२०८३ श्रावण १२

विश्वकप फुटबल खेल्ने आयोजक अमेरिकाको टिम घोषणा

काठमाडौँ । फिफा फुटबल विश्वकपको आयोजक समेत रहेको अमेरिकाको विश्वकप टिमको घोषणा गरिएको छ ।

अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेट्टीनोले विश्वकप फुटबल खेल्ने अमेरिकाको २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।  सार्वजनिक गरिएको टिममा क्रिस्टियन पुलिसिक, टायलर एडम्स र वेस्टन म्याकेनी मुख्य खेलाडीका रूपमा रहेका छन् ।

घोषित टोलीमा सन् २०२२ को विश्वकपमा अन्तिम १६ सम्म पुगेको अमेरिकी टोलीका १३ खेलाडी समावेश छन् भने बाँकी १३ खेलाडीले पहिलोपटक विश्वकप खेल्ने अवसर पाएका छन् । पहिलोपटक विश्वकप टोलीमा परेका खेलाडीमध्ये रिकार्डो पेपी, क्रिस रिचर्ड्स र माइल्स रोबिन्सन प्रमुख छन् । पेपी सन् २०२२ को टोलीमा अन्तिम समयमा परेका थिएनन् भने रिचर्ड्स र रोबिन्सन चोटका कारण टोली बाहिर रहेका थिए । टोली घोषणा गरेपछि पोचेट्टीनले केही निर्णय निकै कठिन र पीडादायी रहेको बताएका छन् ।

अमेरिकाले क्यानडा र मेक्सिकोसँग मिलेर सन् १९९४ पछि पहिलोपटक विश्वकपको सहआयोजना गर्दैछ । समूह डी मा रहेको अमेरिकाले पहिलो खेलमा जुन १२ मा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि जुन १९ मा  अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका छ । समूह चरणको अन्तिम खेल जुन २५ मा टर्किविरुद्ध हुनेछ । विश्वकपअघि अमेरिकाले अभ्यास खेलमा सेनेगल र जर्मनीसँग खेल्नेछ ।

अमेरिकी टोली: 

गोलकिपर: क्रिस ब्रेडी, म्याट फ्रिज र म्याट टर्नर ।

डिफेन्डर: म्याक्स आर्फ्स्टेन, सर्जिन्यो डेस्ट, एलेक्स फ्रिम्यान, मार्क म्याकेन्जी, टिम रिम, क्रिस रिचर्ड्स, एन्टोनी रोबिन्सन, माइल्स रोबिन्सन, जो स्काली र अस्टन ट्रष्टी ।

मिडफिल्डर: टायलर एडम्स, सेबास्टियन बेरहाल्टर, वेस्टन म्याकेनी, क्रिस्टियन रोल्डन, ब्रेन्डन आरोनसन, क्रिस्टियन पुलिसिक, जियो रेना, मालिक टिलम्यान, टिम वेआ र एलेजान्द्रो जेन्डेजास ।

फरवार्ड : फोलारिन बालोगुन, रिकार्डो पेपी र हाजी राइट ।

Read More

ट्रम्पको स्वास्थ्य परिक्षण बारे ह्वाइटहाउसले के भन्यो ?

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि स्वास्थ्य अवस्थालाई लिएर चर्चामा आएका छन् । ७९ वर्षीय ट्रम्प वाल्टर रिड राष्ट्रिय सैनिक स्वास्थ्य केन्द्र पुगेका थिए, जहाँ करिब तीन घण्टासम्म उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

परीक्षणपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्नो नियमित छ महिनाको स्वास्थ्य जाँच पूरा भएको र सबै नतिजा सामान्य आएको दाबी गरेका छन् । आगामी अमेरिकी निर्वाचनलाई लक्षित गर्दै ट्रम्पले आफूलाई अझै सक्रिय र सक्षम नेताका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका बेला उनको उमेर र स्वास्थ्यबारे बहस पनि बढ्दै गएको छ ।

ह्वाइट हाउसले उक्त भ्रमणलाई नियमित स्वास्थ्य तथा दाँत परीक्षणका रूपमा वर्णन गरेको छ । दोस्रोपटक राष्ट्रपति बनेपछि ट्रम्पको यो चौथो सार्वजनिक स्वास्थ्य परीक्षण हो । ट्रम्प अर्को महिना ८० वर्ष पुग्दैछन् । उनी अमेरिकाको इतिहासमा सबैभन्दा बढी उमेरमा निर्वाचित राष्ट्रपति मानिन्छन् ।

यसअघि जो बाइडेन ८२ वर्षको उमेरमा राष्ट्रपति पदबाट बाहिरिएका थिए । अमेरिकामा वृद्ध नेताहरूको राजनीतिक भूमिकाबारे अहिले जनस्तरमै बहस चर्किएको छ । ट्रम्पको स्वास्थ्य अवस्थामाथि विशेष ध्यान दिनुको कारण अमेरिकामा राष्ट्रपति पदका लागि शारीरिक र मानसिक क्षमता अत्यन्त महत्वपूर्ण मानिनु हो । हालै सार्वजनिक एक सर्वेक्षणअनुसार आधाभन्दा कम अमेरिकी नागरिकले मात्रै ट्रम्प राष्ट्रपति पदको जिम्मेवारी सम्हाल्न मानसिक र शारीरिक रूपमा पूर्ण सक्षम रहेको विश्वास व्यक्त गरेका छन् ।

ह्वाइट हाउसका पूर्व चिकित्सक डाक्टर जेफ्री कुलम्यानले ट्रम्पको उमेरलाई ध्यानमा राख्दै मुटुसम्बन्धी विस्तृत परीक्षण, क्यान्सर जाँच तथा मानसिक क्षमताको मूल्याङ्कन आवश्यक हुने बताएका छन् । यद्यपि यसपटक ट्रम्पको कुन–कुन परीक्षण गरिएको थियो भन्नेबारे ह्वाइट हाउसले खुलाएको छैन ।

ट्रम्पले भने आफू अहिले पनि ५० वर्षअघिजत्तिकै तन्दुरुस्त महसुस गर्ने दाबी गर्दै आएका छन् । तर सार्वजनिक कार्यक्रममा कहिलेकाहीँ उनी थकित देखिने गरेका छन् । केही बैठकका क्रममा उनको आँखा लामो समय बन्द देखिएपछि उनी निदाएको चर्चा चलेको थियो । तर ट्रम्पले त्यसलाई अस्वीकार गरेका थिए ।

उनले आफ्नो सार्वजनिक छविप्रति पनि विशेष सावधानी अपनाउने गरेका छन् । एयर फोर्स वनको भर्‍याङ ओर्लिँदा लड्ने तस्बिर सार्वजनिक नहोस् भनेर निकै सतर्क रहने ट्रम्पले स्वयं बताएका छन् ।

यसैबीच ट्रम्पको मानसिक क्षमतामाथि पनि पटक–पटक प्रश्न उठ्ने गरेको छ । उनले मानसिक परीक्षणमा उत्कृष्ट नतिजा ल्याएको दाबी गर्दै आएका छन् । पछिल्लो परीक्षणमा मोन्ट्रियल मानसिक मूल्याङ्कन परीक्षणमा उनले ३० मध्ये ३० अंक प्राप्त गरेको बताइएको थियो । उक्त परीक्षण स्मरणशक्ति र मानसिक कमजोरी पहिचान गर्न प्रयोग गरिन्छ ।

यद्यपि उनका आलोचकहरूले ट्रम्पका भाषण र अभिव्यक्तिलाई मानसिक क्षमतामा आएको गिरावटको संकेतका रूपमा व्याख्या गर्दै आएका छन् । गत महिना ३० भन्दा बढी स्नायु रोग विशेषज्ञ र मनोचिकित्सकले ट्रम्पको व्यवहारप्रति चिन्ता व्यक्त गर्दै संयुक्त वक्तव्य जारी गरेका थिए । ह्वाइट हाउसले भने त्यसलाई राजनीतिक उद्देश्यले गरिएको आक्रमण भन्दै अस्वीकार गरेको छ ।

Read More

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिने स्थायी निक्षेप सुविधामा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधाको समय घटाएको छ । केन्द्रीय बैंकले आजदेखि दैनिक स्थायी निक्षेप सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

बैंकले आइतबार, मंगलबार र बिहीबार उपलब्ध गराउँदै आएको स्थायी निक्षेप सुविधा अब दैनिक गर्न सकिने सुबिधा दिएको हो । सरकारले शनिबार र आइताबार सार्वजनिक विदा कायम गरेपछि केन्द्रीय बैंकले कार्यलय खुल्ने सबै दिन स्थायी निक्षेप सुविधा दिने व्यवस्था गरेको हो ।

स्थायी निक्षेप सुबिधा भनेको बैंक तथा वित्तीय संस्थासँग अधिक तरलता भएको अवस्थामा एक दिनका लागि केन्द्रीय बैंकमा राख्ने व्यवस्था हो । यसअघि बैंक तथा वित्तीय संस्थाले ३ दिन मात्रै केन्द्रीय बैंकमा पैसा राख्दै आएका थिए भने अब बैंकको नयाँ व्यवस्थाले एक दिन कायम गरेको छ । केन्द्रीय बैंकले बैंक खुलेको प्रत्येक दिन बैंकिङ कारोबार समयभित्र स्थायी निक्षेप सुविधा उपलब्ध हुने व्यवस्था गरिएको र यसरी उपलब्ध गराइएको सुविधाको साँवा तथा ब्याज रकम भोलिपल्ट अपरान्ह ३ बजेपछि सम्बन्धित संस्थाको खातामा जम्मा हुने जनाएको छ ।

राष्ट्र बैंक खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार स्वदेशी मुद्रामा लिएको अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको र स्वदेशी मुद्राको बचत तथा मुद्दती निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको संस्थाको अधिक तरलता मात्रै राष्ट्र बैंकले स्वीकार गर्ने बताएको छ ।

त्यस्तै कार्यविधि संशोधन गरी नगद सञ्चिति अनुपात (सीआरआर) ४ प्रतिशत कायम नगर्ने बैंक तथा वित्तीय संस्थाले यस्तो सुविधा नपाउने व्यवस्था गरेको छ ।

यसवापत केन्द्रीय बैंकले २.७५ प्रतिशत ब्याजदर दिन्छ । स्थायी निक्षेप सुविधाको न्यूनतम रकम १० करोड र सोभन्दा बढीको हकमा ५ करोडले भाग गर्दा निःशेष रहने अंक हुनुपर्ने कार्याविधिमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाको अधिक तरलता केन्द्रीय बैंकमा करिब साढे १० खर्ब रहेको बताइएको छ ।

Read More

आइपिएलको इलिमिनेटरमा आज सनराइजर्स र राजस्थान भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज इलिमिनेटर खेल हुदैछ ।

इलिमिनेटरमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल चण्डीगढस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदान मुल्लानपुरमा हुनेछ ।

प्याट कमिन्सको कप्तानीमा सनराइजर्स हैदराबादले उत्कृष्ट प्रदर्शन गर्दै लिग चरण तेस्रो स्थानमा समाप्त गरेको थियो । प्रतियोगिताभर टोलीले आक्रामक ब्याटिङमार्फत विपक्षी बलिङ आक्रमणमाथि लगातार दबाब बनाएको थियो ।

यता राजस्थान रोयल्सले अन्तिम लिग खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै चौथो स्थान सुरक्षित गरेको थियो । मध्य सिजनमा कमजोर अवस्थामा पुगे पनि टोलीले पुनरागमन गर्दै समयमै लय समातेको मानिएको छ ।

यस सिजन लिग चरणमा यी दुई टोलीबीच दुई खेल भएका थिए र दुवैमा सनराइजर्स हैदराबाद विजयी भएको थियो ।

अप्रिल १३ मा हैदराबादमा भएको पहिलो खेलमा सनराइजर्सले राजस्थानलाई ५७ रनले पराजित गरेको थियो । त्यस खेलमा प्रफुल हिङ्गेको अनुशासित बलिङले राजस्थानलाई लक्ष्य पछ्याउने क्रममा दबाबमा राखेको थियो । त्यस्तै अप्रिल २५ मा जयपुरस्थित सवाई मानसिंह रंगशालामा भएको दोस्रो खेल भने प्रतिस्पर्धात्मक बनेको थियो । पहिले ब्याटिङ गरेको राजस्थानले किशोर खेलाडी वैभव सूर्यवंशीको शानदार शतकको मद्दतमा प्रतिस्पर्धात्मक योगफल बनाएको थियो । उनले १०३ रन बनाएका थिए । तर सनराइजर्सले उक्त लक्ष्य पाँच विकेट बाँकी रहँदै सहज रूपमा पूरा गर्दै राजस्थानमाथि लगातार दोस्रो जित निकालेको थियो ।

आजको विजेताले दोस्रो क्वालिफायरमा शुक्रबार गुजरात टाइटन्ससँग खेल्ने छ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ । त्यस्तै यस सिजनको फाइनल खेल आगामी आइतबार हुदैछ ।

Read More

इरानमा ८८ दिनपछि इन्टरनेट सेवा आंशिक रूपमा सुरु

काठमाडौँ । इरानमा ८८ दिनपछि इन्टरनेट सेवा आंशिक रूपमा पुनः सुरु भएको छ । इन्टरनेट निगरानी गर्ने संस्था नेटब्लक्सले यसलाई आधुनिक इतिहासकै सबैभन्दा लामो राष्ट्रिय इन्टरनेट अवरुद्ध अवस्था भएको जनाएको छ ।

संस्थाका अनुसार मंगलबार इरानमा अन्तर्राष्ट्रिय सञ्जालसँग आंशिक सम्पर्क पुनः देखिन थालेको हो । तर इन्टरनेट सेवा पूर्ण रूपमा स्थायी रूपमा सुचारु हुने हो वा होइन भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।

रिपोर्टअनुसार इरान करिब तीन महिनासम्म विश्व इन्टरनेट सञ्जालबाट लगभग पूर्ण रूपमा अलग रह्यो। यस अवधिमा सर्वसाधारणको दैनिकी, व्यापार, बैंकिङ तथा डिजिटल सेवामा ठूलो असर परेको थियो ।

पछिल्ला महिनाहरूमा अमेरिका र इजरायलसँग बढ्दो सैन्य तनावका बीच इरानले इन्टरनेट सेवामा कडा प्रतिबन्ध लगाएको थियो । सरकारले भने यसलाई सुरक्षा कारणले गरिएको कदम भन्दै आएको थियो ।

यो लामो इन्टरनेट अवरुद्ध अवस्थालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा पनि व्यापक चर्चा भएको थियो। डिजिटल अधिकार समूहहरूले यसलाई सूचना र अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर नियन्त्रणका रूपमा आलोचना गरेका थिए।

Read More

जम्मू–कश्मीरबारे चीन र पाकिस्तानले जारी गरेको संयुक्त वक्तव्य भारतद्वारा पूर्ण रूपमा अस्वीकार

काठमाडौं । भारतले जम्मू–कश्मीरबारे चीन र पाकिस्तानले जारी गरेको संयुक्त वक्तव्यलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । भारतको विदेश मन्त्रालयले जम्मू–कश्मीर र लद्दाख भारतका अभिन्न तथा अविभाज्य भूभाग रहेको दोहोर्‍याउँदै अन्य देशलाई यस विषयमा टिप्पणी गर्ने अधिकार नभएको जनाएको हो ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको चीन भ्रमणपछि दुवै देशले जारी गरेको संयुक्त वक्तव्यमा पाकिस्तानले चीनलाई जम्मू–कश्मीरको अवस्थाबारे जानकारी गराएको उल्लेख गरिएको थियो । त्यसपछि चीनले जम्मू–कश्मीर ऐतिहासिक विवादसँग जोडिएको विषय भएको भन्दै संयुक्त राष्ट्रसंघको बडापत्र, सुरक्षा परिषद्का प्रस्ताव र द्विपक्षीय सहमतिअनुसार शान्तिपूर्ण समाधान हुनुपर्ने धारणा सार्वजनिक गरेको थियो ।

यसको जवाफमा भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले चीन–पाकिस्तान आर्थिक करिडोर अन्तर्गतका केही आयोजना पाकिस्तानले अवैध रूपमा कब्जा गरेको भारतीय भूभागबाट गुज्रिएको बताए । भारतले पाकिस्तानको कब्जालाई वैधता दिने वा बलियो बनाउने कुनै पनि प्रयासको विरोध गर्ने स्पष्ट पारेको छ ।

भारतले चीन र पाकिस्तानबीच भनिएको सीमापार जलस्रोत सहकार्यप्रति पनि प्रश्न उठाएको छ । भारतले दुवै देशबीच कुनै साझा सीमा नरहेको दाबी गर्दै सन् १९६३ मा भएको चीन–पाकिस्तान सीमा सम्झौतालाई आफूले कहिल्यै मान्यता नदिएको जनाएको छ । उक्त सम्झौताअनुसार पाकिस्तानले जम्मू–कश्मीरको शक्सगाम उपत्यकाको क्षेत्र चीनलाई हस्तान्तरण गरेको थियो ।

चीन–पाकिस्तान आर्थिक करिडोर चीनका राष्ट्रपति सी चिनफिङको महत्वाकांक्षी योजना मानिन्छ । सन् २०१३ मा सुरु गरिएको यो योजनाअन्तर्गत चीनको सिन्चियाङ प्रान्तदेखि पाकिस्तानको ग्वादर बन्दरगाहसम्म करिब ६० अर्ब डलर लागतमा आर्थिक मार्ग निर्माण भइरहेको छ । यस परियोजनामार्फत चीनले अरब सागरसम्म प्रत्यक्ष पहुँच बनाउने लक्ष्य राखेको छ । सडक, बन्दरगाह, रेलमार्ग र ऊर्जा आयोजनामा चीनले ठूलो लगानी गरिरहेको छ ।

भारतले भने उक्त करिडोर पाकिस्तानको कब्जामा रहेको कश्मीरको गिलगिट–बाल्टिस्तान क्षेत्रबाट गुज्रिएको भन्दै आपत्ति जनाउँदै आएको छ । भारतको दाबीअनुसार चीनले यस परियोजनामार्फत क्षेत्रीय प्रभाव विस्तार गर्दै भारतलाई रणनीतिक रूपमा घेर्ने प्रयास गरिरहेको छ । चीनका लागि यो करिडोर ऊर्जा आपूर्तिको दृष्टिले पनि महत्वपूर्ण मानिएको छ ।

हाल चीनमा आयात हुने अधिकांश कच्चा तेल मलक्का जलडमरूमध्य हुँदै करिब १६ हजार किलोमिटर दूरी पार गरेर पुग्ने गरेको छ । करिडोर सञ्चालनमा आएपछि दूरी करिब ५ हजार किलोमिटरले घट्ने बताइएको छ । ग्वादर बन्दरगाहमा पहुँच पाएपछि चीनले अरब सागर र हिन्द महासागर क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ । साथै, नौसैनिक जहाजको मर्मत तथा व्यवस्थापनका लागि पनि ग्वादर बन्दरगाह चीनका लागि रणनीतिक रूपमा उपयोगी बन्ने विश्लेषण गरिएको छ ।

Read More

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजे बस्ने भएको छ ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक बर्ष २०८२-८३ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै आज अर्थमन्त्री डा. वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । 

Read More

एशियन गेम्स क्वालिफायर्समा आज नेपाली महिला क्रिकेट टिमले चीनसँग खेल्दै

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले आज एशियन गेम्स क्वालिफायर्स अन्तर्गत चीनसँग खेल्ने तालिका रहेको छ । मलेसियामा हुने यो खेल नेपाली समय अनुसार विहान ११: ४५ बजेदेखि शुरु हुदैछ । 

यस प्रतियोगितामा नेपालको पहिलो खेल हो भने चीनले पहिलो खेलमा इन्डोनेसियालाई ३ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम मलेसिया पठाएको छ ।  नेपाली टिममा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, मनीषा उपाध्याय र रुबिना छेत्री रहेका छन् ।

Read More

प्रतिनिधि सभाको बैठक बस्दै, अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेश गर्ने

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजेदेखि बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक बर्ष २०८२-०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज राष्ट्रिय सभामा उत्पति भएको अभौतिक संस्कृतिक सम्पदा (संरक्षण) विधेयक- २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले ‘राष्ट्रिय सभामा उत्पति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

Read More

गुजरातलाई हराउदै रोयल च्यालेन्जर्स बैंगलुरु आइपिएलको फाइनलमा

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरु लगातार दोस्रो पटक आइपिएलको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न पहिलो क्वालिफायरमा बैंगलुरुले गुजरात टाइटन्सलाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

बैंगलुरुले दिएको विशाल २५५ रनको लक्ष्य पछाएको गुजरातले १९.३ ओभरमा अल आउट हुदै १६२ रन मात्र बनाएको थियो । गुजरातका लागि राहुल तेवातियाले सर्बाधिक ६८ रन बनाए भने जोस बटलरले २९ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका बलर ज्याकब डफीले ३ विकेट लिए भने भुवनेश्वर कुमार, रसिख सलाम र क्रुनाल पाण्डेयले २-२ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलुरूले २० ओभरमा ५ विकेट गुमाउदै २५४ रन बनाएको थियो । बैंगलुरुका लागि कप्तान रजत पाटिदारले अविजित ९३ रन बनाएका थिए भने विराट कोहली र क्रुनाल पाण्डेयले ४३-४३ रन बनाएका थिए । त्यस्तै देवदत्त पाडिकलले ३०, वेंकटेस अय्यरले १९ र जितेश शर्माले १५ रन बनाएका थिए । गुजरातका बलर कागीसो रबाडा र जासन होल्डरले २-२ विकेट लिएका थिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरु फाइनलमा पुगेको छ भने गुजरातले अब दोस्रो क्वालिफायरखेल्न पाउने छ । गुजरातले अब दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच आज हुने इलिमिनेटरको विजेतासँग खेल्ने छ ।

दोस्रो क्वालिफायर खेल शुक्रबार हुने छ भने यस सिजनको फाइनल खेल आइतबार हुने तालिका छ ।

Read More