२०८३ कार्तिक १३

सरकारको नयाँ निर्णयपछि भैरहवा भन्सारमा चहलपहल

काठमाडौं। भैरहवा नाका मा केही दिनदेखि अवरुद्ध बनेको आयात प्रक्रिया पुनः सहज हुन थालेको छ। अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका वस्तु रोकिएपछि प्रभावित बनेको भन्सार प्रक्रिया सरकारको नयाँ निर्णयसँगै क्रमशः सामान्य बन्दै गएको हो।

भन्सार विभागले आयातकर्ताले बजारमा बिक्रीअघि एमआरपी, ब्राण्ड र उपभोग्य मितिसहितको लेबल टाँस्ने लिखित स्वघोषणा गरेमा तत्कालका लागि सामान छुटाउन सकिने व्यवस्था गरेको छ। त्यसपछि रोकिएका मालसामान धमाधम छुट्न थालेका छन्।

भैरहवा भन्सार कार्यालयका अनुसार नयाँ व्यवस्थापछि रोकिएका आयातित वस्तुको जाँचपास प्रक्रिया पुनः सञ्चालनमा आएको छ। यसअघि अचानक लागू गरिएको नियमका कारण धेरै व्यवसायी समस्यामा परेका थिए।

व्यवसायीहरूले विदेशबाट पहिले नै अर्डर गरिएका सामानमा तुरुन्तै एमआरपी टाँस्न सम्भव नभएको र भन्सारमै लेबलिङ गर्न व्यवहारिक कठिनाइ भएको गुनासो गरेका थिए। एमआरपी विवादकै कारण भैरहवा नाकामा ९०० भन्दा बढी मालवाहक गाडी रोकिएको बताइएको छ।