२०८३ जेष्ठ २३

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ७० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै ७७ दिन अवधिका लागि निक्षेप संकलन गर्न लागिएको जनाएको हो ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि जेठ २२ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ । सोही दिन उपकरण निष्काशन गरिनेछ भने साँवा र ब्याजको भुक्तानी आगामी भदौ ५ गते गरिनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन् । न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ । बोल रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले निक्षेप संकलनको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिने जनाएको छ । समान ब्याजदरमा आएका प्रस्तावले निष्काशित रकम नाघेमा अनुपातिक आधारमा बाँडफाँड गरिनेछ । सम्पूर्ण वा आंशिक बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ ।

स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकस्थित खाताबाट कट्टा गरिनेछ । निष्काशनको दिन खातामा पर्याप्त मौज्दात नभए सम्बन्धित संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन प्रतिबन्ध लगाइने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन गरिएको रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोका रूपमा गणना हुनेछ । उक्त रकम अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ ।

साथै, संकलित निक्षेप रकम भुक्तानी मिति अगावै फिर्ता वा अग्रिम भुक्तानी नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ । विस्तृत जानकारीका लागि मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

Read More

पछिल्लो २४ घटनामा देशभर दुर्घटनामा ९ जनाको मृत्यु, ६६ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घटनामा देशका विभिन्न स्थानमा भएको दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ४ जना, बागमती प्रदेशमा २ जना र मधेश, कोशी र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ६६ जना घाइते भएका छन् । जस अनुसार कोशी प्रदेशमा २२ जना घाइते भएका छन् भने मधेश प्रदेशमा २१ जना, काठमाडौँमा १२ जना घाइते भएका छन् भने काठमाडौँबाहेक बागमती प्रदेशमा ८ जना घाइते भएका छन् । त्यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एक एक जना घाइते भएका छन् ।

Read More

पुटिनसँग प्रत्यक्ष वार्ताका लागि जेलेन्स्कीको आह्वान, युद्ध अन्त्यका लागि युद्धविरामको प्रस्ताव

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेनबीच चार वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्वको अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न आह्वान गरेका छन्।

जेलेन्स्कीले सार्वजनिक गरेको खुला पत्रमा युद्ध अन्त्यका लागि गरिने कुनै पनि प्रस्ताव इमानदार, सम्मानजनक तथा पुनः द्वन्द्व नदोहरिने सुनिश्चिततासहित हुनुपर्ने उल्लेख गरेका छन्।

उनले सम्भावित वार्ता स्विट्जरल्याण्ड, टर्की वा कुनै अरब राष्ट्रमा आयोजना गर्न सकिने बताएका छन्। ती मुलुकहरूले विगतमा अन्तर्राष्ट्रिय संवाद तथा मध्यस्थतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

जेलेन्स्कीले वार्ता प्रक्रियाका क्रममा पूर्ण युद्धविराम लागू गर्न युक्रेन तयार रहेको जनाउँदै संयुक्त राज्य अमेरिका लगायतका अन्तर्राष्ट्रिय साझेदारहरूले युद्धविरामको कार्यान्वयन तथा अनुगमनमा सहयोग गर्न सक्ने बताएका छन्।

उनले रूसले युद्धविरामको प्रस्ताव अस्वीकार गरेमा युक्रेनले आफ्नो अस्तित्व र सार्वभौमसत्ताको रक्षाका लागि संघर्ष जारी राख्ने स्पष्ट पारेका छन्।

यस प्रस्तावप्रति प्रतिक्रिया दिँदै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसले युद्धविरामको प्रस्तावलाई सकारात्मक रूपमा लिएको बताएका छन्। उनले राष्ट्रपति जेलेन्स्कीले आवश्यक ठाने कुनै पनि समयमा मस्को भ्रमण गर्न सक्ने उल्लेख गरेका छन्।

पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले हालसम्म उक्त खुला पत्रको औपचारिक समीक्षा गरिसकेका छैनन्, तर त्यसबारे चाँडै जानकारी सार्वजनिक गरिनेछ।

दुवै पक्षबीच द्वन्द्व समाधानका लागि कूटनीतिक प्रयासहरू ठप्प भइरहेका बेला यो खुला पत्र सार्वजनिक भएको हो।

यसैबीच राष्ट्रपति पुटिनले दीर्घकालीन शान्ति सम्झौताले रूसका सुरक्षा चासोहरू सम्बोधन गर्नुपर्ने तथा युद्धका “मूल कारण” मानिएका विषयहरूको समाधान सुनिश्चित गर्नुपर्ने धारणा पुनः दोहोर्‍याएका छन्।

Read More

सर्वसाधारणका लागि एभरेष्ट कलरको आइपिओ खुला

काठमाडौं । एभरेष्ट कलर लिमिटेडको सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) आजदेखि खुला भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला भएको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँड गरिसकेको छ । कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबरको ७ करोड ९० लाख रुपैयाँ मूल्यका ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । त्यसमध्ये ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ । साथै ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

आइपिओमा आवेदन दिने अन्तिम मिति जेठ २७ गते तोकिएको छ । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार  ५ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

आइपिओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत स्वीकृत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रयोग गरेर आवेदन दिन सक्नेछन् ।

Read More

कप्तान परिवर्तनदेखि सुर्यबंशीको इन्ट्रीसम्म, भारतको टी–२० टिममा ठूलो परिवर्तन हुदै

काठमाडौँ । भारतको टी–२० अन्तर्राष्ट्रिय टोलीमा ठूलो परिवर्तन हुने संकेत देखिएको छ । राष्ट्रिय छनोटकर्ताले सन् २०२८ मा हुने लस एन्जलस ओलम्पिक र सोही वर्ष अस्ट्रेलिया तथा न्युजील्यान्डमा आयोजना हुने टी–२० विश्वकपलाई लक्षित गर्दै श्रेयस अय्यरलाई नयाँ कप्तान बनाउने तयारी गरेका छन् भने १५ वर्षीय प्रतिभाशाली ब्याटर वैभव सूर्यवंशी पहिलो पटक राष्ट्रिय टोलीमा बोलाइने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आयरल्यान्ड र इङ्ग्ल्यान्ड भ्रमणका लागि भारतको टी–२० टोली शनिबार घोषणा हुने कार्यक्रम छ । मार्चमा सम्पन्न टी–२० विश्वकपमा सूर्यकुमार यादवको कप्तानीमा भारतले उपाधि जितेपछि यो पहिलो टी–२० अन्तर्राष्ट्रिय सिरिज हुनेछ ।

यद्यपि ३५ वर्षीय सूर्यकुमार भने टोलीबाटै बाहिरिन सक्ने अवस्था रहेको बताइएको छ । सन् २०२६ को टी–२० विश्वकपमा उनले नौ इनिङ्समा २४२ रन मात्र बनाए। उनको स्ट्राइक रेट १३६.७२ रहेको थियो। त्यसपछि सम्पन्न इन्डियन प्रिमियर लिग २०२६ मा पनि उनको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन । उनले १३ इनिङ्समा २७० रन मात्र बनाए, जहाँ उनको औसत २०.७६ र स्ट्राइक रेट १४७.५४ रह्यो ।

३१ वर्षीय श्रेयसले भने डिसेम्बर २०२३ यता भारतका लागि कुनै टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । टोली संयोजनका कारण सूर्यकुमार यादव र तिलक वर्माले मध्यक्रमको स्थान ओगटेपछि श्रेयसलाई अवसर मिल्न सकेको थिएन । उनलाई यस वर्ष जनवरीमा न्युजील्यान्डविरुद्धको घरेलु सिरिजका लागि चोटग्रस्त खेलाडीको विकल्पका रूपमा टोलीमा बोलाइएको थियो । तर त्यसपछिको टी–२० विश्वकपलाई ध्यानमा राख्दै भारतले अन्य खेलाडीलाई प्राथमिकता दिएपछि उनले खेल्ने अवसर पाएनन् ।

यद्यपि कप्तानका रूपमा श्रेयसको रेकर्ड प्रभावशाली छ । उनले सन् २०२४ मा आइपिएलमा कोलकाता नाइट राइडर्सलाई इन्डियन प्रिमियर लिगको उपाधि दिलाएका थिए । साथै उनले दिल्ली क्यापिटल्सलाई २०२० मा र पञ्जाब किङ्सलाई २०२५ मा प्रतियोगिताको फाइनलसम्म पुर्‍याएका थिए ।

ब्याटिङमा पनि उनको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । इन्डियन प्रिमियर लिग २०२५ मा उनले ६०४ रन बनाएका थिए, जहाँ उनको स्ट्राइक रेट १७५.०७ थियो। त्यसपछि २०२६ संस्करणमा उनले ४९८ रन बनाउँदै १६८.८१ को स्ट्राइक रेट कायम गरेका थिए ।

लगातार दोस्रो वर्ष भारतीय छनोटकर्ताले कप्तानीमा यस्तो परिवर्तन गर्न लागेका हुन् । सन् २०२५ मा रोहित शर्माले भारतलाई च्याम्पियन्स ट्रफीको उपाधि दिलाएका थिए । तर त्यसपछि अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजअघि उनलाई कप्तानीबाट हटाइएको थियो । यद्यपि रोहित टोलीमा भने कायम रहेका थिए ।

यता १५ वर्षीय वैभव सूर्यवंशी भारतको पुरुष राष्ट्रिय टोलीमा छनोट हुने सबैभन्दा कम उमेरका खेलाडीमध्ये एक बन्ने तयारीमा छन् । सन् १९८० को दशकको अन्त्यमा सचिन तेन्दुलकरले राष्ट्रिय टोलीमा स्थान बनाएयता यति कम उमेरमा टोलीमा छनोट हुने खेलाडी विरलै देखिएका छन् । सूर्यवंशीले इन्डियन प्रिमियर लिग २०२६ मा विस्फोटक प्रदर्शन गर्दै ७७६ रन बनाएका थिए। उनको स्ट्राइक रेट २३७.३० रहेको थियो । उनी आयरल्यान्ड र इङ्ग्ल्यान्ड भ्रमणअघि उनले जुन ९ देखि २१ सम्म श्रीलङ्कामा आयोजना हुने त्रिकोणात्मक सिरिजमा भारत ‘ए’ टोलीबाट खेल्नेछन् । उक्त प्रतियोगितामा अफगानिस्तान पनि सहभागी हुनेछ ।

भारतले जुन २६ र २८ मा बेलफास्टमा आयरल्यान्डविरुद्ध दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । त्यसपछि जुलाई १ देखि ११ सम्म इङ्ग्ल्यान्डविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने कार्यक्रम रहेको छ ।

Read More

सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको २१ सयले घटेर तोलाको ३ लाख ९ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार  सुन तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर तोलाको ५२३० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५२८५ मा कारोबार भएको थियो ।

Read More

सरकारी कार्यालयमा सतर्कता केन्द्रको छड्के अनुगमन तीव्र, ६ हजारभन्दा बढी कर्मचारी समयपालनमा असफल

काठमाडौं, । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयहरूमा छड्के अनुगमनलाई थप तीव्र बनाएको छ। केन्द्रले हाल दैनिक १० वटा सरकारी कार्यालयमा अनुगमन गर्दै आएको जनाएको छ।

केन्द्रकी सूचना अधिकारी सरिता खतिवडाका अनुसार पाँचवटा अनुगमन टोली गठन गरी कार्यालय समयमा कर्मचारीको उपस्थिती, तोकिएको पोशाकको प्रयोग तथा फाइल व्यवस्थापनलगायत विषयमा नियमित निगरानी भइरहेको छ।

उनले गत साउन महिनादेखि हालसम्म देशभरका एक हजार १३० सरकारी कार्यालयमा अनुगमन गरिएको जानकारी दिइन्। अनुगमनका क्रममा छ हजार ७१० कर्मचारीले कार्यालय समयको पालना नगरेको तथा एक हजार १६२ कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको केन्द्रको तथ्यांकमा उल्लेख छ।

सूचना अधिकारी खतिवडाका अनुसार केही कार्यालयमा दुईदेखि तीन पटकसम्म अनुगमन गरिएको छ। अनुगमनका क्रममा भेटिएका अनियमितताका आधारमा सम्बन्धित कर्मचारीमाथि कारबाहीका लागि सिफारिससमेत गरिएको उनले बताइन्।

निजामती सेवा ऐन, २०४९ को दफा ५५ अनुसार कार्यालय समय पालना नगर्ने वा तोकिएका मापदण्ड उल्लंघन गर्ने कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र जारी गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था छ। दुई पटकसम्म चेतावनी पाइसकेका कर्मचारीमाथि विभागीय कारबाही गर्न सकिने कानुनी प्रावधान रहेको छ।

केन्द्रले सातै प्रदेशका कम्तीमा एक–एक जिल्लामा समेत अनुगमन सञ्चालन गरिरहेको जनाएको छ। विशेषगरी सेवाग्राहीको चाप बढी हुने तथा जनसम्पर्क धेरै रहने कार्यालयहरूलाई प्राथमिकतामा राखेर अनुगमन भइरहेको केन्द्रले जनाएको छ।

Read More

सम्पर्कविहीन कर्मचारीको खोजीमा सरकार, तीन दिनमा हाजिरी अद्यावधिक नगराए कारवाही हुने

काठमाडौं । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण अद्यावधिक नभएको सम्बन्धमा जानकारी तथा गुनासा प्राप्त भएपछि सूचना जारी गरेको छ।

मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, बिदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए/नभएको अवस्था तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र अभिलेख अद्यावधिक गराउन अनुरोध गरिएको छ।

मन्त्रालयले अध्ययन तथा असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीहरूको हकमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने संकेत समेत दिएको छ।

सरकारले निजामती सेवामा अभिलेख व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन तथा कर्मचारीहरूको वास्तविक अवस्थाबारे अद्यावधिक विवरण सुनिश्चित गर्न यो सूचना जारी गरिएको जनाएको छ।

Read More

उपत्यकामा २४ घण्टामा २,३०० सवारीचालक कारबाहीमा, रु २०.८४ लाख राजस्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ३०० सवारीचालकलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख ८४ हजार राजस्व संकलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०४ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १७७ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४७ जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने १०५ जनामाथि कारबाही गरिएको हो।

त्यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने ५६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १५२ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ११३ जना, एकतर्फी सडकमा सवारी सञ्चालन गर्ने १४१ जना तथा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार ३०५ जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्रभावकारी बनाउन नियमित निगरानी तथा कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ।

Read More

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ । नवलपरासी (पूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरस्थित पूर्व–पश्चिम राजमार्गमा रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मध्यबिन्दु नगरपालिका–१ निवासी ५१ वर्षीय ओमनारायण गुरौ (थारु) को उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै मोटरसाइकल चालक भारत घर भएका करिब २६ वर्षीय विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, चितवन पठाइएको छ ।

प्रहरीका अनुसार ना ५ ख १७५७ नम्बरको ट्रकको टायर पड्किएपछि सडक छेउमा रोकी मर्मत गर्ने क्रममा ग १० प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

घटनापछि ट्रक चालक बर्दघाट नगरपालिका–१० भुताहा निवासी ५२ वर्षीय भीमबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Read More