काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ।
बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने गरी ‘आरबीबीएल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो।
बैंकले असोज २९ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याउनेछ। यसअनुसार ऋणपत्रको कुल निष्काशन रकम ३ अर्ब रुपैयाँ हुनेछ।
कुल निष्काशनमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्काशन गरिने बैंकले जनाएको छ।
उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ६ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन्। ऋणपत्रको अवधि २०८९ सालसम्म रहनेछ।




