२०८३ जेष्ठ २३

पुटिनसँग प्रत्यक्ष वार्ताका लागि जेलेन्स्कीको आह्वान, युद्ध अन्त्यका लागि युद्धविरामको प्रस्ताव

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेनबीच चार वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्वको अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न आह्वान गरेका छन्।

जेलेन्स्कीले सार्वजनिक गरेको खुला पत्रमा युद्ध अन्त्यका लागि गरिने कुनै पनि प्रस्ताव इमानदार, सम्मानजनक तथा पुनः द्वन्द्व नदोहरिने सुनिश्चिततासहित हुनुपर्ने उल्लेख गरेका छन्।

उनले सम्भावित वार्ता स्विट्जरल्याण्ड, टर्की वा कुनै अरब राष्ट्रमा आयोजना गर्न सकिने बताएका छन्। ती मुलुकहरूले विगतमा अन्तर्राष्ट्रिय संवाद तथा मध्यस्थतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

जेलेन्स्कीले वार्ता प्रक्रियाका क्रममा पूर्ण युद्धविराम लागू गर्न युक्रेन तयार रहेको जनाउँदै संयुक्त राज्य अमेरिका लगायतका अन्तर्राष्ट्रिय साझेदारहरूले युद्धविरामको कार्यान्वयन तथा अनुगमनमा सहयोग गर्न सक्ने बताएका छन्।

उनले रूसले युद्धविरामको प्रस्ताव अस्वीकार गरेमा युक्रेनले आफ्नो अस्तित्व र सार्वभौमसत्ताको रक्षाका लागि संघर्ष जारी राख्ने स्पष्ट पारेका छन्।

यस प्रस्तावप्रति प्रतिक्रिया दिँदै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसले युद्धविरामको प्रस्तावलाई सकारात्मक रूपमा लिएको बताएका छन्। उनले राष्ट्रपति जेलेन्स्कीले आवश्यक ठाने कुनै पनि समयमा मस्को भ्रमण गर्न सक्ने उल्लेख गरेका छन्।

पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले हालसम्म उक्त खुला पत्रको औपचारिक समीक्षा गरिसकेका छैनन्, तर त्यसबारे चाँडै जानकारी सार्वजनिक गरिनेछ।

दुवै पक्षबीच द्वन्द्व समाधानका लागि कूटनीतिक प्रयासहरू ठप्प भइरहेका बेला यो खुला पत्र सार्वजनिक भएको हो।

यसैबीच राष्ट्रपति पुटिनले दीर्घकालीन शान्ति सम्झौताले रूसका सुरक्षा चासोहरू सम्बोधन गर्नुपर्ने तथा युद्धका “मूल कारण” मानिएका विषयहरूको समाधान सुनिश्चित गर्नुपर्ने धारणा पुनः दोहोर्‍याएका छन्।