२०८३ जेष्ठ १४

आफ्नै सरकारप्रति डा. अमरेश कुमार सिंहको संसदमा असन्तुष्टि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्रथामिकता आफुले स्वीकार नगर्ने बताएका छन् ।

प्रतिनिधि सभामा मंगलबार छलफलमा भाग लिदै बजेटका सिद्धान्त र प्रथामिकतामा मधेशलाई उपेक्षा गरिएको भन्दै त्यसलाई आफुले स्वीकार नगर्ने बताएका हुन् ।

सांसद सिंहले बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफलमा अर्थमन्त्री अनुपस्थित रहेकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले आफ्नो २० बर्षे संसदको कार्यकालमा अर्थमन्त्री नहुदा छलफल चलिरहेको पहिलो पटक देखेको भन्दै नयाँको नाममा सबै कुरा भत्काउन नहुने बताएका थिए  ।  

उनले परिवर्तन गर्ने नाममा सबै परम्परा र थिति परिवर्तन नहुने भन्दै अर्थमन्त्रीको उपस्थिति बिना बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफल हुन नसक्ने जिकिर गरे ।

साथै उनले सरकारले बजेटका सिद्धान्त र प्रथामिकतामा मधेशलाई उपेक्षा गरेको आरोप लगाउदै मधेश विस्फोटको अवस्थामा रहेको बताए ।

Read More

अर्थमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएपछि बैठक स्थगित भएको हो । बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफलमा अर्थमन्त्री उपस्थित नभएकोमा सत्ता पक्ष र प्रतिपक्ष दुवै पक्षका सांसदहरुले विरोध गरेपछि सभामुख डिपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।  

Read More

सानिगाड हाइड्रोको आइपिओ जेठ १४ देखि

काठमाडौँ । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जेठ १४ गतेदेखि प्राथमिक शेयर निष्कासन (आइपिओ) गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता शेयर बिक्री खुला गर्न लागेको हो ।

कम्पनीका अनुसार प्राथमिक शेयरमा जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर बिक्री नभएमा निष्कासन अवधि जेठ २८ गतेसम्म लम्ब्याइनेछ ।

कम्पनीको जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यसमध्ये ३० प्रतिशत अर्थात् ८५ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कुल जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् २८ लाख ५० हजार कित्ता शेयर बझाङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई यसअघि नै वितरण गरिएको थियो । बाँकी २० प्रतिशत अर्थात् ५७ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको हो ।

सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो ।

त्यसैगरी कुल निष्कासनमध्ये ३ प्रतिशत अर्थात् १ लाख ७१ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् २ लाख ८५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ४६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरिनेछ ।

यस निष्कासनको बिक्री प्रबन्धक एलएस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले सानिगाड हाइड्रो लिमिटेडको निष्कासनकर्ता मूल्याङ्कन स्तर वृद्धि गर्दै ‘डबल बी माइनस’ प्रदान गरेको छ । यसअघि कम्पनीलाई ‘बी प्लस’ स्तर दिइएको थियो । यस्तो मूल्याङ्कन भएका संस्थालाई वित्तीय दायित्व समयमै भुक्तानी गर्न मध्यम जोखिम भएको मानिन्छ ।

सानिगाड हाइड्रो लिमिटेड सन् २००७ डिसेम्बरमा निजी कम्पनीका रूपमा स्थापना भएको थियो । पछि सन् २०२१ जुलाई १४ मा सार्वजनिक कम्पनीमा रूपान्तरण गरिएको हो । कम्पनीले सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा ३८ दशमलव ४६ मेगावाट क्षमताको माथिल्लो कालंगा गाड जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ ।

Read More

महानिरीक्षक कार्कीसँग एशिया प्रशान्त क्षेत्रीय सम्पत्ति शुद्धीकरण निगरानी समूहका स्यानन र सासालको भेटवार्ता

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्की र एशिया प्रशान्त क्षेत्रीय सम्पत्ति शुद्धीकरण निगरानी समूहका उपकार्यकारी सचिव डेभिड स्यानन तथा नीति अधिकृत किआ सासालबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा भएको भेटका क्रममा सम्पत्ति शुद्धीकरण सम्बन्धी सघन निगरानी सूचीबाट नेपाललाई बाहिर निकाल्न तयार गरिएको कार्ययोजना र त्यसमा नेपाल प्रहरीको भूमिकाबारे विस्तृत छलफल भएको थियो ।

छलफलमा सम्पत्ति शुद्धीकरण नियन्त्रण प्रणालीमा अन्य सरोकारवाला निकायसँग नेपाल प्रहरीले गरिरहेको समन्वय, अनुसन्धान तथा कारबाहीको अवस्था, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग र आगामी कार्यदिशाबारे पनि कुराकानी भएको थियो ।

त्यस अवसरमा वित्तीय अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, आपसी सहयोग र समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको नेपाल प्रहरीले जनाएको छ ।

कार्यक्रममा वित्तीय जानकारी इकाईका प्रमुख तथा पदाधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव, नेपाल राष्ट्र बैंकका निर्देशक तथा पदाधिकारी, प्रहरी नायव महानिरीक्षक र वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

Read More

इरान झुक्ने वा आत्मसमर्पण गर्ने अवस्था छैन- राष्ट्रपति पेजेशकियान

काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेशकियानले वार्ता गर्ने भन्दैमा इरान झुक्ने वा आत्मसमर्पण गर्ने अवस्था नरहेको बताएका छन् । उनले इरानले आफ्नो सार्वभौमसत्ता र कानुनी अधिकार जोगाउँदै मात्रै वार्ता अघि बढाउने स्पष्ट पारेका छन् ।

पेजेशकियानले इस्लामिक गणतन्त्र इरानले सम्मान, शक्ति र राष्ट्रिय अधिकारको रक्षा गर्दै कूटनीतिक संवादमा सहभागी हुने बताए । उनले कुनै पनि परिस्थितिमा इरानी जनता र देशको कानुनी अधिकारबाट पछि नहट्ने अडान दोहोर्‍याए ।

उनले इरान तर्क र पूर्ण शक्तिका साथ अन्तिमसम्म जनताको सेवा गर्नेछौँ र इरानको हित तथा सम्मानको रक्षा गर्ने बताएका छन् ।

इरानले आफ्नो युरेनियम संवर्द्धन कार्यक्रममाथि कुनै सम्झौता नगर्ने पनि स्पष्ट पारेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले युरेनियम संवर्द्धन इरानको अधिकार भएको भन्दै अन्य देशको दबाबले कुनै असर नपर्ने बताएका छन् । उनका अनुसार इरान आफ्नो आणविक कार्यक्रममा कुनै दबाबमा आउने छैन ।

यसैबीच इरानले अमेरिकालाई पुनः सैन्य कारबाही नगर्न चेतावनी दिएको छ । इरानी सञ्चारमाध्यमका अनुसार संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रवक्ता इब्राहिम रेजाईले यदि इरानविरुद्ध फेरि आक्रमण भए त्यसको अझ शक्तिशाली जवाफ दिइने बताएका छन् ।

रेजाईले यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप अपमानको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । उनले अमेरिकासामु दुई विकल्प मात्रै रहेको उल्लेख गर्दै या त कूटनीति र इरानका सर्त स्वीकार गर्नुपर्ने, नभए इरानी क्षेप्यास्त्रको शक्ति सामना गर्नुपर्ने बताएका छन् ।

Read More

जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट पक्राउ

काठमाडौँ ।  १४ वर्षीया बालिकालाई  जबरजस्ती करणी गरेको अभियोगमा गेरूवा गाउँपालिका-१ भटेरा बस्ने १९ वर्षीय महेन्द्र जैशीलाई प्रहरीले पक्राउ गरेको छ ।

महेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More

सांसद जगदीश खरेल भन्छन्- भगवानको रक्षा गर्नुपर्ने बेला आयो !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले ललितपुरका ऐतिहासिक सम्पदा र प्राचीन मूर्तिहरू चोरी भइरहेको भन्दै भगवान बचाउनुपर्ने समय आएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खरेलले सम्पदा र सभ्यताको धनी सहर ललितपुरमा अहिले भगवानको रक्षा गर्नुपर्ने विडम्बनापूर्ण अवस्था सिर्जना भएको बताएका हुन् ।

सांसद खरेलले आफ्नो नगरमा प्राचीन मूर्ति र ऐतिहासिक हिटीहरू हराइरहेको र सम्पदा क्षेत्रमा अतिक्रमण बढिरहेको उल्लेख गर्दै भने-  ‘भनिन्छ, भगवानले हाम्रो रक्षा गर्छन्, तर मेरो नगरमा अब भगवानको रक्षा गरिदिनुस् भन्नुपर्ने बेला आएको छ । मूर्तिहरू चोरी भएका छन्, हिटीहरू हराएका छन्। कतिपय ठाउँमा उत्खनन गर्नुपर्ने आवश्यकता छ भने कतै अतिक्रमणले बढेको छ ।’

Read More

ब्राजिलको विश्वकप खेल्ने टिमको घोषणा, नेइमार समावेश

काठमाडौँ । ब्राजिलले फिफा विश्वकप फुटबल खेल्ने २६ सदस्यीय टोली सार्वजनिक गरेको छ ।

मुख्य प्रशिक्षक कार्लो एन्चेलोटीले नेइमारलाई समेट्दै ब्राजिलको विश्वकप खेल्ने टिम सार्बजनिक गरेका हुन् । 

टोलीमा सबैभन्दा ठूलो आकर्षणका रूपमा अनुभवी फरवार्ड नेइमार परेका छन् । चोटका कारण लामो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका उनी पुनः फर्किएका छन् ।

३४ वर्षका नेइमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले १२८ खेलमा ७९ गोल गरेका छन् । उनी यसअघि सन् २०१४, २०१८ र २०२२ विश्वकपमा पनि खेलेका थिए, र यो उनको चौथो विश्वकप हुनेछ ।

प्रशिक्षक एन्चेलोटीले टोली घोषणा गर्दै नेइमारको फिटनेस र पछिल्लो प्रदर्शनलाई ध्यानमा राखेर छनोट गरिएको बताएका छन् ।

ब्राजिलको २६ सदस्यीय टोली  यस प्रकार छ ।

गोलरक्षक: अलिसन बेकर, एडरसन र वेभर्टन ।

रक्षक: एलेक्स सान्द्रो, डानिलो, लिओ पेरेइरा, ब्रेमर, इबानेस, वेस्ली, मारक्विन्योस, गाब्रिएल र  डग्लास सान्तोस ।

मिडफिल्डर: ब्रुनो गिमारेइस, कासेमिरो, डानिलो सान्तोस, फाबिन्हो र लुकास पाकेटा ।

फरवार्ड: एन्ड्रिक, गाब्रिएल मार्टिनेली, इगोर थियागो, माटेउस कुन्हा, राफिन्हा, भिनिसियस जुनियर, लुइज हेनरिक, नेइमार र रायन ।

टोलीमा प्रिमियर लिग, ला लिगा र युरोपका विभिन्न क्लबमा खेलिरहेका प्रमुख खेलाडीहरू समावेश छन् ।

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने यस विश्वकपमा ब्राजिलले आफ्नो पहिलो खेल जुन १३ मा मोरक्कोविरुद्ध खेलेर शुरु गर्दैछ । ब्राजिल समुह सी मा मोरक्को, हैटी र स्कटल्यान्डसँग रहेको छ ।

Read More

हर्क साम्पाङले संसदमा आज पनि देखाए पर्चा

काठमाडौँ ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आज पनि पर्चा देखाएर प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेहि बनाउन माग गरेका छन् । 

मंगलबारको प्रतिनिधि सभाको बैठक शुरु हुनै लाग्दा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति जवाफ देखि बनाउनुपर्छ र प्रश्न देखि भाग्न पाइदैन भन्ने लेखिएको पर्चा देखाएर सभामुखको ध्यानाकर्षण गराएका थिए । 

उनले यसअघि सोमबार पनि यस्तै पर्चा देखाएर विरोध गरेपछि सभामुखले संसदमा पर्चा देखाएर विरोध गर्न नपाइने भन्दै सचेत गराएका थिए । 

Read More

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधामन्त्री बालेन शाहले आज अपराहन्न ४ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बोलाएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

Read More