२०८३ जेष्ठ २७

आइपिएलमा दिल्लीमाथि कोलकोताको सहज जित

काठमाडौँ । कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई ८ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १४३ रनको लक्ष्य पछाएको कोलकोताले १४.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

कोलकोताको जितमा फिन एलेनले अविजित ४७ बलमा १०० रनको शतकीय पारी खेलेका थिए भने क्यामरुन ग्रीनले ३३ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १४२ रन बनाएको थियो ।

दिल्लीका लागि पाथुम निसन्काले सर्बाधिक ५० रन बनाए भने आशुतोष शर्माले ३९ र के एल राहुलले २३ रन बनाएका थिए ।  त्यस्तै कोलकोताका बलर कार्तिक त्यागी र अनुकुल रोयले २-२ विकेट लिएका थिए ।

यो कोलकोताको यस सिजनमा लगातार चौथो जित हो ।१० खेलमा ९ अंक हासिल गरेको कोलकोता सातौं स्थानमा उक्लिएको छ ।

त्यस्तै दिल्ली क्यापिटल्सको भने यो सातौं हार हो । यो हारपछि दिल्लीको प्लेअफको सम्भावना लगभग सकिएको छ । ११ खेलमा ८ अंक रहेको दिल्ली आठौँ स्थानमा झरेको छ ।

जारी आइपिएलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच खेल हुदैछ ।

Read More

सरकारको नयाँ निर्णयपछि भैरहवा भन्सारमा चहलपहल

काठमाडौं। भैरहवा नाका मा केही दिनदेखि अवरुद्ध बनेको आयात प्रक्रिया पुनः सहज हुन थालेको छ। अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका वस्तु रोकिएपछि प्रभावित बनेको भन्सार प्रक्रिया सरकारको नयाँ निर्णयसँगै क्रमशः सामान्य बन्दै गएको हो।

भन्सार विभागले आयातकर्ताले बजारमा बिक्रीअघि एमआरपी, ब्राण्ड र उपभोग्य मितिसहितको लेबल टाँस्ने लिखित स्वघोषणा गरेमा तत्कालका लागि सामान छुटाउन सकिने व्यवस्था गरेको छ। त्यसपछि रोकिएका मालसामान धमाधम छुट्न थालेका छन्।

भैरहवा भन्सार कार्यालयका अनुसार नयाँ व्यवस्थापछि रोकिएका आयातित वस्तुको जाँचपास प्रक्रिया पुनः सञ्चालनमा आएको छ। यसअघि अचानक लागू गरिएको नियमका कारण धेरै व्यवसायी समस्यामा परेका थिए।

व्यवसायीहरूले विदेशबाट पहिले नै अर्डर गरिएका सामानमा तुरुन्तै एमआरपी टाँस्न सम्भव नभएको र भन्सारमै लेबलिङ गर्न व्यवहारिक कठिनाइ भएको गुनासो गरेका थिए। एमआरपी विवादकै कारण भैरहवा नाकामा ९०० भन्दा बढी मालवाहक गाडी रोकिएको बताइएको छ।

Read More

रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद’ प्रशिक्षण आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा पार्टीका प्रतिनिधि सभा सदस्यहरूका लागि ‘सक्षम सांसद, सशक्त संसद्’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शृङ्खलाको पहिलो चरण आजदेखि सुरु हुँदैछ ।

वैशाख २६ र २७ गते ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन हुने यस कार्यक्रमको औपचारिक उद्घाटन पार्टी उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ ।

प्रशिक्षणको पहिलो दिन सदन र सरकारको अन्तरसम्बन्ध एवं संसदीय प्रक्रियामा केन्द्रित रहनेछ। जसअन्तर्गत पार्टी, सरकार र सदनबीचको समन्वयकारी सम्बन्धका बारेमा महामन्त्री भूपदेव शाहले प्रशिक्षण दिने छन् । त्यसैगरी, संसदीय समितिहरूमा सांसदहरूले खेल्नुपर्ने सक्रिय भूमिकाका विषयमा संसदीय दलका उपनेता गणेश पराजुली र संसदीय अभ्यास एवं दलीय समन्वयमा सचेतकको भूमिकाबारे सांसद निशा डाँगीले आफ्ना अनुभव र  विधिहरू प्रस्तुत गर्ने छन् । 

दोस्रो दिनको सत्र विशेषगरी राजनीतिक आचरण, कूटनीति र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुनेछ। सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार र उच्च नैतिक आचरणका बारेमा प्रशिक्षण दिने छिन् भने परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षहरूबारे जानकारी गराउने छन् । साथै, सह-महामन्त्री विपिन कुमार आचार्यले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको वैज्ञानिक रूपरेखा र पार्टीको आन्तरिक तयारीबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रशिक्षण कार्यक्रमको समापन सत्रमा पार्टी सभापति रबि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्य राख्ने कार्यसूची रहेको छ । यस दुई दिने सघन प्रशिक्षणले रास्वपाका सांसदहरूलाई संसदीय मर्यादा कायम राख्दै जनसरोकारका मुद्दाहरूमा सदनमा अझ सशक्त र प्रखर रूपमा प्रस्तुत हुन आवश्यक ऊर्जा र ज्ञान प्रदान गर्ने विश्वास रास्वपाले लिएको बताइएको छ ।

Read More

कर घटाउने वाचा संकटमा: दबाबमा अर्थ मन्त्रालय, स्वर्णिमको कर ‘एक्सपेरिमेन्ट’ असफल

काठमाडौं। चुनावी अभियानमा सवारी साधनमा लाग्ने उच्च कर घटाउने र व्यक्तिगत आयकरको सीमा बढाउने प्रतिबद्धता जनाएका अर्थमन्त्री स्वर्णिम वाग्ले अहिले भने दबाबमा परेका छन्। आगामी बजेटमार्फत करका दर घट्ने अपेक्षा गरिए पनि राजस्व संकलन कमजोर बनेपछि त्यस्तो सम्भावना न्यून देखिएको छ।

सरकारले पछिल्लो समय करको दायरा विस्तार गर्न भन्सार कडाइ र एमआरपी अनिवार्यजस्ता उपाय लागू गर्न खोजे पनि दुवै प्रयास प्रभावकारी हुन सकेनन्। व्यवसायीको दबाब र राजस्व संकलनमा असर देखिएपछि सरकार केही निर्णयबाट पछि हटेको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार राजस्वको वैकल्पिक आधार बलियो नहुँदा परम्परागत कर संरचनामै बजेट बनाउनुपर्ने अवस्था आएको छ। यसले विशेषगरी सवारी साधनको कर घटाउने विषयलाई जटिल बनाएको बताइएको छ।

अटो व्यवसायीसँगको छलफलमा अर्थमन्त्री वाग्लेले समेत कर घटाउने विषयमा धेरै ठूलो अपेक्षा नगर्न संकेत दिएका छन्। पेट्रोलियम र विद्युतीय सवारी साधनको कर अन्तर घटाउनेबारे समीक्षा भए पनि त्यसबाट ठूलो राजस्व गुम्ने निष्कर्ष निकालिएको स्रोतको भनाइ छ।

यद्यपि व्यक्तिगत आयकरको न्यूनतम सीमा भने केही बढाउन सकिने विषयमा छलफल भइरहेको बताइएको छ। राजस्व परामर्श समितिले केही दिनभित्र सरकारलाई अन्तिम सुझाव बुझाउने तयारी गरेको छ।

Read More

सडक पुगेपछि बढ्दै दोभानको आन्तरिक पर्यटन चहलपहल

काठमाडौं। म्याग्दीको दोभान पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। केही वर्षअघिसम्म बर्खायाममा पशुचौपाया राख्ने घुम्तीगोठका रूपमा सीमित यो क्षेत्र अहिले धौलागिरि चक्रीय पदमार्गको महत्वपूर्ण विश्रामस्थल बनेको छ।

समुन्द्री सतहदेखि करिब तीन हजार मिटर उचाइमा रहेको दोभान वरिपरि घना जंगल, अग्ला हिमाल र शान्त वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ। धौलागिरि चौथोबाट आउने कुनावाङ खोला र धौलागिरि पहिलोबाट बग्ने म्याग्दी नदीको संगम भएकाले यस स्थानको नाम ‘दोभान’ राखिएको स्थानीय बताउँछन्।

दोभानबाट पैदलयात्रा गर्दै इटाली आधार शिविर र चर्चित कुनावाङ ताल पुग्न सकिन्छ। यहाँ मृग, घोरल र झारलजस्ता वन्यजन्तु अवलोकनका साथै वसन्तयाममा फुल्ने लालीगुराँसले थप आकर्षण बढाउने गरेको छ।

पर्यटकको सुविधाका लागि दोभानमा दुई होटल सञ्चालनमा छन् भने सडक पुगेपछि जिप र मोटरसाइकलमार्फत यात्रा सहज बनेको छ। यातायात सुविधा विस्तारसँगै पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्न थालेको स्थानीयले बताएका छन्।

Read More

वीपी कोइराला प्रतिष्ठानको जग्गा धरान उपमहानगरलाई उपयोग गर्न दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने आफ्नो राष्ट्रिय संकल्पलाई कार्यान्वयन गर्दै धरानमा आधारभूत अस्पताल निर्माणका लागि महत्वपूर्ण निर्णय गरेको छ । 

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा वैशाख २१ गते बसेको मन्त्रिपरिषद् बैठकले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा धरान उपमहानगरपालिकालाई उपयोग गर्न दिने प्रस्ताव स्वीकृत गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट पेश गरिएको उक्त प्रस्तावलाई सरकारले नागरिकको आधारभूत आवश्यकतासँग जोडेर प्राथमिकताका साथ अघि बढाएको प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले बताएकी छन् । यो निर्णयसँगै धरान उपमहानगरपालिका वडा नम्बर १ स्थित छाता चोकमा रहेको कित्ता नम्बर २४ को १–४–१३–१ विघा जग्गामा अब स्थानीय स्तरको सुविधासम्पन्न अस्पताल बन्ने बाटो खुलेको छ। 

धरानमा हालसम्म आफ्नै आधारभूत अस्पताल नभएको यथार्थलाई मध्यनजर गर्दै संघीय सरकारले स्थानीय जनभावना र आवश्यकतालाई यो निर्णयमार्फत प्रत्यक्ष सम्बोधन गरेको छ। यस प्रक्रियामा भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत सकारात्मक राय र सहमति प्राप्त हुनुले सरकारी निकायहरूबीचको प्रभावकारी समन्वयलाई पुष्टि गरेको विज्ञ दाहालले उल्लेख गरेकी छन् ।

विगतमा जग्गा प्राप्तिको विषयलाई लिएर विभिन्न राजनीतिक तह र सामाजिक सञ्जालमा विरोधका स्वरहरू सुनिए पनि सरकारले कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी ठोस निकास दिएर आफ्नो जिम्मेवारी निभाएको उनको भनाइ छ । 

Read More

नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

काठमाडौँ । नेपालको राष्ट्रिय ए क्रिकेट टिमले आज स्कटल्याण्डको सामना गर्दैछ । माथिल्लो मुलपानी क्रिकेट मैदान हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।

नेपाल ए ले यसअघि विहिबार स्कटल्याण्डलाई र शुक्रबार अमेरिकालाई पराजित गरेको थियो ।

मे १२ देखि २२ सम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने विश्व क्रिकेट लिग–२ को तयारीका लागि क्यानले नेपाल ए टिमलाई स्कटल्याण्ड र अमेरिकासँग यी खेल खेलाइरहेको छ ।

नेपाल ए ले अर्को खेल मे ११ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ ।

यो सिरिज खेल्ने नेपाल ए टिममा कप्तान अनिल कुमार साहसहित तृतराज दास, देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, सन्तोष यादव, हेमन्त धामी, रसिद खान, मयन यादव, नारायण जोशी, आकाश चन्द, दीपक डुम्रे, शेर मल्ल, कुशल मल्ल, विपिन खत्री, युवराज खत्री, पवन सराफ र साहब आलम रहेका छन् ।

Read More

आज ७४औँ कानुन दिवस मनाइदै

काठमाडौँ । आज वैशाख २६ गते अर्थात् ७४औँ कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवद्र्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ । 

कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो । विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानुन दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो । उक्त ऐन २००९ साल पुस ८ गतेको गजेटमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा हालको सर्वोच्च अदालतको स्थापना भएको हो । 

न्यायपालिकालाई कार्यपालिकाबाट पृथक राखी स्वतन्त्र, निष्पक्ष र तटस्थ न्यायपालिकाको स्थापना, विधिको शासन र आधुनिक न्याय प्रणालीको श्रीगणेश सोही दिनदेखि भएको मानिन्छ ।

Read More

आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकरी दिएको छ ।

हाल मधेश, बागमती र गण्डकी प्रदेश लगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भु-भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम सम्मको वर्षा साथै मधेश, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ हल्का वर्षा भईरहेको छ।

आज दिउँसो हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ।  कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपात साथै तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Read More

२०८३ बैशाख २६ गते शनिबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ बैशाख २६ गते शनिबार ईस २०२६ मे ९ नेपाल सम्बत ११४६ वछलाथ्व सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष सप्तमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शुक्ल योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४२ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कानुन दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
आज तपाईंमा उत्साह र आत्मविश्वास दुवै बढ्ने देखिन्छ। लामो समयदेखि अधुरा रहेका काम पूरा गर्ने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिबाट राम्रो सुझाव तथा सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा सामान्यभन्दा राम्रो आम्दानी हुने संकेत छ। परिवारसँगको सम्बन्ध अझ मधुर बन्नेछ र घरमा रमाइलो वातावरण रहनेछ। साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक पक्षमा भने सजग रहनु राम्रो हुनेछ। स्वास्थ्य सामान्य रहनेछ तर आराममा ध्यान दिनु उपयुक्त हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)–
आज धैर्य र मेहनतले राम्रो परिणाम दिने दिन छ। अध्ययन तथा प्रतियोगितात्मक क्षेत्रमा प्रगति देखिने सम्भावना छ। रोजगारी खोज्नेहरूका लागि सकारात्मक खबर आउन सक्छ। व्यवसायमा नयाँ अवसर प्राप्त हुन सक्ने देखिन्छ। आफन्त तथा परिवारबाट साथ र सहयोग मिल्नेछ। दाम्पत्य जीवनमा खुशी र समझदारी बढ्नेछ। पुराना साथीहरूसँगको भेटले मन हलुका बनाउनेछ। आर्थिक पक्ष बलियो बन्दै जाने संकेत छ। खानपिनमा ध्यान नदिँदा सामान्य स्वास्थ्य समस्या देखिन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)–
आज सामाजिक सम्बन्ध विस्तार हुने दिन छ। तपाईंको बोली र व्यवहारले अरूलाई प्रभावित बनाउन सकिनेछ। नयाँ योजना सुरु गर्न उपयुक्त समय देखिन्छ। व्यापारमा लाभ हुने संकेत छन् भने जागिरमा जिम्मेवारी बढ्न सक्छ। परिवारमा सानो खुशीको वातावरण बन्नेछ। यात्राको सम्भावना देखिएकाले आवश्यक सावधानी अपनाउनु राम्रो हुनेछ। प्रेम सम्बन्धमा रमाइलो समय बित्नेछ। खर्च बढे पनि आवश्यक काममै खर्च हुने देखिन्छ। स्वास्थ्यमा थकान महसुस हुन सक्ने भएकाले आराम आवश्यक हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
आज मन शान्त र सकारात्मक रहनेछ। घरपरिवारमा मेलमिलाप र समझदारी बढ्नेछ। रोकिएको काम पुनः अघि बढ्ने सम्भावना छ। व्यवसायमा सुधार आउने संकेत देखिन्छ। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा लाभ मिल्न सक्छ। साथीभाइ तथा आफन्तसँगको सहकार्यले फाइदा पुग्नेछ। प्रेम सम्बन्धमा मिठास थपिनेछ। आर्थिक पक्ष सामान्य रहने भए पनि अनावश्यक खर्चबाट जोगिनु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार आउने देखिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
आज नेतृत्व क्षमता र निर्णयशक्ति बलियो रहनेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुन सक्छ। व्यवसायमा नयाँ योजना सफल बन्ने संकेत छ। पारिवारिक जिम्मेवारी बढे पनि सबैको सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुन सक्छ। प्रेम तथा दाम्पत्य जीवन सुखद रहनेछ। आर्थिक लाभका अवसर देखिनेछन्। सानो यात्राबाट फाइदा मिल्ने सम्भावना छ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस भए पनि ठूलो समस्या देखिँदैन।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)–
आज सोचविचार गरेर निर्णय लिनुपर्ने दिन छ। काममा केही ढिलाइ भए पनि अन्ततः सफलता प्राप्त हुनेछ। अध्ययन तथा अनुसन्धानका क्षेत्रमा राम्रो प्रगति हुने संकेत छ। परिवारका सदस्यसँग समय बिताउँदा मन हलुका हुनेछ। आर्थिक कारोबार गर्दा सतर्क रहनु उपयुक्त हुनेछ। पुरानो विवाद समाधानतर्फ जान सक्छ। प्रेम सम्बन्धमा सामान्य उतारचढाव आउन सक्छ। स्वास्थ्यमा पेटसम्बन्धी समस्या देखिन सक्ने भएकाले खानपिनमा ध्यान दिनु आवश्यक हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)–
आज नयाँ अवसर प्राप्त हुने दिन छ। व्यवसाय तथा जागिरमा प्रगति हुने संकेत छन्। सहकर्मी तथा साथीभाइबाट राम्रो सहयोग मिल्नेछ। परिवारमा खुशीको समाचार सुन्न पाइने सम्भावना छ। आर्थिक पक्षमा सुधार आउनेछ। वैदेशिक यात्रा वा नयाँ कामको योजना बन्न सक्छ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने योग देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–
आज आत्मबल र साहस बढ्नेछ। कठिन काम पनि सहज रूपमा पूरा गर्न सकिनेछ। कार्यक्षेत्रमा राम्रो अवसर प्राप्त हुन सक्छ। आर्थिक लाभ हुने सम्भावना देखिन्छ तर खर्च पनि बढ्न सक्छ। परिवारसँग रमाइलो समय बित्नेछ। साथीभाइसँगको सहकार्य लाभदायी बन्नेछ। प्रेम सम्बन्धमा भावनात्मक निकटता बढ्नेछ। यात्राको सम्भावना देखिन्छ। स्वास्थ्यमा सामान्य थकान र कमजोरी महसुस हुन सक्छ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)–
आज भाग्यले राम्रो साथ दिने दिन छ। अध्ययन, लेखन तथा सिर्जनात्मक क्षेत्रमा सफलता प्राप्त हुनेछ। धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्न सक्छ। व्यापार व्यवसायमा लाभ मिल्ने संकेत छन्। परिवारका सदस्यसँग सम्बन्ध अझ सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा खुशी र उत्साह बढ्नेछ। आर्थिक पक्ष बलियो हुँदै जाने देखिन्छ। यात्राबाट लाभ मिल्न सक्छ। स्वास्थ्यमा सुधार आउने संकेत छ।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)–
आज मेहनतको फल प्राप्त हुने दिन छ। पेशा तथा व्यापारमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। नयाँ जिम्मेवारी आउन सक्छ तर त्यसले भविष्यमा फाइदा दिनेछ। परिवारसँगको सम्बन्ध अझ बलियो बन्नेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। घरायसी काममा व्यस्तता बढ्न सक्छ। प्रेम सम्बन्धमा समझदारी कायम रहनेछ। स्वास्थ्यमा सामान्य थकान देखिन सक्ने भएकाले आराम गर्नु आवश्यक हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)–
आज सहकार्य र सम्बन्ध विस्तारका लागि राम्रो दिन छ। नयाँ व्यक्तिसँगको चिनजानले भविष्यमा लाभ दिन सक्छ। व्यवसायमा सकारात्मक परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुन सक्छ। परिवार तथा साथीभाइबाट राम्रो साथ मिल्नेछ। प्रेम सम्बन्धमा रमाइलो वातावरण बन्नेछ। आर्थिक लाभका अवसर देखिनेछन्। सानो यात्राले मन प्रसन्न बनाउन सक्छ। स्वास्थ्य सामान्य रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)–
आज रचनात्मक सोच र नयाँ योजना सफल बन्ने संकेत छन्। कार्यक्षेत्रमा राम्रो अवसर प्राप्त हुन सक्छ। परिवारबाट साथ र हौसला मिल्नेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। लगानी तथा व्यापारमा फाइदा मिल्न सक्छ। प्रेम सम्बन्धमा विश्वास र आत्मीयता बढ्नेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। साथीभाइसँग रमाइलो भेटघाट हुन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ र मन उत्साहित रहनेछ ।

Read More