२०८३ कार्तिक १६

प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट पेस

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचेको भन्दै सर्वोच्चमा रिट पेस भएको छ ।

शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा. प्रेम सिलवालले छुट्टाछुट्टै रिट पेस गरेका हुन् ।

संवैधानिक परिषद्को निर्णय प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत देखिएको भन्दै रिट पेस गरिएको उनीहरुले रिटमा उल्लेख गरेका छन् ।

रिटमा संवैधानिक परिषद्को निर्णय यथास्थितिमा राख्न र संसदीय सुनुवाइको प्रक्रिया अघि नबढाउनु अन्तरिम आदेश माग गरिएको छ । सर्वोच्चले रिट दर्ता भने गर्न बाँकी रहेको छ ।

विहिबार संवैधानिक परिषद्ले प्रधानन्यायाधीश बन्न योग्यता पुगेका ६ मध्ये चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

Read More

१५ अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

बैठकले आगामी बैशाख २८ गते अपराह्न चार बजे बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।

Read More

हन्ता भाइरस बारे डब्लुएचओले गरायो १२ देशलाई सतर्क

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हन्ता भाइरस संक्रमणलाई लिएर १२ देशलाई सतर्क गराएको छ । दक्षिण एटलान्टिक महासागरस्थित बेलायती क्षेत्र सेन्ट हेलेनामा रहेको ‘एमभी होन्डियस’ नामक क्रुज जहाजसँग सम्बन्धित संक्रमण फैलिएपछि डब्ल्यूएचओले बिहीबार अलर्ट जारी गरेको हो ।

डब्ल्यूएचओका अनुसार हालसम्म हन्ता भाइरससँग सम्बन्धित पाँच वटा संक्रमण पुष्टि भएका छन् भने थप तीन जनामा संक्रमणको आशंका गरिएको छ । गम्भीर श्वासप्रश्वाससम्बन्धी कुल आठ बिरामी फेला परेका छन्, जसमध्ये तीन जनाको मृत्यु भइसकेको छ । पुष्टि भएका पाँच जनामा एन्डिज भाइरस संक्रमण देखिएको जनाइएको छ ।

डब्ल्यूएचओले यात्रा क्रममा क्रुज जहाजबाट ओर्लिएका यात्रु रहेका १२ देशलाई औपचारिक रूपमा जानकारी गराएको छ । ती देशमा क्यानडा, डेनमार्क, जर्मनी, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, सेन्ट किट्स एन्ड नेभिस, सिङ्गापुर, स्विडेन, स्विट्जरल्यान्ड, टर्की, बेलायत र संयुक्त राज्य अमेरिका रहेका छन् ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एडनोम घेब्रेयेससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक स्वास्थ्यसम्बन्धी कदम छिटो र प्रभावकारी रूपमा लागू गरिए संक्रमण सीमित दायरामै रहने आशा व्यक्त गरेका छन् । तर विभिन्न देशमा यात्रु तथा उनीहरूको सम्पर्कमा आएका व्यक्तिको परीक्षण जारी रहेकाले थप संक्रमित फेला पर्न सक्ने चेतावनी समेत उनले दिएका छन् ।

डब्ल्यूएचओले अर्जेन्टिनाका प्रयोगशालाबाट करिब दुई हजार पाँच सय हन्ता भाइरस परीक्षण किट पाँच देशमा पठाइँदै गरेको जनाएको छ । ‘एमभी होन्डियस’ जहाज सञ्चालन गर्ने डच कम्पनीले जहाजमा २३ देशका १४९ जना रहेको जानकारी दिएको छ ।

यसैबीच, जहाजबाट अलग गरिएको दुई जना शंकास्पद हन्ता भाइरस संक्रमित स्पेनको क्यानरी द्वीपसमूहमा रहेको ग्राउन्डेड एयर एम्बुलेन्समै राखिएको जनाइएको छ ।

Read More

करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

काठमाडौं । सर्वोच्च अदालतको आजको मुद्धाको पेशी करिब दुई घण्टा ढिलो गरि तोकिएको छ ।

संबैधानिक परिषदले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई विहिबार सिफारिस गरेपछि आज सर्वोच्चको पेसी ढिलो गरि तोकिएको हो ।

पेसी तोकिनु अघि आज सर्वोच्चका न्यायाधीशहरुको फुलकोर्टको बैठक बसेको बुझिएको छ । बैठकमा प्रधानन्यायाधीश सिफारिस बारे न्यायाधीशहरुले आफ्नो धारणा राखेको बताइएको छ ।

आजको पेसीमा प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्मा र कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलास तोकिएको छैन ।

Read More

प्रधानन्यायाधीश सिफारिश प्रकरणमा हर्क साम्पाङले गरे उपसभामुखको आलोचना

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश सिफारिस प्रकरणमा उपसभामुख रुवी कुमारी ठाकुरको भूमिकाको आलोचना गरेका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै साम्पाङले आफ्नो पार्टीबाट उपसभामुख ठाकुरले वरियता मिचेर प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरेको भन्दै खेद प्रकट गरेका हुन् ।  

उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसद् छलेर राष्ट्र प्रमुखमाथि दबाब सिर्जना गर्दै जारी गराउनु गलत भएको बताएका छन् । साम्पाङले गलत कार्यलाई सही भन्न नसकिने उल्लेख गर्दै सरकारले वरिष्ठताको चौथो क्रममा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरेर अर्को ठूलो गल्ती गरेको आरोप लगाएका छन् ।

उनले सुशासन र थिति बसाल्ने आश्वासन दिएर सत्तामा पुगेका दलहरूले अहिले विधि मिचेर काम गरिरहेको टिप्पणी गर्दै सरकारले गरेको नियुक्ति राजनीतिक तथा कानुनी स्वार्थबाट प्रेरित हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनका अनुसार सहकारी ठगी प्रकरण तथा भदौ २३ र २४ गते भएको ‘जेन जेड’ आन्दोलनजस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउने उद्देश्यले उक्त नियुक्ति गरिएको हुन सक्ने देखिन्छ ।

उनले नियुक्तिसम्बन्धी बैठकका क्रममा विभिन्न दललाई एक ठाउँमा ल्याउनुपर्ने विषयदेखि एमसीसी र एसपीपी जस्ता विषयसमेत उठाएर दबाब र प्रभाव सिर्जना गरिएको दाबी गरेका छन् । अध्यक्ष साम्पाङले विधि र प्रक्रियालाई मिचेर राजनीतिलाई अघि सार्ने प्रवृत्तिको श्रम संस्कृति पार्टीले सधैं विरोध गर्ने बताएका छन् ।

Read More

नयाँ कार्यविधि अनुसार विश्वविद्यालयका उपकुलपतिका लागि यस्तो छ आवश्यक न्यूनतम योग्यता

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयमा रिक्त उपकुलपतिको नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको हो । 

इच्छुक तथा योग्य व्यक्तिले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० (दश) दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np मा दिइएको लिङ्कमा गई दरखास्त दिन सकिने बताइएको छ । उपकुलपति सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट बैशाख २४ गते स्वीकृत विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम दरखास्त आह्वान गरिएको समितिले जनाएको छ ।

आवश्यक न्यूनतम योग्यताः 

(१) यस कार्यविधि बमोजिम विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि उम्मेदवारको न्यूनतम योग्यता देहाय बमोजिम हुनेछ:-

(क) मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधी उपाधि प्राप्त गरेको,
(ख) अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको,
(ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापनसम्बन्धी सिप र कौशल प्रदर्शन गरेको,
(घ) चालिस वर्ष उमेर पूरा भएको,
(ङ) उच्च नैतिक चरित्र भएको,
(च) प्रचलित ‘कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिको लागि अयोग्य नरहेको,
(छ) आवेदकको सम्बन्धित् विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको, 
(ज) नेपाली नागरिक भएको,
(झ) दरखास्त दिने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको ।

(२) लुम्बिनी बौद्ध विश्वविद्यालयको हकमा उपदफा (१) को खण्ड (क) को सट्टा देहायको व्यवस्था गरिएको छ, मान्यता प्राप्त विश्वविद्यालयबाट बौद्ध दर्शनसम्बन्धी विषयमा कम्तिमा विद्यावारिधी उपाधि हासिल गरेको ।

(३) कृषि तथा वनविज्ञान विश्वविद्यालयको हकमा उपदफा (१) को खण्ड (क) को सट्टा देहायको व्यवस्था गरिएको छ. मान्यता प्राप्त विश्वविद्यालयबाट कृषि, भेटेरेनरी वा वनविज्ञान विषयमा कम्तिमा विद्यावारिधी उपाधि हासिल गरेको ।

Read More