्नेछ । ठूला लगानी वा निर्णय लिनुअघि राम्ररी सोच्नु आवश्यक छ। आर्थिक पक्ष केही दबाबमा देखिन सक्छ, त्यसैले खर्च नियन्त्रण गर्नु राम्रो हुन्छ। अनावश्यक विवाद र बहसबाट टाढा रहनु आज फाइदाजनक हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

परिवार र आफन्तसँग सम्बन्ध सुधार हुने दिन हो। पहिले भएका साना मनमुटावहरू हटेर नजिकपन बढ्नेछ । अध्ययन, अनुसन्धान वा नयाँ सीप सिक्ने अवसर मिल्नेछ। रोकिएको पैसा फिर्ता आउने सम्भावना पनि छ। निरन्तर प्रयासले आज राम्रो परिणाम दिन सक्छ, त्यसैले निराश नभई अघि बढ्न सकिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

कामको चाप बढ्नेछ, तर त्यसैअनुसार उपलब्धि पनि राम्रो देखिन्छ। सहकर्मी र साथीहरूको सहयोगले जटिल काम पनि सहज बन्नेछ । मनमा केही चिन्ता वा दवाब महसुस हुन सक्छ, विशेषगरी नजिकका व्यक्तिसँग सम्बन्धित विषयमा। स्वास्थ्य र आराममा ध्यान दिनु आज आवश्यक हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आत्मविश्वास र नेतृत्व क्षमता दुवै बढ्नेछ। नयाँ अवसर प्राप्त हुने वा जिम्मेवारी थपिने सम्भावना छ । सामाजिक वा परोपकारी कामतर्फ आकर्षण बढ्नेछ। ठूला वा अनुभवी व्यक्तिको सहयोगले महत्त्वपूर्ण काममा सफलता दिलाउन सक्छ। आजको दिन तपाईंको पहिचान बनाउने अवसर पनि हुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मनमा अस्थिरता वा चिडचिडापन बढ्न सक्छ। काममा साना अवरोध आउन सक्छन्, तर धैर्य राखेमा समस्या समाधान हुँदै जानेछ । शरीरमा थकान वा ऊर्जा कमी महसुस हुन सक्छ, त्यसैले आराममा ध्यान दिनु राम्रो हुन्छ। विवाद वा अनावश्यक बहसबाट टाढा रहनु आज आवश्यक छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

यात्रा वा बाहिरी कामको सम्भावना देखिन्छ। परिवारको साथ र सहयोगले मनमा आत्मबल बढ्नेछ । नयाँ योजना बनाउन सकिने राम्रो समय हो, तर अनुभवी व्यक्तिको सल्लाह लिनु लाभदायक हुनेछ। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

काममा प्रगति र सफलता देखिन्छ। तपाईंको प्रयासको राम्रो मूल्याङ्कन हुने सम्भावना छ । तर व्यवहारमा संयमता आवश्यक छ, सानो कुराले पनि गलत बुझाइ सिर्जना गर्न सक्छ। परिवार र जीवनसाथीको साथले मनोबल बढाउनेछ। धैर्यले आजको दिन अझ राम्रो बनाउन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

बौद्धिक, सिर्जनात्मक र नयाँ सोचमा प्रगति हुने दिन हो। नयाँ योजना वा विचारहरू कार्यान्वयन गर्ने अवसर मिल्नेछ । साथीभाइसँग रमाइलो समय बित्नेछ र मन हल्का महसुस हुनेछ। प्रेम सम्बन्धमा सकारात्मकता देखिए पनि धेरै अपेक्षा नगर्नु राम्रो हुन्छ। आजको दिन तपाईंको कल्पना र सोचले नयाँ बाटो देखाउन सक्छ ।

Read More