२०८३ श्रावण ४

राजदुतका लागि दरखास्त आव्हान, पहिलोपटक खुला प्रतिस्पर्धाबाट छानिदै

काठमाडौँ । सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन खुला गरेको छ ।

परराष्ट्र मन्त्रालयले न्यूनतम योग्यता तथा मापदण्ड तोकेर बिहीबार आवेदन खुलाएको हो ।  राजदूत नियुक्तिका लागि न्यूनतम ३५ वर्ष उमेर र स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड राखिएको छ। पूर्वप्रशासनको हकमा अवकाश भएको न्यूनतम १० वर्ष पुगेको हुनुपर्ने उल्लेख छ ।  यसरी आवेदकमध्येलाई सर्टलिस्ट गरेर नियुक्त गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले चार बर्षको सेवा अवधि तोकिएको टर्म्स अफ रेफरेन्स–टीओआरमा राजदूत पदका लागि आवेदन खुला गरेको भएपनि सफल उम्मेदवारलाई कुन देशमा पठाइने भन्ने उल्लेख छैन ।

हाल १७ वटा कूटनीतिक नियोग प्रमुखविहीन छन् भने थप सात नियोग खाली हुने क्रममा रहेका छन् ।

मन्त्रालयले राजदुतका लागि अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता हुनुपर्ने साथै कूटनीति, अन्तर्राष्ट्रिय व्यापार वा बहुपक्षीय वार्तासम्बन्धी विशेष तालिम वा प्रमाणपत्र, नेपालको परराष्ट्र नीतिसँग सम्बन्धित शैक्षिक प्रकाशन, अनुसन्धान वा विद्वतापूर्ण योगदानलाई अतिरिक्त योग्यता मानिने उल्लेख गरेको छ ।

त्यस्तै, राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरका सरकारी, कूटनीतिक, निजी क्षेत्र, गैरसरकारी वा सार्वजनिक संस्थामा नेतृत्वदायी भूमिकाको अनुभव भएको, द्विपक्षीय वा बहुपक्षीय वार्ता, सन्धि–सम्झौता वा अन्तर्राष्ट्रिय कानुनी संरचनामा संलग्नताको प्रमाणित अनुभव, सम्बन्धित देश वा क्षेत्रमा पहिले काम गरेको अनुभवलाई प्राथमिकता दिइने टीओआरमा उल्लेख छ । साथै व्यापार प्रवर्द्धन, लगानी सहजीकरण, आर्थिक कूटनीति तथा संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय वित्तीय संस्था वा सार्क, बिमस्टेकजस्ता क्षेत्रीय निकायबारे अनुभवलाई पनि वाञ्छनीय मानिने उल्लेख छ ।

Read More

दीपक भट्ट प्रकरणमा सीआईबीको ठूलो कदम: ५६ जनाको बैंक खाता र सेयर कारोबार रोक्का

काठमाडौँ । सहकारी ठगी र वित्तीय अनियमिततासम्बन्धी अनुसन्धान तीव्र बनाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ५६ जना व्यक्तिको बैंक खाता र सेयर लगानी विवरण रोक्का गर्न निर्देशन दिएको छ।

सीआईबीले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गर्दै विभिन्न बीमा तथा पुनर्बीमा कम्पनीसँग जोडिएका सञ्चालक, लगानी समिति सदस्य र पदाधिकारीहरूको सम्पत्ति तथा सेयर कारोबार रोक्का गरी विवरण उपलब्ध गराउन आग्रह गरेको हो।

जेठ ११ गते पठाइएको पत्रमा दीपक भट्टसमेत प्रतिवादी रहेको ठगी मुद्दाको अनुसन्धानका लागि वित्तीय कारोबार, लगानी संरचना र सम्पत्ति प्रवाहबारे विस्तृत जानकारी आवश्यक परेको उल्लेख छ।

रोक्का सूचीमा नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्ससँग आबद्ध विभिन्न सञ्चालक तथा लगानीकर्ताहरू परेका छन्। सीआईबीले उनीहरूको धितोपत्र बजारमा भएका लगानी तथा कारोबारसम्बन्धी विवरण सुरक्षित राख्न पनि निर्देशन दिएको छ।

यसैबीच, हिमालयन लाइफ इन्स्योरेन्ससँग सम्बन्धित थप सञ्चालक तथा लगानी समिति सदस्यहरूमाथि पक्राउ पुर्जी जारी भएको पनि खुलेको छ। अनुसन्धानका लागि उनीहरूलाई प्रहरीसमक्ष उपस्थित हुन आग्रह गरिएको छ।

सीआईबीले सम्बन्धित सबै व्यक्तिहरूलाई कानुनी प्रक्रिया सहयोग गर्न र छानबिनमा सहभागी हुन आग्रह गरेको छ। अनुसन्धान जारी रहेकाले घटनासम्बन्धी थप विवरण क्रमशः सार्वजनिक हुने अपेक्षा गरिएको छ।

Read More

राजदूत नियुक्तिमा नयाँ नियम: अब ३५ वर्ष उमेर र स्नातक योग्यता अनिवार्य

काठमाडौँ । सरकारले राजदूत नियुक्ति प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ मापदण्ड सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार अब राजदूत बन्नका लागि निश्चित शैक्षिक, व्यावसायिक र नैतिक योग्यता पूरा गर्नुपर्नेछ।

नयाँ व्यवस्था अनुसार राजदूतका लागि न्यूनतम उमेर ३५ वर्ष तोकिएको छ भने नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

त्यसैगरी, भ्रष्टाचार वा नैतिक पतनसम्बन्धी फौजदारी मुद्दामा दोषी ठहर नभएको, सरकारी सेवाबाट अयोग्य हुने गरी बर्खास्त नभएको व्यक्ति मात्र योग्य मानिनेछ। विदेशी पीआर वा ग्रीनकार्ड लिएका व्यक्तिहरूलाई भने राजदूत बन्न पूर्ण रूपमा अयोग्य ठहर गरिएको छ।

निर्देशिकामा परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा अनुभव भएका र अंग्रेजी भाषामा दक्षता भएका उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख छ। साथै, प्रस्तावित मुलुकसँग स्वार्थ बाझिने अवस्था नहुने र हाल विदेशी सहायता प्राप्त गर्ने गैरसरकारी संस्थामा कार्यरत नरहेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ।

यसअघि विदेशी सरकार वा संस्थाबाट तलब लिने पदमा बसेको भए त्यस्तो पद छोडेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने प्रावधानसमेत राखिएको छ।

मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, कानुन, अर्थशास्त्र, राजनीति शास्त्र वा जनप्रशासनमा स्नातकोत्तर गरेका तथा उच्च तहको नेतृत्व अनुभव भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइनेछ।

सरकारले यी नयाँ मापदण्डमार्फत राजदूत नियुक्तिलाई योग्यता–आधारित, पेशागत र विश्वसनीय बनाउने लक्ष्य लिएको जनाएको छ।

Read More

विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १७ जना पक्राउ

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका-५ चिसेनी डेरा गरी बस्ने मकवानपुर घर भएका २८ वर्षीय बिजय तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ५ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै कञ्चनपुर भीमदत्त नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ हल्दुखाल बस्ने २७ वर्षीय मनोज बहादुर सिंह, ४८ वर्षीय उदय भट्ट र २९ वर्षीया हिमा सिंह रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०२००४ प ७७५७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ अमरबस्ती बस्ने २२ वर्षीय अर्जुन मल्ल, सोही नगरपालिका-१० भिमबस्ती बस्ने २६ वर्षीय नविन सुनार र कृष्णपुर नगरपालिका-८ बस्ने ३० वर्षीय गणेश बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले बाग्मती प्रदेश०२-०२८ प ०९३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

नुवाकोट विदुर नगरपालिका-१० बाट पनि अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ५२ मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १५ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० गैरीखर्क बस्ने २४ वर्षीय युनिक तामाङ भन्ने सन्देश तामाङ र रसुवा कालिका गाउँपालिका-३ धारापानी बस्ने २१ वर्षीया युनिषा तामाङ भन्ने पुष्पा तामाङ रहेका छन् । प्रहरी चौकी सिमुटार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यता सुनसरी रामधुनी नगरपालिका-६ बक्लौरी चोकस्थित मनोकामना मोबाइल सेन्टर पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय २४ ट्याब्लेट, डाइक्लोमाइन ८ सय ४९ ट्याब्लेट, स्पास्पेन २५ ट्याब्लेट र नगद १ लाख २२ हजार ३ सय ९० रूपैयाँ सहित सोही ठाउँ बस्ने २९ वर्षीय एकराज श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपहानगरपालिका-१७ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २० वर्षीय निशान राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ६७ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्पा रिब्दीकोट गाउँपालिका-८ फेक घर भएका ३२ वर्षीय सुसान भन्ने सुसन रायमाझी र २२ वर्षीय उमेश रावत रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-१० शान्ति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१० खयरडाँगी बस्ने ३६ वर्षीय मनोज बराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

ललितपुर, गोदावरी नगरपालिका-३ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २४ वर्षीय उमेश श्रेष्ठ भन्ने संजिब श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४५ ग्राम सहित सोही उपमहानगरपालिका-९ बङ्ग्राकटान बस्ने २७ वर्षीय निराजन ठकुल्लालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न रहेका भारत पलिया बस्ने २८ वर्षीय रिङ्गल गुप्तालाई समेत नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

अर्थमन्त्री वाग्लेद्वारा राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ, आर्थिक प्रतिवेदन पनि हस्तान्तरण

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुतिको पूर्वसन्ध्यामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटबारे औपचारिक जानकारी गराएका छन्।

बिहीबार शीतल निवास पुगेर अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको अनुमानसहितको बजेटका मुख्य पक्षहरू राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका हुन्।

भेटका क्रममा उनले संसद्‌मा प्रस्तुत गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ तथा सार्वजनिक संस्थानहरूको वार्षिक अवस्थासम्बन्धी प्रतिवेदन पनि राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका थिए।

अर्थमन्त्री वाग्लेले भोलि दिउँसो ४ बजे संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट औपचारिक रूपमा प्रस्तुत गर्ने कार्यक्रम छ।

Read More

प्रधानमन्त्री बालेनको ‘लो-प्रोफाइल डिप्लोमेसी’: सुधार कि जोखिम ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले कूटनीतिक अभ्यासमा देखाएको नयाँ शैलीले परराष्ट्र नीतिको दिशामाथि बहस सुरु भएको छ।

सरकार बनेको दुई महिना पुग्दा पनि प्रधानमन्त्रीले परम्परागत रूपमा हुने ‘वान–टु–वान’ कूटनीतिक भेटवार्ताबाट दूरी बनाएका छन्।

विभिन्न देशका प्रतिनिधि नेपाल आए पनि अधिकांशले प्रधानमन्त्रीसँग भेट पाएका छैनन्। मन्त्री र सांसदहरूको विदेश भ्रमणसमेत न्यून बनेको छ भने १७ नेपाली दूतावास अझै राजदूतविहीन छन्। यसले सरकार पुराना कूटनीतिक अभ्यास पुनर्विचार गर्ने तयारीमा छ भन्ने संकेत दिएको चर्चा भइरहेको छ।

यता, परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व राजनीति, प्रविधि र जलवायु चुनौतीलाई ध्यानमा राख्दै परराष्ट्र सेवालाई समयअनुकूल र आर्थिक कूटनीतिमुखी बनाउनुपर्ने बताएका छन्।

सरकार निकट पक्षले यसलाई “पुराना ढाँचा तोडेर नयाँ अभ्यास” को रूपमा व्याख्या गरेका छन् भने आलोचकहरूले संवाद घटाउनु नेपालजस्तो मुलुकका लागि हितकर नहुने चेतावनी दिएका छन्। पूर्वपरराष्ट्रमन्त्री एनपी साउददेखि कूटनीति विज्ञसम्मले आवश्यक परे प्रोटोकलभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।

सरकारको हालैको प्रतिबद्धतापत्रले पनि ‘सन्तुलित, गतिशील र राष्ट्रिय हित केन्द्रित’ परराष्ट्र नीतिको संकेत गरेको छ। अब प्रश्न उठेको छ—के यो केवल कार्यशैलीको परिवर्तन हो, कि नेपाल नयाँ कूटनीतिक मोडतर्फ अघि बढिरहेको छ ?

Read More

संयुक्त बैठकको तयारीमा सङ्घीय संसद् सचिवालय

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुतिका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी पूरा गरेको छ।

शुक्रबार दिउँसो ४ बजे संयुक्त बैठक बस्ने छ । सोही बैठकमा प्रतिनिधिसभा निर्वाचनपछिको नयाँ सरकारका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट पेस गर्नेछन् ।

नयाँ संसद् भवनको प्रतिनिधिसभा कक्ष प्रयोग गर्ने योजना रहे पनि निर्माणको अन्तिम काम नसकिएकाले बैठक हाल सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमै हुने भएको छ।

संसद् सचिवालयले सांसदहरूलाई समयअघि नै उपस्थित हुन आग्रह गरेको छ। यता, सीमित स्थानका कारण संवैधानिक निकायका पदाधिकारी, उच्च सरकारी अधिकारी तथा कूटनीतिक प्रतिनिधिहरूलाई भने यसपटकको बैठकमा नबोलाइने भएको छ।

Read More

कांग्रेसको कडा टिप्पणी: प्रधानमन्त्री बालेन जिम्मेवारीबाट भागे, जनताप्रति उत्तरदायी भएनन्

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनलाई जनताप्रति उत्तरदायी नभएको आरोप लगाएको छ।

कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले गणतन्त्र दिवसजस्तो महत्वपूर्ण अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको मात्रै होइन, त्यसको कारणसमेत सार्वजनिक नगरेको भन्दै प्रश्न उठाइन्।

कांग्रेसले सरकार बहुमतको बलमा प्रतिपक्षलाई बेवास्ता गर्दै अघि बढ्न खोजेको आरोप पनि लगाएको छ। बजेट निर्माण प्रक्रियामा समेत विगतको लोकतान्त्रिक अभ्यास तोडिएको कांग्रेसको निष्कर्ष छ।

Read More

केन्याको छात्रावासमा आगलागी: १६ छात्राको मृत्यु, ७९ जना घाइते

काठमाडौँ । केन्याको मध्य क्षेत्रमा रहेको छात्रावास विद्यालयमा भीषण आगलागी हुँदा १६ छात्राको ज्यान गएको छ भने ७९ जना घाइते भएका छन् । मिडिया रिपोर्ट अनुसार गिलगिल क्षेत्रमा रहेको उतुमिशी गर्ल्स स्कुलको छात्रावासमा रातिको समयमा आगलागी भएको हो ।

आगलागी हुँदा अधिकांश छात्रा कोठामै सुतिरहेका कारण समयमै बाहिर निस्कन नसकेको बताइएको छ । घटनापछि उद्धार टोली तत्काल घटनास्थल पुगेको थियो र आगो नियन्त्रणमा लिन प्रयास गरिएको थियो ।

शिक्षामन्त्री जुलियस ओंगामाले घाइतेहरूलाई नजिकैका अस्पतालमा भर्ना गरिएको र उपचार भइरहेको जानकारी दिएका छन् । उक्त विद्यालयमा ८ सयभन्दा बढी छात्रा अध्ययनरत रहेको जनाइएको छ ।

घटनापछि विद्यालय परिसर र आसपासका क्षेत्रमा त्रास र अफरातफरीको अवस्था सिर्जना भएको बताइएको छ । आफ्ना छोराछोरीको अवस्थाबारे जानकारी लिन अभिभावकहरू विद्यालय र अस्पताल पुगेका थिए ।

अधिकारीहरूले आगलागीको कारण अझै खुल्न नसकेको बताएका छन्। विद्युत् सर्ट भएर आगलागी भएको हो वा अन्य कुनै कारण रहेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

केन्यामा यसअघि पनि विद्यालयमा आगलागीका घटना हुँदै आएका छन् । सन् २००१ मा मचाकोस काउन्टीमा भएको आगलागीमा ६७ विद्यार्थीको मृत्यु भएको थियो । त्यसपछि सन् २०१७ र २०२४ मा पनि यस्तै दुःखद घटना भएका थिए ।

Read More

नेइमार तीन साता खेल्न नसक्ने, विश्वकपको पहिलो खेल गुमाउने

काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो ।

चोटका कारण नेइमारले विश्वकपअघि हुने मैत्रीपूर्ण खेलहरू गुमाउने निश्चित भएको छ । साथै मोरक्कोविरुद्धको विश्वकप उद्घाटन खेलसमेत उनले गुमाएका छन् । ब्राजिलको राष्ट्रिय टिमका डाक्टर रोड्रिगो लासमारले नेइमारको चोटबारे जानकारी दिएका छन् । उनका अनुसार नेइमार टिमको प्रशिक्षण शिविरमा पुगेपछि विस्तृत स्वास्थ्य परीक्षण गरिएको थियो । उनले भने- ‘उनले यहाँ आएपछि सबै स्वास्थ्य परीक्षण गरियो । त्यसपछि गरिएको एमआरआई परीक्षणमा पिँडुलाको मांसपेशीमा दोस्रो स्तरको चोट देखियो। यो सामान्य सुन्निने समस्या मात्रै होइन ।’

चोटका कारण नेइमारले पानामाविरुद्ध आइतबार हुने मैत्रीपूर्ण खेल र जुन ६ मा इजिप्टसँग हुने अर्को अभ्यास खेल गुमाउने भएका छन् । ब्राजिलले विश्वकपको पहिलो खेल जुन १३ मा मोरक्कोविरुद्ध खेल्ने तालिका छ। उक्त खेल हुन अब १६ दिन बाँकी रहेको छ । 

ब्राजिलले विश्वकप अघि जुन १ मा पानामासँग र जुन ७ मा इजिप्टसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । त्यस्तै विश्वकपमा समुह सि मा रहेको ब्राजिलले पहिलो खेल जुन १४ मा मोरक्कोसँग, जुन २० मा हैटीसँग र जुन २५ मा स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

Read More