२०८३ जेष्ठ २३

ठमेलमा ‘फेक फेसबुक’ गिरोह पर्दाफास: १५ बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ । काठमाडौंको ठमेल क्षेत्रमा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। उनीहरूलाई भिजिट भिसाको दुरुपयोग गर्दै ब्ल्याकमेलिङ र अनलाइन ठगीजस्ता गतिविधि सञ्चालन गरेको आरोप छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शंकास्पद रूपमा बसोबास गरिरहेका विदेशी नागरिकबारे प्राप्त सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले पकनाजोलस्थित एक होटलका विभिन्न तलामा कोठा भाडामा लिएर विदेशी मोडल तथा युवतीका नाममा नक्कली फेसबुक अकाउन्ट सञ्चालन गर्दै आएका थिए। ती अकाउन्टमार्फत बंगलादेशी र भारतीय नागरिकसँग सम्बन्ध गाँस्ने, संवाद बढाउने र पछि धम्की तथा ब्ल्याकमेल गरेर रकम असुल्ने काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेकामध्ये २५ वर्षीय एमडी माजिदुल इस्लाम रेडोय पनि रहेका छन्। सबैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ।

Read More

न्यायपालिकामा कडाइ: प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश र जिल्ला अदालतका प्रमुख न्यायाधीशहरूलाई न्याय प्रशासन सुधार र प्रभावकारी न्यायसम्पादनका लागि २१ बुँदे निर्देशन जारी गरेका छन्।

उनले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न स्वच्छ, निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्याय दिनुपर्नेमा जोड दिँदै न्यायाधीशहरूलाई इमान्दारिता, जिम्मेवारीबोध र समर्पणभावका साथ काम गर्न आग्रह गरेका छन्।

निर्देशनमा बक्यौता मुद्दा घटाउने, पेशी र इजलास व्यवस्थापन सुधार गर्ने, न्याय प्रशासनमा देखिने विकृति–विसंगतिप्रति ‘शून्य सहनशीलता’ अपनाउने तथा सुशासन प्रणालीलाई बलियो बनाउने विषय समेटिएका छन्।

त्यस्तै, सूचना प्रविधिको प्रयोग विस्तार गर्दै अनलाइन बहस, भिडियो कन्फरेन्सिङ, लाइभ स्ट्रिमिङ र स्वचालित पेशी–तारेख प्रणालीलाई थप प्रभावकारी बनाउन पनि जोड दिइएको छ।

प्रधानन्यायाधीश शर्माले पीडितमैत्री न्याय, वैकल्पिक विवाद समाधान, न्यायमा सहज पहुँच, वित्तीय अनुशासन, पारदर्शी खर्च र न्यायाधीश–कर्मचारीको आचरण सुधारमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। उनका अनुसार न्यायपालिकाको विश्वसनीयता जोगाउन सुधारका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन आवश्यक छ।

Read More

लंका प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल खेल्ने

काठमाडौँ ।  नेपालका तीन क्रिकेट खेलाडी श्रीलंकाको लंका प्रिमियर लिगमा खेल्ने भएका छन् । 

सोमबार भएको खेलाडी ड्राफ्टमा नेपाली क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीलाई जाफ्ना किंग्स तथा कुशल भुर्तेललाई कोलम्बो क्याप्सले टोलीमा लिएका हुन् । सन्दीपलाई २० हजार अमेरिकी डलर तथा दीपोन्द्र र कुशललाई १५ -१५ हजार अमेरिकी डलरमा टिमले लिएका हुन् ।

यस सिजनको लंका प्रिमियर लिग जुलाई १७ देखि ८ अगस्त सम्म हुन लागेको छ । लंका प्रिमियर लिगमा जाफ्ना किंग्स, कोलम्बो क्याप्स, दाम्बुला सिक्सर्स, गल्ले जाइन्टस र क्यान्डी रोयल्स गरी पाँच टिम रहेका छन् ।

यसअघि सम्पन्न पाँच सिजनमा जाफ्ना किंग्सले चार उपाधि जितेको छ भने एक सिजन क्यान्डी रोयल्सले जितेको छ । २०२० देखि शुरु भएको लंका प्रिमियर लिग गत बर्ष भने भएको थिएन ।

Read More

माननीय हुँ भन्दै प्रहरीलाई दबाब दिने व्यक्ति पक्राउ

सिन्धुली । आफूलाई प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्की भएको भन्दै झुटो परिचय दिएर प्रहरी तथा अन्य व्यक्तिमाथि दबाब सिर्जना गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका–७ माझिटार निवासी ३६ वर्षीय लोकबहादुर तामाङले आफू सिन्धुली- १ को प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्की भएको भन्दै झुटो परिचय दिई ट्राफिक प्रहरीलगायत विभिन्न व्यक्तिलाई फोनमार्फत दबाब दिने, कामकारबाहीमा अनुचित प्रभाव पार्न खोज्ने तथा अभद्र व्यवहार गरेको सूचना प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेर अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

सिन्धुली प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।

Read More

सञ्चारमन्त्री तिमिल्सिनासँग स्टारलिंककी निर्देशक हन्टरको भेटवार्ता

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग स्याटेलाईट प्रविधिमा आधारित ईन्टरनेट सेवा प्रदायक अन्तररास्ट्रिय  कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले भेटवार्ता गरेकी छन् ।

भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमती लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमती पाउन नसकेको बताएकी थिइन् । 

लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व भएमात्र अनुमति लिन सकिने धारणा उनले राखेकी थिइन् । व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालका केही सेवा प्रदायकहरूसँग छलफल भैरहेको उनले जानकारी गराएकी थिइन् ।

सो भेटमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति तथा कानुनी व्यवस्थाअनुसार वैधानिक प्रक्रिया अनुरुप सेवा सञ्चालन गर्न कुनै अवरोध नहुने बताएका थिए ।

विश्वकै धनी एलन मस्कको कम्पनी स्टारलिंकले विश्वका धेरै देशमा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।  स्टारलिंकले छिमेकी मुलुक भारतमा समेत सेवा संचालनको प्रक्रिया पुरा गरिसकेको छ ।

Read More

करूणा कटुवाललाई नेविसंघ अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष पदमा करूणा कटुवाललाई नियुक्त गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगन थापाले कटुवाललाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

सभापति थापाले धनकुटाकी कटुवाललाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गरेको नेपाली काँग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

Read More

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी उपविदेशमन्त्री रोजर्सको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सार्वजनिक कूटनीति तथा जनसम्पर्क मामिला सम्बन्धी अमेरिकी उपविदेशमन्त्री सराह बी रोजर्सले भेटवार्ता गरेकी छन् । 

सोमबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले  लगानी, व्यापार, संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्ने बारे दुई पक्षबीच विचार आदानप्रदान भएको जनाएको छ ।

Read More

बक्स अफिसमा लाली बजारको दबदबा, कुन फिल्मले कति कमाए ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको जेठ १६ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार परालको आगो, लालिबजार, मालती मंगले, मितज्यू, काजी र लाइफ ड्यामेजको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ ।

जस अनुसार बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले अहिलेसम्म ७ करोड ९० लाख ३१ हजार ४६७  कमाई गरेको छ । त्यस्तै यस फिल्मले २ लाख ६९ हजार २०२ टिकट बिक्री गरेको छ ।

त्यस्तै बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म परालको आगोले बक्स अफिसमा ४ करोड २७ लाख ८४ हजार ४४५ कमाई गरेको छ । त्यस्तै यस फिल्मका एक लाख ५४ हजार ३४ टिकट बिक्रि भएका छन् ।

त्यसैगरी बैशाख २५ गते नै प्रदर्शनमा आएको रामकृष्ण ढकालले निर्माण गरेको फिल्म मालती मंगलेले भने आशा गरे अनुसार दर्शकको मन जित्न सकेन । फिल्मले केवल ५१ लाख ७३ हजार ७९३ कमाई गरेको छ भने केवल १६ हजार १८८ टिकट बिक्री भएको छ ।

त्यसैगरी जेठ ८ गतेदेखि प्रदर्शनमा आएको मितज्यूले एक करोड २० लाख ५९ हजार ८२ कमाई गरेको छ । फिल्मका अहिलेसम्म ४१ हजार २४८ टिकट बिक्री भएका छन् ।  त्यस्तै जेठ ८ गतेदेखि नै प्रदर्शनमा आएको काजीले भने केवल ४० लाख ८८ हजार १७५ कमाई गरेको छ । त्यस्तै जेठ १ गते रिलिज भएको लाइफ ड्यामेजले ३३ लाख २६ हजार कमाएको छ ।

Read More

महरालाई एक लाख धरौटीमा छोड्न विशेष अदालतको आदेश

काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरालाई विशेष अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । 

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि एक लाख धरौटी लिएर छोड्न आदेश गरेको हो  ।

विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहितलाई ७ करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करीको आरोपमा पूर्व सभामुख महरासहित २८ जना र एक कम्पनीविरुद्ध गत चैत्र २६ गते विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो ।

Read More

दैलेखमा बोलेरो जिप दुर्घटना हुदा तीन जनाको मृत्यु

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका–०७ कालिगौँडास्थित भित्री सडक खण्डमा डबल क्याप बोलेरो दुर्घटना ३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प.०१ ००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो ब्रेक फेल भई सडकदेखि करिब चार सय मिटर तल खसेर दुर्घटना हुदा घाइते भएका ८ जना मध्ये तीन जनाको मृत्यु भएको हो । घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

Read More