२०८३ भाद्र ३१

प्रधानमन्त्री संसदमा आउने तयारीमा हुनुहुन्छ- सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै विपक्षी दलहरूलाई बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले विरोध जारी राखेपछि सभामुख अर्यालले प्रधानमन्त्री सदनमा आउने तयारीमा रहेको र संसद्मा उठेका विषयबारे जानकार रहेको बताएका हुन् ।

उनले भने-‘ ‘सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहन्छ ।’

सभामुखको आग्रहपछि पनि नेपाली कांग्रेससहितका विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जारी राखेका थिए ।

विपक्षी दलहरूले सरकार प्रतिपक्षको आवाज दबाउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जनताको आवाज सुन्न आग्रह गरेका छन् ।

पहिलो बैठक १५ मिनेटका लागि स्थगित भए पछि शुरु भएको दोस्रो बैठकमा पनि विपक्षी दलहरुले विरोध गरिरहेका छन् ।

Read More

कन्सुलर सेवा विभागको ‘मोफा मित्र’ एपको औपचारिक शुभारम्भ

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले विकास गरेको मोबाइल एप ‘मोफा मित्र’ को औपचारिक शुभारम्भ गरिएको छ । त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले उक्त एपको शुभारम्भ गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी र प्रविधिमैत्री बनाउन डिजिटल प्रविधिको प्रयोग अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् ।

उनले ‘मोफा मित्र’ एपमार्फत विदेशमा रहेका नेपाली नागरिक र नेपाली नियोगबीच सहज सम्पर्क, समन्वय तथा छिटो सूचना आदानप्रदानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । कन्सुलर सेवासम्बन्धी गुनासा तथा समस्याको प्रभावकारी समाधानमा पनि एपले महत्वपूर्ण भूमिका खेल्ने उनले बताएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कन्सुलर सेवा विभागका महानिर्देशक दुरपदा सापकोटाले कन्सुलर सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने नेपाल सरकारको नीतिअनुसार विभागले आधुनिकीकरण तथा डिजिटल रूपान्तरणको काम निरन्तर अघि बढाइरहेको बताए ।

कार्यक्रममा ‘मोफा मित्र’ एपका विशेषता तथा सञ्चालन प्रक्रियाबारे संक्षिप्त प्रस्तुति पनि गरिएको थियो ।

एपमार्फत विदेशमा समस्यामा परेका, अलपत्र परेका वा हराएका नेपाली नागरिकको खोजतलास तथा उद्धारका लागि अनलाइन निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । साथै मृत्यु भएका नेपालीको शव व्यवस्थापन, बीमा तथा क्षतिपूर्ति दाबी लगायत अन्य गुनासा तथा समस्या पनि एपमार्फत दर्ता गर्न सकिने जनाइएको छ ।

निवेदनमाथि भएको कारबाहीको अवस्थाबारे जानकारी लिन सकिने सुविधा समेत एपमा समावेश गरिएको छ । त्यसबाहेक नेपाली नियोगहरूको सम्पर्क विवरण, नियोगले प्रदान गर्ने सेवा, यात्रा सम्बन्धी सूचना, सुरक्षा जानकारी, कन्सुलर सेवासम्बन्धी बारम्बार सोधिने प्रश्न तथा अन्य उपयोगी जानकारी पनि एपमा उपलब्ध गराइएको छ ।

यो एप एन्ड्रोइड र आइओएस दुवै माध्यममा उपलब्ध रहेको छ । सेवाग्राहीले गुगल प्ले स्टोर र एप्पल एप स्टोरमार्फत एप डाउनलोड गरेर प्रयोग गर्न सकिने बताइएको छ ।

Read More

नागरिकको दैनिक जीवनस्तर वास्तविक रूपमा सुधार गर्ने दिशामा सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक रूपमा सुधार गर्ने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली सङ्घ तथा सदस्य राष्ट्रका राजदूतहरू र काठमाडौँस्थित अन्य देशका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान परिस्थितिको गम्भीरता र सरकारलाई प्राप्त जिम्मेवारीप्रति आफू पूर्ण रूपमा सचेत रहेको बताएका हुन् ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका पक्षमा स्पष्ट जनादेश दिएको उल्लेख गरे । उनले नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पारे । प्रधानमन्त्री शाहले ‘नयाँ हुनु भनेको विगतसँग पूर्ण रूपमा अलग हुनु होइन’ भन्दै नेपालको नीति स्पष्ट, स्थिर र अनुमान गर्न सकिने खालको रहने बताए । लोकतान्त्रिक मूल्य मान्यता संरक्षण र राजनीतिक स्थिरता कायम गर्न सरकार दृढ रहेको उनको भनाइ थियो ।

उनले सुशासन र समावेशी आर्थिक वृद्धिका माध्यमबाट जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार केन्द्रित रहेको उल्लेख गरे । विश्व बजारबाट लाभ लिन, लगानी प्रक्रिया थप सहज बनाउन, नवप्रवर्तनलाई प्रोत्साहन गर्न तथा दिगो विकास हासिल गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने स्पष्ट पारे । छिमेकी मुलुक, विकास साझेदार र मित्र राष्ट्रसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिको सिद्धान्तमा आधारित रहेको उनले बताए ।

नेपालको विकास र समृद्धिमा निरन्तर सहयोग पुर्‍याएको भन्दै उहाँले विकास साझेदार तथा मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गरे । साथै व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल तयार रहेको पनि उनले स्पष्ट पारे । विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वका कारण सर्वसाधारण नागरिकले बढी पीडा भोग्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले शान्ति स्थापना गर्न सैन्य भिडन्तभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

भेटका क्रममा युरोपेली सङ्घ तथा अन्य देशका राजदूतहरूले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गरेका थिए । साथै सुशासन, आर्थिक विकास र समृद्धिको एजेन्डासहित सरकारको नेतृत्व सम्हालेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिएका थिए । राजदूतहरूले आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य र लगानी गर्न आफूहरू तयार रहेको बताएका थिए ।

Read More

अदालतको आदेश अनुसार रणवीर सिंहले गरे चामुन्डेश्वरी मन्दिरको दर्शन

काठमाडौं । बलिवुड अभिनेता रणवीर सिंहले मैसूरस्थित चामुन्डेश्वरी मन्दिरमा पुगेर पूजा–आराधना गरेका छन् । धार्मिक भावनामा ठेस पुगेको आरोप लागेपछि उनले कर्नाटक उच्च अदालतको निर्देशनअनुसार मन्दिरमा पूजा गरेका हुन् ।

रणवीर सिंहमाथि चलचित्र ‘कान्तारा’ मा देखाइएको ‘दैव’ दृश्यको नक्कल गरेर धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेको थियो । सोही विवादपछि अदालतले उनलाई चार साताभित्र चामुन्डेश्वरी मन्दिरमा पूजा गर्न निर्देशन दिएको थियो ।

अप्रिल महिनामा रणवीर सिंहले अदालतमा शपथपत्र बुझाउँदै बिना शर्त माफी मागेका थिए । त्यसपछि अदालतले मन्दिरमा पूजा गर्न आदेश दिएको जनाइएको छ । अदालतको आदेश पालना गर्दै रणवीर सिंह मंगलबार मन्दिर पुगेका थिए । उनको भ्रमणलाई धेरै हदसम्म गोप्य राखिएको थियो । उनी मंगलबार बिहान मुम्बई विमानस्थलमा देखिएका थिए । मन्दिरको गर्भगृहसम्म पुग्दासम्म उनले मुखावरण लगाएका थिए । त्यसपछि उनी पूजा गर्न गर्भगृहभित्र प्रवेश गरेका थिए ।

यो विवाद सन् २०२५ नोभेम्बर ३० मा गोवामा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसँग सम्बन्धित रहेको बताइएको छ । कार्यक्रममा रणवीर सिंहले चलचित्र ‘कान्तारा’ को चर्चित ‘दैव’ दृश्यको नक्कल गरेका थिए । उक्त दृश्यमा चलचित्रका निर्देशक तथा अभिनेता ऋषभ शेट्टी देखिएका थिए ।

रणवीर सिंहको उक्त दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि कन्नड भाषी समुदायको एक समूहले तीव्र आलोचना गरेको थियो ।

पछि रणवीर सिंहले सामाजिक सञ्जालमार्फत माफी माग्दै आफ्नो उद्देश्य ऋषभ शेट्टीको अभिनयको प्रशंसा गर्नु रहेको बताएका थिए । उनले आफू कलाकार भएकाले त्यो दृश्यलाई प्रभावकारी ढंगले प्रस्तुत गर्न कति मेहनत आवश्यक पर्छ भन्ने राम्रोसँग बुझेको उल्लेख गरेका थिए ।

उनले ऋषभ शेट्टीप्रति गहिरो सम्मान रहेको भन्दै देशका सबै संस्कृति, परम्परा र आस्थाप्रति आफूले सधैं सम्मान गर्ने बताएका थिए । साथै आफ्नो व्यवहारबाट कसैको भावनामा चोट पुगेको भए क्षमा चाहेको उल्लेख गरेका थिए ।

यस घटनापछि रणवीर सिंहविरुद्ध कन्नड समुदायको भावनामा चोट पुर्‍याएको आरोपमा मुद्दा दर्ता गरिएको थियो । फेब्रुअरीमा उनले राहतको माग गर्दै कर्नाटक उच्च अदालतमा निवेदन दिएका थिए । त्यसक्रममा अदालतले उनीविरुद्ध कुनै बलपूर्वक कारबाही नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।

Read More

घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । विशेष अदालतमा दर्ता भएको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।

विशेष अदालतमा दर्ता भएको मुद्दा नम्बर ०८२–सिआर–०१२० अन्तर्गत नेपाल सरकार वादी र ढुण्डिराज दाहाल प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा रहेका प्रल्हाद गौतम, विप्लव पोख्रेल र राजेश श्रेष्ठले अदालतमा प्रतिकूल बयान दिएको भन्दै उनीहरूमाथि अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा विशेष अदालत, काठमाडौंमा दर्ता भएको उक्त घुस तथा रिसवत मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठले प्रतिवादी ढुण्डिराज दाहाललाई घुस दिएको कार्य पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार अनुसन्धानका क्रममा ती व्यक्तिहरूले अनुसन्धान अधिकृतलाई सहयोग गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ अनुसार सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो ।

तर उनीहरूले विशेष अदालतमा २०८३ वैशाख २५ गते बकपत्र गर्दा आयोगसमक्ष दिएको बयानविपरीत बयान दिएको पुष्टि भएपछि पुनः अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

आयोगका अनुसार भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने उद्देश्यले विप्लव पोख्रेलले आरएसभी मेटलको तर्फबाट २७ हजार ३५० रुपैयाँ र अभियान्ता नेपालको तर्फबाट २९ हजार रुपैयाँ गरी जम्मा ५६ हजार ३५० रुपैयाँ घुस दिएका थिए ।

त्यस्तै प्रल्हाद गौतमले शुभश्री टेक्नोलोजिज लगायतको तर्फबाट ३७ हजार ५०० रुपैयाँ तथा राजेश श्रेष्ठले विप्लव पोख्रेलमार्फत २७ हजार ३५० रुपैयाँ घुस दिएको पुष्टि भएको आयोगले जनाएको छ ।

यसरी कुल ९३ हजार ८५० रुपैयाँ प्रतिवादी ढुण्डिराज दाहाललाई घुस तथा रिसवत दिएको कार्य पुष्टि भएकाले उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ३ अनुसारको कसुर भएको आयोगको ठहर छ ।

उनीहरूविरुद्ध कानुनबमोजिम सजायको माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 

Read More

नेप्सेमा गिरावट, ४ अर्ब ८५ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से ९.२४ अंकले घटेर २७७७.१० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४२ कम्पनिका एक करोड १८ लाख ७२ हजार ५०७ कित्ता शेयर ४ अर्ब ८५  करोड ४४ लाख ४४ हजार १७० मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोक्रो शेयर ९.२३ प्रतिशतले बढेको छ आज सबै भन्दा बढी सुपर खुदी हाइड्रोको शेयर ३.६० प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४६ करोड ७२ लाख बराबर कारोबार भएको छ भने रिढी पावरको १६ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।

Read More

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभामा विपक्षी दलहरुले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको छ ।

मंगलबारको बैठकमा शुन्य समय र विशेष समयपछि विपक्षी दलहरुले प्रधानमन्त्री संसदमा आउनुपर्ने भन्दै अवरोध गरेका थिए ।

विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डिपी अर्यालले आफुले पनि सरकार र सत्ता पक्षसँग कुरा गरेको र प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने तयारी गरेको जानकारी गराएका थिए । तर विपक्षी दलहरुले सभामुखको रुलिङको माग गर्दै प्रधानमन्त्री आउने समय तोक्न समेत माग गरेका थिए । उनीहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने माग राख्दै संसदमा उपस्थित भएर प्रश्नको जवाफ दिनुपर्ने माग गरेका छन् । विपक्षीदलहरुको अवरोधका बीच पनि सभामुख अर्यालले बैठक अगाडी बढाएपनि विपक्षीको लगातार विरोध पछि बैठक स्थगित भएको छ ।

Read More

प्रतिनिधि सभामा विपक्षी दलहरुको अवरोध

काठमाडौँ । प्रतिनिधि सभामा विपक्षी दलहरुले अवरोध गरेका छन् ।

मंगलबारको बैठकमा शुन्य समय र विशेष समयपछि विपक्षी दलहरुले प्रधानमन्त्री संसदमा आउनुपर्ने भन्दै अवरोध गरेका हुन् ।

विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डिपी अर्यालले आफुले पनि सरकार र सत्ता पक्षसँग कुरा गरेको र प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने तयारी गरेको जानकारी गराएका थिए ।

तर विपक्षी दलहरुले सभामुखको रुलिङको माग गर्दै प्रधानमन्त्री आउने समय तोक्न समेत माग गरेका थिए । उनीहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने माग राख्दै संसदमा उपस्थित भएर प्रश्नको जवाफ दिनुपर्ने माग गरेका छन् । विपक्षीदलहरुको अवरोधका बीच पनि सभामुख अर्यालले बैठक अगाडी बढाएका छन् ।

Read More

खाडी क्षेत्रमा अमेरिकाको प्रभाव कमजोर बन्दै गएको इरानी सर्वोच्च नेताको दाबी

काठमाडौँ ।   इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले खाडी क्षेत्रमा अमेरिकाको प्रभाव क्रमशः कमजोर हुँदै गएको बताएका छन्। उनले अब अमेरिका यस क्षेत्रमा पहिलेजस्तो सुरक्षित रूपमा सक्रिय रहन नसक्ने दाबी गर्दै क्षेत्रीय शक्ति सन्तुलन नयाँ दिशातर्फ अघि बढिरहेको उल्लेख गरेका छन्।

हज पर्वको अवसरमा मंगलबार जारी गरिएको लिखित सन्देशमा खामेनीले पश्चिम एशियामा नयाँ शक्ति संरचनाको उदय भइरहेको बताएका हुन्। उनका अनुसार खाडी मुलुकहरूले अब अमेरिकी सैन्य अड्डाहरूको सुरक्षा कवचका रूपमा काम नगर्ने अवस्था सिर्जना हुँदै गएको छ।

उनले अमेरिका विस्तारै आफ्नो पुरानो प्रभाव गुमाउँदै गएको टिप्पणी गर्दै “दादागिरीका सुरक्षित आधारहरू अब समाप्त हुँदै जानेछन्” भन्ने चेतावनीसमेत दिएका छन्।

खामेनीले इजरायल र त्यहाँको नेतृत्वप्रति पनि कडा अभिव्यक्ति दिएका छन्। उनले इजरायल “अन्तिम अवस्थातर्फ धकेलिएको” आरोप लगाएका हुन्।

पूर्व सर्वोच्च नेता आयतुल्ला अली खामेनीको निधनपछि उनका जेठा छोरा मोज्तबा खामेनीले नेतृत्व सम्हालेको १० साताभन्दा बढी समय बितिसकेको छ। तर हालसम्म उनले सार्वजनिक रूपमा प्रत्यक्ष सम्बोधन गरेका छैनन्। पछिल्ला महिनाहरूमा भने उनी लिखित सन्देशमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन्।

अमेरिका र  इरान बीच सम्भावित कूटनीतिक समझदारीको प्रयास भइरहेका बेला आएको यो सन्देशलाई क्षेत्रीय राजनीतिक संकेतका रूपमा हेरिएको छ।

Read More

युक्रेनको राजधानी कीभमा आक्रमण गर्ने रुसको चेतावनी, विदेशी नागरिकलाई शहर छोड्न आग्रह

काठमाडौं । रूसले युक्रेनको राजधानी कीभमा रहेका रक्षा संरचनामाथि निरन्तर र योजनाबद्ध आक्रमण गर्ने चेतावनी दिएको छ । साथै उसले विदेशी नागरिकहरूलाई शहर छोड्न पनि आग्रह गरेको छ ।

रूसी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा कीभमा रहेका यूक्रेनी रक्षा उद्योगसँग सम्बन्धित संरचनामाथि लगातार आक्रमण भइरहेको उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार ड्रोन डिजाइन, निर्माण र सञ्चालनका लागि प्रयोग हुने स्थानहरूलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरिएको छ ।

त्यसैगरी मन्त्रालयले ती ड्रोनहरू नाटोका विशेषज्ञहरूको सहयोगमा प्रयोगमा ल्याइने गरेको आरोप पनि लगाएको छ । मन्त्रालयले विदेशी नागरिकहरूलाई सम्भव भएसम्म छिटो कीभ छोड्न आग्रह गर्दै कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थामा कार्यरत व्यक्तिहरूलाई समेत सुरक्षा जोखिमका कारण शहर खाली गर्न सुझाव दिएको छ । साथै सर्वसाधारणलाई सैन्य तथा प्रशासनिक संरचनाहरू नजिक नजान चेतावनी पनि दिइएको छ ।

यसैबीच, हालै युक्रेनको स्तारोबिस्क क्षेत्रमा भएको घातक ड्रोन आक्रमणमा १८ जनाको मृत्यु र ४२ जना घाइते भएको विवरण सार्वजनिक भएको छ ।

रूसले पछिल्ला महिनामा युक्रेनले आफ्नो ड्रोन क्षमतालाई उल्लेखनीय रूपमा विस्तार गरेको भन्दै ऊर्जा पूर्वाधारसहितका रूसी लक्ष्यमा आक्रमण भएको आरोप लगाउँदै आएको छ । चार वर्षअघि सुरु भएको युद्धपछि रूसले युक्रेनका केही क्षेत्रमाथि दाबी गर्दै आएको छ र यी आक्रमणलाई उसले ‘आतंकवाद’ भन्दै प्रतिक्रिया स्वरूप ठूलो मात्रामा मिसाइल र ड्रोन आक्रमण गर्दै आएको बताइन्छ ।

त्यसैबीच, रूसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेश सचिवलाई युक्रेनका आक्रमणबारे जानकारी गराएको जनाइएको छ । उनका अनुसार युक्रेनी आक्रमणको जवाफमा कीभमा रहेका सैन्य प्रयोजनका संरचना र निर्णय केन्द्रहरूलाई लक्षित गरी नियमित आक्रमण भइरहेको छ ।

यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको एण्टी–ब्यालिस्टिक क्षमता कमजोर रहेको बताएका छन् । उनले युरोपेली साझेदारसँग मिलेर आवश्यक रक्षा प्रणाली बढाउने प्रयास भइरहेको उल्लेख गर्दै वायु रक्षा व्यवस्था अहिले पहिलो प्राथमिकता भएको बताएका छन् । जेलेन्स्कीका अनुसार विश्वव्यापी रूपमा एण्टी–ब्यालिस्टिक क्षमताको अभाव देखिएको छ र यसको समाधानका लागि युरोप तथा संयुक्त राज्य अमेरिकासँग सहकार्य जारी रहनेछ ।

Read More