२०८३ कार्तिक ८

यस साता देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौँ । देशका विभिन्न स्थानमा यस साता वर्षाको क्रम जारी रहने पूर्वानुमान गरिएको छ। मौसमविद्का अनुसार यस अवधिमा हल्कादेखि केही स्थानमा भारी वर्षासमेत हुनसक्ने सम्भावना छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज (असोज २०) केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित छोटो समयका लागि भारी वर्षा हुनसक्नेछ। धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताएका छन्।

सामाजिक सञ्जालमार्फत मौसमबारे जानकारी दिँदै डा. पोखरेलले आज वायुमण्डल अस्थिर रहने भएकाले केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित भारी वर्षा हुनसक्ने बताएका हुन्। उनका अनुसार वर्षाको यो क्रम करिब हप्ताभरि नै जारी रहने देखिएको छ।

उनले मंगलबार र बुधबार (असोज २०–२१) केही स्थानमा तुलनात्मक रूपमा ठूलो वर्षाको सम्भावना रहेको उल्लेख गरेका छन्। त्यसपछि बिहीबारदेखि शनिबारसम्म सामान्यतया हल्कादेखि मध्यम वर्षा हुने उनको अनुमान छ।

बडादसैँको घटस्थापना (असोज २५) देखि भने मौसम क्रमशः खुल्दै जाने सम्भावना रहेको डा. पोखरेलले बताएका छन्। उनका अनुसार घटस्थापनापछि वर्षाको क्रम कम हुँदै मौसममा सुधार आउने सम्भावना छ।