२०८३ जेष्ठ २३

अमेरिका युद्धविराम सम्झौताको पालना गर्न असफल भएको इरानको आरोप

काठमाडौँ । इरानका संसद् अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाकर गालिबाफले अमेरिका युद्धविराम सम्झौताको पालना गर्न असफल भएको आरोप लगाएका छन् । 

उनले अमेरिका इरानी बन्दरगाहमाथिको नाकाबन्दी कायम राख्नुका साथै आफ्नो सहयोगी इजरायललाई लेबनानमा सैन्य आक्रमण बढाउनबाट पनि रोक्न नसकेको आरोप लगाएका हुन् ।

गालिबाफले इरानी बन्दरगाहमाथि जारी समुद्री नाकाबन्दी अमेरिका युद्धविरामका सर्तहरूको पालना नगरेको स्पष्ट प्रमाण भएको बताएका छन् । उनले हरेक निर्णयको मूल्य हुने र त्यसको हिसाब एक दिन चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन् ।

गालिबाफले इरानी बन्दरगाहको नाकाबन्दी कायम राख्नु र लेबनानमा इजरायलको सैन्य कारबाही रोक्न नसक्नुले अमेरिका युद्धविरामप्रति प्रतिबद्ध नरहेको देखाएको दाबी गरेका छन् । उनले समय आएपछि सबै कुरा स्पष्ट हुने पनि बताएका छन् ।

यता इरानका उपविदेशमन्त्री काजेम गरीबाबादीले होर्मुज जलडमरूमध्यमाथिको सार्वभौम अधिकार केवल इरान र ओमान सँग रहेको बताएका छन् । उनले उक्त महत्वपूर्ण समुद्री मार्गमा जहाजको आवागमन तथा जलयात्रा व्यवस्थापनका लागि इरानले नयाँ प्रणाली लागू गरेको जानकारी दिएका छन् ।

इरानी सरकारी प्रसारण संस्थाका अनुसार गरीबाबादीले होर्मुज क्षेत्रमा समुद्री यातायात र जलयात्रा नियन्त्रणसम्बन्धी नयाँ व्यवस्था ओमानसँगको सहकार्यमा सञ्चालन भइरहेको बताएका छन् । साथै उनले ओमानलाई अमेरिकाको दबाब वा धम्कीसमक्ष नझुक्न आग्रह गरिएको पनि उल्लेख गरेका छन्।

Read More

स्वास्थ्यमन्त्री मेहता र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि चीनका राजदूत चाङ माउ मिङ्गले शिष्टाचार भेटवार्ता गरेका छन्।

सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयस्थित मन्त्रीको कार्यकक्षमा भएको भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, स्वास्थ्य क्षेत्रको सहकार्य तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ ।

भेटवार्तामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उच्च अधिकारीहरू तथा चिनियाँ दूतावासका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

Read More

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारतको नयाँ दिल्ली पुगेका छन् ।

भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँ दिल्ली पुगेका सभापति लामिछानेको टोलीलाई भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव तथा राज्य सभा सांसद अरुण सिंहले विमानस्थलमा स्वागत गरेका थिए । सो अवसरमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेपनि उपस्थित रहेका थिए ।

लामिछानेसहित उनकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य,  सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य भारत गएका छन् । भारतीय सत्तारुढ दल भाजपाले लामिछानेको भारत भ्रमणको क्रममा पार्टीअध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूसँग भेटवार्ता हुने र पार्टी-पार्टी सम्बन्ध विस्तारमा सहयोग पुग्ने उल्लेख छ ।

यसअघि आइतबार नै रास्वपाले पनि विज्ञप्ति जारी गर्दै सभापति लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी गराएको थियो । रास्वपा प्रवक्ता मनीष झाले लामिछाने शुक्रबारसम्म भारतमा रहने र व्यक्तिगत भ्रमणका रूपमा अयोध्यासमेत पुग्ने कार्यक्रम रहेको जानकारी दिएका थिए । 

Read More

संसदमा आइतबार भएको अमर्यादित व्यबहार र भौतिक नोक्सानीको छानबिन गर्न सभामुखले गठन गरे समिति

काठमाडौँ । सभामुख डिपी अर्यालले आइतबार प्रतिनिधि सभामा भएको अमर्यादित व्यबहार र भौतिक नोक्सानीको छानबिन गर्न समिति गठन गरेका छन् ।

सोमबारको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको जानकारी दिएका हुन् ।

सभामुख अर्यालले आइतबारको बैठकमा संसद बैठकमा अमर्यादित व्यबहार भएको र केहि भौतिक नोक्सानी समेत भएको भन्दै सो विषयमा छानबिन गर्न समिति गठन गरेको र सात दिन भित्र प्रतिवेदन आएपछि कारवाही अगाडी बढाउन सकिने जानकारी दिएका छन् ।

विपक्षी दलहरुले आजको दोस्रो बैठक समेत अवरोध गरेपछि बैठक भोली सम्मका लागि स्थगित भएको छ ।

Read More

प्रधानमन्त्रीले गल्ति स्वीकार गरेर जनतासँग माफी माग्नुपर्छ- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक, चिन्ताजनक र देशद्रोही प्रवृत्ति भएको टिप्पणी गरेका छन् ।

बिहीबारदेखि लुम्बिनी प्रदेशस्तरीय जरा अभियानको सुरुवात गर्दै सभापति थापाले तथ्य, प्रमाण र दस्तावेजबिना प्रधानमन्त्रीले बोल्नु राष्ट्रहितविपरीत रहेको बताउदै २०७४ सालमा सबै दल मिलेर संसदबाट एकमतले पारित गरेको नेपालको नक्सा र त्यसका आधारहरूलाई नजरअन्दाज गरिनु देशद्रोही प्रवृत्ति भएको बताए ।

सभापति थापाले प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले नेपालीको शिर निहुराएको र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने दुष्प्रयास गरेको आरोप लगाए । उनले प्रधानमन्त्रीले तत्काल संसद्‌मा उपस्थित भएर आफ्नो गल्ती स्वीकार गरी जनतासँग माफी माग्नुपर्ने बताएका छन् ।

Read More

आइपिएल जितेको बेङ्गलुरुले कति पायो पुरस्कार रकम ?

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि जितेसँगै रोयल च्यालेन्जर्स बेङ्गलुरुले ट्रफीसहित २० करोड भारतीय रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको गुजरात टाइटन्सले १२ करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार पाएको छ ।

यस सिजन व्यक्तिगत पुरस्कारतर्फ राजस्थान रोयल्सका युवा खेलाडी वैभव सूर्यवंशी सर्वाधिक चर्चामा रहे । उनले प्रतियोगिताभर ७७६ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीलाई प्रदान गरिने ‘ओरेन्ज क्याप’ जिते ।

वैभवले यस सिजन सर्वाधिक मूल्यवान खेलाडी, उत्कृष्ट उदयीमान खेलाडी, सर्वाधिक छक्का प्रहारकर्ता तथा सिजनको उत्कृष्ट स्ट्राइकरसहित कुल पाँच वटा व्यक्तिगत पुरस्कार आफ्नो नाममा पारे ।

उत्कृष्ट प्रदर्शनका कारण वैभव आईपीएल २०२६ का सबैभन्दा सफल व्यक्तिगत अवार्ड विजेता खेलाडी बनेका छन् ।

Read More

मलेसियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा खाता खोल्न रोक

काठमाडौँ । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा खाता खोल्न रोक लगाउने नयाँ नियम लागू गरेको छ ।

नयाँ व्यवस्थाअनुसार फेसबुक, इन्स्टाग्राम, टिकटोक र युट्युबजस्ता सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूले प्रयोगकर्ताको उमेर प्रमाणीकरण गर्ने व्यवस्था अनिवार्य रूपमा गर्नुपर्नेछ । १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले नयाँ खाता खोल्न नपाउने प्रावधान राखिएको छ ।

नियम उल्लङ्घन गर्ने कम्पनीमाथि २५ लाख अमेरिकी डलरसम्म बराबरको जरिवाना लगाउन सकिने व्यवस्था गरिएको छ । यद्यपि बालबालिकाले कुनै उपायबाट नियम छलेर खाता बनाएमा उनीहरूका अभिभावकमाथि कारबाही नहुने बताइएको छ ।

मलेसिया सरकारले बालबालिकालाई हानिकारक सामग्री, साइबर दुर्व्यवहार तथा सामाजिक सञ्जालको लतबाट जोगाउन यो कदम चालिएको जनाएको छ।

मलेसियासँगै अस्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले पनि बालबालिकाको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी कडा नियम लागू गरिसकेका छन् वा त्यस्ता नियम ल्याउने तयारी गरिरहेका छन् ।

यद्यपि केही विज्ञहरूले सरकारी परिचयपत्रमार्फत उमेर प्रमाणीकरण गर्नुपर्ने व्यवस्थाले व्यक्तिगत गोपनीयतासम्बन्धी चिन्ता बढाउन सक्ने बताएका छन्। उता सामाजिक सञ्जाल कम्पनी मेटाले पूर्ण प्रतिबन्ध लगाउँदा बालबालिका निगरानीबाहिर रहेका अन्य मञ्चतर्फ आकर्षित हुन सक्ने चेतावनी दिएको छ।

Read More

नेप्से २६.७२ अंकले घट्यो, ५ अर्ब ६१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । बजेटपछिको पहिलो कारोबार दिन आज सोमबार नेप्से २६.७२ अंकले घटेर २७५५.३७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४९ कम्पनिका एक करोड ३३ लाख ८३ हजार ८१६ कित्ता शेयर ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ मा कारोबार भएको थियो । आज निर्जीव वीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रो र नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर १४.९९ प्रतिशतले बढेको छ आज सबै भन्दा बढी बुङ्गल हाइड्रोको शेयर १३.२० प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४३ करोड ४ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको ३७ करोड १३ लाख बराबरको कारोबार भएको छ ।

Read More

आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने सुरुवात विन्दुको रूपमा बजेट आयो- चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारद्वारा प्रस्तुत बजेट माथि टिप्पणी गर्दै नयाँ युगमा प्रवेश गर्ने सुरुवात विन्दुको रूपमा रहेको बताएका छन् ।

 नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पोष्ट बजेट डिस्कसन’ कार्यक्रममा बोल्ने क्रममा उनले सो धारणा राखेका हुन । ‘लामो समयदेखि नीति र  नियतको दलदलमा बल्झिएको नेपालको नियतिलाई नयाँ आयाम दिई आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने सुरुवात विन्दुको रूपमा यो बजेट रहेको छ’ उनले भने  । नीति (बजेटका आधार र कार्यक्रम), नियत (सुशासनप्रतिको दृढ प्रतिबद्धता) र नियति (राष्ट्रको विकास मार्गचित्र) निर्माण गर्ने प्रचुर सम्भावनाले नै देशको भविष्य तय गर्ने उनले बताए ।

उनले आर्थिक वर्ष २०८३-८४ को बजेट महत्वाकांक्षी भए पनि त्यसको सफल कार्यान्वयन हुन सके निजी क्षेत्रको आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गरे।  अध्यक्ष अग्रवालले प्रस्तुत बजेटलाई नेपालको आर्थिक पुनरुत्थानको प्रारम्भिक आधारका रूपमा व्याख्या गर्दै लामो समयदेखि सुस्त अवस्थामा रहेको अर्थतन्त्रलाई गति दिने उल्लेख गरे ।

उनले नेपाल प्राकृतिक स्रोत, सम्भावना र अवसरले सम्पन्न राष्ट्र भए पनि नीति र नियमको जटिलतामा अल्झिँदै आएको उल्लेख गरे । “हाम्रो अर्थतन्त्र दक्षिण एशियाकै उच्च वृद्धि दर हासिल गर्न सक्ने क्षमता राख्छ । तर विगतमा नीति निर्माण र सुशासनको कमजोरीका कारण अपेक्षित उपलब्धि हासिल गर्न सकेनौं,” उनले भने । बजेटलाई आर्थिक समृद्धिको नयाँ युगतर्फको सुरुवातको संकेतका रूपमा चित्रण गर्दै उनले अर्थमन्त्रीलाई बधाईसमेत दिए ।

अग्रवालले नेपाल चेम्बर अफ कमर्सको स्थापना नेपालको पहिलो बजेट आउनुभन्दा एक वर्षअघि भएको स्मरण गर्दै ७५ वर्षको यात्रामा चेम्बरले मुलुकको आर्थिक नीतिनिर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको बताए । वर्तमान सरकारले गठन भएको छोटो अवधिमै यस्तो बजेट ल्याउन सफल भएको उल्लेख गर्दै उनले आगामी पाँच वर्षसम्म यही दिशामा निरन्तरता कायम रहे मुलुकले आर्थिक रूपान्तरणको लक्ष्य हासिल गर्न सक्ने धारणा राखे ।

उनका अनुसार चेम्बरले सरकारसमक्ष प्रस्तुत गरेका अधिकांश सुझाव बजेटमा समेटिएका छन्। विशेषगरी कर सुधारका विषयमा गरिएको व्यवस्थालाई उनले ऐतिहासिक कदमको संज्ञा दिए । व्यक्तिगत आयकर छुटको सीमा वार्षिक १० लाख रुपैयाँसम्म पु¥याइनु पारदर्शी अर्थतन्त्र निर्माणका लागि महत्वपूर्ण भएको उनको भनाइ थियो । त्यस्तै, ३६० प्रकारका वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज वा पुनर्संरचना गर्ने निर्णयले व्यवसायीलाई राहत पुग्ने उनले बताए । अन्तःशुल्कको जटिल व्यवस्थाले विगतमा धेरै व्यवसायी प्रभावित भएको उल्लेख गर्दै उनले यसले व्यापार वातावरण सुधार्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

औद्योगिक उत्पादनलाई प्रोत्साहन गर्न २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको विषयलाई पनि उनले सकारात्मक रूपमा लिए । यसले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने र औद्योगिकीकरणलाई गति दिने उनको धारणा थियो ।

मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा बहुदरको अवधारणा सुरु गरिएको विषयलाई निजी क्षेत्रले स्वागत गरेको उनले बताए । यद्यपि विद्युत् सेवामा ५ प्रतिशत भ्याट लगाउने व्यवस्थाबारे भने उनले पुनर्विचार आवश्यक रहेको धारणा राखे। जलस्रोतमा धनी नेपालले आफ्नै उत्पादनलाई थप सस्तो र प्रतिस्पर्धी बनाउने नीति लिनुपर्ने उनको सुझाव थियो।

कोभिड–१९ पछिका कर विवाद र भूतप्रभावी करको समस्यामा फसेका व्यवसायीलाई राहत दिन ल्याइएको कर चुक्ता योजना पनि स्वागतयोग्य रहेको अग्रवालले बताए । १ प्रतिशत कर बुझाएर जरिवाना तथा पेनाल्टी मिनाहा गर्ने व्यवस्थाले सरकारको राजस्व वृद्धि हुनुका साथै व्यवसायीलाई समेत राहत पुग्ने उनको विश्वास छ ।

पुँजीबजारमा लगाइने पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) सम्बन्धमा सरकारले स्पष्टता दिएको उल्लेख गर्दै उनले कानुनी अस्पष्टता हटाउन थप सुधार आवश्यक रहेको बताए। विद्यमान कानुनका केही प्रावधानले दोहोरो व्याख्याको अवस्था सिर्जना गर्न सक्ने भएकाले आवश्यक परिमार्जन गरिनुपर्ने उनको सुझाव थियो ।

अध्यक्ष अग्रवालले सूचना प्रविधि (आईटी) क्षेत्रलाई रणनीतिक उद्योगका रूपमा घोषणा गरिएको निर्णयको प्रशंसा गर्दै यसले नेपालमा नयाँ रोजगारी सिर्जना गर्नुका साथै डिजिटल अर्थतन्त्र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । अध्यक्ष अग्रवालले बजेटका केही व्यवस्था प्रतिकुल रहेको टिप्पणी समेत गरे। आफ्नै उत्पादन भए पनि मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने तथा पुँजीगत लाभकरको दर वृद्धि गर्ने व्यवस्थाले लगानीकर्तामाथि थप आर्थिक भार पर्ने उनको भनाइ थियो ।

त्यसैगरी, विद्युतीय सवारीसाधनमा थप कर तथा शुल्क वृद्धि गरिनुले स्वच्छ ऊर्जा तथा हरित यातायात प्रवद्र्धन गर्ने राष्ट्रिय अभियानमा प्रतिकूल प्रभाव पर्न सक्ने उनले बताए ।

दक्षिण कोरियाले शिक्षालाई विकासको प्रमुख आधार बनाएर उल्लेखनीय आर्थिक फड्को मारेको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष अग्रवालले निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले प्रदान गर्ने सेवामा ३ प्रतिशत कर लगाउने व्यवस्था उपयुक्त नभएको बताए । यस्ता संस्थाहरूले देशको मानव पूँजी विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको अवस्थामा थप करको भारले सेवा क्षेत्रको विकास र गुणस्तर अभिवृद्धिमा नकारात्मक असर पर्न सक्ने उनको भनाइ थियो । उनले पछिल्ला दुई महिनामा सरकारले देखाएको कार्यगत सक्रियता कायम रहन सके आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि पुग्न सक्ने धारणा पनि व्यक्त गरे ।

अध्यक्ष अग्रवालले बजेटमा समावेश गरिएका सकारात्मक कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सके लगानी प्रवद्र्धन, निजी क्षेत्रको मनोबल अभिवृद्धि, कर प्रणालीको सरलीकरण, उद्योग–व्यवसायको प्रतिस्पर्धात्मकता वृद्धि तथा समग्र आर्थिक गतिविधि विस्तारमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे। राजस्व संकलनको लक्ष्य प्राप्ति असम्भव नभएको उल्लेख गर्दै उनले सरकारको दृढ कार्यान्वयन क्षमता आवश्यक रहेको बताए ।

Read More

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सोमबारको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले लगातार बैठक अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

आजको बैठकमा विपक्षी दलहरुले सीमा बारे प्रधानमन्त्रीले आइतबार संसदमा दिएको अभिव्यक्ति बारे संसदमै आएर माफि माग्नुपर्ने र संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् ।

Read More