२०८३ असार ११

चीनले इरानी पाँच कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्ध नमान्ने

काठमाडौँ । चीनले इरानी तेल किन्ने पाँच कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्ध नमान्ने स्पष्ट पारेको छ ।

चीनको वाणिज्य मन्त्रालयले ती प्रतिबन्धले अन्य देशसँग सामान्य आर्थिक तथा व्यापारिक गतिविधि सञ्चालन गर्न चिनियाँ कम्पनीहरूलाई अवरोध गर्ने उल्लेख गरेको छ । मन्त्रालयले यसलाई अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तको उल्लंघन भएको जनाएको छ।

मन्त्रालयका अनुसार चीनले यस्ता अमेरिकी प्रतिबन्धलाई मान्यता नदिने र चिनियाँ कम्पनी तथा संस्थाहरूले पनि ती लागू गर्न नपर्ने बताइएको छ । साथै, संयुक्त राष्ट्रसंघको स्वीकृति बिना र अन्तर्राष्ट्रिय कानुनमा आधारित नभएका एकपक्षीय प्रतिबन्धको चीनले सधैँ विरोध गर्ने स्पष्ट गरिएको छ ।

यसअघि शुक्रबार मात्र अमेरिकाले अर्को एक चिनियाँ कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको थियो । अमेरिकाले उक्त कम्पनीले इरानबाट लाखौँ ब्यारेल कच्चा तेल आयात गरी इरानलाई अर्बौँ डलर आम्दानी गराएको आरोप लगाएको थियो ।

तर चीनको वाणिज्य मन्त्रालयले आफ्नो वक्तव्यमा उक्त कम्पनीको नाम खुलाएको छैन । उल्लेखनीय छ, अमेरिकाले लगाएका यी प्रतिबन्धहरू राष्ट्रपति डोनाल्ड ट्रम्पको यही महिनाभित्र चीन भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हुने भेटअघि सार्वजनिक भएका हुन् ।

Read More

बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्यो- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिदै  बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सभापति थापाले लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस भएको बताउदै प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको विरुद्ध नभएर यो त नागरिकको जान्न पाउने अधिकारको रक्षाका लागि भएको बताएका छन् । 

उनले सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व भएको भन्दै सभापति थापाले कतिपय अवस्थामा देखिने असुरक्षा र दबाबका बीच पनि सत्यको पक्षमा उभिने सञ्चारकर्मीहरूलाई सम्मान व्यक्त गरेका छन् ।

Read More

तुइन खोला नजिक पहिरो, सडक एकतर्फी

काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकै पहिरो जादा एकतर्फी भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार माथिबाट ढुंगाहरू झर्दा सडक एकतर्फी संचालनमा रहेको छ ।  सडक दुवैतर्फ संचालनमा ल्याउन मेशिन परिचालन भैसकेको कार्यालयले जनाएको छ । 

Read More

फिस्लिङमा ढुङ्गा खस्दा काठमाडौँ-मुग्लिङ सडक अबरुद्व

काठमाडौँ । काठमाडौँ-मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ ।

आइतबार बिहान फिस्लिङमा ढुङ्गा खस्दा सडक अबरुद्व भएको हो । अहिले ढुंगा हटाउने कार्य भइरहेको र छिट्टै सडक सुचारु हुने प्रहरीले जनाएको छ ।

Read More

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन् । राष्ट्रपति पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका हुन् ।  

उनले लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा प्रेसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता केवल सञ्चार क्षेत्रको विषय मात्र नभई नागरिकको सुसूचित हुन पाउने संवैधानिक अधिकार कार्यान्वयनसँग जोडिएको बताएका छन् । 

प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था पनि त्यति नै मजबुत हुने बताउदै उनले पत्रकारहरूलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनले संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै सूचना सङ्कलनदेखि प्रवाहसम्मको प्रक्रिया स्वतन्त्र र अवरोधरहित हुनुपर्ने बताउदै यसमार्फत सबै वर्ग र समुदायको आवाज प्रभावकारी रूपमा उठ्नुपर्ने उनको धारणा व्यक्त गरेका छन् ।

राष्ट्रपतिले अपुष्ट, भ्रामक र आधारहीन सूचनाले नागरिकलाई दिग्भ्रमित पार्ने र सही विचार निर्माणमा बाधा पुर्‍याउने बताउदै स्वतन्त्र पत्रकारिताले सत्यको खोजी र तथ्यमा आधारित सूचना प्रवाह गर्दै समाजमा सही कुरा स्थापित गर्न ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् ।

उनले भनेका छन्- ‘ नागरिकलाई दिग्भ्रमित गर्ने अपुष्ट, भ्रामक, र आधारहीन प्रकाशन र प्रसारणका सूचना संप्रेषण गर्ने तथा आम नागरिकलाई सही विचार निर्माण गर्न बाधासमेत उत्पन्न गर्ने गर्दछ । त्यसैले स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनु पर्दछ भन्ने मलाई लाग्दछ ।’ 

बढ्दो सामाजिक सञ्जालको प्रयोगसँगै फैलिन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई भ्रमित पार्ने तथा प्रणाली कमजोर बनाउने चुनौती रहेको उल्लेख गर्दै उनले यस्ता चुनौती सामना गर्दै सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न नेपाली सञ्चार क्षेत्रलाई यो दिवसले थप ऊर्जा र प्रेरणा दिने विश्वास उनले व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले संविधानले दिएको अधिकारको पूर्ण प्रयोग र संरक्षण गर्दै निर्भय रूपमा सक्रिय भई आमनागरिकसम्म सत्य सूचना पुर्‍याउन सञ्चार क्षेत्र सधैँ सफल रहोस् भन्ने कामना गरेका छन् ।

Read More

युद्ध रोक्न इरानको नयाँ प्रस्ताव, समीक्षा गर्दै ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा आएको नयाँ प्रस्तावको समीक्षा गर्ने बताएका छन् । ट्रम्पले उक्त प्रस्तावबारे अध्ययन गरिरहेको र यसबारे पछि थप जानकारी दिने बताएका हुन् ।

इरानका अर्ध-सरकारी सञ्चार माध्यम तस्नीम र फार्सका अनुसार इरानले अमेरिकाको नौ बुँदे प्रस्तावको जवाफमा पाकिस्तानमार्फत १४ बुँदे प्रस्ताव पठाएको छ ।

यसअघि ट्रम्पले इरानको पुरानो प्रस्ताव अस्वीकार गरेका थिए। यद्यपि, दुवै देशबीच वार्ता जारी रहेको छ र तीन सातादेखिको युद्धविराम कायम छ ।

तस्नीम समाचार एजेन्सीका अनुसार इरानले पठाएको १४ बुँदे प्रस्तावमा भविष्यमा हुने सैन्य आक्रमणविरुद्ध सुरक्षा सुनिश्चितता माग गरिएको छ । त्यस्तै, इरान वरपर रहेका अमेरिकी सेना फिर्ता गर्नुपर्ने, समुद्री नाकाबन्दी अन्त्य गर्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने र सबै प्रकारका प्रतिबन्ध हटाउनुपर्ने माग समावेश छन् । यसैगरी, लेबनानसहित सबै मोर्चामा भइरहेको युद्ध अन्त्य गर्नुपर्ने, होर्मुज जलडमरूका लागि नयाँ व्यवस्था लागू गर्नुपर्ने जस्ता बुँदाहरू पनि प्रस्तावमा राखिएका छन् ।

अमेरिकाले दुई महिनाको युद्धविराम प्रस्ताव गरे पनि इरानले सबै विषय ३० दिनभित्र समाधान हुनुपर्ने अडान राखेको छ । उसले अस्थायी युद्धविरामभन्दा पूर्ण रूपमा युद्ध अन्त्य गर्न जोड दिएको छ ।

यसबीच ट्रम्पले शुक्रबार उक्त प्रस्तावप्रति असन्तुष्टि जनाउँदै कूटनीतिक माध्यमबाट मात्र समस्या समाधान हुनेमा आफू विश्वस्त नभएको बताएका थिए । हाल इरान आफ्नो प्रस्तावबारे अमेरिकाको औपचारिक जवाफको प्रतीक्षामा रहेको जनाएको छ ।

Read More

आइपिएलमा आज दुई खेल हुदै

काठमाडौँ । जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल सनराइजर्स हैदरावाद र कोलकोता नाइट राइडर्सबीच हुदैछ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: ४५ बजेदेखि हुदैछ ।

जारी आइपिएलमा अहिलेसम्म सनराइजर्सले ९ खेलमा ६ जित र ३ हारसहित १२ अंक हासिल गरेको छ र हाल तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी कोलकोताको यो सिजनमा शुरुवात भने राम्रो भएको छैन । यद्यपी कोलकोताले कमब्याकको प्रयास भने गरेको छ । अहिलेसम्म खेलेका ८ खेलमा २ जित र ५ हार बेहोरेको कोलकोताले पछिल्ला २ खेल जितेर कमब्याकको संकेत दिएको छ ।

त्यस्तै आज दोस्रो खेल गुजरात टाइटन्स र पञ्जाव किंग्सबीच हुदैछ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । जारी आइपिएलमा गुजरातले ९ खेलमा ५ जित र ४ हार बेहोरेको छ । गुजरात १० अंकसहित पाँचौं स्थानमा रहेको छ । त्यसैगरी पञ्जावले भने उत्कृष्ट शुरुवात गर्दै ८ खेलमा १३ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

Read More

गभर्नर पौडेल पदमुक्त नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर र सरकारी बैंकमा नियुक्ति भएका पदाधिकारीहरु पदमुक्त नहुने भएका छन् ।

सरकारले अध्यादेशमार्फत ११० वटा कानून संशोधन हुनेगरी जारी गरेको  अध्यादेशमा नेपाल राष्ट्र बैंक ऐनलाई समावेश नगरेका कारण गभर्नर विश्वनाथ पौडेलको पद कायम नै हुने भएको हो ।

यसअघि गभर्नर पनि हटाउने भनिएपनि अध्यादेशमा समावेश नभएका कारण गभर्नर पौडेलसहित तीन बैंक नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्य र प्रमुख कार्यकारी अधिकृत(सीईओ) लगायतका पदाधिकारीहरु पदमुक्त नहुने भएका हुन् ।

Read More

रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आज बस्दैछ ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार पार्टी सचिवालयको बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय, घन्टीघर, बनस्थलीमा बस्ने गरि बोलाइएको छ ।

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधन सम्बन्धमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।

Read More

विश्वकप डिभिजन लिग- २ मा आज ओमान र युएई आमने सामने

काठमाडौँ । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ को सिरिज अन्तर्गत आज ओमान र युएईबीच खेल हुदैछ । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।

जारी सिरिजमा ओमानले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ । त्यस्तै  युएईले नेपालसँगका दुवै खेलमा हार बेहोरेको छ भने ओमानलाई पराजित गरेको छ ।

त्यस्तै लिग-२ को अंकतालिकामा ओमान २६ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा छ भने युएई २३ खेलमा १२ अंकसहित पुछारमा रहेको छ ।

त्यस्तै एकदिवसीय खेलमा ओमान र युएई अहिलेसम्म १० पटक आमने सामने भएका छन् । जसमा ओमानले ६ खेल जितेको छ भने युएईले ३ खेल जितेको छ । त्यस्तै एक खेल बराबरीमा सकिएको थियो ।

Read More