२०८३ श्रावण १०

फिलिपिन्समा हिरासतमा रहेका ६४ चिनियाँ नागरिक रिहा, थप ६ को प्रक्रिया जारी

काठमाडौँ । फिलिपिन्सका अधिकारीहरूले हिरासतमा राखेका ६४ जना चिनियाँ नागरिकलाई बिहीबार रिहा गरिएको फिलिपिन्सस्थित चिनियाँ दूतावासले जनाएको छ। दूतावासका अनुसार थप छ जनाको रिहाइ प्रक्रिया जारी छ र उनीहरूलाई पनि चाँडै रिहा गरिने अपेक्षा गरिएको छ।

दक्षिणी फिलिपिन्सको मिसामिस ओरिएन्टल प्रान्तस्थित “स्टिल प्लान्ट” मा कार्यरत ती चिनियाँ नागरिकलाई मे १५ मा फिलिपिन्सका कानून कार्यान्वयन अधिकारीहरूले नियन्त्रणमा लिएका थिए।

दूतावासले जारी गरेको विज्ञप्तिमा फिलिपिन्सको न्यायालयले उनीहरू विरुद्ध आणविक सुरक्षा ऐन, अध्यागमन ऐन र श्रम संहिता उल्लङ्घन भएको प्रमाणित गर्ने पर्याप्त आधार नभएको भन्दै रिहा गर्ने आदेश दिएको उल्लेख गरिएको छ।

चिनियाँ दूतावासले यस घटनालाई उच्च प्राथमिकताका साथ लिएको बताउँदै फिलिपिन्सका सम्बन्धित निकायहरूसँग निष्पक्ष, छिटो र कानुनी समाधान तथा आफ्ना नागरिकहरूको अधिकारको पूर्ण संरक्षणको माग गरेको जनाएको छ।

साथै, दूतावासले फिलिपिन्समा रहेका चिनियाँ नागरिक तथा संस्थाहरूको सुरक्षा र अधिकारको संरक्षण निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई कानून र नियमहरूको कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

Read More

गाजाको ७० प्रतिशत भूभाग नियन्त्रण गर्न नेतन्याहुको निर्देशन

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका थप क्षेत्रमा नियन्त्रण कायम गर्न सेनालाई निर्देशन दिएको बताएका छन् ।

नेतन्याहुले सुरुआती चरणमा गाजाको करिब ७० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा लिने लक्ष्य राखिएको बताएको इजरायली मिडियाले उल्लेख गरेका छन् ।

यो कदम सन् २०२५ को अक्टोबरमा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको शर्तविपरीत मानिएको छ ।

हाल गाजाका अधिकांश नागरिक समुद्री तट नजिकको अत्यन्त सानो क्षेत्रमा सीमित भएर बस्न बाध्य छन् । अनुमानअनुसार इजरायलले गाजा पट्टीको करिब ६४ प्रतिशत भूभागमा प्रभावकारी नियन्त्रण कायम गरिसकेको छ । सन् २०२३ मा दक्षिणी इजरायलमाथि हमासले गरेको आक्रमणपछि सुरु भएको इजरायलको सैन्य अभियान दुई वर्षदेखि जारी छ । यस अवधिमा गाजाको ठूलो हिस्सा पूर्ण रूपमा ध्वस्त भइसकेको छ ।

Read More

बजेट पारित गर्न योजना आयोगको पूर्ण बैठक र मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय योजना आयोगको पूर्ण बैठक र मन्त्रिपरिषद्को बैठकको बस्दैछ ।

आज बजेट पारित गर्न प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा योजना आयोगको पूर्ण बैठक दिउसो १ बस्दैछ भने त्यसपछि स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस हुने भएको छ । 

मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि बजेट वक्तव्य संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था रहेको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Read More

अमेरिका र इरानबीच सम्झौताको सम्भावनाका बीच तेलको मुल्य घट्यो

काठमाडौँ । अमेरिका र इरानबीच युद्धविरामको अवधि लम्ब्याउने विषयमा वार्ताको सम्भावना बढेसँगै शुक्रबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सामान्य घटेको छ ।

ब्रेन्ट कच्चा तेलको मूल्य करिब ३५ सेन्टले घटेर प्रतिव्यारेल ९३ दशमलव ३६ डलरमा पुगेको छ । त्यस्तै डब्लुटिआई कच्चा तेलको मूल्य ६३ सेन्टले घट्दै प्रतिव्यारेल ८८ दशमलव २७ डलरमा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यद्यपि, मूल्यमा ठूलो गिरावट भने आएको छैन । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच वार्ता जारी रहेको तर अझै अन्तिम सहमति नभएको बताएका छन् ।

अमेरिका र इरानबीच पछिल्ला चार महिनादेखि तनाव जारी रहे पनि अहिले दुवै देशबीच सम्झौताको सम्भावना बढ्दै गएको देखिएको छ । अमेरिकी पत्रकार एलन फिशरका अनुसार ह्वाइट हाउसमा पनि चाँडै कुनै सहमति हुन सक्ने अपेक्षा बढेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अर्थमन्त्री स्कट बेसन्ट तथा उपराष्ट्रपति जेडी भान्सले वार्ताबारे सकारात्मक संकेत दिएका थिए । भान्सले इरान इमान्दारीपूर्वक वार्तामा सहभागी भइरहेको दाबी गर्दै अहिले मुख्य विवाद समृद्ध युरेनियम र सम्झौताका शब्द तथा सर्तमा केन्द्रित रहेको बताएका छन् । उनले अमेरिकी सेनाले कडा दबाब सिर्जना गरेपछि मात्रै वार्ता अगाडि बढ्न सकेको पनि उल्लेख गरेका छन् ।

यसैबीच, सम्भावित सम्झौताबारे छलफल भइरहेका बेला आज वासिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र पाकिस्तानका विदेशमन्त्री इसाक डारबीच महत्वपूर्ण भेटवार्ता हुने भएको छ ।

पछिल्लो समय पाकिस्तानले अमेरिका र इरानबीच शान्ति वार्तामा मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ । हालैका दिनमा पाकिस्तानका उच्च अधिकारीहरूले इरान भ्रमणसमेत गरेका छन् ।

Read More

भिसा सकिएर कम्बोडियामा रहेका नेपालीलाई एक साता भित्र स्वदेश फर्किन आग्रह

काठमाडौँ । कम्बोडियामा भिसा अवधि सकिएपछि पनि बसोबास गरिरहेका नेपाली नागरिकलाई एक साताभित्र अनिवार्य रूपमा स्वदेश फर्किन बैंककस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

दूतावासका अनुसार विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसा अवधि सकिएपछि पनि त्यहीँ बसिरहेका नेपालीहरूको विवरण सङ्कलन कार्य १ मे २०२६ देखि सुरु गरिएको थियो । उक्त विवरणका आधारमा राहदानी हराएका सबै नेपालीका लागि एकतर्फी यात्रा कागजात तयार गरी सम्बन्धित निकायमार्फत कम्बोडिया पठाइसकिएको पनि जनाइएको छ ।

दूतावासको अनुरोधपछि कम्बोडिया सरकारले हालसम्म आठ चरणमा गरी ६०२ जना नेपाली नागरिकको भिसा अवधि नाघेपछि लाग्ने जरिवाना तथा शुल्क मिनाहा गरिसकेको छ ।

यसैबीच, दूतावासले भिसा अवधि सकिएपछि पनि कम्बोडियामा रहेका सबै नेपालीलाई एक हप्ताभित्र नेपाल फर्किन कडा अनुरोध गरेको छ । तोकिएको समयभित्र फर्किन नसके नयाँ कानुनी व्यवस्था अनुसार पक्राउ गरी जरिवाना तथा कैद सजायसमेत हुन सक्ने कम्बोडिया सरकारले जनाएको छ ।

दूतावासले सम्बन्धित सबैलाई यो सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै सकेसम्म छिटो स्वदेश फर्किन अनुरोध गरेको छ । साथै, जरिवाना तथा शुल्क मिनाहा भइसकेका व्यक्तिहरूले हवाई टिकटको व्यवस्था गरेपछि त्यसबारे अग्रिम जानकारी सम्बन्धित कम्बोडियाको अध्यागमन विभागलाई दिनुपर्ने व्यवस्था रहेको छ ।

त्यस्तै, नेपाल फर्किने क्रममा कम्बोडियाबाट नेपालका लागि सिधा उडान उपलब्ध नभएकाले ट्रान्जिटमार्फत हुने यात्रा हो वा होइन भन्ने सुनिश्चित गरेर मात्र टिकट खरिद गर्न पनि दूतावासले सुझाव दिएको छ ।

Read More

सुन तोलाको ५६ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ५६ सयले बढेर तोलाको २ लाख ९० हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८५ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७५ रुपैयाँले बढेर ५०४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८६५ मा कारोबार भएको थियो ।

Read More

गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था हो- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था भएको बताएका छन् ।

काठमाडौँको टुँडिखेलमा आयोजित १९औं गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्र संसारकै उत्कृष्ट व्यवस्था भएको बताउदै यस व्यवस्थाले जनतालाई सार्वभौम सत्ता सम्पन्न बनाएको बताएका हुन् ।

उनले लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको भन्दै संबिधानले निदिष्ट गरेको व्यवस्था अनुसारनै यसको अभ्यास भइरहेको बताए । गणतन्त्रले एकताबद्ध भएर अगाडी जाने अवसर दिएको भन्दै सबै किसिमका राजनीतिक अधिकार समेत दिएको राष्ट्रपति पौडेलले बताए ।  राजनीतिक उपलब्धिहरुले मात्र परिवर्तनलाई जनतासँग जोड्न पर्याप्त नहुने भन्दै उनले शासकीय चरित्रले परिवर्तनलाई जनतासँग जोड्नुपर्ने बताए । 

राष्ट्रपति पौडेलले प्राप्त राजनीतिक उपलब्धिको जगमा आर्थिक उन्नतिको जग बसाल्नु पर्ने भन्दै शासकीय संरचना र राज्यका अंगहरुलाई गतिशील बनाएर सुशासन दिनै पर्ने बताए । राष्ट्रपति पौडेलले अहिले बलियो जनादेशको सरकार बनेको उल्लेख गर्दै शासकीय सुधारका सय बुँदे कार्यसूची ल्याएर काम गरिरहेको बताए । गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई समृद्ध बनाउन सबैले आफ्नो आचरणलाई सुधार गरेर काम गर्नेमा राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई यसअघि प्रधानमन्त्रीले सम्वोधन गर्ने प्रचलन रहेपनि यस पटक पहिलो पटक राष्ट्रपतिले सम्बोधन गरेका हुन् ।

Read More

ब्लु ओरिजिनको रकेट परीक्षणका क्रममा विस्फोट

काठमाडौँ । अमेरिकी अर्बपति जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनलाई ठूलो झट्का लागेको छ । कम्पनीको विशाल ‘न्यु ग्लेन’ रकेट परीक्षणका क्रममा प्रक्षेपणस्थलमै विस्फोट भएको हो ।

यो घटना फ्लोरिडास्थित केप क्यानाभेरलको प्रक्षेपण परिसर–३६ मा भएको हो । रकेटको इन्जिन परीक्षण भइरहेका बेला अचानक ठूलो विस्फोट भएको र आकाशमा आगोको विशाल गोलो देखिएको थियो ।

विस्फोट यति शक्तिशाली थियो कि आसपासका क्षेत्रमा रहेका घरहरू समेत हल्लिएको जनाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोमा आकाश सुन्तलाजस्तै आगोले चम्किएको देखिएको छ ।

ब्लु ओरिजिनले सामाजिक सञ्जालमार्फत परीक्षणका क्रममा प्राविधिक समस्या उत्पन्न भएको जनाएको छ । कम्पनीका अनुसार सबै कर्मचारी सुरक्षित रहेका छन् र घटनामा कोही पनि घाइते भएका छैनन् ।

कम्पनीले ‘हटफायर टेस्ट’ का क्रममा असामान्य अवस्था सिर्जना भएको उल्लेख गर्दै घटनाबारे अनुसन्धान भइरहेको र थप जानकारी चाँडै सार्वजनिक गरिने जनाएको छ । स्थानीय आपत्कालीन निकायले विस्फोटपछि विषालु धुवाँ वा अन्य खतराको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

‘न्यु ग्लेन’ रकेट यसअघि पनि प्राविधिक समस्याका कारण चर्चामा आएको थियो । गत अप्रिलमा इन्जिनमा समस्या आएपछि यसको उडान रोकिएको थियो । त्यतिबेला रकेटले एउटा उपग्रहलाई गलत कक्षामा छोडेको बताइएको थियो । यो ‘न्यु ग्लेन’ रकेटको तेस्रो उडान परीक्षण मानिएको छ । ब्लु ओरिजिनले यही रकेटमार्फत अमेरिकी अन्तरिक्ष निकाय नासाको चन्द्र अभियानका लागि ल्याण्डर प्रक्षेपण गर्ने योजना बनाएको छ ।

जेफ बेजोसको ब्लु ओरिजिन लामो समयदेखि एलन मस्कको स्पेसएक्सलाई चुनौती दिने प्रयासमा रहेको छ । ‘न्यु ग्लेन’ लाई कम्पनीको भविष्यसँग जोडिएको महत्वाकांक्षी परियोजनामध्ये एक मानिन्छ । यो रकेटको नाम अमेरिकाका पहिलो अन्तरिक्ष यात्री जोन ग्लेनको नामबाट राखिएको हो । उनले पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकीका रूपमा इतिहास बनाएका थिए ।

Read More

ट्रम्पले दिए ओमानलाई ध्वस्त पार्ने धम्की

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानलाई आक्रमणको चेतावनी दिएपछि उनले आक्रमणको धम्की दिएको ओमान १५औँ देश बनेको छ ।

ट्रम्पले ओमानले इरानसँग मिलेर होर्मुज जलडमरूमध्य नियन्त्रण गर्ने प्रयास गरे अमेरिका त्यसलाई ध्वस्त पार्ने धम्की दिएका हुन् । ट्रम्पको कार्यकालमा अमेरिकाले हालसम्म सात देशमाथि सैन्य कारबाही गरिसकेको बताइएको छ । यसमध्ये भेनेजुएलामा अमेरिकी टोली प्रवेश गरेर राष्ट्रपतिलाई नियन्त्रणमा लिएको दाबी समेत गरिएको छ ।

यसका साथै ट्रम्पले क्यानडा, ग्रीनल्यान्ड, भेनेजुएला र क्युबालाई अमेरिकामा गाभ्ने चेतावनी पनि दिइसकेका छन् । उनले पनामा नहर कब्जा गर्ने धम्कीसमेत दिएका थिए । 

सन् २०२४ को राष्ट्रपति चुनावताका ट्रम्पले आफूलाई शान्तिप्रिय नेताका रूपमा प्रस्तुत गरेका थिए । चुनावी सभाहरूमा उनले आफ्ना प्रतिद्वन्द्वीहरूलाई युद्ध भड्काउने नेता भन्दै आफू राष्ट्रपति बने विश्वमा शान्ति कायम हुने दाबी गरेका थिए । उनले आफू राष्ट्रपति भएको भए रुस–युक्रेन युद्ध नै सुरु नहुने दाबी पटक–पटक गरेका थिए । ट्रम्पले आफूलाई शत्रु राष्ट्रसँग संवाद गरेर ठूलो युद्धबिनै सम्झौता गराउन सक्ने नेताका रूपमा चित्रित गरेका थिए ।

तर राष्ट्रपति बनेपछि परिस्थिति उल्टो देखिएको विश्लेषण गरिएको छ । अमेरिकाले ट्रम्पको कार्यकालमा इरान, इराक, नाइजेरिया, सोमालिया, सिरिया, भेनेजुएला र यमनमा सैन्य कारबाही गरेको उल्लेख गरिएको छ । इरानमाथि अमेरिकाले एक वर्षमै दुई पटक आक्रमण गरेको बताइएको छ । गत वर्ष जुन २४ मा आणविक कार्यक्रमसँग सम्बन्धित तीन स्थानमा हमला गरिएको थियो भने यस वर्ष फेब्रुअरी २८ मा इजरायलसँग मिलेर गरिएको आक्रमणमा सर्वोच्च नेता अयातोल्लाह खामेनेईसहित उच्च अधिकारी मारिएको दाबी गरिएको छ ।

इराक र सिरियामा इरान समर्थित समूह तथा आतंकवादी संगठनविरुद्ध कारबाही गरिएको जनाइएको छ । सोमालियामा अल–शबाब र नाइजेरियामा बोको हराम तथा इस्लामिक स्टेटविरुद्ध ड्रोन तथा हवाई हमला गरिएको उल्लेख छ । यमनमा हुथी विद्रोहीका अड्डामाथि मिसाइल तथा हवाई हमला गरिएको बताइएको छ भने भेनेजुएलामा राष्ट्रपति नियन्त्रणमा लिनुका साथै करिब ६० जहाजमाथि हमला भएको र त्यसमा १९० नाविक मारिएको दाबी गरिएको छ ।

विश्लेषकहरूले ट्रम्पको शैलीलाई अमेरिकी पूर्वराष्ट्रपति रिचर्ड निक्सनको ‘म्याडम्यान थ्योरी’ सँग तुलना गरेका छन् । यस सिद्धान्तअनुसार नेताले आफू जे पनि गर्न सक्छ भन्ने सन्देश दिएर विपक्षीलाई डर पैदा गराउने रणनीति अपनाउछ । यो रणनीति पहिलो पटक निक्सनले सन् १९६० र १९७० को दशकमा भियतनाम युद्धका क्रममा प्रयोग गरेका थिए । उनले सोभियत संघ र उत्तर भियतनामलाई आफू आणविक हमला गर्नेसम्मको निर्णय लिन सक्ने संकेत दिएका थिए । 

विश्लेषकहरूका अनुसार ट्रम्पको धम्कीले नाटो देशहरूलाई रक्षा बजेट बढाउन दबाब परेको देखिए पनि रुस र इरानमाथि खास प्रभाव नपरेको बताइएको छ । पूर्व बेलायती विदेशमन्त्री विलियम हेगले यस्तो दबाबले इरानलाई आणविक हतियार निर्माणतर्फ अझ तीव्र रूपमा अघि बढ्न प्रेरित गर्न सक्ने बताएका छन् । विशेषज्ञ माइकल डेशका अनुसार इरानले अब गोप्य रूपमा आफ्नो आणविक कार्यक्रम अघि बढाएर अन्ततः आणविक परीक्षणसमेत गर्न सक्ने सम्भावना छ ।

विश्लेषकहरूले सद्दाम हुसेन र मुअम्मर गद्दाफीजस्ता आणविक हतियारविहीन शासकहरू सत्ताच्युत भएको उदाहरण इरानले नजिकबाट हेरिरहेको बताएका छन् । उत्तर कोरियाका किम जोङ उन भने आणविक हतियारकै कारण सुरक्षित रहेको सन्देश इरानले बुझेको उनीहरूको भनाइ छ ।

कतिपय विशेषज्ञका अनुसार अमेरिका र इजरायलले इरानका शीर्ष नेतृत्वमाथि दबाब बढाउँदा त्यहाँको शासन कमजोर हुने अपेक्षा गरेका थिए । तर इतिहासले भने त्यसको उल्टो संकेत दिएको उल्लेख गरिएको छ । सन् १९८० मा सद्दाम हुसेनले इरानमाथि आक्रमण गर्दा पनि इस्लामिक गणतन्त्र कमजोर बनाउने उद्देश्य राखिएको थियो । तर त्यसपछि इरानी शासन झन् बलियो बनेको विश्लेषण गरिएको छ ।

Read More

गणतन्त्रात्मक व्यवस्थाको संस्थागत सुदृढीकरणमार्फत मात्रै नेपाललाई समृद्ध राष्ट्र बनाउन सकिन्छ- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले गणतन्त्र स्थापना नेपाली जनताको त्याग, संघर्ष र बलिदानको ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरूमा शहादत प्राप्त गर्ने ज्ञात तथा अज्ञात सम्पूर्ण वीर शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले नेपाली जनताको अभूतपूर्व संघर्ष र बलिदानपछि २०६२/६३ को जनआन्दोलन सफल भएको उल्लेख गर्दै त्यसपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा संविधानसभाको निर्वाचन सम्पन्न भएको स्मरण गरेका छन् ।

थापाले २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्रको अन्त्य गरेको उल्लेख गरेका छन् । यही ऐतिहासिक उपलब्धिको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको उनको भनाइ छ ।

सभापति थापाले नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणमार्फत मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्र बनाउन सकिने बताएका छन् ।

उनले नेपाली जनताको त्याग, समर्पण र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा तथा सुदृढीकरणका लागि सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउँदै लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

सभापति थापाले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

Read More