२०८३ जेष्ठ १४

अफगानिस्तानविरुद्ध खेल्ने भारतको टेस्ट र एकदिवसीय टिमको घोषणा

काठमाडौँ । भारतले अफगानिस्तानविरुद्ध आगामी जुन महिनामा हुने टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि टिमको घोषणा गरेको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्डले सार्वजनिक गरेको टोलीअनुसार भारतले अफगानिस्तानसँग एक टेस्ट र तीन एकदिवसीय खेल खेल्नेछ ।

विकेटकिपर ब्याटर ऋषभ पन्तलाई एकदिवसीय टोलीबाट बाहिर राखिएको छ भने टेस्ट टोलीको उपकप्तानबाट पनि हटाइएको छ । यद्यपि उनी टेस्ट टोलीमा भने समावेश छन् । पन्तको स्थानमा एकदिवसीय टोलीमा विकेटकिपरका रूपमा ईशान किशनलाई मौका दिइएको छ । 

एकदिवसीय टोलीमा प्रिन्स यादव, गुरनूर बराड र हर्ष दुबे जस्ता नयाँ अनुहारले पनि स्थान बनाएका छन् । प्रिन्स यादव घरेलु क्रिकेटमा दिल्ली तथा इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जायन्ट्सबाट खेल्छन् । यस्तै गुरनूर बराड घरेलु क्रिकेटमा पञ्जाब तथा इन्डियन प्रिमियर लिगमा गुजरात टाइटन्सबाट खेल्दै आएका छन् भने हर्ष दुबे घरेलु क्रिकेटमा विदर्भ र इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबादबाट खेल्छन् । गुरनूर बराड र हर्ष दुबेलाई टेस्ट टोलीमा समेत समावेश गरिएको छ ।

टेस्ट टोलीमा शुभमन गिल कप्तान रहेका छन् भने केएल राहुल उपकप्तान छन् । टोलीमा यशस्वी जायसवाल, साई सुदर्शन, ऋषभ पन्त, देवदत्त पड्डिकल, नीतिश कुमार रेड्डी, वासिङ्टन सुन्दर, कुलदीप यादव, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, मानव सुथर, गुरनूर बराड, हर्ष दुबे र ध्रुव जुरेल समावेश छन् ।

एकदिवसीय टोलीको कप्तानी पनि शुभमन गिलले नै गर्नेछन् । टोलीमा रोहित शर्मा, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, ईशान किशन, हार्दिक पाण्ड्या, नीतिश कुमार रेड्डी, वासिङ्टन सुन्दर, कुलदीप यादव, अर्शदीप सिंह, प्रसिद्ध कृष्णा, प्रिन्स यादव, गुरनूर बराड र हर्ष दुबे रहेका छन् ।

भारत र अफगानिस्तान जुन ६ देखि टेस्ट खेल खेल्ने छन् भने जुन १४, १७ र २० मा एकदिवसीय खेल खेल्ने तालिका रहेको छ । 

Read More

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्  ।

प्रधानन्यायाधीशमा नियुक्त शर्माले पद तथा गोपनियताको शपथ पनि लिएका छन् । शित्तल निवासमा आयोजित कार्यक्रममा शर्मालाई राष्ट्रपति पौडेलले शपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्रीसहितका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

मंगलबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले शर्मालाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको थियो । शर्मालाई गत बैशाख २४ गते बसेको संबैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।

Read More

कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

काठमाडौं । कक्षा १२ को परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत उत्तरसहित सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन्।

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षाको ‘म्यानेजमेन्ट ओन्ली’ नामक ह्वाट्सएप समूह तथा फेसबुक मेसेन्जरलगायत विभिन्न समूह बनाएर उत्तरसहित प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ परेको ब्यूरोले जनाएको छ ।

प्रहरीले मंगलबार काठमाडौंको रत्नपार्क क्षेत्रबाट गोरखाको भीमसेन थापा गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवन बस्दै आएका २९ वर्षीय सन्तोष बन्जारा र गोरखाकै गण्डकी गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–१ वनस्थली बस्दै आएका २० वर्षीय अश्विन अधिकारी पक्राउ परेका छन् ।

उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

Read More

विश्वविद्यालयका उपकुलपतिको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग मन्त्री पोखरेलको अन्तरक्रिया

काठमाडौँ । विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने गरी जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग विश्वविद्यालयको कामकाज र योजनाबारे अन्तरक्रिया सम्पन्न भएको छ ।

विश्वविद्यालयहरूका सहकुलपति समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको संवाद कार्यक्रममा नयाँ व्यवस्था नहुन्जेल विश्वविद्यालयका कामकाज प्रभावित हुन नदिन तथा अध्ययन–अध्यापन कार्यलाई निरन्तरता दिन आवश्यक कदमबारे सम्बन्धित पदाधिकारीहरूबाट योजना प्रस्तुत भएको छ ।

सो अवसरमा मन्त्री पोखरेलले विश्वविद्यालयका परीक्षा, दैनिक प्रशासनिक कामहरूलाई निरन्तरता दिन तथा दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न निर्देशन दिए ।

विभिन्न विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिको प्रक्रिया जारी रहेको र उपकुलपति नियुक्तिका लागि आठ वटा  विश्वविद्यालयमा सिफारिस समिति गठन भई आवेदन दिने समय समाप्त भएको तथा छनोट प्रक्रिया अघि बढिसकेको छ । अन्य विश्वविद्यालयहरूमा पनि छिट्टै प्रक्रिया अघि बढाइने जनाइएको छ ।

सरकारले आठ विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरी सोही बमोजिम उपकुलपति छनोट प्रक्रिया सुरु गरिसकेको छ । नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउन विज्ञ समितिमार्फत छनोट गर्ने व्यवस्थासहित ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ ल्याइएको हो । सोही अनुरूप अहिले उपकुलपति छनोट प्रक्रिया अघि बढेको मन्त्रालयले उल्लेख गरेको छ ।

Read More

पोर्चुगलको विश्वकप खेल्ने टिमको घोषणा, रोनाल्डो छैटौं विश्वकप खेल्ने

काठमाडौँ । पोर्चुगलले फिफा विश्वकप फुटबलका लागि आफ्नो २७ सदस्यीय टिमको घोषणा गरेको छ ।

प्रशिक्षक रोबेर्ट मार्टीनेजले पोर्चुगलका हाल विभिन्न लिगमा खेलिरहेका खेलाडी समेटेर विश्वकप खेल्ने टिम घोषणा गरेका हुन् ।  

जसमा क्रिस्टियानो रोनाल्डोले छैटौं विश्वकप खेल्ने पनि निश्चित भएको छ । रोनाल्डोले यसअघि २००६, २०१०, २०१४, २०१८ र २०२२ को विश्वकप खेलेका थिए ।

पोर्चुगलको टिम:     

गोलकिपर: डियोगो कोस्टा, जोसे सा, रुई सिल्भा र रिकार्डो भेल्हो । 

डिफेन्डर: डियोगो डालोट, माथेउस नुनेस, नेल्सन सेमेडो, जाओ क्यान्सेलो, नुनो मेन्डेस, गोन्सालो इनासियो, रेनाटो भेइगा, रुबेन डायस र टोमास अराउजो । 

मिडफिल्डर: रुबेन नेभेस, सामुएल कोस्टा, जाओ नेभेस, भिटिन्हा, ब्रुनो फर्नान्डेस र बेर्नार्डो सिल्भा । 

फरवार्ड: जाओ फेलिक्स, ट्रिन्काओ, फ्रान्सिस्को कोन्सेइसाओ, पेड्रो नेटो,  राफाएल लियाओ, गोन्सालो गुएडेस, गोन्सालो रामोस र क्रिस्टियानो रोनाल्डो । 

विश्कपमा पोर्चुगल समुह के मा रहेको छ । यस समुहमा पोर्चुगलसहित डिआर कंगो, उज्बेकिस्तान र कोलोम्बिया रहेका छन् । पोर्चुगलले आफ्नो पहिलो खेल जुन १७ मा डिआर कंगोविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुन २३ मा उज्बेकिस्तानसँग र तेस्रो खेल जुन २७ मा कोलोम्बियासँग खेल्ने भएको छ । 

Read More

घुस तथा सम्पत्ति शुद्धीकरण मुद्धामा बयान फेर्ने साक्षीविरुद्ध मुद्धा दायर

काठमाडौं । घुस तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका एक व्यक्तिले अदालतमा दिएको बयान अनुसन्धानको क्रममा दिएको बयानसँग विपरीत देखिएको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको जानकारीअनुसार प्रतिवादी तिर्थराज भट्टराईसहितका व्यक्तिहरू संलग्न रहेको भनिएको घुस तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर (मुद्दा नम्बर ०८२-सीआर-००५३) मा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका दीपक थापाको बकपत्र विवादमा परेको हो ।

स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका–३ स्थायी ठेगाना भएका थापा पोखरास्थित डीएमसी ट्राभल्स प्राइभेट लिमिटेडका तत्कालीन मार्केटिङ अफिसर रहेको खुलेको छ। अनुसन्धानका क्रममा उनले अनुसन्धान अधिकृतलाई सहयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मतियारको रूपमा कारबाही नचलाइ विशेष सुविधा दिँदै सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो ।

तर उनले वैशाख १५ गते विशेष अदालत, काठमाडौंमा दिएको बकपत्र अनुसन्धानका क्रममा दिएको बयान र आरोप मागदाबी विपरीत रहेको आयोगको निष्कर्ष छ ।

अनुसन्धानका क्रममा थापाले भिजिट भिसामा मानिस विदेश पठाउँदा ‘सेटिङ’ मिलाउने गरेको, विमानस्थल अध्यागमनमा यात्रु उडानभन्दा केही समयअघि नाम टिपाउने गरेको, होटल बुकिङका कागजात मिलाउने र डलर सटहीका काम आफ्नै कम्पनीमार्फत गर्ने गरेको तथ्य पनि खुलेको आयोगले जनाएको छ।

यस आधारमा उनी प्रतिवादी बालकृष्ण खड्काको सहयोगी भई राष्ट्रसेवक प्रतिवादी तिर्थराज भट्टराईलगायतलाई घुस/रिसवत उपलब्ध गराउने कार्यमा संलग्न रहेको देखिएको दाबी गरिएको छ।

आयोगका अनुसार मुख्य कसुरदारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर ठहर गर्दै सोही ऐनअनुसार बिगो रकम ३० लाख २० हजार रुपैयाँ कायम गरिएको छ । उक्त बिगोका आधारमा कैद सजाय, बिगोअनुसार जरिवाना तथा बिगो जफत/असुलसम्बन्धी व्यवस्था अनुसार कारबाहीको माग गरिएको छ ।

त्यसैअनुसार मुख्य कसुरदारसरह सजाय माग गर्दै भ्रष्टाचार निवारण ऐनको दफा २२ को प्रतिवन्धात्मक व्यवस्थासमेत लागू हुने गरी विशेष अदालत, काठमाडौंमा आज आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Read More

दुर्गा प्रसाईविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता

वीरगन्ज । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँविरुद्ध प्रहरीले विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ । 

सोमबार साँझ वीरगन्जबाट पक्राउ परेका प्रसाईविरुद्ध मंगलबार विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको छ । 

सोमबार काठमाडौंबाट सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेका पर्साईले वीरगन्जमा आज कार्यक्रम गर्ने तालिका रहेको थियो ।

Read More

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमबासीका लागि एकमुष्ट २५ हजार खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विस्थापित भएका सुकुम्बासीको विवरण रुजु गरी प्रति परिवार पुनस्थापना खर्चबापत २५ हजार एकमुष्ट रकम दिने निर्णय गरिएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

त्यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न ५ सदस्य भएको परिवारलाई प्रति महिना १५ हजार र सोभन्दा बढी सदस्य भएकालाई प्रतिसदस्य थप २ हजारका दरले हाललाई ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराइने निर्णय भएको उनले बताए ।

त्यस्तै वृद्ध, असहाय र अपाङ्गलगायत आफ्नो व्यवस्थापन गर्न नसक्ने परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने र बालबालिका, विद्यार्थीको पठनपाठन र स्वास्थ्य सेवा स्थानीय तहसँगको समन्वयमा व्यवस्था गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए ।

त्यसैगरी बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने ६. ११६ मिलियन स्वीस फ्र्यांक अनुदान तथा अरनिको राजमार्गको मर्मत सुधार गर्न चिनियाँ सरकारले प्रदान गर्ने ७९. ३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

Read More

धितोपत्र बोर्डको अध्यक्षका लागि छानियो चार जना

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि चार जना सर्टलिस्ट गरिएको छ ।

समितिले अन्तिम चार जना डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई सर्टलिस्ट गरेको हो।

समितिले गत वैशाख १५ गते आवेदन आह्वान गरेको थियो भने ४७ जनाले आवेदन दिएकोमा चार जनालाई सर्टलिस्टमा राखेको जनाएको छ ।

सिफारिस समितिले चारै जनासँग आगामी शुक्रबार छलफल गर्ने जनाएको छ ।

Read More

अर्थमन्त्री डा. वाग्लेको विपक्षीलाई आग्रह: आफ्ना कुरा जस्ताको तस्तै राख्न अर्को चुनावसम्म पर्खौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा आफ्ना कुरा जस्ताको तस्तै राख्न अर्को चुनावसम्म पर्खिन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री डा. वाग्लेले बजेटका सिद्धान्त र प्राथमिकतामा आफ्ना कुरा जस्ताको तस्तै खोजेको भन्दै त्यसका लागि अर्को चुनावसम्म पर्खिन आग्रह गरेका हुन् ।

मन्त्री वाग्लेले निर्वाचनमा जनताले अनुमोदन गरेका विषयलाई नै सरकारले बजेटका रुपमा ल्याउने र सरकारको प्रथामिकता पनि सोहि विषयमा रहेको स्पष्ट गरेका छन् ।

यसअघिका आयोजनालाई निरन्तरता दिने बताउदै जनमत अनुसार आफुहरुले त्यस्तो गर्न बाध्यकारी नभएको भएपनि आफुहरुले सरकारले राज्यको अविछिन्नतालाई सम्मान गर्दै निरन्तरता दिएको बताए ।

मन्त्री वाग्लेले कार्यान्यवनलाई केन्द्रमा राखेर आफुहरुले सिद्धान्त र प्राथमिकता तय गरेको बताउदै आफुहरुले मिशन मोडको अवधारणामा काम गरिरहेको बताए ।

Read More