२०८३ श्रावण १०

चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा

काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । 

जोन योञ्जनको निर्देशन रहेको चलचित्र ‘रोल नं १’ मा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ छन् ।

सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले ‘रोल नं १’लाई युनिभर्सल सर्टिफिकेट दिएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै ‘रोल नं १’ सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् । अब यो चलचित्र हेर्न बालबालिकाले अभिभावकको साथ लिएर पनि हल जानु पर्ने छैन ।, 

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा १६ र काठमाडौंबाहिर दमौलीबाहेक १९ शो दिएको छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआइले आफ्ना ६ वटा चेनमा तीन वटाका दरले १८ शो दिएको छ । यसैगरी, वान सिनेमाजले ५ शो र बिग मुभिजमा ४ शो दिएका छन् । चलचित्र ‘रोल नं १’ले देशभर १ सय ५० हाराहारी शो पाएको छ । 

Read More

पाँच वर्षमा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियस बढ्ने चेतावनी

काठमाडौँ । संयुक्त राष्ट्रसंघको नयाँ जलवायु प्रतिवेदनले आगामी पाँच वर्षभित्र पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने चेतावनी दिएको छ ।

प्रतिवेदनअनुसार यही अवधिमा पृथ्वीको सबैभन्दा तातो वर्षको कीर्तिमान पटक पटक तोडिन सक्ने सम्भावना रहेको छ । विश्व मौसम विज्ञान संगठनले सन् २०३० सम्म आर्कटिक क्षेत्रको तापक्रम करिब १ दशमलव ६६ डिग्री सेल्सियसले बढ्न सक्ने अनुमान पनि गरेको छ ।

प्रतिवेदनमा अमेजन क्षेत्रमा गम्भीर खडेरी र डढेलोको जोखिम बढ्ने उल्लेख गरिएको छ । वैज्ञानिकहरूले कोइला, तेल र ग्यासको बढ्दो प्रयोगका कारण विश्वव्यापी तापक्रम वृद्धि भइरहेको र यसले बाढी, खडेरी तथा अत्यधिक गर्मीजस्ता मौसमी विपद् झन् बढाउने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको जलवायु निकाय र बेलायतको मौसम विभागले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनमा सन् २०२६ देखि २०३० बीच विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिअघिको अवस्थाभन्दा १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि रहने सम्भावना ७५ प्रतिशत रहेको उल्लेख छ ।

प्रतिवेदनअनुसार तापक्रममा सामान्य वृद्धि भए पनि यसले मानव मृत्यु, प्राकृतिक जोखिम र जीवजन्तुका प्रजातिमा गम्भीर असर पार्नेछ । प्रवाल भित्ते र हिमनदीजस्ता प्राकृतिक प्रणालीले थप तापीय दबाब सहन नसक्ने चेतावनी दिइएको छ ।

विश्व मौसम विज्ञान संगठनका अनुसार आगामी पाँच वर्षमध्ये कम्तीमा एक वर्षमा १ दशमलव ५ डिग्री सेल्सियसको सीमा पार हुने सम्भावना ९१ प्रतिशत रहेको छ । यस्तै सन् २०२४ मा बनेको पृथ्वीको सबैभन्दा तातो वर्षको कीर्तिमान फेरि तोडिने सम्भावना ८६ प्रतिशत रहेको जनाइएको छ ।

अनुमानअनुसार सन् २०३० सम्म प्रत्येक वर्षको तापक्रम १९औँ शताब्दीको अन्त्यतिरको अवस्थाभन्दा १ दशमलव ३ देखि १ दशमलव ९ डिग्री सेल्सियससम्म बढी रहनेछ ।

प्रतिवेदनमा ‘एल निनो’ को प्रभाव फेरि देखिन सक्ने सम्भावना पनि औँल्याइएको छ । छोटो अवधिको मौसम पूर्वानुमानमा ‘एल निनो’ सक्रिय हुन सक्ने संकेत देखिएको र यसको असर सन् २०२८ सम्म कायम रहन सक्ने विश्व मौसम विज्ञान संगठनले जनाएको छ । यसका कारण सन् २०२७ मा सन् २०२४ को तापक्रम रेकर्ड तोडिन सक्ने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले पछिल्ला वर्षहरूमा केही प्रगति भए पनि तापक्रम वृद्धि नियन्त्रण गर्ने प्रयास पर्याप्त नभएको बताएका छन् । प्रतिवेदनकी सहलेखिका मेलिसा सिब्रुकले १ दशमलव ५ डिग्री सेल्सियस अन्तिम सीमा नभएको उल्लेख गर्दै प्रत्येक ० दशमलव १ डिग्री तापक्रम वृद्धि हुँदै जाँदा यसको असर झन् गम्भीर बन्ने बताइन् ।

लन्डनकी जलवायु वैज्ञानिक फ्रेडरिक ओटोले यदि तापक्रम पूरा वर्ष १ दशमलव ५ डिग्रीभन्दा माथि रह्यो भने संसारले अत्यन्त खतरनाक मौसमीय अवस्था सामना गर्नुपर्ने चेतावनी दिएकी छन् ।

Read More

आइपिएलको दोस्रो क्वालिफायरमा गुजरात र राजस्थान भिड्दै

काठमाडौँ । जारी आइपिएलको दोस्रो क्वालिफायरमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । 

मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल आज साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । दोस्रो क्वालिफायरको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टिमको यस सिजनको आइपिएल यात्रा समाप्त हुने छ ।

लिग चरणमा राजस्थानले अहमदाबादमा भएको अवे खेल जितेको थियो भने गुजरातले जयपुरमा त्यसको बदला लिएको थियो । 

गुजरात पहिलो क्वालिफायरमा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग ९२ रनले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्न लागेको हो । उता राजस्थानले इलिमिनेटरमा सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो ।

यस सिजन नयाँ चण्डीगढमा भएका पाँच खेलमा पहिलो इनिङ्सको औसत योग २२० रन रहेको छ । २२३ रनको लक्ष्य समेत सहज रूपमा पछ्याइएको छ । तर नकआउट चरणको दबाबपूर्ण खेल भएकाले टस जितेर पहिले ब्याटिङ गर्नु फाइदाजनक हुन सक्ने अनुमान गरिएको छ ।

गुजरात टाइटन्स टोलीमा साई सुदर्शन, शुभमन गिल (कप्तान), जोस बटलर, वासिङ्टन सुन्दर, निशान्त सिन्धु, जेसन होल्डर, राशिद खान, अर्शद खान, कागिसो रबाडा, मोहम्मद सिराज र प्रसिद्ध कृष्णा रहेका छन् । राहुल तेवतियालाई प्रभाव खेलाडीका रूपमा राखिएको छ । त्यस्तै राजस्थान रोयल्स टोलीमा यशस्वी जैसवाल, वैभव सूर्यवंशी, ध्रुव जुरेल, रियान पराग (कप्तान), डोनोभान फरेरा, दासुन शनाका, रविन्द्र जडेजा, जोफ्रा आर्चर, नान्द्रे बर्गर, बृजेश शर्मा र यशराज पुञ्जा रहेका छन् ।

खेलअघि दुवै टोली उपाधिनजिक पुग्ने लक्ष्यसहित मैदानमा उत्रिने भएकाले प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ

Read More

काभा महिला भलिबलको तेस्रो स्थानको खेलमा नेपाल र भारत खेल्दै

काठमाडौँ । जारी काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुदैछ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने फाइनल खेलमा इरान र काजकिस्तान खेल्दैछन् । फाइनल खेल अपराहन्न साढे ४ बजेदेखि शुरु हुने छ ।

इरानले नेपाललाई र काजकिस्तानले सेमिफाइनलमा भारतलाई पराजित गरेर फाइनलमा पुगेका हुन् । त्यस्तै तेस्रो स्थानका लागि आजै नेपाल र भारतबीच खेल हुदैछ । यो खेल दिउसो १ बजे हुनेछ ।

Read More

गणतन्त्रबाट सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता हो- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हाँसिल गर्न सबै तहका सरकार निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्र्रपति पौडेलले गणतन्त्र दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राखी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्दै सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माण गर्न आ-आफ्नो क्षेत्रबाट योगदान पुऱ्याउनका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्वद्ध सबैमा आह्वान समेत गरेका छन् ।

उनले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएक आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका श्रद्धेय नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवम् राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गरेका छन् ।

उनले भनेका छन्- ‘नेपाली जनताको लामो संघर्ष र बलिदानको प्रतिफल स्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट वि.सं. २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं ।’ 

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको उल्लेख गरेका छन् । उनले यस ऐतिहासिक दिवसले सबै नेपालीहरूबीच आपसी विश्वास सहकार्य र राष्ट्रिय एकताको भावना अझ सुदृढ हुँदै जाओस् भन्ने कामना समेत गरेका छन् ।

Read More

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौँ । आज ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७३ वर्ष पुगेको अवसरमा गरेक बर्ष मे २९ मा यो दिवस मनाउने गरिन्छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘हिमालयको भविष्यका लागि आवाजहरूलाई एकताबद्ध गर्दै’ भन्ने नाराका साथ यस बर्षको अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ ।

नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए । शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७३औँ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरेर सगरमाथा दिवस मनाइदै छ ।

Read More

असन्तुष्टिको वैधानिक समाधान पनि गणतान्त्रिक व्यवस्थामार्फत मात्रै सम्भव छ- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टिको वैधानिक समाधान पनि गणतान्त्रिक व्यवस्थामार्फत मात्रै सम्भव हुने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले परिवर्तनको गति अपेक्षाअनुसार तीव्र हुन नसकेको स्वीकार गर्दै त्यसबाट प्रणालीप्रति असन्तुष्टि उत्पन्न हुन सक्ने र त्यस्ता असन्तुष्टिको वैधानिक समाधान पनि गणतान्त्रिक व्यवस्थामार्फत मात्रै सम्भव हुने जिकिर गरेका हुन् ।

उनले भनेका छन्- ‘चाहेजति गतिमा परिवर्तन हुन नसक्दा प्रणालीसँगै असन्तुष्टि हुन पनि सक्छ, तर ती असन्तुष्टिको वैधानिक रूपमा सम्बोधन गर्न पनि गणतान्त्रिक प्रणाली नै चाहिन्छ । त्यसैले, यस व्यवस्थाको रक्षा गर्न सकिए मात्र जनताले अवस्था परिवर्तन गर्न पाउँछन्। लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नारा बीचको भिन्नता समाजले तत्काल होइन, जीवन भोगाइको नतिजामा बिस्तारै थाहा पाउने कुरा हो ।’ 

ओलीले गणतन्त्र स्थापना नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागको परिणाम भएको बताएका छन् ।  उनले आजभन्दा ठीक १८ वर्षअघि नेपाली जनताले आफैं निर्वाचित गरेको संविधानसभाबाट गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन भएको उल्लेख गरेका छन् । उनले बोल्ने, लेख्ने, संगठित हुने तथा राजनीतिक विचार राख्ने अधिकार प्राप्त गर्न हजारौं अग्रजहरूले जीवन बलिदान गरेको र धेरैले जेल, यातना तथा निर्वासन भोग्नुपरेको स्मरण गरेका छन् ।

ओलीले जनताको ठूलो संघर्षपछि हुकुमबाट चल्ने शासन प्रणाली अन्त्य भएर कानुनबाट चल्ने व्यवस्था स्थापना भएको बताएका छन् । व्यक्तिको इच्छाअनुसार चल्ने शासनको सट्टा लोकतान्त्रिक अङ्ग र संरचनाबाट सञ्चालन हुने पद्धति सुरु भएको उनको भनाइ छ । अध्यक्ष ओलीले गणतान्त्रिक अभ्यास छोटो समयमै भए पनि सामाजिक र भौतिक विकासमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै गणतन्त्र केवल शासन प्रणाली परिवर्तन मात्र नभई नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको बताएका छन् ।

उनका अनुसार शताब्दीयौँसम्म ‘प्रजा’ भएर बाँचेको समाज संविधानमार्फत सार्वभौम नागरिकमा रूपान्तरित भएको उल्लेख गर्दै गाउँगाउँसम्म स्थानीय सरकार पुगेको, राज्यका हरेक तहमा महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएको समुदायको प्रतिनिधित्व बढेको, अभिव्यक्ति स्वतन्त्रता विस्तार भएको, डिजिटल सेवामा पहुँच बढेको तथा सडक र सञ्चार विस्तार भएका विषयलाई गणतन्त्रका उपलब्धिका रूपमा उल्लेख गरेका छन् ।

ओलीले जनताको निराशाबाट फाइदा उठाएर लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाउने र भावनालाई भड्काएर संरचना कमजोर बनाउने प्रवृत्तिप्रति पनि चेतावनी दिएका छन् । उनले संविधान, संसद्, न्यायपालिका र स्वतन्त्र प्रेसको रक्षा नै अहिले गणतन्त्रको रक्षा भएको बताएका छन् । लोकतान्त्रिक संस्थाहरू कमजोर भए समाज र जनताको भविष्य पनि असुरक्षित हुने उनको भनाइ छ । 

गणतन्त्र दिवसका अवसरमा अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष सम्झन र लोकतन्त्र कमजोर भए भविष्य कस्तो हुन्छ भन्ने विषयमा गम्भीर चिन्तन गर्न सबैलाई आह्वान गरेका छन् ।

Read More

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुदै

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुदैछ ।  

हरेक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले आज बजेट ल्याउन लागेको हो।  

यसका लागि संघीय संसदका दुवै सदनको संयुक्त बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । सोही बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट सार्वजनिक गर्ने कार्यसूची संघीय संसद सचिवालयले सार्बजनिक गरको छ ।

गत बर्ष अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएका थिए । अर्थमन्त्री पौडेलले चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६० दशमलव १ प्रतिशत,  पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड २० दशमल ८ प्रतिश र  वित्तीय व्यवस्थापन तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात १९. १ प्रतिशतको बजेट सार्वजनिक गरेका थिए । 

Read More

मेसीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप फुटबल खेल्ने टिमको घोषणा

काठमाडौँ । लियोनेल मेसीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप फुटबल खेल्ने टिमको घोषणा गरिएको छ । प्रशिक्षक लियोनल स्कालोनीले मेसीको कप्तानीमा २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

३८ वर्षीय मेसीले कतारमा भएको अघिल्लो विश्वकपमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनालाई तेस्रो पटक विश्वविजेता बनाएका थिए । उनले हालसम्म विश्वकपमा २६ खेल खेलेका छन्, जुन कुनै पनि खेलाडीले खेलेको सबैभन्दा धेरै खेलको कीर्तिमान हो ।

यसपटक मेसीसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि छैटौँ विश्वकप खेल्ने तयारीमा छन् । यी दुई खेलाडी पुरुष फुटबलमा छ वटा विश्वकप खेल्ने दुर्लभ सूचीमा रहनेछन् ।

अर्जेन्टिनाको टोलीमा एस्टन भिल्लाका गोलरक्षक एमिलियानो मार्टिनेज पनि समावेश छन् । उनले सन् २०२२ को विश्वकपमा उत्कृष्ट गोलरक्षकको पुरस्कार जितेका थिए । यस्तै म्यानचेस्टर युनाइटेडका लिसान्द्रो मार्टिनेज र टोटेनहमका क्रिस्टियन रोमेरो पनि टोलीमा रहेका छन् ।

लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र चेल्सीका एन्जो फर्नान्डेजसहित प्रिमियर लिग खेल्ने पाँच खेलाडी अर्जेन्टिनाको टोलीमा रहेका छन् । आगामी विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा अर्जेन्टिना समूह ‘जे’ मा परेको छ । उसले पहिलो खेल क्यान्सस सिटीमा अल्जेरियाविरुद्ध खेल्नेछ । त्यसपछि डलासमा अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

अर्जेन्टिनाको विश्वकप टोलीः

गोलरक्षकः हुआन मुस्सो, जेरोनिमो रुल्ली, एमिलियानो मार्टिनेज ।

डिफेन्डरः लियोनार्दो बालेर्दी, निकोलस टालियाफिको, गोन्जालो मोन्टिएल, लिसान्द्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फाकुन्डो मेडिना, नाहुएल मोलिना ।

मिडफिल्डरः लिएन्ड्रो परेडेस, रोड्रिगो डे पाउल, भालेन्टिन बार्को, जियोभानी लो सेल्सो, इजेकेल पालासियोस, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज ।

फरवार्डः जुलियन अल्भारेज, लियोनेल मेसी, निकोलस गोन्जालेज, थियागो आल्माडा, जुलियानो सिमियोने, निको पाज, होसे मानुएल लोपेज, लाउतारो मार्टिनेज ।

Read More

आज गणतन्त्र दिवस मनाइदै

ठमाडौँ । आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन आज गणतन्त्र दिवस मनाइदै छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । 

हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बनेको थियो । 

विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

आज गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुदैछ ।   

Read More