२०८३ श्रावण १०

ईश्वर पोखरेलको ओलीलाई चेतावनी, आत्मसमीक्षा र पुनर्गठनको बाटो रोक्न नखोज्नु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीलाई पद छोड्न दबाब बढिरहेको छ ।

यसै सन्दर्भमा एमाले नेता इश्वर पोखरेलले एमाले आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र अगाडी बढ्न सक्ने भन्दै ओलीलाई पद छोड्न दबाब दिएका छन् ।

उनले कुनै पनि बहानामा यसलाई रोक्न खोज्नु अधोगति निम्त्याउनु भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्- ‘ यतिवेला नेकपा (एमाले) आत्मसमीक्षा र पुनर्गठन को बाटो बाट मात्र अगाडि बढ्न सक्छ ! जुनसुकै बहानामा यसलाई रोक्न खोज्नु अधोगति निम्त्याउनु हो ।’

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पनि पाँच मध्ये चार उपाध्याक्षले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । बैठकमा उपाध्यक्ष राम बहादुर थापा बादलले मात्र ओलीको बचाउ गरेका थिए ।

Read More

कान्सको रेड कार्पेटमा ऐश्वर्या राय बच्चन

काठमाडौँ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिडेको विषय हरेक बर्ष चर्चाको विषय हुने गर्दछ । यस बर्षपनि अन्ततः कान्स फिल्म फेस्टिभलमा ऐश्वर्या पुगेकी छन् ।

यसअघि बलिवुडबाट आलिया भट्ट, हुमा कुरैशी र डायना पेन्टीसहितका अभिनेत्रीहरूले आफ्नो उपस्थिति जनाइसकेका छन् ।

ऐश्वर्या नीलो रंगको आकर्षक गाउनमा रेड कार्पेटमा देखिएकी हुन् । विशेष डिजाइन गरिएको उक्त गाउनमा परेको तह र बनावटका कारण उनी जलपरीजस्तै देखिएकी थिइन् । गाउनसँगै उनले लामो दुपट्टा पनि लगाएकी थिइन्, जुन दुवै हातमा बेरिएको अवस्थामा जमिनसम्म पुगेको देखिन्थ्यो । ऐश्वर्याको गाउन डिजाइनर मोहित रायले तयार गरेका हुन् । 

ऐश्वर्या राय बच्चन सन् २००२ देखि कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै आएकी छन् । हरेक वर्ष उनी आफ्नो फरक शैली र आकर्षक पहिरनका कारण चर्चामा रहने गरेकी छन् । यसपटक भने उनी केही ढिलो गरी महोत्सवमा पुगेकी हुन् ।

फ्रान्सको कान्स सहरमा भइरहेको यो महोत्सवमा विश्वभरका चलचित्रकर्मी र कलाकारहरूको सहभागिता रहने गर्दछ । महोत्सवको समापन आज हुँदैछ ।

Read More

हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीलाई एक तह बढुवा

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा दिइने भएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडी बढाईएको छ भने सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीलाई सहायक हवल्दार पदमा बढुवा भएको अवधि पुगेपछि हवल्दारमा बढुवा गरिने भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा राखिएको सम्मान कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सो घोषणा गरेका हुन् ।

सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिईन् भने सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथा र जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको सफल आरोहण गरेकी थिईन् ।

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरु पहिलो महिला आरोही हुन् ।  

Read More

भारतमा १० दिनमा तेस्रो पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । भारतमा फेरि पेट्रोल र डिजेलको मूल्य बढाइएको छ । शनिबार पेट्रोल प्रतिलिटर ८७ पैसा र डिजेल प्रतिलिटर ९१ पैसा महँगो बनाइएको हो ।

भारतीय समाचार संस्था पिटिआईका अनुसार राजधानी नयाँदिल्लीमा पेट्रोलको मूल्य बढेर प्रतिलिटर ९९. ५१ भारतीय रुपैयाँ पुगेको छ । यस्तै डिजेलको मूल्य प्रतिलिटर ९२.४९ भारतीय रुपैयाँ कायम गरिएको छ ।

मे १५ यता इन्धनको मूल्य बढाइएको यो तेस्रो पटक हो । लगातार भइरहेको मूल्यवृद्धिको मुख्य कारण मध्यपूर्वमा जारी तनावलाई मानिएको छ । तनावका कारण तेल आपूर्तिमा असर परेको बताइएको छ ।

यसअघि मे १५ मा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाइएको थियो । त्यसपछि मे १९ मा करिब ९० पैसाले पुनः मूल्यवृद्धि गरिएको थियो ।

Read More

पाँचथरमा बाढी र पहिरो: आधा दर्जनभन्दा बढी पुल र सर्वसाधारणका घरमा क्षति

विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठूलो क्षति पुर्‍याएको छ । 

दोभाने खोला, तमोर नदी तथा मध्यपहाडी राजमार्ग आसपासमा आएको बाढीले सडक, आधा दर्जनभन्दा बढी पुल र सर्वसाधारणका घरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । 

तमोर नदीमा निर्माणाधीन लिम्बुनी मोटरेबल पुल पूर्ण रूपमा बगेको छ भने दोभाने खोलास्थित जलविद्युत् आयोजनामा पनि क्षति भएको छ । यस्तै, पहिरोले याङवरक–३ र ७ बीचको लाम्वाखोला ढाँड क्षेत्रमा दुई घर बगाएको छ । प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको र च्याङथापु–थर्पु सडकखण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

प्रहरीले निरन्तर वर्षा र सञ्चार अवरोधका कारण क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र अहिले राहत र उद्धारको कार्य जारी रहेको जनाएको छ ।

Read More

क्यारिक बने म्यानचेस्टर युनाइटेडका स्थायी प्रशिक्षक

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले माइकल क्यारिकलाई स्थायी प्रशिक्षक बनाएको छ । क्लबले औपचारिक रुपमा क्यारिकलाई स्थायी जिम्मेवारी दिएको घोषणा गरेको हो ।

अन्तरिम प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हालेपछि टोलीलाई च्याम्पियन्स लिगमा पुनः पुर्‍याउन सफल भएका क्यारिकले क्लबको नयाँ नेतृत्वलाई प्रभावित पारेका थिए । यही प्रदर्शनका आधारमा उनलाई दीर्घकालीन परियोजनाको उपयुक्त व्यक्ति मानिएको हो ।

म्यानचेस्टर युनाइटेडले क्यारिकसँग दुई बर्षको सम्झौता गरेको घोषणा गरेको छ । यस अनुसार उनी २०२८ को जुनसम्म क्लबमा रहने छन् ।  

म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी समेत रहेका ४४ बर्षिय क्यारिकले गत जनवरी १३ देखि अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि १६ खेलमा ११ खेल जिताएर क्लबलाई प्रिमियर लिगमा तेस्रो स्थानमा पुर्याएका थिए ।

उनले आफु २० बर्षअघि क्लबमा आउदादेखि नै म्यानचेस्टर युनाइटेडको जादु आफुले महसुस गरेको र आज क्लबको नेतृत्व गर्ने जिम्मेवारी पाउदा आफुलाई गर्व रहेको बताएका छन् ।

प्रशिक्षकमा नियुक्त भएसँगै अब क्यारिकले क्लबको आउदो सिजनमा खेलाडी भित्र्याउने रणनीति बनाउन शुरु गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

Read More

अध्ययन भन्छ- पाँच मिनेट मात्रैको हल्का शारीरिक गतिविधिले पनि अकाल मृत्यु रोक्छ 

काठमाडौँ । दैनिक जीवनमा थोरै–थोरै शारीरिक गतिविधि बढाउँदै लैजाँदा लामो समयसम्म स्वास्थ्य राम्रो राख्न सकिने र अकाल मृत्युको जोखिम पनि घट्ने नयाँ अध्ययनले देखाएको छ ।

विश्वप्रसिद्ध चिकित्सा जर्नल ‘लान्सेट’मा प्रकाशित एक ठूलो अध्ययन अनुसार, दिनमा केवल पाँच मिनेट मात्रै हल्का वा तीव्र शारीरिक गतिविधि गर्दा पनि करिब १० मध्ये १ अकाल मृत्यु रोक्न सकिने सम्भावना हुन्छ ।

त्यसअनुसार पाँच मिनेट छिटो हिँड्ने, साइकल चलाउने वा भर्‍याङ चढ्ने जस्ता सामान्य गतिविधिले पनि ठूलो जनसंख्यालाई फाइदा पुग्न सक्ने देखिएको छ ।

विशेषज्ञहरूका अनुसार राम्रो स्वास्थ्यका लागि अत्यधिक कठिन व्यायाम आवश्यक छैन । बरु दैनिक जीवनमा हुने सामान्य गतिविधि बिस्तारै बढाउँदै लैजानु नै बढी प्रभावकारी हुन्छ । तर अध्ययनले यो पनि स्पष्ट पारेको छ कि पाँच मिनेटको व्यायाम मात्रले पूर्ण रूपमा स्वास्थ्य सुनिश्चित हुँदैन । तर केही नगर्नुभन्दा यस्ता साना गतिविधि जोड्नु धेरै लाभदायक हुन्छ ।

अध्ययनका प्रमुख निष्कर्ष

अध्ययनका अनुसार पहिले नै सक्रिय र फिट रहेका व्यक्तिमा पाँच मिनेटको अतिरिक्त व्यायामको प्रभाव कम देखिन्छ । अमेरिकाको रोड आइल्याण्ड विश्वविद्यालयकी सहायक प्राध्यापक निकोल लोगनका अनुसार आधारभूत शारीरिक गतिविधिले शरीरमा थकान र तनाव घटाउँछ र बुढ्यौलीको गुणस्तर निर्धारण गर्छ । उनका अनुसार मांसपेशीको शक्ति र हड्डीको मजबुतीले जीवनको दीर्घता समेत प्रभावित गर्छ ।

१ लाख ५० हजारभन्दा बढीको तथ्याङ्क अध्ययन

यो अनुसन्धान बेलायत, अमेरिका र स्क्यान्डिनेभियाका करिब १ लाख ५० हजार वयस्कको तथ्याङ्कमा आधारित छ । नर्वेजियन खेल विज्ञान विद्यालयका प्रोफेसर उल्फ एकेलुन्डका अनुसार दैनिक जीवनमा मात्र पाँच मिनेटको गतिविधि थप्दा पनि अकाल मृत्युको जोखिम घट्ने कुरा आश्चर्यजनक रूपमा पुष्टि भएको छ । उनका अनुसार विश्व स्वास्थ्य संगठनले हप्तामा करिब १५० मिनेट मध्यम स्तरको व्यायाम गर्न सुझाव दिएको छ, जुन अझै पनि महत्वपूर्ण हो । तर जिम जान नसक्ने वा खेलकुदमा सहभागी हुन नसक्ने व्यक्तिले पनि दैनिक जीवनमै थोरै बढी हिँडडुल गरेर लाभ लिन सक्ने अध्ययनले देखाएको छ ।

निष्क्रियता घटाए आयु बढ्ने

अध्ययनले दैनिक बस्ने समय घटाउँदा पनि ठूलो फाइदा हुने देखाएको छ । दिनमा ३० मिनेट कम बस्दा अकाल मृत्युको जोखिम करिब ७ प्रतिशत घट्ने उल्लेख छ । विशेषज्ञहरूका अनुसार लामो समय बसिरहने बानीले मुटु रोगलगायत दीर्घ रोगको जोखिम बढाउछ । अमेरिकी व्यवहारिक चिकित्सा विशेषज्ञ अमान्डा डेलीले गाडी अलि टाढा पार्क गर्ने जस्ता साना अभ्यासलाई पनि उपयोगी बताएकी छन् ।

सानो अभ्यास, ठूलो फाइदा

अनुसन्धानकर्ताहरूका अनुसार हल्का–हल्का गतिविधि दिनभरि गर्ने बानीले मुटु र मांसपेशी दुवै स्वस्थ रहन्छ । यसलाई ‘साना गतिविधि अभ्यास’ भनेर पनि बुझिन्छ । बेलायतको अल्स्टर विश्वविद्यालयकी प्रोफेसर मेरी मर्फीका अनुसार छोटो–छोटो समयमा गरिएको व्यायामले शरीरको ऊर्जा प्रणाली बारम्बार सक्रिय बनाउछ ।

बानीमा बदलिँदा दीर्घकालीन फाइदा

विशेषज्ञहरूका अनुसार सीढी प्रयोग गर्ने, अलि बढी हिँड्ने वा काम गर्दा हल्का स्ट्रेच गर्ने जस्ता बानीले समयसँगै ठूलो स्वास्थ्य सुधार ल्याउन सक्छ । लफबरो विश्वविद्यालयकी प्रोफेसर अमान्डा डेलीका अनुसार यस्ता साना परिवर्तन बिस्तारै बानीमा बदलिन्छन् र पछि स्वाभाविक जीवनशैली बन्छन् । अध्ययनले देखाएको छ कि दैनिक २ हजार ५ सयभन्दा बढी कदम हिँड्दा पनि मुटु रोगको जोखिम उल्लेखनीय रूपमा घट्छ । विशेषज्ञहरूका अनुसार ठूलो कसरतभन्दा पनि नियमित साना–साना गतिविधि नै दीर्घकालीन स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय हुन् ।

Read More

सनराइजर्ससँग हारका बाबजुत बैंगलुरु आइपिएलको शिर्ष स्थानमै

काठमाडौँ । सनराइजर्स हैदरावादले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई ५५ रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको २५६ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा ४ विकेट गुमाउदै २०० रन बनाएको थियो । यसअघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ४ विकेट गुमाउदै २५५ रन बनाएको थियो ।

यस खेलको नतिजाले अंक तालिकामा भने कुनै फरक परेको छन् । जितका बाबजुत सनराइजर्स हैदरावाद १४ खेलमा १८ अंकसहित तेस्रो हुदै लिग चरण समाप्त गरेको छ ।

हारपछि पनि बैंगलुरु १४ खेलमा १८ अंकसहित शिर्ष स्थानमा कायम रहदै प्लेअफमा पुगेको छ । त्यस्तै १४ खेलमा १८ अंक नै रहेको गुजरात दोस्रो हुने निश्चित भएको छ ।

अब बैंगलुरु र गुजरातबीच पहिलो क्वालिफायर्स खेल हुने छ ।

Read More

महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

काठमाडौँ । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका अनुसार सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस मागिएको भन्ने सूचना र उजुरीका आधारमा टोली खटिएको थियो ।

टोलीले यादवलाई सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । पक्राउका क्रममा स्रोत नखुलेको ८३ हजार १४५ रुपैयाँ पनि बरामद गरिएको छ ।

यस्तै, उनीसँग रहेको एउटा ल्यापटप, दुई वटा मोबाइल र अन्य सरकारी कागजातसमेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । यादवलाई महोत्तरीको गौशाला नगरपालिका–५ निगौलस्थित सम्सी–गौशाला सडकखण्डमा गौशालतर्फ जाँदै गरेको सरकारी नम्बर प्लेटको सवारीसाधनबाट शुक्रबार नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Read More

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तापक्रम बढ्ने, सतर्क रहन आग्रह

काठमाडौँ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएको भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ ६ गतेदेखि सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भाग र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुगेको छ ।

महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको जनाएको छ । आगामी तीन दिनसम्म पनि यी प्रदेशका केही स्थानमा तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि रहने तथा केही स्थानमा ४० डिग्री सेल्सियस नाघ्ने सम्भावना रहेको चेतावनी दिइएको छ ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी तीन दिनसम्म मध्यम तातो लहर चल्ने सम्भावना छ भने पहाडी भू–भागमा अत्यधिक गर्मीका दिन रहने अनुमान गरिएको छ ।

अत्यधिक गर्मीका कारण थकान महसुस हुने, शरीर कमजोर हुने, धेरै तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने तथा बान्ता हुन सक्ने जोखिम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले यस्तो अवस्थाबाट जोगिन अत्यधिक गर्मी हुने समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा बाहिर ननिस्किन, चर्को घाममा हिँडडुल नगर्न र हल्का तथा सुतीका कपडा लगाउन सुझाव दिएको छ । बाहिर निस्कँदा टाउको छोप्ने, टोपी प्रयोग गर्ने तथा प्रशस्त मात्रामा पानी, झोल पदार्थ, जुस र सर्वत सेवन गर्न पनि आग्रह गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिए तत्काल स्वास्थ्यकर्मीसँग सम्पर्क गरी आवश्यक सल्लाह लिन महाशाखाले अनुरोध गरेको छ । साथै दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिन नियमित रूपमा हेरेर अद्यावधिक जानकारी लिन पनि सबैलाई आग्रह गरिएको छ ।

Read More