२०८३ जेष्ठ २३

परराष्ट्रमन्त्री खनाल भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन् ।

भारतका विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आज नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किने दिनमै परराष्ट्र मन्त्री खनालको भारत भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ । मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटमा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ । 

दुवै पक्षले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गर्ने परराष्ट्र मन्त्रलयले बताएको छ ।

Read More

नेप्सेमा गिरावट, ५ अर्ब ६२ करोडको कारोबार

काठमाडौँ । नेप्से आज पनि दोहोरो अंकले घटेको छ । आज शुक्रबार नेप्से ११.३७ अंकले घटेर २७५५.४१ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५१ कम्पनिका एक करोड २७ लाख ३२ हजार ८६८ कित्ता शेयर ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८२३ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, म्युचुअल फण्ड र निर्जीव फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने उपकार लघुवित्तको शेयर ९.७१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको डिभेन्चरको शेयर ४.९२ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ५५ करोड ६९ लाख बराबर कारोबार भएको छ भने सिटी होटल्सको १९ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।

Read More

नियन्त्रणमा लिइएका ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकार सुशासन र राजस्व रक्षाका मामिलामा सचेत रहेकाले तत्कालै समिति गठन गरी कानुनी प्रक्रिया अघि बढाइएको हो । समितिले सवारीसाधन नियन्त्रणमा लिइएकै स्थलगत रूपमै पुगेर द्रुत गतिमा छानबिन सुरु गरिसकेको उहनले जानकारी दिएकी छन् ।

सवारीसाधनको संख्या ठूलो भएकाले राजस्व र भन्सार सम्बद्ध सबै कानुनी कागजातहरूको सुक्ष्म अध्ययन र प्रमाणीकरण गर्न केही समय लाग्न सक्ने र छानबिन नसकिँदासम्म धैर्य गर्न र आश्वस्त रहन उनले आग्रह गरेकी छन् ।

Read More

इराकमार्फत इरानले ब्यापार गर्दै

काठमाडौं । अमेरिकाको नाकाबन्दीका कारण इरानमा सामान ढुवानी गर्न कठिनाइ बढ्दै गएको छ । वैकल्पिक मार्गको खोजीमा इरानले सुरुआतमा ओमानको खासाब बन्दरगाह प्रयोग गर्न थालेको भए पनि त्यहाँ जहाजहरूको चाप बढेपछि ढुवानी प्रक्रिया थप जटिल र महँगो बन्दै गएको छ ।

व्यापारिक स्रोतहरूका अनुसार खासाब बन्दरगाहमा जहाजको भीड बढेकाले मालसामान लोड तथा अनलोड गर्न बढी समय लाग्न थालेको छ । यसले ढुवानी खर्च पनि उल्लेखनीय रूपमा बढाएको छ ।

यसैबीच, इरानतर्फ पठाइने केही सामान, विशेषगरी सवारीसाधन, पहिले संयुक्त अरब इमिरेट्सका बन्दरगाहमा पुर्‍याइने गरिएको छ । त्यहाँबाट गैर–इरानी जहाजमार्फत इराकको उम्म कसर बन्दरगाहसम्म ढुवानी गरिन्छ र त्यसपछि इरान पठाइन्छ ।

यस प्रक्रियासँगै इराकको उम्म कसर बन्दरगाह इरानका लागि नयाँ पारवहन केन्द्रका रूपमा विकसित हुँदै गएको बताइएको छ । व्यापारिक स्रोतहरूका अनुसार ओमानले केही प्रकारका सामानमा अतिरिक्त शुल्क लगाउन थालेपछि खासाब मार्गको लागत अझ बढेको छ ।

यही कारण इरानले प्रतिबन्ध र नाकाबन्दीका बाबजुद व्यापार निरन्तरता दिन इराकको उम्म कसर बन्दरगाहलाई महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालेको जनाइएको छ ।

Read More

सिमकार्डको दुरूपयोग गरी ठगी गर्न दुई जना पक्राउ

काठमाडौं । सिमकार्डको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगर बस्ने सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका २६ वर्षीय रोशन पहाडी र ललितपुर, ललितपुर महानगरपालिका-१३ बस्ने डडेल्धुरा अमरगढी नगरपालिका-८ घर भएका २५ वर्षीय सुभाष ओझा रहेका छन् ।  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रोशनलाई भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट र सुभाषलाई ललितपुर महानगरपालिका-१४ एकान्तकुनाबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा मिति २०७०।०६।०२ मा कान्छी लामाको नाममा ९८१८०९१८७१ नम्बरको सिमकार्ड जारी भएको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल क्रेडिट एण्ड कमर्स बैंक हाल कुमारी बैंकको मोबाइल बैकिङ सेवामा पीडितको प्रयोग भएको सिमकार्ड हराएपश्चात उक्त सिमकार्ड रोशनले लिएको, सिम पुन: एक्टिभ भएपछि पीडितको कुमारी बैंकको खातामा जम्मा भएको रकमको म्यासेज आउन थालेको, उनीहरूले कुमारी बैंकको मोबाइल बैंकिङ सेवा खोली उक्त रकम विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पारी विभिन्न ईसेवा खाता, खल्ती खाता, तथा विभिन्न ब्यक्तिहरुको खातामा ट्रान्सफर गरी उक्त रकम झिक्न लगाई रकम लिएको खुल्न आएको छ । साथै उनीहरूले मोबाइल बैंकिङको दुरूपयोग गरी २४ लाख ४७ हजार ५ सय २८ रूपैयाँ विभिन्न बैंक एकाउण्ट तथा वालेटहरूमा ट्रान्सफर गरी रकम हिनामिना गरेको समेत खुल्न आएको छ ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

Read More

जबरजस्ती करणी गरेको अभियोगमा धादिङबाट पक्राउ

काठमाडौं । धादिङमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा निलकण्ठ नगरपालिका-४ बस्ने २१ वर्षीय बिकाश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

बिकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

विद्युत् नियमन आयोगको अध्यक्षका लागि १० जनाको आवेदन

काठमाडौँ । विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि १० जना तथा सदस्य पदका लागि २२ जनाले आवेदन दिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका थिए । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य छन् ।

सिफारिस समितिले आयोगका अध्यक्षसहित चार सदस्य पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो  यसका लागि १५ दिनको समयसीमा राखेर सार्वजनिक सूचना जारी गरेको थियो । समितिले प्राप्त आवेदनमाथि अध्ययन गरी छनोट प्रक्रिया अघि बढाउनेछ।

सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन छ । यसअघि  आयोगका अध्यक्षमा रामप्रसाद धितालसहित सदस्यहरूमा मधुसुधन अधिकारी, झमकप्रसाद शर्मा, गौतम डंगोल र भागिरथी भट्टराई ज्ञवाली थिए । 

अध्यक्ष पदका लागि १० जनाले दरखास्त दिएका छन् । आवेदन दिनेहरूमा ई. रुद्रप्रसाद गौतम, केशव अधिकारी, डा. रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा. मधुसुधन अधिकारी, डा. भोलानाथ शर्मा अधिकारी, नारायणप्रसाद सापकोटा र डा. शान्तिकला सुवेदी रहेका छन् ।

यस्तै, आयोगको सदस्य पदका लागि ११ जनाले आवेदन दिएका छन् । सदस्य पदका आकांक्षीहरूमा डा. शेखर अर्याल, राजिवकुमार सिंह, निरज्वल बस्नेत, रुद्रप्रसाद सिटौला, जयराज भण्डारी, ब्रजमोहन झा, सुरेशबहादुर भट्टराई, प्रकाश ज्ञवाली, लोकराज पाठक, रामप्रसाद गौतम र झमकप्रसाद शर्मा रहेका छन् ।

सम्बन्धित निकायले अध्यक्ष र सदस्य पदका लागि प्राप्त आवेदनमाथि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ । अध्यक्ष पदमा १० जना र सदस्य पदमा ११ जनाको आवेदन परेको छ ।

Read More

ट्रम्प भन्छन्- इरानले परमाणु हतियार राख्न नपाउनेनै मुख्य शर्त हो, मोजतबा खामेनेईसँग भेट सक्छु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाबीच जारी युद्धविराम तथा कूटनीतिक प्रयासका क्रममा इरानका सर्वोच्च नेता मोजतबा खामेनेईसँग भेट हुन सक्ने संकेत दिएका छन् । उनले सम्झौता भएमा भेटलाई सम्मानजनक रूपमा लिन आफू तयार रहने बताएका हुन् ।

ओभल कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, उनीसँग भेट्ने मेरो खास इच्छा छैन, तर आवश्यक परे भेट्न सक्छु । यदि इरानसँग कुनै समझदारी भयो भने यस्तो भेट सम्भव छ र त्यसमा मलाई आपत्ति हुँदैन ।

ट्रम्पले सम्भावित भेटलाई पूर्ण सम्मानका साथ आयोजना गरिने पनि बताएका छन् । उनले खामेनेईलाई केही क्षेत्रमा राम्रो प्रतिष्ठा भएका व्यक्तिका रूपमा व्याख्या गरे । तर उनले आफ्नो बारेमा पनि धेरैले गलत टिप्पणी गर्ने गरेको भन्दै त्यसलाई तुलना गरेका थिए ।

इरानसँगको सम्भावित सम्झौतामा मुख्य सर्त इरानले परमाणु हतियार राख्न नपाउने विषय हुने ट्रम्पले दोहोर्‍याए । उनले अमेरिकाले इरानको संवर्धित युरेनियम भण्डारमाथि नियन्त्रण गर्न सक्ने विकल्प रहेको पनि बताए । यद्यपि अहिले त्यसको आवश्यकता नरहेको उनको भनाइ छ । साथै, इरानले युरेनियम संवर्धन रोकिसकेको र अमेरिकी अधिकारीहरूले त्यसको निगरानी गरिरहेको दाबी उनले गरे । होर्मुज क्षेत्र छिट्टै सबैका लागि खुला हुने पनि उनले उल्लेख गरे ।

यसैबीच ट्रम्प प्रशासनले क्युबाका राष्ट्रपति मिगुएल डियाज कानेल, उनकी पत्नी र केही उच्च अधिकारीमाथि नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकाले क्युबा सरकारमाथि दबाब बढाउने उद्देश्यले यो कदम चालेको हो । क्युबाले भने यसलाई आफ्नो सार्वभौमिकतामाथिको हस्तक्षेप भन्दै कडा आपत्ति जनाएको छ ।

त्यस्तै, अमेरिका र भारतबीच अन्तरिम व्यापार सम्झौताबारे वार्ता जारी छ । अमेरिकी प्रतिनिधिमण्डल हालै भारत भ्रमणमा रहेको थियो र चार दिनसम्म चलेको छलफल सम्पन्न भएको छ । भारतको वाणिज्य मन्त्रालयले वार्ता सकारात्मक र व्यावहारिक भएको जनाएको छ । दुवै पक्षले व्यापार र आर्थिक सम्बन्ध अझ मजबुत बनाउने तथा दुवै देशलाई समान लाभ हुने समझदारीमा पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Read More

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणका लागि आवश्यक सुझाव उपलब्ध गराउन बैंकले अनुरोध गरेको हो ।

राष्ट्र बैंकले इच्छुक व्यक्ति, संस्था तथा सरोकारवालालाई आफ्ना राय तथा सुझाव २०८३ असार ५ गतेभित्र आर्थिक अनुसन्धान विभागमा पठाउन आग्रह गरेको छ । सुझाव इमेल (monetarypolicy@nrb.org.np) मार्फत पनि पठाउन सकिने जनाइएको छ ।

राष्ट्र बैंकका अनुसार प्राप्त सुझावहरूलाई आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माण प्रक्रियामा आवश्यकताअनुसार समेटिनेछ ।

Read More

मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन गर्न मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलसँगको भेटघाटमा उहाँले यस्तो सुझाव दिनुभएको हो। कार्यदलका संयोजक शाहसहितका सदस्यहरू सुझाव संकलनका क्रममा पूर्वप्रधानन्यायाधीश रेग्मीको बानेश्वरस्थित निवास पुगेका थिए ।

उनले भने- ‘पूर्वप्रधानन्यायाधीश रेग्मीले संविधान संशोधनको बहस गरिरहँदा संविधानको मूल संरचना (बेसिक स्ट्रक्चर) लाई कुनै पनि हालतमा खण्डित गर्न नहुनेमा जोड दिए । ‘संविधानको प्रस्तावना, विशेष गरी दोस्रो प्रस्तावनालाई उत्तिकै ध्यान दिएर यसको मूल भावनालाई यथावत् राख्नुपर्छ ।’

हाल चर्चामा रहेको धार्मिक व्यवस्थाका सम्बन्धमा उनले अहिले जे व्यवस्था छ, त्यसैलाई कायम राख्न र धार्मिक मामिलामा कतै पनि थपफेर नगर्न स्पष्ट सुझाव दिए । कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली कस्तो अवलम्बन गर्ने भन्ने बहस चलिरहेका बेला उनले हतारमा निर्णय नगर्न सुझाव दिए । अत्यधिक स्थायित्व खोज्ने नाममा मुलुक अर्को प्रकारको निरङ्कुशता वा सर्वसत्तावादतर्फ धकेलिन सक्ने खतराप्रति उनले सचेत गराए । यस्ता गम्भीर विषयमा अन्तर्राष्ट्रिय अभ्यास र उदाहरणहरूलाई समेत गहन रूपमा अध्ययन गरेर मात्र निष्कर्षमा पुग्न उनको सुझाव छ ।

संविधानको धारा ७६ को सरकार गठन प्रक्रिया र अविश्वासको प्रस्ताव सम्बन्धी व्यावहारिक कठिनाइहरूबारे चर्चा गर्दै उनले नयाँ सरकार गठन भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने वर्तमान व्यवस्था पूर्ण रूपमा व्यावहारिक नभएको उल्लेख गरे । यसलाई परिमार्जन गरी कम्तीमा ६ महिनाको समयसीमा तोक्नु उपयुक्त र व्यावहारिक हुने उनको धारणा थियो।

वर्तमान निर्वाचन प्रणालीमा समानुपातिक सांसदहरूको संख्या अत्यधिक हुँदा उनीहरू प्रत्यक्ष निर्वाचित सांसदहरूभन्दा बढी हाबी हुने र संसद्‍मा ‘निर्णायक’ (डिसाइडेड) बन्ने विकृति देखिएको रेग्मीले औंल्याए । यसलाई नियन्त्रण गर्न समानुपातिकतर्फको कुल संख्यालाई घटाएर ६० मा झार्नुपर्ने उनले प्रस्ताव गरे ।

यसैगरी, राजनीतिक रूपमा एक पटक राज्यका ठूला र विशिष्ट पदहरूमा नियुक्ति पाइसकेका व्यक्तिहरूलाई पुनः समानुपातिक कोटाबाट सांसद बनाउने प्रवृत्ति रोक्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय सभाको गठन गर्दा महिला, दलित तथा पछाडि पारिएका उत्पीडित समुदायको वास्तविक प्रतिनिधित्व सुनिश्चित हुने गरी विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

नयाँ पुस्ता (जेन्जी) को माग र राजनीतिक सहभागिताको बहसलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न २५ वर्षको साटो २१ वर्षको उमेर हद कायम गर्नु उपयुक्त हुने सुझाव दिए । त्यस्तै, परिपक्वताका लागि राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्ने न्यूनतम उमेर ३० वर्ष तोकिनुपर्ने उनको मत छ ।

संविधानमै १० वर्षभित्र आयोगहरूको पुनरावलोकन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै पूर्वअध्यक्ष रेग्मीले मानव अधिकार आयोगलाई मात्रै एक बलियो र स्वायत्त केन्द्रीय आयोगका रूपमा राख्नुपर्ने बताए । अन्य विषयगत आयोगहरूलाई भने उक्त मूल आयोगको शाखा (ब्रान्च) का रूपमा रूपान्तरण गर्दा प्रशासनिक भार कम हुने र प्रभावकारिता बढ्ने उनको तर्क छ । संघीयताको सिको गर्दै प्रदेश तहमा पनि अनेकौँ अनावश्यक आयोगहरू गठन गर्न आवश्यक नरहेको उनले प्रस्ट पारे ।

कार्यदलका संयोजक असिम शाहले पूर्वप्रधानन्यायाधीश एवं पूर्वमन्त्रिपरिषद् अध्यक्ष रेग्मीका यी महत्वपूर्ण र मार्गदर्शक सुझावहरूलाई कार्यदलले तयार पार्दै गरेको ‘बहस पत्र’ मा गम्भीरताका साथ समावेश गर्ने प्रतिबद्धता जनाएका छन् ।

Read More