२०८३ जेष्ठ २३

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

काठमाडौँ । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले करिब ७ घण्टा नियन्त्रणमा लिएर छोडेको घटनाले कर्मचारीतन्त्र तरंगित बनेको छ । पुष्करलाई विहिबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कपनस्थित घरबाट पक्राउ गरेको थियो । 

सचिव पुष्करलाई प्रधानमन्त्री बालेन्द्र शाहलाई निजी सन्देश पठाएर ‘चेन अफ कमान्ड’ उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिइएको बताइएको छ ।

असार २४ गते सचिव पदको पाँच वर्षे अवधि पूरा गरी अवकाश हुन लागेका पुष्करले प्रधानमन्त्रीलाई भेट्न पटक पटक गरेको प्रयास असफल भएपछि निजी मोबाइलमा सन्देश पठाएको बताइएको छ ।

प्रहरीले सोधपुछ गरेपछि मुद्धा चलाउनुपर्ने पर्याप्त कारण नदेखेपछि पत्नीको जिम्मा लगाएर बिहीबारै राति छोडेको थियो ।

Read More

टिकटकको मूल कम्पनीका सह–संस्थापक झाङ अम्बानीलाई पछि पार्दै बने एसियाका दोस्रो धनी

काठमाडौँ । टिकटकको मूल कम्पनी बाइटडान्सका सह–संस्थापक झाङ यिमिङ मुकेश अम्बानीलाई पछि पार्दै एसियाका दोस्रो धनी व्यक्ति बनेका छन् । 

ब्लुमबर्ग अर्बपति सूचकांक अनुसार झाङको कुल सम्पत्ति ९३ अर्ब डलर पुगेको छ ।

यता रिलायन्स उद्योग समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीको सम्पत्ति ८६ अर्ब डलर रहेको छ । एसियाका सबैभन्दा धनी व्यक्ति भने अडानी समूहका मालिक गौतम अडानी हुन् । उनको कुल सम्पत्ति ११५ अर्ब डलर रहेको छ । अडानी विश्वका धनी व्यक्तिहरूको सूचीमा १७औँ स्थानमा छन् ।

झाङको सम्पत्ति बढ्नुमा बाइटडान्सको मूल्यांकन वृद्धि र डौबाओ नामक कृत्रिम बुद्धिमत्ता आधारित संवाद सहायकको सफलताले मुख्य भूमिका खेलेको बताइएको छ । यो प्रणाली ओपनएआईको च्याटजीपीटी र गुगलको जेमिनाइ जस्तै उन्नत प्रविधिमा आधारित छ । चीनमा मात्रै यसका करिब ३० करोड प्रयोगकर्ता रहेका छन् ।

सन् २०१९ देखि अहिकेसम्म झाङको सम्पत्ति करिब सात गुणाले बढेको छ ।

अमेरिकामा टिकटकको व्यवसाय बिक्री प्रक्रियासम्बन्धी विवाद समाधान भएसँगै कम्पनीको संकट कम भएको बताइएको छ । ब्लुमबर्गले कम्पनीको मूल्यांकनमा गरिएको जोखिम कटौती २५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि झाङको सम्पत्तिमा ठूलो वृद्धि देखिएको हो । २०२७ सम्म बाइटडान्सले कृत्रिम बुद्धिमत्ता क्षेत्रमा करिब ७० देखि ८९ बिलियन डलरसम्म लगानी गर्ने योजना बनाएको छ ।

विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्क रहेका छन् । उनको कुल सम्पत्ति ७२६ अर्ब डलर रहेको छ । दोस्रो स्थानमा गुगलका सह–संस्थापक ल्यारी पेज र तेस्रो स्थानमा ल्यारी एलिसन रहेका छन् ।

Read More

के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?

काठमाडौँ । फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुन लागेको यस संस्करणमा पहिलो पटक ४८ टोलीको सहभागिता रहनेछ । साविक विजेता अर्जेन्टिना पुनः कप्तान लियोनेल मेसीको नेतृत्वमा उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ ।

जुन २४ मा ३९ वर्ष पुग्ने मेसीका लागि यो विश्वकप विशेष महत्वको हुन सक्छ । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिने मेसी सामु यसपटक विश्वकप इतिहासका थुप्रै कीर्तिमान तोड्ने अवसर छ ।

छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडी बन्ने अवसर

मेसीले पहिलो विश्वकप सन् २००६ मा खेलेका थिए । त्यसपछि उनले २०१०, २०१४, २०१८ र २०२२ संस्करणमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका छन् । २०२६ को विश्वकपमा मैदान उत्रिएसँगै उनी आफ्नो छैटौँ विश्वकप खेल्ने खेलाडी बन्नेछन् ।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गोलरक्षक गुइलेर्मो ओचोआ पनि यो उपलब्धिनजिक रहेका छन् । तर मेसी अर्जेन्टिनाबाट छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडी बन्नेछन् ।

विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान पछ्याउँदै मेसीले हालसम्म विश्वकपमा २६ खेल खेल्दै १३ गोल गरेका छन् । उनी अर्जेन्टिनाका लागि विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोजेको नाममा छ । उनले २४ खेलमा १६ गोल गरेका थिए ।

यदि मेसीले २०२६ विश्वकपमा चार वा सोभन्दा बढी गोल गर्न सके, उनले क्लोजेलाई उछिन्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नेछन् । अर्जेन्टिनाको बलियो टोली र मेसीको अनुभवलाई हेर्दा यो उपलब्धि असम्भव मानिएको छैन ।

पाँच फरक विश्वकपमा गोल गर्ने दोस्रो खेलाडी बन्ने सम्भावना

मेसीले २००६, २०१४, २०१८ र २०२२ विश्वकपमा गोल गरिसकेका छन् । यदि उनले २०२६ संस्करणमा पनि कम्तीमा एक गोल गरे भने पाँच फरक विश्वकपमा गोल गर्ने विश्वका दोस्रो खेलाडी बन्नेछन् । हाल यो कीर्तिमान केवल क्रिस्टियानो रोनाल्डोको नाममा छ । उनले २००६ देखि २०२२ सम्म लगातार पाँच विश्वकपमा गोल गरेका थिए । मेसीले यो उपलब्धि हासिल गरे दक्षिण अमेरिकाबाट पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी पनि बन्नेछन् ।

सर्वाधिक निर्णायक असिस्टको कीर्तिमान पनि नजिक

मेसी केवल गोलकर्ता मात्र होइनन्, गोल सिर्जना गर्ने खेलाडीका रूपमा पनि परिचित छन् । उनले विश्वकपमा हालसम्म आठ निर्णायक असिस्ट गरेका छन् ।

यस सूचीमा उनी अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनासँग बराबरीमा छन् । यदि २०२६ विश्वकपमा उनले एक निर्णायक असिस्ट थप्न सके अर्जेन्टिनाका लागि विश्वकप इतिहासमा सर्वाधिक निर्णायक पास दिने खेलाडी बन्नेछन् । विश्वकप इतिहासमा सर्वाधिक नौ निर्णायक असिस्ट दिने कीर्तिमान पश्चिम जर्मनीका फ्रिट्ज वाल्टरको नाममा छ । मेसी यो कीर्तिमान बराबरी गर्न एक र तोड्न दुई निर्णायक पास टाढा छन् ।

कप्तानका रूपमा दुई पटक विश्वकप जित्ने पहिलो खेलाडी बन्ने लक्ष्य

मेसीले २०२२ मा अर्जेन्टिनालाई विश्वविजेता बनाएका थिए । यदि उनले २०२६ मा पनि टोलीलाई उपाधि दिलाउन सके विश्व फुटबल इतिहासमा कप्तानका रूपमा दुई पटक विश्वकप जित्ने पहिलो खेलाडी बन्नेछन् । विश्व फुटबलका धेरै महान कप्तानले विश्वकप उचाले पनि कसैले दुई पटक कप्तानका रूपमा यो उपलब्धि हासिल गर्न सकेका छैनन् ।

अर्को ऐतिहासिक उपलब्धिको सम्भावना

मेसीको कप्तानीमा अर्जेन्टिना २०१४ र २०२२ विश्वकपको फाइनलमा पुगिसकेको छ । यदि अर्जेन्टिना २०२६ मा पनि फाइनलमा पुग्यो भने मेसी विश्वकप इतिहासमा आफ्नो टोलीलाई तीन पटक फाइनलसम्म पुर्‍याउने पहिलो कप्तान बन्नेछन् ।

कतार विश्वकप २०२२ जितेपछि धेरैले मेसीको विश्वकप यात्रा समाप्त भएको अनुमान गरेका थिए । तर २०२६ मा उनी फेरि अर्जेन्टिनाको आशा र भरोसाको केन्द्र बनेका छन् । यसपटक उनको लक्ष्य केवल अर्को विश्वकप उपाधि जित्नु मात्र होइन, दशकौँदेखि कायम रहेका ऐतिहासिक कीर्तिमानहरू आफ्नो नाममा लेखाउनु पनि हुनेछ । यदि मेसीले आफ्नो लय कायम राख्न सके, फिफा विश्वकप २०२६ ले उनको महान करियरमा अर्को स्वर्णिम अध्याय थप्न सक्छ ।

Read More

अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजमा पाकिस्तान विजयी

काठमाडौँ । पाकिस्तानले अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेल पाकिस्तानले ४ विकेटले जितेको हो  । 

अस्ट्रेलियाले दिएको केवल १५८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४१.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो  । 

पाकिस्तानको जितमा बाबर आजमले सर्बाधिक ४० रन बनाएका थिए भने अस्ट्रेलियाका बलर माथ्यू कुहनेम्यानले ३ विकेट लिएका थिए  । 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४२ ओभरमा अल आउट हुदै १५७ रन बनाएको थियो  ।  अस्ट्रेलियाका लागि कप्तान जोश इङलिसले सर्बाधिक ६५ एन बनाएका थिए भने पाकिस्तानका बलर शाहिन शाह अफ्रिदीले ३ विकेट लिएका थिए  । 

योसँगै पाकिस्तानले यो सिरिज २-१ ले जितेको छ । सिरिजको पहिलो खेल पाकिस्तानले जितेको थियो भने दोस्रो खेल अस्ट्रेलियाले जितेको थियो  । 

Read More

जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको दोहनले गम्भीर चुनौती खडा गर्यो- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व वातावरण दिवसको शुभकामना दिदै स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजङ्गल तथा जैविक विविधताको संरक्षण सबैको साझा अधिकार र दायित्व भएको बताएका छन् ।

शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले प्रकृति र वातावरण मानव जीवनको आधार भएको उल्लेख गर्दै स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजङ्गल तथा जैविक विविधताको संरक्षण सबैको साझा अधिकार र दायित्व भएको बताएका हुन् ।

उनले संयुक्त राष्ट्र सङ्घको आह्वानअनुसार प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइँदै आएको स्मरण गर्दै यस वर्ष ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने नारासहित दिवस मनाइँदै रहेको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहनले विश्व समुदायसामु गम्भीर चुनौती खडा गरेको बताएका छन् । जलवायु परिवर्तन भविष्यको मात्र नभई वर्तमानको पनि समस्या बनेको उल्लेख गर्दै नेपालमा हिमाल पग्लिने, अनियमित वर्षा हुने, बाढीपहिरो बढ्ने तथा वातावरणीय असन्तुलनका असर देखिन थालेको बताउदै विकास र वातावरण एकअर्काका परिपूरक भएको उल्लेख गर्दै उनले प्रकृतिमैत्री जीवनशैली अपनाउन तथा वातावरण संरक्षणसम्बन्धी गतिविधि प्रवर्द्धन गर्न सबैलाई आह्वान गरेका छन्।

उनले स्वच्छ ऊर्जाको प्रयोग, वृक्षारोपण, जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमता विकास तथा प्राकृतिक सम्पदाको संरक्षणमार्फत भावी पुस्ताका लागि सुरक्षित र हरित भविष्य निर्माण गर्न सकिने बताएका छन्।

राष्ट्रपति पौडेलले वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नागरिक समुदाय तथा सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै विश्व वातावरण दिवसले यस कार्यमा थप ऐक्यबद्धता र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

Read More

वातावरण पत्रकारिता पुरस्कार पत्रकार विद्या राईलाई प्रदान

काठमाडौँ । नेपाल वातावरण पत्रकार समूहले विश्व वातावरण दिवसको अवसरमा विगत चार  दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२५ पत्रकार विद्या राईलाई प्रदान गर्ने निर्णय गरेको छ । 

नेपाल न्यूज डट कमकी वातावरणका विषयमा खोजमूलक समाचार लेखन गरेवापत राईलाई नगद तथा प्रमाण–पत्र प्रदान गरिने भएको हो ।

समूहले प्रत्येक वर्षको जुन ५  (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२५ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत सान्दर्भिकता, निरन्तरता, भाषा÷शैली र समावेशिताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२५ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहले प्रकाशित गरेको सूचना अनुसार पत्रकारहरुले आवेदन दिएका थिए ।

समूहका पूर्व अध्यक्ष कसमस विश्वकर्माको संयोजकत्वमा समूहका पूर्व महासचिव संगीता लामा र विज्ञसदस्य बटुकृष्ण उप्रेती सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको शिफारिसका आधारमा पुरस्कार दिने निर्णय गरिएको हो ।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२५’ पाउने उनी ३९औँ पत्रकार हुन् । यो पुरस्कार समूहको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने छ ।

Read More

परराष्ट्रमन्त्री खनाल आज भारतको औपचारिक भ्रमणमा जादै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा जादैछन् ।

भारतका विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आज नयाँ दिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किने दिनमै परराष्ट्र मन्त्री खनालको भारत भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ । मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटमा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ । 

दुवै पक्षले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गर्ने परराष्ट्र मन्त्रलयले बताएको छ ।

Read More

बाघसँग मोटरसाइकल ठोक्कियो, एक जना घाइते

काठमाडौं ।  चितवनको माडी नगरपालिका–९ रातोमाटे डाँडा क्षेत्रमा मोटरसाइकल बाघसँग ठोक्किँदा एक जना घाइते भएका छन् ।

माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल बाघसँग ठोक्किएको हो । दुर्घटनामा मोटरसाइकल चालक पर्साको ठोरी गाउँपालिका–१ निवासी करिब ४० वर्षीय अजित कुँवर घाइते भएका छन् ।

दुर्घटनामा कुँवरको बायाँ पाखुरा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई स्वास्थ्य चौकी चोकबजार, ठोरीमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

विश्व वातावरण दिवस आज मनाइदै

काठमाडौँ । विश्व वातावरण दिवस आज मनाइदै छ । सन् १९७३ देखि विश्वभर प्रत्येक वर्ष जुन ५ तारिखको दिन यो दिवस मनाउँदै आइएको छ । 

यसबर्ष विश्व वातावरण दिवसको विषयवस्तु ‘जलवायु कार्य अर्थात क्लाइमेट एक्सन’ भन्ने रहेको छ, जसको उद्धेश्य जलवायुसँगको हाम्रो सम्बन्धलाई सुधार गर्ने, प्रकृतिमा आधारित समाधानहरूको प्रयोग गर्ने र हाम्रो विश्वव्यापी अर्थतन्त्रलाई शक्ति प्रदान गर्ने प्रणालीहरूको पुनर्विचार गराउनु रहेको छ ।

वातावरण तथा पर्यावरणका अवयहरुलाई संरक्षण, व्यवस्थापन र प्रवर्धन गर्ने उद्धेश्यले शुरु गरिएको यो दिवस सन् १९७२ मा संयुक्त राष्ट्रसघंबाट स्थापना भएको हो । पृथ्वीको गोलार्धंमा रहेका सम्पूर्ण मानवजातिहरुलाई प्राकृतिक स्रोत र वातावरण सम्बन्धि चेतना जागृत गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

नेपालमा वातावरणीय विनाश दिन प्रतिदिन बढिरहेको छ । मानवीय क्रियाकलापका कारण वातावरण दिनप्रतिदिन प्रदुषित वा विनास हुँदै गएको छ । दिवसले चेतना जागृत गराउने उद्देश्य राखे पनि मानिसमा चेतना अवभावकै कारण वातावरण कुरुप बन्दै गएको हो भन्दा फरक नपर्ला । मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला, आणविक भट्टीबाट निस्कने विषालु ग्याँस, जनसंख्याको तीव्र वृद्धि, प्राकृतिक सम्पदाको तीव्र दोहन आदि नै वातावरणीय विनाशका प्रमुख कारणहरू हुन् । वास्तवमा वातावरणीय विनाशको कारणले मरुभूमीकरण वर्षा, ओजोन तह नष्ट, बाढी पहिरो र हरित गृह प्रभाव बढ्ने क्रममा छ ।

वातावरण विनासले जलवायु परिवर्तनको असर समेत देखापरेको अवस्था छ । जलवायु परिवर्तनले आम मानिसको जीवनमा असर पु¥याउन थालिसकेको छ । जलवायु परिवर्तनका कारण मानव जीवन मात्र होइन कृषि, खाद्यान्न, जलस्रोत, वन–जंगल, भौतिक पूर्वाधारलगायत समग्र क्षेत्रमा असर परिरहेको छ । तीव्र विकासको नाममा वातावरण संरक्षण गर्न नसक्दा जलवायु परिवर्तनको असर देखापर्न थालेको छ । विकासको नाममा गरिने वातावरणप्रतिको बेवास्तालाई ध्यान दिए स्वच्छ वातावरण निर्माण गर्न सकिन्छ । वातावरणको सिर्जना पृथ्वीमा रहेका जीवजगत र प्राकृतिक सम्पदाहरूको संयोगबाट हुने भएपनि यसको संरक्षणमा मानव जातिको महत्वपूर्ण भूमिका हुन्छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा  तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, मधेश, बागमती र सुदुरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल र तराई भू-भागमा मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानहरूमा तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मध्यम तातो लहर हुनुका साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन  हुने सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल,  पहाडी भू-भाग तथा मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बागमती,  गण्डकी, लुम्बिनी र  कर्णाली  प्रदेशको हिमाली र पहाडी भू-भागमा भू-भागका एक-दुई स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

Read More