२०८३ जेष्ठ १४

कङ्गोमा इबोला संक्रमणमा मृत्यु हुनेको संख्या १३१ पुग्यो

काठमाडौँ । कङ्गो लोकतान्त्रिक गणराज्यमा फैलिएको इबोला सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १३१ नाघेको छ ।

अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिलेसम्म १३१ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी शंकास्पद बिरामी फेला परेका छन् । कंगोका जान स्वास्थ्यमन्त्रीले पनि १३१ को मृत्यु भएको र ५१३ जना संक्रमित भएको बताएका छन् । 

संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले बुन्डिबुग्यो विषाणुबाट फैलिएको हालको इबोलालाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

युगान्डामा पनि दुई जनामा सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको बताइएको छ । कङ्गोमा सङ्क्रमितमध्ये एक अमेरिकी चिकित्सकसमेत रहेका छन् । उनलाई उपचारका लागि जर्मनी लैजाने तयारी गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले रोग अझ ठूलो रूपमा फैलिन सक्ने चेतावनी दिँदै सीमाक्षेत्रमा कडा निगरानी गर्न आग्रह गरेको छ । रुवान्डाले सीमा जाँच कडा बनाएको छ भने नाइजेरियाले अवस्थामाथि निगरानी बढाएको जनाएको छ ।

अफ्रिका रोग नियन्त्रण केन्द्रले हालसम्म प्रभावकारी औषधि वा स्वीकृत खोप उपलब्ध नभएकाले जनस्वास्थ्यका नियम कडाइका साथ पालना गर्न आग्रह गरेको छ । विशेषगरी सङ्क्रमितको अन्त्येष्टिका क्रममा सावधानी अपनाउन चेतावनी दिइएको छ ।

कंगो र युगान्डामा २० भन्दा बढी इबोला प्रकोपहरू भइसकेका छन्, तर बुन्डिबुग्यो भाइरस पत्ता लागेको यो तेस्रो पटक हो । बुनिया, गोमा, मोङब्वालु, बुटेम्बो र न्याकुन्डेमा केसहरू रिपोर्ट गरिएका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आज जेनेभामा आफ्नो गहिरो चिन्ता व्यक्त गरे । उनले महामारीको मात्रा र गतिको बारेमा चिन्तित रहेको बताए । 

Read More

आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालय र चेम्बरबीच सम्झौता

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्स बीच आर्थिक तथा व्यावसायिक क्षेत्रका तथ्याङ्क विकास, व्यवस्थापन तथा राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौतापत्रमा राष्ट्रिय तथ्याङ्क कार्यालयका तर्फबाट उपप्रमुख तथ्याङ्क अधिकारी (सहसचिव) ढु्ण्डिराज लामिछाने तथा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट महानिर्देशक देवेन्द्र लामिछानेले हस्ताक्षर गरेका हुन् । उक्त समझदारी २०८३ साल जेठ ५ गतेदेखि लागू हुने जनाइएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी कमलप्रसाद पोखरेलले राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत हालसम्म ८ लाख ३१ हजारभन्दा बढी आर्थिक प्रतिष्ठानहरूको गणना सम्पन्न भएको जानकारी दिए । उनले २०७५ सालको पहिलो आर्थिक गणनामा ९ लाख २३ हजार प्रतिष्ठान समेटिएको स्मरण गर्दै यसपटक करिब १५ लाख प्रतिष्ठान समेट्ने लक्ष्य रहेको बताए ।

वैशाख २ गतेदेखि सुरु भएको स्थलगत गणना कार्य असार ७ गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले हालसम्मको प्रगति उत्साहजनक रहेको र लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे । आर्थिक गणनालाई सफल बनाउन निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको भन्दै नेपाल चेम्बर अफ कमर्ससँगको समझदारीले अभियानलाई थप प्रभावकारी बनाउने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले राष्ट्रिय आर्थिक गणना राष्ट्रको आर्थिक ऐना भएको उल्लेख गर्दै विश्वसनीय तथ्याङ्क विना दीर्घकालीन आर्थिक योजना प्रभावकारी बन्न नसक्ने बताए । उनले बदलिँदो आर्थिक संरचना, अनौपचारिक क्षेत्रको आकार, लगानी प्रवृत्ति, रोजगारीको अवस्था तथा सेवा, पर्यटन, सूचना प्रविधि र नवप्रवर्तनमुखी व्यवसायहरूको यथार्थ चित्रणका लागि अद्यावधिक तथ्याङ्क अत्यावश्यक रहेको धारणा राखे ।

सम्झौताअनुसार राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्याङ्क सङ्कलन, विश्लेषण, प्रचारप्रसार तथा आर्थिक साक्षरता अभिवृद्धिमा दुवै संस्थाले सहकार्य गर्नेछन् । यसअन्तर्गत आर्थिक गणनासम्बन्धी अडियो–भिडियो सामग्री निर्माण, सचेतनामूलक कार्यक्रम सञ्चालन, व्यवसायी तथा आर्थिक पत्रकारहरूका लागि साक्षरता कार्यक्रम आयोजना तथा तथ्याङ्कलाई स्वचालित प्रणालीमा आधारित विश्वसनीय बनाउने कार्यमा सहकार्य गरिने जनाइएको छ ।

नेपाल चेम्बर अफ कमर्सले आफ्ना देशव्यापी सञ्जालमार्फत उद्योगी–व्यवसायीहरूलाई आर्थिक गणनामा सक्रिय सहभागिताका लागि आग्रह गर्ने, सही तथ्याङ्क उपलब्ध गराउन प्रोत्साहित गर्ने तथा आर्थिक गणनाको महत्वबारे जनचेतना फैलाउने प्रतिबद्धता जनाएको छ ।

समझदारीपत्र पाँच वर्षका लागि लागू रहनेछ । कार्यक्रममा राष्ट्रिय आर्थिक गणनालाई सफल बनाउन सरकार, निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो ।

Read More

प्रधानन्यायाधीशमा डा. शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन भएको छ ।

मंगलबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले शर्मालाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो । यसअघि शर्माको समितिमा सुनुवाइ गरिएको थियो ।

अब संसदीय समितिको अनुमोदन संगै उनलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ ।

शर्मालाई गत बैशाख २४ गते बसेको संबैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान नेपाली राहदानीसहित एक जना नियन्त्रणमा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ३७ थान नेपाली राहदानीसहित एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ ।

विमानस्थलमा खटिएको सुरक्षाकर्मी टोलीले मंगलबार सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थायी ठेगाना भएका ३८ वर्षीय अजित श्रेष्ठ पक्राउ गरको जानकारी दिएको छ । उनी नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट भारतको नयाँ दिल्ली जान लागेका थिए ।

जाँचका क्रममा श्रेष्ठको साथबाट कुनै पनि आधिकारिक अनुमति वा कागजातबिना ३७ थान नेपाली राहदानी फेला परेको सुरक्षा कार्यालयले जनाएको छ । ती राहदानीमा रोमानियाको भिसा लगाउने उद्देश्यले लैजान खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बरामद गरिएका राहदानीसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

Read More

नेप्सेमा आज पनि गिरावट, ३ अर्ब ८ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट भएको छ । आज मंगलबार नेप्से ६.५१ अंकले घटेर २७२४. ३९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४६ कम्पनिका ७८ लाख १६ हजार ४७८ कित्ता शेयर ३ अर्ब ८ करोड ७७ लाख ३०  हजार ९६२ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स र निर्जीव वीमाबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १४.२६ प्रतिशतले बढेको छ भने नेपाल रिपब्लिक मिडियाको शेयर ६.४१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिटी होटलको शेयर ६.८४ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी सिटी होटलको २३ करोड ५३ लाखको कारोबार भएको छ भने साहस उर्जाको ९ करोड १६ लाख बराबरको कारोबार भएको छ ।

Read More

प्रधानन्यायाधीश बढुवा होइन नियुक्ति हो, वरिष्ठता मापदण्ड हुदैन- डा. शर्मा

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले वरिष्ठताको आधार बलियो मापदण्ड नहुने बताएका छन् ।

संसदीय सुनवाइका क्रममा शर्माले प्रधानन्यायाधीशमा बढुवा नभएर नियुक्ति भएकाले यो विषय विवादको विषय नभएको बताएका छन् ।

साथै समितिका सदस्य सांसदहरुले सोधेको ‘नेपोबेबी’ को प्रश्नको जवाफ दिदै कसैको नाता भएकै आधारमा कुनै पदमा नियुक्ति दिन नमिल्ने भन्ने नहुने बताउदै उनले आफुले योग्यता पुरा गरेर नै न्यायाधिश बनेको दाबी गरे । 

शर्मालाई समितिका सदस्य सांसदहरुले एनसेलको कर छुट दिने आदेश दिएको, शैक्षिक योग्यतामा उठेको प्रश्न, न्यायाधीश नियुक्ति हुदा योग्यता नपुगेको आरोप लगायतका विषयमा प्रश्न गरेका छन् । 

Read More

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

काठमाडौं । चलचित्र ‘महाराजधिराज’को छायांकन सुरु भएको छ । गत मंगलबार शुभमुहूर्त गरिएको ‘महाराजधिराज’को छायांकन सुरु भएको हो ।

चलचित्रको छायांकन सुनसरीबाट सुरु भएको छ । सुनसरीको श्रीलंका टापुबाट सुरु भएको चलचित्रको छायांकन उक्त स्थानमा एक हप्तासम्म चल्नेछ । बाँकी छायांकन काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा हुनेछ । चलचित्रको छायांकन ७० दिनसम्म चल्ने सेड्युल रहेको छ ।

परिच्छेद सेनले निर्देशन गरिरहेको ‘महाराजधिराज’लाई नबराज थापाले खिचिरहेका छन् । ‘महाराजधिराज’ सोसल पिरयड ड्रामा रहेको निर्देशक सेनले बताएका छन् । चलचित्रमा कलाकारहरू आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डि.सी., सुशील सिटौला छन् ।

ठूलो संख्यामा कलाकार रहेको यो चलचित्रमा हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटाको पनि अभिनय रहनेछन् ।

८० जना कलाकार रहने यो सिनेमामा कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढालगायत कलाकारको अभिनय रहनेछ ।

‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । ‘महाराजधिराज’का निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ ।

Read More

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाई जारी

काठमाडौँ । संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सुनुवाई जारी रहेको छ । अहिले समितिका सदस्य सांसदहरुले शर्माविरुद्ध परेका उजुरी र आफ्ना प्रश्नहरु गरिरहेका छन् । 

त्यसअघि शर्माले न्यायपालिकालाई छिटो, प्रभावकारी, पारदर्शी तथा प्रविधिमैत्री बनाउने लक्ष्यसहित विस्तृत कार्ययोजना समितिमा प्रस्तुत गरेका थिए ।  आफ्नो कार्ययोजनामा उनले अदालतभित्रको कार्यप्रणाली सुधार, न्यायिक नियुक्ति प्रक्रिया, प्रविधिको प्रयोगका विषय समेटेका छन् ।

उनले अदालतमा बढ्दै गएको मुद्दाको चाप कम गर्दै नागरिकले समयमै न्याय प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु रहेको उल्लेख गर्दै यसका लागि अदालतमा दर्ता भएका मुद्दा लामो समयसम्म थन्किने अवस्थालाई अन्त्य गर्दै अधिकतम १८ महिनाभित्र मुद्दा टुंग्याउने लक्ष्य प्रस्ताव गरेका छन् ।

त्यस्तै उनले अदालतका महत्वपूर्ण सुनुवाइलाई प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव पनि गरेका छन् । साथै उनले न्यायालयको कामकारबाहीलाई नागरिकसमक्ष थप खुला र पारदर्शी बनाउने र सार्वजनिक चासोका मुद्दामा नागरिकले प्रत्यक्ष रूपमा न्यायिक प्रक्रिया हेर्न पाउने वातावरण बनेमा न्याय प्रणालीप्रतिको विश्वास अझ बढ्न सक्ने उल्लेख गरेका छन् ।

त्यस्तै उनले न्यायिक नियुक्ति प्रक्रियामा विगतदेखि उठ्दै आएका विवादलाई ध्यानमा राख्दै यसलाई थप पारदर्शी र विवादरहित बनाउने, जस अनुसार न्यायिक नियुक्तिका लागि स्पष्ट मापदण्ड, योग्यता मूल्याङ्कन र वस्तुगत आधार निर्धारण गर्ने विषयलाई प्राथमिकता दिएका छन् । 

Read More

नेपाल बार परिसरमा लालटिन बालेर न्यायको खोजी

काठमाडौँ । कानुन व्यवसायीहरुले न्यायको खोजी भन्दै लालटिन बालेर प्रदर्शन गरेका छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरुले मंगरबार दिउँसो बारको कार्यालय परिसरमा लालटिन बालेर विरोध गरेका छन् ।

सर्वोच्च अदालतले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सिफारिसविरुद्धको रिट दर्ता नगरेको विरोधमा नेपाल बारले आज लाल्टिन बालेर विरोध गरेको हो । 

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च प्रशासनलाई रोकिएका रिट निवेदनहरू दर्ता गर्न लिखित आदेश दिएपनि सर्वोच्च प्रशासनले सो आदेशको अवज्ञा गरेपछि बारले असन्तुष्टि व्यक्त गर्दै विरोधमा उत्रिएको छ ।

Read More

महानगरको पुस्तकरहित शुक्रबार कार्यक्रमको समिक्षा: निरन्तरता, दिगो र प्रभावकारिता बनाउन सुझाव

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयमा सञ्चालन गरेको पुस्तकरहित शुक्रबार कार्यक्रमलाई निरन्तरता दिनु पर्ने सरोकारवाला अधिकारीहरुले बताएका छन् । महानगरपालिकाको शिक्षा विभागले पुस्तक रहित शुक्रबार कार्यक्रमको समीक्षा गर्न आयोजना गरेको कार्यशालामा यस्तो सुझाव आएको हो । 

महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ र कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम सञ्चालन भइरहेको छ । विद्यार्थीहरुको संख्या र रुचि, विद्यालयको परिवेश, शिक्षक, प्रधानाध्यापक र सम्बन्धित सरोकारवालाको सुझावका आधारमा विषय र उपसमूह निर्धारण गरिएका छन् । यसरी सञ्चालन गरिएका कार्यक्रमबाट प्राप्त भएका उपलब्धीको मापन गर्ने, प्राप्त नतिजा तथा सिकाइलाई संस्थागत रुपमा विकास गर्ने, साझेदारको पृष्ठपोषणलाई चालु शैक्षिक सत्रको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि आधार लिने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।  

समीक्षामा बोल्दै विद्यालयका प्रधानाध्यापक र फोकल शिक्षकहरुले विद्यालयलाई आत्मनिर्भर र शिक्षकहरुलाई क्षमता विकास गराउँदै लैजानु पर्नेमा जोड दिएका थिए । 

‘गएका शैक्षिक सत्रमा सञ्चालन गरिएका कार्यक्रमको सवल र दुर्वल पक्ष जान्नका लागि हामीले समीक्षा कार्यक्रम गरेका हौँ ।’ कार्यक्रममा बोल्दै महानगरपालिकाको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भने, ‘हामी कार्यान्वयन योग्य नीति कार्यक्रम बनाउन चाहन्छौँ । यसका लागि जो कार्यान्वयन तहमा हुनुहुन्छ । उहाँहरुले कस्ता कार्यक्रम कार्यान्वयन गर्न सक्नुहुन्छ । उहाँहरुको धारणा र क्षमता वुझेर त्यही प्रकारका नीति र कार्यक्रम तर्जुमा गर्छौँ । यसले नतिजा प्राप्त गर्न सहज हुनेछ ।’

समीक्षामा समूह विभाजन र कार्यशालामार्फत सिर्जनात्मक सिकाइ र शिक्षामा सिप कार्यक्रम सम्बन्धी छुट्टाछुट्टै पृष्ठपोषण लिइएको छ । 

‘वडाहरुलाई २ समूहमा विभाजन गरेर पृष्ठपोषण लिइरहेका छौँ ।’ शिक्षा अधिकारी नमराज ढकाल भन्छन्, ‘विगतका कार्यक्रमले विद्यार्थीहरूलाई गहन सोच्ने क्षमताको विकास गराएको, रचनात्मकता बढाएको, सञ्चार र सहकार्यको अभ्यासमा उत्प्रेरित गरेकोले नतिजामुखी रहेको पृष्ठपोषण प्राप्त गरेका छौँ । सबैबाट पृष्ठपोषण आएपछि विश्लेषणसहितको आगामी कार्यक्रमको ढाँचा निर्धारण गर्नेछौँ ।’

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ र शिक्षा नियमावली २०५९ मा विद्यार्थीलाई भविष्यमा पेसा तथा व्यवसायमा संलग्न हुन आवश्यक पर्ने व्यवहारकुशल सिपहरूलाई पाठ्यक्रमले सम्बोधन गर्नुपर्छ भन्ने मर्म बोकेको छ ।’ छलफलमा प्रस्तुतिकरण गर्दै शिक्षा अधिकृत केशव ज्ञवालीले भने, ‘सङ्घीय सरकारका अलावा प्रदेश र स्थानीय तह, सरकारी तथा गैर सरकारी संस्था, समुदायमा आधारित सिप विकास कार्यक्रमसँग आबद्ध निकायहरूसँग समन्वय र साझेदारी गरेर रोजगारउन्मुख शिक्षा प्रवर्धन गर्ने पाठ्यक्रम सम्बन्धी नीतिको व्यवस्थालाई कार्यरूप दिन महानगरपालिकाले सञ्चालन गरेको पुस्तकरहित शुक्रबार कार्यक्रम प्रभावकारी छ ।’ उनले, परिवर्तित सन्दर्भमा कुरा गर्दै शनिवार र आइतबार विद्यालय विदा गर्ने नेपाल सरकारको निर्णयका आधारमा विगतका कार्यक्रम सञ्चालनको प्रारुपका सन्दर्भमा थप निर्णय हुनुपर्ने अवस्था रहेको बताए ।  

शिक्षा नियमावली २०५९ ले विद्यार्थीको सिर्जनात्मक प्रतिभाको विकासका लागि शुक्रबारको दैनिक पठनपाठनको कार्य समाप्त भएपछि चित्रकला, हस्तकला, बाद्यबादन, नृत्य, नाटक, वक्तृत्वकला, हाजिरी जवाफ, हिज्जे, साहित्यिक क्रियाकलाप गर्नु पर्ने व्यवस्था गरेको छ । 

विद्यालयले कक्षा १ देखि ३ सम्मका बालबालिकाका लागि ८३२ घण्टा, ४ देखि ८ सम्मका लागि १ हजार २४ घण्टा र कक्षा ९ र १० का लागि १ हजार १८४ घण्टा कक्षा सञ्चालन गर्नुपर्छ । वरिष्ठ शाखा अधिकृत सुशिल सुवेदी भन्छन्, ‘महानगरपालिकाले शैक्षिक तथा सिपमूलक कार्यक्रमलाई समुदायसँग जोडेर अगाडि बढाउन कार्यक्रमलाई जोड दिएको छ ।’

गएको वर्ष सिर्जनात्मक सिकाइ अन्तर्गत २३ वटा विषयमा ७०५ वटा उपसमूहमा क्रियाकलाप सञ्चालन भएका थिए । वरिष्ठ विद्यालय निरीक्षक विनिता महतका अनुसार सबैभन्दा धेरै विद्यार्थीको रुचि वातावरण र बालबालिका (वावा) उपसमूहमा थियो । त्यसपछि स्टीम (विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्धनका लागि आविष्कार) उपसमूह र तेस्रोमा नृत्य उपसमूहमा थियो । यी समूहहरुमा  क्रमशः ८२ वटा, ७४ वटा र ६७ वटा उपसमूह गठन गरिएका थिए । निर्धारित विषयमध्ये धाः बाजा वादनमा विद्यार्थीहरुको रुचि देखिएन । यसकारण यो विषयमा कुनै पनि उपसमूह गठन भएन । थोरै उपसमूह गठन भएका विषयहरुमा डम्फु, हस्तकला हुन् । यी विषयमा क्रमशः ४ वटा र ६ वटा उपसमूह गठन भएका थिए । तेस्रोमा बाँसुरी र कथावाचनमा १०-१० वटा उपसमूह गठन गरिएका थिए ।

२३ वटा विषयमा स्काउट, वावा, व्यक्तित्व विकास, स्टीम, उद्यमशील सोच, पठन संस्कार, योग र ध्यान, विपद व्यवस्थापन, भित्ते चित्र (म्युरल आर्ट), कोडिङ्, संस्कृति र सम्पदा, चलचित्रको दृष्टिकोणबाट सिकाइ, हस्तकला, अबाकस, कथावाचन, नृत्य, गायन, बाँसुरी, मादल, धिमे, धाः बाजा, डम्फु र नाट्य थिए ।

शिक्षामा सिप तर्फका कार्यक्रमका १० वटा विषय थिए । व्युटिसियन एण्ड हेयर स्टाइल, चित्रकला र मूर्तिकला, कार्पेन्ट्री र उड कार्भिङ्, प्लम्बिङ्, इन्डिजिनस र कन्टेम्पोररी मेसिनरी – डिजास्टर रेडीनेस, हाउस वायरिङ्, मोवाइल एण्ड इलेक्ट्रोनिक्स, कुलिनरी आर्टस्, एग्रीकल्चर एण्ड अर्वन फार्मिङ् र फेसन डिजाइन र टेलरिङ् विषय थिए । 

महतका अनुसार यी विषयमध्ये व्युटिसियन एण्ड हेयर स्टाइलमा सबैभन्दा बढी, कुलिनरी आर्टसमा ४१ वटा, मोवाइल एण्ड इलेक्ट्रोनिक्समा २७ वटा उपसमूह गठन भएका थिए । इन्डिजिनस र कन्टेम्पोररी मेसिनरी – डिजास्टर रेडीनेसमा विद्यार्थीको रुचि देखिएन । यसकारण कुनै पनि उपसमूह गठन भएनन् । एग्रीकल्चर एण्ड अर्वन फार्मिङ्, कार्पेन्ट्री र उड कार्भिङ् र प्लम्बिङ् ३ विषय विषयमा ३-३ वटा उपसमूह गठन भएका थिए । 

यी कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले ६ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । जसमा सिर्जनात्मक सिकाइका लागि ३ करोड रुपियाँ, शिक्षामा सिपका लागि १ करोड ५० लाख रुपियाँ, सिर्जनात्मक सिपतर्फको संगीत विधाको प्रशिक्षणका लागि सांस्कृतिक संस्थानसँग सहकार्य गर्न ५० लाख रुपियाँ, सिर्जनात्मक सिपतर्फकै भित्ते चित्र (म्युरल आर्ट) र शिक्षामा सिपतर्फ स्केचिङ एण्ड स्कल्प्चर विषयको प्रशिक्षणका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्न १ करोड रुपियाँ विनियोजन गरिएको थियो । 

Read More