२०८३ श्रावण १०

सरकारले गर्यो ७६० कन्सल्टेन्सी नवीकरण, पहिचान गरेर मात्र सेवा लिन आग्रह

काठमाडौँ । सरकारले आ.व.२०८२/८३ का लागि नविकरण भएका शैक्षिक परामर्शदातृ संस्थाहरूसँग मात्र सेवा लिन आग्रह गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयबाट स्वीकृति प्राप्त ७६० शैक्षिक परामर्शदातृ संस्था (कन्सल्टेन्सी) बाट मात्र सेवा लिन आग्रह गरेको हो ।

मन्त्रालयले भनेको छ- ‘आर्थिक वर्ष २०८२/०८३ का लागि हालसम्म नविकरण भएका संस्थाहरूको सूची मिति २०८३/०२/०६ को सचिव स्तरिय निर्णय अनुसार प्रकाशन गरिएको छ । शैक्षिक परामर्श लगाएतका सेवाहरु लिदा सँलग्न सूचिबाट सैस्थाहरुले उपलब्ध गराउन पाउने सेवाहरु पहिचान गरेर मात्र सेवा लिनुहुन समेत सम्बन्धित सबैमा सूचित गरिन्छ । शैक्षिक परामर्शदातृ निकायहरुले समेत स्वीकृत सेवाहरुको अधिनमा रहेर सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउनुहुन समेत जानकारी गराइन्छ ।’

मन्त्रालयले आ.व.२०८२/८३ का लागि कुल ७६० कन्सल्टेन्सी नवीकरण भएको जानकारी दिएको छ ।

Read More

अमेरिका-इरान वार्तामा इजरायल बेखबर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानसँग भइरहेको युद्धविराम र आणविक वार्ताबाट इजरायललाई लगभग बाहिर राखेको दाबी गरिएको छ ।

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार इजरायली अधिकारीहरूले अमेरिका–इरान वार्ताबारे प्रत्यक्ष जानकारी वासिङ्टनबाट पाउन छाडेका छन् । उनीहरूले अहिले क्षेत्रीय नेताहरू, कूटनीतिक सम्पर्क र इरानभित्रको गुप्तचर निगरानीमार्फत जानकारी संकलन गर्नुपरेको बताइएको छ ।

यो परिवर्तनलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका लागि ठूलो राजनीतिक झट्का मानिएको छ । नेतन्याहूले लामो समयदेखि आफूलाई ट्रम्पमाथि सबैभन्दा बढी प्रभाव पार्ने नेताका रूपमा प्रस्तुत गर्दै आएका थिए । युद्ध सुरु भएपछि उनले ट्रम्पसँग लगभग दैनिक संवाद हुने र संयुक्त रूपमा निर्णय लिने दाबी गरेका थिए ।

रिपोर्टका अनुसार ट्रम्प प्रशासन अहिले इरानसँग सीमित अवधिका लागि मात्र आणविक गतिविधिमा रोक लगाउने प्रकारको सम्झौतामाथि विचार गरिरहेको छ । यो प्रस्ताव सन् २०१५ को आणविक सम्झौतासँग मिल्दोजुल्दो रहेको बताइएको छ, जसको नेतन्याहूले त्यसबेला कडा विरोध गरेका थिए ।

इजरायलको अर्को ठूलो चिन्ता भनेको वार्तामा इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम समावेश नहुन सक्ने विषय हो । मार्च र अप्रिलमा इरानी क्षेप्यास्त्र आक्रमणका कारण इजरायलको जनजीवन प्रभावित भएको थियो । यस्तो अवस्थामा यो मुद्दा वार्तामा नआए इजरायलका लागि ठूलो झट्का हुने बताइएको छ ।

त्यस्तै, अमेरिका यदि इरानमाथिका आर्थिक प्रतिबन्ध हटाउने दिशामा अघि बढे तेहरानले अर्बौं डलर प्राप्त गर्न सक्ने र त्यसबाट हतियार कार्यक्रम तथा हेजबुल्लाहजस्ता सहयोगी समूहलाई थप बलियो बनाउन सक्ने चिन्ता पनि इजरायलले व्यक्त गरेको छ ।

रिपोर्टमा युद्धको सुरुआती चरणमा अमेरिका र इजरायलबीच निकै नजिकको समन्वय रहेको उल्लेख गरिएको छ । दुवै देशका सेनाले संयुक्त रणनीतिमा काम गरिरहेका थिए । तर युद्ध लम्बिँदै जाँदा र इरानले होर्मुज जलडमरु बन्द गरी तेलको मूल्य बढाएपछि ट्रम्प प्रशासनको ध्यान युद्ध अन्त्यतर्फ केन्द्रित हुन थालेको बताइएको छ । त्यससँगै अमेरिका र इजरायलका प्राथमिकतामा दूरी बढ्न थालेको रिपोर्टमा उल्लेख छ । 

Read More

अष्टलक्ष्मीको ओलीलाई सुझाव- पार्टी कसैको पेवा होइन, नेतृत्व छोड्नुस्

काठमाडौँ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेकी छन् ।

शाक्यले ओलीले लगातार तीन कार्यकालसम्म पार्टी नेतृत्व गरिसकेको उल्लेख गर्दै अब कार्यकर्ताको भावना बुझेर नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने बताएकी हुन् । उनले निर्वाचनपछि गौरवपूर्ण इतिहास बोकेको एमाले कमजोर अवस्थामा पुगेको दाबी गर्दै पार्टीलाई पुनः आन्दोलनको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्न सकिने उल्लेख गरिन् ।

शाक्यले ओलीमा अझै पनि दम्भ, घमण्ड र गुटगत सोच देखिएको आरोप लगाउदै एमाले कुनै एक व्यक्तिको निजी सम्पत्ति वा गुटको कम्पनी नभएको बताउँदै लाखौं कार्यकर्ताको त्याग, संघर्ष र बलिदानबाट बनेको पार्टी भएको स्मरण गराइन् । उनले भनेकी छन्- ‘अहिले पनि तपाईँले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच .म उस्तै देख्छु । बलिदानको रगतले जन्मेको पार्टी हो एमाले । लाखौं कार्यकर्ताहरूको त्याग र सङ्घर्षबाट अगाडि बढेको पार्टी हो एमाले । यो पार्टी तपाईं को मात्र पेवा होइन । एमाले तपाईँको गुटको कम्पनी पनि होइन । त्यसैले कमरेड शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ । अहिले एक्काइसौँ शताब्दीमा छौं हामी आजको समयको माग विचार, सामूहिकता सङ्घर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो ।’

शाक्यले अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण गर्नुपर्ने धारणा राख्दै सम्मानपूर्वक अध्यक्ष पदबाट विदा लिन ओलीलाई आग्रह गरेकी छन् ।

Read More

कान्स फिल्म फेस्टिभलमा नेपालको उपस्थिति, नेपालीले गौरव गर्ने स्तरमा पुगेको छ- डंगोल

काठमाडौँ । फ्रान्सको कान्समा भएको यस वर्षको फिल्म फेस्टिभल नेपालीले गौरव महसुस गर्ने स्तरमा भएको प्रतिक्रिया दिँदै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, यो क्षण नेपाली चलचित्र उद्योगका लागि गर्व गर्न लायक भएको बताएकी छन् ।

फेस्टिभलमा भाग लिएर स्वदेश फर्किएपछि आज विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले, फेस्टिभलमा अविनाश विक्रम शाहले निर्देशन गर्नुभएको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरु)’ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले नेपाली चलचित्र तथा रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ अझ अग्लिएको धारणा राखिन् । 

उनले भनिन्- ‘नेपाली चलचित्र वर्ल्ड प्रिमियर हुँदा कलाकारसँगै बसेर चलचित्र हेर्दा गौरव अनुभूति भयो । चलचित्रले लगातार ७ मिनेटसम्म स्टयान्डिङ ओभेसन (लगातार ताली) प्राप्त गरेको थियो । सबै दर्शक इमोसनल हुनुभएको थियो । फेस्टिभलको इतिहासमा नेपाली चलचित्रलाई प्राप्त भएको यो पहिलो अवसर फुटवलप्रेमीहरुका लागि विश्वकपमा जिते जत्तिकै महत्वपूर्ण र ऐतिहासिक बन्यो । यो स्थान हासिल गर्नका लागि अथक प्रयत्न गर्ने पर्दा अगाडिका कलाकार र पर्दा पछाडि निर्माण तथा सिर्जनामा काम गर्ने सबैप्रति हामी आभार र कृतज्ञता प्रदान गर्न चाहन्छौँ ।’

महोत्सवको काठमाडौँ सम्बन्धका विषयमा कुराकानी गर्दै उनले भनिन्- ‘काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने फिल्म फेस्टिभलको विषय कान्स महोत्सवमार्फत अन्तरराष्ट्रिय मञ्चमा पुर्‍याउनु, चलचित्र विधाका नगरहरुका बिचमा आपसी सम्बन्ध, सिकाइ तथा प्राविधिक क्षमता आदान प्रदानको विषय प्रवेश हुनु हामी सबैका लागि सुखद कुरा हो । अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सिप र अनुभवको उपयोग र फिल्म महोत्सव मार्फत हामी रचनात्मक उद्योगसँग सम्बन्धित क्षेत्रको सन्तुलित विकास गराउन चाहन्छौँ ।’

फेस्टिभलमा परम्परागत पोशाकमा सहभागी भएको बारे उनले भनिन्- ‘मैले नेवार समुदायको मौलिक पोशाक हाकुपटासी लगाएकी थिएँ । म नेवार, त्यसमा पनि ज्यापू समुदायको प्रतिनिधित्व गर्छु । हाम्रो संस्कार, संस्कृति र परम्पराको प्रतिनिधित्व गर्दै हाकुपटासी लगाएकी हुँ । यो नेपालको मौलिक पोशाक भएकोले नेवार समुदायले मात्र होइन । विश्वभर बसेका नेपालीले गौरव महसुस गर्ने विषय हो । यसले हाम्रो पहिचानलाई विश्व सामु पु¥याएको छ ।’

फ्रान्सको कान्स नगरका मेयर डेभिड लिसनार्डको निमन्त्रणा गएको आइतबार फ्रान्स प्रस्थान गरेकी डंगोलले, मेयर लिसनार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएकी छन् । मेयर डेभिडले, काठमाडौँ फिल्म फेस्टिभलको सफलताका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन् । 

फेस्टिभलमा चलचित्र उत्पादनसँग सम्बन्धित प्रविधि र प्राविधिक स्थलको अवलोकन, यी विषयमा नगरका प्रमुखहरु तथा रचनात्मक उद्योग क्षेत्रका अधिकारीहरुसँग आपसी सिकाइ, भोगाइ तथा अनुभव आदानप्रदान भएको थियो । चलचित्रबाट गीत, संगीत, साहित्य, फेसन, खाना जस्ता कला, शैली र शिल्पलाई रचनात्मक उद्योगमा विकसित गर्ने सम्भावनाका विषयमा कुराकानी भएको थियो । स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय क्षेत्रका चलचित्रलाई सिर्जनात्मक उद्योगमा जोड्ने, शिक्षा तथा प्राज्ञिक क्षेत्र, पेशाकर्मीको सहभागिता, आपसी सिप र हितका विषय भेट र छलफलमा समेटिएका थिए ।  

कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । 

Read More

गोंगबुबाट ४५ राउण्ड गोली र एसएलआर हतियारको म्यागजिनसहित २ जनालाई पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको गोंगबुबाट ४५ राउण्ड गोली र एसएलआर हतियारको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँको टोखा नगरपालिका- ९ स्थित गोंगबु शिव मन्दिरस्थित काबेली गेस्टहाउसमा चेकजाँचको क्रममामा सप्तरीका २७ बर्षिय खगेन्द्र शर्मा र काठमाडौँको नरेफाँट बस्ने सप्तरीका २२ बर्षिय ओमशंकर गुप्तालाई ४५ राउण्ड गोली र एसएलआर हतियारमा प्रयोग हुने म्यागजिनसहित पक्राउ गरेको हो ।

साथै प्रहरीले मेटलको नक एक थानपनि बरामद गरेको जानकारी दिएको छ ।

Read More

चीनको कोइला खानी विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु

काठमाडौँ । चीनको शान्सी प्रान्तस्थित एक कोइला खानीमा भएको भीषण विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु भएको छ । यो घटना पछिल्लो एक दशकयताकै चीनको सबैभन्दा ठूलो कोइला खानी दुर्घटना मानिएको छ ।

सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार विस्फोट शुक्रबार किनयुआन काउन्टीमा भएको हो । उक्त क्षेत्र राजधानी बेइजिङबाट करिब ५२० किलोमिटर दक्षिणपश्चिममा पर्छ ।

दुर्घटनाअघि खानीभित्र कार्बन मोनोअक्साइड ग्यासको मात्रा बढेको चेतावनी जारी गरिएको थियो । त्यसको केही समयपछि शक्तिशाली विस्फोट भएको बताइएको छ । विस्फोट हुँदा खानीभित्र २४७ मजदुर काम गरिरहेका थिए । अझै कति मजदुर भित्र फसेका छन् भन्ने स्पष्ट हुन सकेको छैन । राहत तथा उद्धार कार्य जारी रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

दुर्घटनापछि सुरुमा सरकारी सञ्चारमाध्यमले ८ जनाको मृत्यु भएको र २०० भन्दा बढी मजदुरलाई सुरक्षित निकालिएको जानकारी दिएका थिए । तर केही समयपछि मृतक संख्या अचानक बढेर ८२ पुगेको र पछि ९० पुगेको बताइएको छ । संख्या कसरी यति छिट्टै बढ्यो भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले दुर्घटनापछि उद्धार टोलीलाई बेपत्ता मजदुरको खोजीमा सबै प्रयास गर्न निर्देशन दिएका छन् । उनले घटनाका जिम्मेवार व्यक्तिलाई कारबाही गरिने पनि बताएका छन् । प्रारम्भिक अनुसन्धानमा खानीभित्र कार्बन मोनोअक्साइड ग्यासको मात्रा अत्यधिक बढेकाले विस्फोट भएको आशंका गरिएको छ । घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ । राष्ट्रपति जिनपिङले सबै सरकारी निकाय र क्षेत्रलाई यस घटनाबाट पाठ सिक्न, कार्यस्थल सुरक्षामा विशेष ध्यान दिन र यस्ता ठूला दुर्घटना रोक्न जोखिमको गम्भीर मूल्यांकन गर्न निर्देशन दिएका छन् ।

यसैबीच चीनका प्रधानमन्त्री ली छ्याङले पनि बेपत्ता मजदुरको खोजी तीव्र बनाउन र घटनाको कारण छिटो अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार उपप्रधानमन्त्री झाङ गुओछिङ र स्थानीय प्रशासनका वरिष्ठ अधिकारीहरू पनि घटनास्थल पुगेका छन् । उनीहरूले उद्धार अभियानको अनुगमन गरिरहेका छन् ।

चीनमा पछिल्ला वर्षहरूमा खानी सुरक्षासम्बन्धी नियम कडा बनाइए पनि यस्ता दुर्घटना दोहोरिँदै आएका छन् । उत्पादन बढाउने दबाब र सुरक्षामा हुने लापरवाहीलाई यसको मुख्य कारण मानिएको छ । यसअघि सन् २०२३ फेब्रुअरीमा इनर मङ्गोलियास्थित एक खुला खानीमा पहिरो जाँदा ५३ मजदुरको मृत्यु भएको थियो । 

Read More

अमेरिकी नेशनल इन्टेलिजेन्स प्रमुख तुलसी गबार्डले किन दिइन् राजीनामा ?

काठमाडौँ । ट्रम्प प्रशासनको महत्वपूर्ण डायरेक्टर अफ नेशनल इन्टेलिजेन्सको भूमिकामा रहेकी तुलसी गबार्डले राजीनामा दिएकी छन् । अमेरिकाको नेशनल इन्टेलिजेन्स अन्तर्गत १८ वटा गुप्तचर एजेन्सीहरू सञ्चालन हुन्छन् ।

फक्स न्युजका अनुसार उनका पति दुर्लभ हड्डीको क्यान्सरसँग जुधिरहेका कारण गबार्डले यो कठिन समयमा परिवारसँग रहनका लागि पद छाड्ने निर्णय गरेकी हुन् ।

रिपोर्टअनुसार उनले शुक्रबार ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेट गरी राजीनामाबारे जानकारी दिएकी थिइन् । उनको अन्तिम कार्यदिन जुन ३० हुने अपेक्षा गरिएको छ । गबार्डले राजीनामा पत्रमा ट्रम्पप्रति धन्यवाद व्यक्त गर्दै राष्ट्रिय गुप्तचर कार्यालयको नेतृत्व गर्नु आफ्नो लागि सम्मानको विषय भएको बताएकी छन् । उनले आफ्नो ११वर्षे वैवाहिक जीवनमा श्रीमान् सधैं सबैभन्दा ठूलो सहारा बनेको उल्लेख गर्दै कठिन समयमा साथ दिन अब पदमा रहिरहन नसक्ने बताएकी छन् ।

उनले कार्यकालका क्रममा गुप्तचर प्रणालीमा पारदर्शिता बढाउने र यसको विश्वसनीयता सुधार गर्ने प्रयास भएको पनि दाबी गरेकी छन् ।

गबार्डले आफ्नो कार्यकालमा खुफिया निकायमा ठूला परिवर्तन गर्दै खर्च घटाउने र कर्मचारी संख्या कम गर्ने योजना अघि सारेकी थिइन्, जसबाट वार्षिक करिब ७० करोड डलर बचत हुने दाबी गरिएको थियो । त्यस्तै, उनले सरकारी कार्यालयमा चलिरहेका विविधता तथा समानता सम्बन्धी कार्यक्रमहरू पनि बन्द गराएकी थिइन् ।

उनले ५ लाखभन्दा बढी सरकारी कागजात सार्वजनिक गरेकी थिइन्, जसमा ट्रम्प–रसिया अनुसन्धान र पूर्व राष्ट्रपति जोन एफ केनेडी तथा रोबर्ट एफ केनेडी हत्यासम्बन्धी अभिलेखहरू पनि समावेश थिए ।

यसैगरी, २०१६ को चुनावमा रूसको हस्तक्षेपबारेको अनुसन्धानलाई राजनीतिक रूपमा प्रयोग गरिएको दाबी गर्दै ‘क्रसफायर हरिकेन’ सम्बन्धी दस्तावेज पनि सार्वजनिक गरिएको थियो ।

गबार्डले आतंकवाद विरोधी केन्द्रमार्फत २०२५ मा १० हजारभन्दा बढी व्यक्तिलाई अमेरिका प्रवेशबाट रोकिएको र ८५ हजारभन्दा बढीलाई निगरानी सूचीमा राखिएको पनि जानकारी दिएकी थिइन् ।

राजनीतिक रूपमा उनी पहिले डेमोक्रेटिक पार्टीकी नेतृ थिइन् र इराक युद्धमा अमेरिकी सेनामा समेत सेवा गरेकी थिइन् । पछि २०२२ मा पार्टी छोड्दै ट्रम्पतर्फ नजिकिएकी थिइन् । उनी फक्स न्युजमा पनि कार्यक्रम प्रस्तोता बनेकी थिइन् र पछि रिपब्लिकन उम्मेदवारहरूको पक्षमा प्रचारमा समेत सक्रिय भएकी थिइन् ।

Read More

काँग्रेसको लुम्बिनी प्रदेश स्तरीय भेलाको मिति परिवर्तन

काठमाडौँ ।  नेपाली कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रीत लुम्बिनी प्रदेश स्तरीय कार्यक्रमको मिति परिवर्तन गरेको छ 

यसअघि जेठ १४ र १५, २०८३ तय गरिएकोमा सो कार्यक्रम १८ र १९ जेठ, २०८३ मा सम्पन्न गर्ने गरि मिति परिवर्तन भएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

काँग्रेसले यसअघि सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा भेला गरिसकेको छ ।

Read More

कस्तो भयो विश्वकै शक्तिशाली ‘स्टारशिप’ रकेटको १२औँ परीक्षण ?

काठमाडौँ । विश्वकै सबैभन्दा शक्तिशाली मानिने ‘स्टारशिप’ रकेटको नयाँ तथा ठूलो संस्करण (भी–३) को पहिलो परीक्षण सफलतासँगै केही प्राविधिक चुनौतीहरू देखिएको छ ।

टेक्सासको दक्षिणी भागमा रहेको स्टारबेस प्रक्षेपण केन्द्रबाट उडान भरेपछि रकेटको इन्जिनमा समस्या देखिएको थियो । जसका कारण रकेट नियन्त्रण गुमाउने जोखिमसमेत उत्पन्न भएको थियो । तर करिब एक घण्टापछि स्टारशिप अन्तरिक्ष यान हिन्द महासागरमा सुरक्षित अवतरण गर्न सफल भयो ।

यो परीक्षण स्टारशिप शृंखलाको १२औँ परीक्षण हो भने भी–३ संस्करणको पहिलो परीक्षण थियो । नेपाली समयअनुसार यो प्रक्षेपण शनिबार बिहान गरिएको हो ।

एलन मस्कको कम्पनी स्पेसएक्सले निर्माण गरेको यो रकेट ‘स्टारशिप’ र ‘सुपर हेभी बूस्टर’ मिलेर बनेको हो, जसको कुल उचाइ ४०३ फिट छ । यो पूर्ण रूपमा पुनः प्रयोग गर्न मिल्ने रकेट हो ।

परीक्षणका क्रममा ‘सुपर हेभी बूस्टर’ आफ्नो नियन्त्रित अवतरण प्रक्रिया पूरा गर्न असफल भयो । बूस्ट–ब्याक बर्न प्रक्रिया अधुरो रहेपछि बूस्टर पानीमा नियन्त्रित रूपमा अवतरण हुन सकेन ।

मुख्य स्टारशिप अलग भएपछि पनि अर्को समस्या देखियो । यसको ६ मध्ये ५ मात्र इन्जिन सुरु हुन सके, जसका कारण यो पूर्ण रूपमा निर्धारित कक्षीय मार्गमा पुग्न सकेन ।

यद्यपि यसको उडान सुरक्षित सीमाभित्र रहेकाले यो सब–अर्बिटल उडान पूरा गर्न सफल भयो । तर इन्जिन पुनः परीक्षण गर्ने अर्को चरण भने पूरा हुन सकेन ।

यो परीक्षणको मुख्य उद्देश्य रकेटलाई प्रक्षेपण, अलग हुने प्रक्रिया, इन्जिन पुनः सञ्चालन र समुद्रमा तोकिएको स्थानमा सुरक्षित अवतरणसम्मको सम्पूर्ण प्रणाली परीक्षण गर्नु थियो ।

यसअघि स्टारशिपको ११औँ परीक्षण २०२५ अक्टोबर १४ मा गरिएको थियो, जसमा सुपर हेभी बूस्टर अमेरिकाको खाडी क्षेत्रमा पानीमा अवतरण भएको थियो भने स्टारशिप हिन्द महासागरमा अवतरण भएको थियो । १०औँ परीक्षण २०२५ अगस्ट २७ मा सफल भएको थियो, जसमा स्टारलिङ्क सिमुलेटर उपग्रहहरू अन्तरिक्षमा छोड्ने र इन्जिन सञ्चालनजस्ता सबै लक्ष्य पूरा भएका थिए ।

त्यसअघि २०२५ जुन २९ मा हुने भनिएको परीक्षण स्थिर परीक्षणका क्रममा भएको विस्फोटका कारण असफल भएको थियो । उक्त घटनामा रकेटको माथिल्लो भागमा अचानक विस्फोट भई सम्पूर्ण संरचना आगोमा जलेको थियो ।

Read More

रोनाल्डोलाई पछि पार्दै फेलिक्स बने साउदी प्रो लिगको उत्कृष्ट खेलाडी

काठमाडौँ । साउदी प्रो लिगको यस सिजनको उत्कृष्ट खेलाडीको अवार्ड जोआओ फेलिक्सले जितेका छन् । उनले आफ्नै क्लब अल नासरका स्टार तथा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो उपाधि हात पारेका हुन् ।

अवार्ड घोषणा हुनुभन्दा एक दिनअघि मात्रै फेलिक्स र रोनाल्डो दुवैले अल नासरलाई साउदी प्रो लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

रोनाल्डोले डामाकविरुद्ध ४–१ को जितमा दुई गोल गर्दै टोलीलाई उपाधि सुनिश्चित गरेका थिए । यस सिजनमा ४१ वर्षीय रोनाल्डोले कुल २८ गोल गरेका छन् ।

यता जोआओ फेलिक्सले यस सिजनमा २० गोल गर्नुका साथै १३ असिस्ट पनि गरेका थिए, जुन लिगकै सर्वाधिक असिस्ट हो । यही प्रदर्शनका कारण उनी सिजनकै उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उत्कृष्ट खेलाडीको प्रतिस्पर्धामा उनले कोलम्बियाका जुलियन क्विनोनेस र इंग्ल्यान्डका इभान टोनीलाई पछि पारेका थिए ।

चेल्सीबाट करिब ३० मिलियन युरोमा अल नासर आएका फेलिक्सको यो साउदी लिगको पहिलो सिजन हो । उनले दुई वर्षको सम्झौतामा क्लबमा आवद्ध भएका थिए । अवार्डपछि उनले आफूले आफ्नै स्थानमा खेल्न पाउँदा आत्मविश्वास बढेको र प्रशिक्षकको विश्वासले राम्रो प्रदर्शन गर्न सकेको बताएका छन् ।

उता अल नासरका प्रशिक्षक जोर्जे जेसुस पनि यस सिजनको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उनले टोलीलाई उपाधिसम्म पुर्‍याएपछि पद छोड्ने घोषणा गरेका छन् । जेसुसले रोनाल्डोका लागि यो उपाधि विशेष रहेको बताएका छन्, किनकि साउदी अरेबियामा आएपछि उनले पहिलो पटक ठूलो उपाधि जितेका हुन् । उनले आफूले रोनाल्डोलाई च्याम्पियन बनाउन मद्दत गर्ने उद्देश्यले मात्रै यो जिम्मेवारी लिएको र अब आफ्नो यात्रा यहीँ समाप्त हुने बताएका छन् ।

Read More