२०८३ श्रावण १०

कान्तिपुर थिएटरमा आजदेखि नाटक ‘महाभारत’ मञ्चन हुदै

काठमाडौँ । ‘सेतो धरती’को सफल मञ्चनपछि कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरले आजदेखि अर्को नाटक ‘महाभारत’ मञ्चन सुरु गर्दैछ ।

‘महाभारत’मा हास्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेल पहिलो पटक नाटकमा अभिनय गर्दैछन् । साथै वरिष्ठ कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ । सन्दीप श्रेष्ठ, प्रतिक चौधरी, सुपज्ञा शर्मा लगायत अन्य २० जना कलाकारहरू पनि ‘महाभारत’का लागि कान्तिपुर थिएटरको मञ्चमा देखिँदैछन् ।

भारतीय प्रसिद्ध लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गरेका छन् । नाटकको अनुवाद प्रकाश दाहालले गरेका हुन् भने सेट डिजाइन तुफान थापा, लाइट डिजाइन दीपेश गजुरेल, सङ्गीत संयोजन तथा गायन अनुप तिमिल्सिना, कोरियोग्राफी अनिष क्षेत्री र निर्माण रमेश पुरीले गरेका छन् ।

आजदेखि असार ७ गतेसम्म हरेक दिन (बुधबार बाहेक) साँझ ५: १५ बजे नाटक मञ्चन हुनेछ । सार्वजनिक बिदाको दिन अतिरिक्त शो दिउँसो १: १५ बजे पनि हुनेछ । नाटक कान्तिपुर थिएटर, गैह्रीधारामा मञ्चन हुनेछ । ५०० र १००० रुपैयाँ टिकट दर तोकिएको नाटक विद्यार्थीहरूले सीमित कोटामा ३०० रुपैयाँमै हेर्न पाउनेछन् । कान्तिपुर थिएटरको वेबसाइट तथा सामाजिक सञ्जालमा दिइएको लिंकमार्फत दर्शकहरूले सजिलै अनलाइन टिकट बुक गर्न सक्नेछन् ।

रेखा थापा, जीवन लुईंटेल, सनिशा भट्टराई, बेनिशा हमाल लगायत कलाकारहरूलाई स्टेज थिएटरमा डेब्यु गराइसकेको यस थिएटरले यसअघि ‘मीरा’, ‘शिरीषको फूल’, ‘महारानीको जात्रा’ र ‘सेतो धरती’ मञ्चन गरिसकेको छ । यी नाटकमार्फत कान्तिपुर थिएटरले आफ्नो छुट्टै दर्शक वर्ग निर्माण गरिसकेको छ । ‘महाभारत’ मा पनि दर्शकहरूको उल्लेखनीय उपस्थिति रहने विश्वास थिएटरले लिएको छ । ‘महाभारत’पछि कान्तिपुर थिएटरले सुविन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित नाटक पनि मञ्चन गर्ने घोषणा गरिसकेको छ ।

Read More

सुर्यबंशीले तोडे आइपिएलमा क्रिस गेलको किर्तिमान

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को इलिमिनेटर खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दा सबैको ध्यान १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीमाथि केन्द्रित रह्यो । बिहारका विस्फोटक ब्याटर सूर्यवंशीले यस खेलमा कीर्तिमानी प्रदर्शन गर्दै टी–२० क्रिकेटका महान् ब्याटर क्रिस गेलको ऐतिहासिक कीर्तिमान तोडेका छन् ।

हैदराबादविरुद्ध आक्रामक ब्याटिङ गरेका सूर्यवंशी एकै संस्करणमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । यसअघि क्रिस गेलले सन् २०१२ मा ५९ छक्का प्रहार गरेका थिए । सूर्यवंशीले त्यस कीर्तिमानलाई पछि पार्दै नयाँ इतिहास रचे । उनले यस खेलमा १२ छक्का प्रहार गर्दै कुल ६५ छक्का प्रहार गरेर नयाँ किर्तिमान बनाएका छन् ।

त्यस्तै २०१९ सिजनमा आन्द्रे रसेलले ५२ छक्का प्रहार गरेका थिए भने क्रिस गेलले नै २०१३ मा ५१ छक्का प्रहार गरेका थिए । त्यसैगरी जोस बटलरले २०२२ मा ४५ छक्का प्रहार गरेका थिए ।

त्यसैगरी सुर्यबंशीले यस खेलमा १६ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । यससँगै सूर्यवंशी इन्डियन प्रिमियर लिगमा २० बलभन्दा कममा सर्वाधिक पटक अर्धशतक बनाउने संयुक्त दोस्रो ब्याटर बनेका छन् । उनले निकोलस पुरनको बराबरी गरेका हुन् । दुवैले पाँच–पाँच पटक २० बलभन्दा कममा अर्धशतक पूरा गरेका छन् । यस सूचीको शीर्ष स्थानमा हैदराबादका ओपनर अभिषेक शर्मा छन्, जसले छ पटक यस्तो उपलब्धि हासिल गरेका छन् ।

१५ वर्षीय सूर्यवंशी पावरप्लेभित्र सर्वाधिक पटक ५० भन्दा बढी रन बनाउने दोस्रो ब्याटर पनि बने । उनले पाँचौँ पटक पहिलो ६ ओभरभित्र ५० भन्दा बढी रन बनाएका हुन् । यस क्रममा उनले ट्राभिस हेडलाई पछि पारे, जसले चार पटक यस्तो प्रदर्शन गरेका थिए । यस सूचीको शीर्ष स्थानमा डेविड वार्नर रहेका छन् । उनले छ पटक पावरप्लेमा ५० भन्दा बढी रन बनाएका छन् ।

सनराइजर्स हैदराबादविरुद्धको इलिमिनेटर खेलमा सूर्यवंशी ऐतिहासिक उपलब्धिबाट भने एक बलले चुके । उनले क्रिस गेलको सबैभन्दा छिटो शतकको कीर्तिमान तोड्ने अवसर गुमाए । प्रफुल्ल हिंगेको बलमा क्याच आउट भएपछि उनी शतक बनाउन असफल भए ।

आइपिएलमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान क्रिस गेलकै नाममा छ । उनले ३० बलमा शतक पूरा गरेका थिए । सूर्यवंशी त्यस कीर्तिमान तोड्न निकै नजिक पुगेका थिए । तर, २९ बलमा पाँच चौका र १२ छक्काको सहयोगमा ९७ रन बनाएर उनी पेभेलियन फर्किए । उनको स्ट्राइक रेट ३३४.४८ रहेको थियो ।

यस खेलमा सूर्यवंशीले अर्को ठूलो उपलब्धिसमेत हासिल गरे । उनी इन्डियन प्रिमियर लिगको नकआउट वा प्लेअफ खेलमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने संयुक्त पहिलो ब्याटर बने । उनले सुरेश रैनाको बराबरी गरेका हुन् । दुवैले १६ बलमा अर्धशतक पूरा गरेका छन् ।

Read More

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक भएको छ।

सरकारले सार्वजनिक गरेको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । 

प्रतिवेदनमा नेपालको संविधानले परिकल्पना गरेको तीनखम्बे अर्थनीति अन्तर्गत सहकारी क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा रहेको भए पनि पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै उल्लेख गरिएको छ । 

प्रतिवेदनअनुसार सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा थप गर्ने क्रममा पर्याप्त अध्ययन, आवश्यकता विश्लेषण तथा मापदण्डको पालना नगरी स्वीकृति दिइएको पाइएको छ। आयोगले यस्ता निर्णय प्रक्रियामा भएका गम्भीर कमजोरीकै कारण धेरै सहकारी संस्थाहरू समस्याग्रस्त बनेको निष्कर्ष निकालेको छ।

आयोगले केही सहकारी सञ्चालक तथा व्यवस्थापकहरूले सहकारीको मूल उद्देश्यबाट विचलित हुँदै बचतकर्ताको रकम हिनामिना, अपारदर्शी कारोबार तथा व्यक्तिगत स्वार्थ केन्द्रित गतिविधि सञ्चालन गरेको पनि उल्लेख गरेको छ । प्रतिवेदनमा विगतको कमजोर नियमन, जथाभाबी दर्ता तथा कार्यक्षेत्र विस्तार प्रक्रिया, सहकारी सञ्चालक र व्यवस्थापकहरूको राजनीतिक आबद्धता तथा प्रत्यक्ष–अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले वर्तमान सङ्कट निम्त्याएको स्पष्ट पारिएको छ। 

साथै बहु नियामक निकायबिच समन्वय अभाव, प्रभावकारी सूचना प्रणालीको कमी, वित्तीय अनुशासनहीनता, सुशासनको कमजोरी तथा दक्ष जनशक्तिको अभाव पनि सहकारी क्षेत्रका प्रमुख समस्या रहेको आयोगको ठहर छ । आयोगले प्रभावकारी तथा एकीकृत नियामक संरचना निर्माण, विश्वसनीय सूचना प्रणाली विकास, कडा सुशासन, बचतकर्ता हित संरक्षण तथा संस्थागत क्षमता अभिवृद्धिलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको छ।

प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि नीतिगत, संस्थागत तथा व्यवहारगत सुधारका प्रयासलाई तीव्रता दिने प्रतिबद्धता जनाएकी छिन् । 

सरकारले वर्तमान कार्यकालमा सहकारी क्षेत्रलाई पुनः विश्वसनीय, पारदर्शी, उत्तरदायी तथा सदस्य केन्द्रित बनाउने लक्ष्यसहित सहकारी अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने, सहकारी ऐन तथा नियमावलीलाई समयानुकूल संशोधन गर्ने तथा कर्जा असुली र बचत फिर्ता प्रक्रियालाई थप प्रभावकारी र नतिजामुखी बनाउने कार्य अघि बढाएको मन्त्री रावलले बताइन् । 

मन्त्रालयले आयोगले दिएका सुझाव तथा सिफारिसहरूको प्रभावकारी कार्यान्वयनमार्फत सहकारी क्षेत्रमा विद्यमान बेथितिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ ।

Read More

एशियन गेम्स क्वालिफायर्समा आज नेपाली महिला क्रिकेट टिम इन्डोनेसियासँग खेल्दै

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले आज एशियन गेम्स क्वालिफायर्स अन्तर्गत इन्डोनेसियासँग खेल्ने तालिका रहेको छ । मलेसियामा हुने यो खेल नेपाली समय अनुसार विहान ११: ४५ बजेदेखि शुरु हुदैछ । 

यस प्रतियोगितामा नेपालको पहिलो खेलमा चीनलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने इन्डोनेसियाले पहिलो खेलमा चीनसँग हार बेहोरेको थियो । नेपालले आजको खेल जितेमा सेमिफाइनलमा पुग्ने छ । यस प्रतियोगिताबाट शिर्ष तीन देश एशियन गेम्समा छनौट हुने छन् । एशियन गेम्समा जापान आयोजकको रुपमा छनौट भएको छ भने आइसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । एशियन गेम्सको महिला क्रिकेट प्रतियोगितामा कुल ८ देशले भाग लिदैछन् ।  

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम मलेसिया पठाएको छ ।  नेपाली टिममा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, मनीषा उपाध्याय र रुबिना छेत्री रहेका छन् ।

Read More

काँग्रेसको संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

कांग्रेसको संसदीय दलको बैठक आज बिहान साढे ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

Read More

विभिन्न विश्वविद्यालयका उपकुलपतिका लागि १८८ आवेदन स्वीकृत

काठमाडौँ । विभिन्न ८ विश्वविद्यालयमा परेमा आवेदनमध्ये योग्य दरखास्त स्वीकृत गरिएको छ । 

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम उपकुलपति पदमा नाम सिफारिस गर्न प्रकाशित सूचनाबमोजिम प्राप्त २१८ आवेदनहरूमध्ये कार्यविधिको व्यवस्थाबमोजिम विश्वविद्यालयगत रूपमा १८८ दरखास्त स्वीकृत गरिएको हो ।

जस अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जना,  पूर्वाञ्चल विश्वविद्यालयका लागि ३४ जना,  पोखरा विश्वविद्यालयको लागि ३३ जना,  राजर्षि जनक विश्वविद्यालयका लागि २१ जना, सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १८ जना, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको लागि १९ जना, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १३ जना, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ७ जनाको आवेदन स्वीकृत भएको समितिले जानकारी दिएको छ ।

Read More

काभा महिला भलिबलको सेमिफाइनलमा आज नेपालले इरानको सामना गर्दै

काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले इरानको सामना गर्दैछ ।

यो खेल साँझ ५ बजेदेखि दशरथ रंगशालास्थित कभर्ड हालमा हुदैछ । यसअघि आजै दिउसो साढे २ बजेदेखि पहिलो सेमिफाइनल खेल भारत र काजकिस्तानबीच हुदैछ ।

समुह चरणमा पुल ए मा रहेको नेपालले २ खेल जितेर ७ अंकसहित दोस्रो हुदै सेमिफाइनलमा पुगेको हो भने इरानले पुल बी मा तिनै खेल जितेर सेमिफाइनलमा पुगेको हो । 

प्रतियोगितामा नेपालसहित किर्गिस्तान, भारत, मालदिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेशले भाग लिदैछन् । यस प्रतियोगितामा नेपाल पुल ए मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको थिए ।

यस प्रतियोगिताका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ । नेपाली टिममा निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन्

Read More

बकर इदको शुभकामना दिदै राष्ट्रपति पौडेलले भने- समाजमा मेलमिलाप र भाइचाराको भावना बलियो बनाउछ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम समुदायको पर्व ईद–उल–अज्हा (बकर इद) का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै यस पर्वले मातृभूमिप्रतिको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा मुस्लिम समुदायले ईद–उल–अज्हाका अवसरमा आपसी रिस, राग र द्वेष बिर्सेर खुसी, सद्भाव र शुभकामना साटासाट गर्ने परम्पराले समाजमा मेलमिलाप र भाइचाराको भावना बलियो बनाउने उल्लेख गरिएको छ । खुला स्थान, इदगाह तथा मस्जिदमा नमाज अदा गर्दै हर्षोल्लासका साथ पर्व मनाइने परम्पराले सामाजिक एकता प्रवर्द्धन गर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

राष्ट्रपति पौडेलले विश्वास, समर्पण र समाज सेवाको सन्देश बोकेका यस्ता चाडपर्वले धार्मिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता, सद्भाव, एकता र सहअस्तित्वको भावना मजबुत बनाउने बताउदै विविधताबीचको एकताले राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै समानता र भाइचाराको सन्देश फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सन्देशको अन्त्यमा राष्ट्रपति पौडेलले ईद पर्वले प्रेम, करुणा, त्याग, सहिष्णुता र राष्ट्रिय एकताको भावना थप मजबुत बनाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

Read More

सनराइजर्सलाई हराउदै राजस्थान रोयल्स आइपिएलको दोस्रो क्वालिफायरमा

काठमाडौँ । राजस्थान रोयल्स जारी आइपिएलको दोस्रो क्वालिफायरमा पुगेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले सनराइजर्स हैदरावादलाई ४७ रनले पराजित गरेर दोस्रो क्वालिफायरमा पुगेको हो ।

राजस्थान रोयल्सले दिएको २४४ रनको लक्ष्य पछाएको सनराइजर्सले १९.२ ओभरमा अल आउट हुदै १९६ रन बनाएको थियो ।

सनराइजर्सका लागि नितिश रेड्डीले ३८, सलिल अरोराले ३५ र इशान किशनले ३३ र शिभांग कुमारले २७ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चरले ३ विकेट लिएका थिए भने नान्द्रे बर्गर, सुशान्त मिश्रा र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै २४३ रन बनाएको थियो । राजस्थानका लागि वैभव सुर्यबंशीले २९ बलमा ९७ रन बनाएका थिए । उनले आफ्नो इनिंगमा १२ छक्का र ५ चौका प्रहार गरेका थिए । त्यस्तै ध्रुव जुरेलले २१ बलमा ५० रन बनाएका थिए भने यशश्वी जैसवालले २९ र कप्तान रियान परागले २६ रन बनाएका थिए ।

अब राजस्थानले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग शुक्रबार खेल्ने छ । यस खेलको विजेताले आइतबार हुने फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग खेल्ने छ ।

Read More

आज मुस्लिम समुदायले बकर ईद मनाउदै

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद आज मुस्लिम समुदायले मनाउदैछन् । 

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

यस अवसरमा जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको बताइन्छ । ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताइन्छ ।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिन्छन् । 

धार्मिक मान्यताअनुसार अल्लाहका नवी(दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्न पर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ ।

उनले धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुशी भएका थिएनन् । अन्तिममा  आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान(बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी  वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Read More