२०८३ जेष्ठ २७

अर्थमन्त्री डा. वाग्लेमाथि संसदले छानबिन गर्नुपर्छ- रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि उठेका आरोपबारे संसदीय छानबिन हुनुपर्ने बताएकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले अर्थमन्त्री वाग्ले विगतदेखि नै राज्यका महत्वपूर्ण निकायमा रहेर काम गरेको व्यक्ति भएकाले वर्तमान विवादमा उनको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरेकी छन् ।

उनले राष्ट्रिय योजना आयोगको सदस्य तथा उपाध्यक्षका रूपमा काम गरिसकेका वाग्ले राज्य प्रणालीभित्रका गतिविधिबारे जानकार रहेको भन्दै विगतमा विपक्षमा रहँदा बजेट र आर्थिक अनियमितताका विषयमा उनले उठाएका प्रश्नहरू स्मरण गर्न आग्रह गरेकी छन् ।

उनले अर्थमन्त्रीमाथि प्रश्न र आरोप उठिसकेको अवस्थामा सम्बन्धित व्यक्तिले आफैं छानबिन गराउने नभई संसद् वा संसद्ले गठन गरेको समितिमार्फत स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने धारणा व्यक्त गरेकी छन् ।

उनले भनेकी छन्- ‘तपाईंमाथि आरोप लागेको छ, तपाईंमाथि नै प्रश्न उठेको छ। त्यसैले तपाईंमाथि छानबिन हुनुपर्छ। तर त्यो छानबिन तपाईंले गराउने होइन, संसद् वा संसद्ले बनाएको समितिले गर्नुपर्छ ।’

झाँक्रीले अरू व्यक्तिले गरेको आर्थिक अनियमितता वा संगठित अपराधलाई गम्भीर रूपमा हेरिने तर अर्थमन्त्रीकै हैसियतमा भएका भनिएका गतिविधिलाई ‘नयाँ अभ्यास’ वा ‘यस्तै हुँदै आएको हो’ भन्दै बेवास्ता गर्न नमिल्ने बताएकी छन् ।

Read More

२४ घण्टामा देशभर सवारी दुर्घटनामा २ जनाको मृत्यु, ७२ घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ७२ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ७२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १४ जना, कोशी प्रदेशमा २० जना घाइते भएका छन् भने काठमाडौँमा ६ जना घाइते भएका छन् । त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा १० जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा ५ जना घाइते भएका छन् भने कर्णालीमा १२ जना र लुम्बिनीमा ५ जना घाइते भएका छन् ।

Read More

रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन स्थगित भएको छ । 

मंगलबार हेटौडामा उद्घाटन सत्र भएको अधिवेशनमा आज मतदान शुरु भएपछि विवाद हुदा अधिवेशन स्थगित भएको हो । निर्वाचन मण्डलले अनियमितता गरेको आरोप लगाउदै विरोध शुरु भएपछि अधिवेशन स्थगित भएको बताइएको छ ।

 केन्द्रीय निर्वाचन आयोगले मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प्रक्रिया स्थगित गरिएको जानकारी दिएको छ । करिब ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्न प्रक्रिया रोकिएको केन्द्रीय निर्वाचन आयोगले बताएको छ ।

बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति अच्युतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा छन् । 

Read More

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले २३ दिनका लागि ६० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।

बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, ५ करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ र बहुब्याजदरमा समेत आवेदन दिन सकिनेछ । ब्याजदर उल्लेख गर्दा दशमलव पछिको चार अंकसम्म लेख्न सकिनेछ ।

निक्षेप संकलनको अवधि असार १९ गतेसम्म रहने जानकारी दिदै राष्ट्र बैंकले सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ, बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रोराटा आधारमा बाँडफाँड गरिने जनाएको छ ।

बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिने उल्लेख छ । साथै पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।

यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Read More

काठमाडौँको बसुन्धारामा गार्मेन्टमा आगलागी, ८ करोड बराबरको क्षति

काठमाडौं । काठमाडौँको टोखा नगरपालिका–०५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा विद्युत सर्ट भएर आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

बुधबार बिहान करिब २: ५२ बजे सुरु भएको आगो ११ वटा दमकल, एक पानी ट्याङ्कर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय बासिन्दा तथा अन्य निकायको सहयोगमा करिब ५:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो ।

आगलागीबाट गार्मेन्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ । साथै अन्नपूर्ण किराना स्टोर र प्रतिक्षा इलेक्ट्रोनिक्समा पनि क्षति पुगेको छ । त्यसैगरी लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुई घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

घटनामा कुनै मानवीय क्षति नभएको र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Read More

फ्लाइ दुबईलाई पोखराबाट उडान सञ्चालन गर्ने अनुमति

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने तयारीमा महत्त्वपूर्ण प्रगति भएको छ । विश्वस्तरीय वायुसेवा कम्पनी फ्लाइ दुबईले आगामी सन् २०२६ सेप्टेम्बर २३ देखि दैनिक उडान सञ्चालन गर्ने अनुमति पाएको हो ।

उच्चस्तरीय सुरक्षा, सुरक्षित सञ्चालन र प्राविधिक निरीक्षण सम्पन्न भएपछि उक्त सेवा सञ्चालनको बाटो खुलेको हो । यससँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने आधार तयार भएको बताइएको छ ।

फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो। 

पोखरा महानगरका नगर प्रमुख धनराज आचार्यले यो निर्णयलाई पोखराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने ऐतिहासिक अवसरका रूपमा लिएका छन् । उनका अनुसार यसले पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार र काठमाडौँ केन्द्रित हवाई चाप घटाउन सहयोग गर्नेछ ।

उनले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने ऐतिहासिक यात्रामा सबैको साथ, सहयोग र शुभेच्छा आवश्यक रहेको बताएका छन् ।

करिब २२ अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरी १ मा उद्घाटन गरिएको भएपनि हाल आन्तरिक उडानमा मात्र सीमित रहेको छ ।

Read More

सुन एकैदिन तोलाको १० हजार एक सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको १० हजार १ सयले घटेर तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८० रुपैयाँले घटेर तोलाको ४७४० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४९२५ मा कारोबार भएको थियो ।

Read More

धनगढीबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

काठमाडौं ।  कैलालीको धनगढी उपमहानगरपालिका–५ स्थित सत्कार चोक नजिकबाट कटुवा पेस्तोल तथा विभिन्न शंकास्पद सामग्रीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर भई हाल सत्कार चोक नजिक डेरा गरी बस्दै आएका २४ वर्षीय साहिल खान रहेका छन् ।

मंगलबार राति करिब १०: २५ बजे प्राप्त विशेष सूचनाका आधारमा प्रहरीले खान बस्दै आएको कोठामा खानतलासी गरेको थियो । सो क्रममा प्रहरीले एक थान कटुवा पेस्तोल, एक थान रेन्च, एक थान चाँदीको करुवा, चाँदीजस्तो देखिने दुई थान घाँटीमा लगाउने माला, दुई थान टर्चलाइट, एक थान फलामको रड, एक थान डिजिटल काटा तथा एक थान खुकुरी बरामद गरेको जनाएको छ ।

बरामद गरिएका सामग्रीसहित पक्राउ परेका खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

नेपाल थाइल्याण्डसँग पराजित, महिला एशिया कपमा छनौट हुन असफल

काठमाडौँ । नेपालले महिला एशिया कपमा छनौट हुन असफल भएको छ ।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल थाइल्याण्डसँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टिम एशिया कपमा छनौट हुन असफल भएको हो ।

क्वाटरफाइनलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भएको हो । थाइल्याण्डले दिएको १३१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाएको हो ।

यसअघि पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा ४ विकेट गुमाउदै १३० रन बनाएको थियो ।    

त्यस्तै सेमिफाइनलमा पुगेसँगै थाइल्याण्ड एशिया कपमा पुगेको छ । त्यस्तै आजै सम्पन्न अर्को खेलमा हङकङले जापानलाई ४१ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ र एशिया कपमा छनौट भएको छ ।   

Read More

पाकिस्तानको अफगानिस्तानमा हवाई आक्रमण, ११ बालबालिकासहित १३ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानले अफगानिस्तानको डुरान्ड सीमारेखा नजिकका विभिन्न प्रान्तमा हवाई आक्रमण गरेको छ ।

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले अफगान हवाई क्षेत्र उल्लङ्घन गर्दै केही तस्बिर सार्वजनिक गर्दै मंगलबार र बुधबारको मध्यरातमा पाकिस्तानी सेनाले अफगानिस्तानको कुनार, खोस्त र पक्तिका प्रान्तमा रहेका सर्वसाधारणका घरमा बमबारी गरेको बताएका छन् ।

उनका अनुसार उक्त आक्रमणमा ११ बालबालिका, एक महिला र एक वृद्धको मृत्यु भएको छ। साथै १४ जना महिला र बालबालिका घाइते भएका छन् ।

तालिबान सरकारका प्रवक्ताले घटनालाई ‘मानवताविरुद्धको अपराध’ तथा ‘आक्रामक कार्य’को संज्ञा दिँदै कडा निन्दा गरेका छन् । घटनाबारे पाकिस्तान सरकारले भने समाचार सार्वजनिक हुँदासम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

पछिल्ला केही महिनायता तालिबान सरकार र पाकिस्तानबीचको सम्बन्धमा तनाव बढ्दै गएको छ। यसै वर्षको मार्च महिनामा पाकिस्तानले अफगानिस्तानभित्र एक केन्द्रमा आक्रमण गरेको बताइएको थियो। अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय सहायता नियोगका अनुसार उक्त आक्रमणमा कम्तीमा २६९ जनाको मृत्यु भएको पुष्टि भएको थियो। वास्तविक मृतक संख्या अझ बढी हुन सक्ने पनि नियोगले जनाएको थियो।

पाकिस्तानले लामो समयदेखि अफगानिस्तानको तालिबान सरकारमाथि आफ्नो भूमिमा हुने आतङ्कवादी गतिविधिलाई प्रोत्साहन दिएको आरोप लगाउँदै आएको छ। तर तालिबा

Read More